विकासन्युज

अरनिको यातायातको सिन्डिकेट तोडियो, काभ्रेको कोसीमापरी जाने सुनकोसी पूर्व यातायातको १७ वटा टाटासुमो

काठामाडौं १९, असोज । काभ्रेको कोसीपारि क्षेत्रमा अरनिको यातायातको सिन्डिकेट तोडिएको छ । सुनकोसी पूर्व यातायात प्रालिले दसैंको मौका पारी १६ टाटासुमो गाडीबाट मंगलबारबाट सेवा सुरु गरेपछि अरनिकोको सिन्डिकेट तोडिएको समाचार बुधबारको कान्तिपुरले छापेको छ। कोसीपारिमा अरनिकोको एकाधिकारका कारण थोरै गाडी चल्दै आएका छन् । थोरै गाडीमा यात्रुको चाप बढी हुँदा बेलाबेला ठूला दुर्घटना हुने गरेको छ । गत महिनामात्र कोसीपारि २७ जनाको ज्यान जाने गरी बस दुर्घटना भएको थियो । काभ्रेका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त अधिकारीले ऐन, कानुन अनुसार नयाँ यातायात कम्पनी आउन पाउने बताए । ‘राज्यको ऐन, कानुन मानेर आउने यातायात कम्पनीलाई स्वागत गर्ने सरकारको नीति हो’ उनले भने, ‘यातायातमा सिन्डिकेट तोड्ने राज्यको दायित्व हो ।’ उनले प्रक्रिया पुर्‍याएर आउने यातायात कम्पनीलाई आवश्यक परे सुरक्षा व्यवस्था मिलाउने बताए । सुनकोसी पूर्व यातायात प्रालिले यातायात व्यवस्था कार्यालय वाग्मतीबाट अस्थायी रुट परमिट लिएर सञ्चालन गरेको अध्यक्ष रमेश सेढाईंले जानकारी दिए । उनका अनुसार तत्काल १६ वटा सुमो सञ्चालन गरिएकोमा बिस्तारै थप्दै लगिनेछ । १७ वटै गाविसमा सेवा दिने उनले जानकारी दिए । ‘कच्ची सडकमा ठूला गाडीले जोखिम बढाएपछि स्थानीयको मागका आधारमा सञ्चालन गरेका हौं,’ सेढाईंले भने, ‘सबै गाविस र रुटमा सेवा पुर्‍याउन गाडी संख्या थप्दै लैजान्छौं ।’ जिल्ला प्रशासन कार्यालयमा प्रहरी प्रमुखसमेतको उपस्थिति अन्तिम स्टप (कात्तिके देउराली)सम्मको भाडा साढे ५ सय निर्धारण गरिएको उनले जानकारी दिए । पोखरीचौरी ५ का व्यापारी नवराज गौतमले प्रालिले नयाँ गाडी चलाउन सुरु गरेपछि यात्रा सहज भएको बताए । उनले भने, ‘ठूलो गाडीको तुलनामा सजिलो भएको छ ।’ अरनिकोले काभ्रेसहित सिन्धुपाल्चोक, रामेछाप, दोलखा जिल्लामा एकलौटी गाडी चलाउँदै आएको छ । ती जिल्लामा सिन्डिकेट नभएको देखाउन उसले विभिन्न समितिको नाममा गाडी सञ्चालन गर्दै आएको छ । जिल्लाको कोसीपारि क्षेत्रमा उसले कोसीपारि यातायात, चौतारामा जुगल, बाह्रबिसेमा सुनकोसी, दोलखा, रामेछाप (लोकल टिप)मा सगरमाथा, दोलखा, रामेछापबाट काठमाडौं चल्नेमा अरनिको सुपर, सिगटीमा गौरीशंकर यातायातको नाममा अरनिकोले सेवा सञ्चालन गर्दै आएको छ । ती सबैको मूल समिति अरनिको यातायात नै हो । कच्ची सडकमा चल्ने पुराना गाडीका कारण कोसीपारिका १७ गाविसमा पटक–पटक सवारी दुर्घटना हुँदै आएका छन् ।

भूकम्पले ल्याएको समस्या पैसा छ, घर बनाउने जमिन छैन,

काठमाडौं १९, असोज । फटकशिला गाविसका विदुर घोरासैनीको भूकम्पमा घर ध्वस्त भयो । नयाँ घर निर्माणका लागि सरकारले अनुदान प्रदान गर्दै छ । तर, उनी अनुदान पाउनबाट वञ्चित भएका छन् । ‘मेरो घर भत्कियो, तर अब मैले यहाँ घर निर्माण गर्न नपाउने भएँ, कारण यो जग्गाको स्वामित्व मेरो नाममा छैन,’ घोरासैनीले भने। किउल गाविसका हरि भण्डारीले लामो समयदेखि साहुको जग्गा कमाउँदै आएका छन् । साहुलाई वार्षिक ‘कुत’ बुझाउँदै आएका छन्, तर साहुले कुत बुझाएको भर्पाई अहिलेसम्म दिएका छैनन् । ‘अनुदान सम्झौतामा अनिवार्य लालपुर्जा ल्याउनू भन्छ, तर न मसँग लालपुर्जा छ न त कुत बुझाएको भर्पाई नै, अनि कसरी अनुदान सम्झौता गर्नु ?’ भण्डारीले भने । फाइल तस्बिर बतासे गाविस–६ की कमाल विकको समस्या अलि फरक छ, अनुदान सम्झौता गर्ने बेलामा अरूकै लालपुर्जाबाट अनुदान सम्झौता भयो । पहिलो किस्ताको ५० हजार रुपैयाँ पनि कमलाले हात पारिन्, तर अब भने उनलाई समस्या भएको छ । पहिले बस्दै आएको जग्गा सबै पहिरोले लगेपछि अब उनको घर बनाउने जमिन नै छैन । त्यसैले, सरकारी अनुदान निल्नु न ओकल्नुभएको छ कमलालाई । भूकम्पपीडितहरूलाई घर निर्माणका लागि सरकारले प्रदान गर्ने अनुदानको पहिलो किस्ता सिन्धुपाल्चोकका सबै लाभग्राहीहरूले पाइसकेका छन् । धेरैजना दसैंलगत्तै घर निर्माण सुरु गर्ने योजनामा छन्, तर जिल्लामा धेरै पीडित आफ्नो नाममा जग्गाको स्वामित्व नहुँदा अनुदान सम्झौता गर्नबाटै वञ्चित भएका छन् । कतिपय पीडितले अनुदानको पहिलो किस्ताको रकम हात पारे पनि घर बनाउने जग्गा नभएपछि समस्यामा छन् ।  कतै जग्गाको स्वामित्व आफ्नो नाममा नहुँदा समस्या भएको छ भने कतै घर बनाउने जग्गा नै नभएर पीडितहरू समस्यामा परेका छन् । जिल्ला भूमिअधिकार मञ्चको आयोजनामा भएको पुनर्निर्माणमा भूमिको सवालमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा जिल्लाका विभिन्न गाविसबाट आएका पीडितहरूले आफ्नो नाममा जग्गाको स्वामित्व नहुँदा घर निर्माणमा समस्या भएको गुनासो गरे । फटकशिलाका विदुर घोरासैनीको गुनासो थियो, ‘जाडोमा न्यानो खरिदका लागि सरकारले दिएको १० हजार रुपैयाँ अर्को जाडो सुरु हुँदा पनि पाइएन । अब घर निर्माणका लागि पनि लालपुर्जा नहुँदा अनुदान पाउनबाट वञ्चित हुने भइयो ।’ बुधबारको राजधानी दैनिकबाट ।

जगदम्बा स्टिल्स्ले पायो नेपाल गुणस्तर अवार्ड २०१५

काठमाडौं, १८ असोज । जगदम्बा स्टिल्स् प्रा.लिले नेपाल गुणस्तर अवार्ड २०१५ प्राप्त गरेको छ । उच्च गुणस्रीय उत्पादन तथा व्यवस्थापनका लागि नेपाल गुणस्तर तथा नापतौल विभागले हरेक वर्ष प्रदान गर्न ‘एनएस क्वालिटी अवार्ड २०१५ यस पल्ट जगदम्बा स्टिल्स्ले पाएको हो । विभागले आयोजना गरेको १७ औं गुणस्तर समारोहमा उक्त अवार्ड उद्योगमन्त्री नविन्द्रराज जोशिले कम्पनीका प्रवन्धक सञ्चालक साहिल अग्रवाललाई प्रदान प्रदान गरेका छन् । यस अवार्ड ग्रहण गरे पछि कम्पनीले आफ्नो उत्पादलाई नेपालकै सर्वोत्कृष्ट गुणस्तर पाएकोमा सम्पूर्ण ग्राहकहरु तथा शुभचिन्तकहरुलाई धन्यवाद दिंदै भविष्यमा अझ बढी गुणस्तरप्रति सजग भई कार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रभु बैंकको सेयर कारोबार बन्द गर्न धितोपत्र बोर्डको निर्देशन, मर्जपछि एकिकृत कारोबार मात्र गर्न पाईने

काठमाडौं, १८ असोज । नेपाल धितोपत्र बोर्डले प्रभु बैंकको सेयर कारोबार बन्द गर्न नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिएको छ । प्रभु बैंक र ग्राण्ड बैंक मर्जपछिको सेयर धितोपत्र बोर्डमा अभिलेख नभएको र आंशिक रुपमा मात्र सेयर कारोबार खुला गरेको भन्दै बोर्डले बुधबारदेखि उक्त बैंकको सेयर कारोबार स्थगन गर्न नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई निर्देशन दिएको छ । साविकको ग्रान्ड बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड एक आपसमा गाभ्ने गाभिने कार्य सम्पन्न भई २०७२ माघ २९ गतेदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोवार संचालन भएको थियो । एकिकृत कारोबार भएको करिव ८ महिनापछि अर्थात असोज १७ गतेदेखि प्रभु बैंकको सेयर कारोबार आशिंक रुपमा मात्र कारोबार भएको थियो । ‘गाभ्ने गाभिने कार्य सम्पन्न भए पश्चात संगठित संस्थाको सेयर बोर्डमा अभिलेख गरेर मात्र सेयर कारोवार हुने व्यवस्था भएकोमा साविकको ग्रान्ड बैंक र प्रभु बैंक एक आपसमा गाभिई बनेको प्रभु बैंकको सेयर यस बोर्डमा अभिलेख नगरी आशिंक रुपमा खुल्ला भएको सेयर कारोबार असोज १९ गतेदेखि कारोबार स्थगत गर्न नेप्सेलाई निर्देशन दिइएको’ धितोपत्र बोर्डले जनाएको छ । साथै अब उप्रान्त गाभ्ने गाभिने कार्य सम्पन्न भए पश्चात एकीकृत सेयरको मात्र कारोवार गर्ने व्यवस्था गर्न समेत नेपाल स्टक एक्सचेञ्जलाई बोर्डले निर्देशन दिइएको छ ।

प्रभु बैंकको दुई नयाँ शाखा मन्थली र चन्द्रनिगाहपुरमा

काठमाडौं, १८ असोज । प्रभु ब्रैंकले रामेछाप जिल्लाको मन्थली र रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा  बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकको मन्थली शाखा कार्यालय रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकास चन्द्र अधिकारी र चन्द्रनिगाहपुर शाखा कार्यालय रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले छुट्टा छुट्टै समारोहका बीच उक्त शाखाको उद्घाटन गरेका छन् । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये खाडिचौर र बीरगंज शाखा कार्यालयलाई मन्थली र चन्द्रनिगाहपुरमा स्थानान्तरण गरिएको हो । यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरु सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

एनसेलले ल्यायो डे डेटा प्याक अफर, ईन्टरनेट अब १३ पैसा प्रति एमबिमा प्रयोग गर्न सकिने

काठमाडौं, १८ असोज । देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको उपलक्ष्यमा आफ्ना ग्राहकका लागि अझ सुलभ दरमा ईन्टरनेट सेवा प्रयोग गर्न सकिने डे डेटा प्याक ल्याएको छ । यस अन्र्तगत ग्राहकले अब बिहान ५ बजे देखि साँझ ५ बजे सम्मको समयमा कर बाहेक १३ पैसा प्रति एमबि सम्ममा डेटा सेवा प्रयोग गर्न सक्नेछन् । यो योजना यही बुधबार (असोज १९, २०७३) बाट लागु हुनेछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार १०० एमबिको दैनिक, ५०० एमबिको साप्ताहिक अथवा २००० एमबिको मासिक डे डेटा प्याक खरिद गरी सुलभ दरमा डेटा सेवाको उपयोग गर्न सक्छन् । १०० एमबि दैनिक डे डेटा प्याक ग्राहकले रु २० मा खरिद गरी प्रति एमबि २० पैसामा ईन्टरनेट सेवा लिन सक्छन् । साथै ५०० एमबि डेटा भोल्युम भएको साप्ताहिक डे डेटा प्याक रु ८० मा खरिद गर्न सक्छने र प्रति एमबि १६ पैसामा ईन्टरनेट सेवा लिन सक्छन् । ग्राहकले २००० एमबि डेटा भोल्युम रहेको मासिक डे डेटा प्याक रु २५० मा खरिद गर्न सक्छन् । अर्थात् यो डेटा प्याक अन्र्तगत ग्राहकले अब मात्र १३ पैसा प्रति एमबिमा ईन्टरनेट चलाउन सक्छन् । यी डे डेटा प्याकका मुल्यहरु कर बाहेकका हुन् । ग्राहकले यी डेटा प्याकहरु एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरेर प्राप्त जानकारी अनुसार सुचारु गर्न सक्छन् । साथै आफूले लिन चाहेको प्याकको भोल्युम टाईप गरी अंग्रजीमा ‘डी’ टाइप गरी १७१२३ मा एसएमएस पठाएर पनि यी प्याकहरु लिन सकिन्छ । उदाहरणका लागि एक दिने डे डेटा प्याक लिन चाहने ग्राहकले अंग्रजीमा १००डी टाइप गरी १७१२३ मा एसएमएस पठाएर यो प्याक सुचारु गर्न सक्छन् । यसरी ग्राहकले आफ्नो आवश्यकता अनुसार डे डेटा प्याकको छनौट गरी बिहान ५ बजे देखि साँझ ५ बजे सम्मको समयमा अझ सुलभ दरमा ईन्टरनेट चलाउनका लागि यो अफरबाट फाईदा लिन सक्छन् । “चाडपर्वको बेलामा हामी आफ्ना परिवारजन, आफन्तहरु तथा साथीभाईसँग सम्पर्कमा रही खुसीयाली साट्न चाहन्छौं । हामीलाई विश्वास छ यो डे डेटा प्याक अफरले हाम्रा ग्राहकको बढ्दो संचार सेवाको मागलाई संबोधन गर्नेछ र थप लाभ प्रदान गर्नेछ ।, ” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । आफ्नो आवश्यकता अनुसार ग्राहकले यी प्याकहरु जति पटक पनि लिन सक्छन् । प्याकको समयावधि सकिए पछि हाल लाग्दै आएको कर बाहेक रु ३ प्रति एमबि शुल्क लागु हुनेछ । यो योजना १५ दिनसम्म संचालनमा रहने छ ।

नबिल बैंकको ३० प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश दिने प्रश्ताव पारित

काठमाडौं, १८ असोज । नबिल बैंकले आर्थिक वर्ष २०७२/ ७३ को मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत बोनस दिने भएको छ । साथै बैंकले १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको बैंकको ३२ औं वार्षिक साधारण सभाले सो मात्रामा लाभांश दिने बैंक संचालक समितिको प्रस्तावलाई पारित गरेको छ । बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालको अध्यक्षतामा बसेको उक्त सभामा बैंकले आर्थिक वर्ष २०७२/७३ मा बैंकको संचालन मुनाफा ४ अर्ब ३५ करोड रहेको जनाएको छ । बैंकका अनुसार सो अवधिमा बैंकको खुद मुनाफा २ अर्ब ८१ करोड ९३ लाख रहेको छ जुन अघिल्लो वर्ष भन्दा ३५ प्रतिशतले बढी हो । अध्यक्ष पौड्यालले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार समिक्षा बर्षको मुनाफाबाट प्रस्तावित वोनस शेयर पश्चात बैंकको पूँजी यसै बर्ष ६ अरब १८ करोड रुपैया पुगेको र अर्को वर्ष ८ अर्व पुर्याउने लक्ष्य बैंकको रहेको बताए । उक्त साधारण सभाले सर्वसाधारण शेयरधनि समूह “ग” वर्गको शेयरधनिहरुको तर्फबाट शम्भुप्रसाद पौड्याल तथा दयाराम गोपाल अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । साथै शेयरधनि समूह “ख” वर्गको तर्फबाट राष्ट्रिय बिमा कम्पनी लिमिटेड निर्विरोध निर्वाचित भएको छ ।

सनराइज बैंकले मलेसियाको लागि भिसा आवेदन शुल्क जम्मा गर्ने

काठमाडौैं, १८ असोज । सनराइज बैंक लिमिटेड र मलेसिया भि. एल. एन. नेपाल प्रा.लि बीच मलेसियाको लागि भिसा आवेदन शुल्क संकलन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा दुई संस्थाबीच मलेसियाका लागि भिसा आवेदकहरुलाई एकद्धार केन्द्रको सुविधा सहित सो का लागि लाग्ने शुल्क सनराइज बैंकमा जम्मा गर्ने निर्णय भएको छ । उक्त सम्झौता पत्रमा मलेसिया भि.एल.एनको तर्फबाट अध्यक्ष रामप्रसाद श्रेष्ठ तथा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् । मलेसियाका लागि भिसा आवेदकहरुले सनराइज बैंकको कुनै पनि ६७ वटा शाखामा मलेसियाको लागि विद्युतीय भिसा आवेदन लगायत भिसाको लागि लाग्ने शुल्क जम्मा गर्न सक्नेछन् । मलेसिया भि. एल. एनको कार्यालय मेट्रो पार्क भवन, उत्तर ढोका, लाजिम्पाटमा रहेको छ । सनराइज बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात उक्त स्थानमा आफ्नो काउन्टर समेत राखेर सेवा प्रदान गर्नेछ । मलेसिया भि. एल. एन. नेपाल प्रा.लि. मलेसियाको लागि भिसा आवेदन गर्दा लाग्ने शुल्क संकलन गर्नका लागि मलेसियाई राजदूतावासबाट अधिकार प्राप्त संस्था हो ।