जुम्लामा ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनीताले ल्याइन् ४२१ मत
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही १४ हजार ८१६ मतसहित विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार शाही नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीसँग ३ हजार १८१ मतान्तरसहित निर्वाचित भएका हुन् । यहाँ भण्डारीले ११ हजार ६३५ मत प्राप्त गर्दा नेकपा (एमाले) का शान्तिलाल महतले ४ हजार ५१८, नेपाली कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत तिमिल्सिनाले बताए । यहाँ रास्वपाकी विनीता कठायतले ४२१, प्रलोपाका मनऋषि धितालले ११२, नेमकिपाका बृषबहादुर रावतले ४०० प्राप्त गरे । जिल्लामा विभिन्न पार्टीका नौ र एक स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा थिए ।
चितवन-१ मा ४५ हजार बढी मतान्तरले रास्वपाका हरि ढकाल विजयी
काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीलाई ४५ हजार १७५ मतान्तरले पराजित गर्दै शानदार जीत हासिल गरेका हुन् । अन्तिम मतपरिणामअनुसार ढकालले ५८ हजार २०८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी बुर्लाकोटीले १३ हजार ३३ मत मात्रै पाए । यसैगरी नेकपा एमालेका दावा दोर्जे लामाले १० हजार ८९९ मत प्राप्त गरे भने नेकपाका कृष्ण पन्तले ४ हजार ८१ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बलराम खनालले २ हजार ३०२ मत प्राप्त गरेका छन् । ढकाल यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यतिबेला उनले नेपाली कांग्रेसका विश्व पौडेल र नेकपा एमालेका सुरेन्द्र पाण्डेलाई पराजित गरेका थिए । त्यसबेला ढकालले ३४ हजार १८९ मत ल्याउँदा पाण्डेले २६ हजार ६०८ र पौडेलले २४ हजार ९९० मत प्राप्त गरेका थिए ।
नवलपुर-२ मा रास्वपाका मनिष खनाल निर्वाचित
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनतर्फ नवलपरासी (बर्दघाट-सुस्तापूर्व) निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष खनाल निर्वाचित भएका छन् । रास्वपाका उम्मेदवार खनाल ४१ हजार ३४७ मतसहित निर्वाचित भएका हुन । नेकपा (एमाले) का तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरेका छन् । यसैगरी, नेपाली कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गरेका छन् ।
सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी, २ हजार ३९३ मत बदर
काठमाडौं । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णु बहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी भएका छन् । निर्वाचन अधिकृत कैलाश प्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का ध्रुवकुमार शाहीलाई ८ हजार ७ मतान्तरले उनी निर्वाचित भएका हुन् । यहाँ शाहीले १८ हजार ८९०, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंहले १४ हजार ७२९ र नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले २ हजार ८२८ मत प्राप्त गरे । यस निर्वाचन क्षेत्रमा १३ दलका उम्मेदवार प्रतिस्पर्धामा थिए । १ लाख २२ हजार ९०२ मतदाता रहेको यस क्षेत्रमा ७० हजार १६७ मत खसेको थियो । यहाँ २ हजार ३९३ मत बदर भएका छन् ।
चितवनमा अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक घाइते
काठमाडौं । चितवन जिल्लाको कालिका नगरपालिका-९ दब्यटारस्थित भित्री सडक खण्डमा अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदानगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको बागमती प्रदेश ०६-००१ ह ०३१५ नम्बरको अटो आज आफैँ अनियन्त्रित भई नालामा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा अटो चालक राप्ती नगरपालिका-९ का ३९ वर्षीय पूर्ण विकसहित राप्ती नगरपालिका-८ की ५६ वर्षीया विष्णुकुमारी तामाङ, राप्ती नगरपालिका-९ की २२ वर्षीया बिनि तामाङ र सोही स्थानकी अन्दाजी ५६ वर्षीया तिलक तामाङको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा आज साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए । दुर्घटनामा परी घाइते राप्ती नगरपालिका-९ की ५३ वर्षीया चिनीकुमारी गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ ।
झापा-५ मा ऐतिहासिक जित निकालेपछि बालेनले मतदातालाई भने, ‘तपाईंहरूलाई धेरै धेरै धन्यवाद’
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) विजयी भएपछि मतदातालाई धन्यवाद दिएका छन् । अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै उनले आफ्ना समर्थक र मतदातामाझ पुगेर आभार व्यक्त गरेका हुन् । केहीबेरअघि सार्वजनिक भएको अन्तिम परिणामअनुसार बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् । उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन्। एमाले अध्यक्ष ओलीले भने १८ हजार ७३४ मत प्राप्त गरेका छन्। दुवैबीच ४९ हजार ६१४ मतको फराकिलो अन्तर रहेको छ । निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपछि बालेन समर्थकहरूमाझ पुगेका थिए । त्यहाँ उनले एउटा ब्यानर देखाउँदै मतदातालाई धन्यवाद व्यक्त गरे, जहाँ लेखिएको थियो - “तपाईंहरूलाई धेरै धेरै धन्यवाद।”
सातौं संसदीय यात्रामा ओलीको दोस्रो ब्रेक, देउवासँग बराबरी गर्ने अवसर गुमाए
काठमाडौं । नेपालको संसदीय राजनीतिमा लामो समयदेखि प्रभावशाली भूमिका खेल्दै आएका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक यात्रामा २०८२ सालको प्रतिनिधिसभा निर्वाचन एउटा महत्त्वपूर्ण मोड बनेको थियो । छैटौंपटक संघीय संसद् प्रवेश गर्ने लक्ष्यसहित सातौंपटक निर्वाचनको मैदानमा उत्रिएका ओली यसपटक पराजित भएपछि उनको संसदीय यात्रामा दोस्रो ठूलो ब्रेक लागेको छ । २०४८ सालदेखि सुरु भएको ओलीको संसदीय यात्रामा यो दोस्रो हार हो । यसअघि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनले पराजय भोगेका थिए । त्यसपछि पुनः चुनाव जित्दै संसदीय उपस्थितिलाई निरन्तरता दिँदै आएका ओलीका लागि २०८२ को निर्वाचन निर्णायक अवसरका रूपमा हेरिएको थियो । तर परिणाम उनको अपेक्षाअनुसार आएन । यो हारले ओलीलाई नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको सातपटक निर्वाचन जित्ने ऐतिहासिक कीर्तिमानसँग बराबरी गर्ने अवसरबाट वञ्चित गराएको छ । ओलीको संसदीय यात्राको सुरुवात केपी शर्मा ओलीको संसदीय राजनीति २०४८ सालको आमनिर्वाचनबाट औपचारिक रूपमा सुरु भएको थियो । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय लोकतन्त्र पुनःस्थापना भएपछि भएको पहिलो संसदीय निर्वाचनमा उनी पहिलोपटक संसद् प्रवेश गरेका थिए । त्यसयता उनले नेपाली राजनीतिमा निरन्तर सक्रियता देखाउँदै आएका छन् । २०५१, २०५६, २०७०, २०७४ र २०७९ सालका निर्वाचनहरूमा उनले विजय हासिल गरेका थिए । तर २०६४ सालको संविधानसभा निर्वाचनमा भने उनले अप्रत्याशित हार बेहोर्नुपरेको थियो । त्यो समय देशभर माओवादी लहर चलिरहेका कारण धेरै स्थापित नेताहरूले पराजय भोगेका थिए । ओली पनि त्यसबाट अछुतो रहेनन् । त्यसपछि भने उनी पुनः चुनावी प्रतिस्पर्धामा फर्किए र सफल हुँदै आए ।यसरी हेर्दा ओलीले हालसम्म आठ पटक निर्वाचनमा प्रतिस्पर्धा गरेका छन् जसमा पाँच जित र तीन हारको नतिजा देखिन्छ । २०८२ सालको निर्वाचनमा जित हासिल गरेका भए उनी छैटौं जितसँगै सातौं पटक संसद् प्रवेश गर्ने अवस्थामा पुग्ने थिए । तर निर्वाचन परिणामले उनको संसदीय यात्रालाई नयाँ प्रश्नचिन्ह सहितको मोडमा ल्याइदिएको छ । २०८२ सालको प्रतिनिधिसभा निर्वाचन नेकपा एमालेका लागि रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिएको थियो । पार्टीले चुनावी रणनीति बनाउँदा अध्यक्ष ओलीलाई केन्द्रमा राखेको थियो । एमालेभित्र ओली अझै पनि सबैभन्दा प्रभावशाली नेता मानिन्थे । संगठनमाथिको उनको पकड, चुनावी अभियान सञ्चालन गर्ने क्षमता र जनतामाझको पहिचानले उनलाई पार्टीको मुख्य चुनावी अनुहार बनाएको थियो । एमालेले पनि यसै कारण ओलीलाई चुनावी अभियानको केन्द्रमा राखेर रणनीति बनाएको थियो । तर चुनावी परिणामले एमालेको अपेक्षा पूरा हुन सकेन । दोस्रो हारले रोकिएको ऐतिहासिक अवसर २०८२ सालको निर्वाचनमा भएको हारले ओलीलाई एउटा ऐतिहासिक अवसरबाट वञ्चित गराएको छ । यदि उनले यसपटक जित हासिल गरेका भए नेपाली राजनीतिमा २०४६ को परिवर्तनपछि सात पटक निर्वाचन जित्ने नेताको सूचीमा पुग्ने थिए । त्यो उपलब्धि अहिले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको नाममा मात्र छ । ओलीले विगतमा जस्तै चुनाव जित्दै आएको भए देउवासँग बराबरी गर्ने सम्भावना बलियो देखिएको थियो । तर अहिलेको हारले त्यो सम्भावनामा ठूलो ब्रेक लागेको छ । राजनीतिक वृत्तमा धेरैले यसलाई ओलीको संसदीय यात्रामा निर्णायक मोडका रूपमा हेरेका छन् । कतिपय विश्लेषकहरूका अनुसार यो हारले ओलीको सक्रिय संसदीय राजनीतिमा भविष्यबारे नयाँ बहस पनि सुरु गरेको छ । धेरै मान्छेहरू यस पराजयसँगै ओलीको संसदीय यात्रामा पूर्णविराम ठान्छन् । देउवाको सात जितको दुर्लभ कीर्तिमान नेपाली संसदीय राजनीतिमा सबैभन्दा धेरै पटक लगातार निर्वाचन जित्ने कीर्तिमान नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको नाममा छ । देउवाले २०४८ सालदेखि २०७९ सालसम्म भएका सातवटा निर्वाचनमा लगातार प्रतिस्पर्धा गरेर सबैमा विजय हासिल गरेका थिए । उनले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालका निर्वाचनहरूमा लगातार जित हासिल गरेका थिए । यो उपलब्धि नेपाली लोकतान्त्रिक इतिहासमा निकै दुर्लभ मानिन्छ । लगातार सात निर्वाचन जित्नु केवल व्यक्तिगत लोकप्रियता मात्र होइन, स्थिर राजनीतिक आधार र दीर्घकालीन जनसमर्थनको संकेत पनि हो । देउवाले विभिन्न राजनीतिक उतारचढावका बीच पनि आफ्नो निर्वाचन क्षेत्रको समर्थन कायम राख्न सफल भएका थिए । त्यसैले उनलाई नेपाली संसदीय इतिहासको सबैभन्दा सफल चुनावी नेताका रूपमा पनि हेरिन्छ । २०८२ मा देउवाको अनुपस्थिति २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा भने शेरबहादुर देउवाले प्रतिस्पर्धा नगर्ने निर्णय गरे । यसले उनको सात जितको कीर्तिमान यथावत राखेको थियो । यसै कारण ओलीका लागि त्यो कीर्तिमानसँग बराबरी गर्ने ऐतिहासिक अवसर खुलेको थियो । राजनीतिक विश्लेषक पर्शुराम घिमिरेका अनुसार यदि ओलीले यसपटक जित हासिल गरेका भए नेपाली राजनीतिमा दुई प्रभावशाली नेताको कीर्तिमान समान हुने अवस्था आउने थियो । उनका अनुसार यसलाई एकैसमयका दुई नेताहरूको चुनावी सफलताको संगमका रूपमा हेरिन्थ्यो । तर चुनावी परिणामले त्यो सम्भावनालाई रोकिदिएको छ । ओलीको हारको राजनीतिक अर्थ ओलीको पराजय केवल व्यक्तिगत हार मात्र होइन, एमालेको राजनीतिक रणनीतिमा पनि प्रभाव पार्ने घटना मानिएको छ । एमालेले चुनावी अभियानमा ओलीलाई प्रमुख अनुहार बनाएको थियो । उनको नेतृत्वमा पार्टीले चुनावी अभियान सञ्चालन गरेको थियो । तर अपेक्षित परिणाम नआएपछि एमालेभित्र पनि भविष्यको नेतृत्व र रणनीतिबारे बहस सुरु हुनसक्ने अनुमान गरिएको छ । कतिपय विश्लेषकहरूले यसलाई एमालेभित्र पुस्तान्तरणको बहसलाई बल दिने घटनाका रूपमा पनि हेरेका छन् । ओलीको संसदीय यात्राको सम्भावित अन्त्य ? २०४८ सालको आम निर्वाचनबाट सुरु भएको नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको संसदीय यात्रा २०८२ सालको प्रतिनिधिसभा निर्वाचनपछि सम्भावित अन्त्यतर्फ पुगेको विश्लेषण गरिएको छ । सातौं पटक संसद् प्रवेश गर्ने लक्ष्यसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका ओली यसपटक पराजित भएपछि उनको तीन दशकभन्दा लामो संसदीय यात्राको भविष्यबारे राजनीतिक वृत्तमा व्यापक बहस सुरु भएको छ । ओलीले २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ सालका निर्वाचनहरू जित्दै संसदीय उपस्थितिलाई निरन्तरता दिएका थिए । तर २०६४ सालको संविधानसभा निर्वाचनमा उनी पराजित भएका थिए । त्यसपछि पुनः चुनाव जित्दै सक्रिय संसदीय राजनीतिमा फर्किएका ओलीले २०८२ को निर्वाचनलाई आफ्नो राजनीतिक यात्राको अर्को महत्त्वपूर्ण मोडका रूपमा लिएका थिए । तर यसपटकको हारले उनको संसदीय यात्रामा दोस्रो तथा अन्तीम ब्रेक लागेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार उमेर, राजनीतिक अनुभव र बदलिँदो राजनीतिक परिवेशका कारण ओलीका लागि आगामी निर्वाचनमा पुनः प्रतिस्पर्धा गर्ने सम्भावना कमजोर देखिन्छ । यसले उनलाई शेरबहादुर देउवाको सात निर्वाचन जित्ने ऐतिहासिक कीर्तिमानसँग बराबरी गर्ने अवसरबाट रोकिदिएको छ । तर ओलीको राजनीतिक यात्रा भने नेपाली राजनीतिमा अत्यन्त प्रभावशाली अध्यायका रूपमा रहिरहनेछ । तीन दशकभन्दा लामो संसदीय अनुभव, प्रधानमन्त्रीका रूपमा भूमिका र एमालेको नेतृत्वमार्फत उनले नेपालको राजनीतिक इतिहासमा गहिरो छाप छोडेका छन् । २०८२ सालको निर्वाचनले केवल एउटा चुनावी परिणाम मात्र दिएको छैन, यसले नेपाली राजनीतिमा पुस्तान्तरण, नेतृत्वको निरन्तरता र लोकतान्त्रिक प्रतिस्पर्धाको नयाँ चरणबारे पनि बहस सुरु गराएको छ ।
सर्लाही-१ मा रास्वपाकी नीतिमा कार्की ३६ हजार ३१० मतान्तरसहित निर्वाचित
काठमाडौं । सर्लाही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नीतिमा भण्डारी कार्की निर्वाचित भएकी छिन् । निर्वाचन अधिकृत टीकाबहादुर थापाका अनुसार भण्डारी ३६ हजार ३१० मतान्तर अर्थात् ४४ हजार १८१ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८७१ प्राप्त गरेका छन् । यहाँ नेकपा (एमाले) का मनोजकुमार देवकोटाले ६ हजार १०१, नेपाली कम्युनिष्ट पार्टीका प्रमोद साहले ५ हजार ४९८ र जनता समाजवादी पार्टी (जसपा) नेपालका रामप्रकाश चौधरीले ३ हजार ९९१ मत प्राप्त गरेका छन् । यहाँ ७९ हजार २०७ मत खसेको थियो ।