विकासन्युज

कैलाली–४ मा रास्वपाका कोइराला विजयी, पाए २८ हजार ५५६ मत

कैलाली । कैलाली ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खेमराज कोइराला  प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । गतबिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपाका कोइरालाले २८ हजार ५५६ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत हरिप्रसाद आचार्यले बताए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का लेखराज भट्टले नौ हजार ४४४, नेपाली कम्युनिष्ट पार्टीका हरिराम चौधरीले पाँच हजार ६०९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजवारले एक हजार ३५८ मत प्राप्त गरे । एक लाख १५ हजार १४३ मतदाता रहेको कैलाली–४ मा प्रत्यक्षतर्फ ६१ हजार ९४१ मत खसेको निर्वाचन अधिकृत आचार्यले जानकारी दिए । त्यसमा सदर मत ५८ हजार २८३ र बदर मत तीन हजार ६५८ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।     

सरकारसँग चित्त नबुझेर एआईजीबाट राजीनामा दिए, रास्वपामा लागेको तीन महिनामै सांसद बने

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा ओलखढुङ्गाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विश्वराज पोखरेल विजयी भएका छन् । उनले १३ हजार ९५३ मत ल्याएर निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई पराजित गर्दै ५ मतले निर्वाचित भएका हुन् । अन्तिम नतिजा घोषणा भने हुन बाँकी नै रहेको छ । लुइँटेलले १३ हजार ९४८ मतामात्र पाएका छन् ।  नेपाली कम्युनिस्ट पार्टीका अम्विरबाबु गुरुङले ११ हजार २९६ मत ल्याएर तेस्रो भएका छन् भने एमाले उम्मेदवार अस्मिता थापाले १० हजार ७२० मत प्राप्त गरेर चौथो स्थानमा सीमित बनेकी छन् ।  नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले २०७९ मा पदबाट राजीनामा दिएका थिए । आफूभन्दा करिब डेढ वर्ष कनिष्ठ एआईजी धीरजप्रताप सिंहलाई महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेपछि पोखरेल असन्तुष्ट बन्दै पदबाट राजीनामा दिएका थिए ।  महानिरीक्षकको दौडमा रहेका उनलाई पाखा लगाउँदै तत्कालीन सरकारले सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले पनि धिरजप्रताप सिंहकै पक्षमा फैसला गरेपछि उनले राजीनामा दिएका थिए ।    मंसिरमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरे लगत्तैबाट उनी चुनावी अभियानमा जुटेका थिए । उनले पार्टीबाट टिकट पाएपछि ओखलढुङ्गामा सिर्जनात्मक ढङ्गबाट प्रचारप्रसार गरेका थिए ।  २०२३ सालमा ओखलढुंगामा जन्मिएका पोखरेल २०४९ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । इन्स्पेक्टर हुँदा उनले काठमाडौं उपत्यकाका तीन जिल्लाको अनुसन्धान गर्ने मुख्य जिम्मेवारी पाएको अपराध अनुसन्धान कार्यालयमा बसेर काम गरेका थिए ।  एसपी हुँदै उनी प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा, जिल्ला प्रहरी परिसर काठमाडौंको ट्वाइसी भएर काम गरे। एसएसपी हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हाले । उनले ट्राफिक प्रहरी, विमानस्थल सुरक्षा, लागूऔषध नियन्त्रण ब्यूरो जस्ता युनिटको नेतृत्व गरे ।  उनले लाइबेरिया र हाइटीमा दुई वर्ष मिसनमा काम गरेको अनुभव पनि उनीसँग छ । प्रहरी बाहेक उनीसँग थप दुई क्षेत्रको अनुभव छ । २०३९ सालमा रुम्जाटार माध्यमिक विद्यालयबाट एसएलसी पास गरेपछि उनी काठमाडौं छिरे ।  नेपाल ल क्याम्पसबाट २०४६ सालमा बीएल उत्तीर्ण गरे । अनि लोकसेवा पास गरेर न्याय सेवा अन्तर्गत डिट्ठाको जागिरे भए । डिट्ठा हुनुअघि पोखरेलले विकास सेवातर्फको खरिदारमा स्थायी नाम निकालेका थिए । विकास सेवामा पनि काम गरेका उनले प्रहरी सेवा बाहेक न्याय र विकासतर्फ गरी ७ वर्ष काम गरेको अनुभव छ । समग्रमा प्रहरीमा २९ वर्ष सहित उनले ३६ वर्ष सरकारी सेवाका तीन क्षेत्रमा काम गरेका छन् ।   

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा निर्वाचित

जलेश्वर । महोत्तरी ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार उज्ज्वलकुमार झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार उनले ३२ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल सङ्घीय समाजवादी पार्टीका मुहमद रिजवानले पाँच हजार ९६९ मत ल्याए । स्वतन्त्र उम्मेदवार रामआधार कापरले चार हजार ७९० मत, नेपाली कांग्रेसका  उम्मेदवार बजरङ्ग नेपालीले चार हजार ३२४ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  चारवटा निर्वाचन क्षेत्र रहेको महोत्तरीको निर्वाचन क्षेत्र–१ र २ मा  यसअघि नै क्रमशः रास्वपाकै प्रमोदकुमार महतो र दीपककुमार साह निर्वाचित भइसकेका छन् भने बाँकी रहेको क्षेत्र नं ४ मा पनि रास्वपाकै उम्मेदवार गौरी कुमारी फराकिलो मतान्तरले अगाडि रहेका छन् ।    

ओखलढुंगामा रास्वपाका विश्वराज पोख्रल ५ मतले विजयी

काठमाडौं । ओखलढुंगामा रास्वपाका उम्मेदवार विश्वराज पोख्रेल विजयी भएका छन् । उनले १३ हजार ९५३ मत ल्याएर विजयी भएका हुन् । उनी ५ मतले विजयी भएका हुन् । कांग्रेस उम्मेदवार कुमार लुइँटेलले १३ हजार ९४८ मतप पाएका छन् । तेस्रोमा रहेका नेपाली कम्युनिष्ट पार्टीका अम्विरबाबु गुरुङले ११ हजार २९६ मत ल्याएका छन् भने एमाले उम्मेदवार अस्मिता थापाले १० हजार ७२० मत प्राप्त गरेकी छिन् ।

डोल्पामा नेकपाका धनबहादुर बुढा विजयी

कर्णाली । एकमात्र निर्वाचन क्षेत्र भएको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का धनबहादुर बुढा विजयी भएका छन् । बुढाले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लङ्कबहादुर रोकायलाई एक हजार ४०६ मतान्तरमा छ हजार ८०२ मत ल्याएर विजयी भएका हुन् । रोकायले पाँच हजार ३९६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारी दिए ।    त्यसैगरी, नेपाली कांग्रेसका कर्णबहादुर बुढाले दुई हजार ९४७ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवसिंह ऐडीले १८१ मत प्राप्त गरेका छन् । डोल्पामा नौ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । यहाँ २५ हजार पाँच कुल मतदाता सङ्ख्या रहेको यो निर्वाचन क्षेत्रमा १६ हजार ४३७ मत खसेको थियो ।

ओली नेतृत्वबाट हट्नुपर्ने माग राख्दै एमाले मकवानपुरका अध्यक्षले दिए राजीनामा

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन  २०८२ मा नेकपा एमालेले लज्जास्पद हार व्यहोरेपछि नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा दिएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पोखरेलले जनमतको कदर र पार्टीको खराब नतिजाको नैतिक जिम्मेवारी लिँदै आजकै मितिदेखि लागू हुने गरी अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।  उनले पार्टीको केन्द्रीय नेतृत्वलाई समेत जिम्मेवारी लिएर राजीनामा दिन र पार्टी पुनर्गठनको बाटो खुला गर्न आग्रह गरेका छन् । पार्टीले भोगेको अनपेक्षित पराजयपछि पार्टीभित्र नतिजाको जिम्मेवारी लिने र नेतृत्वलाई दबाब दिनुपर्ने उनको भनाइ छ ।  नेतृत्वको कार्यशैलीप्रति कडा प्रहार गर्दै उनले लेखेका छन्, ‘यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, इष्र्या र घमण्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन ।’  पोखरेलले नेकपा माले हुँदै एमालेको ४५ वर्षे यात्रामा अहिले पार्टीले भोगेको परिणामबारे गम्भीर समीक्षा गर्नुपर्ने उल्लेख गरेका छन् ।   

मुगुमा कांग्रेसका शाही विजयी

कर्णाली । मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाही प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।   उनले पाँच हजार ६१७ मत प्राप्त गरी विजयी भएको  मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार शाहीका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार पूर्णबहादुर रोकायलाई ६१६ मतान्तरमा पाँच हजार ६१७ मत ल्याएर विजयी भएका हुन् । रोकायले पाँच हजार एक मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का चन्द्रबहादुर शाहीले दुई हजार ४४० र राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ३७१ मत प्राप्त गरेका छन् । मुगुमा सात दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । यो निर्वाचन क्षेत्रमा ३६ हजार ६०५ कुल मतदाता रहेकामा २२ हजार १६८ मत खसेको थियो ।   

झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

भद्रपुर (झापा) । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन् । झापा १ बाट रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५० मत प्राप्त गरे। झापा २ मा रास्वपाकी इन्दिरा रानामगर ६० हजार ११० मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरे। त्यसैगरी, झापा ३ बाट रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले १७ हजार २९४ मत प्राप्त गरे। झापा ४ मा रास्वपाका शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का लालप्रसाद साँवा लिम्बूले ११ हजार ९१६ मत प्राप्त गरे। त्यसैगरी, झापा ५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ६८ हजार ३४८ मत प्राप्त गरी निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।