विकासन्युज

पाँच कम्पनीलाई साढे तीन अर्बको हकप्रद सेयर निष्काशन गर्ने अनुमति

काठमाडौं, १२ असोज । बिभिन्न पाँच वटा बैंक तथा वित्तिय संस्थाले साढे तीन अर्ब मुल्य बराबरको हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले कृषि विकास बैंक, सिद्धार्थ बैंक, सेती फाइनान्स, सेवा विकास बैंक र वेष्टर्न डेभलपमेन्ट बैंकलाई तीन अर्ब ४८ करोड ७१ लाख २४ हजार एक सय मुल्य बराबरको हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो । कृषि विकास बैंकले २ बराबर एक कित्ताको अनुपातमा एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ । असोज २ गते हकप्रद सेयर निष्काशनको अनुमति पाएको यस बैंकले एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । त्यस्तै, असोज २ गते नै सिद्धार्थ बैंकले ४ बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयरको निष्काशन अनुमति पाएको हो । बैंकले ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । सिद्धार्थले लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । सोही मितीमा सेती फाइनान्सले पनि एक बराबर एक दशमलब ५ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशनको अनुमति पाएको हो । फाइनान्सले ९ लाख ५१ हजार ७सय ८६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । सेती फाइनान्सले एनआइबिएल क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । बोर्डले असोज ६ गते सेवा विकास बैंक र ७ गते वेष्टर्न डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो । सेवाले एक दशमबल एक दशमलब २ कित्ताको अनुपातमा एनएमबी क्यापिटल मार्फत ५१ लाख ६ हजार ६ सय ६२ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । वेष्टर्न डेभलपमेन्ट बैंकले पनि एक बराबर एक कित्ताको अनुपातमा प्रभु क्यापिटल मार्फत १५ लाख ६९ हजार ६ सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछन् । बुक क्लोज पुर्व सेयर खरिद गर्ने लगानी कर्ताहरुले हकप्रद सेयर प्राप्त गर्न सक्नेछन् ।

समय अगावै नेपाल इन्भेष्टमेन्ट बैंकको पूँजी आठ अर्ब

काठमाडौं, १२ असोज । राष्ट्र बैंकले तोकेको समय अगावै नेपाल इन्भेष्टमेन्ट बैंकले पूँजी वृद्धि गरेर आठ अर्ब रुपैयाँ पुर्याएको छ । मंगलबार सम्पन्न बैंकको ३० औँ साधारणसभाले बैंकको ४१ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गरेपछि बैंकले पूँजी आठ अर्ब ७१ करोड रुपैयाँ पुर्याएको हो । बैंकले गत बर्षको मुनाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनश शेयर र २१ प्रतिशत नगद गरी ४१ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको थियो । बैंकले गत आर्थिक बर्षमा दुई अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । हाल बैंकको ७ अर्ब २५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । बोनश वितरण पश्चात बैकको चुक्तापूँजी ८ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ । बैंकको ३०औँ साधारणसभाबाट सञ्चालकमा भुवनेश्वरप्रसाद शाह र निराजनमान श्रेष्ठ चुनिएका छन् । राष्ट्रिय वाणिज्य बैंकको प्रवर्धन समूहको प्रतिनिधित्व गर्दै विनोदकुमार गुरागाईँलाई सञ्चालकका रूपमा चुनिएको बैंकद्धारा जारी प्रेस विज्ञप्तीमा छ । उक्त सभामा बैंकले एक अर्ब भन्दा बढी चुक्ता पूँजी भएको एस डेभलपमेन्ट बैंकलाई खरिद गर्ने निर्णय पनि गरेको छ । गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार बैंकको जगेडा कोषमा १० अर्ब ५५ करोड रुपैयाँ रहको छ । हाल बैंकले ७ लाख भन्दा बढी ग्राहकलाई ४७ शाखा, ८२ एटिएम मार्फत सेवा दिँदै आइरहेकोे छ ।

नेपाली जुत्ता घरको ‘स्क्रयाचमा केबल कार, बम्परमा आईफोन उपहार’ योजना

काठमाडौं, १२ असोज । स्वदेशी ब्राण्डका जुत्ता बिक्रि गर्ने नेपाली जुत्ता घरले बडा दशै तथा तिहारलाई लक्षित गरि ‘स्क्रयाचमा केबल कार, बम्परमा आईफोन उपहार’ नामक उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्र्तगत प्रत्येक जोर जुत्ता तथा चप्पलको खरिदमा उपभोक्ताले एउटा स्क्रयाच कुपन प्राप्त गर्नेछन् । साथै, स्क्रयाच कुपन मार्फत ५ देखि ५० प्रतिशत छुट वा ७५ देखि ५ हजार रुपैयाँसम्म नगद र चन्द्रागिरी केबल कारको टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन् । यस योजनामा बम्पर उपहारको समेत व्यवस्था गरिएको छ । उपहार योजनाको अन्त्यमा हुने बम्पर उपहारमा योजना अवधिभरमा सहभागी भएका उपभोक्ताहरुबाट बम्पर लक्की ड्र मार्फत ७ जनालाई आईफोन, २ जनालाई ल्यापटप प्रदान गरिनेछ । नेपाली जुत्ता घरमा नेपाली बजारमा ख्यातीप्राप्त एवं ब्राण्डेड जुत्ता कम्पनीहरुको सहभागीता रहेको छ । जसमा शिखर, बि.एफ.डियर हिल, स्काई, कोशेली, क्रसरोड, लेदर विङ्गस्, टाकुरा, सफटच, शूल्याण्ड र ईजि लगायतका प्रतिष्ठित ब्राण्डका जुत्ता चप्पलहरु पाईनेछन् । जुत्ता घरमा सबै ब्राण्डका स्पोर्टस्, क्याजुयल, पार्टी, अफिसियल, कलेज/स्कुल र लेडीज सबै बर्ग उमेर र समुहलाई हुने जुत्ता तथा चप्पलहरु बिक्रि वितरणका लागि राखिएको छ । कम्पनीहरुले चाडपर्वलाई ध्यानमा राखि उत्पादित नयाँ मोडलका जुत्ता चप्पलहरु समेत नेपाली जुत्ता घरमा बिक्रि वितरणका लागि राखिएको छ । जुत्ताघरको मुख्य उद्देश्य भनेको नेपाली ब्राण्डको पहिचान एवं नेपाली ब्राण्डको प्रवद्र्धननै रहेको छ । जुत्ता घरमा सबै खालका भेराईटी पाउनुका साथै समयको बचत एवं राजधानीको प्रमुख व्यापारिक केन्द्रहरुमा भएको हुँदा उपभोक्तालाई आफ्नो सेवा तथा सुविधा पुरयाउन सहज हुने विश्वास कम्पनीको रहेको छ ।

४ अर्ब ८८ करोड खर्चेर ३२ जिल्लामा अप्टिकल फाइबर, दुई बर्षभित्रै ब्रोडब्याण्ड सर्भिस

काठमाडौं, १२ असोज । नेपाल दुर सञ्चार प्राधिकरण र नेपाल टेलिकमबिच मध्यपहाडी लोकमार्गको पुर्वी खण्डमा अप्टिकल फाइबर बिछ्याउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार प्राधिकरण अध्यक्ष दिगम्बर झा र टेलिकमकी नव नियुक्त प्रबन्ध निर्देशक कामीनी राजभण्डारीले ४ अर्ब ८८ करोड लागतको अप्टिकल फाइबर योजनामा हस्ताक्षर गरेका हुन् । आगामी दुई बर्षभित्र पुष्पलाल मध्यपहाडी लोकमार्गको पुर्वी खण्डमा अप्टिकल फाइबर बिछ्याउने सम्झौतामा उल्लेख गरिएको छ । पाँचथरको चियो भज्याङदेखि धादिङको सल्यानटारसम्मको २३७६ किलोमिटरमा अप्टिकल फाइबर बिछ्याइनेछ । अप्टिकल फाइबरले सो क्षेत्रमा ब्रोडब्याण्ड सर्भिस उपलब्ध गराउनेछ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै प्राधिकरणका अध्यक्ष दिगम्बर झाले डिजिटल नेपाल बनाउने अभियानको प्रारम्भका रुपमा मध्यपहाडी लोकमार्गको पुर्वी खण्डमा अप्टिकल फाइबर बिछ्याउने कार्यक्रम सुरु गरिएको बताए । दुई बर्षभित्र सो खण्डमा काम सम्पन्न गरेर डिजिटल पुर्व खण्डको सुभारम्भ गरिने पनि उनले बताए । त्यस्तै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामीनी राज भण्डारीले समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरिन् । यसरी बिछ्याइएको अप्टिकल फाइबरको पुर्वाधार अन्य दुर सञ्चार सेवा प्रदायक कम्पनीलाई समेत सहप्रयोगका लागि उपलब्ध गराइने व्यवस्था छ । सम्झौता अनुसार आगामी दुई बर्षभित्र प्रदेश नम्बर १, २ र ३ का सबै जिल्ला सदरमुकाम र नगरपालिकासम्म अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न गरिनेछ । टेलिकमले यसै हप्ता प्रदेश नम्बर ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउने कामका लागि टेण्डर आव्हान गर्दैछ । टेलिकमलाई भने सिधै काम गर्नेगरि सम्झौता गरिएको हो ।

विश्वका ९० प्रतिशतभन्दा बढीले अस्वच्छ स्वास लिन्छन्ः डब्लुएचओ

स्विट्जरल्याण्ड, १२ असोज । विश्वका रहेक दश जनामध्ये नौ जनाले अस्वच्छ स्वास लिनेगरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ । सो सङ्गठनले यस प्रदूषणका विरुद्धमा नाटकियरुपमा काम गर्न पनि सबैलाई आह्वान गरेको छ । प्रदूषित स्वासप्रश्वासकै कारण विश्वमा रहेक वर्ष ६० लाख व्यक्तिको मृत्यु हुने गरेको सो संस्थाको तथ्याङ्क रहेको छ । सङ्गठनको सार्वजनिक स्वास्थ्य तथा वातावरण विभागकी प्रमुख मरिया नेइराले नयाँ तथ्यबाट आफूहरु निकै चिन्तित भएको बताएका छन् । सङ्गठनले तयार पारेको पछिल्लो प्रतिवेदनअनुसार, विश्वका महत्वपूर्ण सहरबजारमा निकै प्रदूषित हावा छ भने, ग्रामीणक्षेत्रमा पनि सन्तोषजनक देखिएको छैन । विश्वका विकसित मुलुकमा भन्दा गरिव मुुलुकमा स्वच्छ हावाको अभाव देखिएको छ । यस प्रदूषणले विश्वका हरेक व्यक्तिलगायत समाजलाई असर पारेको छ । “यो सार्वजनिक स्वास्थ्यको आपतकालिन अवस्था हो,” नेइराले भने, “प्रदूषण नियन्त्रणका लागि तत्काल प्रशस्त काम गर्नु अत्यावश्यक छ ।” विश्वका सबै सरकारी निकायले सडकमा सवारी साधनको सङ्ख्या घटाउनुपर्दछ भने पकाउनका लागि स्वच्छ ऊर्जाको प्रयोग गर्नुपर्दछ,” प्रतिवेदनमा जनाइएको छ । विश्वका तीन हजार ठाउँबाट मगाइएका विवरणका आधारमा प्रतिवेदन तयार पारिएको बताइएको छ । ती विवरणका अनुसार विश्वको ९२ प्रतिशत जनसङ्ख्या गुणस्तरहिन हावा भएको ठाउँमा बसेका छन् । रासस÷एएफपी

सिट क्षमताभन्दा कम्तिमा पनि २० जना बढी यात्रु बोक्न पाउनु पर्ने ब्यवसायीको माग, अग्रिम टिकट बुकिङ रोकियो

काठमाडौं, १२ असोज । यातायात ब्यवसायीले दशैको लागि अग्रिम टिकट काट्न रोकेका छन् । राजधानीवाट दशैको लागि वाहिरिने यात्रु धेरै हुने भए पनि पुन राजधानी फर्कदा यात्रु नपाइने भएकोले सिट क्षमताभन्दा कम्तिमा पनि २० जना यात्रु बढी बोक्न पाउनु पर्ने माग राख्दै ब्यवसायीले यस्तो गरेका हुन् । ब्यवसायीले देखाउनको लागि भने नारायणघाट मुग्लिन सडक विस्तारलाई कारण देखाएका छन् । दशैको लागि २० दिन सो सडक खण्ड विस्तारको कार्य रोक्न सरकार सहमत नभएको र सडकका खाल्डाखुल्डी नपुरेको कारण गाडी चलाउन सक्ने अवस्था नभएकोले अग्रिम टिकट बुकिङ बन्द गरिएको यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘दशैको घटस्थापनादेखि फूलपातीको दिनसम्मको ७ दिनमा कम्तिमा पनि १२ लाख मानिस काठमाडौंबाट बाहिरिन्छन्, यसको लागि ठूलो संख्यामा गाडी चल्नुपर्ने हुन्छ, अहिले नै राम्ररी गाडी चल्न नसकेको नारायणघाट मुग्लिन सडक खण्ड २० दिनको लागि विस्तार कार्य रोक्न सरकार सहमत नभएकोले अग्रिम टिकट बुकिङ रोकिएको हो,’ महासचिव सिटौलाले भने । यस्तै सडकमा भएका खाल्डाखुल्डी पूर्न सरकार तयार नभएको कारण पनि गाडी गुडाउन सक्ने अवस्था नभएको सिटौलाको भनाइ छ । सिटौलाले सिट क्षमताभन्दा २० जना बढी यात्रु बोक्न पाउनु पर्ने माग ब्यवसायीवाट आएको जानकारी दिए । ‘काठमाडौंवाट भैरहवा पुगेर आउदा एउटा गाडीको ४५ हजार रुपैयाँ खर्च हुन्छ, तर एकतर्फी रुपमा सिटभरी यात्रु लिएर भैरहवा पुग्दा ३८ हजार रुपैयाँ मात्रै आम्दानी हुन्छ, एकपटक गाडी चलाउदा ७ हजार रुपैयाँ नोक्सान हुन्छ भने किन गाडी गुडाउने भन्ने ब्यवसायीको तर्क आएको छ, हामी यो विषय पनि सरकारसँग राख्छौं,’ सिटौलाले भने । यसको लागि सरकारले सिट क्षमताभन्दा २० जना बढी यात्रु बोक्न दिनुपर्ने उनको भनाइ छ । सरकारले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नदिने अडान लिएको छ । तर ब्यवसायीले नयाँ गाडी पनि नथप्ने र अहिले संचालनमा रहेका गाडी पनि विग्रिएको भन्दै कम गाडी देखाएर सिट क्षमताभन्दा बढी यात्रु कोच्ने रणनीति लिएका छन् ।

रिलायबल डेभलपमेन्ट बैंकको १०औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं, १२ असोज । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले १० औ वार्षिकोत्सवको सम्पन्न गरेको छ । उक्त उपलक्ष्यमा रुद्रमती सरोकार समाजले फोहोरमुक्त सडक घोषणा कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत गौशाला देखि कमल पोखरी सम्म ४० थान डष्ट बिन निशुल्क प्रदान गरेको छ । उक्त कार्यक्रमको उद्घाटन स्वास्थ्य मन्त्री गगनकुमार थापाले गरेका थिए । हाल बैंकले १७ वटा शाखाहरु मार्फत करिब ९ अर्ब रुपैयाँ निक्षेप संकलन र ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । आगामी दिनहरुमा पनि यस्तै संस्थागत सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरु गर्दै जाने बैंकले जनाएको छ ।

नेशनल लाइफ इन्स्योरेन्सले ३० प्रतिशत बोनस दिने, पूँजी एक अर्ब ३३ करोड पुग्ने

काठमाडौं, १२ असोज । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने निणर्य गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णय बीमा समितिले स्वीकृति दिएपछि तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ रहेको छ । बोनस सेयर पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ३३ करोड रुपैयाँ पुग्ने छ ।