सिरहा-२ मा रास्वपाका यादव ३९ हजार ५६१ मत ल्याएर विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिवशङ्कर यादव विजयी भएका छन् । यस क्षेत्रका निर्वाचन अधिकृत नवराज जोशीका अनुसार यादवले ३९ हजार ५६१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र यादवले १२ हजार ८१४ मत मात्र प्राप्त गरे । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नविन यादव ६ हजार ७१३, जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार सञ्जीवकुमार यादवले ३ हजार ८७ मत मत प्राप्त गरे । यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । अर्नमा, औरही, गोलबजार, धनगढीमाई, नवराजपुर, बरियारपट्टी, लक्ष्मीपुरपतारी र सुखीपुरका विभिन्न ४१ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा कूल १ लाख १५ हजार ७५८ मतदाता रहेकामा ७३ हजार १७५ मत खसेको थियो ।
कञ्चनपुर-३ मा रास्वपाका ज्ञानेन्द्रसिंह महता विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ज्ञानेन्द्रसिंह महता २७ हजार ११८ मतसहित विजयी भएका छन् । सहायक निर्वाचन अधिकृत ताराप्रसाद जोशीका अनुसार उनले १७ हजार ६७५ मतान्तरले नेपाली कांग्रेसका हरिप्रसाद बोहरालाई पछि पार्दै विजयी भएका हुन् । कांग्रेसका उम्मेदवार बोहराले नौ हजार ४४३ मत प्राप्त गरे । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दीपकप्रकाश भट्टले सात हजार ५७५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मानबहादुर सुनारले चार हजार २८४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्णबहादुर चन्दले तीन हजार ९०२ मत प्राप्त गरे । यस क्षेत्रमा एक लाख तीन हजार ८७ मतदाता रहेकामा ५८ हजार ३६१ मत खसेको थियो ।
निर्वाचित भएलगत्तै रास्वपा नेता अस्पताल निरीक्षणमा, भने- अब गुनासो आउनु भएन
काठमाडौं । कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा सुविधाबारे जानकारी लिएका छन् । आज निर्वाचित भएपछि उनी अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुगेका थिए । उनलाई अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.अर्जुन भट्टसँग अस्पतालको अवस्था, सेवा सुविधा र समस्याबारे जानकारी दिएका थिए । बोहराले डायलाइसिस सेवाको अभावमा कुनै पनि मिर्गौला पीडित र उपचार नपाएर कसैले ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य हुनुपर्ने बताए । ‘मैले निर्वाचनको समयमा मत माग्दै जाँदा अस्पतालमा सहज रूपमा सेवा पाइँदैन, भनसुनका आधारमा उपचार हुन्छ भनेर गुनासो सुन्नुपरेको थियो,’ बोहराले भने, ‘अब उपचार सेवा सुविधाबारे गुनासो आउनुहुँदैन । सबै जना अस्पतालको सुधारमा लाग्नुपर्छ ।’ अस्पतालका डा. अर्जुन भट्टले अस्पतालको स्रोत साधनले भ्याए अनुसार सेवा प्रवाह हुँदै आएको बताए । ‘हाल जनशक्ति र भौतिक संरचना थपिँदै गएका छन्, विगतको तुलनामा रिफर हुने बिरामीको सङ्ख्या न्यून छ । बिरामीको चाप र अस्पतालमा बेड अभावका कारण सेवा दिन नसकिएको हो । त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्नेछ,’ उनले भने । बोहरा कञ्चनपुर क्षेत्र नं २ बाट २३ हजार १२५ मतान्तरसहित विजयी भएका हुन् ।
मोरङ-१ मा रास्वपाका न्यौपाने विजयी
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार यज्ञमणि न्यौपाने विजयी भएका छन् । मोरङ-१ को निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार न्यौपाने २७ हजार ३६७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार शान्ति पाख्रिन लामाले १७ हजार ५२२ मत प्राप्त गरिन् । नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर फागोले ११ हजार ९८६, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार घनश्याम खतिवडाले ९ हजार ८२३ मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा १ लाख २८ हजार ५४५ मतदाता रहेकामा ७७ हजार ५८५ मत खसेको थियो ।
समानुपातिकमा रास्वपाको अग्रता कायमै, कटायो ५ लाख मत
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम राखेको छ । प्रत्यक्षतर्फ जस्तै समानुपातिकमा पनि रास्वपाले अत्याधिक सिट जित्ने देखिएको छ । समानुपातिकको १० लाख २ हजार १८ मत गणना हुँदा रास्वपाले ५ लाख १२ हजार २१५ मत प्राप्त गरेको छ । त्यस्तै, नेपाली कांग्रेसले १ लाख ७२ हजार १७५ मत पाएको छ । नेकपा एमालेको १ लाख ३६ हजार १७६ मत छ । नेपाली कम्युनिष्ट पार्टीको ६९ हजार ७८२, राष्ट्रिय प्रजातन्त्र पार्टीको ३७ हजार २४१ र श्रम संस्कृति पार्टीको १८ हजार ४८७ छ । राष्ट्रिय परिर्वतन पार्टीले १४ हजार १६६ मत ल्याएको छ । पूर्व मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक तर्फ राष्ट्रिय परिवर्तन पार्टीको चुनाव चिह्न बाँसुरीमा भोट मागेको थियो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को ४ हजार ४२३, एकल चिह्न जाँतोको ३ हजार ५४२, जनता समाजवादी पार्टी नेपालको ३ हजार ३७२ र नेपाल मजदुर किसान पार्टीको ३ हजार २८२ मत छ । समानुपातिकबाट निर्वाचत हुन कुनै पनि दलले देशभरीबाट सदर मतको तीन प्रतिशत मत प्राप्त गर्नुपर्दछ । प्रत्यक्ष तर्फ शनिबार राती १० बजेसम्म रास्वपा ७६ स्थानमा विजयी भएको छ भने ४६ स्थानमा अग्रता लिइरहेको छ । कांग्रेसको ११ जित ७ अग्रता, एमालेको ४ जित ८ अग्रता र नेपाली कम्युनिष्ट पार्टीको ३ जित र ५ स्थानमा अग्रता छ । राप्रपाले एक स्थानमा जितेको छ भने स्वतन्त्र उम्मेदवार महावीर पुन म्याग्दीबाट निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीले ३ स्थानमा अग्रता लिएको छ ।
४५ हजार ६८० मत ल्याएर झापा १ मा रास्वपाकी निशा डाँगी विजयी
काठमाडौं । झापा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगी निर्वाचित भएकी छिन् । निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार रास्वपाका उम्मेदवार डाँगीले ४५ हजार ६८० मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका अनुसार निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका उम्मेदवार केवलराम राईले १० हजार चार, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ८३ हजार ८२२ मत खसेको थियो भने ७ हजार ७७ मत बदर भएको उनले बताए ।
ताप्लेजुङमा एमालेका क्षितिज थेवे निर्वाचित
काठमाडौं । ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे निर्वाचित भएका छन् । थेवेले १३ हजार ९६२ मत पाउँदै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गजेन्द्र प्रसाद तम्वाहाङ लिम्बुले ११ हजार ७११ मत पाए । यस्तै नेकपाका खेल प्रसाद बुढाक्षेत्रीले ६ हजार ७७५ मत पाए भने रास्वपाका वीरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत पाए । ताप्लेजुङमा जम्मा ४५ हजार ५८३ मत खसेको थियो । अघिल्लो निर्वाचनमा यस क्षेत्रमा एमालेकै योगेश भट्टराई विजयी भएका थिए ।
नेपालको पहिलो आँखा अस्पताललाई बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कार
काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरलाई यस वर्षको बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कारद्वारा सम्मानित गरिएको छ । केन्द्रीय मानन्धर सङ्घ नेपालको ७३औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रा. जगदिश नारायण मानन्धरले आँखा अस्पताल त्रिपुरेश्वरका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंलाई उक्त पुरस्कार हस्तान्तरण गरे । ५२ वर्षअघि नेपालमा पहिलो आँखा अस्पतालको रूपमा स्थापित उक्त अस्पतालले स्थापनाकालदेखि समुदायलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको योगदानस्वरूप सम्मान गरिएको हो । अस्पतालमा हाल १६ जना पूर्णकालीन नेत्र विशेषज्ञ र ४ जना ‘फेलो नेत्र विशेषज्ञ’ समेत गरी १५० जना कार्यरत छन् । अस्पतालले दिएको जानकारी अनुसार बहिरङ्ग सेवामा वार्षिक करिब २ लाख बिरामीको उपचार र १५ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरिन्छ । अस्पतालले सामुदायिक आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत वर्षैभरी निःशुल्क आँखा परीक्षण, निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया शिविर, विद्यालयस्तरीय दृष्टि परीक्षण तथा चस्मा वितरण र डायबेटिक रेटिनोपेथी परीक्षण तथा छनौट शिविर सञ्चालन गर्दै आइरहेको छ ।