विकासन्युज

टिसिएलको ‘टप थ्रि विथ गिफ्ट थ्रि’ उपहार योजना नेपाली बजारमा अत्याधिक सफल

काठमाडौं, २४ कात्तिक । अन्तराष्ट्रिय मान्यता प्राप्त विश्वकै टि.भी. ब्राण्ड टिसिएलले दशैं तिहारलाई लक्षित गरी ल्याएको ‘टप थ्रि विथ गिफ्ट थ्रि’ उपहार योजना अत्याधिक सफल भएको छ । उक्त उपहार योजनाले टिसिएल टिभीका ४०, ४९ र ५५ इन्चका स्मार्ट टिभी साथै ४८ इन्चको टिसिएल कर्भ टिभीहरुको विक्री अत्याधिक भएको र हुँदै आएको कम्पनीले जनाएको छ । गुणस्तरिय उत्पादन सँगै टिसिएलले सँधै उपभोक्ताहरुको चाहनालाई मध्य नजर गर्दै आकर्षक प्रस्ताव र योजनाहरु ल्याउने गरेको छ । नेपालका लागि टिसिएल टिभीको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्र्तगत इ.ओ.एल. प्रा.लि. रहेको छ ।

भूकम्प पीडित उपत्यकाबासीको लागि साढे ३ अर्ब रुपैयाँ निकासा, प्रति परिवार ५० हजार भुक्तानी तत्काल

काठमाडौं, २४ कात्तिक । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा अनुदान प्राप्त गर्ने छनौटमा परी अनुदान सम्झौता गरेका घरधनीहरुलाई पहिलो किस्ता अनुदान रकम ५० हजार रुपैयाँ उपलब्ध गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई ३ अर्ब ५७ करोड ८० लाख ५८ हजार रुपैयाँको अख्तियारी प्रदान गरेको छ । उपत्यकामा अनुदान सम्झौता जारी छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार कार्तिक २३ गतेसम्म ३ हजार ७७ घरधनीसँग अनुदान सम्झौता भएको छ । अनुदान सम्झौताका लागि काठमाडौंमा ४२ हजार ५ सय, ललितपुरमा २४ हजार १ सय २८ र भक्तपुरमा २४ हजार ९ सय घरधनीको नाम पहिचान भई स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा पठाइसकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिएका छन् ।

रुरल माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने, पूँजी ६९ करोड रुपैयाँ पुग्ने

काठमाडौं, २४ कात्तिक । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय कम्पनीको कात्तिक २४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा फाइनान्सको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्दछ । हाल कम्पनीको चुक्ता पूँजी ६२ करोड ९२ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात कम्पनीको पूँजी ६९ करोड २१ लाख रुपैयाँ पुग्ने छ । बुधबार फाइनान्सको प्रतिकित्ता सेयर करिब ८४३ रुपैयाँमा किनबेच भइरहेको छ ।

“ओप्पो विङ्गो अफर” योजनाको विजेतालाई ४२ ईञ्चको टीभी

काठमाडौं, २४ कात्तिक । उत्कृष्ट क्यामेराका लागि विशेष लोकप्रिय स्मार्टफोन कम्पनी ओप्पोले आफ्नो दशैँ–तिहार लक्षित “ओप्पो विङ्गो अफर” योजनाको विजेता छनोट गरेको छ । मङ्गलवार, काठमाडौंको ताम्राकार कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गरी सर्वसाधारण माझ प्रत्यक्ष गोलाप्रथा मार्फत कम्पनीले विजेता छनोट गरेको हो । कम्पनीको “ओप्पो विङ्गो अफर” योजना अन्तर्गत गोलाप्रथा मार्फत पहिलो पुरस्कारको विजेताका रुपमा जय प्रकाश (कुपन नं २३५३) र सुजाता मगर (कपन नं ३४३३) घोषित भएका छन् । तिनले कम्पनीको तर्फबाट १–१ थान स्काइवर्थ ब्राण्डको ४२ ईञ्च टीभी जितेका छन् । त्यसैगरी, कुपन नं. २४५१, १०९८, १३४०, ३७२७ र १०८३ रहेका ग्राहकले १–१ थान “ओप्पो एफ वान एस” स्मार्टफोन जितेका छन् । योजना अन्तर्गत १० जना “ओप्पो नियो सेवेन” स्मार्टफोन विजेताकोपनि घोषणा गरिएको छ । कम्पनीका अनुसार कुपन नं १३३४, ३९७९, ११५२, ११२९, २५६८, २६२२, १०३५, ११७४, २६८१ र १३१५ रहेका ग्राहकले नियो सेवेन स्मार्टफोन जितेका छन् । कम्पनीद्वारा अक्टोवर १ देखि नोवेम्वर १ सम्म योजना सञ्चालन गरिएको थियो । लक्कि ड्र मार्फत छनोट भएका विजेतालाई एक विशेष कार्यक्रम मार्फत पुरस्कार हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।

काठमाडाैं उपत्यकामा तीन वटा स्मार्ट सिटी निर्माण हुँदै, काँडाघारीदेखि तेलकोट क्षेत्र पहिलाे प्राथमिकतामा

काठमाडौं, २४ कात्तिक । सरकारले उपत्यकाका तीन ठाउँमा एक लाख २० हजार रोपनी क्षेत्रफलमा तीन वटा स्मार्ट सीटी निर्माण गर्ने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणको अगुवाईमा व्यवस्थित शहरीकरणको योजना अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा एक/एक वटा स्मार्ट सिटी निर्माण गर्न लागिएको हो । काठमाडौंको मनोहरा करिडोर अन्तर्गत काँडाघारीदेखि भक्तपुरको चागुँ नारायण हुँदै तेलकोट क्षेत्रमा एक लाख रोपनी क्षेत्रफलमा स्मार्ट सीटी निर्माण गरिनेछ । त्यसको अध्ययन काठमाडौं उपत्यका विकास प्राधिकरणले सुरु गरिसकेको प्रमुख विकास आयुक्त भाइकाजी तिवारीले बताए । त्यस्तै, भक्तपुरको गुण्डु, दधिकोट हुँदै बालकोट क्षेत्रमा १० हजार हजार रोपनी जमिनमा स्मार्ट सीटी निर्माण हुनेछ । ललितपुरको भैसेपाटी, खोकना, बुङमतिदेखि छम्पीको बोर्डरसम्म फैलिएको अर्काे १० हजार रोपानीको स्मार्ट सीटी निर्माण गरिनेछ । ‘तीन जिल्लामा तीन वटा स्मार्ट सीटी निर्माणको अध्ययन भैरहेको छ’, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले विकासन्युजसँग भने । के के सुबिधा हुनेछन् स्माटी सीटीमा ? छरिएर रहेको बस्तीलाई एकिकृत गरेर स्मार्ट सीटी निर्माण गरिन्छ । यो आइटीसँग जोडिएको हुन्छ । जापानमा एउटा घरमा डाक्टर बोलाउनु पर्दा कस्तो डाक्टर बोलाउने हो, त्यस्तै स्विच अन गरे पुग्ने व्यवस्था रहेको तिवारीले बताए । तर नेपालमा भने तत्काल त्यस्तो स्मार्ट सीटी सम्भव नभएको तिवारी बताउँछन् । उनका अनुसार नेपालमा निर्माण हुने स्मार्ट सीटी वातावरण मैत्री र आधुनिक सुबिधासहितको हुनेछ । स–साना कामका लागि शहर छोडेर जानु पर्ने बाध्यताको अन्त्य त्यस्ता स्मार्ट सीटीले गर्नेछन् । स्कुल, अस्पताल, स्विमिङ पुल, मनोरञ्जनस्थल, बैंक, खेलकुद ग्राउण्ड, सरकारी सेवा सुबिधा, पार्क लगायतका सबै सुबिधा भएको व्यवस्थित शहर नेपाली सन्दर्भको स्मार्ट सीटी भएको उनी बताउँछन् । यस्तो शहर अहिलेको शहर भन्दा १० किलोमिटर भन्दा टाढा हुनुपर्ने मान्यता रहेको छ । तीन क्षेत्रमा बाहेक बाहेक पनि प्राधिकरणले सुन्दरीजल, झोर, चोभार लगायतका क्षेत्रमा समेत स्मार्ट सीटीको सम्भावना अध्ययन गरिरहेको छ । हरिसिद्धीमा भने स्मार्ट सीटीको निर्माणबारे अध्ययन गरिसकिएको थियो । तर पछि विवाद भएपछि त्यो रोकिएको उनले बताए ।

यस्तो हुनेछ भारतले ल्याउन लागेको ५ सय र २ हजारको नयाँ नोट

काठमाडौं, २४ कात्तिक । भारतले नक्कली नोटको कारोबार बढेर अर्थतन्त्रमै संकट आउन थालेको भन्दै ५ सय र एक हजार दरका नोटको कारोबारमा रोक लगाएपछि त्यसको विकल्पमा नयाँ नोट ल्याउन लागेको छ । भारतले पाँच सय दरको नयाँ नोट ल्याउन लागेको छ भने एक हजार दरको सट्टा एकै पटक २ हजार दरको नोट ल्याउन लागेको हो । भारतले ल्याउने २ हजार दरका नयाँ नोटको नमूना पाँच सयको नयाँ नोटमा एकतिर माहात्मा गान्धीको फोटो हुनेछ भने अर्काेतिर लाल किल्लाको तस्विर हुनेछ । त्यस्तै, २ हजारको नयाँ नोटमा एकातिर माहात्मा गान्धी र अर्काे भागमा मंगलायनको तस्विर हुने रिजर्भ बैंक अफ इण्डिया(आरबिआई)ले जनाएको छ । नयाँ नोटहरुमा आधुनिक सेक्युरिटी फिचर्सहरु समावेश गरिएको जनाएको छ ।

डोनाल्ड ट्रम्प जित नजिक, सिनेटमा पनि रिपब्लिकनकै बहुमत

काठमाडौं, २४ कात्तिक । अमेरिकी राष्ट्रपतिय निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प जित नजिक पुगेका छन् । कुल २७० इलेक्ट्रोरल मत आवश्य पर्नेमा हालसम्म उनले २५४ इलेक्ट्रोरेल मत प्राप्त गरिसकेका छन् । प्रतिद्धन्द्धी डेमोक्र्याटिक पार्टीकी हिलारी क्लिन्टनले जम्मा २१५ इलेक्ट्रोरल मत प्राप्त गरेकी छिन् । सिनेटमा समेत रिपब्लिकनहरुकै बहुमत पुग्नेदेखिएको छ । हालसम्म मत गणना सम्पन्न भएका राज्यहरुमा रिपब्लिकनहरुले अधिकांशमा बहुमत प्राप्त गरेका छन् । सम्भावित मत परिणामले ट्रम्पलाई आफ्नो योजना अनुसार काम गर्ने अवसर प्रदान गर्नेछ । उनले अमेरिकालाई मुस्लिम निषेधित मुलुक बनाउने, मेक्सिकोको सिमानामा पर्खाल लगाउने लगाएतका घोषणा गरेका थिए । ट्रम्प विजय उन्मुख भैरहँदा अमेरिकी सडकहरुमा ‘वि हेट मुस्लिम एण्ड ब्ल्याकः वि वान्ट आवर ग्रेट नेशन ब्याक’ लगायतका नारा घन्किन सुरु भएको छ ।

५ सय र एक हजार दरका भारु नोट नेपालमा पनि नचल्ने, राष्ट्र बैंकको ढुकुटीमा २ लाख मात्रै

काठमाडौं, २४ कात्तिक । भारतले ५ सय र एक हजारका भारतीय रुपैंयाँ सञ्चालनमा रोक लगाएपछि नेपालले पनि सो मुद्राको कारोबारमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले बुधबारदेखि ५ सय र एक हजार दरका भारतीय नोट कारोबारमा रोक लगाएको प्रवक्ता नारायण पौडेलले विकासन्युजलाई जानकारी दिए । राष्ट्र बैंक सञ्चालक समितिले नयाँ व्यवस्था नभएसम्मका लागि भन्दै सो दरका भारतीय नोट कारोबारमा रोक लगाएको हो । भारत सरकारले कालोधन नियन्त्रणका लागि भन्दै मंगलबार राती १२ बजेबाट ५ सय र एक हजार दरका नोट कारोबारमा रोक लगाएको थियो । प्रवक्ता पौडेलका अनुसार नेपाल राष्ट्र बैंकमा ५ सय र एक हजार दरका करिब २ कराेड रुपैंयाँ मात्रै रहेको छ ।‘हाम्रो थापाथली कार्यालयमा एक हजार दरका ६० हजार र पाँच सय दरका २० हजार नोट मात्रै छन्, बैंकहरूसँग पनि उक्त दरका नाेट ठूलाे परिणाममा छैन , प्रवक्ता पौडेलले भने । विगतमा पनि लामो समयसम्म नेपालमा ५ सय र एक हजार दरका भारतीय रुपैंयाँको कारोबारमा रोक लागेकाले नेपालीहरुसँग सो दरका नोट खासै नरहेको पनि उनले बताए ।‘नेपालमा पहिले पनि ती नोटमा रोक लागेको थियो, त्यसैले ५ सय र एक हजार दरका भारतीय नोट नेपालीको प्राथमिकतामा थिएनन्, हात पर्ने वित्तिकै साट्दै आएका थिए’, प्रवक्ता पौडेलले भने । उनले सर्वसाधारणसँग भएका त्यस्ता नोट सटही गरिदिनेबारे भने अहिले नै राष्ट्र बैंकले केहि निर्णय नगरेको र गर्न नसक्ने पनि स्पष्ट पारे ।‘हामीले बजारबाट नोट उठाउँला तर भारतले साट्न मानेन भने के गर्ने ? त्यसकारण अब यो सवाल सरकारको कोर्टमा पुगेको छ । कुटनीतिक माध्यमबाट सुल्झाउनुपर्छ’, पौडेलले भने ।   भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गर्दै जाली नोटलाई निरुत्साहित गर्न भारु ५०० र एक हजारका नोट पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । उनले सम्बोधनका क्रममा सर्वसाधारणले यही नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा आफूसँग भएका उक्त दरका नोट बैंक तथा हुलाकमार्फत जम्मा गर्न आग्रह गरेका छन् ।