विकासन्युज

अब बेरोजगारलाई भत्ता, सरकारले तोकेको न्युनतम तलवको २५ प्रतिशत दिने

काठमाडौं २९, भदौ । सरकारले बेरोजगार परिचयपत्र प्राप्त नागरिकलाई सामाजिक सुरक्षा कोषमार्फत बेरोजगार भत्ता प्रदान गर्ने कानुनी व्यवस्था प्रस्ताव गरेको छ। सामाजिक सुरक्षा प्रदान गर्नेसम्बन्धी विधेयक व्यवस्थापिका संसद्मा पेस भई संशोधनका क्रममा छ। सरकारले तोकेको तलबमानको २५ प्रतिशतसम्म भत्ता दिने व्यवस्था विधेयकमा प्रस्ताव भएको समाचार बुधबारबो गोरखापत्रमा छापिएको छ। लामो समयदेखि सामाजिक सुरक्षा कोष स्थापनाका लागि रोजगारदाता र मजदुरको समेत तलबमानको एक प्रतिशतका दरले रकम कट्टा हुँदै आएको छ। तर, कोषको कानुनी संरचना नबनेका कारण रकम परिचालन हुन सकेको छैन। प्रस्तावित विधेयक पारित भई कोष परिचालन समिति गठनपछि उक्त रकम परिचालन गर्ने कानुनी बाटो खुल्नेछ। सरकारले प्रस्ताव गरेको कानुनी व्यवस्था पारित भएमा बेरोजगार परिचयपत्रवाहक नागरिकले नेपाल सरकारले मजदुरलाई तोकेको न्यूनतम पारिश्रमिकको २५ प्रतिशत रकम पाउनेछन्। यसरी भत्ता उपलब्ध गराउँदा एक आर्थिक वर्षमा बढीमा चार महिनासम्मको रकम उपलब्ध गराइनेछ। प्रस्तावित विधेयकको दफा ८ (६) ले बेरोजगार भत्ताको व्यवस्था गरेको छ। विधेयकमा भनिएको छ, बेरोजगार परिचयपत्र प्राप्त गरेको नेपाली नागरिकले निजले माग गरेमा उक्त परिचयपत्र प्राप्त गरेको मितिदेखि नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकको २५ प्रतिशतको दरले हुन आउने रकम बेरोजगारी भत्ताबापत रकम नेपाल सरकारबाट प्राप्त गर्नेछ। उपदफा (६) बमोजिमको बेरोजगारी भत्ता एक आर्थिक वर्षमा बढीमा चार महिनासम्मको लागि प्रदान गर्नेछ। बेरोजगार भत्ता पाइरहेको व्यक्ति कुनै प्रकारको रोजगारी वा स्वरोजगारमा संलग्न भएमा भत्ता दिइनेछैन। बेरोजगार भत्ता पाउने नागरिकलाई राज्यले परिचयपत्रका आधारमा सीपमूलक तालिम, लघु व्यवसाय विकास, पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको श्रममूलक काम, राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको कुनै रोजगारी विकास कार्यक्रममा सहभागी गराउन सक्नेछ। सीपमूलक तालिम दिई स्वरोजगार बनाउन पनि कोषले पहल गर्नेछ। अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्ति पनि सामाजिक सुरक्षा योजनामा सहभागी हुन सक्नेछन्। कसले पाउँछन् कोषको रकम प्रस्तावित विधेयकले कोषको रकम पाउने मापदण्डसमेत तय गरेको छ। बेरोजगारलाई उपलब्ध गराउने भत्ताबाहेक सामाजिक सुरक्षा कोषबाट सामाजिक सुरक्षाको रकम पाउने मापदण्ड पनि तय गरेको छ। विधेयक अनुसार तोकिएको अस्पताल वा स्वास्थ्यचौकीमा बढीमा दुई सन्तान जन्माउने महिलाले सुत्केरी पोषण खर्च सामाजिक सुरक्षा कोषबाट पाउनेछिन्। यस्तै पतिको मृत्यु भएको वा चालीस वर्ष उमेर पूरा हुँदासम्म विवाह नगरी बसेकी वा सम्बन्धविच्छेद गरेकी एकल महिलाले पनि कोषको सहयोग पाउनेछिन्। ७० वर्ष उमेर पूरा भएको ज्येष्ठ नागरिकले पनि कोषको रकम पाउनेछन्। अपाङ्ग, अशक्त नागरिकले जीविकोपार्जन सहयोग, पूर्वकमैया, कम्लरी, हलियाले पनि कोषको रकम पाउनेछन्। तर, नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व प्राप्त संस्थाबाट निवृत्तिभरण पाउने व्यक्तिले भने कोषको रकम पाउनेछैनन्। विदेशी निकायबाट निवृत्तिभरण पाउने नागरिकले पनि सामाजिक सहयोग पाउनेछैन।

पाँच वर्षमा भित्रियो खर्बको सुन, अनुत्पादक क्षेत्रमा पैसा खर्च

काठमाडौं २९, भदौ । पाँच वर्षमा नेपालमा ९९ अर्ब १४ करोड रुपैयाँको सुन भित्रिएको छ। यस अवधिका नेपाली उपभोक्ताको आयस्तरमा आएको परिवर्तनसँगै सुन आयतमा पनि वृद्धि भएको बुधबारको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ। Gold bars उपभोक्ताको आयस्तरमा बृद्धि भए पनि आय उनुपात्दक क्षेत्रमा थुप्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। वार्षिक ८० हजार ९ सय २१ रूपैया आय भएका नेपाली नगद सम्पत्ति भए पनि अनुत्पादनक सम्पतिका रुपमा गणना हुँदै आएको सुनमा ठूलो लगानी गरेको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०६८/  ६९ मा ५७ हजार ३ सय ३७ रुपैयाँ प्रतिव्यक्ति आय भएका नेपालीले २५ अर्ब ७७ करोड रुपैयाँ सुन किन्नमा खर्चिएका छन्। ८० हजार नौ सय २१ रुपैया आय भएका नेपालीले अनुत्पादक सम्पतिका रुपमा गणना हुँदै आएको सुनमा ठूलो लगानी रहेको देखिनुले अनुत्पादक क्षेत्रमा खर्च बढेको पनि तथ्यांकले देखाएको छ । केही वर्षयता ठूलो परिणाममा चीनलगायतका देशबाट सुन भित्रिएपनि भने मौन रहेको छ ।

भारतले खुकुलो गर्दा औषधी तस्करी, अनुमतिबिना भारतबाट फर्मास्यूटिकल ड्रग्स बिक्री

काठमाडौं २९, भदौ । चिकित्सा विधिबाट प्रयोग गरिने औषधि तस्करी नियन्त्रणमा भारतले सहयोग नगरेको भन्दै नेपालले असन्तुष्टि जनाएको छ। दुवै देशको गृहसचिव स्तरीय बैठकमा नेपालले यसबारे कुरा राखेपछि भारतीय पक्ष जथाभावी औषधि बिक्रीतितरण रोक्न भने सकारात्मक देखिएको बुधबारको आजको कारोबार दैनकमा समाचार छापिएको छ। भारतको नयाँ दिल्लीमा भएको बैठकमा नेपालका सुरक्षा अधिकारीले चिकित्सक वा अस्पतालको अनुमतिबिना भारतबाट खुलमखुल्ला फर्मास्यूटिकल ड्रग्स बिक्री रोक्नुपर्ने प्रस्ताव गरेका थिए। चिकित्सकको प्रेस्किप्सन बिना आफ्ना नागरिकलाई खुद्रा वा होलसेल मूल्यमा औषधि बिक्री गर्न रोक लगाएको छ । नेपालबाट गएका दुर्ब्यसनी तस्कर औषधि व्यवसायीबाट भने कमिसन लिएर बिना प्रेस्किप्सन नै औषधि दिने गरेको भन्दै नेपाली पक्षले असन्तुष्टि जनाएको हो।

बुद्ध एयरमा स्याल ठोक्कियो, अप्रिय घटना हुनबाट जोगियो

भदौ २९, भदौ । विराटनगरबाट आउँदै गरेको बुद्ध एयरको एटीआर ७२ विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा मंगलबार साँझ स्याल ठोक्एिको छ । जहाज अवतरण गर्न कोटेश्वरतर्फको अन्तिम ट्याक्सी–वे ( पार्किङ) मा छिर्दै गर्दा स्याल ठोक्किएको हो । स्याल ठाउँको ठाउँ मरेको छ । गुडिरहेको विमानका चालक शैलेश महतले एयर ट्राफिक कन्ट्रोलरलाई आफ्नो जहाजले ट्याक्सी–वेमा पस्दै गर्दा स्यालसँग ठोकिएको जानकारी गराए । चालकको जानकारीपछि विमानस्थलको रात्री सिफ्टका कर्मचारी र शुरक्षाकर्मी घटनास्थल पुगे । बुद्ध एयरको उक्त विमान र यात्रुलाई केही भएन । बुद्ध एयरका प्रबन्धक रुपेश जोशीका अनुसार, चालकले धावनमार्गमा दुइटा स्याल ककपिटबाट चालकदलले देखेका थिए । तीमध्ये एउटा स्याल जहाजमा ठोक्किएर घटनास्थलमै मृत्यु भयो । यो घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार दोस्रोपटक पुनस् बन्द हुन गयो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार, बुद्ध एयरको विमानमा स्याल ठोकिएपछि विमानस्थल २२ मिनेट बन्द गर्नुपर्‍यो । ‘धावनमार्गमा रगतैरगत थियो, ७ बजेर ३१ मिनेटदेछि ७ बजेर ५३ मिनेटसम्म धावनमार्ग बन्द गर्नुपर्‍यो,’ उनले भने । यो घटनाका कारण ओमनको राजधानी मस्कटबाट काठमाडौं अवतरण गर्नै लागेको ओमन एयरको विमान भारतको लखनउ डाइभर्ट भयो । ‘जहाज होल्ड गर्न प्रयाप्त तेल थिएन, पाइलटले होल्डमा बस्नु भन्दा लखनउतर्फ जहाज फर्काए,’ ओमन एयरका काठमाण्डु एयरपोर्ट सर्भिस म्यानेजर भरत श्रेष्ठले भने । ‘होल्डमा बस्नका लागि आठ मिनेटभन्दा बढीका लागि इन्धन थिएन,’ श्रेष्ठले भने । यहीबेला कतारको राजधानीबाट आएको कतार र इतिहाद एयरलाइन्सका दुइटा विमान होल्डमा रहेको समाचार बुधबारको कान्तिपुर दैनिकमा छापिएको छ ।

काठमाडौं–निजगढ ‘फास्टट्र्याक’ नेपालले नै बनाउनुपर्छ

काठमाडौं, २८ भदौ । नयाँ शक्ति पार्टी नेपालले काठमाडौं–निजगढ ‘फास्टट्र्याक’ भारतीय वा अन्यत्रबाट सस्तो ऋण लिएर नेपाल आफैँले निर्माण गर्नुपर्ने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका सन्दर्भमा सो पार्टीले भारतसँग तत्काल थप परियोजना निम्ति सम्झौता गर्नुभन्दा भारतीय लगानी, अनुदान र ऋण सहयोगमा निर्माणाधीन आयोजना निर्दिस्ट समयमा पूरा गर्न जोड दिनुपर्ने सुझाव दिएको हो । पार्टी संयोजक डा बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणको पूर्ण सफलताको शुभकामना दिँदै भिन्न परिवेशमा गरिएको सन् १९५० को सन्धि तथा अन्य सन्धि–सम्झौताको पुनरावलोकन, नेपाल–भारत सम्बन्धमा विगतदेखि रहँदै आएका कतिपय समस्या र असमझदारी छिटो हल गर्न विशेष पहल गर्नुपर्ने सुझाव दिएका पार्टीले जनाएको छ । नेपाल–भारत सम्बन्धको एक महत्वपूर्ण आयाम रहँदै आएको परम्परागत सुरक्षा अवधारणालाई समयानुकूल विकसित र परिमार्जित गर्दै लैजानुपर्नेमा उनले जोड दिएका छन् । राजनीतिक रुपले स्थिर र आर्थिकरुपले समृद्ध नेपाल मात्रै दुवै छिमेकी भारत र चीनको सुरक्षाको भरपर्दो साझेदार बन्न सक्ने नवीन अवधारणा प्रस्तुत र स्थापित गर्न प्रयत्न हुने विश्वास लिइएको संयोजक भट्टराईद्वारा आज यहाँ जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल–भारत सम्बन्धको एउटा ठूलो समस्याको रुपमा भारतसँग बर्सेनि डरलाग्दो ढङ्गले बढ्दै गएको व्यापार घाटा रहेको विज्ञप्तिमा उल्लेख छ । अहिले भारतसँग वार्षिक आयात/निर्यात अनुपात दश गुणाभन्दा बढी रहेको छ । रासस

नुवाकोटमा ५४ हजारसँग अनुदान सम्झौता

नुवाकोट, २८ भदौ । भूकम्पपीडितको निजी आवास निर्माणका लागि सरकारले दिने अनुदानको सम्झौता नुवाकोटमा सोमबारसम्म ५४ हजारभन्दा बढीको भएको छ । गाउँ विकास समिति र नगरपालिकाले धमाधम अनुदान सम्झौता गरिरहेका छन् । सरकारले निजी आवास अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ उपलब्ध गराउनका लागि अनुदान सम्झौता गराइरहेको छ । अहिलेसम्म ५४ हजार ११४ जना भूकम्पपीडितसँग अनुदान सम्झौता भइसकेको जिल्ला विकास समितिको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख लोकनाथ रेग्मीले बताए । निजी आवास अनुदान रकम सम्झौता भएकाको नाममा गाविसले माग गरी रकमसमेत तोकिएको बैंकमा निकासा भइरहेको इकाईले जनाएको छ । हालसम्म २९ हजार १२३ जना भूकम्पपीडितको खातामा अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ गइसकेको छ । पहिलो किस्ताका लागि गैरसरकारी संस्थाबाट पनि एक हजार ७४९ जनालाई पहिलो किस्ताको रकम प्रदान गरिएको छ । नुवाकोटमा सरकारले २९ हजार १२३ जनाका लागि एक अर्ब ४५ करोड ६१ लाख ५० हजार रुपैयाँ पीडितलाई उपलब्ध गराइसकेको छ भने गैरसरकारी संस्था नेपाल रेडक्रस, वल्र्ड रिन्यु लगायतले एक हजार ७४९ जनालाई पहिलो किस्ताबापतको आठ करोड ७४ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइसकेको छ । सरकारले भूकम्पपीडित लाभग्राही सूचीमा ६५ हजार ७५९ जनाको नाम निस्केको छ भने नुवाकोटमा नौ हजार ६२३ गुनासो दर्ता भएको छ । भूकम्पपीडित लाभग्राहीको सूचीमा नाम छुटेका र अन्य गुनासोलाई गाविसले केन्द्रीय आयोजना कार्यान्वयन इकाईको गुनासो व्यवस्थापन शाखामा दर्ता गराईसकेकाले उनीहरुको पनि छिट्टै सुनुवाइ हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय नुवाकोटले जनाएको छ । रासस

प्रधानमन्त्रीको भारत भ्रमण पेण्डिङ प्रोजेक्टमा केन्द्रित हुनुपर्छः विज्ञ

काठमाडौं, २८ भदौ । आर्थिक कुटनीतिज्ञहरुले प्रधानमन्त्रीको भारत भ्रमण पेण्डिङ प्रोजेक्टमा केन्द्रित हुनुपर्ने बताएका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा आर्थिक कुटनितिज्ञहरुले प्रधानमन्त्रीको भारत भ्रमणमा पहिले नै सम्झौता गरिएका तर पेण्डिङ भएका प्रोजेक्टहरुमा केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार श्रीराम पौडेलले नेपाल–भारत सम्बन्धमा राजनीतिक–आर्थिक सम्बन्ध गाँसिएकोले राजनीतिक सम्बन्ध सुदृढ भए आर्थिक सम्बन्ध आँफै सुदृढ हुने स्पष्ट पारे । उनले प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमण सद्भावको भ्रमण हुने जनाए । पूर्वराजदुत एवम् पराष्ट्रविद डा. शंकर शर्माले प्रधानमन्त्रीको भारत भ्रमणमा पेन्डिंग प्रोजेक्टहरुलाई कार्यान्वयन गर्नेबारेमा भ्रमणको एजेण्डा केन्द्रित हुनुपर्नेमा जोड दिए । शर्माले भने,‘परियोजनाहरुको कार्यान्वयनमा ढिलाई भैरहेको छ, हामीले त्यसतर्फ ध्यान दिनुपर्छ ।’ भारतीय लगानी भित्र्याउनको लागि पनि नेपालले होमवर्क गर्नुपर्नेमा जोड दिँदै शर्माले भने,‘लगानी र व्यापारको विशेष सम्बन्ध हुन्छ, त्यसैले हामीले लगानी भित्र्याउनेबारेमा पनि ध्यान दिनुपर्छ ।’ उनले आयात र निर्यातमा पनि नेपालले ध्यान दिनुपर्ने सुझाव दिए । आर्थिक कुटनीतिज्ञ डा. विश्वम्भर प्याकुरेलले प्रधानमन्त्रीको भारत भ्रमणमा पेण्डिँग प्राजेक्टहरुलाई अघि बढाउनुपर्नेमा जोड दिए । उनले दुईपक्षीय सम्बन्धलाई आर्थिक विकासको साझेदारीमार्फत अघि बढाउनुपर्ने धारणा राखे । भारतका लागि पूर्वराजदुत डा. दुर्गेशमान सिंहले प्रधानमन्त्रीको भारत भ्रमणमा आर्थिक साझेदारी, कनेक्टिभीटी, हाईड्रोपावर लगायतका विषयलाई जोड दिनुपर्ने बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गरेसँगै दुईदेशवीचको सम्बन्ध राजनीतिक तहबाट अघि बढेको समेत उल्लेख गर्दै थपे,‘हामीले यसबाट फाईदा उठाउनुपर्छ ।’ अर्का पराष्ट्रविद डा. निश्चलनाथ पाण्डेले प्रधानमन्त्रीको भारत भ्रमण अघिल्लो वर्ष बिग्रिएको नेपाल–भारत सम्बन्ध सुधार गर्ने अवसरको रुपमा रहेको चित्रण गरे ।

दशैँमा मूल्य वृद्वि हुँदैन– मन्त्री बोहरा

काठमाडौं, २८ भदौ । आपूर्तिमन्त्री दीपक बोहराले यस वर्षको दशैँ सम्पूर्ण नागरिकले मूल्य वृद्धिरहित दशैँका रुपमा मनाउन पाउने दाबी गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्चको ११औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित एक कार्यक्रममा उनले दशैँ तिहारमा मात्र नभइ नियमित बजार अनुगमन गर्ने र नियमविपरित गएकालाई तत्काल कारबाही गर्ने बताए। “उपभोक्ता हितसम्बन्धी अब बन्ने नयाँ कानुन कडाभन्दा कडा हुनेछ,” मन्त्री बोहराले भने– “आर्थिकका साथै सामाजिक रुपमा समेत कडा दण्डसजायको व्यवस्था उक्त कानुनमा हुनेछ । कम्तीमा पनि १० लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म आर्थिक जरिवाना र १० वर्षको जेल सजायको व्यवस्था गर्ने हो भने कानुन बाहिर कसैले जाने हिम्मत गर्दैनन् ।” पछिल्लो १५ दिनमा एकै ठाउँबाट रु ३४ लाखसम्मको म्याद नाघेका सामान नष्ट गरेको बताउँदै मन्त्री बोहराले अहिलेसम्म ४०७ जनालाई कारबाही समेत गरिसकेको जानकारी दिए । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुलप्रसाद धितालले संविधानले उपभोक्ताको मौलिक हकको ग्यारेन्टी गरेको बताउँदै उपभोक्ता हित विपरित कार्य गर्नेलाई कानुनी कठघरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्तालाई आफ्नो अधिकारबारे झकझकाउने, व्यवसायीलाई प्रोत्साहित र खबरदारी गर्ने कामलाई निरन्तरता दिँदै आएको बताए । कार्यक्रममा मञ्चका मकवानपुर र सुनसरी शाखालाई सराहनीय कार्य गरेको भन्दै सम्मान गरिएको थियो । यसैगरी दुग्ध विकास संस्थान, सिताराम दूध उद्योग, अन्नपूर्ण पोष्ट दैनिकका पत्रकार राजेश बर्मा, सगरमाथा टेलिभिजनका जीतेन्द्र श्रेष्ठ, गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालालाई सम्मान गरिएको थियो । रासस