मुस्ताङमा कोइलाखानीको पनि अध्ययन हुने, थप टोली पठाउने सरकारको योजना
मुस्ताङ, २३ असार । मुस्ताङको जोमसोमस्थित ठिनीमा पर्ने ताङ्दुङ भन्ने ठाउँमा रहेको कोइलाखानीको सरकारले अध्ययन गर्ने तयारी थालेको छ । उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वमा खानी तथा भूगर्भ विभागका विज्ञसहितको टोलीले हालै मुस्ताङका विभिन्न स्थानमा रहेको युरेनियम, पेट्रोल र नुनखानीको अध्ययन गरेसँगै कोइलाखानीको पनि अध्ययन हुन लागेको हो । जोमसोमबाट ठिनी हुँदै ताङ्दुङ जान सकिन्छ । विश्वको सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल जाने बाटोमै पर्ने कोइलाखानीमा बाहिरबाटै कोइलाका भाग देखिन्छ । त्यसलाई स्थानीयवासीले आगो बाल्नसमेत प्रयोग गर्दै आएको ठिनीका आशबहादुर थकालीले बताए। “बाहिरबाटै कोइला देखिन्छ, तर त्यसको अन्वेषण भएको छैन, यसको अध्ययन जरुरी छ”, उनले भने। विभिन्न खानीको अध्ययन गर्न आएको सरकारी टोलीले समय अभावका कारण कोइलाखानीको अनुसन्धान गर्न नपाएको भन्दै त्यसका लागि थप टोली पठाउने तयारी थालेको खानी तथा भूगर्भ विभागले जनाएको छ । उद्योगमन्त्री पाण्डेले कोइलाखानीको अध्ययनका लागि सरकारले प्राथमिकता दिएको बताए । “मुस्ताङमा विभिन्न स्थानमा रहेका खानीका अध्ययन गर्न सरकार योजनाबद्ध तरिकाले अघि बढ्छ, युरेनियम र कोइलाखानीका लागि थप टोली पठाउने योजना छ”, उनले भने । रासस
सगरमाथाको फोहर तारा एयरले निःशुल्क ढुवानी गर्ने
सोलुखुम्बु, २३ असार । सोलुखुम्बुको सगरमाथा क्षेत्रबाट निस्कने फोहरलाई तारा एयरलाइन्सले निःशुल्क ढुवानी गर्ने भएको छ । सगरमाथा प्रदर्शन नियन्त्रण समिति (एसपिसिसी)ले सगरमाथा क्षेत्रको विभिन्न गाउँ, हिमालका आधारशिविर आदि स्थानबाट सङ्कलन गरेको फोहरलाई तारा एयरलाइन्सले ढुवानी गर्ने भएको एसपिसिसीले जनाएको छ । प्रत्येक वर्ष सरसफाइ अभियान नै चलाएर एसपिसिसीले सगरमाथा प्रवेशद्वार नाम्चेदेखि सगरमाथाको आधारशिविरसम्मको फोहर सङ्कलन गर्ने गरेको छ । यस वर्ष सम्पन्न भएको सरसफाइ अभियानबाट एसपिसिसीले दुई हजार ५७८ किलो फोहर सङ्कलन गरेको एसपिसीसीले जनाएको छ । सङ्कलित फोहरमध्ये जल्ने प्रकृतिका प्लास्टिकजन्य एक हजार ५६० किलो फोहर नाम्चेमा नष्ट गरिएको छ भने बाँकी रहेको एक हजार १८ किलो फोहरलाई पुनः प्रयोगमा ल्याउनका लागि काठमाडौं पठाउनुपर्ने एसपिसिसीले जनाएको छ । त्यस्तै सगरमाथा आधारशिविरमा आरोहणका क्रममा ३५ आरोहण दलले सङ्कलन गरेको नौ हजार ६६० किलो फोहरमध्ये एक हजार ६३ किलो नजल्ने फोहोर पनि काठमाडौं लानुपर्ने एसपिसिसीका उपाध्यक्ष लामाकाजी शेर्पाले बताए । यस वर्ष ५३ समूहका आरोहीले सगरमाथा आरोहण गरेको भए पनि ३५ आरोहण दलको फोहर एसपिसीसीको कार्यालय नाम्चेमा आइपुगेको छ । एसपिसिसीका उपाध्यक्ष लामाकाजी शेर्पाले भने – “नजल्ने फोहरलाई ‘रि युज’का लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । नजल्ने फोहरलाई पगालेर विभिन्न प्रतिमा बनाउन सकिन्छ ।” सगरमाथा क्षेत्रमा सङ्कलन भई काठमाडौं लानुपर्ने फोहरमध्ये एक वर्षमा १२ टन फोहरलाई तेन्जिङ हिलारी विमानस्थल लुक्लादेखि अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँसम्म निःशुल्क ढुवानी गरिदिने सम्झौता भएको एसपिसिसीले जनाएको छ । कार्यालयका अनुसार तीन वर्षसम्मका लागि सम्झौता भएकोे छ । दिगो पर्यटन विकासका लागि भन्दै एसपिसिसीले फोहर व्यवस्थापनका लागि प्रस्तावना पेस गरेकामा सम्झौता गर्न सफल भएको कार्यसमितिका प्रथम उपाध्यक्ष डिमदोर्जी शेर्पाले जानकारी दिए । रासस
फुटबल स्टार मेसीलाई २१ महिनाको जेल सजाय
स्पेन, २३ असार । बार्सिलोनाको एक अदालतले विश्व फुटबल स्टार लियोनल मेसी र उनका पिता जर्ज होरासियो मेसीलाई आफ्नो कमाई अनुसार तिनुपर्ने कर नतिरेको अभियोगमा २१ महिनाको जेल सजाय तोकेको छ । मेसी स्पेनी क्लब बार्सिलोनामा रहेर खेल्दा आर्जन गरेको सम्पत्ती बापत तिर्नुपर्ने कर नतिरेको भन्दै स्पेनी अदालतमा मुद्दा परेको थियो । फुटबल स्टार मेसीलाइ लगातार तीन पटकसम्म कर छली गरेको आरोपमा मुद्दा दायर भएको थियो । तर स्पेनी कानून अनुसार उनीहरूले जेल बस्नु पर्ने भने छैन । स्पेनको कानून अनुसार पहिलोपटक दुईबर्ष भन्दा कम जेल सजाय तोकिएका फौजदारी अपराधमा सम्लग्न नभएका अभियुक्तलाई जेलमा बस्नु नपर्ने प्राबधान छ । विश्वविख्यात फुटबल खेलाडी मेसी र उनका पितालाई करछली गरेबापत ४१ लाख अमेरिकी डलरबराबरको जरिवाना तोकिएको छ । जेल जानु नपरेपनि उनीहरूले जरिवाना भने स्पेन सरकारलाई बुझाउनुपर्नेछ । रासस/एएफ्पी
नेपाल बैंक र सेन्ट्रल बैंक अफ ईण्डियाबीच रेमिट सम्झौता
काठमाडौं, २३ असार । नेपाल बैंक र भारतको सेन्ट्रल बैंक अफ ईण्डियाबीच मुम्बईमा रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सो सम्झौता पछि भारतमा विभिन्न रोजगारी तथा व्यवसाय गरी रहेका नेपालीहरुले उक्त सेन्ट्रल बैंक अफ ईण्डियाको कुनै पनि शाखाबाट पठाएको रकम मूलुकभर रहेका नेपाल बैंक लिमिटेडको कुनै पनि शाखाबाट सजिलै भुक्तानी लिन सक्नेछन । सेन्ट्रल बैंक अफ ईण्डियाबाट पठाएको रकम नेपाल बैंकको एनबीएल रेमिट मार्फत क्यास टु क्यास, अकाउन्ट टु अकाउन्ट अथवा क्यास टु अकाउन्ट सुविधाबाट भुक्तानी लिन सक्नेछन् । अहिले मूलुकभर नेपाल बैंकको १२६ वटा शाखा सञ्चालनमा छन् । करिब चार हजार पाँच सय शाखा रहेको भारतको सेन्ट्रल बैंक अफ ईण्डियासँगको रेमिट्यान्स सेवा सम्झौता पछि भारतमा रहेका नेपालीहरुलाई स्वदेश आगमनमा रकम बोक्नु पर्ने झन्झटबाट मुक्ति पाउनुका साथै बाटोमा हुन सक्ने चोरी ठगीबाट समेत सुरक्षित हुने बैंकले जनाएको छ । नेपाल बैंकले यस अघि नै राष्ट्रिय तथा अन्तराष्ट्रिय रेमिट्यान्स कम्पनीहरुसँगको साझेदारीमा युरोप, खाडी मूलुक तथा अन्य राष्ट्रबाट “एनबिएल रेमिट तथा अन्य माध्यमबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । यसैगरी यस बैंकले वेष्टर्न युनियन, हिमाल रेमिट, प्रभु मनी ट्रान्सफर, आईएमई, मनीग्राम, सिटी एक्सप्रेस लगायतका रेमिट्यान्स कम्पनीसंगको सहकार्यमा विदेशबाट पठाएको रकम भुक्तानी गर्दै आएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यती डेभलपमेण्ट बैंकले २ बराबर १ हकप्रद सेयर जारी गर्ने, ४३ करोडको बोनस सेयर प्रस्ताव
काठमाडौं, २४ असार । यती डेभलपमेण्ट बैंक लिमिटेडले २ सेयर बराबर १ सेयर हकप्रद सेयर निश्काशन गर्ने भएको छ । हकप्रद सेयर जारीपछि बैंकको चुक्ता पुँजी करिव २ अर्ब ७ करोड रुपैयाँ हुनेछ । चालु आर्थिक वर्षको नाफा र आगामी आर्थिक वर्षको नाफाबाट बैंकले ४३ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकले विकास बैंकको चुक्ता पुँजी २०७४ असार मसान्तसम्ममा २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । असार २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हकप्रद सेयर र बोनस सेयर सम्बन्धि निर्णय गरेको हो । बैंकले साउन १५ गते चौधौ वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको साधारणसभामा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचन गर्ने अजेण्डा रहेको छ । साथै, बैंकले संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने निर्णय गरेको छ । हाल बैंकमा संस्थापक समूहको सेयर ६८ प्रतिशत रहेको छ ।
घरेलु तथा साना उद्योग महासंघको टोली इलाम प्रस्थान
काठमाडौ, २३ असार । नेपाल घरेलु तथा साना उद्योग महासंघको एक टोली वन तथा कृषि सहज कार्यक्रम अन्तर्गत बुधबार इलामतर्फ प्रस्थान गरेको छ । काभ्रे शाखासहित २५ जनाको टोलीले इलाममा अलैंची, तरकारी, चिया, अम्रिसोलगायतको अवलोकन गर्नुका साथै सम्बन्धित उद्यमीहरूसँग छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको महासंघले जानकारी दिएको छ । उक्त टोलीले त्यहाँ रहेको अलैंची खेती तथा प्रशोधन केन्द्र, अम्रिसो र बाँस खेती तथा प्रशोधन केन्द्र, बेमौसमी तथा मौसमी तरकारी खेती, अदुवा खेती, चिया खेती तथा प्रशोधन केन्द्रको अवलोकन गरेको छ । अवलोकनसँगै महासंघ इलाम शाखा, वन कार्यालय, कृषि कार्यालय र घरेलु कार्यालयसँग सम्बद्घ व्यक्तित्व, उद्यमी, कृषकलगायतसँग अन्तक्र्रिया तथा छलफल गरी शुक्रबार काभ्रे फर्कने कार्यक्रम रहेको कार्यक्रम संयोजक जगन्नाथ पौडेलले जानकारी दिए ।
साढे २४ हजार भूकम्प पीडितले पाए घर बनाउन ५० हजार
काठमाडौं, २३ असार । सरकारले साढे २४ हजार भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ उपलब्ध गराएको छ । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयलाई उदृत गर्दै पुननिर्माण प्राधिकरणले दिएको जानकारी अनुसार असार २२ गते कार्यालय समय सकिँदासम्ममा २४ हजार ४ सय २८ परिवारको बैंक खातामा ५० हजार रुपैंयाँ राखिएको छ । हालसम्म दुई लाख २३ हजार ८ सय ३० घरधुरीसँग अनुदान सम्झौता सम्पन्न भएको छ । अनुदान सम्झौता सम्पनन्न भएको एक हप्ताभित्र कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत भूकम्प पीडितको बैंक खातामा ५० हजार रुपैयाँ राखिदिने प्रावधान रहेको छ । सरकार र प्रतिपक्षीका बिचमा पछिल्लो पटक भएको सहमति अनुसार भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि पहिलो किस्तामै एक लाख ५० हजार उपलब्ध गराउने उल्लेख थियो । दाताहरुसँग आवश्यक छलफल गरेर निजी आवास निर्माण सम्बन्धी कार्यबिधी परिमार्जन मार्फत कार्यान्वयन हुने प्राधिकरणले जनाएको छ ।
देशभर बाढीपहिरो: ४६ जनाको मृत्यु, १७ बेपत्ता
काठमाडौँ, २३ असार । निरन्तर वर्षात्सँगै आएको बाढी र पहिरोका कारण मुलुकभर ४६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । देशका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट एक साताको अवधिमा ४६ जनाको मृत्यु हुनकासाथै १७ जना हराइरहेको मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए । अहिलेसम्म १५० घर बगाएको दुई करोडको प्रारम्भिक क्षति भएको उनले उल्लेख गरे । प्राकृतिक विपत्तिका घटनाको उद्धार र राहतका लागि सुरक्षा निकायलाई तैनाथ र आवश्यक संयन्त्र परिचालन गरिएको मन्त्रालयले जनाएको छ । ललितपुर, धादिङ, सिन्धुपाल्चोक, प्यूठान, दार्चुलालगायतका स्थानमा बाढी र पहिरोले जनधनको क्षति पु¥याएको छ । घटनाका पीडित ९घर भत्केकालाई० राहतका लागि तत्काल पाँचदेखि २५ हजार उपलब्ध गराइने प्रवक्ता कोइराराले बताए । सिन्धुपाल्चोकसहितका जिल्लामा बाढी र पहिरोले धेरै क्षति पुगेको भए पनि यकिन विवरण आइनसकेको गृहले जनाएको छ ।