कञ्चनपुर–२ मा रास्वपाका बोहोरा विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपक बोहोरा विजयी भएका छन् । उनले ३३ हजार ९५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी) ले १० हजार ८२७ मत, नेकपा (एमाले) का बचनबहादुर सिंहले ६ हजार ४१८ मत, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का माधवप्रसाद पन्तले छ हजार ३३७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तिर्थराज चटौतले एक हजार ९९३ मत प्राप्त गरे ।
मोरङ–५ मा रास्वपाकी आशा झा विजयी
काठमाडौं । मोरङको क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशा झा विजयी भएकी छिन् । उनले ३० हजार ४३४ मत ल्याएर विजयी बनेकी हुन् । नेपाली कांग्रेसका फुलकुमार लालवानी ९ हजार ४१५ मतसहित दोस्रो भए । त्यस्तै, तेस्रो स्थानमा जनता समाजवादी पार्टी नेपालका राजकुमार यादवले ८ हजार ७४७ मत प्राप्त गरे । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका शिव कुमार मण्डल (केवट)ले ८ हजार ६१४ मत ल्याएका छन् भने नेकपा एमालेका मनोज कुमार अग्रवालले ६ हजार ९४५ मत ल्याएका छन् ।
कैलाली-५ मा रास्वपाका चन्द निर्वाचित
अत्तरिया । कैलाली क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाका अनुसार चन्दले ३१ हजार ९५३ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार प्रेमबहादुर आलेले सात हजार ८७६ मत र नेकपा (एमाले) का उम्मेदवार यज्ञराज ढुङ्गानाले पाँच हजार ८३९ मत प्राप्त गरेका छन् । कैलाली–५ मा कुल मतदाता सङ्ख्या एक लाख १० हजार ५३९ रहेकामा ६५ हजार ७५२ मत खसेको थियो ।
लमजुङमा रास्वपाका धर्मराज केसी विजयी
काठमाडौं । एक मात्र क्षेत्र रहेको लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धर्मराज केसी विजयी भएका छन् । उनले ३३ हजार ८९८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले १६ हजार ८७६ मत ल्याएर दोस्रो भए । नेपाली कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ ल्याएका छन् ।
अछाम–१ मा कांग्रेसका भरतबहादुर स्वाँर विजयी, झिनो मतले हारे रावल
काठमाडौं । अछाम–१ मा नेपाली कांग्रेसका भरतबहादुर स्वाँर विजयी भएका छन् । उनी १० हजार ७५९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल १० हजार २३३ मतले दोस्रोमा सीमित भए। नेकपा एमालेका दीपकबहादुर साउदले सात हजार ३८९ मत ल्याएर तेस्रो भएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले एक हजार ७३९ मत ल्याएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्रबहादुर शाहले १०२ मत ल्याएर चौथो भएका छन् ।
हिमालयन एयरलाइन्सको दुबई उडान दुई दिनको लागि रद्द
काठमाडौं । हिमालयन एयरलायन्सले आज (शनिबार) र भोलि (आइतबार)को लागि तय गरेको काठमाडौं–दुबई र दुबई–काठमाडौँं उडान अस्थायी रूपमा रद्द गरेको छ । एयरसलाइन्सले एक सूचना जारी गर्दै दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा जारी परिस्थितिका कारण उडान अ रद्द गरिएको जानकारी दिएको छ । एयरलाइन्सले यात्रुहरूलाई थप जानकारीका लागि एयरलाइन्सको आधिकारिक सामाजिक सञ्जाल तथा वेबसाइट नियमित रूपमा हेर्न अनुरोध समेत गरेको छ ।
झापा ५ मा ४३ हजारभन्दा बढीको मतान्तरले केपी ओली पछाडि
काठमाडौं । झापा निर्वाचन क्षेत्र नं. ५ को मतगणना अन्तिम चरणमा पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले भारी मतान्तरले अग्रता कायम गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहले नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४३ हजार २ सय १८ को भारी मतान्तरले पछाडि पारेका हुन् । कुल १ लाख ६ हजार ३ सय ७२ मत खसेको यस क्षेत्रमा हालसम्म ९३ हजार ९ सय ४७ मत गणना भइसकेको छ । पछिल्लो परिणाम अनुसार बालेन्द्र शाहले ५९ हजार ५ सय ६८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केपी शर्मा ओलीले १६ हजार ३ सय ५० मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसकी मन्धरा चिमरिया १ हजार ६ सय २७ मतसहित तेस्रो स्थानमा र नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङ १ हजार ३ सय २७ मतका साथ चौथो स्थानमा रहेका छन् । अब गणना गर्न केवल १२ हजार ४ सय २५ मत मात्र बाँकी रहँदा बालेन्द्र शाहको जित प्राविधिक रूपमा सुनिश्चित भइसकेको छ ।
टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको अनुरोध
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन परिणामलाई लिएर विभिन्न तह र सामाजिक सञ्जाललगायत माध्यमबाट टीकाटिप्पणी नगर्न सम्पूर्ण पार्टीपङ्तिमा आग्रह गरेको छ । सो पार्टीको केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले आज विज्ञप्ति जारी गर्दै जनताको अभिमतलाई उच्च मूल्याङ्कन गरी पूर्ण विश्वासकासाथ जवाफदेहीपूर्ण कार्यसम्पादन गर्न अनुरोध गरेका हुन् । 'निर्वाचनको पूर्ण परिणाम आउन अझै केही समय धैर्य गर्नुपर्ने देखिन्छ । यसै सन्दर्भमा पार्टीका सम्पूर्ण जिम्मेवार सदस्यलाई धैर्यपूर्वक अन्तिम परिणामको प्रतीक्षा गर्न आयोग हार्दिक अनुरोध गर्दछ', विज्ञप्तिमा भनिएको छ, 'निर्वाचनको यस घडीमा त्यस्ता गतिविधि भए गरेको कहीँकतै भेटिएमा पार्टीको विधान, कार्यविधि, आचारसंहिताका आधारमा कारबाही हुनेतर्फ आयोग सबैलाई सचेत गराउँदछ ।' पार्टीको निर्देशनविपरीत कुनै किसिमका गतिविधि नगर्न पार्टीपङ्तिलगायत सम्पूर्णमा अनुरोध गरिएको छ ।