विकासन्युज

काठमाडौंमा भीषण हावाहुरी

काठमाडौं । देशका केही स्थानमा यति बेला (सोमबार साँझ ५ः३) बजे) व्यापक हावाहुरी सुरु भएको छ । हावाहुरीसँगै वर्षा पनि सुरु भएको छ ।  

बैंककै कर्मचारीद्वारा ५ करोड हिनामिना, प्रहरीमा उजुरी

काठमाडौं । सिटिजन्स बैंकको मोरङस्थित विराटनगर कञ्चनबारी शाखामा कार्यरत कर्मचारीहरूले करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा बैंक प्रशासनले प्रहरीमा उजुरी दिएको छ । बैंकका कर्मचारीहरूले नै करिब ५ करोड रुपैयाँ हाराहारी रकम हिनामिना गरेको प्रारम्भिक तथ्य फेला परेपछि उजुरी परेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख कविद कटुवालले जानकारी दिए । उनका अनुसार शाखामा कार्यरत कर्मचारीहरूको संलग्नतामा बैंकको रकम हिनामिना भएको भन्दै उजुरी आएको र घटनाबारे अनुसन्धान भइरहेको छ । ‘हामी अनुसन्धानको चरणमा छौं, संलग्न व्यक्तिहरूबारे विस्तृत विवरण अझै खुलिसकेको छैन,’ उनले भने । बैंक स्रोतका अनुसार आन्तरिक लेखापरीक्षणका क्रममा उक्त शाखामा करिब ५ करोड रुपैयाँ बराबरको रकम हिनामिना भएको भेटिएको हो । प्रारम्भिक विवरण अनुसार पाँच जनाभन्दा बढी कर्मचारी यस प्रकरणमा मुछिएको आशंका गरिएको छ ।  स्रोतका अनुसार शाखामा कार्यरत रोजी कँडेलको नेतृत्वमा रकम हिनामिना भएको प्रारम्भिक निष्कर्ष आन्तरिक अडिटबाट देखिएको बताइएको छ । बैंक स्रोतले साविक सृजना फाइनान्सबाट आएका केही कर्मचारीहरू यस प्रकरणमा संलग्न रहेको हुन सक्ने आशंका पनि व्यक्त गरेको छ । बैंकले नियमित आन्तरिक लेखापरीक्षण गर्ने क्रममा उक्त अनियमितता पत्ता लागेको जनाइएको छ । यसअघि आन्तरिक अडिट बाह्य संस्थामार्फत गरिँदै आएकोमा हाल बैंककै विभागले अडिट गर्दा घटना सार्वजनिक भएको स्रोतको भनाइ छ । घटनामा संलग्न आशंकामा रहेका कर्मचारीहरूलाई बैंक प्रशासनले निलम्बन गरिसकेको छ । हिनामिना भएको रकम असुलउपर गर्न र दोषीमाथि कारबाही गर्न बैंकले प्रहरीमा जाहेरी दिएको बैंकले जनाएको छ ।

सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई प्रभावकारी एवं जनमैत्री बनाउन सार्वजनिक सम्बोधन प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ ।  सोमवार एक कार्यक्रमबीच उक्त प्रणाली औपचारिक रूपमा सुरु गरिएको हो ।  कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले नयाँ प्रणालीले सेवाग्राहीलाई सहज तथा प्रभावकारी सेवा पाउन सकून् भन्ने उद्देश्यले उक्त प्रणाली सञ्चालनमा ल्याइएको जानकारी दिए । परम्परागत सरकारी कार्यालयको संरचनामा कर्मचारी भित्र र सेवाग्राही बाहिर बस्ने व्यवस्था रहेकोले नयाँ मोडेलमार्फत भने कर्मचारी र सेवाग्राहीबीचको दूरी घटाएर एउटै स्थानमा बसेर सेवा प्रदान गर्ने व्यवस्था मिलाइने उनको भनाइ छ ।  उनले सेवाग्राहीको भीडभाड हुने अन्य सरकारी कार्यालयहरुमा समेत उक्त प्रणाली लागू गर्नुपर्ने आवश्यकता औंल्याए ।  यस प्रणालीले सरकारी सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र सेवामुखी बनाउन मद्दत विश्वास गरिएको उनको भनाइ छ । उक्त प्रणालीको सोमवार प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याललगायतले निरीक्षण समेत गरेका छन् ।

बिर्तामोडमा ‘ग्लोबल मनी विक’, २५० भन्दा बढी बैंकर्सको वृहत् प्रभातफेरी

काठमाडौं । नेपाल राष्ट्र बैंकको आह्वानमा विश्वव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी विक २०२६’ को अवसर पारेर झापाको बिर्तामोडमा भव्य प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।  ‘स्मार्ट मनी टक्स भन्ने मूल नाराका साथ आज चैत २ गते सोमबार आयोजित यस कार्यक्रमले स्थानीय स्तरमा वित्तीय साक्षरता र सचेतनाको नयाँ लहर ल्याएको छ ।  बिर्तामोडका विभिन्न स्थानको परिक्रमा गरेको उक्त प्रभातफेरीमा यहाँ सञ्चालित विभिन्न बैंक तथा वित्तीय संस्थाका करिब २५० जना कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रभातफेरीका सहभागीहरूले सर्वसाधारणलाई वित्तीय अनुशासन र आधुनिक बैंकिङका बारेमा सुसूचित गराएका थिए ।  विशेष गरी बचत गर्ने संस्कृतिको विकास, डिजिटल बैंकिङको सुरक्षित प्रयोग, जिम्मेवार ढंगले खर्च गर्ने बानी र सही ठाउँमा लगानी गर्ने जस्ता समसामयिक विषयमा प्लेकार्ड र नारासहित सन्देश प्रवाह गरिएको थियो ।  सन् २०१२ देखि सुरु भएको यो अभियान हाल विश्वका १७० भन्दा बढी देशहरूमा किशोर तथा युवा वर्गलाई लक्षित गरी सप्ताहव्यापी रूपमा मनाउने गरिन्छ, जसको मुख्य उद्देश्य युवा पुस्तामा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउनु हो । कार्यक्रमको महत्त्वबारे प्रष्ट पार्दै एक्सेल डेभलपमेण्ट बैंकका नायब महाप्रबन्धक अशोक क्षेत्रीले यस्ता अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने बताए । उनका अनुसार वित्तीय साक्षरता कार्यक्रमले विशेष गरी युवा वर्गमा स्वस्थ वित्तीय बानीको विकास गर्न, भविष्यमा आउन सक्ने वित्तीय अनिश्चितताहरूप्रति सजग रहन र ठोस वित्तीय योजना निर्माण गर्न ठूलो मद्दत पुर्‍याउने विश्वास लिइएको छ।  बिर्तामोडमा आयोजित यस प्रभातफेरीले सर्वसाधारणलाई औपचारिक बैंकिङ प्रणालीसँग जोडिन र आर्थिक रूपमा सबल बन्न समेत प्रेरित गरेको छ ।

स्वास्थ्य बीमा सेवामा राष्ट्रिय परिचय नम्बरको डिजिटल प्रयोग गरिने

काठमाडौं । राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बीमा प्रणालीमा आबद्ध गर्न स्वास्थ्य बीमा बोर्ड र  राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ । बीमा सेवामा राष्ट्रिय परिचय नम्बरलाई प्रविधि मैत्री र सुरक्षित बनाउने उद्देश्यले स्वास्थ्य बीमा बोर्ड र पञ्जीकरण विभागबीच समझदारी भएको हो ।  समझदारी पत्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । यो समझदारीसँगै अब स्वास्थ्य बीमा बोर्डले’ राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली’ मार्फत विद्युतीय सेवाहरूको प्रयोग गर्नेछ । यस सहकार्यले नागरिकको पहिचान डिजिटल रूपमा प्रमाणीकरण गर्ने बाटो खोलेको छ । राष्ट्रिय परिचय नम्बरलाई बीमासँग जोड्दा प्रणाली अझ बढी सुरक्षित, छिटो र भरपर्दो हुने विश्वास लिइएको छ । यो नयाँ व्यवस्थासँगै स्वास्थ्य बीमाको दर्ता र नवीकरण प्रक्रियामा हुने झन्झट हट्ने जनाइएको छ । परिचयपत्रमा भएकै विवरणका आधारमा डिजिटल प्रमाणीकरण हुने भएकाले सेवाग्राहीले अस्पताल तथा सेवा केन्द्रहरूमा छिटो सेवा पाउनेछन् । यसले तथ्यांक एकीकरणमा सघाउ पुर्‍याउनुका साथै एकै व्यक्तिको दोहोरो दर्ता हुने समस्यालाई समेत पूर्ण रूपमा नियन्त्रण गर्नेछ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेको हो । महासंघका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले गएराति पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । उनले पेट्रोलियम पदार्थको प्रत्यक्ष उपभोग गर्ने आम यातायात व्यवसायी र उपभोक्ता वर्गको हितलाई मध्यनजर नगरी साबिकको मूल्यमा एकाएक भारी मूल्यवृद्धि गर्दा देशभर यातायात सेवा सञ्चालन गर्ने यातायात व्यवसायी एवम् यात्रुमा प्रत्यक्ष असर पर्न गएका बताए । महासंघले नेपाल आयल निगमभित्रको आन्तरिक चुहावट र पेट्रोलियम पदार्थको खपतलाई नियन्त्रण गरी वैज्ञानिक विधि अपनाई पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष माग गरेको छ । सार्वजनिक यातायात सञ्चालनमा सवारीसाधनहरू डिजेलरपेट्रोलको इन्धन प्रयोग गरी सञ्चालन हुने हुँँदा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा प्रत्यक्ष असर सार्वजनिक सवारीसाधन सञ्चालनमा देखिएको महासंघले जनाएको छ । नेपाल आयल नियमले गएरातिदेखि डिजेलमा १० र पेट्रोलमा १५ वृद्धि गरेको थियो । यातायात व्यवस्था विभागले कानुनबमोजिम सङ्घीय रुटको पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा वा मूल्य घट्दा स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्दै आएको भन्दै अहिले पनि उक्त व्यवस्था लागू गर्न अनुरोधसमेत गरेको छ । महासंघले संघीय रुटको भाडा यातायात व्यवस्था विभागबाट र प्रदेश अन्तर्गतको भाडा सातवटै प्रदेश मन्त्रालयबाट यथाशीघ्र समायोजन गर्नसमेत सरकारसँग माग गरेको छ ।

२६ अंकले घट्यो नेप्से, ११ अर्ब ९७ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेप्से दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.०७ अंकले घटेर २७९८.८३  विन्दुमा कायम भएको छ ।  आज ३४५ स्टकको १ लाख २ हजार ७५९ पटकमा ३ करोड ७ लाख ९० हजार २११ सेयर खरिदबिक्री हुँदा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।  आज चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर र सोलु हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सिद्धार्थ इक्युटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ४.३९ प्रतिशतले गुमाएका छन् ।  आज कारोबार रकमको आधारमा आंखुखोला जलविद्युतको सबैभन्दा धेरै कारोबार भएको छ । उक्त कम्पनीको ६८ करोड ७७ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो धेरै कारोबार हुने कम्पनीमा नेशनल हाइड्रोपावरको ६६ करोड १४ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, अप्पर हेवाखोला हाइड्रोपावरको ४१ करोड ५० लाख, एसवाई प्यानल नेपालको ३७ करोड २३ लाख र रिदी पावरको ३५ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् । आज उत्पानबाहेक सबै उपसमूह रताम्मे भएका छन् । उत्पादन ०.२५ प्रतिशतले बढेको छ । 

वित्तीय क्षेत्रका नियामक प्रमुखले अर्थमन्त्रीलाई भने- तपाईंसँगको सहकार्य फलदायी भयो

काठमाडौं । अर्थमन्त्री र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरूबीच भेटघाट भएको छ ।  सोमबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विभिन्न नियामक निकायका प्रमुखबीच छलफल भएको हो ।  अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराल समेतको उपस्थिति रहेको उक्त भेटघाटमा नियामक निकायहरूको तर्फबाट नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको सहभागिता रहेको थियो ।   उक्त भेटघाटमा अर्थमन्त्री खनालले आफूलाई अर्थमन्त्रीको रूपमा रहँदा समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न,  पुँजी बजारलाई पारदर्शी र लगानीमैत्री बनाउन र आर्थिक सुशासन कायम गराउनका लागि नियामक निकायहरूले खेलेको भूमिकाको प्रशंसा गरे ।  भेटघाटमा नियामक निकायका प्रमुखहरूले अर्थमन्त्रीसँगको सहकार्य फलदायी रहेको स्मरण गराउँदै नेपालको बैंक तथा वित्तीय क्षेत्रको विकास र वित्तीय अनुशासन कायम गराउनमा अर्थ मन्त्रालयले अवलम्बन गरेका नीति र मार्गनिर्देशनका लागि अर्थमन्त्रीप्रति आभार व्यक्त गरेका छन् ।