विकासन्युज

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार सङ्गठन (डब्ल्युटीओ) व्यापार तथा वातावरण समितिको अध्यक्ष चयन भएको छ । संयुक्त राष्ट्र सङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार फागुन २७ गतेको महासभा बैठकले नेपाललाई एक वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको  हो । समिति डब्ल्युटीओ सदस्य राष्ट्रहरूबीच व्यापार नीतिहरूका कारण वातावरणमा पर्ने प्रभाव र पर्यावरण नीतिहरूले व्यापारमा पर्ने प्रभाव तथा जलवायुसम्बन्धी व्यापारका विषय सम्बोधन गर्ने मञ्च हो । अल्पविकसित राष्ट्रको सूचीबाट बाहिरिने क्रममा रहेको मुलुकका निम्ति प्राप्त यो भूमिका डब्ल्युटीओ सदस्यहरूसँग नजिकबाट सहकार्य गर्दै नेपालको व्यापारलाई विश्वव्यापी बजारमा एकीकृत गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ ।  संयुक्त राष्ट्र सङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनहरूका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीले समितिमा मुलुकको प्रतिनिधित्व गर्नेछन् । 

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने

काठमाडौं । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक सातासम्म सेवा अवरुद्ध हुनसक्ने विभागले स्पष्ट पारेको छ । विभागले एक सूचनामार्फत जिल्ला एवं इलाका प्रशासन तथा विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुनसक्ने जनाएको छ । राहदानी विभागबाट प्रदान गरिने सेवा भने एक हप्तासम्म अवरुद्ध हुनसक्ने सूचनामा उल्लेख छ । नयाँ प्रणाली जडान एवं कार्यान्वयन भएपछि प्रणाली स्थिरीकरण हुन एकदेखि तीन महिनासम्म लाग्ने भएकाले उक्त अन्तरिम अवधिमा जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेश स्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने देखिएको छ । विभागले नयाँ प्रणाली जडानको प्रक्रिया अगाडि बढाउन लागेको छ । आगामी पाँच महिनासम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीले अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित निकायबाट सेवा लिन आग्रह गरेको छ । विभागले नयाँ प्रणालीको सूचना निकट भविष्यमा जारी गर्ने उल्लेख गरेको छ ।

चैत १ गते विद्युत महसुल विवादबारे सुनुवाइ हुने, चित्त नबुझे अदालत जान पाइने

काठमाडौं । विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी निर्धारण गरिएको छ । आयोगले सो दिन पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलका सम्बन्धमा सुनुवाइ गरिने जनाएको छ । विवादित महसुलका सम्बन्धमा सुरुआती सुनुवाइ आयोगमा हुने र आयोगले दिने निर्णयमा चित्त नबुझेको खण्डमा अदालत जान पाइने व्यवस्था छ । नेपाल विद्युत् प्राधिकरणले निर्धारण गरेको महसुलका सम्बन्धमा चित्त नबुझेको भन्दै केही उद्योगी आयोग गएका थिए । आयोगले निरन्तर रूपमा महसुलका सम्बन्धमा सुनुवाइ गर्दै आएको छ । आयोगले प्रचलित नियम, कानुन तथा विगतको नजिरका आधारमा आवश्यक निर्णय गर्दै आएको छ । आयोगको सूचनाअनुसार प्राधिकरणले तय गरेको महसुलका सम्बन्धमा चित्त नबुझेको भन्दै पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलले निर्णयका लागि आयोगमा आवेदन गरेको थियो । सो आवेदनमा प्राधिकरणले डेडिकेटड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् सप्लाइ लिएको उपभोक्तालाई बक्यौता विद्युत् महसुल बुझाउने अन्याय पूर्ण निर्णय खारेज गरी क्षतिपूर्ति दिलाइ पाउँ भनी माग गरिएको छ । सुनुवाइका लागि आयोगले आवेदनकर्ताका कानुन व्यवसायी र प्राधिकरणका तर्फबाट कानुन विभागका तीन अधिकारीलाई उपस्थित हुन आग्रह गरेको छ । नेपालको ऊर्जा क्षेत्रको नियमनकारी निकायका रूपमा रहेको आयोगले यस क्षेत्रको विवाद निरुपण गर्दै आएको छ । आयोगले दिने निर्णय चित्त नबुझेको खण्डमा मात्र आवेदकलाई अदालत जाने मार्ग प्रशस्त हुन्छ ।

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत पहाडी र हिमाली भागमा सामान्यतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भेगका साथै मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्यतया बादल लाग्ने छ भने बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान  छ । ती प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जानकारी दिएको छ । हिमपात र वर्षाको पूर्वानुमान गरिएका क्षेत्रका सर्वसाधारण तथा यातायातका साधन सञ्चालनका साथै ती भेगमा यात्रा गर्नेहरूलाई सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ । 

चुनावमा १ भोटमात्रै पाउने ३५ उम्मेदवार, परिवारले पनि दिएन साथ

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रत्यक्षतर्फको मतगणनामा रोचक र आश्चर्यजनक परिणामहरू सार्वजनिक भएका छन् । देशभर प्रतिस्पर्धामा उत्रिएका केही उम्मेदवार मतदाताबाट समर्थन नपाउँदा केवल एक भोटमै सीमित भएका छन् । निर्वाचन आयोगका अनुसार देशभरका ३५ उम्मेदवारले एक भोट मात्रै प्राप्त गरेका छन् । उनीहरुले प्राप्त गरेको परिणामले चुनावी प्रतिस्पर्धाको रोचक पक्ष समेत उजागर गरेको छ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक प्रत्यक्षतर्फ विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३ हजार ४०६ उम्मेदवार मैदानमा उत्रिएका थिए । तीमध्ये अधिकांश उम्मेदवारले हजारौं मत प्राप्त गरे पनि केही उम्मेदवार भने मतदाताको समर्थन जुटाउन नसक्दा एक भोटमै सीमित भएका छन् । निर्वाचन परिणामअनुसार ३५ जना उम्मेदवारले मात्र एक मत प्राप्त गरेका छन् । चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले आफ्नै मतसमेत सुरक्षित गर्न नसकेको अवस्था देखिनुले राजनीतिक वृत्तमा पनि चर्चा सुरु भएको छ । सामान्यतया उम्मेदवारले कम्तीमा आफ्नै मत र परिवारजनको मत प्राप्त गर्ने अपेक्षा गरिए पनि केही उम्मेदवारको हकमा त्यो सम्भव हुन सकेन । निर्वाचनमा खटिएका कर्मचारीहरूका अनुसार यस्तो परिणाम आउनुका पछाडि विभिन्न कारण हुन सक्छन् । कतिपय उम्मेदवार आफैंले मतदान नगर्नु, मतदाता नामावली फरक स्थानमा हुनु वा मतदान प्रक्रियासम्बन्धी प्राविधिक कारणले पनि उम्मेदवारको मत अत्यन्त न्यून देखिन सक्छ । यद्यपि, चुनावी मैदानमा उत्रिएका हजारौं उम्मेदवारमध्ये केही उम्मेदवार मात्र एक मतमा सीमित हुनु भने प्रतिनिधिसभा निर्वाचनको रोचक तर अर्थपूर्ण संकेतका रूपमा पनि हेरिएको छ । यसले उम्मेदवारको स्थानीय पहुँच, संगठनात्मक बल र मतदाता आधार कति महत्वपूर्ण हुन्छ भन्ने तथ्यलाई पुनः उजागर गरेको चुनावका जानकारहरू बताउँछन् । यी उम्मेदवारले पाए १ भोट सिरहा क्षेत्र नम्बर १ बाट ३ जना उम्मेदवारले १ मत मात्रै पाएका छन् । ती सबै उम्मेदवार स्वतन्त्र उम्मेदवार हुन् । रामदेव ठाकुर, मञ्चन महतो, सतीश चन्द्र सिंहले एक मत पाएका छन् । सिरहा १ बाट रास्वपाका बब्लु गुप्ताले सबैभन्दा धेरै ४१ हजार ३२२ मत ल्याएर विजयी भएका छन् । महोत्तरी २ नम्बर निर्वाचन क्षेत्रबाट एक जना उम्मेदवारले एक मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार रेशमा देवीले १ भोट मात्रै पाएकी हुन् । महोत्तरी २ मा रास्वपाका दीपक कुमार शाहले ३२ हजार ७२२ मत ल्याएर विजय भएका छन् ।  सर्लाही २ बाट सत्य नारायण चौधरी कलवारले एक भोट मात्रै ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका रविन महतोले ४२ हजार ५१२ मत ल्याएर निर्वाचित भएका छन् ।  सर्लाही ३ बाट लोक बहादुर दर्लामीले १ भोट पाएका छन् । सो निर्वाचन क्षेत्रमा रास्वपाका नरेन्द्र साह कलवारले ४६ हजार ८९० मत ल्याएर विजयी भएका छन् । रौतहट १ मा ३ जना उम्मेदवारले एक भोट मात्रै प्राप्त गरेका छन् । स्वतन्त्रबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका दिनेश कुमार यादव, मुनिन्द्र कुमार ठाकुर र रवि अर्चनम् वर्माले एक भोट मात्रै पाएका हुन् । रौतहट १ मा रास्वपाका राजेश कुमार चौधरीले २८ हजार ९४६ मत ल्याएर विजयी भएका छन् । रौतहट ३ मा स्वतन्त्रबाट उठेका रतनेश महतो कोइरीले १ भोट मात्रै पाए । सो निर्वाचन क्षेत्रमा रास्वपाका रविन्द्र पटेलले २७ हजार ३१८ मत ल्याएर निर्वाचित भएका छन् । बारा २ मा स्वतन्त्रबाट जालमहम्मत अन्सारीले १ मत मात्रै प्राप्त गरे । सो निर्वाचन क्षेत्रमा रास्वपाका चन्द्र कुमार सिंहले ३५ हजार ५९० मत ल्याएर विजयी भएका छन् । बारा ३ मा २ जनाले एक भोट प्राप्त गरेका छन् । स्वतन्त्रबाट उठेका पूर्ण प्रसाद पन्थ र मंगेश्वर पटेलले १ मत प्राप्त गरेका छन् । बारा ३ मा रास्वपाका रहबर अन्सारीले ४१ हजार २ सय मत ल्याएर विजयी भएका छन् । पर्सा १ मा २ जनाले एक मत पाएका छन् । स्वतन्त्रका प्रेम मेहता र सरोज प्रसाद यादवले १ भोट मात्रै पाएका हुन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका बुद्धि प्रसाद पन्थले २७ हजार २७४ मत ल्याएर विजयी भएका छन् । पर्सा २ मा रोशन प्रसाद अहिरले १ मत ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा सुशील कुमार कानुले ३० हजार ७४० मत ल्याएर विजयी भएका छन् । धादिङ २ मा रास्वपाका शिव निधि खनालले एक मत प्राप्त गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका बोध नारायण श्रेष्ठले २६ हजार १४५ मत ल्याएर निर्वाचित भएका छन् । काठमाडौं १ मा रास्वपाका रञ्जु न्यौपानेले सबैभन्दा धेरै १५ हजार ४५५ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका राजु भुजेल र शान्ति श्रेष्ठले १ मत पाएका छन् । काठमाडौं २ मा  रास्वपाका सुनिल के.सीले ३४ हजार २३८ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका इरा श्रेष्ठले एक मत पाइन् ।  काठमाडौं ३ मा रास्वपाका राजु नाथ पाण्डेले सबैभन्दा धेरै १८ हजार ७५७ मत ल्याएर विजय हुँदा मितेरी पार्टी नेपालका जित बहादुर तामाङले एक मत प्राप्त गरे । भक्तपुर २ मा राजीव खत्रीले रास्वपाबाट ४२ हजार ३३४ मत ल्याएर विजयी हुँदा चार जनाले १ मत मात्रै प्राप्त गरेका छन् । प्रदीप कुमार रुपाखेती, अनिता भट्टराई, मधु प्रकाश साहुखल, श्याम कृष्ण धुख्खाले एक मत मात्रै पाएका छन् । ललितपुर १ मा राम खड्काले एक मत ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका बुद्ध रत्न महर्जन २३ हजार ३७३ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका राम खड्काले १ मत मात्रै ल्याएका छन् । मकवानपुर १ मा रास्वपाका प्रकाश गौतमले ३६ हजार ३३ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका राम कुमार खड्काले सबैभन्दा कम १ मत ल्याए । गुल्मी १ मा  २ जनाले सबैभन्दा न्यून मत ल्याएका छन् । कृष्ण बहादुर सुनार र सूर्य बहादुर सोनी सुनारले एक मत ल्याएका हुन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका सागर ढकालले २९ हजार ६४२ मत ल्याएर निर्वाचित भएका छन् ।  रुपन्देही २ मा उषा भट्टराई, कमला बोहरा र मधुसूदन पन्थीले सबैभन्दा न्युन मत प्राप्त गरेका छन् । तीनै जना स्वतन्त्रबाट उठेका हुन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका सुलभ खरेलले ५६ हजार ५५० मत ल्याई विजयी भएका छन् । कपिलवस्तु ३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाहले २३ हजार ५३५ मत ल्याएर विजयी हुँदा २ जना उम्मेदवारले १ मत पाएका छन् । स्वतन्त्रबाट उठेका  परमेश्‍वर दयाल मिश्र र हरिराम प्रसाद यादवले सबैभन्दा न्यून मत प्राप्त गरेका हुन् । दाङ ३  मा रास्वपाका कमल सुवेदीले सबैभन्दा धेरै ४४ हजार २४८ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका सुरेश नेपालीले सबैभन्दा कम मत प्राप्त गरे । 

सरकारले अब आधा ग्यास भएको सिलिन्डर बिक्री गर्ने, मूल्य ९ सय ५५ रुपैयाँ

काठमाडौं । इरान, इजरायल र अमेरिका युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा असहजता देखिएपछि नेपालमा खाना पकाउने ग्यास (एलपीजी) को संकट टार्न सरकारले नयाँ विकल्प अघि सारेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अब बजारमा आधा सिलिन्डरकाे ग्यास मात्र बिक्री गर्ने योजना बनाएको छ । उद्योग मन्त्रालयका प्रवक्ता नेत्र भुसालअनुसार ग्यासको मौज्दात कम हुँदै गएको र भारतीय बजारबाट समेत आपूर्ति घटेर आएकाले सबै उपभोक्तालाई समान रूपमा ग्यास उपलब्ध गराउन यस्तो रणनीति अपनाउन लागिएको हो । प्रवक्ता भुसालका अनुसार सिलिन्डरमा पुरै ग्यास भर्दा थोरै संख्याले मात्र पाउने तर आधा (७.१ केजी) मात्र भर्दा धेरैभन्दा धेरै उपभोक्ताको भान्सा रित्तो नहुने देखिएको छ । उनले भने, ‘तत्कालको संकट टार्न र वितरणलाई सहज बनाउन यो उत्तम विकल्प रोजेको हो । ’ बिहीबार नेपाल आयल निगमले सञ्चालक बैठकाबाटै निर्णय गरेर (भोलि) शुक्रबारदेखि आधा सिलिन्डर भरेर बजारमा पठाउने बताइसकेको छ भने हाल देशभर करिब १ करोड ५० लाख ग्यास सिलिन्डर प्रयोगमा छन् । अहिले १४.२ केजीको सिलिन्डर बिक्री हुँदै आएकोमा नयाँ निर्णय भए ७.१ केजी ग्यास मात्रै भरेर वितरण गरिनेछ । यस्तो अवस्थामा उपभोक्ताले पनि साविकको मूल्यको आधा मात्रै रकम तिर्नुपर्नेछ । उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर स्टक गरेकाले बजारमा अभाव देखिएको निगमको भनाइ छ । निगमका अनुसार ग्यास अन्य वस्तुजस्तो लामो समय थुपारेर राख्न नमिल्ने भएकाले आधा सिलिन्डर वितरण गर्दा धेरै उपभोक्तासम्म ग्यास पुग्ने र अभाव कम हुने निष्कर्ष निकालेको छ ।  ग्यासको आपूर्तिमा समस्या देखिएपछि निगमले यस्तो निर्णय लिएको हो । अब उपभोक्ताले एउटा सिलिन्डर ग्यासको लागि ९ सय ५५ रुपैयाँ तिर्नुपर्ने छ ।  निगमले जारी गरेको सूचनामा भनिएको छ, ‘हालको परिस्थितिलाई ध्यान दिँदै ग्यास आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित बनाउन ७.१ केजी एलपी ग्यास भरी ९ सय ५५ रुपैयाँमा बिक्री गर्ने निर्णय भएको छ ।’ विगत २ देखि ३ महिनायता काठमाडौं उपत्यकामा ग्यासको माग निकै बढेको निगमको तथ्यांक छ । सिलिन्डर आधा भर्दा व्यवस्थापकीय खर्च केही बढ्ने भए पनि त्यसमा आयल निगमले के–कति राहत वा सहयोग गर्न सक्छ भन्नेबारे पनि अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ ।  यस्तै, ग्यासको परनिर्भरता घटाउन र भविष्यमा आइपर्ने यस्ता संकटबाट बच्न प्रवक्ता भुसालले नागरिकहरूलाई विद्युतीय चुल्होको प्रयोग बढाउन आह्वान समेत गरेको छ । ‘नेपालमा विद्युत्को उपलब्धता अनवरत भइरहेको छ, त्यसैले यसलाई अवसरका रूपमा लिएर इन्डक्सन चुल्हो भित्र्याउनु नै बुद्धिमानी हुनेछ,’ प्रवक्ता भुसालले थपे ।  अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको ध्रुवीकरण र युद्ध कति लम्बिने हो भन्ने अनिश्चितताले गर्दा आपूर्ति व्यवस्था अझै कठिन हुन सक्ने उनको आकलन छ । ‘भारतमा पनि अभाव देखिन थालिसकेको छ, त्यसैले हामीले आफ्नो तर्फबाट पूर्वतयारी र विकल्पहरू सोच्नै पर्ने बेला आएको छ,’ उनले भने । मन्त्रालयले ग्यास मात्र नभई अन्य खाद्य सामग्रीको आपूर्ति र वितरणमा पनि ध्यान दिइरहेको र संकटको बेला नागरिकले पनि आफ्नो दायित्वबोध गरिदिनुपर्नेमा जोड दिएको छ । 

मोदी-लामिछाने र बालेनबीच टेलिफोन संवाद, के भन्छ भारतिय विदेश मन्त्रालय ?

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँग टेलिफोन संवाद गरेको विषयमा भारतको विदेश मन्त्रालयले औपचारिक जानकारी दिएको छ । बिहीबार आयोजित नियमित प्रेस ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालमा सम्पन्न निर्वाचनको परिणामलाई भारतले स्वागत गरेको बताएका हुन् । उनले भारत र नेपालबीच ऐतिहासिक, बहुआयामिक र निकट साझेदारी रहेको स्मरण गराउँदै नयाँ सरकारसँग सहकार्यलाई थप अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । जैसवालका अनुसार प्रधानमन्त्री मोदीले टेलिफोन संवादका क्रममा नेपालका जनता र नयाँ नेतृत्वलाई बधाई दिँदै भारत असल मित्र र छिमेकीको नाताले नेपालसँग नजिकबाट काम गर्न तयार रहेको सन्देश दिएका थिए ।  

ओमनमा नेपाली दूतावासले श्रम स्वीकृति नदिने

काठमाडौं । ओमनस्थित नेपाली दूतावासले वैदेशिक रोजगारमा रहेका नेपालीलाई श्रम स्वीकृत नदिने भएको छ ।  बिहीबार दूतावासले सूचना जारी गरेर मध्यपूर्वी एशियाका राष्ट्रमा विकसित घट्नाक्रमका कारण फागनु १७ गते नेपाल सरकार, श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको बैठकले अनिश्चित कालको श्रम स्वीकृति दिने व्यवस्था बन्द गरिएको जनाएको छ । ‘अर्को सूचना जारी नभएसम्मको लागि श्रम स्वीकृति बन्द गरिएको व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । असुविधाको लागि राजदूतावास क्षमाप्रार्थी छ,’ दूतावासले उल्लेख गरेको छ ।