धमाधम सुरु हुँदै आउटबाउण्ड टुर, प्राथमिकतामा दशैं प्याकेज
काठमाडौं १२, भदौ । नेपालबाट पर्यटक बनेर विदेश घुम्न जाने (आउटबाउण्ड) टुरका नेपालीको संख्या बढ्दै जान थालेसँगै व्यवसायीले पनि आकर्षक प्याकेज सार्वजनिक गर्न थालेका छन् । पर्यटन व्यवसायीले नेपालबाट दशैंको समयमा विदेश घुम्न चाहने नेपालीको लागि आकर्षक प्याकेज सार्वजनिक गर्ने र बजारीकरणलाई पनि बढाउन थालेका हुन । दशैंमा नेपालीहरुले लामो छुट्टी पाउँने र यहि मौका छोपेर विदेश घुमघाम गर्ने शैंली बढ्दै गएको छ । विगत चारपाँच वर्षदेखि विदेश घुम्न जाने नेपाली संस्कृति हरके वर्ष बढिरहेको पर्यटन व्यवसायीको भनाइ छ । दशैंको समयमा नेपालीले लामो बिदा पाउने र चाडपर्वको समय भएकोले पनि विदेश घुमेर रमाउने संस्कृति बढिरहेको सोसाइटी अफ टुर एण्ड ट्राभल अपरेटर्स (सोट्टो)नेपालका अध्यक्ष यमबहादुर खड्काले बताए । विगतका केही वर्षमा नेपालमा आउने मलेसियन पर्यटकको संख्या १७ हजार रहेको छ भने मलेसिया घुम्ने नेपाली भने एक लाख ७० हजार पुगेको खड्काको भनाइ छ । नेपाल सरकारले विदेश घुम्न जाने पर्यटकको तथ्यांक राख्ने गरेको छैन । तर, मलेसियालको तथ्यांक हेर्ने हो भने नेपाली पर्यटक चार देखि पाँचौ स्थानमा रहन थालेको उल्लेख छ । विशेषगरी बाहिर घुमिरहने उच्च र मध्यम वर्गका परिवारका सदस्यको दशैं मनाउन विदेशतिर जाने संस्कृति बढेको उनको भनाइ छ । आफन्त विदेशमा बस्नेसँगको भेटघाटको माहोल दशैंकै समयमा मिलाउने र परिवारका सदस्य छुट्टि मनाउन विदेशीले संस्कृति नेपालमा बढेको खड्काले जानकारी दिए । दशैं केन्द्रित प्याकेज सुरु दसैंको समयमा विदेश घुमघाममा गर्ने र रमाइलो गर्ने नेपालीको संख्या बढ्दै जाँदा दशैं केन्द्रित प्याकेज सुरु हुन थालेको छ । नेपालमा पछिल्लो समय आक्रामक बजारीकरण सुरु गरेको एस ट्राभलले आफ्नो आउटबाउण्ट टुर प्याकेज सार्वजनिक गरेको छ । आइतबार नै सार्वजनिक भएको यस्तो प्योकजमा यो वर्षबाट सुरु भएका र नयाँ देश थपिएको गन्तव्यको प्याकेजलाई मात्रै बजारीकण गरेको एस ट्राभलका इन्टरनेशनल होलिडे प्रवन्धक अनिल धरेलले बताए । उनका अनुसार ग्राहककको इच्छा अनुसार नै प्याकेज दिने एसले प्रवद्र्धनका लागि दुईदेखी ६ वटा मुलुक जान सकिने गरी प्याकेज सार्वजनिक गरेको छ । दुई लाख ५० हजार भन्दा वढी ग्राहकलाई सन्तोषजनक सेवा दिन सफल एसले ल्याएको यस्तो प्याकेजमा एकसातादेखि दुईसाता भन्दा लामो सयमकोे प्याकेज सार्वजनिक गरेको हो । गत वर्ष तीन देखि चार हजारको बीचमा मात्रै आउटबाउण्डमा नेपाली पठाएको यो कम्पनीले मात्रै यो वर्ष पाँच हजार भन्दा बढी हुने अपेक्षा गरिएको धरेलले बताए । पछिल्लो सयम नेपालीको खर्च गर्ने क्षमता बढ्दै गएका कारण आउटबाउण्डको प्याकेज पनि बढ्न थालेको छ । हाल नेपालमा पाँच दर्जनजति कम्पनीले आउटबाउण्ड सेवा दिन सुरु गरिसकेका छन्् । विश्सनिय सेवाका कारण ब्राण्ड बनाउन भने मुस्किलले एक दर्जनक कम्पनी मात्रै सफल भएका छन् । ‘दशैंमा नेपाल बस्दा पनि खर्च त भैहाल्छ अलिकति रमाइले पनि हुने र इज्जत तथा प्रतिण्ठा पनि बढ्ने भन्दै नेपाली बाहिर जान रुचाउँने गरेका छन’, सोट्टो नेपाका अध्यक्ष खड्काको भनाइ छ । नेपालको अर्थतन्त्रले अपेच्छा अनुसार फड्को मार्न सकेको भए यो संस्कृति अझै फस्टाइसकेको हुने आउटबाउण्ड टुरको प्याकेज बेचिरहेको अर्को कम्पनी इन्सेन्टिभ टुर्सको भनाइ छ । इन्सेन्टिभबाट यो वर्ष दसैंको सयका लागि मात्रै १०÷१२ वटा आउटबाउण्ड टुरका प्योकजको तयारी गरिरहेको छ । विभिन्न प्रकारका प्याकेज शुल्क पछिल्लो समय आउटबाउण्डको टुरको प्रचार गरेकै नेपाली तान्न सफल भएको एस ट्राभलले भने एउटै प्याकेजमा पनि इकोनोमि, प्रीमियम र लक्जरी गरी तीन प्रकारको प्याकेज ल्याएको छ । एसले सात रात आठ दिनको दुवाई मरिससको इकोनोमिक प्याकेज एक लाख ९८ हजारको, प्रीमियम २ लाख ३९ हजार र लक्जरी प्याकेज २ लाख ९९ हजार रुपैयाँको ल्याएको छ । यसैगरी यो कम्पनीले थाइल्याण्ड, मलेसिया सिंगापुर, इन्डोनेसियाको १२ दिनको, चार युरोपेली मुलुकको आठ दिनेको, जापान र कोरिया आठ दिनको, बेलायत, स्कटल्याड, वेल्स १० दिनको, अमेरिका आठ दिनको, अस्टे«लिया आठ दिनको, यूरोपका ६ मुलुक १२ दिनको, अमेरिका नै १६ दिनको टुर प्योकज सार्वजनिक गरेको छ । एउटा कम्पनीले प्याकेज बनाएपछि अन्य टुर व्यवसायीले पनि जतिसक्दो छोटो समयको, एफोर्टेबल र आकर्षक प्याकेज बनाउने गरेको नेपाल एसोसिएशन अफ टुर अपरेटर्स (नाटो)मा आवद्ध व्यवसायी बताउँछन । व्यवसायीको काम व्यवसाय गर्ने भएकोले नेपालबाट बाहिर जानेलाई पठाउने र आउन चाहनेलाई ल्याउने काम गरेको व्यवसायीको बुझाई छ । एस ट्राभलमा आएको सोधपुछ र टुर वुकिङ गर्ने नेपालीमा देखिएको उत्साहको तुलनामा प्याकेज विक्री भने निकै कम रहेको उल्लेख छ । नेपालबाट विदेशमा घुम्न जानु भनेको नेपालीले वर्षोदेखि कमाएर बचाएको रकममा रमाइलो गर्न गर्ने घुमघाम नै भएको मार्कोपोले ट्राभलले जानकारी दिएको छ । विदेश जानु भनेको अहिले नजिकको तीर्थ हेला भनेजस्तो पनि भएको टुर व्यवसायी बताउँछन । अहिले दशैंमा विदेश जाने नेपाली भनेका हरेक वर्ष घुमिरहेका र वार्षिक आम्दानी राम्रै भएका वर्ग छन् । जो हरेक वर्ष एउटा न एउटा देश घुमरे रमाइरहेका हुन्छन ।
लुब्रिकेन्ट्स, टायर र ट्यूव उद्योग तत्काल विकास गर्न सकिन्छ-कृष्णप्रसाद दुलाल
कृष्णप्रसाद दुलाल, महासचिव–नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपाल नाडा अटोमावाइल्स एसोसिएशन अफ नेपालका महासचिव कृष्णप्रसाद दुलाल युवा उद्यमी हुनुहुन्छ । नेपालमा उत्पादन मुलक उद्योग चलाउनु सबैभन्दा कठिन व्यवसाय मानिन्छ । तर दुलालले उद्योग क्षेत्रमा नै सफलता हासिल गर्दै आउनु भएको छ । उहाँको उद्योग पूर्वाञ्चल ल्यूव आयलले नेपाली बजारमा महत्वपूर्ण स्थान लिईसकेको छ । प्रस्तुत छ अटोमोवाइल्स क्षेत्रमा उद्योगको अवस्था र यस क्षेत्रको भविष्यबारे केन्द्रित उहाँसँग गरिएको विकास वहस । नेपालमा अटोमोवाइल्स बजारमा वार्षिक करिब ५००० करोड रुपैयाँ बराबर कारोबार हुन्छ । तर सबै आयातित बस्तु बिक्री हुन्छ । आन्तरिक उत्पादनलाई कसरी वृद्धि गर्न सकिन्छ ? तपाईले भने जस्तै नेपालको अटोमोवाइल्स क्षेत्रमा वार्षिक करिब ५००० करोड रुपैयाँको कारोबार हुने हुन्छ । त्यसमा उद्योगको हिस्सा धेरै कम छ । अटोमोवाइल्स उद्योगको विकास गर्न सरकारको भूमिका बढी हुन्छ । सवारी निर्माण सम्बन्धी उद्योग लगाउन ठूलो पूर्वाधार चाहिन्छ । नेपालमा जग्गा यसरी खण्डिकरण भयो कि ठूला उद्योग लगाउनु पर्यो भने आवश्यक जमिन पनि पाईदैन । दोस्रो, उद्योग लगाउन विद्युतको अभाव छ । अटोमोवाइल्ससँग सम्बन्धित उद्योगमा बिजुली धेरै चाहिन्छ । हामीकहाँ दैनिक १२/१४ घण्टासम्म लोडसेडिङ हुन्छ । यो समस्या कहिले समाधान हुन्छ, त्यो अनिश्चित छ । तेस्रो, नेपालमा भएका उद्योगहरुको पनि सहि व्यवस्थापन र प्रवद्र्धन हुन सकेको छैन । यस्तो अवस्थामा नयाँ उद्योगमा लगानी आकर्षित हुनसक्दैन । बिजुली, सडक, पानी, ढल, सुरक्षा प्रबन्धसहितको व्यवस्थित औद्योगिक क्षेत्र छैन । यस्ता पूर्वाधार निर्माणतर्फ सरकारको तर्फबाट गर्नु पर्ने लगानी भएन । उत्पादन मुलक उद्योगलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रमको प्रस्थान विन्दु के हुन सक्छ ? पहिला भएका उद्योगलाई प्रवद्र्धन गर्नुपर्छ । भएका उद्योगलाई व्यवस्थित रुपमा सञ्चालन हुने वातावरण बनाउनुपर्छ, भलै १० वटा उद्योग मात्र किन नहोस् । अटोमोवाइल्स क्षेत्रमा सबैभन्दा बढी सम्भावना टयर उद्योगमा छ । गोरखकाली टायर उद्योगले गुणस्तरीय उत्पादन गरेको पनि हो । त्यो उद्योगलाई व्यवस्थित गरेर सञ्चालन गर्न सकिन्छ । गोरखकाली जस्ता २/३ वटा टायर उद्योग नेपालमा चल्न सक्छन् । त्यस्तै, नेपाली लुब्रिकेन्ट्स उद्योगहरुलाई अलिकति प्रोत्साहित गर्ने हो भने कुल बजारको ५०/६० प्रतिशत हिस्सा नेपाली लुब्रिकेन्ट्सले लिन्छ । त्यति मात्र भयो भने वार्षिक १५ अर्ब रुपैयाँ भन्दा बढीको बजार नेपाली उत्पादनले लिन्छ । त्यसपछि ट्युब उत्पादन गर्ने उद्योग निर्माण गर्न सकिन्छ । हेलमेट उत्पादन गर्ने उद्योग चलाउन सकिन्छ । गाडीका सजावटका सामान बनाउन सकिन्छ । एसेसरीज उत्पादन गर्न सकिन्छ । शुरुमा एसेम्बिलिङ उद्योगलाई ल्याउन सक्नुपर्छ । त्यसपछि क्रमश फुलफेजको उद्योगहरु सञ्चालनमा आउन सक्छन् । समग्रमा उद्योगको विकास गर्नको लागि सरकारी निकायको नेतृत्वमा रहेका व्यक्तिहरुमा इच्छाशक्ति आवश्यक छ । हालको नीतिमा केही सुधार जरुरी छ । लुब्रिकेन्ट्सको बजार कस्तो छ ? राम्रो छ । गत आर्थिक वर्षमा लुब्रिकेन्ट्सको बजार ३० प्रतिशत विस्तार भएको छ । लुब्रिकेन्ट्स बजारको करिव ३३ प्रतिशत नेपाली उत्पादनले लिएको छ भने ६७ प्रतिशत आयातित लुब्रिकेन्ट्स प्रयोग हुन्छ । नेपाली उत्पादनलाई प्रयोग गर्ने सरकारी नीति लागू मात्र गरिदिने हो भने पनि बजार धेरै विस्तार हुन्छ । कच्चा पदार्थको भन्सार थोरै मात्र छुट दिएमा नेपाली लुब्रिकेन्ट्सले कुल बजारको ५० प्रतिशत लिन्छ । तपाई नाडाको नेतृत्व तहमा हुनुहुन्छ । यस्ता नीतिगत एड्भोकेशीका विषयमा नाडाले के भूमिका खेलिरहेको छ ? नाडाले काम गरिरहेको छ । हरेक पटक बजेट बनाउने समयमा हामीले यो क्षेत्रमा गर्न पर्ने सुधारका लागि विभिन्न सुझाव दिँदै आएका छौं । तर सरकार छिटोछिटो परिवर्तन हुने भएकोले, मन्त्री, सचिव, विभागीय प्रमुखहरु परिवर्तन भईरहनाले बुझाउन र त्यसलाई कार्यान्वयन गराउन गाह्रो भयो । बनेका नीति र कार्यक्रमहरुका कार्यन्वयन पनि हुन सकेन । ९/९ महिनामा सरकार परिवर्तन हुन्छन् र सबै सरकार असफल हुँदै ढल्दै गरेका छन् । अटोमोवाइल्स बजारको विकास कुन अवस्थामा छ ? विकासको शुरुवात मात्र भएको छ । यो बजारको विस्तार वार्षिक २५/३० प्रतिशतले भईराखेको छ । अझै २० वर्षसम्म यस्तो वृद्धिदर कायम नै रहन्छ । सडक विस्तारका काम भईराखेका छन् । रोडको पहुँच विस्तारसँगै, निजी सवारी, सार्वजनिक सवारी, ढुवानीका सवारी, निर्माण क्षेत्रमा प्रयोग हुने हेभिइक्वीप्मेन्ट लगायत सबै प्रकारका सवारीको माग बढ्छ । कम्तिमा ४/५ जनाको परिवारमा एउटा कार, कुल जनसंख्याको ७०/८० प्रतिशतसँग मोटरसाईकल भएको अवस्थामा बल्ल अटोमोवाइल्स बजार विकसित भयो भन्न सकिन्छ । अहिले कुल जनसंख्याको करिव ७ प्रतिशत जनतासँग निजी सवारी छ । ७५ प्रतिशत नेपालीसँग मोटरसाईकल र ५० प्रतिशत नेपालीसँग चार पाङ्ग्रे सवारी भएकोमा मात्र यो क्षेत्रलाई विकशित अवस्थामा पुगेको भन्न सकिन्छ । अहिले नै राजधानीमा पाँच किलोमिटर पार गर्न १/२ घण्टा बिताउनुपर्छ । तपाईले भने जस्तो ५० प्रतिशत नेपालीसँग चार पाङ्ग्रे सवारी र ७५ प्रतिशतसँग मोटरसाईकल हुने हो भने ट्राफिक म्यानेजमेन्ट कसरी हुन्छ ? राजधानीको २२ किलोमिटरको चक्रपथ भित्रको समस्यालाई मात्र हेरेर सिङ्गो नेपालको अटोमोवाइल्स क्षेत्रबारे कुरा गर्नु गलत हुन्छ । बल्ल सबै जिल्ला सदरमुकाममा बाटोले छुदैछ । हरेक निर्वाचन क्षेत्रमा सडक पुर्याउने नीति भरर्खरै बन्दै छ । हरेक गाविसमा सडक जोड्ने, हरेक गाउँ र बस्तीमा बाटो पुर्याउने योजना अझै बनेका छैनन् । राजधानी लगायतका सहरी क्षेत्रमा नयाँ रिङरोड खोल्ने, ओभरफ्लो ब्रिज बनाउने, फष्ट ट्रयाक बनाउने काम गर्नु जरुरी छ । वाहिरी चक्रपथ बनाउने १० वर्ष पुरानो योजना अझै कार्यान्वयन भईराखेको छैन । यतिबेला अण्डरग्राउण्ड मेट्रो रेल निर्माणतर्फ काम शुरु हुनु पर्ने हो । हरेक जनताको पहुँचमा यातायातको साधन पुग्नुपर्छ । राजधानीबाहिर घण्टौ कुर्दा पनि सार्वजनिक यातायात नपाएको अवस्था छ । नेपालमा सवारी दुर्घटना अधिक हुने गरेको छ, यसको कारण के हुन् ? दुर्घटना कम कसरी गर्न सकिन्छ ? सडक दुर्घटना नाडाको पनि विशेष चासोको विषय हो । यो विषयलाई हामीले धेरै पहिलेदेखि उठाउँदै आएका छौं । सवारी दुर्घटना हुनुमा ड्राईभरको लापरवाही प्रमुख कारण हो । ड्राईभरलाई न्यूनतम शिक्षा पनि भएन । उनीहरुको क्षमता विकासको लागि तालिम दिने निकाय पनि भएन । मेडिकल कलेज खोल्न लडाई भईराखेको छ, नर्ससिङ कलेज खोल्ने होडबाजी छ, फेशन कलेज खुलेका छन् तर ड्राइभिङ शिक्षा दिने कलेज खुलेका छैनन् । सडकमा एउटा गाडीले अर्को गाडीलाई जित्न खोज्ने प्रतिस्पर्धाले धेरै दुर्घटना भएका छन् । यातायात क्षेत्रमा भएको सिण्डीकेटले पनि सवारी दुर्घटना गराईराखेको छ । सवारीको क्षमताभन्दा बढी यात्रु बोक्ने, स्वस्थ्य प्रतिस्पर्धा गर्न नपाउने, नयाँ गाडी नहाल्ने, धेरै पुराना र राम्ररी मर्मत नभएका सवारी चलाउने अभ्यासले पनि दुर्घटना हुने गरेको छ । तेस्रो, सडक राम्रो नभएकाले पनि दुर्घटना हुने गरेको छ । कच्चि सडक, खाल्टाखुल्टी भएको सडक, साँगुरो सडक, इन्जिनियरिङ नाप नभई हचुवाको भरमा बनेका सडकका कारणहरुले पनि दुर्घटना हुने गरेका छन् । सवारीमा नक्कली पार्टस्को प्रयोगले पनि समस्या छ । स्पेर पार्टसमा भन्सार दर ३० प्रतिशतबाट ५ प्रतिशतमा झार्न सुझाव दिएका छौं । भन्सार घटाउने हो भने चोरी पैठारी पनि कम हुन्छ, डुब्लिकेट सामानको प्रयोग कम हुन्छ, स्पेयरपार्ट सस्तो भयो भने पुराना र बिग्रेका पार्ट नै मर्मत गरेर प्रयोग गर्ने अभ्यास कम हुन्छ । सवारी मर्मत गर्ने मेकानिक्सको क्षमता विकासमा हामीले ध्यान दिएका छैनौं । सवारी मर्मत गर्ने दक्ष जनशक्ति नभएका कारण विदेशबाट मेकानिक्सहरु ल्याउनु परेको छ । सिटिइभिटीले धेरै प्रकारका प्राविधिक जनशक्ति विकासमा काम गरेपनि वर्कशप चलाउने मेकानिक्सहरुको लागि तालिमका व्यवस्था गरेको छैन । हुँदा हुँदा ड्राईभर पनि विदेशबाट ल्याउनु पर्ने अवस्था छ ।
गाडी धितोमा ३० अर्ब ५० करोड कर्जा, स्थीर सम्पत्ति नै धितो खोज्छन् बैंकहरु
काठमाडौं, १२ भदौ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले स्थीर सम्पत्तिको धितोमा मात्रै कर्जा दिने गरेका छन् । गत आर्थिक बर्षमा बैकिङ क्षेत्रले सम्पत्ति धितोमा ३ खर्ब ३१ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार गत आर्थिक बर्षसम्ममा सम्पत्ति धितोमा प्रवाह भएको कर्जा १४ खर्ब ६३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरुवाट प्रवाह भएको कूल कर्जा भने १६ खर्ब ८१ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । सम्पत्तिको धितोमा प्रवाह भएको कर्जा अघिल्लो बर्षको तुलनामा २९ दशमलब ३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्षमा यस्तो कर्जा ११ खर्ब ३२ अर्ब ४४ करोड रुपैयाँ थियो । यस्तो धितो कर्जामा मध्येमा जग्गा र भवन धितो राखेर २ खर्ब १० अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यस्तै मेसिन तथा औजार धितोमा ८ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । गाडी धितोमा ३० अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यस्तो कर्जा अघिल्लो आर्थिक बर्षको तुलनामा ३५ दशमलब ९ प्रतिशतले बढेको छ । अहिल्लो बर्ष गाडी धितोमा १९ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । चालु सम्पत्ति मध्ये कृषि जन्य बस्तुको धितोमा गत बर्ष २ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो बर्षको तुलनामा गत बर्ष यस्तो धितोमा प्रवाह हुने कर्जा १७ दशमलब ६ प्रतिशतले बढेको छ । यस्तै गैर कृषिजन्य बस्तुको धितोमा ७९ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । गैरकृषिजन्य बस्तुको धितोमा प्रवाह हुने कर्जा अघिल्लो बर्षको तुलनामा ४९ दशमलब ६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २३ दशमलब ७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १९ दशमलब ८ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्षको चौथो त्रयमासदेखि आर्थिक गतिविधि चलायमान भएका कारण निजी क्षेत्रतर्फको कर्जा विस्तार भएको हो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंक र विकास बैंकहरुको कर्जा प्रवाह क्रमशः २६ दशलमब ५ प्रतिशत र २० दशमलब ३ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको कर्जा प्रवाह १२ दशमलब ५ प्रतिशतले घटेको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट यातायात, संचार तथा सार्वजनिक सेवातर्फको कर्जा ३९ दशलमब ८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त क्षेत्रतर्फको कर्जा २७ प्रतिशतले बढेको थियो । त्यसैगरी, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २५ दशमलब ८ प्रतिशत र वित्तीय, वीमा तथा स्थिर सम्पत्तितर्फको कर्जा २५ दशमलब ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष थोक तथा खुद्रा व्यापारतर्फको कर्जा २१ दशमलब ८ प्रतिशत र वित्तीय, वीमा तथा स्थिर सम्पत्तितर्फको कर्जा १८ दशमलब ३ प्रतिशतले बढेको थियो । अघिल्लो वर्ष कृषि क्षेत्रतर्फको कर्जा २८ प्रतिशतले बढेकोमा गत वर्षमा उक्त कर्जा २० दशलमब ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १४ दशलमब ८ प्रतिशतले बढेकोमा समीक्षा वर्षमा उक्त कर्जा १५ दशमलब ९ प्रतिशतले बढेको छ । गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६० दशमलब ८ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १५ दशमलब २ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ५९ दशमलब ६ प्रतिशत र १२ दशमलब ८ प्रतिशत रहेको थियो । बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये घरजग्गा क्षेत्रमा २ खर्ब ५० अर्ब ८७ करोड (प्रति ग्राहक रु. १ करोडभन्दा कमको रु. १४२ अर्ब ८१ करोडको आवासीय घरकर्जा समेत) रहेको छ । उक्त कर्जा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १४ दशमलब ९ प्रतिशत हो । गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूले सेयरको धितोमा प्रवाह गरेको मार्जिन प्रकृतिको कर्जा कुल कर्जाको २ दशमलब २ प्रतिशत (३७ अर्ब ६६ करोड रुपैयाँ) रहेको छ भने वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल कर्जा को २ दशमलब ६ प्रतिशत (३५ अर्ब ८७ करोड रुपैयाँ) छ । वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट कर्जा (आयात कर्जा) ३१ दशमलब ८ प्रतिशत (१७ अर्ब ५६ करोड रुपैयाँ) ले वृद्धि भई ७२ अर्ब ६८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १३ दशमलब ३ प्रतिशतले बढेको थियो ।
गोसाइँकुण्ड यात्राः कठिन संघर्षपछि प्राप्त हुने अनुपम आनन्द
काठमाडौं, १२ भदौं । चर्चित धार्मिक पर्यटकिय गन्तव्यको नाम हो गोसाइँकुण्ड । धर्म शास्त्र अनुसार–समुन्द्र मन्थन गरेर निष्किएको कालकुठ बिष पिएपछि भगवान महादेव त्यसको पिँडा सहन नसकेर भौतारिएका थिए । उनले आफ्नो त्रिशुलले पहाडमा हानेर पानी निकाले, त्यो पानी कुण्डमा परिणत भयो र त्यहि कुण्डमा डुबेर महादेवले कालकुट बिष सहन गरे ।’ यहि धार्मिक विश्वासका कारण गोसाइँकुण्डमा बर्षेनी हजारौं हिन्दु धर्मावलम्बी पुग्ने गरेका छन् । जनैं पुर्णिमामा लाग्ने मेला गोसाइँकुण्डमा धार्मिक पर्यटक भित्रिने राम्रो मौसम हो । त्यस बाहेक गोसाइँकुण्डको प्राकृतिक सुन्दरताले पनि स्वदेशी तथा विदेशी पर्यटकको मन लोभ्याउने गरेको छ । ४३८० मिटरको उचाईमा रहेको गोसाइँकुण्ड र त्यस आसपासमा रहेका भौरव कुण्ड, सरस्वति कुण्ड, सुर्य कुण्ड, बर्द कुण्ड लगायतका धेरै कुण्डहरुले धार्मिक आस्थाका साथमा पर्यटकिय महत्व बोकेका छन् । रसुवा सदरमुकाम धुञ्चेबाट फटाफट हिड्ने हो भने करिब १२ घण्टाको निरन्तर यात्रापछि गोसाइँकुण्ड पुग्न सकिन्छ । सामान्यतया, धुञ्चेबाट हिड्नेहरु चन्दनबारी, चोलाङपाटी वा लौरी बिनामा बास बसेर भोली पल्ट मात्रै कुण्ड पुग्छन् । धुञ्चेबाट उकालो लागेपछि हेर्न पाइने हरियो वन, वारी पारीका झरना र छङछङ बगेको त्रिशुली नदिको आवाज र बनस्पतिहरुको सुगन्धले यात्रालाई स्वर्णिम बनाउँछ । देउराली, ढिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरी बिना र बुद्ध मन्दिर जस्ता स्टेशनहरुलाई थकाइ मार्ने स्थलका रुपमा प्रयोग गरिँदै आएको छ । जति उकालो चढ्दै गयो, त्यति थकान महशुस हुन्छ तर मन भने थकान भन्दा धेरै गुणाले चङगा झै फुरुङग बन्छ । चौरीको दुध, थुर्पुमा बनाइएको तातो चिया, सेल रोटी जस्ता परिकार थकान बिर्साएर उर्जा भर्ने औजार बन्छन् । पल्लो डाँडा पारि देखिने गणेश हिमालको हिम श्रृंखलाले सबै थकान भुलाइदिन्छ । निरन्तरको उकालो छिचोलेसँगै भेटिने वुद्ध मन्दिरमा थकाई मारेपछि केहि जोकोहीले केहि राहत महशुस गर्छन् । किने भने त्यसपछिको करिब दुर्य घण्टाको यात्रा भने उकालो नभएर तेश्रो छ, तर सो खण्डमा जोखिम भने अलि बढि नै उठाउनु पर्छ । माथी नाकै ठोक्किने भीर र तल त्रिशुली नदिको जोखिम मोल्दै गोसाइँकुण्ड पुगेपछि भने जोकोहीले सबै गाह्रो बिर्सन्छन् । कुण्डमा स्नान गरेपछि मेटिन थकान र आनन्दले मानिसलाई जिउँदै स्वर्ग पुगेको अनुभूति दिलाउँछ । गोसाइँकुण्ड माथी रहेका सुर्य कुण्ड, वर्द कुण्ड, सरस्वति कुुण्ड लगायतका अन्य कुण्डहरुको भ्रमण गरिएन भने यात्रा नुन बिनाको तरकारी जस्तै बन्न पुग्छ । कुण्डबाट फर्केपछि भने समान्यतय सिधै धुञ्चेमै बास बस्न आइपुग्न सकिन्छ ।
सुर्योदय लघुवित्तको एक लाख कित्ता साधारण सेयर आयो
काठमाडौं, १२ भदौ । सुर्योदय लघुवित्त वित्तिय संस्थाको एक लाख ९ हजार २ सय कित्ता साधारण सेयरका लागि आवेदन खुलेको छ । कम्पनीले भदौं १२ गतेदेखि ढिलोमा भदौ २६ गतेसम्म दरखास्त दिन सकिने उल्लेख गरेको छ । एक सय रुपैंयाँ अंकित साधारण सेयर निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक तोकिएको छ । सुर्योदयले काठमाडौं उपत्यका बाहेक पोखरा, बिरगञ्ज, बुटवल, हेटौडा, विर्तामोड, नेपालगञ्ज, धनगढी र बिराटनगरबाट आवेदन दिन सकिने व्यवस्था गरेको छ ।
अपराधी पक्रने प्रहरी, कमिसन खाने कर्मचारी
काठमाडौं १२, भदौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार अदालतद्वारा एक–एक वर्ष कैद र सात लाख ३१ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएका मोहम्मद अनवर तथा मोहम्मद वसिमलाई पक्राउ गर्यो। सिआइबीले उनीहरूलाई पक्राउ गर्न संलग्न प्रहरीको नामसहित जिल्ला अदालत काठमाडौंमा प्रतिवेदन बुझायो। तर, अदालतले मंगलबार नै अर्को प्रतिवेदन बनायो। जसमा पक्राउ गर्नेको सूचीमा अदालतका कर्मचारीको समेत नाम थपियो। अदालतले तोकेको सात लाख ३१ हजार रुपैयाँ कसिमन पाउने भएकाले त्यसरी अदालतको तहसिल शाखाले छुट्टै प्रतिवेदन बनाएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। फरार अभियुक्तलाई पक्राउ गर्दा उनीहरूलाई तोकिएको जरिवानाको २५ प्रतिशत पक्राउ गर्ने तथा सूचना दिने अधिकारीले पाउँछन्। त्यही कमिसन खान अदालतका कर्मचारीले किर्ते प्रतिवेदन बनाएका हुन्। पक्राउ गर्नै नगए पनि उनीहरूले आफूहरूसमेत पक्राउ गर्न गएको भनेर झुटो प्रतिवेदन बनाएर कमिसन लिने गरेका छन्। उपत्यकाका तीनै जिल्लाका अदालतमा यस्तै झुटो प्रतिवेदनका आधारमा कर्मचारीले कमिसन लिने गरेका छन्। कर्मचारीका लागि भनेर कानुनले छुट्टै पाँच प्रतिशत कमिसन पाउने व्यवस्था गरेको छ। त्यस्तै, अदालतलकै टोलीले फरार व्यक्तिलाई पक्राउ गरे उनीहरूले नै २५ प्रतिशत पाउँछन्। तर, प्रहरीले दुःख गरेर फरार अपराधी पक्राउ गर्दा पनि उनीहरूको भाग खोसेर अदालतका कर्मचारीले कमिसन लिने गरेका छन्। जिल्ला अदालत नियमावलीको नियम ७० मा फरार अपराधी पक्राउ गर्दा पाउने कमिसनसम्बन्धी प्रावधान छ। जसमा ३० प्रतिशत पक्राउ गर्नेहरूले पाउँछन्। त्यसमध्ये पाँच प्रतिशत तहसिल शाखाका कर्मचारीलाई छुट्याउने गरिन्छ। बाँकी २५ प्रतिशतमध्ये पनि १२.५ प्रतिशत कर्मचारीले नै लिने गर्दछन्। जरिवानाको ३० प्रतिशत तथा कैद सजायको एक वर्षबराबर एक हजार आठ सय रुपैयाँ पक्राउ गर्ने व्यक्तिले पाउने नियमावलीमा छ। उपत्यकाका जिल्ला अदालतमा मात्र होइन, देशका अधिकांश अदालतमा यस्तै अवस्था छ। पछिल्लो समय प्रहरीले अदालतद्वारा दोषी ठहर गरिएका फरार अपराधी पक्राउ गर्न अभियान नै चलाएपछि ठूलो संख्यामा फरार अपराधी पक्राउ परेका छन्। फैसला कार्यान्वयनबापत अर्बौ रकमसमेत उठेको छ। तर, प्रहरीले दुःख गरे पनि त्यसबापत आधा रकम भने अदालतका तहसिल शाखाका कर्मचारीले हात पार्ने गरेका छन्।
प्रधानमन्त्रीको भारत भ्रमणमा खुला आकास सम्झौता, हिमालयन रुट २ प्राथमिकतामा
काठमाडौं १२ भदौ । प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला हवाई मार्गको विस्तारको सम्झौता हुने भएको छ । नेपालका निर्माणाधीन विमानस्थल सञ्चालनका लागि अनिवार्य मानिएको खुला आकाश सम्झौता गर्न भारत तयार देखिएकोले पनि प्रधामन्त्रीको भ्रमणमा आकास मार्गको प्रस्ताव प्राथमिकतामा पर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को आसन्न भारत भ्रमणका क्रममा यो सम्झौता गर्ने तयारी भइरहेको संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । भैरवाह विमानस्थल निर्माणले गति लिइरहे पनि यो सम्झौता नहुँदा यसको भविश्य नै अन्योलमा परेको थियो। सम्झौता गर्न भारतले आलटाल गर्दै आए पनि पछिल्लो समय सकारातमक देखिएपछि पर्यटन मन्त्रालयले परराष्ट्रमार्फत गत साता भारतलाई पत्र पठाएको छ। प्रधानमन्त्री प्रचण्ड भदौ अन्तिम साता नयाँ दिल्ले जाने सहमति भए पनि औपचारिक टुंगो भने लागिसकेको छैन। प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको सबैभन्दा सम्भावना रहेको पूर्वदेखि पश्चिमसम्मकै हवाई मार्ग हिमायन २ प्राथमिकतामा पर्ने भएको छ । यो रुटको सम्झौता भएमा नेपालको बाटो हुँदै विभिन्न अन्तर्राष्टिय वायुसेवाको उडान हुने छ । यो उडानबाट नेपालले हरेक उडानबाट आकास मार्ग प्रयोगको रोयल्टी पाउँने छ ।
१८ करोडको रक्तचन्दन खेर, दुई लाख किलो सुरक्षकर्मीको नियन्त्रणमा, विक्रीगर्न नपाइने
काठमाडौं । सुरक्षाकर्मीले बरामद गरेको झन्डै साढे १८ करोड रुपैयाँ बराबरको रक्तचन्दन कुहिए। खेर जाने भएको छ । भारतबाट नेपालको बाटो हुँदै तेस्रो मुलुक तस्करी गर्ने क्रममा बरामद रक्तचन्दन त्यसै कुहिन थालेको वन विभागका प्रवक्ता चन्द्रमान डंगोलले बताए । सुरक्षाकर्मीले विभिन्न स्थानबाट विभिन्न समयमा दुई लाख २९ हजार तीन सय ४६ किलो रक्तचन्दन बरामद गरेको छ । नेपालमा रक्तचन्दनको बिक्री–वितरण गर्न पाउने व्यवस्था छैन । बरामद रक्तचन्दन १० वर्षैँदेखि डम्पिङ हुँदै आएको प्रवक्ता डंगोलले बताए । तस्करीबाट बरामद गरेको रक्तचन्दन जिल्ला वन कार्यालय र जिल्ला कार्यालयमा कडा सुरक्षा निगरानीमा राखिएको छ । अन्तर्राष्ट्रिय बजारमा एक किलो रक्तचन्दनको आठ सय पर्ने सरकारी अनुमान छ । त्यसअनुसार बरामद रक्तचन्दनको मूल्य करिब १८ करोड ३४ लाख ७७ हजार चार सय ७२ रुपैयाँ हुन्छ । डम्पिङ गरी राखिएको रक्तचन्दनको विषयमा सरकारले उपयुक्त निर्णय गर्न नसक्दा समस्या बनेको छ । भारतमा रहेको रक्तचन्दनलाई भारत, नेपाल र चीनका तस्करले अवैध रूपमा कारोबार गर्दथे । तस्करले तातोपानी र रसुवाको केरुङ नाकाबाट चीन पुर्याउने गर्छन् । नेपाल प्रहरीका प्रवक्ता माधवराज जोशीका अनुसार पछिल्लो समय भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि रक्तचन्दन कारोबार बन्द भएको छ । पाँच वर्षदेखि रक्तचन्दन रोकिएको उनको दाबी छ । जोशीले भने, ‘रक्तचन्दनको काठ ठूलो हुने र लुकाएर तस्कार गर्न नमिल्ने भएकाले नियन्त्रण गर्न सफल भएको हो ।’ रक्तचन्दन कारोबार प्रतिबन्धित दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि ९साइटिस०को प्रावधानअनुसार तस्करी गरी बरामद गरेको वस्तुलाई सम्बन्धित देशमा फिर्ता गर्ने व्यवस्था छ । सो महासन्धिअनुसार नेपाल सरकारले आफैँ निर्णय गरे पनि रक्तचन्दनको बिक्री–वितरण गर्न पाउँदैन । यस्तो अवस्थामा नेपाल सरकारले औपचारिक रूपमा निर्णय गरी सम्बन्धित देशलाई फिर्ता गर्नुपर्छ । २ माघ ०६५ मा बसेको मन्त्रिपरिषद् बैठकले ५४ हजार एक सय १२ किलो रक्तचन्दन भारतलाई फिर्ता दिने निर्णय गरेको थियो । तर, सोही निर्णयअनुसार जम्मा ३६ हजार नौ सय २८ किलो रक्तचन्दन फिर्ता गरिएको थियो । त्यसैगरी, १२ फागुन ०७१ को मन्त्रिपरिषद् बैठकले २७ हजार एक सय ६६ किलो रक्तचन्दन भारतलाई फिर्ता दिने निर्णय गरेको थियो । तर, सोही निर्णयअनुसार एक किलो पनि रक्तचन्दन फिर्ता नगरेको वन विभागले जानकारी दिएको छ । के हो रक्तचन्दन ? रक्तचन्दन एक किसिमको सुगन्धित काठ हो । यसलाई धार्मिका शुभकार्यका साथै सौखिन सामग्री बनाई प्रयोग गरिन्छ । यसरी रक्तचन्दको प्रयोग गरी बनाएका सामग्री महँगोमा बिक्री हुन्छ । त्यसैगरी, विभिन्न किसिमका रोगका बिरामीका जडीबुटीको रूपमा रक्तचन्दन प्रयोग गरिन्छ । कहाँ पाइन्छ रक्तचन्दन ? रक्तचन्दनको रूख नेपालमा पाइँदैन । नेपालमा सेतो रक्तचन्दन मात्र पाइन्छ, तर सेतो रक्तचन्दन तस्करी हुँदैन । भारतका आन्द्र प्रदेश, कर्णाटक, तालिमनाडुलगायत प्रदेशमा सबैभन्दा धेरै रक्तचन्दन पाइन्छ । समाचार स्रोत नयाँ पत्रिका दैनिक ।