विकासन्युज

४४ प्रतिशत बढ्यो जगदम्बा अटो ग्रुपको आम्दानी, ६ महिनामै साढे ४ अर्ब रुपैयाँ

काठमाडौं । शंकर ग्रुपअन्तर्गत सञ्चालन हुने जगदम्बा अटो ग्रुपले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा ४ अर्ब ४२ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।  यसअघि कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब ९९ करोड ९० लाख रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब ८५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको आम्दानी ४४.३० प्रतिशत अर्थात् २ अर्ब १४ करोड ९० लाख रुपैयाँले वृद्धि भएको छ । कम्पनीले यो वृद्धि सवारी साधनको उच्च मागका कारण भएको जनाएको छ। कम्पनीले विगतका वर्षहरूमा पनि उल्लेखनीय प्रगति गरेको छ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीको आम्दानी २ अर्ब ७३ करोड ७० लाख, आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ४२ करोड ७० लाख र आर्थिक वर्ष २०७७/७८ मा ७३ करोड २० लाख रुपैयाँ रहेको थियो ।  सन् २०१४ मा स्थापना भएको जगदम्बा अटो ग्रुप नेपालमा टीभीएस ब्रान्डका दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधन एसेम्बल गर्ने अधिकृत कम्पनी हो । कम्पनीले एसेम्बल गरेका सवारीसाधनहरू आफ्नै समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रालि मार्फत बिक्री वितरण गर्दै आएको छ । जगदम्बा मोटर्स नेपालमा टीभीएस सवारीसाधनको आधिकारिक वितरक पनि हो । कम्पनी शंकर ग्रुपअन्तर्गत सञ्चालनमा रहेको छ । शंकर ग्रुप नेपालमा इस्पात, सिमेन्ट, पोलिमर उत्पादन, व्यापार, आतिथ्य सेवा तथा बीमा लगायत विभिन्न क्षेत्रमा सक्रिय बहुआयामिक व्यवसायिक समूहका रूपमा परिचित छ । जगदम्बा अटो ग्रुप पूर्ण रूपमा शाहिल अग्रवालको स्वामित्वमा रहेको छ । अग्रवाल कम्पनीका एकमात्र सेयरधनी तथा निर्देशक पनि हुन् । कम्पनीले एसेम्बलका लागि सवारी साधन तथा पार्टपुर्जाहरू भारतस्थित टीभीएस मोटर कम्पनीबाट मात्र आयात गर्ने गरेको छ भने एसेम्बल गरिएका सबै सवारी साधन जगदम्बा मोटर्समा मात्र बिक्री हुन्छन् । यसले व्यावसायिक विविधीकरण सीमित भए पनि कम्पनीलाई सञ्चालनमा स्थायित्व प्रदान गरेको छ । कम्पनीले नेपाल सरकारको एसेम्बल उद्योग प्रोत्साहन नीतिबाट पनि लाभ उठाउँदै आएको छ । सरकारले सवारी निर्माणमा प्रयोग हुने कच्चा पदार्थ वा स्पेयर पाट्र्समा ५० प्रतिशत एक्साइज कर र २५ प्रतिशत आयात कर छुट प्रदान गरेको छ, जसले स्थानीय एसेम्बल उद्योगलाई प्रोत्साहित भएको कम्पनीको भनाइ छ । कम्पनीले यस्ता नियामकीय परिवर्तनहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने क्षमता राखेकोले भविष्यमा स्थिर आम्दानी र बजारमा उपस्थिति कायम राख्न सक्षम हुने विश्वास गरिएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब २ अर्ब रुपैयाँ ऋण लिएको छ । कम्पनीका अनुसार ४ करोड रुपैयाँ दीर्घकालीन र २ अर्ब ६६ करोड ५० लाख रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब ९१ करोड रुपैयाँ लिएको छ।

हनी ट्र्यापमा पार्ने १८ वर्षीया किशोरीसहित दुई जना पक्राउ

काठमाडौं । बलात्कारको मुद्दा लगाइदिन्छु भनी धम्की दिने दुई जना पक्राउ परेका छन् । आइतबार चितवनमा सामाजिक सञ्जालबाट चिनजान गरी धाकधम्की दिने तथा हनी ट्र्यापमा पार्ने कालिका नगरपालिका ७ की १८ वर्षीय एनी तामाङ र २५ वर्षीय विजय सुनार पक्राउ परेका हुन् । प्रहरीका अनुसार चितवन भरतपुर महानगरपालिका वडा नं ३ बस्ने वर्ष ४९ वर्षीय पुरुषलाई एनी तामाङ नामको फेसबुकबाट चिनजान हुन्छ । पीडितको चिनजान भई फोनमा समेत कुराकानी हुन्छ । एनीले पीडित पुरुषलाई गत फागुन २९ गते जुटपानीको मिठुचोकबाट गुम्बा जाने भित्री बाटोमा भेट्न बोलाउँछिन् । एनीले अन्य व्यक्ति बोलाई पीडितलाई कुटपिट गरी बा प्र ००४ प ५८८९ नम्बरको स्कुटर लुटपाट गरी फरार भएकी थिइन् ।  पीडितले आफ्नो स्कुटर फिर्ता माग्दा रकम माग गर्ने, रकम नदिए जवरजस्ती करणी कसूरमा मुद्दा हाली फसाई दिने भनी धाकधाम्की दिने गरेको चितवन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए । उनीहरूलाई भरतपुर महानगरपालिका १० वीरेन्द्र क्याम्पस चोकबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए ।

खार्ग टापु : अमेरिका–इरान द्वन्द्वको नयाँ ‘कुरुक्षेत्र’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग टापुमा रहेका सैन्य सम्पत्तिमाथि आक्रमण गर्न दिएको आदेशपछि तेहरानको सबैभन्दा महत्त्वपूर्ण तेल केन्द्रमध्ये एक अमेरिकी–इरान द्वन्द्वको केन्द्रमा पुगेको छ। ट्रम्पले शुक्रबार राति गरिएको आक्रमण सैन्य संरचनालाई लक्ष्य बनाएर गरिएको र तेल पूर्वाधारलाई नछोइएको बताएका छन् । उनले यदि इरानले विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण समुद्रीमार्ग स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजमाथि आक्रमण जारी राखेमा अमेरिकाले खार्ग टापुस्थित कच्चा तेल संरचनामाथि पनि आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् । भान्डा इन्साइट्सकी संस्थापक वन्दना हरिले सोमबार सीएनबीसीलाई इमेलमार्फत भनेकी छन्, ‘खार्गका सैन्य संरचनामाथि गरिएको आक्रमण तेहरानलाई चेतावनी दिनका लागि गरिएको हो । यदि उसले स्ट्रेट अफ हर्मुज पुनः खुला नगरेमा टापुको तेल पूर्वाधार अर्को लक्ष्य बन्न सक्छ ।’ खार्ग आइल्यान्डलाई इरानका लागि सबैभन्दा संवेदनशील आर्थिक लक्ष्यमध्ये एक मानिन्छ । करिब पाँच माइल लामो यो कोरल टापु उत्तरी फारसको खाडीमा इरानको मुख्यभूमिबाट करिब १५ माइल टाढा अवस्थित छ । यहाँबाट इरानको झन्डै ९० प्रतिशत कच्चा तेल निर्यात हुने गर्दछ । साथै यस टापुमा दैनिक करिब ७ मिलियन ब्यारेल तेल लोड गर्ने क्षमता रहेको छ, जसले तेहरानको ऊर्जा आम्दानीका लागि यसलाई अत्यन्त महत्त्वपूर्ण प्रवेशद्वार बनाएको छ । इरानको आर्थिक जीवनरेखा जेपीमोर्गन चेसले उपलब्ध गराएको तथ्यांकअनुसार यदि यस टापुस्थित इरानको निर्यात टर्मिनलमा प्रत्यक्ष आक्रमण भयो भने दैनिक करिब १५ लाख ब्यारेल कच्चा तेल निर्यात तुरुन्तै बन्द हुन सक्छ । हरिका अनुसार, ‘तेल पूर्वाधार नष्ट भएमा त्यसलाई पुनःनिर्माण गर्न वर्षौं लाग्न सक्छ, जसले देशलाई यसको सबैभन्दा महत्त्वपूर्ण आम्दानी स्रोतबाट वञ्चित बनाउँछ ।’ ऊर्जा विश्लेषकहरूका अनुसार वाशिङ्टनले खार्ग टापुलाई लक्ष्य बनाउनुको कारण इरानका लागि यसको रणनीतिक महत्त्व मात्र होइन, विश्व तेल बजारमा यसको प्रभाव पनि हो । बाइसन इन्टरेस्ट्सका प्रमुख लगानी अधिकृत जोश यङका अनुसार ‘इरानसँग अन्य बन्दरगाहहरू पनि छन्, तर यदि अमेरिकाले खार्ग टापु नियन्त्रणमा लिए वा नष्ट गर्यो भने अन्य निर्यात संरचनामाथि पनि त्यस्तै गर्न सक्ने सम्भावना हुन्छ ।’ यद्यपि, एन्डी लिपोवका अनुसार यस्तो आक्रमणले निर्यातमा ठूलो अवरोध ल्याउन सक्छ, तर इरानसँग केही सीमित वैकल्पिक मार्गहरू भने छन् । उनका अनुसार इरानले आफ्नो गोरेह–जास्क पाइपलाइन प्रयोग गर्न सक्छ, जसले खार्ग टापु र स्ट्रेट अफ हर्मुज दुबैलाई छल्दै दैनिक करिब १५ लाख ब्यारेल तेल बोक्न सक्छ । तैपनि विश्लेषकहरूले खार्ग टापुमाथि आक्रमण हुनु ठूलो तनाव वृद्धि हुने चेतावनी दिएका छन् । एडवार्ड फिशमनका अनुसार ‘तेहरानले त्यसको जवाफमा क्षेत्रका अन्य ऊर्जा पूर्वाधारमाथि आक्रमण बढाउन सक्छ, उदाहरणका लागि साउदी अरबको विशाल तेल प्रशोधन केन्द्र ।’ तेल बजारमा प्रभाव जेफ क्युरीका अनुसार यस द्वन्द्वले ऊर्जा आपूर्ति शृंखलाको मूल्य निर्धारणमा संरचनात्मक परिवर्तन ल्याइरहेको छ । पूर्व  गोल्डम्यान स्याच्सका कमोडिटी प्रमुख समेत रहेका उनले आफ्नो नोटमा लेखेका छन् कि खार्ग टापुमा भएको क्षति युद्धको अवस्थामै छिटो मर्मत गर्न सम्भव हुँदैन । उनका अनुसार ‘अन्तिम क्षेप्यास्त्र प्रहार रोकिएपछि पनि युद्ध जोखिम बीमाको प्रिमियम लामो समयसम्म उच्च रहने सम्भावना छ । साथै भण्डारण बढाउने, सम्झौता पुनःसम्झौता गर्ने र वैकल्पिक आपूर्तिकर्ता खोज्ने जस्ता व्यवहारले आपूर्ति शृंखलाको मूल्य संरचना स्थायी रूपमा परिवर्तन गर्न सक्छ ।’ करीका अनुसार विश्व अब यस्तो नयाँ ऊर्जा संरचनातर्फ अघि बढिरहेको छ जहाँ सुरक्षा जोखिमहरू नै वस्तुहरूको मूल्यमा समावेश हुन्छन् । सोमबार कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघेको थियो । अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट क्रुड तेलको मूल्य अमेरिकी समयअनुसार राति ९:४८ बजे प्रति ब्यारेल १०४ डलर पुगेको थियो, जुन ०.८८ प्रतिशतले बढेको हो । करीले भनेका छन्, ‘जुनसुकै वस्तु यदि कुनै महत्त्वपूर्ण अवरोध बिन्दु हुँदै ढुवानी गर्नुपर्छ भने त्यसको मूल्यमा सुरक्षा जोखिमको अतिरिक्त प्रिमियम जोडिन सक्छ ।’ तेल बजारका लागि यसको अर्थ के हो भने खार्ग टापुमाथिको सम्भावित खतरा मात्रले पनि वास्तविक आक्रमणजत्तिकै प्रभाव पार्न सक्छ । के इरानले ‘स्ट्रेट अफ हर्मुज’ इजरायल र अमेरिकाका लागि मात्र बन्द गर्न सक्छ ? युद्धको रापबीच इरान–चीन तेल ‘कनेक्सन’ : हर्मुजको अवरोध छिचोल्दै करोडौं ब्यारेल बेइजिङतिर मध्यपूर्व द्वन्द्व : एसियामा इन्धन संकट, चारदिने कार्यसप्ताह र विद्यालय बन्द इरानको भविष्य मोज्तबा खामेनेईको हातमा, के उनले सत्ता चलाउन सक्लान् ? मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम इरान : शून्यमा सत्ता, संकटमा शासन खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली

२२ करोड जरिवाना र ६ वर्ष कैद सुनाइएका योगेन्द्र श्रेष्ठ पक्राउ‍

काठमाडौं । नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ ।  निक्षेपकर्ता र संस्थाको हितविपरीत अनियमित एवं गैरकानुनी तवरले बैंकिङ कसुरमा संलग्न रहेको अभियोग लागेका श्रेष्ठलाई लामो समयको फरार सूचीपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।  नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागको जाहेरीका आधारमा अनुसन्धान सुरु भएको यो प्रकरणमा सर्वोच्च अदालतले उनलाई दोषी ठहर गर्दै ठूलो जरिवाना र कैद सजाय सुनाएको थियो। सर्वोच्च अदालतको २०८१ भदौ ५ गतेको फैसलाले श्रेष्ठलाई दुईवटा छुट्टाछुट्टै मुद्दामा दोषी ठहर गरेको थियो । पहिलो मुद्दामा १९ करोड ४६ लाख रुपैयाँभन्दा बढी जरिवाना र ३ वर्ष कैद तथा दोस्रो मुद्दामा ३ करोड २१ लाख रुपैयाँभन्दा बढी जरिवाना र ३ वर्ष कैदको फैसला भएको थियो ।  दुवै मुद्दाको कुल सजाय जोड्दा उनले २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ जरिवाना तिर्नुपर्ने र ६ वर्ष जेल बस्नुपर्ने फैसला भएको थियो । फैसलापछि फरार रहेका ६९ वर्षीय श्रेष्ठलाई सीआईबीको टोलीले आइतबार काठमाडौंको नागार्जुन नगरपालिका- ५, सीतापाइलाबाट पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।  काठमाडौं महानगरपालिका वडा नं २४ वटु स्थायी घर भएका श्रेष्ठ पछिल्लो समय सीतापाइलामा लुकिछिपी बस्दै आएका थिए ।

जुम्लामा ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति

काठमाडौं । जुम्ला जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति भएको छ । डिभिजन वन कार्यालय, जुम्लाका प्रमुख भरत बुढ्थापाका अनुसार उक्त वर्षमा २९ स्थानमा वन डढेलो लागेको र अनुमानित वन क्षेत्र करिब ३३० दशमलव २८ हेक्टर वन जंगल डढेलोबाट क्षति भएको बताए । चालु आर्थिक वर्षको ८ महिनासम्म यहाँका आठवटै स्थानीय तहका विभिन्न ६ वटा स्थानमा डढेलो लागेको छ । अनुमानित १०० हेक्टर क्षेत्रमा डढेलोबाट वन क्षति भएको छ डिभिजन वन कार्यालय जुम्लाका प्रमुख बुढ्थापाको भनाइ छ ।   कार्यालयको आयोजनामा भएको वन सुरक्षा समन्वय समिति तथा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम बोल्दै कार्यालय प्रमुख बुढ्थापाले वन डढेलो नियन्त्रणमा प्रभाकारिता, तीनै तहका सरकार र समुदायको सहभागिता भन्ने मूल नारासहित जुम्लामा वन डढेलो नियन्त्रणसम्बन्धी साप्ताहिक कार्यक्रम यही चैत १ देिख ७ गतेसम्म विभिन्न कार्यक्रम गरिने डिभिजन वन कार्यालय जुम्लाका  प्रमुख बढ्थापाले जानकारी दिए । बर्सेनि गर्मीयाममा हुने डढेलोले वन क्षेत्रमा क्षति पुर्‍याउँदै आएको छ । दमकल नपुग्ने विकट क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न भने समस्या देखिने गरेको छ । वन संरक्षणमा सामुदायको महत्त्वपूर्ण भूमिका रहने सहायक प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलले जानकारी दिए ।

कस्तुरी फार्मास्युटिकल्सले आईपीओ जारी गर्ने, इस्यू म्यानेजरमा रिलायबल क्यापिटल

काठमाडौं । कस्तुरी फार्मास्युटिकल्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडलाई इस्यू म्यानेजरका रूपमा नियुक्त गरेको छ । आईपीओ निष्काशन सम्बन्धी सम्झौतामा कस्तुरी फार्मास्युटिकल्सका अध्यक्ष प्रवेक खनाल र रिलायबल क्यापिटलका तर्फबाट ग्रीष्म चालिसेले हस्ताक्षर गरे । कम्पनीले करिब १६ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ । आवश्यक प्रक्रिया पूरा गरी आगामी साउनभित्र आईपीओ जारी गर्ने लक्ष्य कम्पनीले राखेको छ । आईपीओ निष्कासनअघि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति लिनुपर्ने हुन् छ। बोर्डबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले सार्वजनिक निष्कासन प्रक्रिया अघि बढाउने जनाएको छ । कम्पनीका अनुसार हाल प्रति सेयर औसत आन्तरिक मूल्य ३१२.७० रुपैयाँ रहेको छ । आईपीओ अघि कम्पनीले प्राइभेट प्लेसमेन्ट अफरिङमार्फत पनि लगानी जुटाउने योजना बनाएको छ । कम्पनीले आगामी आर्थिक वर्ष २०८४/८५ सम्म प्रति सेयर आम्दानी (ईपीएस) ३१.२९ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको जनाएको छ । यस्तै, कम्पनीले आफ्नो ऋण दायित्व क्रमशः घटाउँदै लैजाने योजना समेत अघि सारेको छ । आर्थिक वर्ष २०८२/८३ को पुससम्म कम्पनीको ऋण २४.५७ करोड रुपैयाँ रहेको छ भने आगामी आर्थिक वर्ष २०८४/८५ सम्ममा उक्त ऋण घटाएर ८.३० करोड रुपैयाँमा झार्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । 

रविन्द्रमान सिंह प्रधान सिटिजन्स बैंकबाट बाहिरिने, बिक्रीमा राखे १५ करोडको सेयर

काठमाडौं । सिटिजन्स बैंकका संस्थापक सेयरधनी रविन्द्रमान सिंह प्रधानले बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गर्ने भएका छन् । सेयर बिक्रीसँगै उनी बैंकबाट बाहिरिने तयारीमा रहेका छन् । बैंकका अनुसार प्रधानले आफ्नो नाममा रहेको १४ लाख ४४ हजार ८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । उक्त सेयरको प्रतिकित्ता मूल्य १०४ रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा कुल करिब १५ करोड १ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ । बैंकको पछिल्लो वार्षिक प्रतिवेदनअनुसार प्रधान सिटिजन्स बैंकका आठौं ठूलो सेयरधनी हुन् । उनको बैंकमा १.२८ प्रतिशत स्वामित्व रहेको छ। बैंकका अनुसार उक्त संस्थापक सेयरमा प्रारम्भिक चरणमा संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि पनि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

राजनीतिक र आर्थिक अवस्था हेरेर मात्रै सेयर बजारमा लगानी गर्न सेबोनको आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा लगानी गर्दा देशको समग्र आर्थिक तथा राजनीतिक अवस्थालाई ध्यानमा राख्न लगानीकर्तालाई आग्रह गरेको छ । ग्लोबल मनी वीक-२०२६ को अवसरमा युवा तथा सर्वसाधारण लगानीकर्तालाई सन्देश जारी गर्दै बोर्डले धितोपत्र बजारमा लगानी गर्दा सजग र विवेकशील बन्न सुझाव दिएको हो र बोर्डका अनुसार धितोपत्र बजारमा समय-समयमा उतारचढाव आउन सक्ने भएकाले लगानी निर्णय गर्दा यथार्थ र विश्वसनीय सूचना संकलन गरी संयमित रूपमा निर्णय लिनु आवश्यक हुन्छ । नवप्रवेशी लगानीकर्तालाई प्राथमिक बजारबाट लगानी सुरु गर्न बोर्डले सुझाव दिएको छ । प्राथमिक बजारमा लगानी गर्दा धितोपत्र निष्काशन गर्ने कम्पनीको आव्हान पत्र तथा विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक र व्यवस्थापन पक्ष, वित्तीय अवस्था तथा क्रेडिट रेटिङजस्ता विषयको विश्लेषण गर्नुपर्ने बोर्डको भनाइ छ । यस्तै, दोस्रो बजारमा लगानी गर्दा सूचीकृत कम्पनीले सार्वजनिक गरेका कार्यसम्पादन विवरण, लाभांश घोषणा, हकप्रद सेयर, व्यवस्थापनमा परिवर्तन, भावी योजना, कम्पनीका आवधिक तथा वार्षिक प्रतिवेदन, वित्तीय सूचकांक तथा सेयर मूल्यको प्रवृत्तिजस्ता पक्ष अध्ययन गर्न पनि बोर्डले आग्रह गरेको छ । बोर्डले लगानी गर्दा कम्पनीको आधारभूत पक्ष जस्तै वित्तीय विवरण, व्यवस्थापन, उद्योग तथा व्यापारको अवस्था, कानुनी वातावरण, व्यापार मोडेल र प्रतिस्पर्धात्मक अवस्थाको पनि अध्ययन गर्नुपर्ने जनाएको छ । लगानी गर्नुअघि आफ्नो लगानीको उद्देश्य, समयावधि र अपेक्षित आम्दानीबारे स्पष्ट हुन पनि बोर्डले सुझाव दिएको छ। धैर्यता, लगनशीलता र दीर्घकालीन दृष्टिकोण राखेर लगानी गर्नुपर्ने सन्देश बोर्डले दिएको छ । सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट अनुमान, प्रक्षेपण वा परामर्शको आधारमा मात्र लगानी निर्णय नगर्न बोर्डले चेतावनी दिएको छ। यस्ता माध्यमबाट हुने धोका, जालसाजी तथा छलकपटबाट बच्न लगानीकर्ताले स्वविवेक प्रयोग गर्नुपर्ने बोर्डले जनाएको छ । अरुको देखासिखी वा लहलहैमा लागेर लगानी नगर्न पनि बोर्डले सुझाव दिएको छ। लगानीका अवसरहरू स्वतन्त्र रूपमा अध्ययन गर्न, निर्णयमा हतार नगर्न तथा अत्यधिक नाफाको ग्यारेन्टी दिने प्रस्तावप्रति सतर्क रहन बोर्डले आग्रह गरेको छ । सेयर बजारमा मुद्रास्फीति, बैंकिङ प्रणालीको तरलता तथा ब्याजदरले प्रत्यक्ष प्रभाव पार्ने भएकाले लगानी गर्दा यस्ता पक्षलाई पनि ध्यानमा राख्नुपर्ने बोर्डको भनाइ छ । जोखिम व्यवस्थापनका लागि लगानी विविधीकरण गर्न, आपतकालीन कोष राख्न तथा जोखिमको उचित व्यवस्थापन गर्न बोर्डले सुझाव दिएको छ । साथै, भित्री सूचनाका आधारमा हुने कारोबार, कर्नरिङ वा अस्वाभाविक मूल्य उतारचढावजस्ता गतिविधिबाट टाढा रहन पनि लगानीकर्तालाई सचेत गराइएको छ । धितोपत्र कारोबार गर्दा रकमको लेनदेन बैंकमार्फत मात्र गर्न तथा धितोपत्र दलालले लिने शुल्कबारे कानुनी  व्यवस्था बुझ्न पनि बोर्डले आग्रह गरेको छ। बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायीमार्फत मात्र कारोबार गर्न पनि सुझाव दिइएको छ।