विकासन्युज

ललितपुर २ मा रास्वपाको फराकिलो अग्रता

ललितपुर । पछिल्लो मत परिणामअनुसार ललितपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फराकिलो मतले अगाडि देखिएको छ । रास्वपाका उम्मेदवार जगदिश खरेलले नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले भन्दा ६ गुणा बढी मत ल्याएका छन् । खरेलले ३ हजार १९९ मत ल्याउँदा महर्जनले ४९३ मत प्राप्त गरेका हुन् । त्यस्तै,  नेकपा एमालेका प्रेम बहादुर महर्जनले ४०७ मत पाएका छन् ।

सुनसरी-१ मा अझै मतगणना हुन सकेन

काठमाडौं । सुनसरी-१ मा अझै मतगणना सुरु हुन सकेको छैन । सर्वदलीय बैठक सम्पन्न बसेर भर्खरै सकिएकाले केही समयमा मतगणना सुरु हुने निर्वाचन अधिकृत दीव्यराज घिमिरेले बताए । उनका अनुसार बैठक सम्पन्न भएकाले प्रतिनिधिको नाम आउन बाँकी छ । ‘मतगणनास्थलमा बस्ने प्रतिनिधिको नाम आएपछि मतगणना सुरु हुन्छ,’ उनले भने,’ १२ बजेदेखि मतगणना सुरु हुन सक्छ ।‘ सुनसरी १ मा कुल मतदाता सङ्ख्या १५०३९३ रहेकोमा कुल ८७८६५ मतदान भएको छ । निर्वाचन कार्यालय अनुसार सुनसरी जिल्लाको ४ निर्वाचन क्षेत्रमा खसेको कुल मतको आधारमा जिल्लामा ६४ प्रतिशत मतदान भएको छ । निर्वाचन कार्यालयद्वारा जारी तथ्याङ्क अनुसार प्रतिशतको हिसाबले निर्वाचन क्षेत्र २ मा ६४ प्रतिशत मतदान भएको छ । त्यहाँ कुल मतदाता १५८९१० रहेकोमा १०१००४ मतदान भएको छ । सुनसरी क्षेत्र ३ मा सबै भन्दा बढी कुल ७१ प्रतिशत मतदान भएको छ । त्यहाँ कुल मतदाता १३४३०२ रहेकोमा कुल ९५१८५ मतदान भएको छ । सुनसरी ४ मा ६२ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यहाँ कुल मतदाता सङ्ख्या १३७३४० रहेकोमा कुल ८५५४६ मतदान भएको जनाइएको छ ।

उपत्यकामा कांग्रेसलाई उदय शमशेरको आशा, करिब दोब्बर मतले अगाडि

ललितपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणाले आफ्नो अग्रतालाई निकै बलियो बनाएका छन्। बागमती गाउँपालिकाको मतगणना जारी रहँदा राणाले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई निकै फराकिलो मतान्तरले पछि पारेका हुन् । पछिल्लो प्राप्त विवरण अनुसार राणाको मत परिणाम उनका निकटतम प्रतिद्वन्द्वीको तुलनामा झन्डै दोब्बर देखिएको छ । राणाले ३ हजार १४४ मत प्राप्त गरेका छन् भने एमालेका चेतनाथ सञ्जेलले १ हजार ७५३ मत प्राप्त गरेका छन् ।  त्यस्तै, रास्वपाका बुद्धरत्न महर्जनले १ हजार ६५२ मत पाएका छन् ।

बालेनले १० हजार १९० मत प्राप्त गर्दा ओलीको कति ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा झापा-५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले भन्दा दोब्बर बढी मत पाएका छन् ।  ओलीले ४ हजार ८७ मत पाउँदा बालेनले १० हजार १९० मत पाएका हुन् । झापा-५ को मतगणना जारी रहेको छ ।

चितवन ३ मा सोविताको अग्रता कायमै

चितवन । पछिल्लो मत परिणामअनुसार चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतमले अग्रता कायमै राखेकी छिन् ।  रास्वपाकी उम्मेदवार  गौतमले तीन हजार ६३९ मत प्राप्त गरेकी छिन् भने नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले दुई हजार २६३ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय, चितवनले जनाएको छ । यसैगरी, नेकपा एमालेका शंकर थपलियाले ७४१ मत पाएका छन् ।  नेपाली कांग्रेसका टंक प्रसाद गुरुङले भने ४०४ मत ल्याएका छन् । 

सर्लाही-४ मा मतगणना सुरु

काठमाडौं । । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही-४ मा मतगणना सुरु भएको छ । शुक्रबार बिहान करिब सवा १० बजेदेखि मतगणना औपचारिक रूपमा सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका नेपाली कांग्रेसका सभापति गगन थापा र  राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । मतगणनाको पहिलो चरणमा बलरा नगरपालिकाका वडा नम्बर ३, ५, ६, ७, १० र ११ मा खसेको मतबाट गणना सुरु गरिएको छ। बलरा नगरपालिका रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहको गृहपालिका भएकाले प्रारम्भिक नतिजाले चुनावी प्रतिस्पर्धाको संकेत दिने अपेक्षा गरिएको छ । सर्लाही-४ मा मुख्य दलहरूबीच रोचक प्रतिस्पर्धा देखिएकाले प्रारम्भिक परिणामप्रति राजनीतिक वृत्तको विशेष चासो रहेको छ । 

रास्वपाका उम्मेदवार रञ्जु , विराजभक्त र ताेसिमा विजयी, घोषणा हुन बाँकी

काठमाडौं । रास्वपाका तीन उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा उनीहरु विजयी भएका हुन् । काठमाडौं-१ बाट रञ्जु दर्शना, काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ र ललितपुरमा तोसिममा कार्की विजयी भएका हुन् ।  रञ्जुले ​ १५ हजार ४५५ मतसहित विजयी भएकी छन् ।६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे ।  काठमाडौं-८ का उम्मेदवार श्रेष्ठले ९ हजार ३२० मत प्राप्त गर्दै फेरि संसद् यात्रा सुनिश्चित गरेका हुन् ।  उनीहरू निकटम् प्रतिस्पर्धीभन्दा धेरै अगाडि छन् । अब प्रतिस्पर्धीले सबै मत ल्याए पनि उनीहरू जित्ने अवस्थामा छन् । 

जुम्लाबाट राप्रपाले खोल्यो अग्रताको खाता, ज्ञानेन्द्र शाही अगाडि

काठमाडौं । ५० भन्दा बढी निर्वाचन क्षेत्रको मतगणना हुँदा कमजोर देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पहिलोपटक अग्रता लिएको छ । राप्रपाले जुम्ला निर्वाचन क्षेत्रबाट अग्रताको खाता खोलेको हो । मतगणनाको सुरुआती परिणामअनुसार राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाही अग्रस्थानमा रहेका छन् भने उनलाई नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले पछ्याइरहेका छन् । हालसम्म ३०० मत गणना हुँदा शाहीले १३५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले १०३ मत ल्याएका छन् । नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले २५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार शान्तिलाल महतले २३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले भने २ मत मात्र प्राप्त गरेका छन्।  यसैबीच १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।