गुणस्तर तथा नापतौल विभागले नविकरण नभएका चार उद्योगका गुणस्तर चिन्ह खारेज
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले समयमा नविकरण नभएका चार ठूला उद्योगका गुणस्तर चिन्हको इजाजत रद्ध गरेको छ। विभागका अनुसार समयमा नविकरण नभएर रद्ध भएका उद्योगमा जय मंगलम सिमेन्ट, जेबिएस इन्ड्रस्ट्रिज, काठमाडौं स्टिल प्रालि र सूर्य एग्रो रहेका छन् । विभागकाले तोकिएको समयभित्र नविकरण गर्न नआएकोले इजाजतपत्र खारेज गरिएको बताउँदै काठमाडौं स्टिल र जय मंगलमको सिमेन्ट उत्पादनमा रोक लगाएको जानाएको छ। एक आर्थिक वर्षभित्र राजस्व तिरेर गुणस्तर चिन्हको नविकरण गर्नुपर्ने प्रावधान छ । तर यी चार कम्पनीले आर्थिक वर्षभित्र नविकरण गरेनन् । यी कम्पनीहरुले अब नयाँ गुणस्तर चिन्ह लिनको लागि आवेदन दिनुपर्छ । चार वटामध्ये दुर्इवटा निर्माण समाग्रीसँग सम्वन्धित छन् भने दुर्इवटा खाद्य उद्योग हुन् । जय मंगलम सिमेन्टले २०५८ साल असोज २९ गते एनएस चिन्ह लिएको थियो । यो उद्योगले ओपिसि सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योग बाँकेमा अवस्थित छ । फलामे डन्डी उत्पादन गर्दै आएको काठमाडौं स्टिल नवलपरासीमा छ ।
जग्गाधनी महिलाको सङ्ख्या २६ प्रतिशत
रोल्पा, २ भदौ । जिल्ला मालपोत कार्यालयबाट आर्थिक वर्ष २०७२/७३ मा पारित भएका रजिस्ट्रेसनमध्ये करिब २६ प्रतिशत महिलाको नाममा भएको देखिएको छ । आव २०७२/७३ मा कुल पारित रजिस्ट्रेसन चार हजार १३६ मध्ये एक हजार ९४ वटा महिलाको नाममा भएको छ । यस्तै आव २०७१/७२ मा पारित कुल चार हजार ३३१ रजिस्ट्रेसनमध्ये एक हजार १४५ रजिस्ट्रेसन महिलाको नाममा भएको कार्यालयका नासु प्रदीप घर्तिमगरले जानकारी दिए । विगतमा घर घडेरी तथा जग्गा मालपोत कार्यालयबाट रजिस्ट्रेसन गर्दा पुरुषको नाममा मात्रै गराउने चलन हुँदा अचल सम्पत्तिमा महिलाको पहुुँच निकै कम देखिएको छ । महिलाको नाममा समेत जग्गा रजिस्ट्रेसन हुनुपर्ने माग उठ्न थालेपछि सरकारले नीति तथा कार्यक्रममार्फत महिलाको नाममा जग्गा रजिस्ट्रेसन गर्दा २५ प्रतिशत राजस्व छुट दिने व्यवस्था गरेका कारण जग्गा खरिद गर्दा महिलाको नाममा जग्गा पास गर्ने क्रम बढेको हो । यसैगरी आव २०७१/७२ मा दलित र अपाङ्गको नाममा रजिस्ट्रेसनको अवस्था शून्य देखिएको छ भने आव २०७२/७३ मा दलितको नाममा पाँच तथा अपाङ्गको नाममा चारवटा रजिस्ट्रेसन भएका छन् । मालपोत कार्यालयले आव २०७२/७३ मा अंशबन्डा ४१०, सट्टापट्टा दुई, अंशभर्पाइ २६२, शेषपछिको बकसपत्र २८, हालैको बकसपत्र १४३, दृष्टिबन्धक २८८ देखिएको छ । यसैगरी नामसारी ६७९, दानपत्र रजिस्ट्रेसन २४ वटा गरेको जनाएको छ । रजिस्ट्रेसनबापत आव २०७२/७३ मा रु एक करोड ६९ लाख ९२ हजार राजस्व सङ्कलन भएको छ । अघिल्लो आवमा एक करोड ६० लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको बताइएको छ । रासस
विद्युत् प्राधिकरणका आयोजना समस्यामा, बर्सेनि आर्थिक दायित्व बढ्दै
काठमाडौं, २ भदौ । नेपाल विद्युत् प्राधिकरणले तीन वर्षदेखि चमेलिया, कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली ‘थ्री’ लगायतका आयोजना निर्माणको अन्तिमचरणमा पुगेको बताउँदै आएको छ । तर ती आयोजना कहिले र कति लागतमा सम्पन्न हुने भन्ने बारेमा हालसम्म आफ्नो धारणा सार्वजनिक गरेको छैन । प्राधिकरणको दायित्व बढ्दै गएको छ । ऊर्जा सङ्कटका कारण मुलुकमा दैनिक समस्या बढ्दै गएका छन् । दार्चुलाको शिखर गाविस– ४ बलाँचमा निर्माणाधिन ३२ मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सिभिलतर्फ ९६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । तर खुम्चिएको सुरुङको काम सम्पन्न गर्नेतर्फ ठेकेदार कम्पनीले ध्यान नदिँदा समस्या पैदा भएको छ । इलेक्ट्रो मेकानिक, हाईड्रोमेकानिकल र प्रसारण लाइन निर्माणको कार्य सम्पन्न हुन लाग्दा पनि ८४३ मिटर लामो सुरुङ खुम्चिएको विषयमा प्राधिकरण सञ्चालक समितिले तत्काल प्रक्रिया अगाडि बढाउन ठेकेदार कम्पनीलाई आग्रह गरे पनि भुक्तानीको विषयमा कुरा मिल्न नसक्दा समस्या कायमै छ । हेडरेस सुरुङसम्बन्धी देखिएको विवाद निरुपण गरेको खण्डमा सन् २०१७ जुनसम्म उक्त आयोजना सम्पन्न हुने प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले बताउछन् । यस्तै १४ मेगावाट क्षमताको कुलेखानी तेस्रोको सिभिल संरचनाको ९५ प्रतिशत, उपकरण ढुवानी ७० प्रतिशत, इलेक्ट्रोमेकानिकल, हाईड्रोमकोनिकलतर्फ ३७ प्रतिशत प्रगति देखिएको छ । सो आयोजना सन् २०१६ डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कार्यप्रगति सुस्त रहेकोले तोकिएको समयमा सम्पन्न हुनेमा ढुक्क हुन सकिने अवस्था छैन । यस्तै ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘थ्री ए’को भूकम्पका कारण पाँच किलोमिटर पहुँचमार्गमा पहिरो गएकोकोले निर्माणकार्य रोकिएको छ । संसदीय समितिले आयोजना तत्काल अगाडि बढाउन निर्देशन दिए पनि प्राधिकरणले त्यसतर्फ चासो देखाएको छैन । यस्तै ३२ मेगावाट क्षमताको राहुघाट आयोजनालाई ४० मेगावाट क्षमतामा अभिवृद्धि गरेर अगाडि बढाउने लक्ष्य राखिएको छ । आयोजना अगाडि बढाउन ठेकेदार छनोट प्रक्रिया सुरु भएको कार्यकारी निर्देशक काफ्लेले जानकारी दिए । प्राधिकरणको घाटा बढ्दै प्राधिकरणले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार विद्युत्को खरिद मूल्यभन्दा बिक्री मूल्य कम भएकाले आव २०७२/७३ मा अनुमानित ११ अर्ब ७९ करोड ४६ लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको छ । यस्तै प्राधिकरणले भारतलाई विद्युत् आयातबापत आव २०७२/७३ मा रु १६ अर्ब ५० करोड भुक्तानी गरेको छ । ३२ अर्ब रुपैयाँ आम्दानी गर्दा भारतलाई तिर्ने रकम प्राधिकरणको कुल आम्दानीको ५१.५६ प्रतिशत हुन आउँछ । प्राधिकरणको सञ्चित घाटा रु ३६ अर्ब पुगेको छ भने चुहावट नियन्त्रण गर्ने भनिए पनि हाल २५।७८ प्रतिशत कायम रहेको छ । विद्युत् खरिद गर्दा स्वदेश तथा विदेशमा सम्पूर्ण रुपमा रु २४ अर्ब ५० करोड भुक्तानी दिनुपरेको छ । भारतबाट हाल ३१५ मेगावाट विद्युत् आयात गरिँदै आएको छ । आगामी वर्ष करिब ६०० मेगावाट विद्युत् आयात गर्दा कुल आम्दानीको ७० प्रतिशतभन्दा बढी हिस्सा भारतीय कम्पनीलाई नै बुझाउनुपर्नेछ । विद्युत् महसुल निर्धारण आयोगको सिफारिसमा कुल १९ प्रतिशत विद्युत् महसुल बढाउँदा प्राधिकरणले थप रु पाँच अर्ब आम्दानी गर्ने देखिएको छ । यस्तै प्राधिकरणको दीर्घकालीन ऋण रु चार अर्ब ८९ करोड ६३ लाख पुगेको छ । सञ्चालन खर्चतर्फ उत्पादनमा रु एक अर्ब ४६ करोड ३५ लाख, प्रसारणतर्फ रु ६८ करोड ४३ लाख तथा वितरणतर्फ रु छ अर्ब २६ करोड ७४ लाख र प्रशासनतर्फ रु एक अर्ब ४० करोड ९० लाख पुगेको छ । यसले प्राधिकरणको आर्थिक अवस्थालाई समस्यामा पारेको छ । सरकारले २०६८ सालमा प्राधिकरणको रु २७ अर्ब सञ्चित नोक्सानको दायित्व लिए पनि चार वर्षमै नोक्सानी रु ३६ अर्ब पुग्दा व्यवस्थापकीय पाटो पूर्णरुपमा कमजोर रहेको पाइएको छ । ऊर्जा मन्त्री जनार्दन शर्मा निर्माणका क्रममा आयोजना तत्काल सम्पन्न गर्न सकिए प्राधिकरणको घाटा कम हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । निर्माणको क्रममा रहेको एक हजार ४७ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न सके विद्युत्भार कटौती कम हुने र प्राधिकरणको आर्थिक अवस्था सबल हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा मन्त्री शर्मा जोड दिए। रासस
अरनिको यातायातको सिन्डिकेट, काठमाडौंवाट यात्रु लगेर धुलिखेलमा अलपत्र, साढे ६ सय बसले सिंहदरवार घेर्ने धम्की
काठमाडौं, २ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले यातायात क्षेत्रको सिन्डिकेट तोड्न पहल गर्ने बताएको भोलिपल्ट नै अरनिको यातायात सेवा समितिले यात्रुलाई विचवाटोमै अलपत्र पारेर सिन्डिकेटको नाङ्गो रुप देखाएको छ । विहिवार विहान काठमाडौंवाट रामेछाप, दोलखा, सिन्धुपाल्चोक र ओखलढुंगाको लागि छुटेका बसका यात्रुलाई समितिले धुलिखेलमा ओरालेर अलपत्र पारेको छ । बीपी राजमार्ग हुदै रामेछाप जानलाई प्रहरीले रोकेपछि समितिले आफ्ना सम्पूर्ण बस धुलिखेलमा रोकेर यात्रुलाई विच वाटोमै अलपत्र पारेको हो । समितिले विगत ३ बर्षदेखि विना रुट परमिट सो वाटोमा सवारी चलाइ रहेको थियो । यसअघि पटके परमिटको आधारमा गाडी चलाउने गरिए पनि विहिवार धुलिखेलवाट नै सो राजमार्गमा बस प्रवेशमा रोक लगाइए पनि समिति आन्दोलित भएको हो । ‘विहिवार विहान प्रहरीले समितिका गाडीलाई विपी राजमार्ग प्रवेश गर्न दिएन, यसैको विरोधमा हामीले सवै यात्रुलाई धुलिखेलमा ओरालेर सेवा बन्द गरेका छौं,’ सो क्षेत्रमा बस चलाउदै आएका एक बस ब्यवसायीले बताए । काठमाडौंवाट टिकट काटेर गएका यात्रुलाई अलपत्र पारेपनि सरकारले कुनै कारवाही गर्न सकेको छैन । यो समाचार तयार पार्दासम्म ब्यवसायी र सरकारका प्रतिनिधिविच वार्ता भइरहेको छ । विचवाटोमै अलपत्र यात्रुहरु केही काठमाडौं फर्किएका र केही विकल्प खोजेर गन्तब्यसम्म गएका बताइएको छ । समितिका पदाधिकारीहरुले भने आफूलाई विपी राजमार्गमा गाडी चलाउन नदिए समिति मातहतमा साढे ६ सय बस रहेको र ती सवै बस राती ल्याएर सिंहदरवार चारैतिरवाट घर्ने चेतावनी दिएका छन् ।
नेविसङ्घको अध्यक्षमा महर निर्वाचित
काठमाडौं, २ भदौ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को अध्यक्षमा नयनसिंह महर निर्वाचित भएका छन् । केहीबेरअघि सम्पन्न मतपरिणामअनुसार महर एक हजार ३३४ मतका साथ विजयी भएका प्रमुख निर्वाचन अधिकृत भरतप्रसाद खरेलले जानकारी दिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यले एक हजार २०९ मत प्राप्त गरेका थिए । त्यसैगरी महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएका छन् । यसैबीच नवनिर्वाचित अध्यक्ष महरले आमविद्यार्थीको भावनालाई आत्मसात् गरेर सङ्गठनलाई अघि बढाउने प्रारम्भिक प्रतिक्रिया दिए । उनले ११औँ महाधिवेशन एकताको महाधिवेशन भएको र यसले सकारात्मक सन्देश प्रवाह गरेको बताए। अध्यक्षका प्रत्यासी आचार्यले नेविसङ्घले आमविश्वविद्यालयका विद्यार्थीको भावना समेटेर अघि बढ्ने विश्वास व्यक्त गर्दै आगामी कार्यकालको शुभकामना व्यक्त गरे । संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन गत साउन २३ गते सुरु भएको थियो । नेतृत्व चयनका लागि बुधबार बिहान १२ बजेदेखि सुरु भएको मतदान प्रक्रिया आज बिहान ९ः४५ मा सकिएको थियो । विद्युतीय मतदानका कारण चाँडो परिणाम आएको हो । निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरुका अनुसार तीन हजार ३०७ प्रतिनिधिले मतदान गरेका थिए ।
अपरमादी जलविद्युत् आयोजनाले मङ्सिरदेखि विद्युत् उत्पादन गर्ने
पोखरा, २ भदौ । कास्कीको सिल्दुजुरे गाविस–९ बाहुनडाँडामा निर्माणाधीन अपरमादी जलविद्युत् आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भएको छ । मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो आयोजनाले आगामी मङ्सिरदेखि नियमित रुपमा विद्युत् उत्पादन गर्ने आयोजनाको संयोजक राजकुमार बरालले जानकारी दिए। आयोजनाको चार हजार २०० मिटर सुरुङ खन्ने काम सकिएको छ । सुरुङभित्रको भागमा कङ्क्रिट लाइनिङ गर्ने काम ७० प्रतिशत सकिएको छ । विद्युत् लाइनलाई सव स्टेसनसम्म जोड्न ३२ वटा विद्युत् टावर निर्माण र त्यसमा तार तान्ने काम सम्पन्न भएको छ । पाँच अर्ब २८ करोड रुपैयाँ स्वदेशी तथा वैदेशिक सहयोग जुटाइ निर्माण सुरु गरिएको सो आयोजना निर्माण अवधिमा नाकाबन्दी, मधेस आन्दोलन, भूकम्प र सुरुङ खन्ने क्रममा पहिरो गएकाले लागत बढेर रु आठ अर्ब पुगेको बरालको भनाइ छ । कुल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशत र चाइना ‘थ्री’ गर्जेज कर्पोरेसनको ८० प्रतिशत लगानीमा विसं २०६९ पुस महिनाबाट सो आयोजना निर्माण सुरु गरिएको हो । तीस महिनामा सक्ने लक्ष राखिए पनि ४८ महिनासम्ममा समेत निर्माण कार्य सम्पन्न हुन सकेको छैन । रासस
साझा बसको सेवा प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, २ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले साझा यातायात सेवालाई प्रभावकारी एवम् यात्रुमैत्री बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साझाका पदाधिकारीलाई बिहीबार बोलाएर प्रधानमन्त्रीले उपत्यकामा यात्रुले पाएको सास्तीलाई मध्यनजर गरी साझाको बस सेवालाई विस्तार गर्न आग्रह गरे। पछिल्लो समय साझा यातायातले मुलुकमा आइपर्ने विभिन्न कठिनाइकाबीच पनि यात्रुलाई पु¥याइरहेको सेवाप्रति सराहना गर्दै प्रधानमन्त्री दाहालले साझाको महत्व र सेवाग्राहीको चाहना अनुरुप सेवा विविधिकरण र गुणस्तरीय बनाउन आग्रह गरे । साझा यातायातले उपत्यकामा ३० वटा बस थप्न लागेको र त्यसबारे भइरहेको तयारीका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्रीले साझाका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेलगायतका पदाधिकारीलाई बालुवाटार बोलाएका हो । ‘उपत्यकामा आवातजावतका लागि जनताले दुःख पाइरहेका छन् । जनतालाई राहतको अनुभूति दिन आवश्यक छ । काठमाडौँको ट्राफिक जाम, यात्रुको सास्तीलाई मध्यनजर गरी साझा बस थप्नेबारे ठोस निर्णय गर्नुस्’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै उनका उपस्वकीय सचिव मनहरि तिमिल्सिनाले बताए । प्रधानमन्त्री दाहालले सम्बद्ध पक्षसँग छलफल र गृहकार्य गरेर कम्तीमा ३० वटा साझा बस थप्न आवश्यक रहेकोमा कामु निर्देशकको ध्यानाकर्षण गराएका थिए । साझा यातायातका कामु निर्देशक पाण्डेले प्रधानमन्त्रीको चासो निकै महत्वपूर्ण रहेको भन्दै आवश्यक गृहकार्य गरेर निष्कर्षमा पुग्ने बताएका थिए। उपत्यकामा साझाका थप ३० बस सञ्चालन हुँदै इतिहास बोकेको साझा यातायातले सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै उपत्यकामा थप ३० वटा बस सुरु गर्ने तयारी गरेको छ । झा यातायातका कामु निर्देशक पाण्डेका अनुसार ढिलोमा असोजको पहिलो सातादेखि उपत्यकामा साझाका नयाँ बस गुढ्नेछन् । प्रधानमन्त्री दाहालसँगको छलफलमा साझालाई थप वृहत्तर बनाइ उपत्यका बाहिर कसरी सेवा विविधिकरण गर्ने भन्नेबारे पनि छलफल भएको छ । साझाको सेवा विविधिकरण गर्नेबारे प्रधानमन्त्री सकारात्मक भएका र त्यसका लागि आवश्यक सबैखाले सहयोग गर्ने बचन दिएका कामु निर्देशक पाण्डेले उल्लेख गरे । साझाले हाल उपत्यकामा तीन वटा रुटमा १६ वटा बस सञ्चालन गरिरहेको छ । अब आउने नयाँ ३० वटा बस पनि अहिले भइरहेका रुटमा केही र अन्य रत्नपार्कदेखि भक्तपुर रुटमा गुडाउने साझाको तयारी छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको ९ लाख ६७ हजार कित्ता सेयर बिक्रीमा
काठमाडौं, २ साउन । सांग्रिला डेभलपमेन्ट बैंकले ९ लाख ६७ हजार ५४० कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ । उक्त सेयर पहिलो चरणमा बैंकका संस्थापकले किन्न पाउने र संस्थापकहरुले नकिनेमा सर्वसाधारणलाई बिक्री गर्ने बैंकले जनाएको छ । उक्त सेयर खरिदका लागि संस्थाकहरुलाई भदौ १० देखि १५ गतेसम्मको समय दिईएको छ ।