नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई अटो सहयोग
काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) हस्तान्तरण गरेको छ । आश्रममा शुक्रबार आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले उक्त सेवा वाहन आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रमलाई सेवा वाहन हस्तान्तरण गरेको जनाइएको छ ।कार्यक्रममा स्वागत मन्तव्य राख्दै जनकपुरस्थित आश्रमका अभिभावक पवन सिंघानियाले आश्रमको सेवाप्रवाह तथा दैनिक कार्य गर्न कठिनाइ भइरहेको अवस्थामा बैंकबाट प्राप्त सेवा वाहनका कारण थप सहज हुनेमा विश्वास व्यक्त गरे । बैंकका सीईओ ज्ञवालीले सडक आश्रित मानवहरूको उचित व्यस्थापनका लागि आश्रमले गरेको कार्य सराहनीय भएको बताए । यस पुनित कार्यमा बैंकले पनि सहयोग गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ । उनले मानवजातिका सेवा र हितसँग जोडिएका हरेक काम गर्न नबिल बैंक सधैँ तयार रहेको उल्लेख गर्दै मानवसेवा आश्रमलाई सहयोग गर्न पाउनु समाजप्रतिको दायित्व वहन गर्नु जस्तै भएकाले भविष्यमा पनि यस्ता कार्यका लागि साझेदारी गर्न बैंक तयार रहेको धारणा राखे । मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले सेवा वाहन (अटो) को अभावमा जनकपुरमा रहेको आश्रममा दैनिक कार्य गर्न तथा लक्षित मानवहरूलाई सेवा दिन कठिन भइरहेको अनुभव सुनाए । यस्तो अवस्थामा नबिल बैंकद्वारा सहयोगस्वरुप प्राप्त सेवा वाहनबाट उक्त सेवालाई सहज र शीघ्र बनाउन सहयोग पुग्ने उनले बताए । ‘सडक आश्रित मानवको उद्धार तथा आश्रममा दिने दैनिक सेवा तथा सहयोगमा समस्या बेहोरिरहेका थियौं । सेवा वाहन (अटो) प्राप्त भएपछि यो सेवालाई सहज बनाउन सकिने विश्वास लिएका छौं । यस पुण्य कार्यका लागि नबिल बैंकप्रति हामी आभारी छौं,’ उनले भने । नबिल बैंकले यसअघि पनि मानवसेवा आश्रमलाई दुईवटा उद्धार वाहन उपलब्ध गराएको थियो । घरपरिवार र आफन्तविहीन खुला आकाशमुनी वेवारिसे रुपमा अति कष्टपूर्ण जीवन बिताउन विवश सहयोगपेक्षी सडक आश्रित मानवलाई न्यूनतम मानवीय सेवा उपलब्ध गराई मर्यादित जीवन जीउने आधार सुनिश्चित गर्ने उद्देश्यका साथ मानवसेवा आश्रम २०६० सालदेखि सञ्चालन गरिएको हो । यस आश्रमले सातै वटा प्रदेशमा आफ्नो सेवा केन्द्र विस्तार गरी करिब १३ हजारलाई उद्धार गरिसकेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष अति आवश्यक भएका मानवीय सहायतालाई प्राथमिकतामा राख्ने गरेको छ । मानिसको जीवन बचाउने र मर्यादित जीवनको सुनिश्चितता गर्ने कार्य केवल सहयोग मात्र नभएर सन्देश पनि हुने भावनाबाट बैंकले यस किसिमका अति आवश्यकता भएका क्षेत्रमा नबिले सधैं हातेमालो गर्ने गरेको छ ।
भारतमा तौल घटाउने औषधिको सस्तो जेनेरिक संस्करण आउँदै
काठमाडौं । भारतले ओजेम्पिकजस्ता तौल घटाउने खोपका सस्तो जेनेरिक संस्करण बजारमा ल्याउने तयारी तीव्र पारेसँगै मोटोपनाविरुद्धको उपचार अब सीमित वर्गको विलासिताबाट बाहिर निस्केर आम सर्वसाधारणसम्म पुग्ने चरणमा प्रवेश गरेको छ । प्रमुख पेटेन्टको म्याद समाप्त भएसँगै यी औषधिको मूल्य उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ, जसले विश्वव्यापी रूपमा उपचार पहुँचमा ठूलो परिवर्तन ल्याउन सक्छ । मुम्बईका अस्पताल र क्लिनिकहरूमा यस परिवर्तनको प्रभाव देखिन थालिसकेको छ । एन्डोक्रिनोलोजिस्ट नदीम राइसका अनुसार हाल प्रत्येक हप्ता ५० भन्दा बढी व्यक्ति तौल घटाउने खोपका लागि परामर्श लिन आउँछन् र करिब ७०–८० जना बिरामी सक्रिय उपचारमा छन् । उनका अनुसार जेनेरिक औषधि सस्तो भएपछि यो सङ्ख्या सहजै २०० नाघ्न सक्छ । उनकी सहकर्मी सुनेरा घई पनि माग अत्यन्त उच्च रहेको तर उच्च मूल्यका कारण धेरैले उपचार सुरु गर्न नसकेको बताउँछिन् । ओजेम्पिक र वेगोवीजस्ता औषधिमा प्रयोग हुने सेमाग्लुटाइड नामक सक्रिय तत्त्वको पेटेन्ट भारतमा शुक्रबार समाप्त भएसँगै यो परिवर्तन सम्भव भएको हो । विश्वकै सबैभन्दा ठूलो जेनेरिक औषधि उत्पादक देशका रूपमा भारतले यस अवसरलाई तीव्र रूपमा उपयोग गर्ने तयारी गरेको छ । अनुसन्धानअनुसार सन् २०२६ को अन्त्यसम्म सेमाग्लुटाइडसम्बन्धी मुख्य पेटेन्टहरू विश्वका १० देशमा समाप्त हुनेछन्, जसले विश्वव्यापी मोटोपनाको झन्डै ४८ प्रतिशत बोझ समेट्छन् । यस सूचीमा ब्राजिल, चीन, दक्षिण अफ्रिका, टर्की र क्यानाडा जस्ता देशहरू समावेश छन् । भारतीय औषधि उद्योगका लागि यो नयाँ प्रतिस्पर्धात्मक दौडको सुरुआत मानिएको छ । कम्तीमा चार प्रमुख कम्पनीले जेनेरिक सेमाग्लुटाइड उत्पादनका लागि तयारी पूरा गरिसकेका छन् भने जाइडस लाइफसाइन्सेजले ‘डे–वन’ लन्चको घोषणा गर्दै यसै सप्ताहन्तदेखि बजारमा औषधि उपलब्ध गराउने सङ्केत दिएको छ । अनुसन्धान संस्था फार्मार्‍याकका अनुसार चाँडै नै भारतीय बजारमा ५० भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी कम्पनी सक्रिय हुनेछन् । यो विकास भारतको बदलिँदो स्वास्थ्य अवस्थासँग पनि मेल खान्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुपोषण अझै पनि ठूलो समस्या भए पनि सहरीकरण र जीवनशैली परिवर्तनसँगै मोटोपना तीव्र रूपमा बढिरहेको छ । सरकारी तथ्याङ्कले भारतमा २४ प्रतिशत महिला र २३ प्रतिशत पुरुष अधिक तौल वा मोटोपनाको समस्यामा रहेको देखाएको छ । बेरियाट्रिक सर्जन सञ्जय बोरुडेका अनुसार आय वृद्धि भए पनि शारीरिक सक्रियता घट्ने प्रवृत्तिले समस्या झन् बढाएको छ । अहिलेसम्म एली लिली र नोभो नोर्डिस्कजस्ता बहुराष्ट्रिय कम्पनीहरूले महँगा औषधिमार्फत बजारमा प्रभुत्व जमाएका थिए । भारतमा तौल घटाउने औषधिको बिक्री पाँच वर्षमै दस गुणा बढेर सन् २०२६ सम्म १५ करोड ३० लाख डलर पुगेको छ र सन् २०३० सम्ममा आधा अर्ब डलर नाघ्ने अनुमान गरिएको छ । तर प्रति महिना १५ हजारदेखि २२ हजार रुपैयाँ (भारतीय मुद्रा) सम्म पर्ने खर्चले धेरै बिरामीलाई उपचारबाट टाढा राखेको छ । मुम्बईस्थित चिकित्सक स्वाति प्रधानका अनुसार जेनेरिक औषधिको मूल्य घटेर करिब पाँच हजार रुपैयाँ प्रतिमहिना पुग्न सक्छ । यसले बिरामीहरूको पहुँच उल्लेखनीय रूपमा विस्तार गर्नेछ । यद्यपि, यस्ता औषधिहरूले वाकवाकी लाग्ने तथा पाचनसम्बन्धी समस्या जस्ता प्रतिकूल असर पनि निम्त्याउन सक्ने भएकाले चिकित्सकीय निगरानी आवश्यक हुने उनको भनाइ छ । यसको प्रभाव भारतमै सीमित रहने छैन । अफ्रिकासहित धेरै विकासशील देशहरूमा भारत प्रमुख जेनेरिक औषधि आपूर्तिकर्ता भएकाले सस्तो सेमाग्लुटाइड ती देशहरूका लागि जीवनरक्षक विकल्प बन्न सक्छ । विश्व मोटोपना महासंघका अध्यक्ष साइमन बार्केराले कम लागतका औषधिले विशेषगरी मध्यम आय भएका देशहरूमा उपचार पहुँच विस्तार गर्ने उल्लेख गरेका छन् । भारतीय कम्पनीहरू अन्तर्राष्ट्रिय बजारमा पनि अघि बढिरहेका छन् । डा. रेड्डीज ल्याबोरेटरीले सन् २०२६ मेसम्म क्यानाडामा आफ्नो संस्करण सार्वजनिक गर्ने लक्ष्य राखेको छ । बिरामी सुकान्त मङ्गलजस्ता व्यक्तिहरूका लागि भने यो परिवर्तन झन् महत्त्वपूर्ण छ । उनले आठ महिनामा करिब ३० पाउन्ड तौल घटाए पनि प्रति महिना २० हजार रुपैयाँ खर्च धान्न नसक्दा उपचार रोक्नुपरेको अनुभव सुनाएका छन् । उनका अनुसार औषधि सस्तो भएको भए उपचार निरन्तरता दिन धेरै सहज हुने थियो । यसरी भारतबाट सुरु भएको सस्तो जेनेरिक औषधिको लहरले मोटोपनाविरुद्धको विश्वव्यापी लडाइँमा नयाँ दिशा दिने संकेत देखिएको छ । रासस
कांग्रेसको प्रारम्भिक समीक्षा : पराजयको जिम्मा सामूहिक, सभापति थापाको राजीनामा अस्वीकृत
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन ०८२ मा दोस्रो दलमा खुम्चिएको नेपाली कांग्रेसले पराजयको प्रारम्भिक समीक्षा सार्वजनिक गर्दै हारको जिम्मेवारी समग्र पार्टीले लिनुपर्ने निष्कर्ष निकालेको छ । उपसभापति विश्वप्रकाश शर्माले सार्वजनिक गरेको प्रतिवेदनले परिणामलाई ‘उच्च लोकतान्त्रिक संस्कृतिअनुरूप आत्मसात’ गर्ने उल्लेख गर्दै सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको जनाएको छ । प्रतिवेदनमा फागुन २१ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विजयभन्दा बढी कांग्रेसको पराजय प्रमुख तथ्य भएको उल्लेख गर्दै पार्टी समयमै रूपान्तरण गर्न असफल भएको स्वीकार गरिएको छ । ‘हामीले आफूलाई समयमै सम्हाल्न, बदल्न र मतदातामा सन्देश पुर्याउन सकेनौं,’ प्रतिवेदनमा भनिएको छ । कांग्रेसले विगतका निर्वाचन परिणामहरूको प्रवृत्ति औंल्याउँदै ०४६ पछिका आठ आमनिर्वाचनमा लगातार पहिलो र दोस्रो स्थानमा आलोपालो हुँदै आएको उल्लेख गरेको छ । यसलाई संयोग नभई गहिरो संरचनात्मक समस्या भएको ठहर गर्दै विस्तृत समीक्षा आवश्यक रहेको निष्कर्ष निकालिएको छ । यसैगरी, प्रतिवेदनले देशमा दीर्घकालीन राजनीतिक अस्थिरता, नेतृत्वमा दोहोरिने अनुहार र नीति–थितिको कमजोर कार्यान्वयनलाई पराजयका प्रमुख कारण मानेको छ । पछिल्लो ३४ वर्षमा २५ सरकार परिवर्तन भएको तथ्य प्रस्तुत गर्दै मतदातामा ‘स्थिर सरकारको खोजी’ बढेको उल्लेख गरिएको छ । सरकार फेरिए पनि प्रधानमन्त्रीमा उही अनुहार दोहोरिनु, गठबन्धन राजनीतिले सिर्जना गरेको वितृष्णा र प्रतिपक्षी भूमिका कमजोर बनाउनु कांग्रेसका रणनीतिक त्रुटिका रूपमा औंल्याइएको छ । विशेषगरी सत्ता–प्रतिपक्षबीचको अस्थिर भूमिकाले संसद बाहिर असन्तुष्टि बढ्न पुगेको प्रतिवेदनको निष्कर्ष छ । प्रतिवेदनमा निर्वाचन परिणामलाई ‘लोकप्रियतावादको लहर’सँग जोड्दै मतदातामा असन्तुष्टि, निराशा र आवेगलाई आधार बनाएर मत उत्पादन भएको विश्लेषण गरिएको छ । सामाजिक सञ्जाल र ‘एल्गोरिदम’ को प्रभावले मतदाताको निर्णय प्रक्रियामा गहिरो असर पारेको उल्लेख गर्दै त्यसलाई समयमै सम्बोधन गर्न नसक्नु कमजोरी ठहर गरिएको छ । कांग्रेसले भ्रष्टाचार नियन्त्रणमा अपेक्षित सफलता हासिल गर्न नसक्नु, सार्वजनिक सेवामा ढिलासुस्ती र ुकर्म गर्ने तर प्रचार गर्न नसक्नेु पुरानो छवि परिवर्तन गर्न असफल हुनु पनि पराजयका कारणका रूपमा स्वीकार गरेको छ। त्यसैगरी, अत्यधिक राजनीतिकरण, गुटबन्दी, र ‘मेरिटोक्रेसी’ कमजोर हुनुका कारण नागरिकमा वितृष्णा बढेको निष्कर्ष निकालिएको छ । प्रतिवेदनले पुरानो संगठनात्मक संरचनाले नयाँ चुनौती सामना गर्न नसकेको उल्लेख गर्दै पार्टी पुनर्संरचना आवश्यक भएको जनाएको छ । उम्मेदवार चयनपछि केही नेताबाट भएको ‘साइलेन्स किलिङ’ र ‘स्याबोटेज’ ले पनि परिणाममा असर पारेको आरोप लगाइएको छ । त्यस्तै, प्रतिवेदनले ०७९ को स्थानीय निर्वाचन, संघीय निर्वाचन र तथाकथित ‘जेनजी विद्रोह’ लाई नागरिक असन्तुष्टिको क्रमिक अभिव्यक्ति मानेको छ । स्वतन्त्र उम्मेदवारहरूको उदय र नयाँ दलको प्रवेशलाई परम्परागत दलप्रति बढ्दो अविश्वासको संकेतका रूपमा विश्लेषण गरिएको छ । सभापति गगन थापाले नैतिक जिम्मेवारीस्वरूप दिएको राजीनामालाई ‘अवधि छोटो भएको’ र ‘परिस्थिति सम्हाल्ने दायित्व प्राथमिक भएको’ भन्दै केन्द्रीय समितिले अस्वीकृत गरेको छ । प्रतिवेदनमा नेतृत्व परिवर्तनभन्दा अहिले संगठन सुदृढीकरण र परिस्थितिको व्यवस्थापन महत्त्वपूर्ण रहेको उल्लेख गरिएको छ । कांग्रेसले प्रतिनिधिसभामा दोस्रो दल भए पनि जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ । ‘राम्रा काममा साथ र खराबीमा खरो विमति’ गर्ने नीति लिने उल्लेख गर्दै लोकतान्त्रिक प्रणाली सुदृढीकरणमा योगदान दिने बताइएको छ । प्रतिवेदनले पराजयलाई ‘विगत’ भन्दै अब नयाँ रणनीति, नयाँ सन्देश र संगठनात्मक सुधारमार्फत आगामी दिनमा विश्वास पुनःस्थापित गर्ने संकल्पसमेत व्यक्त गरेको छ ।
नागढुंगा सुरुङमार्ग सञ्चालनको जिम्मा चिनियाँ कम्पनीलाई, जेठ अन्तिम सातादेखि गाडी गुड्ने
काठमाडौं । मुलुककै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा सुरुङमार्ग सञ्चालन र व्यवस्थापनको अन्यौल हटेको छ । प्राविधिक र आर्थिक मूल्यांकनमा बाजी मार्दै चिनियाँ सरकारी कम्पनी चोङक्विङ युसिन रोड एण्ड ब्रिज्ड डेभलपमेन्ट र नेपाली कम्पनी एआरटी कन्स्ट्रक्सन (युसिन-एआरटी जेभी) ले यसको जिम्मेवारी पाउने भएको हो । सुरुङमार्ग सञ्चालनका लागि आह्वान गरिएको टेन्डरमा सहभागी १० कम्पनीमध्ये ७ वटा प्राविधिक रूपमा योग्य ठहरिएका थिए । तीमध्ये सबैभन्दा कम १ अर्ब १० करोड रुपैयाँ प्रस्ताव गरेपछि युसिन-एआरटी जेभीले आगामी ५ वर्षका लागि सञ्चालनको ठेक्का पाउने भएको हो । आयोजनाले आगामी एक साताभित्रै यसको औपचारिक घोषणा गर्ने तयारी गरेको छ । ५ वर्षसम्म २४ सै घण्टा सेवा, १५० जनशक्ति परिचालन हुने सुरुङमार्ग सञ्चालनको जिम्मा पाउने कम्पनीले साधारण मर्मतसम्भार मात्र नभई उच्च स्तरको व्यवस्थापन गर्नुपर्नेछ । सम्झौताअनुसार कम्पनीले सुरुङमार्ग प्रयोग गर्ने सवारीबाट शुल्क उठाउने, सुरुङभित्र सवारीको चाप र गति नियन्त्रण गर्ने, आगलागी, दुर्घटना वा प्राविधिक गडबडी हुँदा तत्काल उद्धारका लागि ‘रेस्क्यु टोली’ तयारी अवस्थामा राख्ने, सुरुङभित्रको प्रकाश, भेन्टिलेसन र सिभिल संरचनाको रेखदेख गर्नेलगायतका काम गर्नेछ । सुरुङमार्गलाई सुरक्षित र व्यवस्थित बनाउन १५० जना दक्ष जनशक्ति परिचालन गरिने आयोजनाले जनाएको छ । जसमा सुरक्षा व्यवस्थापनमा ६४ जना, टोल उठाउन ५४ जना र बाँकी प्राविधिक तथा प्रशासनिक कर्मचारी रहनेछन् । निर्माण कार्य ९८ प्रतिशत सकिइसके पनि सुरुङमार्ग सञ्चालनमा आउन अझै केही समय लाग्ने देखिएको छ । ठेक्का सम्झौता भएपछि कम्पनीले जनशक्ति छनोट गर्ने, उनीहरूलाई तालिम दिने र केही समय परीक्षण गर्नेछ । आयोजना स्रोतका अनुसार आगामी जेठको अन्तिम सातासम्म सुरुङमार्ग औपचारिक रूपमा सर्वसाधारणका लागि खुला हुने लक्ष्य राखिएको छ । अहिले धादिङतर्फको टोल प्लाजा निर्माण र पहिरो नियन्त्रणको केही बाँकी काम धमाधम भइरहेको छ । सुरुङमार्ग सञ्चालनका लागि वार्षिक करिब ३० करोड रुपैयाँ खर्च हुने अनुमान छ, जुन नेपाल सरकारले नै बेहोर्नेछ । सुरुङमार्ग प्रयोग गरेबापत संकलन हुने टोल भने सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ । चिनियाँ सरकारी स्वामित्वको यो कम्पनी सन् १९९८ मा स्थापना भएको पूर्वाधार विज्ञ कम्पनी हो । नेपाली साझेदार कम्पनीसँगको सहकार्यमा यसले नेपालमा अन्तर्राष्ट्रिय स्तरको सुरुङमार्ग व्यवस्थापनको अनुभव भित्र्याउने अपेक्षा गरिएको छ । सञ्चालनका लागि चिटिक्क बन्यो देशकै पहिलो सुरुङमार्ग {भिडियो स्टोरी} नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि ७ निर्माण कम्पनी योग्य ठहरिए, वैशाखमा ट्रायल
पर्सामा २० लाख रुपैयाँ बरामद
वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख रुपैयाँ हुण्डी रकमसहित एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ । सशस्त्र प्रहरीले शुक्रबार वीरगञ्ज महानगर–१६ स्थित भन्सार प्रवेशद्वारमा जाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ बिके ८६०३ नम्बरको मोटरसाइकलमा सवार विनय शङ्कर साह तुरहालाई सो परिमाणको रकमसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी मोहन निरौलाका अनुसार मोटरसाइकलमा सवार तुरहाले मोटरसाइकलको सिटकभरमा सो रकम लुकाएर राखेका थिए । बरामद भएको रकमसहित तुरहालाई थप अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । ती व्यक्तिबाट वीरगञ्ज भन्सार एजेन्ट सङ्घ पर्सा लेखिएको परिचयपत्र समेत बरामद भएको छ ।
जेनजी आन्दोलनका क्रममा सुनधारा कारागारबाट फरार रहेका मकवानपुरका रुम्बा पक्राउ
काठमाडौं । जेनजी आन्दोलनमा क्रममा सुनधारा कारागारबाट फरार रहेका कैदीबन्दी पक्राउ परेका छन् । शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको बालाजुबाट विकाश रुम्बालाई पक्राउ गरेकाे हो । पक्राउपश्चात हाल उनलाई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा पठाइएको सीआईबीले जनाएको छ । २०८१ चैत २० गतेदेखि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा लागू औषध मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका मकवानपुर, इन्द्रसरोवर १ का रुम्बा गत भदौ २४ जेनजी आन्दोलनमा कारागारबाट फरार भएका थिए ।
काठमाडौं उपत्यकासहित देशभर मुसलधारे वर्षा
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर मुसलधारे वर्षा भएको छ । नेपालमा पश्चिमी न्युन चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जसअनुसार हावाहुरी चट्याङसहित देशभर असिना पानी परेको हो । काठमाडौं उपत्यकासहित बुटवल, अर्घाखाँची, ओखलढुंगासहित देशका विभिन्न भूभाग दिउँसै अन्धकारमय बनेको थियो । जसकारण जनजीवन अस्तव्यस्त बनेको थियो । त्यसो त, मौसम विभागले पनि आज शुक्रबार कोशी, मधेस, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरू, वागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग /असिना/हावाहुरी सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको बताएको थियो । कोशी र मधेस प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको अनुमान गरेअनुसार नै देशभर वर्षा भएको हो । वर्षाका करण लामोसमयको वायु प्रदुषण कम भएको छ भने खेतीबालीलाई भने राहत मिलेको छ ।
गगन थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने कांग्रेस केन्द्रीय सदस्यहरूको जोड
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नैतिकताका आधारमा दिएको राजीनामालाई पार्टीका अधिकांश केन्द्रीय सदस्यहरूले अस्वीकार गर्नुपर्ने धारणा राखेका छन् । शुक्रबार आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्ने सदस्यहरूले पार्टीको वर्तमान परिस्थितिलाई सम्हाल्दै अघि बढ्न थापाकै नेतृत्व आवश्यक रहेको बताएका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले सभापति थापाको राजीनामा विधिवत रूपमा बैठकमा पेस भएको र त्यसमाथि छलफल जारी रहेको जानकारी दिए । ‘सभापतिज्यूले नैतिकताको कुरा उठाएर राजीनामा दिनुभएको हो, तर बैठकमा धारणा राख्ने बहुसंख्यक साथीहरूले अहिलेको परिस्थितिमा राजीनामा स्वीकृत गर्न नहुने बताइरहनुभएको छ,’ उनले भने । ‘पार्टीलाई पुनर्निर्माण गर्ने र थप जिम्मेवारी लिएर अघि बढ्ने समय भएकाले उहाँको निरन्तरता आवश्यक रहेको साथीहरूको तर्क छ,’ उनले थपे । प्रवक्ता चालिसेले हालै सम्पन्न निर्वाचनको परिणामलाई सभापति थापाको व्यक्तिगत कमजोरीसँग जोड्न नहुने दाबी गरे । निर्वाचनको नतिजा लामो समयदेखिका विभिन्न परिस्थितिको उपज भएको उनको तर्क छ । ‘निर्वाचनको परिणाम कुनै एक व्यक्तिसँग मात्र जोडिएको विषय होइन,’ चालिसेले भने । ‘सभापतिले नेतृत्व सम्हालेको मात्र ५० दिन भएको थियो । ५० दिनको छोटो समयमा गरिएको मेहनत मात्र पर्याप्त नभएकाले यस्तो नतिजा आएको हो,’ उनले थपे । जारी केन्द्रीय समिति बैठकमा बाँकी सदस्यहरूले धारणा राख्ने क्रम अझै बाँकी रहेको र बैठक केही दिनसम्म चल्ने कांग्रेसले जनाएको छ ।