समानुपातिकतर्फ रास्वपाले १७ लाख कटायो मत
काठमाडौं । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार समानुपातिकतर्फ करिब ३३ लाख मतगणना सम्पन्न भएको छ । आयोगका अनुसार हालसम्म ३२ लाख ९३ हजार ९४५ मत गणना भइसकेको छ । गणनाको पछिल्लो तथ्यांकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई स्पष्ट अग्रस्थानमा देखाएको छ । रास्वपाले कुल गणनाको ५० प्रतिशत अर्थात् १७ लाख ४१ हजार १५३ मत प्राप्त गर्दै पहिलो स्थानमा आफ्नो पकड बलियो बनाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ लाख ५५ हजार ९०० मत प्राप्त गरेको छ भने नेकपा एमाले ४ लाख ६४ हजार ३४१ मतसहित तेस्रो स्थानमा रहेको छ । यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले २ लाख २५ हजार ७८१ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ लाख १९ हजार ७६७ मत पाउँदै पाँचौं स्थानमा रहेको छ । अन्य दलमध्ये श्रम संस्कृति पार्टीले ६८ हजार ८४६ मत पाएको छ भने राष्ट्रिय परिवर्तन पार्टीले ४० हजार २४६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । समानुपातिकतर्फको मतगणना अझै जारी रहेको आयोगले जनाएको छ । आगामी मतपरिणामसँगै दलहरूको स्थानमा थप परिवर्तन आउन सक्ने सम्भावना रहेको छ ।
दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी
काठमाडौं । दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन् । ठगुन्नाले १८ हजार ८९१ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटम् प्रतिस्पर्धी नेपाल कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६ मत ल्याएका छन् । रास्वपाका राजेश सिंह सामन्तले ८ हजार ९३६ र नेकपाका लक्ष्मण दत्त जोशीले ३ हजार ६५ मत पाए । प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ११ जना चुनावी मैदानमा रहेका थिए । दार्चुलामा ४९ हजार ९६८ मत खसेको थियो । यहाँ ९२ हजार ९ सय ४८ मतदाता रहेका छन् ।
बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी
बाजुरा । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुराबाट नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी १७ हजार १७३ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार लालबहादुर थापालले १६ हजार ६३३ मत ल्याएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हेमराज थापाले छ हजार ३५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रकाशबहादुर शाहले तीन ४२८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केशरबहादुर शाहीले ३५२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का भूपेन्द्र विकले ३३३ मत प्राप्त गरे । यहाँ ८७ हजार ८६१ मतदाता रहेकामा ४५ हजार ३९० मत खसेको थियो । खसेको मतगणना गर्दा ४३ हजार ८९६ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।
बर्दिया क्षेत्र नम्बर १ मा रास्वपाका ठाकुर सिंह थारु निर्वाचित
काठमाडौं । बर्दिया क्षेत्र नम्बर १ बाट रास्वपा उम्मेदवार ठाकुर सिंह थारु प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शालिकराम अधिकारीलाई ३४ हजार ९८८ मतअन्तरले हराए । निर्वाचन आयोगका अनुसार ठाकुरसिंहले ४९ हजार ६३१ मत पाएर निर्वाचित हुँदा एमाले उम्मेदवार अधिकारीले १४ हजार ६४३ मत पाएका छन् । यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सन्जय कुमार गौतमले १२ हजार ७२२ र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विष्णु प्रसाद चौधरीले ९ हजार २८५ मत पाएका छन् ।
जेनजी आन्दोलन छानबिनको प्रतिवेदनको निश्कर्ष सार्वजनिक गर्छौं : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको विषयमा जाँचबुझका लागि गठित आयोगको प्रतिवेदन बुझ्दै निचोड भए पनि सार्वजनिक गर्ने बताएकी छन् । उनले स्रोत र साधनको सिमितताले आयोगको म्याद पटक पटक थप्नुपरे पनि यसले दुधको दुध पानीको पानी छुट्याएको विश्वास व्यक्त गर्दै पूरै प्रतिवेदन सार्वजनिक नगरे पनि निचोड भए पनि सार्वजनिक गर्ने बताएकी हुन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगका पदाधिकारीहरु आज प्रधानमन्त्री कार्यालय पुगेर प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताएको छ । गत भदौ २३ र २४ गतेका घटनाको मानवीय र भौतिक क्षतिको छानबिनका लागि बनाइएको सो आयोगको तेस्रो पटक थपिएको म्याद सकिनुभन्दा एक दिन अघि आयोगले प्रतिवेदन बुझाएको हो ।
जेनजी आन्दोलनमा ठूलो सुरक्षा कमजोरी देखियो, कारवाहीको सिफारिस
काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगको टोलीले प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्माले २०० जना बढीसँग सोधपुछ गरेर ९०० पेजको प्रतिवेदन तयार भएको बताए । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा गल्ती गर्नेलाई अभियोग कारवाही सिफारिस भएको उनले बताए । ‘सुरक्षा कमजोरी देखिएको छ । नाम म भन्दिनँ । २०० बढीसँग सोधपुछसँगै विज्ञसँग राय सुझाव लिइएको हो,’ ती सदस्यले भने ।
जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयमा
काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानूनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन पुगेको हो । आयोगका कर्मचारीले प्रतिवेदन र कागजातहरू बोकेर कार्यालयभित्र छिरेका छन् । उनीहरुले प्रतिवेदन बुझाएपछि पत्रकार सम्मेलन गर्ने बताइएको छ । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा आन्दोलन गरेको थियो । जस क्रममा सरकारले उनीहरूमाथि दमन गरेको र भदौ २४ गते आन्दोलनकारीहरुले विध्वंश मच्चाएको बारेमा अनुसन्धान गर्न आयोग गठन गरिएको थियो ।
सञ्चारकर्मबाट संसदमा
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल भारी मतका साथ विजयी भएका छन् । ललितपुर क्षेत्र नं २ को निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेलले ३९ हजार ९४१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत प्राप्त गरेका छन् । त्यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले पाँच हजार ५४७ मत र नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले चार हजार ५३६ प्राप्त गरेका छन् । कुल ८९ हजार ८२ मतदाता रहेको ललितपुर-२ मा ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुष गरी ६१ हजार ९७५ मतदान गरेका थिए । यस क्षेत्रमा राजनीतिक दलबाट र स्वतन्त्रसमेत गरी २३ जना उम्मेदवार रहेका थिए । अन्तरिम सरकारको सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रुपमा चार महिना काम गरेका खरेल पूर्वसञ्चारकर्मी हुन् । जेन–जी आन्दोलनपछिको सरकारमा उनको भूमिका प्रशंसनीय थियो । पूराना दललाई चुनावमा सहभागी गराउन पनि उनले सक्रिय भूमिका खेलेका थिए । उनले करिब साढे दुई दशक नेपाली सञ्चार क्षेत्रमा काम गरेको अनुभव छ । विशेष गरेर उनले टेलिभिजन प्रस्तोत्ता भएर काम गरे । २०५६ सालमा केएटिएच एफएम र इमेज च्यानल टेलिभिजनबाट सुरु भएको खरेलको पत्रकारिता यात्रा २५ वर्षभन्दा लामो छ । २०५९ असार २९ गतेदेखि निरन्तर एउटै संस्थामा आबद्ध रहे । एउटा संस्थामा लामो समय काम गरेर राम्रो प्रभाव पारेको उनको यो एउटा राम्रो विशेषता हो । उनले टेलिभिजन कार्यक्रम हटसिट सञ्चालन गरेर चर्चामा आएका थिए । मन्त्री बनेपछि पनि पत्रकार सुरेश रजकलाई सहिद घोषणा, पत्रकारिता क्षेत्रसँग सम्बन्धित नीतिगत पहल गरे । उनले अन्तरिम सरकारको मन्त्रीबाट राजीनामा दिएर रास्वपामा प्रवेश गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । दोलखाको कालिञ्चोक गाउँपालिका-सुनखानी भदौरेमा २०३९ साल साउन २२ गते जन्मिएका जगदीश खरेलले कालिनाग माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि काठमाडौं आए । खरेलले आरआर क्याम्पसबाट पत्रकारितामा आईएदेखि एमएसम्म अध्ययन पूरा गरे । औपचारिक अध्ययनमै सीमित नरही हाल उनी अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि अध्ययनरत छन् ।