नेपाल टेलिकमको २५५ एमबी डाटा अफर, भदौ १६ गतेदेखि लागू
काठमाडौं, १४ भदौ । नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि बुवाको मुख हेर्ने दिनको अवसरमा शुभ बिहानी–सन्ध्या डाटा प्याक अफर ल्याउने भएको छ । सो अफर विहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने छ । कम्पनीका अनुसार उपभोक्ताले १०० एमबी डाटा सव्सक्राइब गर्नका लागि स्पेशल १०० एमबी र २५५ एमबी डाटा सव्सक्राइब गर्नका लागि SPECIAL225MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ । उपरोक्त महसुल दरमा नियमानुसार लाग्ने कर समावेश गरिएको छैन । उक्त अफर आगामी भदौ १६ गतेदेखि ३ महिनासम्म लागू हुने कम्पनीले जनाएको छ ।
‘स्पोर्टी स्कुटर’ रे जेडआर सार्वजनिक
काठमाडौं, १४ भाद्र । नेपालकालागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नाडा अटो शोमा मंगलबार नयाँ सिग्नस रे जेडआर सार्वजनिक गरेको छ । स्कुटर सेग्मेन्टमा यामाहाको नयाँ उत्पादन चीरपरिचित ‘रे’ स्पोर्टी लुक्समा रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रे जेडआरमा एअर कुल्ड ४–स्ट्रोक, एसओएचसी, सीभीटीजडित ११३ सीसी ‘ब्लु कोर’ इन्जिन जडान गरिएको छ । सीभीटीले स्कुटर सुरु हुँदा र गुडिराख्दा ‘स्मुथनेस’को आभाष दिलाउँछ । नयाँ स्कुटरको डिजाइन अतुलनीय रुपमा आकर्षक छ भने इन्धनको अधिकतम प्रयोगलाई प्रत्याभुत गर्छ र यसकै कारण यसको माइलेज ६६ किलोमिटर प्रति लिटर रहेको कम्पनीले जनाएको छ । ‘मोटरसाइकल जगतमा स्कुटर सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको सेग्मेन्ट हो । हाम्रो सेल्समा स्कुटरको ३९ प्रतिशत योगदान छ र आउँदो वर्ष हामीले २८ देखि ३० प्रतिशत बजार हिस्सा ओगट्ने लक्ष्य लिएका छौं,’ एमएडब्लुको सेल्स एन्ड बिजनेस डेभलपमेन्ट–एजीएम दिपक रौनियारले भने, ‘नेपाली बजारमा यामाहाको फेसिनो, रेजी र अल्फा निकै रुचाइएको छ । हामीलाई आशा छ, स्टालिस बडी भएको रे जेडआरले ट्रेन्डप्रति संवेदनशिल युवा राइडर्सको अपेक्षालाई पुर्ति गर्नेछ ।’ उनले यामाहाका स्कुटरहरुलाई नेपाली बजारमा सहर्ष स्वीकार गरिएको पनि बताए । ‘फेसिनो सार्वजनिक गरेपछि हाम्रो स्कुटर बिक्री तीव्र रुपमा बढेको छ । रे जेडआर ल्याएपछि हामी थप उत्साहित भएका छौं,’ उनले थपे । कम्पनीका अनुसार स्कुटरमा ‘कि सटर लकिङ सिस्टम’ राखिएको छ जसले स्कुटर चोरी हुनबाट बचाउँछ । चुच्चो टेल लाइटले स्कुटरलाई थप आकर्षक बनाएको छ । पछाडिको साइट लाइट बडीबाट बाहिर निस्कने गरी डिजाइन गरिएको छ जसले यसलाई स्पोर्टी देखाउँछ । साथै, डिस्क ब्रेक, ट्युबलेस टायर र रोबस्ट बडीमा कुँदिएको ग्राफिक्सले यसलाईस्पोर्टी स्कुटर बनाइदिएको कम्पनीको भनाइ छ । रे जेडआर डिस्क र ड्रम ब्रेकमा उपलब्ध छ । डिस्क ब्रेक मोडेल ‘म्याट ग्रिन’ र ‘फिज् ह्वाइट’ गरी दुई आकर्षक कलर र ड्रम ब्रेक मोडेल ‘माभेरिक ब्लु’ र ‘रुस्टर रेड’मा आउँछ । यामाहाले ग्राहकको आवश्यकता र मागअनुसार निरन्तर रुपमा स्कुटरका विभिन्न मोडेल उत्पादन गर्दै आएको छ । यामाहाको सिग्नस रे महिलाप्रति लक्षित थियो भने रे जेड युवाप्रति र प्रिमियम फेसनका लागि फेसिनो स्कुटर ल्याएको थियो । युवाहरुलाई लक्षित गरी स्टाइल, स्पोर्टीनेस र इनोभेसनले भरिएको नयाँ रे जेडआर ल्याएको कम्पनीले जनाएको छ ।
अटो लोनमा बैंकहरुबीच प्रतिष्पर्धा, न्यूनतम व्याजदर ४.५ प्रतिशतसम्म
काठमाडौं, १४ भदौ । अटो लोनमा बैंकहरुबीच तीब्र प्रतिष्पर्धा देखिएको छ । राजधानीमा मंगलबारदेखि सुरु भएको ११ औं नाडा अटो शोमा बैंकहरुले अटो लोनमा तीब्र प्रतिष्पर्धा गरेका हुन् । ग्लोबल आइएमई, एनएमबी, हिमालयन, जनता, सिभिल, माछापुछ्रे, मेगा र सानिमा लगायतका बैंकले न्युनतम ब्याजदरमा अटो लोन प्रवाह गर्न प्रतिष्पर्धा सुरु गरेका हुन् । बैंकहरुले न्युनतम सेवा शुल्क सहित अधिकतम कर्जा अवधीमा अटो लोन उपलब्ध गराएउन लागेका हुन् । हिमालयन बैंक हिमालयन बैंकले एनबीएल हायर पर्चेज लोनका नाममा शुन्य दशमलब २५ प्रतिशत सेवा शुल्कमा ८० प्रतिशतसम्म अटो लोन प्रवाह गरिरहेको छ । अटो शोका दौरान नाम गराएर ३० दिनपछिसम्म यो अफर अनुसार सवारी साधन खरिद गर्न सकिन्छ । कम्पनीले जुनसुकै कम्पनीका कारको खरिदमा यस्तो सुबिधा उपलब्ध गराउँछ । एनआइसी एसिया बैंक एनआइसी एसिया बैंकले अटो लोन नाममा ६ दशमलब २५ प्रतिशत ब्याजदरमा ८० प्रतिशतसम्म ऋण सात वर्षका लागि उपलब्ध गराउँछ । यसको सेवा शुल्क शुन्य दशमलब ७५ प्रतिशत कायम गरिएको छ । बैंकले अन द स्पट फाइनान्सको सुबिधा समेत उपलब्ध गराएको छ । ग्लोबल आइएमई बैंकले ६ दशमलब ९९ प्रतिशतमा ब्याजदरमा स्पेशल अटो लोन उपलब्ध गराएको छ । यसको सेवा शुल्क शुन्य दशमलब ७५ प्रतिशत तोकिएको छ भने कर्जा अवधी ७ बर्ष रहेको छ । बैंकले ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँछ । एनएमबी बैंक यो बैंकले पाँच बर्षे कर्जा अवधीका लागि एक प्रतिशत सेवा शुल्क लिएर ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिरहेको छ । एनएमबीको ब्याज दर ६ दशमलब ४९ प्रतिशत रहेको छ । यो बैंकले पनि स्पट फाइनान्सको सुबिधा दिएको छ । मेगा बैंक मेगा अटो लोनका नाममा बैंकले ७ प्रतिशतको ब्याजदरमा शुन्य दशमलब ७५ प्रतिशत सेवा शुल्क तोकेर ८० प्रतिशतसम्म अटो लोन दिईरहेको छ । यसले पनि ७ वर्षको कर्जा अबधि तोकेको छ । मेगाले दुई दिनमै कर्जा प्रवह गर्ने समेत बताएको छ । माछापुछ्रे बैंक एमबीएल इजी कार लोन अफरसहित माछापुछ्रे बैंकले शुन्य दशमलब ६५ प्रतिशतको सेवा शुल्कमा ८२ प्रतिशत अटोलोन प्रवाह गर्छ । यसको ब्याजद ६ दशमलब ७५ प्रतिशत मात्रै रहेको छ । बैंकले तीन दिनमा कर्जा प्रवाह गर्ने बताउँदै कर्जा अबधि ७ वर्ष नै तोकेको छ । सानिमा बैंक सानिमाले ६ दशमलब ९९ प्रतिशतको ब्याजदरमा एक प्रतिशत सेवा शुल्क लिएर ८० प्रतिशतसम्म अटो लोन प्रवाह गरिरहेको छ । बैंकले ७ बर्षे कर्जा अवधी तोकेको छ । लक्ष्मी बैंक लक्ष्मी बैंकले पनि शुन्य दशमलब ५ प्रतिशत सेवा शुल्कमा ६ दशमलब ९९ प्रतिशतको ब्याजदरमा सात वर्षका लागि अटो लोन दिईरहेको छ । लक्ष्मी बैंकले पाँच बर्षे कर्जा अबधिका लागि ९० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँछ । सिभिल बैंक सिभिल बैंकले फियट र स्कोडाका कारहरुको खरिदमा ४ दशमलब ५ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउँदैछ । यसको सेवा शुल्क पनि शुन्य दशमलब ५ प्रतिशत मात्रै तोकेको छ । यसको कर्जा अबधि पनि ७ वर्ष नै रहेको छ । सिभिलले अन्य कम्पनीका सवारी साधनमा भने ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।
प्राधिकरणद्धारा एक्काइस जलविद्युत् आयोजनाको सम्झौता खारेज
काठमाडौं, १४ भदौ । नेपाल विद्युत् प्राधिकरणले निर्माण सुरु र सर्त पालना नगरेको भन्दै विभिन्न २१ जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) खारेज गरेको छ । विद्युत् खरिद सम्झौता गरेपछि आयोजनाले तत्काल निर्माण प्रक्रिया सुरु गर्नुपर्ने वा चित्तबुझ्दो कारण भए मात्रै म्याद थपका लागि निवेदन दिन सकिन्छ । तर चित्तबुझ्दो कारण पेस नगरेको तथा निर्माण सुरु नगरेको पाइएपछि २१ आयोजनाको सम्झौता खारेज गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख मुकेशराज काफ्लेले जानकारी दिए । सम्झौता खारेज गरेका आयोजनामा ४६५ किलोवाटदेखि १८.५० मेगावाट क्षमतासम्मका छन् । खारेजीमा परेका आयोजनाको कुल जडित क्षमता १२९ मेगावाट रहेको छ । समयमा लगानी जुटाउन नसकेको, विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) खारेज भएको र सम्झौताअनुसार काम नभएको भन्दै प्राधिकरणले पिपिए खारेज गरेको हो । पिपिए खारेजीपछि यी आयोजनाको भविष्य अनिश्चित भएको छ । प्रवद्र्धकले प्राधिकरणसँग सम्झौता गर्दा कम्तीमा एक वर्ष र बढीमा दुई वर्षभित्र लगानी जुटाएर निर्माण सुरु गर्ने र तोकिएको समयमा विद्युत् उत्पादन गर्ने उल्लेख गरेको हुन्छ । सम्झौता खारेज भएका आयोजनामा १८ मेगावाट क्षमताको माथिल्लो सोलु, १८ मेगावाट क्षमताको तल्लो बलेफी, माथिल्लो मोदी १४, लाङ्टाङ १०, मादी पहिलो १०, तल्लो न्यादी ४.५, मध्य तादी ५.५, तल्लो सुनकोसी दोस्रो ९.९ र मिदिम ३.४ मेगावाट रहेका छन् । प्राधिकरणको ढिलाइका कारण आयोजनाको काम अघि बढाउन नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा केही आयोजनाको खारेज भएको सम्झौता मन्त्रिपरिषद्ले ब्यूँताएपछि सम्झौता कायम रहेको छ । प्राधिकरणका अनुसार निजी क्षेत्रले काम गरिरहेका कुल ४३ आयोजना सम्झौता भएर अगाडि बढेका छन् । ती आयोजनाको क्षमता ७७८ मेगावाट रहेको छ । तीमध्ये केही आयोजनाको वित्तीय सम्झौता भइसकेको छ भने केहीले वित्तीय जोहो गरिरहेका छन् । हाल कुल ९२ वटा आयोजना निर्माणका क्रममा रहेका छन् । ती आयोजनाको क्षमता एक हजार ७२६ मेगावाट रहेको छ । त्यसमा माथिल्लो तामाकोसी, माथिल्लो त्रिशूली थ्री ‘ए’ लगायतका आयोजना रहेका छन् । ऊर्जामन्त्री जनार्दन शर्माले सम्झौता भएका तर निर्माण सुरु नगरेका आयोजनालाई तत्काल निर्माण सुरु गर्न दिएको निर्देशनअनुसार नै प्रवद्रकलाई ध्यानाकर्षण गराइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले निर्माणका क्रममा रहेका आयोजनालाई तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ । मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्न निर्माणाधीन आयोजनालाई तत्काल अगाडि बढाउनु आवश्यक रहेको भन्दै सहजीकरण गर्नुपर्ने प्रवद्र्धकहरुको माग रहेको छ । सरकारले गत फागुन ६ गते जारी गरेको ऊर्जा सङ्कट निवारण कार्ययोजनामा निर्माणका क्रममा रहेको आयोजनालाई शीघ्र सम्पन्न गर्न सहजीकरण गर्ने उल्लेख छ । प्राधिकरण आफैँले निर्माण गरिरहेका आयोजनालाई तोकिएको समयमा पूरा गर्न आवश्यक पहल गरेको छ । प्राधिकरणले ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’, ३२ मेगावाट क्षमताको चमेलिया र १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो आयोजना निर्माण गरिरहेको छ । यस्तै ३२ मेगावाटबाट क्षमता बढाएर ४० पु¥याइएको राहुघाट जलविद्युत् आयोजनाको ठेकेदार छनोटको प्रक्रिया सुरु भएको छ । भारतीय ठेकेदारसँग भएको सम्झौता तोडेर नयाँ ठेकेदार छनोट गर्ने र आयोजना तत्काल सुरु गर्ने प्राधिरकणको योजना रहेको बताइएको छ । रासस
चेम्वरको कार्य समिति सदस्यमा रणबहादुर श्रेष्ठ र नवराज ढकाल मनोनयन
काठमाडौं, १४ भदौ । नेपाल चेम्वर अफ कमर्सले रणबहादुर श्रेष्ठ र नवराज ढकाललाई कार्य समिति सदस्यमा मनोनयन गरेको छ । कार्यसमिति सदस्य रणबहादुर श्रेष्ठ नेपाल सरकारका पूर्व सचिव र नव राजढकाल पूर्व अतिरिक्त प्रहरी महानिरिक्षक छन् । कार्यसमितिमा सदस्यद्वयको नियुक्तिले चेम्वरले प्रदान गर्दै आएको सेवा थप प्रभावकारी बन्ने चेम्वरको विश्वास रहेको छ ।
मंगलबार सेयर बजारमा ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि
काठमाडौं, १४ भदौ । मंगलबार सेयर बजारमा ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यूनियन फाइनान्स कम्पनी, वमी माइक्रोफाइनान्स वित्तिय संस्था, सुमिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सिन्धू विकास बैंक र बोटलर्स नेपाल(तराई) का लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सो दिन सबै समूहमा हरियो रङ देखिएको छ । सबैभन्दा बढी डेभलपमेन्ट बैंकको समूह ९० अंकले उकालो लागेको छ । उत्पादनमूलक ७२, बैंकिङ् २४, विकास बैंक १८, बीमा १५ र होटल समूह ११ अंकले बढेका छन् । त्यस्तै, फाइनान्स र अन्य समूह दुबै ३ अंकले बढेका छन् । मंगलबार नेप्से परिसूचक २१ दशमलब ५४ अंकले बढेर १७८८ दशमलब ०८ अंकमा पुगेको छ । सो दिन १४२ कम्पनीको १८ लाख ९७ हजार कित्ता सेयर एक अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सो दिन तीन कम्पनीको ८ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । चिलिमे हाइड्रोपावर कम्पनीको ८ करोड ७८ लाख रुपैयाँ, नेपाल बङगलादेश बैंकको ८ करोड १३ लाख र सिटिजन बैंक इन्टरनेसनलको ८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनीको ७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
साढे चार किलो चरेससहित तीन नेपाली पक्राउ
कञ्चनपुर, १४ भदौ । पश्चिमी सीमा नाकाको महाकाली नदी माथिको वनवासा पुलमा आज तीन नेपालीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले साढे चार किलो चरेस सहित पक्राउ गरेको छ । म १ प १६३० नंको मोटरसाइकलमा जाँदै गरेका बेला चरेस सहित बाँके, कोहलपुरका ३७ वर्षीया शान्ति बुढाथोकी, ३८ वर्षीय विमल घर्ती मगर र भीमदत्तनगरपालिका खैरभट्टिका २७ वर्षीय लक्ष्मण सुनारलाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ । तीनै जना मोटरसाइकलमा जाँदै गरेका बेला एसएसबीले जाँच गर्दा चरेस फेला परेको भारतीय प्रहरीको भनाइ छ । बुढाथोकीलाई मगरले रु १० हजार दिने गरी चरेस वनवासा पुर्याउन लगाएका थिए । भीमदत्तनगर बसपार्कबाट मोटरसाइकल चालक सुनारलाई वनवासा पुर्याए बापत रु पाँच हजार दिने जनाउँदै लगेपछि उनीहरु पक्राउ परेका हुन । अभियुक्त तीनै जनालाई एसएसबीले भारतीय प्रहरीको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले चरेस सहित नेपाली पक्राउ परेको जानकारी हालसम्म पाउन नसकिएको बताए । रासस
नेपालमा वार्षिक १८ अर्ब ३० करोड रुपैयाँ बढीको मदिराजन्य पदार्थ आयात
काठमाडौं, १४ भदौ । आव २०७२/७३ मा चामल र रक्सीको आयात झन्डै बराबरी छ । कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्की यस वर्ष रु २५ अर्बको चामल आयात भएको बताउछन् । मदिराजन्य पदार्थ रु १८ अर्ब ३० करोड ८४ लाखको आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । चामलभन्दा मदिराजन्य पदार्थ रु छ अर्ब ६९ करोड १५ लाख अर्थात् ३६ दशमलव शून्य ५४ प्रतिशतले मात्र कम हो । वैदेशिक रोजगारबाट फर्किएका नेपालीले उपहार साथमा ल्याएको एक लिटर मदिराजन्य पदार्थको समेत गणना गर्ने हो भने चामल र रक्सीको आयात बराबरी हुन आउँछ । विश्वका ८० भन्दा बढी देशमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ४० लाखभन्दा बढी छ । रोजगारबाट फर्किआउँदा एक लिटर मदिराजन्य पदार्थको भन्सार नलिएको राजु हुमागार्इंले बताए । आव २०७२/७३ मा कुल एक करोड २४ लाख २० हजार ८०५ लिटर मदिराजन्य पदार्थ आयात भएको छ । लिटरलाई आधार मान्दा सबभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ, खाद्यान्नमा प्रयोग हुने तेलपछि मदिराजन्य पदार्थ तेस्रो हो । भन्सार विभाग, त्रिपुरेश्वरले आव २०७२/७३ मा प्रकाशन गरेको वैदेशिक व्यापार तथ्याङ्क पुस्तकमा नेपालमा विश्वका २९ देशबाट तयारी मदिराजन्य पदार्थ आयात भएको उल्लेख छ । आयात भएको उक्त पेय पदार्थमा बियर, वाइन, ह्विस्की, रम, जिन र भोड्का हुन् । सबैभन्दा धेरै भारतबाट एक करोड सात लाख ३५ हजार ७९९ लिटर र सबैभन्दा थोरै १२ लिटर रुसबाट आयात भएको छ । यस्तै बेलायतबाट चार लाख ३९ हजार ८८० लिटर, अस्ट्रेलियाबाट दुई लाख ९९ हजार १३०, स्पेनबाट दुई लाख ७६ हजार ११९ र फ्रान्सबाट दुई लाख ५८ हजार ९७ लिटर आयात भएको छ । यसैगरी अमेरिकाबाट ५५ हजार ५४३ लिटर, इटलीबाट ५१ हजार ८०१, चिलीबाट ४७ हजार ९७०, दक्षिण कोरियाबाट ४१ हजार ७५८, स्विडेनबाट ३८ हजार ४८८, चीनबाट ३७ हजार १७९, सिङ्गापुर २९ हजार ४४५, बेल्जियम २३ हजार ६५२, पोल्यान्ड २० हजार ८३, मेक्सिको १५ हजार ७५३, प्रोचुगल १३ हजार १४९, नेदरल्यान्ड १२ हजार ११ र आयरल्यान्डबाट ११ हजार ५५४ लिटर आयात भएको छ । त्यसैगरी अर्जेन्टिनाबाट छ हजार २०८ लिटर, जर्मनीबाट दुई हजार ७७२, स्विजरल्यान्डबाट एक हजार ३८२, साउदी अरबबाट एक हजार २०, जापानबाट ९६९, क्यूवाबाट १८०, न्यूजिल्यान्डबाट १०४, गणतन्त्र कोरियाबाट ९२, ब्राजिलबाट ४२ र फिलिपिन्सबाट १३ लिटर मदिराजन्य पदार्थ आयात भएको छ । अधिकांश स्थानबाट आयात भएको मदिराजन्य पदार्थमा वाइनको मात्रा बढी छ । नेपालमा आयातित वाइन अङ्गुरबाट निर्मित देखिन्छ । जसमा रक्सीको मात्रा १२ देखि १७ प्रतिशतसम्म छ । वाइनको आयातलाई प्रतिस्थापन गर्न स्वदेशमा स्तरीय वाइन कारखाना निर्माण हुन सक्नु हो भन्छन्, ‘एक गाउँ एक उत्पादन केन्द्र’का संयोजक दिलसुन्दर श्रेष्ठ । व्यावसायिक रुपमा जुम्लाको स्याउ, मकवानपुरको किबी, चितवनको केराबाट वाइन उत्पादन गर्न सकिन्छ तर त्यसतर्फ कसैको ध्यान जान सकेको छैन । नेपालमा चाडपर्वमा अनिवार्य रक्सी पिउने सोचका कारणले मदिराजन्य पदार्थको आयात बढेको अनुमान गर्न सकिन्छ । दसैँ, तिहार, छट, इद, लोसारलगायतका विभिन्न भोजमा रक्सी पिउने संस्कृति मौलाउँदै गएको पाइन्छ । मेडिकल डाक्टर रक्सीलाई औषधिका रुपमा सेवन गर्दा मात्र स्वास्थ्यलाई फाइदा पुग्ने बताउँछन् । डा प्रकाशराज रेग्मी निरोगी व्यक्तिले औषधिका रुपमा बियर ६० मिलीलिटर, वाइन ३० मिलीलिटर र ह्विस्की १० मिलीलिटर फलफूलसँग खाँदा शरीरलाई बेफाइदा नहुने बताउछन् । दूरदराजका गाउँमा खाद्यान्न पाउन गाह्रो भए पनि रक्सी सजिलै पाइने कात्तिकेदेउराली, काभ्रेका प्रदीप चौलागार्इं बताउछन् । ग्रामीण पसलमा घरेलु रक्सी जताततै बिक्री गर्न राखेको पाइन्छ । रासस