काभ्रे २ मा रास्वपाका बदन भण्डारी निर्वाचित
काठमाडौं । काभ्रे २ मा रास्वपाका उम्मेदवार बदन भण्डारी निर्वाचित भएका छन् । भण्डारीले ५३ हजार ३४४ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यामा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधु आचार्यले १७ हजार ८६८ मत ल्याए । त्यस्तै नेकपा एमालेका अशोक व्यान्जुले १३ हजार ९४० मत प्राप्त गरे । नेकपाका बसुन्धरा हुमागाइले ८ हजार १०७ मत प्राप्त गरे ।
अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी
अर्घाखाँची । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिप्रसाद भुसाल विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेका अनुसार भुसालले ३५ हजार २३ मत प्राप्त गरे । यस क्षेत्रमा नेकपा (एमाले)का पीताम्बर भुसालले २२ हजार ६४९, नेपाली कांग्रेसका विष्णुप्रसाद खनाल (मुस्कान)ले १८ हजार ९८३, नेपाली कम्युनिष्ट पार्टीका रामबहादुर चौहानले तीन हजार ८४७ मत प्राप्त गरे । अर्घाखाँचीमा कूल एक लाख ७१ हजार ६५२ मतदाता रहेकामा ८६ हजार ६६८ मत खसेको थियो ।
दोस्रो पटक संसदमा सोविता, हालसम्मकै उच्च मतले विजयी
चितवन । चितवन-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम अत्यधिक मतसहित विजयी भएकी छन् । गौतम ५९ हजार २ सय ७७ मत ल्याएर विजयी भएकी हुन् । उनी ३८ हजार ६६२ मतान्तरले विजयी भएकी हुन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाललाई पराजित गरेकी हुन् । रेनुले २० हजार ६ सय १५ मत ल्याएर दोस्रो भइन् । यसअघि काठमाडौं-२ बाट जितेकी गौतम अहिले चितवन-३ बाट विजयी भएका हुन् । २०५२ सालमा दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी गौतमले कानुनमा स्नातक गरेकी छन् । अधिवक्ता गौतमसँग टेलिभिजन कार्यक्रम निर्माता, प्रस्तोता भएर काम गरेको अनुभव छ ।
कामबाट मन जितें, मत जित्न सकिनँ : रेनु दाहाल
काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा नेकपा उम्मेदवार रेनु दाहालले कामबाट जनताको मन जिते पनि मत जित्न नसकेको बताएकी छन् । उनले सामाजिक सञ्जालमा एक स्टास राख्दै सो कुरा बताएकी हुन् । सामाजिक सञ्जालमार्फत उनले रास्वपा उम्मेदवार सोविता गौतमलाई फेसबुकमार्फत् बधाईसमेत दिएकी छिन् । सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘मैले कामद्वारा तपाईंहरुको मन त जितेँ तर मत जित्न सकिनँ । मत जित्ने सोविता गौतमलाई धेरै धेरै बधाई भन्न चाहान्छु ।’ सामाजिक सञ्जालमा दाहालले झन्डै ३० वर्षे राजनितिक जिवनकालमा भरतपुरमा आफ्नो जीवनको उर्जाशील ९ वर्ष यस ठाउँको विकास, समृद्धि र सुशासनका लागि समर्पित गरेको उल्लेख गरेकी छिन् । त्यस्तै उनले १५ महिना नगर प्रमुखको कार्यकाल बाँकी छँदै बाहिरिएर प्रतिनिधिसभा निर्वाचन चितवन ३ बाट उम्मेदवारी दिएर निर्वाचनमा होमिएकी बताएकी छिन् । सामाजिक सञ्जालमा जनताको साथमा निरन्तर रहने उल्लेख गरेकी छिन् । उनले भनेकी छिन्, ‘चितवनबासीको हक हित, विकास र समृद्धिका लागि भने म निरन्तर साथमा हुनेछु ।’
सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल विजयी
काठमाडौं । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशिष गजुरेल विजयी भएका छन् । गजुरेलले १७ हजार ९४० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लेखनाथ दाहालले १४ हजार ७८० मत ल्याए । यसैगरी, नेकपा एमालेका मनोजजंग थापाले ११ हजार ६०६ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी सुशीला थिङले ६ हजार ७६० मत पाएकी छन् ।
झापा- ५ मा बालेन ४० हजार ५२५ मतले अगाडि
काठमाडौं । झापा- ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहले ५५ हजार ९३४ मत पाएका छन् । उनी ओलीभन्दा ४० हजार ५२५ मतले अगाडि रहेका छन् । एमालेका केपी शर्मा ओलीले १५ हजार ४०९ मत पाएका छन् । झापा ५ मा १ लाख ६ हजार ३७२ मत खसेको थियो । हालसम्म ८८ हजार ४४१ मत गणना भइसकेको छ । १७ हजार ९३१ मत गणना गर्न बाँकी रहेको छ ।
रौटहट–१ मा रास्वपाका राजेश चौधरी विजयी, पूर्वप्रधानमन्त्री नेपाल चौथो स्थानमा सीमित
रौतहट । रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । उनी २८ हजार ९४६ मतसहित विजयी भएका हुन् । नेकपा एमालेका अजय गुप्ता १० हजार ६९३ मत ल्याएर दोस्रो भए । नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ८ हजार ५७४ मत ल्याएर तेस्रो भएका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने ७ हजार ६६९ मत प्राप्त गरी चौथो स्थानमा सीमित भए ।
प्रतिनिधिसभा निर्वाचनमा पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी छन् । साथै मोरङ–६ मा रास्वपाका रुविना आर्चाय ५५ हजार ५१३ मत, कास्की–३ मा रास्वपाका बिना गुरुङ ३७ हजार ७५० मत र कैलाली–१ रास्वपाका कोमल ज्ञवाली १७ हजार ८२६ मत प्राप्त विजयी भएका छन् । दैलेख निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले १२ हजार ३७२ मतप्राप्त गरी विजयी भएका छन् । जारी मतगणनामा रास्वपाकी सोविका गौतम (चितवन–३), डा तोसिमा कार्की (ललितपुर–३), इन्दिरा थापामगर (झापा–२), निशा डाँगी (झापा–१), नीतिमा भण्डारी (सर्लाही–१), आशिका तामाङ (धादिङ–१),पुष्पाकुमारी चौधरी (सप्तरी –१) र गौरी कुमारी (महोत्तरी चार)मा अग्रस्थानमा रहेका छन् । आयोगका अनुसार हालसम्म ४५ स्थानमा नतिजा सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कूल १६५ निर्वाचन क्षेत्रमध्ये हाल ११८ स्थानमा मतगणना जारी छ ।