विकासन्युज

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो

काठमाडौं । बुधबारको तुलनामा स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य दुई हजार रुपैयाँले र चाँदीको मोल २०५ रुपैयाँले घटेको छ ।      नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मोल प्रतितोला तीन लाख १७ हजार रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ५१५ रुपैयाँ निर्धारण भएको छ । हिजो बिहीबार  तीन लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० रुपैयाँ निर्धारण भएको थियो ।  गत मंगलबार छापावाल सुनको मोल प्रतितोला तीन लाख १७ हजार रुपैयाँ कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० रुपैयाँ निर्धारण भएको थियो । सोमबार एक तोला सुन तीन लाख १३ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।        अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।    

‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’

काठमाडौं । अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ्स’ ले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको स्पष्ट बहुमतले मुलुकमा राजनीतिक अस्थिरता घटाउन सक्ने निष्कर्ष निकालेको छ । रास्वपाको पक्षमा आएको चुनावी नतिजाले नीतिगत स्थिरता, सुशासन र आर्थिक सुधार कार्यान्वयनका लागि नयाँ अवसर प्रदान गर्ने सम्भावना रहेको फिचले निष्कर्ष निकालेको हो ।  मुलुकमा पछिल्ला वर्षहरुमा कुनै पनि पार्टीले जनादेश नल्याउँदा राजनीतिक अस्थिरता हुनुका साथै लगानीकर्ताको मनोबल पनि कमजोर बन्दै आएको थियो । फिचकाअनुसार रास्वपाको जितले सत्तका लागि बारम्बार गरिने अप्राकृतिक गठबन्धनको जोखिमलाई टारेको छ । विगतका वर्षहरूमा हुने गरेका बारम्बारको सरकार परिवर्तनको शृंखला रोकिने सम्भावनाले गर्दा लगानीकर्ताहरूको मनोबल बढ्न सक्ने फिचको प्रक्षेपण छ ।  फिचले आफ्नो प्रेस वक्तव्यमा भनेको छ– ‘निर्वाचनको यो नतिजाले परम्परागत शक्ति बाँडफाँडको राजनीतिबाट मुक्त गराउन खोजेको देखिन्छ । नेपाली काँग्रेस र नेकपा एमाले जस्ता पुराना दलहरूले धेरै सिट गुमाएका कारण अब त्यो सम्भावना देखिँदैन ।’  अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिचले रास्वपाले वाचापत्रमा लिएका कतिपय आर्थिक लक्ष्य महत्वाकांक्षी रहेको र ती पूरा गर्न चुनौतीपूर्ण रहेको जनाएको छ । रास्वपाले आफ्नो घोषणापत्रमार्फत आगामी पाँच वर्षमा औसत ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र प्रतिव्यक्ति आम्दानी ३ हजार अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ । फिचले यी लक्ष्यहरूलाई ‘महत्वाकांक्षी’ भनेको हो । फिचका अनुसार सन् २०२७ जुलाई १५ सम्मको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने अनुमान  छ । त्यसैले अहिलेकै अवस्थामा उक्त लक्ष्यहरु भेट्न मुस्किल पर्छ । त्यसो त, रास्वपाको नीतिगत एजेण्डा पूरा गर्न आगामी सरकारले लिने नीतिगत सुधारमा समेत भर पर्ने फिचको बुझाइरहेको छ । नोभेम्बर २०२५ मा फिचले नेपालको क्रेडिट रेटिङलाई बीबी माइनसमा राखेको थियो । रेटिङका क्रममा नेपालको वैदेशिक ऋणको न्यून भार र सहुलियतपूर्ण ऋण बढी रहेको, वाह्य तरलता मजबुत रहेको, जलविद्युतमा आधारित मध्यमकालीन वृद्धि सम्भावना रहेको, आईएमएफ कार्यक्रमको सफल कार्यान्वयन रहेको बताएको थियो । यद्यपि प्रतिव्यक्ति आय र सुशासनका सूचकहरू अन्य बीबी श्रेणीका देशहरूको तुलनामा अझै कमजोर रहेको औँल्याइएको थियो ।   फिचले नयाँ सरकारका लागि ‘कार्यान्वयन क्षमता’ लाई मुख्य जोखिमको रूपमा हेरेको छ । नेपालको कमजोर सरकारी प्रभावकारिता र नियामक गुणस्तरले सुधारका कार्यहरूमा अवरोध पुर्याउन सक्ने चेतावनी दिइएको छ । निजी र वैदेशिक लगानी भित्र्याउनका लागि व्यावसायिक वातावरणमा सुधार, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणमा सरकारले गर्ने ठोस कामहरू नै निर्णायक हुने फिचले जनाएको छ ।    

उपत्यकामा दिगो यातायात र फोहर व्यवस्थापनको नयाँ खाका तयार हुँदै

काठमाडौं । उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक तथा दिगो व्यवस्थापनका लागि अध्ययन तथा समन्वय समिति गठन गर्ने निर्णय गरिएको छ । उपत्यका मेयर्स फोरमको बुधबार काठमाडौंमा बसेको १३औँ बैठकले फोहर व्यवस्थापन र सार्वजनिक यातायात सञ्चालनलाई दीर्घकालीन रूपमा व्यवस्थित बनाउन विभिन्न निर्णय गरेको हो । ललितपुर महानगरपालिकाका प्रमुख एवं फोरमका अध्यक्ष चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको बैठकले फोहर व्यवस्थापन अध्ययन तथा समन्वय समिति गठन गर्ने निर्णय गरेको हो । उक्त समितिले फोहर व्यवस्थापनका विधि र प्रविधि अध्ययन गर्नुका साथै उपत्यकाभित्रका स्थानीय तहबीच आवश्यक समन्वय, सहजीकरण र सामूहिक व्यवस्थापनका लागि काम गर्नेछ । बैठकले सार्वजनिक यातायात सञ्चालनलाई दिगो बनाउन यसअघि तयार गरिएका अध्ययन प्रतिवेदनका तथ्य र सिफारिसहरूको विश्लेषण गरी उपयुक्त ढाँचामा नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ । साथै गोदावरीदेखि बुढानीलकण्ठसम्म साइकल लेन निर्माणका लागि कानुन तयार गरी गुरुयोजना बनाउने तथा पूर्वाधार निर्माण र सञ्चालनमा संघीय सरकारसँग सहकार्य गर्ने निर्णय गरिएको छ । बैठकपछि अध्यक्ष महर्जनले उपत्यकाको एकीकृत विकासमार्फत नागरिक जीवन सहज बनाउन स्थानीय तहहरूबीच समन्वय आवश्यक रहेको बताए । उनले मेट्रो रेलको अवधारणा कार्यान्वयनका लागि संघ सरकारसँग सहकार्य गर्न उपत्यकाका स्थानीय तह तयार रहेको उल्लेख गर्दै पूर्वाधार निर्माण अवधिमा सहज सार्वजनिक यातायात सञ्चालनमा पनि सहयोग गर्ने बताए । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायात सञ्चालन गर्दा उपत्यकाको भूगोल, बस्तीको मौलिकता तथा सामाजिक–सांस्कृतिक विशेषताअनुसार उपयुक्त प्रणाली छनोट गर्नुपर्नेमा जोड दिइन् । विगतमा भएका अध्ययनहरूको पुनरावलोकन गरी ठोस निष्कर्षमा पुग्नु आवश्यक रहेको उनको भनाइ थियो । उनले फोहर व्यवस्थापन, सार्वजनिक यातायात, खानेपानी वितरण, नदी सभ्यता संरक्षण, खाद्य स्वच्छता, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनजस्ता समस्या सीमाविहीन भएकाले स्थानीय तहहरूबीच समन्वयात्मक सहकार्य आवश्यक रहेको बताइन् । बैठकअघि काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले फोहर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको वर्तमान अवस्था तथा दिगोपनाका लागि आवश्यक कदमबारे प्रस्तुति दिएकी थिइन् । हाल ल्याण्डफिल साइटमा काठमाडौंसहित ६ जिल्लाका २४ स्थानीय तहबाट फोहर व्यवस्थापन हुँदै आएको छ । ढुवानी कार्य नगरपालिका र निजी क्षेत्रबाट हुने गरेको छ भने साइट व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाले सम्हाल्दै आएको छ ।

स्नो रिभर्सले चैत ९ गतेदेखि आईपीओ बिक्री खुला गर्ने, कसले कति कित्ता आवेदन दिन पाउँछन् ?

काठमाडौं । स्नो रिभर्स लिमिटेडले चैत ९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ९ करोड ३७ लाख ५० हजार रुपैयाँको ९ लाख ३७ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । स्थानीयलाई छुट्याएको सेयरमध्ये अति प्रभावित क्षेत्र ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-८ का स्थानीयलाई ४ लाख ६८ हजार ७५० कित्ता र आयोजना प्रभावित क्षेत्र सिरीजङ्गा गाउँपालिका-१ देखि ७ सम्म, सिदिङ्वा गाउँपालिका-५ र ६, पाथिभरा याङवारक गाउँपालिका-५ र ६ र पाँचथरको हिलिहाङ गाउँपालिका-१ का स्थानीयलाई ४ लाख ६८ हजार ७५० कित्ता सेयर बिक्री गरिनेछ । साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतममा स्थानीयले १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले १ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा २०८३ वैशाख ८ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनाको कार्यालय याम्फुदिन, नेपाल बैंकको सिरीजङ्गा शाखा, एनएमबि बैंक, सानिमा बैंक र ग्लोबल आइएमई बैंकको फुङलिङ शाखाबाट आवेदन दिन सक्नेछन् ।  यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

नाडा निर्वाचनविरुद्धको रिट खारेज, नव-निर्वाचित कार्यसमितिको शपथ ग्रहणको बाटो खुल्यो

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को हालै सम्पन्न निर्वाचन प्रक्रियाविरुद्ध परेको रिट निवेदन उच्च अदालत पाटनले खारेज गरिदिएको छ । अदालतको यो निर्णयसँगै नाडाको नव-निर्वाचित कार्यसमितिको शपथ ग्रहणका लागि रहेको कानुनी अवरोध हटेको छ ।  निर्वाचन प्रक्रियालाई लिएर अदालतमा मुद्दा दायर भएपछि नाडाले न्यायालयप्रति सम्मान जनाउँदै नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रम अस्थायी रूपमा स्थगित गरेको थियो । तर बुधबार उच्च अदालत पाटनले रिट निवेदन खारेज गर्ने फैसला सुनाएसँगै संस्थाभित्र देखिएको अन्योल समाप्त भएको छ ।  अदालतको निर्णयपछि नाडाले विज्ञप्ति जारी गर्दै उक्त फैसलाको स्वागत गरेको छ । विज्ञप्तिमा उच्च अदालतबाट रिट खारेज भएको निर्णय प्राप्त भएसँगै सो विषयसँग सम्बन्धित सम्पूर्ण कानुनी अवरोध समाप्त भएको उल्लेख गरिएको छ ।  नाडाले अब संस्थाको विधान र स्थापित प्रक्रियाअनुसार नै नव-निर्वाचित कार्यसमितिको शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिने जनाएको छ ।  साथै अदालतको निर्णयले संस्थाभित्र स्पष्टता, स्थिरता र एकता थप मजबुत हुने विश्वास व्यक्त गर्दै नाडाले आगामी दिनमा सम्पूर्ण सदस्य तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकास र उद्योगमैत्री वातावरण निर्माणका लागि सक्रिय रहने प्रतिबद्धता पनि जनाएको छ । 

‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड’ मार्फत ८० उत्कृष्ट चालक सम्मानित

काठमाडौं । इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः विश्वासको सम्मान’ कार्यक्रम आयोजना गर्दै क्याब र मोटरबाइक (मोटो) श्रेणीका उत्कृष्ट ड्राइभर पार्टनरहरूको समर्पण, विश्वास र निरन्तर उत्कृष्ट प्रदर्शनलाई सम्मान गरेको छ । औपचारिक सम्मान समारोहमा इनड्राइभ प्लेटफर्ममार्फत दीर्घकालीन प्रतिबद्धता देखाउँदै उत्कृष्ट सेवा प्रदान गर्दै आएका ड्राइभर पार्टनरहरूलाई एकै स्थानमा भेला गराई विभिन्न विधामा सम्मान प्रदान गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै इनड्राइभकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले ड्राइभर–पार्टनर र यात्रुबीचको आपसी विश्वासलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । उनका अनुसार नेपालमा इनड्राइभ सेवाको सफलताको मुख्य आधार यही विश्वास र सेवा गुणस्तर हो । अवार्ड वितरण समारोह विशेष अतिथि अभिनेत्री प्रियंका कार्कीको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा सुनिता जीमी राई, एपीएसीका ड्राइभर्स मार्केटिङ लिड योक्षा द्वी एड्रियान्टो तथा अनास्तासिया तेरेन्तिएभाले संयुक्त रूपमा विजेताहरूलाई सम्मान प्रदान गरेका थिए । अवार्डअन्तर्गत पाँच वर्ष र तीन वर्षदेखि निरन्तर उत्कृष्ट सेवा प्रदान गर्ने ‘टप परफर्मिङ ड्राइभर पार्टनर’ तथा सन् २०२५ मा उत्कृष्ट प्रदर्शन गर्ने चालकहरूलाई विभिन्न श्रेणीमा सम्मान गरिएको थियो । क्याब र मोटो दुवै विधामा पुरुष तथा महिला चालकहरूलाई समेट्दै कुल ८० जना ड्राइभर–पार्टनरलाई सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको समापनमा बोल्दै एपीएसीका ड्राइभर्स मार्केटिङ लिड एड्रियान्टोले प्लेटफर्मको दीर्घकालीन दिगोपनाका लागि सम्मान–आधारित संलग्नता महत्वपूर्ण हुने उल्लेख गरे । इनड्राइभ नेपालले यस्ता कार्यक्रममार्फत संख्यात्मक प्रदर्शन मात्र होइन, इमान्दारिता, विश्वास र उत्कृष्ट सेवाजस्ता मूल्यलाई पनि प्राथमिकता दिँदै प्लेटफर्मको विकासलाई अघि बढाउँदै आएको जनाएको छ ।  

निर्वाचनमा अपेक्षा गरेजस्तो मत पाइन : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको स्वीकारेका छन् ।  उनले बिहीबार सामाजिक सञ्जालमार्फत निर्वाचनको परिणाम आएको एक सातापछि अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिन र लोकतन्त्रमा अन्तिम फैसला जनताको हुने बताएका हुन् ।  ‘जनताको त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो । जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु,’ उनले भनेका छन्,’ कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु । ‘ तपाईंहरूको विश्वास हाम्रो शक्ति र हाम्रो ताकत रहेको उनले उल्लेख गरेका छन् । निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन । तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नभएको ओलीले धारणा व्यक्त गरेका छन् ।

मेटलाइफ नेपालको नयाँ हेड अफिस पुल्चोकमा उद्घाटन

काठमाडौं । मेटलाइफ नेपालले ललितपुरको पुल्चोकस्थित सिग्नेचर प्लेटिनम टावरमा नयाँ प्रधान कार्यालय (हेड अफिस) उद्घाटन गरेको छ । नेपाली परिवारलाई वित्तीय सुरक्षा र संरक्षण प्रदान गर्दै आएको २४ वर्षको यात्रामा कम्पनीले यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । कम्पनीका अनुसार नयाँ हेड अफिसले मेटलाइफ नेपालको आधुनिक, चुस्त तथा भविष्यतर्फ उन्मुख संस्थाको रूपमा भएको विकासलाई प्रतिबिम्बित गर्दछ । आधुनिक पूर्वाधार, एकीकृत प्रविधि प्रणाली तथा सहकार्यलाई प्रोत्साहन गर्ने कार्यस्थल संरचनासहित तयार गरिएको कार्यालयले कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने तथा ग्राहकलाई छिटो, सहज र उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । यो विस्तार केवल भौतिक पूर्वाधार वृद्धि मात्र नभई ग्राहकसँगको सम्बन्धमा विश्वास, पारदर्शिता र द्रुत सेवाप्रतिको संस्थागत प्रतिबद्धताको अभिव्यक्ति भएको कम्पनीले जनाएको छ। मेटलाइफ नेपालले नयाँ कार्यालयको वास्तविक मूल्य सेवाको गुणस्तरमार्फत स्थापित हुने विश्वास व्यक्त गर्दै नवप्रवर्तन, पारदर्शिता र ग्राहक–केन्द्रित सेवामार्फत देशभर वित्तीय आत्मविश्वास सुदृढ बनाउने लक्ष्य लिएको छ। उद्घाटन समारोहमा नियामक निकाय, क्षेत्रीय नेतृत्व, साझेदार तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संयुक्त राज्य अमेरिकाको दूतावासका चार्जे द’अफेयर्स स्कट अर्बोम, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा मेटलाइफका एशिया क्षेत्रीय अध्यक्ष लिन्डन ओलिभर र वरिष्ठ उपाध्यक्ष एलेना बुटारोभालगायत विशिष्ट अतिथिहरू सहभागी भएका थिए । कार्यक्रममा बोल्दै एशिया क्षेत्रीय अध्यक्ष लिन्डन ओलिभरले नयाँ प्रधान कार्यालयले नेपालप्रतिको मेटलाइफको दीर्घकालीन प्रतिबद्धता झल्काउने उल्लेख गर्दै आधुनिक क्षमतासहित ग्राहक अनुभवलाई अझ सुदृढ बनाउने दिशामा यो महत्वपूर्ण कदम भएको बताए । उद्घाटन समारोहमा नेपाल बीमा प्राधिकरण, संयुक्त राज्य अमेरिकी दूतावास, एमच्याम नेपाल, साझेदार बैंक, लघुवित्त संस्था, मेटलाइफ व्यवस्थापन टोली तथा एजेन्सी प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।