हिमालयन बैंकका ९ शाखा व्हिलचियरमैत्री, जेष्ठ नागरिकलाई शाखा प्रमुखले सेवा दिने
काठमाडौं । हिमालयन बैंकले देशका विभिन्न ९ वटा शाखा कार्यालयलाई व्हिलचियर मैत्री शाखाका रूपमा रुपान्तरण गरेको छ । फरक क्षमताका ग्राहकहरूले बैंकका शाखामा सहज रूपमा प्रवेश गरी सेवा लिन सकून् भन्ने उद्देश्यले शाखाहरूलाई व्हिलचियर मैत्री बनाइएको बैंकले जनाएको छ । बैंकका अनुसार कोशी प्रदेशको इटहरी शाखा, मधेश प्रदेशको बारागढी शाखा, बागमती प्रदेशका महाराजगन्ज, हिटीदरबार, डिल्लीबजार, झम्सिखेल र सामाखुसी शाखा, लुम्बिनी प्रदेशको नेपालगञ्ज शाखा तथा कर्णाली प्रदेशको सल्यान (श्रीनगर) शाखालाई व्हिलचियर मैत्री शाखामा रुपान्तरण गरिएको हो । त्यसैगरी, ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा फरक क्षमताका ग्राहकहरूले बैंकिङ कारोबार- जस्तै खाता खोल्ने, चेक साट्ने, रकम जम्मा गर्ने लगायतका सेवाका लागि सिधै शाखा प्रमुख वा अपरेसन इन्चार्जलाई सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।
केयुका कर्मचारीको उपदान अब नागरिक लगानी कोषले व्यवस्थापन गर्ने
काठमाडौं । नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष व्यवस्था एवम् सञ्चालनसम्बन्धी सम्झौता भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युतप्रसाद वाग्लेसमेतको उपस्थितिमा सोमबार भएको उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र विश्वविद्यालयका तर्फबाट प्रा.डा.राजीव श्रेष्ठले हस्ताक्षर गरे । सम्झौतापश्चात विश्वविद्यालयबाट वार्षिक रूपमा कोष कट्टा गरी प्राप्त भएका रकम सम्बन्धित शिक्षक तथा कर्मचारीको खातामा कोषले अद्यावधिक गर्नेछ । कोष ऐनअनुसार कोषमा योगदान गरेको रकमबाट आर्जन गरेको ब्याज तथा प्रतिफल शिक्षक तथा कर्मचारीको कोषमा रहेको खातामा जम्मा गर्नेलगायतका अतिरिक्त सुविधा कोषले उपलब्ध गराउनेछ । विश्वविद्यालयका स्थायी शिक्षक तथा कर्मचारीहरूलाई कोषको नियमानुसार पाउने वा प्रदान गर्ने ऋण सापटी पनि कोषले प्रदान गर्नेछ । त्यसैगरी, विद्यालयको सिफारिसमा सेवानिवृत शिक्षक, कर्मचारीलाई उपदान रकम कोषले भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ ।
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो, जीडीपीको ४७ प्रतिशत हिस्सा ऋणको
काठमाडौं । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कुल सावर्जनिक ऋणको हिस्सा ४७ दशमलव १३ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा सरकारले सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब लिएसँगै जिडिपिमा ऋणको हिस्सा समेत बढेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा फाल्गुन मसान्तसम्ममा सार्वजनिक ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । जुन जीडीपीको ४७.१३ प्रतिशत हुन आउँछ । कुल सार्वजनिक ऋणमा फाल्गुन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३.१६ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत रहेको छ । कार्यालयकाअनुसार चालु आवको आठ महिनामै सरकारले २ खर्ब ४ अर्ब २४ करोड सार्वजनिक ऋण लिएको छ । कति भयो परिचालन ? चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा फागुन मसान्तसम्ममा २ खर्ब ९५ अर्ब १९ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ५०.४४ प्रतिशत रहेको छ । जसमध्ये आन्तरिक र बाह्य ऋण प्राप्तिको प्रगति क्रमश: ६७.३१ र २४.३१ प्रतिशत रहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन भएकोमा फागुन मसान्तसम्म २ खर्ब ४२ अर्ब २६ करोड भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ५८.९४ प्रतिशत हो । जीडीपीको आधारमा माघ मसान्तसम्ममा कूल ऋण सेवा खर्च ३.९७ प्रतिशत रहेको छ ।
ग्लोबल आइएमई बैंकका काठमाडौं र ललितपुरका ८ शाखा मर्ज हुने
काठमाडौं । ग्लोबल आइएमई बैंकका काठमाडौं र ललितपुरस्थित ८ वटा शाखा कार्यालय समायोजन (मर्ज) हुने भएका छन् । बैंकका अनुसार काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाभित्र एक-अर्काको नजिक रहेका शाखाहरूलाई वि.सं. २०८३ वैशाख २८ गतेदेखि एक आपसमा समायोजन तथा एकीकरण गरी कारोबार सञ्चालन गरिनेछ । समायोजनपछि सञ्चालनमा रहने शाखाबाट ग्राहकहरूले सम्पूर्ण बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार काठमाडौंका ज्ञानेश्वर, नयाँ बानेश्वर, इन्द्रचोक र बाफल-कलंकी शाखा तथा ललितपुरका खुमलटार, धोबीघाट, सुन्धारा र कुमारीपाटी शाखा समायोजन हुनेछन् । समायोजनपछि ज्ञानेश्वर र सानो गौचरन शाखा सानो गौचरन शाखामा, नयाँ बानेश्वर र शंखमुल शाखा शंखमुल शाखामा, इन्द्रचोक र असन शाखा असन शाखामा तथा बाफल-कलंकी र कलंकी शाखा कलंकी शाखाबाट सेवा सञ्चालन हुने बैंकले जनाएको छ । यस्तै, खुमलटार र सातदोबाटो शाखा समायोजन भई सातदोबाटो शाखा, धोबीघाट र एकान्तकुना शाखा समायोजपश्चात् एकान्तकुना शाखा, सुन्धारा र ग्वार्को शाखा समायोजनपश्चात् सुन्धारा शाखा, कुमारीपाटी र लगनखेल शाखा समायोजनपश्चात् लगनखेल शाखाबाट सेवा सञ्चालन हुने बैंकको भनाइ छ । यस्तै, ललितपुरतर्फ खुमलटार र सातदोबाटो शाखा समायोजनपछि सातदोबाटो शाखा, धोबीघाट र एकान्तकुना शाखा एकान्तकुना शाखा, सुन्धारा र ग्वार्को शाखा समायोजनपछि सुन्धारा शाखा तथा कुमारीपाटी र लगनखेल शाखा समायोजनपछि लगनखेल शाखाबाट बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।
स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सम्झौता
काठमाडौं । काठमाडौं महानगरपालिकाले स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्न वीर अस्पतालसँग सम्झौता गरेको छ । महिलाहरूमा सबैभन्दा जोखिम र डरलाग्दो रुपमा स्तन र पाठेघरको मुखको क्यान्सर फैलिन थालेपछि यसबाट जोगिन सहज होस् भन्ने उद्देश्यले वीर अस्पतालसँग निःशुल्क परीक्षण गर्नेबारे सम्झौता भएको महानगरले जनाएको छ । सोमबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र वीर अस्पतालका निर्देशक प्रा.डा. दिलिप शर्माबीच निःशुल्क सेवा सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार वीर अस्पतालले चैत १६ गतेदेखि परीक्षण कार्य थाल्ने छ । हरेक दिन १ सय जनादेखि १ सय २० जनासम्मको परीक्षण गर्ने गरी योजना बनाइएको छ । परिक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच गरिनेछ । सुरुवाती समयमै पत्ता लागेमा अल्ट्रासाउण्ड गरिनेछ भने त्यसपछि मेमोग्राफीका लागि गरिने छ भने पाठेघरको मुखको क्यान्स परीक्षणमा एचपीभी डीएनए पिसिआर परीक्षण गरिने छ । यसमा पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिने छ । सम्झातौको क्रममा कार्यवाहक प्रमुख डंगोलले कार्यालयमा काम गर्ने, गृहिणी तथा अन्य विभिन्न पेशा व्यवसायमा काम गर्ने महिलाहरूलाई पनि परीक्षण गराउन सहज पर्ने समय तालिका मिलाउन र धेरै समय कुर्न नपर्ने व्यवस्थापन गर्न अस्पताललाई आग्रह गरेकी छिन् ।
क्युबातर्फ ट्रम्पको नजर, अर्को द्वन्द्व सुरु गर्ने संकेत
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेलको मूल्य उच्च रहिरहेकै अवस्थामा स्ट्रेट अफ होर्मुज सुरक्षित बनाउन अन्य देशहरूको सहयोग जुटाउने प्रयास गरिरहेका छन् । तर मध्यपूर्वमा तनाव बढ्दै जाँदा विशेषगरी इरानले आफ्ना छिमेकीहरूलाई निशाना बनाइरहेकाले उनका आग्रहहरू अझै स्वीकार भएको छैन । र अमेरिका एउटा द्वन्द्वमा अल्झिएको भए पनि ट्रम्पले अर्को द्वन्द्व सुरु गर्ने संकेतसमेत देखाएका छन् । ट्रम्पले अन्य देशहरूले स्ट्रेट अफ होर्मुज सुरक्षित बनाउन अमेरिकालाई सहयोग गरून् भनेर गरेको आग्रहले खासै उत्साहजनक प्रतिक्रिया पाएको देखिँदैन । तर पनि उनले सोमबार पत्रकारहरूसँग आत्मविश्वासी रूपमा कुरा गर्दै सहयोग गर्न तयार भएका देशहरूको नाम चाँडै सार्वजनिक गरिने दावी गरे । यसैबीच वाशिङटनडीसीले ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटवार्ता स्थगित गर्ने सोच बनाइरहेको छ किनकि इरानसँगको द्वन्द्व लम्बिँदै गएको छ । तेलको मूल्य उच्च रहिरहँदा अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले भने, ‘वाशिङ्टनले इरानी तेल ट्यांकरहरूलाई स्ट्रेट अफ हर्मुज हुँदै आवतजावत गर्न अनुमति दिएको छ, हामीले विश्वका अन्य भागमा आपूर्ति कायम राख्न यस्तो हुन दिएका हौं ।’ अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूआईटी) कच्चा तेलको मूल्य करिब २ प्रतिशतले बढेर प्रति ब्यारेल ९५.३४ पुगेको छ भने विश्वस्तरीय मानक ब्रेन्ट कच्चा तेल १.८ प्रतिशतले बढेर १०२.०२ डलर पुगेको छ । मूल्यमा आएको यो वृद्धि इरानले आफ्ना छिमेकीहरूलाई लगातार निशाना बनाइरहेकाले भएको हो । मंगलबार दुबईमा मिसाइल र ड्रोन आक्रमण भएको खबर आएको छ, जसका कारण युएईले अस्थायी रूपमा आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । यद्यपि अमेरिका इरानसँगको द्वन्द्वमा अल्झिएको छ । ट्रम्पले सोमबार विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रलाई अर्को द्वन्द्वतर्फ लैजान सक्ने संकेत दिएका छन् । उनले क्युबालाई ‘लिने’ सम्मान आफूलाई प्राप्त हुने बताएका छन् । ‘म क्युबालाई स्वतन्त्र गरूँ या नियन्त्रणमा लिऊँ, म त्यससँग जे चाहन्छु गर्न सक्छु,’ उनले भने । उनको यस्तो भनाइले बजारलाई थप अनिश्चित बनाउने सम्भावना छ । क्युबातर्फ ध्यान जानु विभिन्न राजनीतिक, रणनीतिक र ऐतिहासिक कारण ट्रम्पले क्युबातर्फ ध्यान दिनुको पछाडि विभिन्न राजनीतिक, रणनीतिक र ऐतिहासिक कारणहरू रहेको विश्लेषणहरूले जनाएका छन् । अमेरिकाको फ्लोरिडा राज्यमा ठूलो क्युबाली(अमेरिकी समुदाय बसोबास गर्छ, जसले क्युबाको कम्युनिस्ट सरकारविरुद्ध कडा नीति चाहन्छ । त्यसैले ट्रम्पले उनीहरूको समर्थन पाउन क्युबाप्रति कडा अडान लिएका थिए । क्युबा अमेरिकाको अत्यन्त नजिक रहेकोले पनि यसको भूराजनीतिक महत्त्व धेरै छ र रसिया तथा चीनजस्ता प्रतिस्पर्धी शक्तिहरूको प्रभाव त्यहाँ बढ्न सक्ने सम्भावनाले अमेरिकालाई सतर्क बनाउँछ । यसका साथै क्युबन मिसाइल क्राइसिस जस्तो ऐतिहासिक घटनाले क्युबाको रणनीतिक संवेदनशीलता पहिले नै देखाइसकेको छ । ट्रम्प प्रशासनले क्युबामाथि कडा आर्थिक प्रतिबन्ध लगाएर त्यहाँको कम्युनिस्ट सरकारमाथि दबाब सिर्जना गर्ने प्रयास गरेको थियो ताकि राजनीतिक परिवर्तन सम्भव होस् । खार्ग टापु : अमेरिका–इरान द्वन्द्वको नयाँ ‘कुरुक्षेत्र’ के इरानले ‘स्ट्रेट अफ हर्मुज’ इजरायल र अमेरिकाका लागि मात्र बन्द गर्न सक्छ ? युद्धको रापबीच इरान–चीन तेल ‘कनेक्सन’ : हर्मुजको अवरोध छिचोल्दै करोडौं ब्यारेल बेइजिङतिर मध्यपूर्व द्वन्द्व : एसियामा इन्धन संकट, चारदिने कार्यसप्ताह र विद्यालय बन्द इरानको भविष्य मोज्तबा खामेनेईको हातमा, के उनले सत्ता चलाउन सक्लान् ? मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम इरान : शून्यमा सत्ता, संकटमा शासन खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली
रास्वपाका नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण तालिम सुरु हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम मंगलबार सवा ११ बजे सुरु हुने भएको छ । रास्वपाका नवनिर्वाचित सांसद प्रतिभा रावलका अनुसार नवनिर्वाचित सांसदहरू आउने क्रम जारी रहेको छ । १८२ सिटको आधारमा सरकार गठनको तयारीमा जुटेको रास्वपाले आफ्ना अधिकांश सांसद नयाँ भएकाले संसदीय अभ्यास र आचारसंहितासम्बन्धी ज्ञान अभिवृद्धि गर्न दुई दिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको रावलले बताइन् । ग्वार्कोस्थित होटल रोयल टुलिपमा भइरहेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले प्रशिक्षण दिने रावलले जानकारी दिइन् । रावलका अनुसार अभिमुखीकरण कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया, संसद्को कार्यप्रणाली, जनप्रतिनिधिको भूमिका र जिम्मेवारीसँगै पार्टीले अघि सार्ने नीतिगत दिशाबारे विस्तृत प्रशिक्षण प्रदान गरिनेछ । अभिमुखीकरण कार्यक्रम आवासीय हुने रावलले जानकारी दिइन् । कार्यक्रममा मोवाइलसहित सञ्चारका साधनहरूलाई निषेध गरिएको छ ।
सुनचाँदीको मूल्यमा बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा ४ सय र चाँदी ७० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार (आज) छापावाल सुनको मोल प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य ५ हजार ३ सय ३५ रुपैयाँ निर्धारण भएको छ । हिजो (सोमबार) छापावाल सुनको मोल प्रतितोला ३ लाख ९ हजार ५सय कायम भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार २ सय ६५ रुपेयाँ निर्धारण भएको थियो । गत आइतबार १ तोला सुन ३ लाख ९ हजार ४ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदी ५ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औंस सुन ५ हजार ३० र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।