विकासन्युज

विद्युत् अवरुद्ध भएपछि सर्वसाधारण आक्रोशित

खोटाङ, १९ साउन । खोटाङ र ओखलढुङ्गामा पाँच दिनदेखि विद्युत् अवरुद्ध भएपछि सर्वसाधारण आक्रोशित भएका छन् । गत शनिबारदेखि गाईघाट–दिक्तेल ३३ केभी विद्युत् प्रशारण लाइन अवरुद्ध भएपछि सर्वसाधारण मर्कामा परेका हुन् । आक्रोशित सर्वसाधारण विद्युत् प्राधिकरणको कार्यालय दिक्तेल गएर तत्काल विद्युत् सुचारु गराउन ध्यानाकर्षण गराएका छन् । प्राधिकरणबाट बेलुकासम्ममा विद्युत् सुचारु हुने जवाफ पाएपछि आक्रोशित स्थानीय फर्किएको गोपालचन्द्र आचार्यले बताए । विद्युत् अवरुद्ध हुँदा जिल्लास्थित सरकारी तथा गैंरसरकारी कार्यालय, वित्तीय संस्था, फोटो तथा फोटोकपी व्यवसाय तथा निजी कामकाज प्रभावित भएको छ । लामो समयम्म विद्युत् अवरुद्ध भएपछि खोटाङका ३९ गाविसका आठ हजार ८५३ उपभोक्ताका साथै छिमेकी जिल्ला ओखलढुङ्गाको जनजीवन प्रभावित भएको हो । विद्युत् नआउँदा खोटाङ जिल्लाबाट हरेक शुक्रबार प्रकाशित हुँदै आएको हलेसी खबर साप्ताहिक, आइतबार प्रकाशित हुँदै आएको रुपाकोट खबर साप्ताहिक र हरेक सोमबार प्रकाशित हुँदै आएको खोटाङ खबर साप्ताहिक पत्रिका प्रकाशन हुनसकेको छैन । लामो समयसम्म विद्युत् अवरुद्ध भएपछि जिल्लामा सञ्चालन हुँदै आएका हलेसी एफएम र रुपाकोट एफएमको प्रशारण समेत बन्द भएको छ । उदयपुरको रसुवादेखि साउनेबीचमा ‘फल्ट’ भएकाले विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण शाखा खोटाङले जनाएको छ । हालसम्म फल्ट भएको स्थान पत्ता लाग्न नसकेको प्राधिकरणका निमित्त प्रमुख सुदिप ज्ञवालीले बताए । रासस

फास्ट ट्रयाक आफैं बनाउने प्रचण्डको प्रतिवद्धता

काठमाडौं, १९ साउन । प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहालले फास्ट ट्रयाक आफैं बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्रीमा आफुलाई मतदान गर्न आग्रह गर्दै व्यवस्थापिका संसदमा सम्बोधन गर्नेक्रममा प्रचण्डले फास्ट ट्रयाक आफैं बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले भने–‘प्रधानमन्त्रीज्यु चिन्ता नगर्नुस, फास्ट ट्रयाक हामी आफैं बनाउँछौं, हुलाकी राजमार्ग पनि हामी आफैं बनाउँछौं ।’ उनले केरुङ–रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग, चीनसँग पेट्रोलियम पाइप निर्माण लगायतका सबै काम यथोचित ढंगले अघि बढ्ने स्पष्ट पारेका हुन् । प्रचण्डले बजेट बिनियोजन गरिएका कुनै पनि काम नरोक्ने तर प्रधानमन्त्री ओलीले देखाएका असम्भव सपना भने पुरा नहुने स्पष्ट पारे । ‘प्रधानमन्त्रीज्यु तपाईले बजेट बिनियोजन गर्नु भएका सबै काम अघि बढ्छन, तर बजेट बिनियोजन नगरिएका तपाइँको अनावश्यक सपना भने पुरा गर्न सकिन्न ।’ प्रचण्डले अथाह सम्भावना भएको देशलाई विकास र समृद्धिको मार्गमा अघि बढाउने जिम्मेवारी आफ्नो काँधमा आएको र त्यो पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । संसदलाई सम्बोधन गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले विकास र समृद्धिको जनअपेक्षा पुरा गर्न नयाँ सरकार प्रतिवद्ध रहने बताएका थिए । उनले चीन र भारतसँगको सन्तुलित सम्बन्ध कायम गराउनु पर्ने धारणा पनि राखेका थिए । छिमेकी बदल्न नसकिने भएकाले दुबै मुलुकसँग उचित सम्बन्ध कायम गर्नुपर्ने बताए । देउवाले चीन र भारतकाबिचमा नेपालले खेल्न नहुनेमा पनि जोड दिएका थिए ।

कार्यालय सार्दै धितोपत्र बोर्ड, ३० कोठा भएको घरको खोजी

काठमाडौं, १९ साउन । नेपाल धितोपत्र बोर्डले कार्यालय सार्ने भएको छ । धितोपत्र बोर्डले रामशाहपथ, थापाथली, बवरमहल, कालिकास्थान, डिल्लीबजार, बालुवाटार, गौशाला र बानेश्वर आसपास क्षेत्रमा कार्यालय प्रयोजनका लागि घर खोजी सुरु गरेको हो । २० वटा चार पांग्रे सवारी साधन, ४० वटा मोटरसाइकल पार्किङ क्षमता भएको २८ देखि ३० वटा कोठा भएको घर भाडामा लिन लागेको हो । बोर्डले आगामी १५ दिनभित्र सम्बन्धीत घरधनी वा फर्मलाई सम्पर्क गर्न पनि आग्रह गरेको छ । कति भाडा लिने हो भन्ने समेत खुलाउन पनि बोर्डले आग्रह गरेको छ ।

उपत्यकामा आयआर्जन घटेपछि जीविको पार्जनमा समस्या

काठमाडौं, १९ साउन । काठमाडौं उपत्यकामा भूकम्पपछि सर्वसाधारणको आयआर्जन घटेकाले जीविकोपार्जनको समस्या परेको बताइएको छ । लुमन्ति नेपाल र अक्सफामले संयुक्त रुपमा ‘सहरी सामुदायिक पुनःनिर्माणका लागि जीविकोपार्जनसम्बन्धी’ कार्यशाला गोष्ठीमा सहभागीले उपत्यकामा बसोबास गर्ने सर्वसाधारणको आयआर्जन घटेकाले जीविकोपार्जनमा समस्या परेको बताएको छ । उनीहरुले आयआर्जन घटेसँगै जीविकोपार्जनमा समस्या परेकाले पुनःस्थापनासम्बन्धी कार्यक्रम ल्याउनुपर्नेमा जोड र्दिएका छन् । कार्यक्रममा भूकम्प पुनःनिर्माण प्राधिकरणका सदस्य डा कृष्ण भण्डारीले भूकम्पछि सर्वसाधारणको आयआर्जनमा घटेको बताउँदै आयमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले पुनःनिर्माणको काम सँगसँगै जीविकोपार्जनसम्बन्धी कार्यक्रममा सञ्चालन गरेमात्र वास्तविक रुपमा पुनःनिर्माण हुने बताए । नेपाल रेडक्रस सोसाइटीका उमेश दाहालले भूकम्पले उपत्यकाका मानिसमा आर्थिक उपार्जन घटाएको बताउँदै आयआर्जन सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । लुमन्ती नेपालका अध्यक्ष लजना मानन्धरले उपत्यकामा दैनिक गुजारा समस्या परेकाले आफूहरुले १७० जनालाई आयआर्जन सम्बन्धी कार्यक्रम गरिएको जानकारी गराए । उनले प्राकृतिक जोखिमले जुनसुकै बेला पनि समस्या पर्ने भएकाले ऋणमा डुब्ने सम्भावना भएकाले गरिब हुनबाट जोगाउनु आवश्यक रहेको बताए । अक्सफामका कार्यक्रम संयोजक प्रवीणमान सिंहले उपत्यकामा भूकम्पपछि जीविकोपार्जनमा जोखिम बढेकाले त्यस्ता समुदायको पहिचान गरी स्वरोजगार प्रदान गर्ने जानकारी गराए । उनका अनुसार भाडामा बस्ने, खोलाको किनार बस्ने र उपत्यकाका रैथानेहरु जो भाडाबाट मात्र जीविकोपार्जन गर्नेहरुलाई समस्या परेको छ । उनले उत्पत्यका सात नगरपालिकामा पहिलोपटक स्वरोजगार कार्यक्रम सञ्चालन गरिने जानकारी गराए । एक अध्ययनले उपत्यकामा तीन प्रतिशत गरिबी बढाएको तथ्याङ्क सार्वजनिक गरेको छ । रासस

सुनचादी व्यापारी घाङ्गेमाथि सम्पत्ति शुद्धीकरणको अभियोग, २ करोड १९ लाखको विगो दाबी

काठमाडौं, १९ साउन । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुनचादी ब्यवसायी बालु जगन्नाथ घाङ्गेमाथि सम्पत्ति शुद्धीकरणको अभियोमा मुद्दा चलाएको छ । काठमाडौंको न्यूरोडमा संचालित सुन पसल बालाजी सन्सका संचालक घाङ्गेले अवैध सुनचादीको कारोवार गरेको सुचनाका आधारमा प्रहरीले पक्राउ गर्दा भेटिएको सुन चादी र नगदमध्ये २ करोड १९ लाख रुपैयाँको स्रोत देखाउन नसकेपछि सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरिएको हो । विभागले १७ साउनमा घाङ्गे विरुद्ध मुद्दा विषेश अदालतमा मुद्दा दायर गरेको विभागले जानकारी दिएको छ । उनमाथि २ करोड १९ लाख ३ हजार ७ सय २९ रुपैयाँको स्रोत देखाउन नसकेको अभियोग लगाइएको छ । घाङ्गेले भन्सार छली चारी पैठारी गरी सुन चादीको अबैध कारोवार गरेको सुराकीको आधारमा नेपाल प्रहरीको विषेश टोलीले उनलाई २१ माघ २०७१ मा पक्राउ गरेको थियो । सो समयमा खानतलासी गर्दा उनीसँग ३ करोड २२ लाख नेपाली रुपैयाँ, सुनचादी र हजार र ५ सय दरका भारतीय मुद्रा पनि फेला परेको थियो । सुनचाली, ठूलो मात्रामा नेपाली पैसा भारतीय मुद्रा सहित पक्राउ परेका घाङ्गेलाई राजस्व अनुसन्धान विभागले अनुसन्धान गरेको थियो । सो अनुसन्धानको क्रममा २ करोड १९ लाख रुपैयाँको स्रोत नखुले पछि राजस्वले सो फाइल सम्पत्ति शुद्धीकरण विभागलाई दिएर सम्पत्तिको स्रोत खोज्न आग्रह गरेको थियो । सोही आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गर्दा सो रकमको स्रोत नखुलेकोले मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ । विभागले दायर गरेको मुद्दामा सो परिमाणको रकम जफत गरी सोको विगो समेत असुल गर्न माग गरिएको छ ।

५० वर्षमा ७४ ओटामात्र पेटेन्ट दर्ता, गत आर्थिक वर्षमा एउटा पनि दर्ता भएन

काठमाडौं, १९ साउन । ५० वर्षमा ७४ ओटामात्र पेटेन्ट दर्ता भएका छन् । बौद्धिक सम्पत्ति अधिकारको संरक्षणसम्बन्धी एकीकृत नीतिको अभाव तथा आम उत्पादक तथा आविष्कारकमा यस्ता बौद्धिक सम्पत्तिको संरक्षण गर्नुपर्छ भन्ने चेतनाको अभावका कारण पेटेन्ट दर्ता कम भएको हो । यस्ता सम्पत्तिको संरक्षण गर्नुपर्छ भन्ने ज्ञान आम उत्पादकमा नहुुनुको साथै नीतिगत जटिलता, व्यवस्थित संयन्त्र अभाव कारण बौद्धिक सम्पत्तिको संरक्षण, विकास र प्रवद्र्धन कार्य प्रभावकारी हुन सकेको छैन । सरकारले बौद्धिक सम्पत्तिको संरक्षणका लागि छु्ट्टै संस्थागत संरचना बनाउन गृहकार्य शुरु गरेको पनि आधादशक भइसक्यो । हाल नेपालमा औद्योगिक सम्पत्तिको पेटेण्ट, डिजाइन र ट्रेडमार्कको संरक्षणका लागि २०२२ सालको ऐन कार्यान्वयनमा छ । त्यस्तै प्रतिलिपि अधिकार संरक्षणका लागि प्रतिलिपि अधिकार ऐन–२०५९ र यससम्बन्धी नियमावली २०५१ प्रचलनमा रहेको छ । सो अनुसार ट्रेडमार्क दर्ताको काम भइरहेको भए पनि अन्य औद्योगिक सम्पत्तिको दर्ता भने न्यून रहेको छ । पेटेन्ट नयाँ आविष्कार हुनाका साथै विश्वव्यापी रुपमा बुझ्नु पर्ने भएकोले एउटा स्वीकृत गर्न कम्तीमा पनि ३ वर्ष लाग्ने भएको पनि दर्ता गर्न कम आउने गरेको उद्योग विभागले बताएको छ । ५ दशकको अन्तरालमा निकै कम पेटेन्ट पाएका दर्ता भएको छ भने १ सय २३ ओटा डिजाइन दर्ता भएको उद्योग विभागको तथ्याङ्क छ । गत आव २०७२/७३ मा विभागअन्तर्गतको औद्योगिक सम्पत्ति शाखामा एउटा पेटेन्ट दर्ता भएको छैन । गत आवमा ११ ओटा डिजाइन भने दर्ता भएका छन् । स्रष्टा, आविष्कार तथा लेखकको बौद्धिक सम्पत्ति माथिको अधिकार प्रत्याभूत गर्न, उद्योग व्यवसायमैत्री वातावरण बनाउन, पेटेन्ट अधिकार सुरक्षित गर्न बौद्धिक सम्पत्तिको संरक्षण गरिनु पर्ने भएपनि चेतनाको अभावका कारण कम मात्र दर्ता हुने गरेको विभागका प्रवक्ता रुद्रबहादुर मल्लले बताए । विदेशी लगानी बढाउन, रोजगारीका अवसरहरू सृजना गर्न, विदेशी प्रविधिको आयात गर्न र प्रविधि हस्तान्तरणमा सघाउन बौद्धिक सम्पत्ति संरक्षणको व्यवस्था गर्न लागिएको उद्योग मन्त्रालयले जानकारी दिएको छ । बौद्धिक सम्पत्तिको अवधारणा, पहिचान, कानूनी अधिकार, त्यसको स्वामित्व, परिचालन, स्वामित्वको सीमा, अधिकारको उल्लङ्घन, दण्डसजायको व्यवस्थालगायत विषय व्यवस्थित हुन नसक्दा नेपालमा बौद्धिक सम्पत्तिको वैज्ञानिक रूपमा संरक्षण हुन सकेको छैन । यसको संरक्षणको लागि एकीकृत नीतिमार्पmत उद्योग मन्त्रालयअन्तर्गत रहने गरी बौद्धिक सम्पत्ति संरक्षण कार्यालय स्थापना गरिने भएको छ । नेपालले नयाँ संविधानमार्फत बौद्धिक सम्पत्तिको अवधारणालाई संवैधानिक रूपमा नै अङ्गीकार गरेपछि पहिलोपटक बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी नीतिको मस्यौदा तयार भएको छ । नीति जारी भएमा पेटेन्ट, परम्परागत ज्ञान, भौगोलिक सूचक, वनस्पति प्रजाति, प्रतिलिपि अधिकार, ट्रेडमार्क र डिजाइनसम्मका बौद्धिक सम्पत्तिको संरक्षण हुने छ । पेटेन्ट पेटेन्टको अर्थ कुनै वस्तु आविष्कारक वा उत्पादकलाई सरकारले निश्चित अवधिसम्म उक्त वस्तु उत्पादन, प्रयोग र बिक्रीका लागि दिने अधिकार हो । ‘आविष्कारकले पेटेन्ट दर्ता गर्नु भनेको आफूले गरेको नयाँ आविष्कार वा उत्पादनको कानुनी संरक्षण गर्नु हो,’ मल्लले भने ‘नयाँ आविष्कार वा वस्तु आफ्नो नाममा दर्ता गरेपछि निश्चित समयसम्म त्यसको उत्पादन, उपयोग र बिक्री गर्ने अधिकार आविष्कारकमा सुरक्षित हुन्छ ।’ कसैले त्यसको नक्कल गरेमा त्यो दण्डित हुन्छ । तर, आविष्कारक र उत्पादकले यसलाई महत्व नदिएको तथ्याङ्कले देखाउँछ ।’ हामी जस्तो अल्पविकशीत देशका पेटेन्ट दर्ता गर्ने नगन्य हुन्छन् । डिजाइन डिजाइन कुनै आविष्कार वा उत्पादनको आकार, प्रकार वा आँखाले हेर्दा देखिने रुप हो । कुनै वस्तु उत्पादन गर्दा कम्पनीले नयाँ प्रकारको डिजाइन गरेको छ र त्यो मौलिक हो भने उसले त्यसलाई कानुनी रुपमा संरक्षण गर्न सक्छ । त्यो कानुनी अधिकार उपभोग गर्न डिजाइन दर्ता गर्नुपर्छ । एकपटक डिजाइन दर्ता गरेपछि १५ वर्षसम्म त्यसमा आफ्नो एकाधिकार संरक्षित हुन्छ । ट्रेडमार्क ट्रेडमार्क कम्पनी वा उद्योगको व्यापारिक चिह्न हो । यस्तो चिह्नले कम्पनी वा उद्योगलाई परिचित गराउँछ। एकपटक ट्रेडमार्क दर्ता गरेपछि प्रत्येक सात वर्षमा नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

भीजी सुजुकीले बजार विस्तार आक्रामक बनाउने

काठमाडौं, १९ साउन । नेपालका लागि सुजुकी मोटरसाइकलको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले आक्रामकरुपले बजार विस्तार गर्ने भएको छ । भीजी सुजुकी डिलर सम्मेलन मार्फत कम्पनीले बजार विस्तारको नयाँ अभियान थाल्ने बताएको हो । कम्पनीको डिलर सम्मेलन भर्खरै काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनमा देशभरका ५६ डिलरहरु सहभागी थिए ।सम्मेलनमा गत वर्षमा भएको उपलब्धि र आगामी वर्षमा गरिने योजनाको बारेमा छलफल भएको थियो । कार्यक्रममा सुजुकी मोटर्स इण्डियाका प्रबन्ध निर्देशक शातोसी उचिडाको पनि उपस्थिति रहेको थियो । उनले डिलरहरुलाई उत्प्रेरित गर्दै भने, “सुजुकीका लागि नेपाल एउटा महत्वपूर्ण बजार हो र बिक्रिको मामिलामा पनि राम्रो गरिरहेको छ ।   सुजुकी मोटरसाइकल बजारमा आवश्यक पर्ने कुनै पनि सहयोग उपलब्ध गराउन सधैँ तयार रहेको छ ।” सुजुकी मोटरसाइकलको मार्केट शेयरको आधारमा बाग्लुङ्ग स्थित सुगम अटोमोबाइलले वर्षको उत्कृष्ट डिलर अवार्ड पाउन सफल रह्यो । भीजी अटोमोबाइल्सका प्रमुख कार्यकारी अधिकृत चिरन्जीवि शाहले थप स्पष्ट पार्दै भने,“यो सम्मेलन डिलरहरुले गरेको कडा परिश्रमप्रति आभार व्यक्त गर्न आयोजना गरेको हो । सुजुकी दुई पाङ्ग्रेको सफलता डिलरहरुले गर्दा हासिल भएको हो र हामी यो साझेदारी  सबल गर्न तत्पर छौँ ।” भीजी अटोमोबाइल्सका कार्यकारी निर्देशक निकुञ्ज अग्रवालले भने,“सुजुकीले छोटो अवधिमै आपूmलाई दुई पाङ्ग्रे बजारमा परिचित गराउन सफल भएको छ । नयाँ उत्पादनको आगमन र ग्राहकको भरोसाले आउने वर्षमा सुजुकीको बजार  बढ्नेछ ।

मेगा बैंकमा ७७ जनालाई जागिर खुल्यो, भदौ १ गतेभित्रै आवेदन पेश गर्नुपर्ने

काठमाडौं, १९ साउन । मेगा बैंक नेपालले ७७ जनाका लागि जागिर खुलाएको छ । बैंकले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै आवेदन मागेको हो । बैंकले मेनेजर २ जना, अफिसर २९ जना र ४६ जना एसिसटेन्ट लेभलका लागि आवेदन खुल्ला गरेको हो । बैंकले एक जना मेगा माइक्रो बैंकिङ मेनेजर र एक जना भैरहवा शाखाको लागि ब्राञ्च मेनेजर खोजेको छ । त्यस्तै, अफिसर लेभलका लागि कानुन, कर्जा, मानव संसाधन, पुर्वाधार फाइनान्सिङ लगायतको क्षेत्रका लागि ११ जना मागेको हो । बैंकले भदौं १ गतेभित्रै आवेदन पेश गरिसक्नुपर्ने जनाएको छ । अन्तिम छनौटमा परेका प्रतिष्पर्धीहरुले मेगा बैंकको काठमाडौं, नेपालगञ्ज, बिरगञ्ज, पोखरा, बुटवल, भैरहवा, सुनवल, तानसेन, नारायणगढ, तौलिहवा लगायतका क्षेत्रमा रहेका शाखाहरुमा काम गर्नुपर्नेछ ।