विकासन्युज

सैनिक कल्याणकारी कोषको मौज्दातमा दुई अर्ब ७१ करोड रुपैयाँ वृद्धि

काठमाडौं, ३१ साउन । नेपाली सेनाद्वारा सञ्चालित सैनिक कल्याणकारी कोषको मौज्दात रकम ३३ अर्ब छ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा कोषको मौज्दात रकम ३० अर्ब ३४ करोड ६६ लाख रुपैयाँ  थियो । एक वर्षको अवधिमा कोषको मौज्दातमा झन्डै रु दुई अर्ब ७१ करोड वृद्धि भएको छ । सैनिक कल्याणकारी कोषका अनुसार बैंक मौज्दात र लगानीसमेत गरी ३७ अर्ब रुपैयाँको हाराहारीमा यथार्थ मौज्दात पुगेको छ । लेखा परीक्षण गर्नुअघि गएको असार मसान्तसम्ममा उक्त कोषमा यथार्थ मौज्दात ३६ अर्ब ५३ करोड ९७ लाख ५५ हजार रुपैयाँ थियो । सैनिक कल्याणकारी कोषको रकम नेपाली सेनाको बहालवाला तथा भूपूको स्वास्थ्य, शिक्षा, आर्थिक राहत र आवास तथा बिमाजस्ता कल्याणकारी कार्यमा खर्च हुँदै आएको छ । कल्याणकारी कोषअन्तर्गत हाल आठ महाविद्यालय, मेडिकल र नर्सिङ कलेज सञ्चालनमा छन् भने पोलिटेक्निक इन्स्टिच्युट पनि सञ्चालनको तरखरमा रहेको छ । कोषबाट बहालवाला तथा भूपूको औषधोपचार, बिमा, आवास, निवृत्तिभरणलगायत शैक्षिक संस्था सञ्चालन गर्न वार्षिक दुई अर्ब ५० करोड रुपैयाँ खर्च हुने गरेको छ । आम्दानी भने वार्षिक रुपमा दुई अर्ब ७५ करोड रुपैयाँको हाराहारीमा हुँदै आएको छ । सैनिक कल्याणकारी कोषको रकम ‘क’ वर्गका २९ वटा बैंक तथा वित्तीय संस्थानमा रहेको सहायकरथी गौरव तण्डुकले जानकारी दिए । नेपाली सेना शान्तिस्थापनार्थ कार्यका लागि संयुक्त राष्ट्रसङ्घमा सहभागी भएबापत प्राप्त करिब रु एक करोड २४ लाख एक हजारबाट २०३२ सालमा सैनिक कल्याणकारी कोष स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका बैंक तथा संस्थामा रहेको ८२ करोड रुपैयाँ  निक्षेपमध्ये अब साँवा २७ करोड ४९ लाख रुपैयाँ असुलउपर गर्न बाँकी रहेको बताइएको छ । शान्तिसेनामा भाग लिएबापत प्राप्त हुने, बैंक तथा वित्तीय संस्थामा निक्षेप गरिएको रकमको ब्याज, विद्यार्थीको शुल्क, परिवार आवास भाडा, विदेशी मुद्रा सटही प्रिमियम, पेट्रोल पम्पबाट प्राप्त हुने सहयोग, वीरेन्द्र सैनिक र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त हुने शुल्क कोषको नियमित आयस्रोत हुन् । नेपाली सेनाले उक्त कोषबाट भूकम्पपीडित बहालवाला तथा भूपू गरी ४२ हजार ६२१ घरपरिवारलाई दुई अर्ब ४९ करोडभन्दा बढी रुपैयाँ राहत रकम वितरण गरेको थियो । रासस

सिटिजन्स बैंकद्धारा बाल विकास समाजलाई नगद सहयोग

काठमाडौं, ३१ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाल विकास समाजलाई पचास हजार रुपैयाँ नगद सहयोग गरेको छ । बैंकले संस्थागत तथा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्लिनिक सञ्चालनको लागि उक्त रकम सहयोग गरेको हो । बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले ५० हजार रुपैयाँको चेक बाल विकास समाजका महासचिव सुभास गौतमलाई हस्तान्तरण गरेका छन् । सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिदैं आएको यस बैंकले आगमी दिनहरुमा अझ सशक्त रुपमा निरन्तरता दिने बताएको छ । यसैगरी बैंकले आफ्नो महाबौद्ध र मानभवनमा शाखाहरुबाट ए.टि.एम सेवा सञ्चालनमा ल्याएको छ । साथै देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ्ग प्रणालि मार्फत वित्तिय पहुँच पुर्याउनको लागि बैंकले नुवाकोट जिल्लाको देउराली गा.वि.स. मा थप एक वटा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले सोहि शाखारहित बैंकिङ्ग सेवा संचालनका लागि स्थानीय व्यवसायी आईसिङ्ग तामाङ्गलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ । यस सेवाबाट दुर्गम क्षेत्रमा समेत बैंकिङ्ग साक्षरतामा विस्तार भई उपभोक्ताहरु बैंकिङ्ग कारोबारमा आवद्ध हुने विश्वास बैंकले लिएको छ ।

डिसहोमका सेवाहरु अब मोबाइल एप र वेभसाइटमा

काठमाडौं, ३१ साउन । डिसहोमले आफ्नो सेवालाई थप सजिलो बनाउनका लागि आफ्नै मोवाइल एप शुरु गरेको छ । यस मोबाइल एप मार्फत ग्राहकहरुले विभिन्न सेवा तथा सुविधा प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार यस एपको मुख्य सेवाहरुमा एप मार्फत रिचार्ज गर्न सकिने सुविधा हो । बजारबाट रिचार्ज कार्ड खरिद गरेर यस एप मार्फत रिचार्ज गर्न सकिन्छ । साथै रिचार्ज कार्ड खरिद गर्न सम्भव नभएका अवस्थामा एससिटिको एटिएम कार्डको कार्ड नम्बर र पिन नम्बर राखेर समेत सजिलै रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका नायब प्रबन्धक कल्याण अधिकारीले जनाए अनुसार ग्राहकहरुले लाइन काटिएमा ३ दिनको लागि लाइन खुलाउन क्रेडिट सेवा पनि यस एपमा प्रयोग गर्न सक्ने छन् । यसका अलावा ब्यालेन्सबारे बुझ्न, हप्ता भरिको कार्यक्रम तालिका हेर्न, वितरकहरु संग सम्पर्क गर्न र बिक्रि पछिका सेवा प्राप्त गर्न समेत डिसहोमको मोबाइल एप प्रयोग गर्न सकिने अधिकारीले बताए । डिसहोमका यी सेवाहरु मोबाइल एपका साथ साथै डिसहोमको वेभसाइट www.dishhome.com.np मा समेत प्रयोग गर्न सकिन्छ ।

आगामी हिउँदमा सात घन्टा मात्र विद्युत्भार कटौती कति सम्भव ?

काठमाडौं, ३१ साउन । सरकारले आगामी हिउँदमा विद्युत्भार कटौती सात घन्टामा सीमित गर्ने गरी कार्ययोजना तयार गरेको छ । स्वदेशी उत्पादन तथा भारतबाट थप विद्युत् आयात गरेर विद्युत्भार कटौती कम गर्ने योजना अगाडि सारिएको हो । ऊर्जा मन्त्रालयले तयार गरेको सो कार्ययोजना प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पेस गरिसकिएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै दाहालले तत्काल सुधारको कार्ययोजना ल्याउन विभिन्न मन्त्रालयका सचिवलाई निर्देशन दिएका थिए। उक्त निर्देशनलगत्तै ऊर्जा मन्त्रालयले ऊर्जाको माग बढी हुने समयमा विद्युत्भार कटौतीलाई पाँचदेखि सात घन्टामा सीमित गर्न पाँच बुँदामा यस्तो कार्ययोजना तयार गरेको हो । तर गोरखा भूकम्पका कारण समस्यामा परेका जलविद्युत् आयोजनाले हालसम्म गति लिन नसकेको, माथिल्लो तामाकोसी जस्ता राष्ट्रिय गौरवका आयोजना दुई वर्ष पर धकेलिएकाले मन्त्रालयले अगाडि सारेको सो कार्ययोजना पूरा हुनेमा आशङ्का पैदा भएको छ । ऊर्जाले गत हिउँदमा त्यस्तै कार्ययोजना अगाडि सारेपनि विद्युत्भार कटौती दैनिक १२ घन्टाभन्दा बढी हुन पुगेको थियो । सगरमाथा सिनो हाइड्रोले निर्माण गरेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’, र २५ मेगावाटको हेवालगायत जलविद्युत् आयोजना आगामी केही महिनाभित्र सम्पन्न हुने चरणमा रहेको छ । यस्तै अन्य केही आयोजनाबाट विद्युत् उत्पादन हुन सके करिब एक सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । आइतबार ऊर्जामन्त्री जनार्दन शर्मा समक्ष ऊर्जा सचिव सुमनप्रसाद शर्माले विद्युत् सङ्कट समाधान गर्ने योजनास्वरुप कार्ययोजना प्रधानमन्त्री दाहाललाई बुझाइएको जानकारी गराएका थिए। उनले भारतबाट विद्युत् आयात गरेर तत्कालको समस्या समाधान गर्ने र स्वदेशमा नै निर्माणको क्रममा रहेका आयोजनालाई शीघ्र सम्पन्न गर्न सहजीकरण गर्ने बताए । विद्युत्भार कटौतीलाई कम गर्नका लागि प्राथमिकता दिएर कार्ययोजना निर्माण गरिएको जानकारी दिँदै उपभोक्तालाई अन्धकारबाट मुक्ति दिने नै मन्त्रालयको मुख्य प्राथमिकता रहेको सचिव शर्माको भनाइ छ । सरकारले ऊर्जामा स्वावलम्बन, ऊर्जा दक्षता अभिवृद्धि, कानुनी तथा संस्थागत संरचना निर्माण तथा सरकारले गत फागुनमा ल्याएको ऊर्जा सङ्कटकाल कार्ययोजना कार्यान्वयनलाई योजनामा विशेष रुपमा समेटिएको जानकारी दिए । ढल्केबर–मुज्जफ्फपुर अन्तरदेशीय प्रसारणलाइनबाट १२० मेगावाट विद्युत् आयात गर्ने तयारी गरिएको छ । ढल्केबरमा सब–स्टेसन निर्माण सम्पन्न गरेर थप विद्युत् आयात गर्ने योजना अगाडि सारिएको छ । केही महिना पहिले भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न ऊर्जा सचिवस्तरीय बैठकको निर्णयमा समेत भारतबाट थप तीन सय मेगावाट विद्युत् आयात गर्ने सहमति भएको थियो । हाल सो प्रसारण लाइनबाट ८० मेगावाट विद्युत् आयात भइरहेको छ । सरकारले गत असारसम्म १८० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो तर निजी क्षेत्रका केही आयोजनाबाट मात्रै ३१ मेगावाट विद्युत् उत्पादन भएको थियो । त्यसैगरी सरकारले अन्तरदेशीय प्रसारण लाइनको रुपमा रहेको कटैया–कुशाहा, विरगन्ज–परवानीपुरबाट थप ५०/५० मेगावाट विद्युत् आयात गर्ने लक्ष्य राखेको छ । ती प्रसारण लाइनबाट हाल करिब १५० मेगावाट विद्युत् आयात भइरहेको छ । टनकपुर–महेन्द्रनगरबाट पनि थप ३५ मेगावाट विद्युत् आयात गर्ने ऊर्जाको लक्ष्य छ । हाल सो प्रसारण लाइनबाट करिब ३० मेगावाट विद्युत् आयात भएको छ । नेपाल विद्युत् प्राधिकरणले बुटवलबाट पश्चिम र लाहानपूर्व विद्युत्भार कटौती मुक्त गर्ने योजनाका साथ काम भइरहेको जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेकाअनुसार भारतबाट थप विद्युत् आयात हुँदा विद्युत्भार कटौती कम गर्न सकिन्छ । तर हेटौँडा–ढल्केबर र हेटौँडा– काठमाडौं प्रसारण लाइन निर्माण प्रक्रियाले गति लिन नसक्दा भारतबाट आयात गरिएको विद्युत् राजधानी ल्याउन भने समस्या हुने देखिएको छ । ऊर्जामन्त्री शर्माले ऊर्जा सङ्कट होइन, समाधानको उपाय खोज्नतिर आफू लाग्ने बताएका छन् । उनले सङ्कट समाधानका लागि सबै प्रकारका उपाय अवलम्बन गरिने र त्यसका लागि आफू पूर्ण क्षमताका साथ काम गर्ने प्रतिबद्धता जनाएको सन्दर्भमा मुलुकले केही मात्रामा भए पनि त्राण पाउन सक्ने देखिन्छ । रासस

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा कैलालीमा

काठमाडौं, ३१ साउन । सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ्ग सेवा कैलालीमा विस्तार गरेको छ । बैंकले देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यले कैलाली जिल्लाको मसुिरया बजारमा सो सेवा शुरू गरेको हो । बैंकको सुख्खड शाखाका प्रमुख सुरेन्द्र शाहीको उपस्थितिमा मसुिरया बजार व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र देवकोटाले सोमबार मसुिरया बजारमा आयोजित एक समारोहका बीच यस बैंकको दशौं शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन् । सो अवसरमा शाहीले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्देश्य प्रष्ट पारेका छन् । साथै, उनले शाखारहित बैंकिङ्ग सेवाका व्यावसायिक प्रतिनिधि सूर्यप्रसाद पौडेललाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । बैंकको शाखाहरु नभएको ठाँउबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ्ग सेवा मार्फत एटिएम कार्ड र औंठाको छापबाट कारोबार गरिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काभ्रेको बिर्ता देउरालीमा बस दुर्घटना, १५ भन्दा बढीको मृत्यु

काठमाडौं, ३१ साउन । काठमाडौंबाट काभ्रेको कात्तिके देउरालीतर्फ जाँदै गरेको बा२ख १०६ नं को कोसीपारि यातायातको यात्रुबाहक बस काभ्रेको बिर्ता देउरालीमा दुर्घटना भएको छ । सो दुर्घटनामा ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ । “जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार दुर्घटनास्थलबाट हालसम्म १५ जनाको शव निकालिएको छ । दुर्घटनास्थल अत्यन्त अप्ठ्यारो भिरमा भएकाले उद्धारमा निकै कठिनाइ भइरहेको छ ।” दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी नै रहेको छ । रासस

एनआइविएल क्यापिटलले १५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं, ३१ साउन । एनआइविएल क्यापिटलले एनआइविएल सम्बृद्धि फण्ड १ मा लगानी गर्ने लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त निर्णय आइतबार बसेको कम्पनीको ३९औँ सञ्चालक समितिको बैठकले गरेको हो । एनआइविएल क्यापिटलले जारी गरेको ७ करोड लाख कित्ता एनआइविएल सम्बृद्धि फण्ड १ नेप्सेमा सूचिकृत छ । प्रतिकित्ता १० रुपैयाँ अंकित एनआइविएल सम्बृद्धि फण्ड हाल प्रतिकित्ता करिब १५ रुपैयाँमा कारोबार हुँदै आएको छ ।

बजारमा ३९ अंकको गिरावट हुँदा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बृद्धि

काठमाडौं, ३१ साउन । सोमबार सेयर बजारमा ३९ दशमलब १२ अंकको गिरावट आएको छ । परिसूचक दोहोरो अंकले घटेर १६९४ दशमलब ८१ अंकमा पुगेको छ । सो दिन १४१ कम्पनीको २४ लाख १७ हजार कित्ता सेयर १ अर्ब १९ करोड २९ लाख रुपैयाँमा किनबेच भएको छ । दोहोरो अंकले घटेको बजारमा दुई कम्पनी हाम्रो विकास बैंक र सिद्धार्थ विकास बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी नेपाल ग्रामीण विकास बैंकका लागानीकर्ताले करिब ९ प्रतिशत गुमाएका छन् । त्यस्तै, रिडि हाइड्रोपावर विकास कम्पनी राप्ती भेरी विकास बैंकका लागानीकर्ताले करिब ८ प्रतिशत गुमाएका छन् । सोमबार बजारमा सबै समूहमा रातो रङ देखिएको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक २३४ अंकले ओरालो लागेको छ । त्यस्तै होटल, हाइड्रोपावर, बैंकिङ र विकास बैंक समूहको परिसूचक दोहोरो अंक क्रमशः ७६, ४९, ४० र ३७ अंकले घटेको छ । अन्य समूहको परिसूचक भने सामान्य अंक क्रमशः ९ र ३ ले घटेका छन् ।