विकासन्युज

पनामा पेपर्समा १३ जना नेपाली र १० कम्पनीको नाम सार्वजनिक, चर्चित अनुहार कम, नयाँ अनुहार बढी

काठमाडौं, २५ चैत । विश्व हल्लाउने गरी सार्वजनिक भएको पनामा पेपर्स रिपोर्टमा नेपालमा दर्ता भएका १० कम्पनीको नाम र १३ जना सञ्चालकको नाम उल्लेख गरिएको छ । विश्वका शक्तिशाली व्यक्तिहरुले आफै, आफन्त वा साथीहरुको नाममा कम्पनी खोली कर छल्दै व्यवसाय गर्नेहरु चोरबाटो प्रयोग गर्ने अन्तराष्ट्रिय सञ्जाललमा नेपालका १० कम्पनी र १३ जना नेपालीको नाम उल्लेख छ । त्यसमा चर्चित अनुहार कम छन् भने नयाँ अनुहार बढी देखिएका छन् । नेपाली सञ्चार माध्यममा आए झै अजय सुमाग्री र उनका कम्पनी, एनसेल र यसमा लगानी गर्ने कम्पनी, विशाल ग्रुप वा राजेन्द्र खेतान पछिल्लो समयमा विवादमा परेका कम्पनी वा व्यक्तिहरु उक्त सूचिमा परेको छैन । पनामा पेपर्समा उल्लेख भएअनुसार कर छलि गर्ने उदेश्यले ट्याक्स हेभन क्षेत्रमा कम्पनी दर्ता गरी कारोबार गर्दै आउनेमा शशिकान्त अग्रवाल, विजेन्द्र जोशी, विजेश कुमार तोदी अग्रवाल, विमलकाजी ताम्राकार, विन श्रेष्ठ, विश्व बरसिंर थापा, विश्वधर तुलाधर, मच श्यामसुन्दर कर्माचार्य, हरिश कुमार तोदी, प्रोफेसर सत्येन्द्र कुमार तोदी, राजेन्द्र कुमार काब्रा, रेनुका प्रधान, रेखा काब्रा रहेका छन् । आईसीआईजेका अनुसार चर्चित व्यवसायी शशिकान्त अग्रवालले पुँजी पलायत गरी कर चल्ने काम गरेका छन् । उनले मल्टी लिङ ट्रेड लिमिटेडको नाममा विदेशमा यास्तो काम गरेका छन् । यो कम्पनी २६ अगष्ट २००३ मा दर्ता भएको हो । कम्पनीको कार्यलय शिवकुञ्ज, बत्तिसपुतलि, काठमाडौं रहेको छ । अग्रवालले सोही स्थानबाट नेपाली कम्पनीहरु पनि सञ्चालन गर्दै आएका छन् । बिजेन्द्र जोशी अर्को चर्चित नाम हो । उनी बैंकर्स सशीन जोशीमा भाई हुन् । बिजेन्द्र वल्ड डिष्ट्रीव्यूशन नेपाल प्रालिका सञ्चालक तथा सेयर होल्डर हुन् । यसको कार्यालय सिद्धिभवन, कान्तिपथ काठमाडौंमा रहेको छ । यो कम्पनी सन् २००२ देखि चालु छ । वल्ड डिष्ट्रीव्यूशन नेपाल प्रा.लिसँगै हिमालयन इन्भेष्टमेन्ट ग्रुप लिमिटेडको नाम जोडिएर आएको छ । वल्ड डिस्ट्रीव्यूशन नेपालमा विजेन्द्रका पाटनरसिप गर्दे आएका विमलकाजी ताम्राकार वल्ड डिस्ट्रीव्यूशन नेपाल र हिमालयन इन्भेष्टमेन्ट ग्रुप लिमिटेडमा सञ्चालक र सेयरधनी रहेका छन् । वल्ड डिस्ट्रीव्यूशन नेपाल ९ मे २००२ देखि र हिमालयन इन्भेष्टमेन्ट ग्रुप २२ डिसेम्बर २००३ देखि सञ्चालमा आएको छ । यसको कार्यालय पनि सिद्धिभवन, कान्तिपथ काठमाडौं रहेको छ । हिमालयन इन्भेष्टमेन्ट ग्रुप लिमिटेडमा विश्ववरसिंह थापा पनि संलग्न छन् । उनी कम्पनीको सेयरधनी र सञ्चालक दुबै हुन् । त्यस्तै, विश्वधर तुलाधर वल्ड डिस्ट्रव्यूशन नेपाल प्रा.लि र हिमालयन इन्भेष्टमेन्ट ग्रुप लिमिटेड दुबैमा संलग्न छन् । आईसीआईजेका अनुसार विजेश कुमार तोदी अग्रवाल पनि कर छलिमा संलग्न छन् । उनी मोरङ जिल्ला विराटनगर नगरपालिका वडा नम्बर ९ का बासिन्दा हुन् । उनी वुडस्टक यूनिभर्सल लिमिटेडका डारेक्टर छन् । यो कम्पनी ३ अगष्ट २००७ देखि सञ्चालनमा रहेको छ । यस कम्पनीमा हरिस कुमार तोदी पनि सञ्चालक रहेका छन् । डा श्याम बहादुर कर्माचार्यले सुर्गी इलेक्ट्र मेडिकल लिमिटेडको नाममा विदेशमा पुँजी लगेका छन् । उनी सो कम्पनीका सेयरधनी र सञ्चालक हुनु । यो कम्पनी ७ मे २००८ देखि सञ्चालनमा रहेको छ । यो कम्पनी ललितपुर उपमहानगर पालिका वडा नब्वर २ मा देखिन्छ । बेनु श्रेष्ठ बेलउड अक्रस लिमिटेडको नामबाट कर छलि गर्दै विदेशमा पुँजी लगेकीछिन् । उनी सो कम्पनीका सञ्चालक र सेयर होल्डर हुन् । यो कम्पनी २१ अक्टोबर २००५ देखि सञ्चालमा रहेको छ । यसको कार्यालय थैबु, वडा नम्बर ७ ललितपुर रहेको छ । त्यस्तै प्रोफेशर सत्येन्द्र कुमार गुप्ताले वन्का इन्टरनेशल इन्कर्पोरेशनको नामक कम्पनी मार्फत पुँजी विदेश लगेका छन् । १ अप्रिल २००४ देखि यो कम्पनी सञ्चालमा छ् । राजेन्द्र कुमार काब्रा र रेखा काब्राले फ्रगान्स टाउन लिमिटेड नाममा पुँजी विदेश लैजादै चोरबाटोबाट लगानी गरेको पाईएको छ । यो कम्पनी ६ अप्रिल २००९ देखि सञ्चालमा आएको छ । शुक्रपथ, काठमाडौंमा यसको कार्यालय रहेको छ । रेनुका प्रधानले चुनदेवी–४, काठमाडौं ठेगानामा रेष्ट पार्क आईएनसी दर्ता गरी २३ मार्च २००७ देखि कारोबार गर्दै आएकी छिन् । यो कम्पनीले पनि कर छलि गर्न पुँजी विदेश लग्दै आएको आईसीआईजेको पनामा पेपर्स रिपोर्टमा उल्लेख गरेको छ ।

एक महिनादेखि दोलखाको सिंगटीमा के गर्दैछ पुननिर्माण प्राधिकरण ?

काठमाडौं, २५ चैत । राष्ट्रिय पुननिर्माण प्राधिकरणले फागुन ३० गते दोलखाको सिंगटीबाट नीजि आवास पुननिर्माणको काम सुरु गरेका थियो तर अझै पनि प्राधिकरण सिंगटीबाट बाहिर निस्कन सकेको छैन् । प्राधिकरणले सिंगटीलाई पाइलट प्रोजेक्टका रुपमा लिएको थियो । सिंगटी श्रोत केन्द्र अन्तर्गत पर्ने लामिडाडा र लाकुकका ६४१ भूकम्प पीडितसँग अनुदान सम्झौता गरेको छ । लामो प्रक्रिया र अंशबण्डा लगायतका समस्या देखिएपछि प्राधिकरणले पाईलट प्रोजेक्ट कस्तो भयो ? के के कमजोरी देखिए ? र कसरी अघि बढ्नु पर्ने रहेछ ? अनि किन ढिला भयो सिंगटी छिचोल्न ? प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलिया भन्छन्–‘सिंगटी पाइलट प्रोजेक्ट थियो, त्यहाँबाट पाठ सिकेर अघि बढ्ने योजना हो, सोही अनुसार चैत २८ गतेबाट आठ जिल्लाका आठ गाबिसमा अनुदान सम्झौता सुरु हुन्छ ।’ चार लाख ९८ हजार ५ सय ९७ घर भत्किएका थिए भने दुई लाख ५६ हजार ६ सय ९७ घर आंशिक रुपमा क्षति पुगेको थियो । हाल तीमध्ये पाँच लाख घरको सर्वेक्षण कार्य सम्पन्न भैसकेको छ । चैत २८ गतेबाट अनुदान सम्झौता भएका पीडितले बैशाखको पहिलो हप्ता भित्रै पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ पाउनेछन् । दोलखाको सिंगटीबाट सुरु गरिएको निजी आवास पुननिर्माण अभियानमा अंश बण्डाको लफडाले सताएको छ । एउटै परिवार छुट्टिएर धेरै बनेको तर अंश बण्डा गरेर कानुनी आधार कायम नगरेकाले पनि समस्या उत्पन्न गराएको छ । अर्कातिर स्थानिय निकायको अभावमा समन्वयको चरम अभाव छ । स्थानिय राजनीतिक नेतृत्वले खासै सहयोग गरिरहेको छैन् । थपलिया भन्छन–‘यो एकै पटक सम्पन्न हुने काम होइन, काम गर्दै सिक्दै जाने हो, हामी काम गरिरहेका छौं, दोलखामै हरायौं भन्ने आरोपमा तर्क छैन ।’ भूकम्प पीडितको डिजिटल तथ्यांक संकलनका लागि एक हजार ६ सय इञ्जिनियर १० १४ वटा जिल्लामा खटिएका छन् । हालसम्म ७५ प्रतिशत तथ्यांक संकलन भैसकेको पनि उनले जानकारी दिए । पहिलो किस्ता वापतको रकमले घर निर्माणको प्रक्रिया आरम्भ गरेपछि मात्रै दोश्रो किस्ताको ८० हजार प्राप्त हुनेछ । पहिलो किस्ताको रकम लिएपछि प्राधिकरणका बिशेषज्ञहरुले भवन निर्माणको अवलोकन गर्नेछन् । त्यसका लागि बिशेषज्ञ टोली समेत खटिईसकेको प्रवक्ता थपलियाले बताए ।

वैदेशिक रोजगारीमा जीवन बीमा १०० प्रतिशतले वृद्धि, कामदारको मृत्यु भएमा कम्तीमा साढे १७ लाख

काठमाडौँ, २४ चैत । वैदेशिक रोजगारीमा जाने कामदारको म्यादी जीवन बीमाको बिमाङ्क शतप्रतिशत नै वृद्धि भई रु १० लाख पुग्ने भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको बैठकले यसअघि बिमाङ्क रु पाँच लाख रहेकामा त्यसलाई वृद्धि गरी रु १० लाख पु¥याउने निर्णय गरेको हो । बीमाङ्क रकम शतप्रतिशत वृद्धि भए पनि प्रिमियममा ६५ प्रतिशतमात्रै वृद्धि गर्ने निर्णय बैठकले गरेको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए । यस व्यवस्थालाई वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याउन बीमा समितिसँग अनुरोध गरिएको बोर्डले जनाएको छ ।बोर्डले वैदेशिक रोजगारीमा बीमा गराउन बीमा अभिकर्ता आवश्यकता नपर्ने भएकाले बिमा अभिकर्ता रकम नदिने व्यवस्था गर्न बिमा नियमावली २०४९ को अनुसूची ११ संशोधनको प्रक्रिया अगाडि बढाउन बिमा समितिलाई अनुरोध गरेको छ । बैठकले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले करार अवधिभन्दा कम्तीमा छ महिना थप समय रहने गरी बीमा गर्नुपर्ने नयाँ व्यवस्था गरेको छ । कामदारको मृत्यु भएमा कम्तीमा साढे १७ लाख नयाँ व्यवस्थाअनुसार वैदेशिक रोजगारीका क्रममा कामदारको मृत्यु भएमा बीमाबापत साढे १४ लाख रुपैयाँ, प्रवद्र्धन बोर्डले कल्याणकारी कोषबाट दिने तीन लाख गरी परिवारले कम्तीमा रु साढे १७ लाख रकम पाउने भएका हुन् । नयाँ व्यवस्थाले रोजगारीको सिलसिलामा विदेशमा कामदारको मृत्यु भएमा उसमा आश्रित परिवारलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस

काठमाडौं महानगरपालिकामा अख्तियारको छापा

काठमाडौं, २४ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकामा छापा मारेको छ । केहि व्यवसायीक भवनलाई पुरानो मिति(ब्याक डेट) लेखेर निर्माण सम्पन्न गरेको प्रमाण पत्र जारीको बिषयबारे अनुसन्धान गर्न भन्दै आयोगले आइतबार छापा मारेको हो । कसरी मारियो महानगरपालिकामा छापा ? आइतबार करिब ४ बजे आयोगका चार जना कर्मचारी बागदरबारमा रहेको महानगरपालिकाको शहरी विकास विभागमा प्रवेश गरे । उनीहरुले विश्वज्योति मल, प्रभु बैंकको केन्द्रिय कार्यालय र अन्य केहि व्यवसायीक भवनलाई दिईएको निर्माण सम्पन्न प्रमाण पत्रको फाइल मागे । विभागका कर्मचारीले ‘फाइल छैन’ भन्ने जवाफ दिए । आयोगका अधिकारीहरुले फाइल नभेटिएको व्यहोराको पत्र लेख्न निर्देशन दिएर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङको कार्य कक्ष रहेको भवन तिर लाग्यो । प्रमुख कार्यकारी अधिकृत तामाङको कार्यकक्षमा आयोगका अधिकृतहरुसँगै महानगरपालिकाका बरिष्ठ अधिकृत हरि कुँवर, शाखा अधिकृत सुमन अधिकारी र प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्की पनि संँगै भित्र पसे । उनीहरुबिच करिब २० मिनेट छलफल भयो । प्रमुख कार्यकारी अधिकृत तामाङसहितको महानगरपालिकाको उच्च नेतृत्वसँग छलफल गरेपछि आयोगको टोली पुनः बागदरबार फर्कियो र शहरी विकास विभागमा प्रवेश गर्यो । विभागका सबै कागजात सोही भवनमा रहेको नगरप्रहरी बस्ने १०० नम्बरको कोठामा सबै फाइल राखेर ताला लगाएर साँचो बोकेर आयोगका टोली फर्कियो । ‘आयोगले कस्तो छापा मारेको हो ? सबै कागजात कार्यालयमै चाबी लगाएर पनि अनुसन्धान हुन्छ कहीँ, आयोगले सुनपानी छर्कने प्रयास गरे जस्तो देखिन्छ ।’ आयोगका एक कर्मचारीले भने ।

४.९९% ब्याजदरमा महिन्द्राको केयुभी कार, ६ दिनमै बिक्यो एक सय वटा

काठमाडौं, २४ चैत ।भारतीय कम्पनी महिन्द्रा एण्ड महिन्द्राले नेपाल  भित्र्याएको पछिल्लो कार केभी १०० को बिक्री बढेको छ । त्यसको महत्वपुर्ण कारणका रुपमा कम्पनीले ल्याएको न्युन ब्याजदरको सुबिधा हो । महिन्द्रा मोटर्सको नेपाली आधिकारिक बिक्रेता अग्नी इन्कर्पाेरेटिडले ४ दशमलब ९९ प्रतिशत ब्याजदरमा डाउन पेपेन्टको व्यवस्था गरेपछि सो कारको बिक्रि बढेको हो । स्ट्याण्डर्ड चाटर्ड बैंकसँगको सहकार्यमा ल्याईएको योजनाले कारको बजार हिस्सा बढाउन निकै मदत गरेको कम्पनीले नै स्विकार गरेको छ । कम्पनीले न्युनतम पाँच लाख तिरेपछि सो ब्याजदरमा कार उपलब्ध गराउँछ । सो किस्ताको अवधीमा ६ बर्ष कायम गरिएको छ । ४.९९ प्रतिशतको ब्याजदर हालसम्मकै न्युनतम ब्याजदर भएको पनि कम्पनीले दावी गरेको छ । बढ्यो लोकप्रियता गत बिहिबारबाट बिक्रि खुल्ला गरिएको कार छ दिनमै एक वटा बिक्रि भैसकेको छ ।‘दैनिक १० वटा बिक्रि हुने अपेक्षा थियो तर छ दिनमै एक सय वटा बेचियो’ अग्नी इनकर्पाेरेटिडका एसिसटेन्ट मार्केटिङ अफिसर डार्बिन पोख्रेलले भने । के के छन बिशेषता ? केयुभी गाडिमा उत्कृष्ट डिजाइन, स्टाइलिस र आरामदायी इन्टेरीयर डिजाइनमा उपलब्ध छन् । यो गाडी विभिन्न पाँच रङमा उपलब्ध छन् । पर्ल ह्वाइट, एक्युमरिन, डाजलिङ सिल्भर, फ्लाम्वोयान्ट रेड, फेयरी अरेन्ज कलरमा उपलब्ध छन् । गाडीमा दुई बर्षको वारेन्टी सुबिधा समेत छ । गाडीमा यात्रा गर्ने यात्रुका लागि डुयल एयरव्याग रहित यो सेग्मेन्टमा पहिलो डुअल रियर फोग ल्याप्मस्को सुविधा राखिएको छ । एसयुभी गाडिको सेग्मेन्टमा पहिलोपटक ६ जान बस्न सक्ने गरी फ्लेक्सी ६ सिटर अप्सनको सुविधा रहेको छ । महिन्द्रा एण्ड महिन्द्राले यो गाडीको डिजाइनका लागि पाँचसय करोड रुपैयाँ भारु खर्च गरेको थियो । यो कारको डिजाइन एलजी इन्जिनियरिङले गरेको हो । उक्त गाडी १.२ डिजेल तथा पेट्रोल इन्जिनमा उपलब्ध छ । पाँच स्पीड म्यानुअल गियर रहेको यो गाडी अधिकतम ६१ किलोवाट तथा ५५ सय आरपिएम पावर क्षमताको रहेको छ । ट्युवलेस टायर रहने यो गाडी ११ सय ९८ सिसि क्षमताको रहेको छ । डिजेल र पेट्रोल दुबैमा उपलब्ध यो कार डिजेल इञ्जिन र पेट्रोल दुबैमा उपलब्ध छन् । डिजेल इञ्जिन कारको मुल्य न्युनतम ३१ लख ४५ हजारदेखि ३६ लाख ४५ हजारसम्म पर्छ । त्यस्तै पेट्रोल इञ्जिन कारको मुल्य न्युनतम २४ लाख ९५ हजारदेखि ३१ लख ९५ हजारसम्म पर्छ ।

नयाँ घर बनाउन बीमा गराउनै पर्ने, नक्सापासमा २० हजारसम्म छुट

काठमाडौं, २३ चैत । काठमाडौं उपत्यकामा नयाँ घर बनाउदा अनिवार्य रुपमा बीमा गराउनै पर्ने नियम ल्याउन लागिएको छ । गत बर्षको विनासकारी भूकम्पले ठूलो मात्रामा घर भत्किएपछि जोखिम कम गर्न भन्दै यस्तो ब्यवस्था गर्न लागिएको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले नेपाल सरकारलाई यस्तो सिफारिस गरेको हो । आगामी आर्थिक बर्षको बजेट मार्फत नयाँ घर बनाउदा बीमा अनिवार्य गर्नुपर्ने ब्यवस्था ल्याउन समितिले अर्थमन्त्रालयलाई सुझाव दिएको छ । समितिले बजेटवारेको आफ्नो सुझावमा यस्तो विषय समेटेको समितिको उच्च स्रोतले जानकारी दिएको छ । ‘अब नयाँ घर बनाउने नक्सा पास गर्दा बीमा अनिवार्य गराउने ब्यवस्था गर्न सिफारिस गरेका छौं, हाम्रो सिफारिस कार्यान्वयन भएमा बीमा गराउने ब्यक्ति र बीमा क्षेत्र दुबैलाई ठूलो फाइदा हुनेछ,’ समितिका एक अधिकारीले भने । समितिले बीमा गराएको कागजात पेश गरेर नक्सा पास गर्ने ब्यक्तिहरुलाई नक्सापासमा केही शुल्क छुट दिन पनि प्रस्ताव गरेको छ । समितिले अर्थमन्त्रालयलाई दिएको सुझावमा बीमा गराएर नक्सा पासको स्वीकृति लिने ब्यक्तिहरुलाई २० हजार रुपैयाँसम्म शुल्क कम गरिदिन भनेको छ ।

यी हुन ब्रिटिस भर्जिन आईल्याण्डमा कालोधन थुपार्ने राजनीतिज्ञ

काठमाडौं, २३ चैत । सोमबारदेखि विश्वका राजनीतिज्ञ तथा तिनका आफन्तहरुले कमाएको रकम ब्रिटिस भर्जिन आईल्याण्डमा राखेका समाचारले महत्व पायो । त्यसमा विश्वका शक्तिशाली पुर्व शासक देखि वर्तमान शासक समेत मुछिएका छन् । चिनियाँ राष्ट्रपति सि जिन पिङ देखि रसियाली राष्ट्रपतिका आफन्त समेत यसमा जोडिएका छन् । त्यसो त एक दर्जन भन्दा बढि मुलुकका वर्तमान शासककै नाम समेत यसमा जोडिएका छ । अर्जेण्टिनाका राष्ट्रपति मौरिसियो म्याक्रि यसमा जोडिएका छन् । आइसल्याण्डका प्रधानमन्त्री सिनमण्डर डेभिओ गनलाग्सन पनि यो काण्डमा मुछिएका छन् । अयाद अलावी, इराकका अन्तरिम प्रधानमन्त्री तथा पुर्व उपराष्ट्रपति पनि यसमा सामेल देखिएका छन् । सन २०१२ देखि १३ सम्म जर्जियाको प्रधानमन्त्री बनेका अरब पति बिज्दीना इभानिश्भीली पनि कालोधन जम्मा गरेर लुकाउनेमा समावेश छन् । सन २००० देखि २००३ सम्म जोर्डनको प्रधानमन्त्री रहेका अलि अबु अल राघेव पनि यहि काण्डमा मुछिएका छन् । उनलाई जोर्डनको आर्थिक पुनस्थापनामा ठुलो योदान गरेका व्यक्तिको रुपमा चिनिन्थ्यो । सन २००७ देखि २०१३ सम्म कतारको प्रधानमन्त्री बनेका हमद बिन जाबेर अल थानी पनि कालो धन बटुलेर विदेशमा थुपार्नेहरुकै सूचिमा परे । उनले प्रधानमन्त्रीका अवला विदेश मन्त्री र कतार इन्भेष्टमेन्ट प्राधिकरणको समेत जिम्मेवारी सम्हालेका थिए । सन १९९५ देखि २०१४ सम्म कतारमा सैन्य शासन गरेका सेख हमद बिन खालिफा अल थानीलाई कतारको आर्थिक समृद्धिका लागि भूमिका खेल्ने शासक मानिन्थ्यो तर उनी पनि कालोधन विदेश पठाउनेहरुको सूचिबाट टाढा रहन सकेनन् । साउदी अरबका वर्तमान राजा सलमान बिन अब्दुलाजिज बिन अब्दुलरहमान अल साउदले मुलुकको उप प्रधानमन्त्री तथा रक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका थिए । अकुत सम्पति कमाउनेहरुको सूचिमा उनी पनि समावेश छन् । सुडानका जन निर्वाचित राष्ट्रपति अहमद अलि अल मिर्घानीले १९८६ देखि १९८९ सम्म शासन गरे । १९८९ मा सैन्य विद्रोहद्धारा पदच्युत गरिएका उनको २००८ मा निधन भैसकेको छ । उनी पनि भर्जिन आइल्याण्डमा पैसा थुपार्नेहरुमै पर्छन । सेख खालिफा बिन जायेद अल नायेनले संयुक्त अरब इमिरेट्स(युएई)मा शासन गरिरहेका छन् । युएईको तेलमा आधारित अर्थतन्त्रलाई बिबिधिकरण गर्ने शासकका रुपमा स्थापित उनी पनि कालोधन काण्डबाट भने बच्न सकेनन् । संसारकै सबै भन्दा अग्लो बुर्ज खालिफा टावर उनैले निर्माण गराएका हुन् । १९९६ देखि १९९७ सम्म एक बर्ष युक्रेनको प्रधानमन्त्री बनेका पाल्भो लाजारेन्कोले त्यस अघि उप प्रधानमन्त्री तथा उर्जा मन्त्रीको भूमिक निर्वाह गरिसकेका थिए । उनी सम्पति सुद्धिकरणमा केहि बर्ष थुनामा समेत परिसकेका छन र यसपाली भर्जिन आइल्याण्ड काण्डमा फसेका छन् ।

५५०२ भूकम्प पीडितलाई बैशाख पहिलो हप्ता २७ करोड ५१ लाख

काठमाडौं, २२ चैत । आठ जिल्लाका पाँच हजार पाँच सय दुई जना भूकम्प पीडितले बैशाखको पहिलो हप्ता ५० हजार रुपैंयाँ पाउने भएका छन् । पुननिर्माण प्राधिकरणले बिभिन्न ८ जिल्लाका आठ वटा गाबिसका भूकम्प पीडितलाई बैशाख पहिलो हप्ता भित्रै घर बनाउन पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ उपलब्ध गराउने तयारी गरेको हो । त्यसका लागि ती जिल्लाका गाबिस कार्यालयहरु मार्फत भूकम्प पीडित परिवारसँग चैत २८ गते अनुदान जसम्झौता हुँदैछ । त्यसका लागि प्राधिकरणले सबै तयारी सम्पन्न भैसकेको जनाएको छ । पीडितसँग अनुदान सम्झौता भएको एक हप्ता भित्रै बैंक खातामा पहिलो किस्ता वापतको ५० हजार जम्मा हुने व्यवस्था रहेको छ । पाँच हजार पाँच सय दुई घरधुरी भूकम्प पीडितलाई पहिलो किस्ता पावत ५० हजार उपलब्ध गराउँदा २७ करोड ५१ लख रुपैंयाँ आवश्यक पर्छ । चैत २१ गते ८ जिल्लाका जिल्ला विकास समितिहरुले एक एक वटा गाबिसका भूकम्प पीडितहरुको नाम सर्वजनिक गरे । ती गाबिसका भूकम्प पीडितहरुसँग गाबिस कार्यालयहरुले चैत २८ गतेदेखि अनुदान सम्झौता गर्नेछ । अनुदान सम्झौतामा हस्ताक्षर गरेको एक हप्ता भित्रै पीडितको बैंक खातामा पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ जम्मा हुनेछ । यसरी २८ गते नै सम्झौता पत्रमा हस्ताक्षर गर्न पाउने भूकम्प पीडितले बैशाखको पहिलो हप्ता ५० हजार रुपैंयाँ हात पार्नेछन् । क–कसले पाउँदैछन् ५० हजार ? सिन्धुलीको झाँगाझोलाी गाबिसका ११७८ धरधुरी, काभ्रेका रविओपी गाबिसका ९७०, नुवाकोटको खरानीटारका ४०८, रामेछापको ओख्रेनीका ७५९, ओखलढुंगाको रुम्झाटारका ४७ घरधुरसँग चैत २८ गतेदेखि अनुदा सम्झौतामा हस्ताक्षर सुरु हुनेछ । त्यस्तै, रसुवाको ब्रिदिम गाबिसका १९३ घरधुरी, धादिङको मार्पाकका १००३ घरधुरी र गोर्खाको हंसपुरका ९४४ घरधुरीसँग चैत २८ गतेदेखि अनुदान सम्झौतामा हस्ताक्षर हुनेछ । अनुदान सम्झौताका क्रममा पीडितले गाबिसलाई सर्भेक्षणको निस्सा, लालपुर्जा र नागरिकताको प्रमाण पत्र देखाउनु पर्नेछ । सहयोगका लागि खटियो विज्ञ टोली पुननिर्माणको काममा सहयोग गर्न भन्दै प्राधिकरणले केन्द्रबाट विज्ञ टोली परिचालन गरेको छ । त्यसका लागि रसुवा, धादिङ र नुवाकोटमा ध्रुव शर्मालाई खटाईएको छ । रामेछाप, ओखलढुंगा र सिन्धुलीका लागि डा. चन्द्र बहादुर श्रेष्ठ, गोरखा र मकवानपुरका लागि डा. हरिराम पराजुली र काभ्रे र सिन्धुपाल्चोकका लागि बिष्णु बहादुर भण्डारी खटिएको पुननिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए ।