रुपन्देही १ मा सुनिल लम्साल र ५ मा तौफिक अहमद खान विजयी
काठमाडौं । रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन् । रुपन्देही-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल लम्साल विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम परिणामअनुसार लम्साल ५४ हजार ८४५ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका हिराबहादुर खत्रीले ११ हजार ९८२ मत प्राप्त गरेका छन् भने राप्रपाका प्रज्वल बोहराले ८ हजार ३०१ मत प्राप्त गरे । यस क्षेत्रमा १ लाख ४३ हजार ८२४ मतदाता रहेकामा ६६ हजार ३७७ ले मतदान गरेका थिए । यस्तै, रुपन्देही-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तौफिक अहमद खान विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार खानले ३८ हजार ८०६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खीमलाल भट्टराईले १३ हजार १००, नेपाली कांग्रेसका भरत कुमार शाहले १२ हजार ६२४, नेपाल कम्युनिष्ट पार्टीका मोहम्मद वकिल मुसलमानले छ हजार १७६ मत प्राप्त गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा एक लाख ३४ हजार ४४२ मतदाता रहेकामा ८१ हजार ३५ मत खसेको थियो ।
ललितपुर-३ बाट रास्वपाकी तोसिमा कार्की विजयी
काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छिन् । कार्कीले ४३ हजार ९६ मत प्राप्त गरेकी छिन् । कार्कीले उनको प्रतिस्पर्धी उम्मेदवार भन्दा पाँच गुणा बढी मत ल्याएकी छिन् । यसअघि २०७९ को निर्वाचनमा पनि कार्की विजयी भएकी थिइन् । कार्कीको प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरेका छन् । साथै तेस्रोमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सन्दन थापा मगरले ६ हजार २२ मत प्राप्त गरेका छन् ।
झापा-५ मा ओलीको गढ भत्काउँदै बालेन शाहको विजयी
काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा यसपटक ऐतिहासिक र अप्रत्याशित परिणाम आएको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दशकौंदेखिको राजनीतिक गढ भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भारी मतान्तरसहित विजयी भएका छन्। रास्वपाले शाहलाई भावी प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा अघि सारेपछि देशभरको ध्यान यही निर्वाचन क्षेत्रमा केन्द्रित भएको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेनले ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। कुल खसेको मतमध्ये बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गरेका छन् भने एमाले अध्यक्ष ओली १८ हजार ७३४ मतमा सीमित भएका छन्। काठमाडौं महानगरपालिकाको प्रमुख पद त्यागेर राष्ट्रिय राजनीतिमा होमिएका बालेनका लागि यो जितले राष्ट्रिय नेतृत्वको दौडमा बलियो वैधानिकता दिएको विश्लेषण गरिएको छ। झापा-५ लामो समयदेखि केपी शर्मा ओलीको निर्विवाद किल्ला मानिँदै आएको थियो। २०४८ सालदेखि निरन्तर यस क्षेत्रबाट सक्रिय ओलीले २०५६ सालबाहेक यहाँ कहिल्यै हार व्यहोरेका थिएनन्। विशेषगरी २०७४ र २०७९ का निर्वाचनमा उनले फराकिलो मतान्तरसहित जित निकाल्दै आफ्नो ‘अजेय’ छवि बनाएका थिए। तर २०८२ को चुनावी माहोलले झापाको राजनीतिक समीकरण नै बदलिदियो। काठमाडौं महानगरमा देखाएको कार्यक्षमता र सुशासनको छविलाई रास्वपाको संगठनात्मक शक्तिले साथ दिँदा बालेनका पक्षमा मतदाताको ठूलो ध्रुवीकरण भएको देखिएको छ। २०७९ को आम निर्वाचनमा ओलीले यही क्षेत्रबाट नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गरेका थिए। त्यतिबेला ओलीले ५२ हजार ३१९ मत ल्याउँदा अधिकारीले २३ हजार ७४३ मत पाएका थिए। तर तीन वर्षमै चुनावी परिदृश्य पूर्ण रूपमा फेरिएको छ। यसपटक ओलीको मत घटेर १८ हजारमा सीमित हुनु एमालेको परम्परागत मत बैंकमा आएको ठूलो परिवर्तनको संकेत मानिएको छ। बालेनले प्राप्त गरेको ६८ हजारभन्दा बढी मतले झापा-५ मा युवा मतदाता र ‘स्विङ भोटर’ को स्पष्ट ध्रुवीकरण देखाएको छ। लामो समय सत्ताको केन्द्रमा रहेका पुराना नेतृत्वप्रति बढ्दो असन्तुष्टि र परिवर्तनको चाहनालाई बालेनले आफ्नो पक्षमा रूपान्तरण गर्न सफल भएका छन्।
गुगलका पिचाईको तलब ६९ करोड डलर, विश्वकै धेरै पारिश्रमिक पाउने सीईओ
काठमाडौं । गुगल र यसको मातृ कम्पनी अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईले नयाँ क्षतिपूर्ति योजना अन्तर्गत आगामी तीन वर्षमा अधिकतम ६९ करोड २० लाख डलरसम्म पारिश्रमिक प्राप्त गर्न सक्ने भएका छन् । अमेरिकी प्रत्याभूति तथा विनिमय आयोग (युएस सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन) मा शुक्रबार सार्वजनिक गरिएको विवरणले यस्तो जानकारी दिएको हो । नयाँ योजनाले पिचाईलाई विश्वकै सबैभन्दा धेरै पारिश्रमिक पाउने सीईओमध्ये एक बनाउने अनुमान गरिएको छ । पिचाई सन् २०१५ देखि गुगलका सीईओ रहेका छन् भने सन् २०१९ देखि अल्फाबेटको नेतृत्व सम्हाल्दै आएका छन् । योजनाअनुसार पिचाईको आधारभूत तलबमा भने परिवर्तन गरिएको छैन । उनको तीन वर्षका लागि कुल ६० लाख डलर अर्थात् वार्षिक २० लाख डलरको तलब यथावत् रहनेछ । तर उनले पाउने अधिकांश पारिश्रमिक भने कम्पनीको सेयर र प्रदर्शनसँग जोडिएको प्रोत्साहन योजनामार्फत प्रदान गरिनेछ । क्षतिपूर्तिको ठूलो हिस्सा अल्फाबेट कम्पनीको सेयरका रूपमा उपलब्ध गराइनेछ । साथै कम्पनी अन्तर्गत रहेका दुई सहायक कम्पनी-स्वायत्त सवारी साधन विकास गर्ने वायमो र ड्रोनमार्फत सामान ढुवानी सेवा प्रदान गर्ने विङका सेयर पनि यस योजनामा समावेश गरिएको छ । एसइसीमा गरिएको फाइलिङअनुसार पिचाईले वायमोबाट करिब १३ करोड डलर र विङबाट करिब ४ करोड ५० लाख डलरसम्म प्राप्त गर्न सक्ने सम्भावना देखाइएको छ । तर अन्तिम रकम भने कम्पनीको सेयरको प्रदर्शन तथा अल्फाबेटले सेयरधारकलाई दिने लाभांशको अवस्थामाथि निर्भर रहने बताइएको छ । कागजातअनुसार यदि कुनै कारणले पिचाई पदबाट हटाइएमा अझै प्रयोग गर्न बाँकी रहेका सबै स्टक विकल्पहरू उनले गुमाउनु पर्ने व्यवस्था गरिएको छ । कम्पनीले सार्वजनिक गरेको फाइलिङमा पिचाईको नेतृत्वमा कम्पनीले राम्रो प्रगति हासिल गरेको उल्लेख गरिएको छ । कम्पनीका अनुसार उनलाई दिइएको वर्तमान तथा अघिल्ला प्रोत्साहन योजनाले अल्फाबेट र यसका सेयरधारकलाई उल्लेखनीय लाभ पुर्याएको छ ।
समानुपातिकतर्फ रास्वपाले कटायो ३ लाख मत, कांग्रेस र एमाले निकै पछि
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय अग्रता कायम गरेको छ । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार रास्वपाले ३ लाख मतको ऐतिहासिक सीमा पार गरेको छ । बेलुका ६ बजेसम्म गणना भएको कुल ५ लाख ६२ हजार २५४ मतमध्ये रास्वपाले ३ लाख १ हजार ३६८ मत प्राप्त गर्दै स्पष्ट अग्रता बनाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९० हजार ७२९ मत प्राप्त गरेको छ भने नेकपा एमाले ७३ हजार ६७२ मतसहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ३१ हजार ६७० मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २३ हजार ८०५ मत पाएको छ । अन्य दलमध्ये श्रम संस्कृति पार्टीले ११ हजार ८०६ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले ८ हजार ५४ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
फेब्रुअरीमा ९२ हजारले गुमाए रोजगारी, अमेरिकाको बेरोजगारी दर ४.४ प्रतिशत पुग्यो
काठमाडौं । अमेरिकामा फेब्रुअरी महिनामा ९२ हजार रोजगारी घटेको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकी श्रम तथ्याङ्क ब्यूरोले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार अघिल्लो महिनाको तुलनामा गैर-कृषि क्षेत्रको रोजगारी उल्लेखनीय रूपमा घटेको हो । पछिल्ला पाँच महिनामध्ये तीन महिनामा रोजगारी घटेको देखिएको छ, जसले श्रम बजारमा कमजोरी बढ्दै गएको सङ्केत दिएको छ । रोजगारी घटेसँगै बेरोजगारी दर पनि बढेर ४.४ प्रतिशत पुगेको छ । स्वास्थ्य सेवा क्षेत्रमा सबैभन्दा बढी असर परेको छ । एक ठूलो स्वास्थ्य बीमा कम्पनीमा भएको हड्तालका कारण मात्र यस क्षेत्रमा २८ हजार रोजगारी घटेको बताइएको छ । त्यस्तै, रेस्टुरेन्ट क्षेत्रमा ३० हजार तथा निर्माण क्षेत्रमा ११ हजार रोजगारी कम भएको छ, जसको कारण कडा चिसो मौसम र केही क्षेत्रमा परेको भारी हिमपातलाई मानिएको छ । यसैबीच सूचना सेवा क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी खर्च कटौतीका कारण ११ हजार रोजगारी घटेको छ भने उत्पादन क्षेत्रमा पनि १२ हजार रोजगारी कम भएको छ । यद्यपि रोजगारी घटे पनि मजदुरी भने बढेको छ । औसत प्रतिघण्टा तलब मासिक रूपमा ०.४ प्रतिशत र वार्षिक रूपमा ३.८ प्रतिशतले वृद्धि भएको छ । अर्थशास्त्रीहरूका अनुसार हालको तथ्यांकले श्रम बजार अपेक्षाभन्दा कमजोर देखिएको संकेत गरेको छ । तथापि तत्काल ठूलो आर्थिक मन्दी आउने स्पष्ट संकेत भने नभएको उनीहरूको भनाइ छ । यसबीच अमेरिकी केन्द्रीय बैंकले ब्याजदरसम्बन्धी आगामी निर्णय लिनुअघि अर्थतन्त्रको अवस्थालाई नजिकबाट अध्ययन गरिरहेको बताइएको छ । साथै, इरानसँगको सम्भावित द्वन्द्वका कारण विश्व बजारमा तेलको मूल्य बढेमा त्यसले अमेरिकी अर्थतन्त्रलाई थप दबाब दिन सक्ने विश्लेषकहरुको चेतावनी छ ।
देउवाको गढ डडेल्धुरामा रास्वपाको ऐतिहासिक जित
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा यसपटक राजनीतिक समीकरण बदलिएको छ। लामो समय कांग्रेसको प्रभाव रहेको यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित हात पारेको छ। रास्वपाका उम्मेदवार डा. ताराप्रसाद जोशी १९ हजार १३१ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरे। निर्वाचनमा नेकपाका उम्मेदवार मानसिंह माल ६ हजार ८३४ मतसहित तेस्रो स्थानमा रहे भने नेकपा एमालेका चक्र स्नेहीले ३ हजार २६ मत मात्र ल्याए। न्यून मतका कारण स्नेहीको जमानत जफत भएको छ। डडेल्धुरा लामो समयदेखि कांग्रेसको बलियो गढ मानिँदै आएको थियो। २०४८ सालदेखि २०७९ सालसम्म भएका सात वटा निर्वाचनमा कांग्रेसबाट शेरबहादुर देउवा लगातार विजयी हुँदै आएका थिए। तर यसपटक देउवा उम्मेदवार नबन्दा कांग्रेसले नैनसिंह महरलाई मैदानमा उतारेको थियो।
झापा- ५ मा बालेन्द्रको ६६ हजार मत पुग्दा ओली १८ हजारमै सीमित, ३ हजार गणना बाँकी
झापा । झापा क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का उम्मेदवार बालेन्द्र शाहले अत्यधिक मतका साथ आफ्नो अग्रता कायम राखेका छन् । कुल १ लाख ६ हजार ३ सय ७२ मत खसेको यस क्षेत्रमा हालसम्म १ लाख ३ हजार ३ सय ७५ मत गणना भइसकेको छ । ताजा मतपरिणाम अनुसार बालेन्द्र शाहले ६६ हजार २०० मत प्राप्त गर्दै विजयतर्फ पाइला अगाडि बढाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ९५ मत प्राप्त गरेका छन् । शाह र ओलीबीचको मतान्तर निकै फराकिलो देखिएको छ । त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १ हजार ७५२ मत प्राप्त गरेकी छिन् भने नेकपाका रञ्जित तामाङ १ हजार ४३५ मतका साथ चौथो स्थानमा रहेका छन् । अब गणना गर्न करिब ३ हजार मत मात्र बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गणना हुन बाँकी मतभन्दा बालेन्द्र शाहको अग्रता धेरै बढी रहेकाले यस क्षेत्रमा शाहको जित सुनिश्चित प्रायः देखिएको छ ।