विकासन्युज

६९ मेगावाटको  मर्स्याङ्दी जलविद्युतको मर्मतसम्भारपछि उत्पादन पुनः सुरु

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः विद्युत् उत्पादन कार्य सुरु गरिएको छ । विगत २१ दिनदेखि प्लान्ट पूर्ण रूपमा बन्द (सटडाउन) गरी थालिएका जटिल प्राविधिक तथा सिभिल संरचनाका कार्य निर्धारित समयमै सम्पन्न गरी केन्द्रले पुनः विद्युत् उत्पादन सुरु गरेको हो । नेपाल विद्युत् प्राधिकरण अन्तर्गतका विद्युत् केन्द्रहरूमध्ये क्षमताका हिसाबले तेस्रो र वार्षिक उत्पादनका दृष्टिले दोस्रो ठूलो मानिने यस केन्द्रले गत आर्थिक वर्षमा ४५१.७ गिगावाट प्रति घण्टा विद्युत् उत्पादन गरेको थियो । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म २९३.५ गिगावाट घण्टा उत्पादन गरिसकेको यस केन्द्रको दिगो सञ्चालनका लागि फागुन २ गतेदेखि प्लान्ट बन्द गरी मर्मत कार्य अगाडि बढाइएको थियो । यस पटकको सटडाउनका क्रममा वर्षौंदेखि थाती रहेका र निकै चुनौतीपूर्ण मानिएका कार्य सम्पन्न गरिएको केन्द्र प्रमुख कपिलदेव मानजनले जानकारी दिए । उनका अनुसार विशेषगरी बाँध क्षेत्रको माथिल्लो तटीय क्षेत्र र डिसेन्डर नजिकैको कटानले जोखिममा परेको संरचनाको संरक्षण कार्य पूरा गरिनुका साथै विगत १४ वर्षदेखि सञ्चालनमा आउन नसकेको र सुरुङमा बालुवा छिर्न नदिन महत्वपूर्ण मानिने ‘अन्डर स्लुइस गेट’ को क्षतिग्रस्त संरचनाको मर्मत गरी यसलाई सञ्चालन योग्य बनाइएको छ । मुख्य इन्टेक नजिकै रहेको कम्पनसेटिङ पोखरीमा वर्षौंदेखि थुप्रिएको बालुवा निकाल्ने कार्य पनि यसै अवधिमा सम्पन्न भएको केन्द्र प्रमुख मानजनले बताए ।  ‘लामो समयदेखि रोकिएका ठेक्का सम्झौताका कार्यहरू र मेकानिकल मर्मतलाई उच्च प्राथमिकता दिएर सम्पन्न गरिएको छ । विद्युत् गृहको युनिट नम्बर ३ को ओभरहलिङ कार्यमा केन्द्रकै कर्मचारी र अन्य जलविद्युत् केन्द्रका प्राविधिकहरूलाई संलग्न गराइएको थियो,’ उनले भने ।  बाँध क्षेत्रमा भइरहेको सिभिल मर्मतका लागि तीन सिफ्टमा २४सै घण्टा जनशक्ति परिचालन गरिएको थियो । केन्द्र प्रमुख मानजनले भने, ‘खोलाको बहाव न्यूनतम् रहेको समयमा उत्पादनमा कम असर पर्ने गरी यो मर्मतको योजना बनाइएको थियो । तालुक कार्यालय, विभाग र निर्देशनालयको विशेष समन्वय र उच्च व्यवस्थापनको सहयोगका कारण वर्षौंदेखि रोकिएका महत्वपूर्ण सिभिल कार्यहरू यस पटक सम्पन्न गर्न सफल भएका छौँ ।’ प्लान्ट सटडाउनकै अवधिमा विद्युत् गृहमा एलटी टाइप ब्रेकर बदलीलगायतका अन्य आवश्यक इलेक्ट्रिकल र मेकानिकल मर्मतका कार्य समेत सम्पन्न भएका छन् । यस मर्मतसँगै केन्द्रको उत्पादन क्षमतामा सुधार आउने र प्राविधिक जोखिम कम हुने केन्द्रले जनाएको छ ।

पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा साधारणतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल रहने अनुमान गरिएको छ ।  कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानहरू, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भाग तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना  छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बादल रहनेछ भने बाँकी भागमा आंशिक बादल रहनेछ । कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

अब बाइक साटेर कार चढ्न सकिने

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । ‘स्विच टु टियागो इभी’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टाइगो इभी घर लैजान सक्नेछन् ।  कम्पनीकाअनुसार यो विशेष क्याम्पेन मार्च १३, १४ र १५, २०२६ मा देशभर सञ्चालन हुनेछ । अभियान अन्तर्गत जुनसुकै ब्रान्डको बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो सवारीको एक्सचेन्ज गरी आकर्षक सुविधासहित टियागो इभी खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।  यस अफरमा ग्राहकहरूले केवल ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा टियागो इभी आफ्नो बनाउन सक्नेछन् । योजना अन्तर्गत पुराना दुईपाङ्ग्रे सवारीको उत्कृष्ट मूल्याङ्कन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज, र एक वर्षको सवारी कर छुट जस्ता विशेष सुविधा उपलब्ध हुनेछन् ।  त्यसैगरी ग्राहकहरूले टाटा मोटर्सका नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, साथै निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधा समेत पाउने कम्पनीले जनाएको छ ।  सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना प्रभावकारी हुने विश्वास कम्पनीको छ ।  इच्छुक ग्राहकहरूले देशभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुमहरूमा पुगेर मार्च १३, १४ र १५ का दिन उक्त अफरको लाभ लिन सक्नेछन् । 

काठमाडौंमा १०औं फर्मा एक्स्पो आयोजना गरिँदै, तयारी अन्तिम चरणमा (तस्बिरहरु)

काठमाडौं । नेपाल औषधि उत्पादक संघले काठमाडौंमा फर्मा एक्स्पो आयोजना गर्ने भएको छ । संघले काठमाडौंको भृकुटीमण्डपमा फागुन २८ देखि ३० गतेसम्म नेपाल फर्मा एक्स्पो २०८२ सञ्चालन गर्ने भएको हो । संघले एक्स्पोको तयारी अन्तिम चरणमा रहेको बताएको छ । औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताको बारेमा जनमानसमा जानकारी दिन विगत ९ वर्षदेखि एक्स्पो सञ्चालन गरिँदै आएको छ ।  औषधि प्राविधिक र फर्मासिस्टहरूलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पोको आयोजना गरिएको संघले जानकारी दिएको छ ।   

‘विदेशी औषधीको मूल्य बढिरहँदा नेपाली औषधीको मूल्य १८ वर्षदेखि यथावत छ’ {अन्तर्वार्ता}

करिब २६ वर्षदेखि नेपालमा औषधी उत्पादन गर्दै आएको क्वेस्ट फर्मास्युटिकल्सले अहिले नेपालमा करिब दुई सय प्रकारका औषधी उत्पादन गर्दै आइरहेको छ । औषधी क्षेत्रमा मेडिकल रिप्रेजेन्टेटिभको रूपमा करिब पाँच दशक काम गरेको अनुभव भएका उमेशलाल श्रेष्ठले स्थापना गरेको क्वेस्टले ७ सय जनालाई रोजगारी दिएको छ । नेपालमा औषधी उद्योग सञ्चालन गरेर काम गर्दा कस्ता व्यवधानको सामना गर्नुपर्छ लगायतका विषयमा क्वेस्ट फर्मास्युटिकल्सका अध्यक्ष उमेशलालसँग विकासन्युजकी इन्द्रसरा खड्काले गरेको कुराकानीको सम्पादित अंश ।  यो क्षेत्रमा प्रवेश गर्दा र अहिले औषधी उद्योग सञ्चालन गरी आफै नेतृत्व गर्दा कति फरक हुँदो रहेछ ? म यो क्षेत्रमा एउटा कामदारको हिसाबले छिरेको थिएँ  । संसारको सबभन्दा ठुलो औषधी कम्पनीको मार्केटिङ प्रमोसनमा थिएँ । त्यहाँ काम गर्दैगर्दा अब विदेशीको लागि धेरै काम नगरी नेपालमा गर्नुपर्छ भन्ने मेरो मनमा लाग्यो र मैले आफ्नै कम्पनी स्थापना गरेको हुँ । नजिकका तीन जना साथीहरूसँग मिलेर क्वेस्ट फर्मास्युटिकल्स सञ्चालनमा ल्याएको हौं । यो कम्पनी खोलेको करिब २६ वर्ष भयो । मिहिनेत र सबैको सहयोगले हाल हामी नेपालको नम्बर वान औषधी कम्पनीका रूपमा काम गरिरहेका छौं । आफ्नो काम गर्दा जति आनन्द आउँछ, त्यो आनन्द अरूको काम गर्दा आउँदैन । मेरो आमा सहाना प्रधान विश्वविद्यालयको प्रोफेसर हुनुहुन्थ्यो, उहाँलाई जागिरबाट निकालिएको थियो । त्यसपछि हातमुख जोर्न समस्या भयो । आयआर्जनको लागि पनि मैले काम गर्नुपर्यो । जतिबेला म १८/१९ वर्षको थिएँ । काम गर्दै जाँदा अहिले जुन स्थितिमा हाम्रो कम्पनी छ र जुन स्थानमा म छु, मलाई अत्यन्त आनन्द आउँछ । काम गर्दै जाँदा अवसर पनि हुन्छ, चुनौतीहरू पनि हुन्छन्, तपाईंले के–कस्ता चुनौती खेप्नुपर्‍यो ? आफ्नै काम गर्दा अवसर त जति पनि हुन्छ, तर आफूले गर्न भने सक्नुपर्छ । तर कर्तव्य भने थुप्रै हुन्छ । चुनौतीलाई मैले कर्तव्य मान्छु । क्वेस्ट फार्मासुटिकल्सका मेरा तीन जना मित्रले पनि कम्पनीलाई दिलोज्यान दिनुभएको छ । हामीले एक–अर्काको भरोसामा विभिन्न चुनौतीको अवसर पार गर्दै यहाँसम्म आएका हौं । उमेशलाल श्रेष्ठ । कम्पनीले कति जनालाई रोजगारी दिएको छ ? क्वेस्टले प्रत्यक्ष रूपमा करिब ७ सय जनालाई रोजगारी दिइरहेको छ ।  क्वेस्टले कति प्रकारका औषधीहरू उत्पादन गरिरहेको छ ? हामीले झन्डै २ सय किसिमका औषधी उत्पादन गरिरहेका छौं । यसमध्ये २५ प्रकारका औषधी  मधुमेह र मुटुसम्बन्धी रोगका रहेका छन् । हामीले क्षमताअनुसारको औषधी उत्पादन गरिरहेका छौं ।     क्वेस्टले उत्पादन गरिरहेको औषधी नेपाली बजारमा बिक्री वितरण अथवा बजारमा खपत कत्तिको भइरहेको छ ? हामीले उत्पादन गरिरहेका सबै औषधी नेपाली बजारमा गइरहेको छ । तर सरकारका नीति नियमले औषधी उद्योगलाई गाह्रो बनाएको छ । यो उद्योगमा धेरै प्रतिस्पर्धा छ ।  यसमा म सबैभन्दा दोषी सरकार देख्छु । अब हेरौं नयाँ सरकारले कस्तो गर्छ । नेपालको औषधी ऐन आजभन्दा झन्डै ५० वर्ष पुरानो छ । त्यो ऐन औषधी उद्योगलाई प्रवर्द्धन गर्ने खालको छैन । नेपाललाई जहिले पनि विदेशबाट औषधी आयात गरेर बचाइ राख्ने खालको ऐन हो । हुन त त्यो बेला नेपालमा औषधी उद्योग पनि थिएनन् । यो ऐन परिवर्तन नगरेसम्म, नेपाली उद्योगलाई विशेष महत्त्वका साथ अगाडि नबढाएसम्म नेपाली औषधी उद्योगको हालत यही रहिरहने छ । तपाईंहरूले उत्पादन गरिरहेका औषधी बाहिरबाट पनि आयात भइरहेका छन् ? सबै बाहिरबाटै आएका छन् । औषधीको बजारमा हाम्रो सेयर जम्मा ५० प्रतिशतमात्र छ । ५० प्रतिशत त अहिले पनि विदेशबाटै आइरहेको छ । हाम्रो मुख्य प्रतिस्पर्धी नै विदेशबाट आएको कम्पनी र त्यसमा पनि भारतीय कम्पनीहरू हुन् । औषधी सम्बन्धी ऐन, विदेशबाट आयातित औषधीले विशेषगरी तपाईंहरूलाई बाधा गरिरहेको रहेछ, यो सम्बन्धमा सरकारसँग कुरा गर्नु भएन ? पैसा नखाइकन कुन चाहिँ उद्योगको कुरा सरकारले सुन्छ ? यस्ता कुरा सरकारले सुन्दै सुन्दैन । त्यसैको परिणाम अहिलेको चुनावी नतिजा हुन सक्छ ।  नेपाल विकासोन्मुख देशबाट अब विकसित देशमा प्रवेश गर्दैछ । कारण नेताहरूको अप्रष्ट बुझाइ हो । बुझ्दै नबुझ्ने खालका नेताहरूले आफूले देशलाई यस्तो अवस्थाबाट यस्तो अवस्थामा पुर्यायौं भन्नको लागि मात्र हो । खास देश त्यस्तो अवस्थामा पुगेकै छैन ।   तपाईंहरूले उत्पादन गरेका औषधी बाहिरबाट पनि उत्तिकै आइरहेका छन्, यसले तपाईंहरूलाई कस्तो अप्ठ्यारो पर्छ ? मलाई यसमा कुनै आपत्ति छैन । स्वदेशको मात्र होइन, विदेशका औषधी उद्योगसँग पनि हाम्रो प्रतिस्पर्धा हो । प्रतिस्पर्धा नभएसम्म हामीले हामीमा निखार ल्याउन सक्दैनौं  । त्यसैले विदेशी, स्वदेशी प्रतिस्पर्धा  हामीलाई चाहिन्छ । उनीहरूलाई हेरेर हामी अगाडि बढ्ने हो । नेपाल सरकारको नीति यस्तो खालको छ कि मेरै देशमा म दोस्रो दर्जाको नागरिक भएर बस्नुपर्छ । यस्तो खालको व्यवस्था, तौरतरिका जहिलेसम्म रहन्छ, तबसम्म केही हुँदैन। नीतिमा के-कस्ता समस्या छन् ? विभिन्न समस्यामध्ये एक मूल्यको हो ।  हिजो एउटा वस्तु किन्दा १ हजार ३ सय रुपैयाँ तिर्नुपर्यो । सोही वस्तु तीन महिना अगाडि किन्दा १ हजार १ सयमा किनेको थिएँ । यो सामान्य हो कि असामान्य हो मलाई थाहा छैन । तर १८ वर्षदेखि हाम्रो औषधीको मूल्य जत्तिको त्यत्ति नै छ । १६ वर्षअगाडि फ्रिज फ्रोजन पाँच रुपैयाँमा बेचेको थिएँ, त्यसको मूल्य अहिले पनि पाँच रुपैयाँ नै छ । तर आयातित कम्पनीलाई यस्तो  रोक छैन । उनीहरूको २१ रुपैयाँ पुगिसक्यो । समस्या भनेको यस्तै हो ।  सरकारले नेपाली कम्पनीहरूलाई प्रोत्साहन गर्नुको सट्टा झन् दुरुत्साहन गरिरहेको जस्तो लाग्छ ? सरकारले त हामीलाई त झन् दबाउने काम गरिरहेको छ । ब्युरोक्रेट्सहरूले हामीलाई दबाउने अनि नेताहरू बुझ्दै नबुझ्ने । नेपाली कम्पनीलाई प्रोत्साहन गर्नुको सट्टा हरेक तरिकाबाट हामीलाई रोक्ने प्रयास भइरहेको छ । बाहिरका कम्पनीलाई नेपालमा जे गर्दा पनि छुट दिने तर हामीलाई कुनै पनि लाभ छैन । यस्तो खालको प्रवृत्ति छ ।  सरकारले के गरिदिए तपाईंहरूलाई काम गर्न सहज हुन्छ ? अरू केही गर्न पर्दैन, बस् हामीलाई र विदेशीलाई बराबरको कानुन हुनुपर्छ । एउटा फुटबल खेलमा दुई टिमलाई फरकफरक नियम हुनुभएन । एउटै नियम बने पुग्छ । हामी कुनै पनि प्रतिस्पर्धालाई आफ्नो स्तरमा राख्न सक्छौं । नेपाली उद्योगले त्यति विकास त गरेको छ नि । हामी २०/२५ वटा कम्पनीहरू छौं, हामी मिलेर अगाडि जाने हो भने एक किसिमको विदेशी अतिक्रमणलाई खत्तम गर्न नसके पनि न्यूनीकरण भने गर्न सक्छौं । औषधी उद्योग सञ्चालन गर्दा, नयाँ औषधी उत्पादन गर्न खोज्दा वा करका हिसाबले कत्तिको झन्जटिलो छ ? करमा पनि केही असमानता छ तर, म करको समस्या ठूलो मान्दिनँ । मैले भारतमा जानु पर्यो भने अनुमति पाउनै गाहो छ । भारत मात्र होइन, बंगलादेश जान पनि उत्तिकै गाह्रो छ ।  मेरो कम्पनी त्यहाँ दर्ता गर्न ५० हजार डलर लाग्छ भने एउटा प्रोडक्ट दर्ता गर्न तीन वर्षको १ हजार ५०० डलर लाग्छ । यो तुलना नेपालसँग गर्ने हो भने नेपालले भारतीय र अरू विदेशी कम्पनी दर्ता गर्न जम्मा १५ हजार रुपैयाँ लिन्छ । तपाईं आफै भन्नुहोस् रुपैयाँ र ५० हजार डलरमा कति फरक पर्छ ? नेपालमा करिब चार सय वटा कम्पनीहरू  सक्रिय छन् भने देशको राजश्व कति बढ्थ्यो होला ? त्यो विषयमा सरकारले कहिल्यै ख्याल गरेन । यस्ता यावत समस्याले हामी भारतजस्तो विशाल देशको विशाल बजारमा छिर्नै पाएका छैनौं ।  तपाईंहरूले उत्पादन गरेका औषधीको निर्यात अवस्था कस्तो छ ? कतिपय साथीहरूले औषधीहरू निर्यात गरिरहनुभएको छ । हामी पनि अब केही औषधी निर्यात गर्ने तयारीमा छौं । तर निर्यात भन्नलाई जति सजिलो छ त्यतिकै असहज पनि छ । हामी विगत तीन वर्षदेखि पाँचवटा देशमा निर्यात गर्ने तयारीमा थियौं तर सकिरहेका छैनौं ।  अनि यस्तो अवस्थामा कसरी काम गर्न सक्नुभएको छ ? धेरै कुरा सहनुपर्छ, भोग्नुपर्छ । लगानी गरिसकेपछि प्रतिफल पनि हेर्नैपर्यो । अरू कम्पनीका साथीहरूले पनि थुप्रै मिहिनेत गर्नु भएको छ, हामीले पनि गरिरहेका छौं ।  सरकारले कहिलेकाहीँ भन्छ– हामीले गरेर यस्तो भयो तर तर सरकारले गर्दा अप्ठ्यारो मात्र भएको छ । नेपाल सरकारको कानुन बाङ्गो नभएर सोझो भइदिएको भए अहिले हामी सायद ८० प्रतिशतको हाराहारीमा हुन्थ्यौं । विदेशी औषधीहरू बिक्री नै नहुनुपर्ने अवस्था आउनुपर्थ्यो । अब नयाँ सरकार आउँदै छ, अबको सरकारबाट के अपेक्षा गर्नुभएको छ ? कस्तो सरकार बन्छ, त्यसपछि मात्र अपेक्षा गर्न सकिन्छ । राम्रा मान्छे, राम्रो गर्छन् भनेर भोट दिइयो । हिजोका व्यक्तिलाई पनि राम्रै भनेर ४८ सालदेखि लगातार भोट दिएका थियौं । सबै बेकामे निस्किए  । अब सबभन्दा पहिला सरकार बन्न दिऊँ, सरकार बनिसकेपछि हाम्रो छलफल हुन्छ । अब बन्ने सरकारलाई लिएर हामी निकै आशावादी छौं ।  विदेशबाट कच्चा पदार्थ ल्याएर नेपालमा काम गर्दा कस्तो अप्ठ्यारो हुन्छ ? औषधी उद्योग चल्ने भनेकै कच्चा पदार्थले हो । हामीसँग अल्कोहलबाहेक अरू कच्चा पदार्थ छैन । हामी विशेषगरी चीन र भारतबाट कच्चा पदार्थ आयात गर्छौं । यसरी आयात गर्दा मुख्य समस्या कसैगरी त्यो कच्चा पदार्थ फेल हुन्छ कि भन्ने हो । भारत र चीनमा धेरै राम्रो कच्चा पदार्थ बन्छ हामीलाई खासै समस्या हुँदैन । कच्चा पदार्थ नेपालमै उत्पादन गर्न सकिँदैन ? हामीले गर्न सक्छौं । जस्तो पारासिटामोल, एम्पिसिलिन जस्ता एमोक्सिलिन बनाउन सक्छौं । तर नेपाल सरकारले हामीलाई निर्यात गर्न सहयोग गर्नुपर्यो । बंगलादेश एकदम विशाल बजार हो, उसले ६/७ वटा कच्चा पदार्थ बनाउँछ । बंगलादेशी सरकारले कच्चा पदार्थ विदेशबाट आयात गर्न रोक लगाएको छ । जति महँगो भएपनि बांगलादेशकै लिनुपर्ने प्रावधान छ । हाम्रो सरकारले यस्तो गर्दैन । यदि नेपाल सरकारले पनि यस्तै नियम बनाइदिने हो भने नेपालले पनि ६/७ वटा कच्चा पदार्थ बनाउ सक्छ ।  औषधी उद्योगहरू सञ्चालन गर्न प्रविधि तथा जनशक्तिको उपलब्धता नेपालमा कत्तिको छ ?  हामीसँग जनशक्ति पर्याप्त छ । प्रविधि प्रायः किन्नु पर्छ । २०/२२ वर्ष अगाडि जनशक्तिकै अभाव हुन्थ्यो, अहिले अभाव छैन । यद्यपि उच्चतम खालको जनशक्तिमा भने अलिक अभाव नै छ ।  औषधी दर्ता, लाइसेन्स र नियामक प्रक्रियामा चाहिँ कति सहज छ ? मैले लाइसेन्स अप्लाई गरें भने मैले कहिले पाउँछु स्वयं मलाई नै थाहा हुँदैन । किन रोकियो भन्ने पनि थाहा हुँदैन । मैले चार वर्ष अगाडि दिएको लाइसेन्स जस्ताको तस्तै राखेर हिजो भर्खर अप्लाई गर्नेलाई लाइसेन्स दिने चलन छ । किन त्यस्तो गर्छन् मलाई थाहा छैन । त्यसका बाबजुद पनि हाम्रो कम्पनी नेपालको नम्बर वान कम्पनी छ, यो खुसीको कुरा हो ।  तपाईंहरूको नियामक निकाय औषधी व्यवस्था विभागबाट केकस्ता चुनौतीहरू सामना गर्नु परेको छ ? समस्या त्यहीँबाट छ । मनपरितन्त्र, अपारदर्शिता छ । एउटै कुरा मैले अघि भनें १८ वर्ष भइसक्दा औषधीको मूल्य बढाउन सकेको छैन । १८ वर्षमा तपाईंको तलब कति बढ्यो, मेरो तलब कति बढ्यो, डलरको मूल्य कति बढ्यो ? । योभन्दा बेसी उदाहरण चाहिन्छ ? विदेशबाट आयात भएका औषधीको मूल्य आरामसँग बढिरहेको छ । हामीले केही गरी गल्तीले मूल्य बढाइहाल्यौं भने अर्को वर्ष नवीकरणमै रोक लागाइदिन्छ । विदेशी  कम्पनीलाई त्यो गर्ने इच्छा नभएको हो कि तागत नभएको हो, मलाई थाहा भएन । सरकारीस्तरबाट सहयोग प्राप्त गरेको भए नेपाली औषधी उद्योग विश्वस्तरीय औषधी कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्थ्यो जस्तो लाग्छ ? प्रतिस्पर्धा त हामी अहिले पनि गर्न सक्छौं, गरिरहेकै छौं । नेपाली औषधीको स्तरीयतामा प्रश्नचिन्ह अहिले छैन । छुटपुट गल्ती त सबै ठाउँमा हुन्छ । भारत, बंगलादेश इभन अमेरिकामा पनि हुन्छ । अझै पनि धेरैजना नेपाली औषधी भन्दा नाक खुम्चाउँछन् । औषधी विभिन्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार बन्छ ।  बुवा नेपालको कम्युनिस्ट नेता, आमा महिलावादी नेतृ, यस्तो परिवारमा तपाईं जन्मिनुभयो तर राजनीति छाडेर व्यवसायमा किन लाग्नुभयो ? मलाई राजनीतिप्रति कहिल्यै रुचि भएन । राजनीति गर्छु भन्ने सोच्न पनि सोचिनँ । बुवा म सानो छँदै बित्नुभयो । मेरो आमाले राजनीतिमा करिब ४ दशक बिताउनु भयो । मलाई पनि ‘तँ पनि राजनीतिमा लाग्’ भनेर थुप्रैले सल्लाह दिए । तर, मेरो आमाले एउटा परिवारको एउटा मान्छे राजनीतिमा लागे पुग्छ भन्नुभयो । त्यसपछि झन् त्यतापट्टि रुचि नै राखिनँ ।  क्वेस्टले आगामी दिनमा कसरी अगाडि बढ्ने योजना बनाएको छ ?  हामीले करिब करिब डेढ सय करोडको लगानीमा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर खोल्दै छौं । अरू नयाँ औषधीहरू पनि बजारमा ल्याउने योजना छ ।  अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ? ऐन कानुनलाई ठीक गर्नूहोस् । ऐन कानुनमा स्वदेशी कम्पनीहरूलाई बढ्ने खालको वातावरण बनाइदिनूहोस् । म सरकारसँग छुट माग्दिनँ, छुट माग्ने काम मेरो हैन । 

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा बालिकाका लागि न्यायमा पहुँच स्थापित गर्नु मात्रै मौलिक अधिकार नभई लैङ्गिक समानताको आधारस्तम्भ भएको बताएकी छन् । अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको महिलाको स्थितिसम्बन्धी आयोगको ७०औँ सभामा सम्बोधन गर्दै उनले उक्त सिद्धान्तमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ ।       नेपालले उक्त प्रतिबद्धतालाई संविधानमा सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले महिलामाथि हुने सबै प्रकारका विभेद उन्मूलनसम्बन्धी महासन्धिलगायत अन्तरराष्ट्रिय दायित्व पनि निभाइएको जानकारी दिइन् । उनले नेपालले घरेलु हिंसा, हानिकारक परम्परा, बालविवाह, मानव बेचबिखन तथा यौन दुर्व्यवहारलाई अपराधका रूपमा घोषणा गरी अपराध गर्नेलाई कानुनी दायरमा ल्याउन कानुन निर्माण गरिसकेको जानकारी दिइन् ।  मन्त्री श्रेष्ठले नेपालको न्याय प्रणालीलाई अझ प्रभावकारी र समयसापेक्ष बनाउनका लागि लैङ्गिकमैत्री अदालत स्थापना गरी न्यायिक संरचनालाई सुदृढ बनाइएको बताइएको उनको सचिवालयले जनाएको छ ।      मन्त्री श्रेष्ठले न्यायलाई सहज बनाउनका लागि सजिलो उजुरी प्रणाली, पीडित सहायता सेवा, लैङ्गिक उत्तरदायी विशेष एकाइ तथा निःशुल्क कानुनी सहायता र मेलमिलापमार्फत कानुनी सेवा विस्तार गरिरहेको बताइन् । सङ्कट प्रतिकार र आर्थिक सहयोगको सेवा मुलुकभर विस्तार गरिरहेको उनको भनाइ छ । साथै समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गर्दै सीमान्तकृत महिलालाई सहयोग गर्नुका साथै महिला सशक्तीकरणलाई प्राथमिकता दिइएको उनले उल्लेख गरिन् ।       नेपालका राजनीतिक दलले पनि लैङ्गिक समानता कायम गर्नका लागि बलियो प्रतिबद्धता जनाएका मन्त्री श्रेष्ठले बताइन् । 'राजनीतिक प्रतिबद्धता र बलियो कानुनी आधारका कारण नेपालले छोटो समयमा लैङ्गिक समानता प्रवर्द्धन तथा महिला र बालिकाको सशक्तीकरणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ', उनले भनिन् ।       मन्त्री श्रेष्ठले विद्यमान चुनौतीहरू समाधान गर्न वैश्विक समुदायलाई साझेदारी सुदृढ बनाउन, पर्याप्त स्रोत परिचालन गर्न, प्रविधिको सम्भावनालाई उपयोग गर्न, संस्थागत क्षमता अभिवृद्धि गर्न तथा साझा जिम्मेवारी बहन गर्न आह्वान गरिन् । यसमार्फत विश्वका हरेक महिला र बालिकाले कुनै पनि अवरोधबिना न्यायमा पहुँच प्राप्त गर्नसक्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिइन् ।      मन्त्री श्रेष्ठले नेपालका स्थानीय तहका अर्धन्यायिक निकाय, सेवा तथा पीडित केन्द्रित दृष्टिकोणमार्फत समावेशी र पहुँचयोग्य न्याय प्रवर्द्धन गरिरहेको बताएकी थिइन् । यसमार्फत गोपनीयता र पुनःस्थापनालाई प्राथमिकता दिइएको उनको भनाइ छ । साथै आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्था सक्षम बनाउने र महिलाको अवैतनिक स्याहारसुसारलाई मान्यता दिने जस्ता सुधारले समानता बढाउनुका साथै महिलाको गरिमालाई थप बलियो बनाएको मन्त्री श्रेष्ठले विश्वास व्यक्त गरिन् ।       उक्त कार्यक्रम यही मार्च १९ तारिखसम्म सञ्चालन हुनेछ । नेपाली प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थानीय नियोगका सरकारी अधिकारीलगायतको सहभागिता छ ।   

सिरहा जिल्ला अदालत अगाडि बम बिस्फोट

काठमाडौं । सिरहा जिल्ला अदालत अगाडि बम बिस्फोट भएको छ । जिल्ला अदालत अगाडि रहेको मधेश ल फर्ममा बुधबार सवा ४ बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।  बिस्फोटबाट ल फर्मको सिसा र भित्र रहेका कागजात र फर्निचरमा क्षति पुगेको छ ।  बम बिस्फोट भएको क्षेत्रमा प्रहरी परिचालन गरिएको सूचना अधिकारी रमेशबहादुर पालले जानकारी दिए ।

फेक रेस्क्यु प्रकरणमा हिमालयन ट्रेकिङ एण्ड एक्स्पेडिसनका सञ्चालक शेर्पा पक्राउ

काठमाडौं । फेक रेस्क्युमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन् । बुधबार पानोरामा हिमालयन ट्रेकिङ एण्ड एक्स्पेडिसनका सञ्चालक पासाङ शेर्पालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो । ५० वर्षीय शेर्पालाई सीआइबीले नियन्त्रणमा लिएको प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । गत फागुन १३ गते पनि सीआईबीले फेक रेस्क्यूमा दुई जनालाई पक्राउ गरेको थियो । त्यस्तै, यसअघि सीआईबीले ४४ वर्षीय डा. गीर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको थियो । त्यस्तै, माघ ११ गते सीआईबीले पर्वतीय क्षेत्रबाट नक्कली उद्धार कागजात तयार गरी ठगी गरेको आरोपमा विभिन्न ट्राभल एजेन्सीका ६ जनालाई पक्राउ गरिएको जानकारी दिएको थियो । सीआईबीले ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बीमाका नेपालस्थित लोकल एजेन्ट तथा हेलिकप्टर कम्पनीका सेयरधनी सञ्चालक समेतगरी जम्मा १० जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । फेक रेस्क्युमा संलग्न विमानसेवा सञ्चालक पूर्वअध्यक्षसहित दुई जना पक्राउ फेक रेस्क्युको असर : बीमा प्रिमियम दोब्बर, नेपाल ‘नो-गो डेस्टिनेसन’ बन्ने खतरा पौने ३ अर्बको बीमा रकम पचाउने षडयन्त्र, सीआईबीले गर्यो भण्डाफोर