विकासन्युज

नबिल निःशुल्क जलन उपचार शिविर सम्पन्न, ६५ जना जलनका बिरामीहरुको उपचार

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तीनदिने ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सम्पन्न भएको छ । यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त शिविरमार्फत ६५ जना जलनका बिरामीहरुले निःशुल्क उपचार पाएको बैंकले जनाएको छ ।  शिविरमा आएका २० जना बिरामीको सेती प्रादेशिक अस्पतालमै वरिष्ठ चिकित्सकहरुले शल्यक्रिया गरेका थिए भने जटिल किसिमका १८ जना बिरामीलाई काठमाडौंको सांखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको छ । नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल र सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा आयोजित उक्त शिविरमा सुदुरपश्चिम प्रदेशका विभिन्न ठाउँबाट बिरामीहरु उपचारका लागि आएका थिए । लामो समयदेखि उचित उपचार तथा शल्यक्रियाको पर्खाइमा रहेका तथा विपन्न र आर्थिक अवस्था कमजोर भएका बिरामीहरुले शिविरमा निःशुल्क उपचार पाएका थिए ।  शिविरमा आएकी दुर्गा पाण्डेले शिविरमार्फत आफूले राम्रो सेवा पाएको बताइन् । उनले शिविरमा पाँच वर्षकी छोरीको घाँटीको शल्यक्रिया गराइन् । दुई वर्षअघि तेलले पोलेर घाँटीमा समस्या भएको थियो । ‘विशेषज्ञ डाक्टरद्वारा तेलले जलेको घाउको सफलतापूर्वक शल्यक्रिया भयो । यस्तो सुविधा पाउँदा म आयोजकलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनिन् । सुषमा कोइराला मेमोरियल अस्पतालका प्रा. डा. ईश्वर लोहनीको नेतृत्वमा विशेषज्ञ चिकित्सकको टोलीले शिविरमा सेवा प्रदान गरेका थिए । ‘जटिल किसिमका बिरामीहरु जसलाई सघन उपचारको जरुरी थियो हामीले उहाँहरुलाई काठमाडौंस्थित हाम्रो अस्पतालमा रिफर गरेका छौं,’ प्रा. डा. लोहनीले जानकारी दिए ।  नेपालमा जलनका घटनासम्बन्धी समस्या ठूलो भएको उल्लेख गर्दै प्रा.डा. लोहनीले पीडितले समयमा उपचार नपाउने, धामी झांक्री कहाँ देखाउने आदिले गर्दा घाउहरु अझै बढ्ने र थप समस्या आउने बताए । शिविरले मानिसहरुलाई उचित उपचारबारेमा सचेत गरेको र भविष्यमा यस्ता कार्यक्रमले विपन्न वर्गका मानिसहरुलाई अझ लाभान्वित गर्ने उनको भनाइ थियो । आगो ताप्ने क्रममा दुवै हात जलेका ४२ वर्षिया भरत लुहारलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । जलन घाउको समयमै उचित उपचार नपाएर घाउमा किरा लागेपछि चिन्तित भएका उनले मद्दत माग्दै शिविरमा आइपुगेका थिए । ‘शिविरमा वरिष्ठ चिकित्सकबाट मेरो घाउको उपचार भयो र अब म थप उपचारका लागि काठमाडौं जाँदैछु,’ उनले भनिन् ।  नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको शिविरमा ३५  पुरुष तथा ३०  महिला गरी ६५ जना सहभागी थिए । ‘नेपालमा जलनसम्बन्धी घटनाका पीडितले अझै पनि उचित उपचार नपाएर बस्नु पर्ने अवस्था रहेकामा नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पहिलो चरणमा सुदुरपश्चिम प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनपीडितलाई लक्षित गरी शिविर आयोजना गरेको हो । शिविरमार्फत पीडितहरुले उपचार पाएका छन्,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले भने । काठमाडौंदेखि गएको विशेषज्ञ चिकित्सकहरुको टोलीले  उपचार गराएकाले शिविर सफल तथा एकदम प्रभावकारी भएको ज्ञवालीले बताए । उनले आगामी दिनमा अन्य प्रदेशमा पनि यस प्रकारका शिविर आयोजना गर्ने जानकारी दिए । धेरै मानिसहरु अझै पनि उचित उपचार नपाएर बसिरहेको र यस्ता जलन शिविरले जनताहरुलाई जलनको अत्यावश्यक उपचार उपलब्ध भइ राहत पाइने सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले बताए । जलनको उपचार सम्वेदनशील र जरुरी रहेको बताउँदै डा. पाण्डेले शिविर सञ्चालनका लागि सहयोग गरेकोमा नबिल बैंकलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि अझ सहयोगको अपेक्षा गरेको बताए ।  जलन शिविरका साथसाथै सेती प्रादेशिक अस्पतालमा आधारभुत जलन उपचार तालिम पनि सञ्चालन गरिएको थियो । सुषमा कोइराला मेमोरियल अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. राजु भण्डारीद्वारा अस्पतालका डाक्टर, नर्स, प्रशासनिक प्रमुख, सर्जनलगायत करिब ५० जनालाई तालिम प्रदान गरिएको थियो । डा. भण्डारीका अनुसार जलनको शल्यक्रिया गरिसकेपछि फलोअपमा आउने बिरामीहरुको उपचार गर्नका लागि अस्पतालका डाक्टर तथा नर्सको सिप विकासका लागि सो तालिम सञ्चालन गरिएको हो । 'यस तालिमले जलनसम्बन्धी कुनै बिरामी आएमा, डाक्टरले जाँच गरी उचित उपचार तथा सल्लाह दिन सक्नेमा हामी विश्वस्त छौं,’ उनले बताए । 

रायोसाग किलोको २५ रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २५, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ ।  यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु ४५, बन्दा (नरिबल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ४०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ६०, काउली तराई प्रतिकिलो रु ४०, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ८० र भन्टा डल्लो प्रतिकिलो रु ८५ कायम भएको छ ।  त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ८०, तिते करेला प्रतिकिलो रु १८०, घिरौँला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १५, सलगम प्रतिकिलो ५५, भिन्डी प्रतिकिलो १५०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ७० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो प्रतिकेजी रु ४०, चमसुर प्रतिकिलो रु ५०, तोरीसाग प्रतिकिलो रु २४,  मेथी प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ४०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ८०, सजीवन प्रतिकेजी रु ३००, रातो बन्दा प्रतिकिलो रु ७०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु १७०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु ५०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २८० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २१०, अङ्गुर (कालो) प्रतिकिलो रु ३२०, सुन्तला (भारतीय) प्रतिकिलो रु १६०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु १५०, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु १४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ६५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु १००, रुख कटहर प्रतिकिलो रु १२०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु २००, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३५० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १२०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४३०, खुर्सानी हरियो प्रतिकिलो रु १५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १३०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ९००, भेडे खुर्सानी प्रतिकिलो रु १३०, हरियो लसुन प्रतिकिलो रु ६०, हरियो धनियाँ प्रतिकिलो रु ६०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु १५०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्नसक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । यसका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगले सरोकार भएकाको ध्यानाकर्षण गराएको हो । फागुन २१ गते १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार २ सय ५५ मतदान केन्द्र (अस्थायी समेत)मा मतदान हुँदैछ । त्यस दिन निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने अपाङ्ग, अशक्त, ज्येष्ठ नागरिकलगायतका मतदातालाई आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि व्यवस्था मिलाउन आयोगले आह्वान गरेको हो । निर्वाचनको व्यवस्थापकीय कार्य आयोगबाट स्वीकृत कार्यतालिका बमोजिम निरन्तर जारी रहेको उल्लेख गर्दै आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सेवा सम्बन्धित मतदान स्थलमा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै स्थानीय तहमा आवश्यक सहयोगका लागि लेखी पठाइएको जानकारी उनले दिए । साथै अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन सक्नेगरी देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाइएको समेत आयोगले जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गर्न–गराउन आयोगले नेपाल सरकारलगायतका सरोकारवाला नियकासँग निरन्तर सहकार्य गर्दै निर्वाचनमा मतदाताको सार्थक सहभागिताका लागि मतदानको दिनभन्दा अघि र पछि गरी तीन दिन सार्वजनिक बिदाका लागि आयोगबाट सिफारिस भए बमोजिम नेपाल सरकारबाट निर्णयसमेत भइसकेको छ । मतदानको प्रक्रियालाई व्यवस्थित रूपमा सञ्चालन गर्न÷गराउनका लागि तहगत सरकार र सरोकारवालासँगको सहकार्यको अवधारण अनुरुप आयोगले मतदान केन्द्र कायम रहेका शिक्षण संस्था, स्वास्थ्य चौकी, बडा कार्यालयलगायतका सरकारी संरचना र ती सरकारी संरचनामा रहेका भौतिक सम्पत्ति फागुन १९ गते मङगलबारदेखि फागुन २१ गते बिहीबारसम्म तीन दिनका लागि उपयोग गर्न सक्नेगरी व्यवस्था मिलाइदिन सम्बन्धित मन्त्रालय र स्थानीय तहमा पत्राचार एवम् समन्वयका लागि सरकारलाई अनुरोध गरी गृह मन्त्रालयबाट सम्बन्धित निकायमा पत्राचारसमेत भइसकेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगबाट भएको निर्णय र पत्राचार बमोजिमका आवश्यक सहयोगको व्यवस्था मिलाउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई आयोगले आग्रह गरेको उनले बताए ।

यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ २७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११५ रुपैयाँ २४ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १८ पैसा र बिक्रीदर २१ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ ०२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९५ पैसा र बिक्रीदर २३ रुपैयाँ ०४ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ८८ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ९० पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

डलरमा भएको खर्च पनि निर्वाचन खर्चको सीमाभित्रै गणना हुने

काठमाडौं । निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारहरूले विदेशी मुद्रा (डलर) मा गरेको खर्चलाई पनि निर्वाचन आयोगले नजिकबाट ट्र्याक गरिरहेको बताएको छ ।  शुक्रवार आयोगमा आयोजित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता भट्टराईले नेपाली रुपैयाँमा होस् वा डलरमा, उम्मेदवारले गरेको सम्पूर्ण खर्च निर्वाचन खर्चको तोकिएको सीमाभित्रै गणना हुने बताएका हुन् ।  यसका साथै डलर खर्चको सन्दर्भमा वैदेशिक सटही सुविधासम्बन्धी प्रचलित कानुनहरू पनि आकर्षित हुने र सोहीअनुसार कारबाही अगाडि बढ्नसक्ने आयोगले जनाएको छ । निर्वाचनको समयमा लामो दूरीका सवारी साधनहरूको आवागमनलाई सहज बनाएको आयोगले जनाएको छ ।  आयोगले अघिल्लो दिन छुटेका सवारी साधनहरू भोलिपल्ट गन्तव्यमा पुग्दा कुनै अप्ठ्यारो नपर्ने गरी सहजीकरण गरिएको बताएको छ ।  यातायात व्यवसायीहरूलाई निर्वाचनको संवेदनशीलता बुझेर समय व्यवस्थापन गर्न आग्रह गरिएको पनि प्रवक्ता भट्टराईले जानकारी दिए । निर्वाचनमा ‘डिप फेक’ र भ्रामक सूचनाको चुनौती, ५४ प्रतिशत सामग्री एआई जेनेरेटेड  

निर्वाचनमा ‘डिप फेक’ र भ्रामक सूचनाको चुनौती, ५४ प्रतिशत सामग्री एआई जेनेरेटेड

काठमाडौं । निर्वाचन प्रचारप्रसारका क्रममा प्रवाह हुने भ्रामक सूचनामध्ये ५४ प्रतिशत ‘डिप फेक’ र एआई जेनेरेटेड रहेको पाइएको छ ।  निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनका क्रममा शुक्रबार आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन प्रचारप्रसारका क्रममा प्रवाह हुने भ्रामक सूचनामध्ये ५४ प्रतिशत ‘डिप फेक’ र एआई जेनेरेटेड रहेको पाइएको जानकारी दिए । उनका अनुसार आयोगले सामाजिक सञ्जाल कम्पनीहरूसँग मिलेर यस्ता सामग्री नियन्त्रण गर्न ‘इलेक्सन डेक्स’ स्थापना गरेको छ । निर्वाचन आयोगका लागि यो पटक प्रविधिजन्य भ्रामक सूचना, विशेषगरी ‘डिप फेक’ ठूलो चुनौतीका रूपमा देखिएको छ ।  प्रवक्ता भट्टराईकाअनुसार हाल प्रवाह भइरहेका टक्सिक र भ्रामक सूचनाहरूमध्ये ५४ प्रतिशत सामग्री आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सिर्जना गरिएको पाइएको छ ।  आयोगले युएनडीपीको सहयोगमा यस्ता सूचनाहरूको ‘ट्रेन्ड एनालाइसिस’ गरिरहेको छ । यस्ता चुनौतीलाई सम्बोधन गर्न आयोगले फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक कम्पनीहरूसँग निरन्तर सम्पर्कमा रहेको प्रवक्ता भट्टराईले बताए ।  ती कम्पनीहरूमा छुट्टै ‘इलेक्सन डेक्स’ स्थापना गरिएको छ । जसले गर्दा भ्रामक सामग्रीहरू हटाउन र रिपोर्ट गर्न ‘क्विक रेस्पोन्स’ प्राप्त भइरहेको उनको दाबी छ ।  आयोगले १८ गतेपछिको मौन अवधिमा हुन सक्ने डिजिटल चलखेललाई रोक्न उच्च प्राथमिकतामा राखेको पनि प्रवक्ता भट्टराईले जानकारी दिए ।

लुयान नेपालले ल्यायो होली अफर, १५ हजारसम्म नगद छुट

काठमाडौं । होलीको अवसर पारेर लुयान नेपालले ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना लोकप्रिय इलेक्ट्रिक स्कुटरहरूमा नगद छुटदेखि उपहारसम्मका विशेष सुविधा ल्याएको हो ।  अफरअन्तर्गत सारथी ब्राण्डका विँगर र इकुटर स्कुटरको नगद खरिदमा अधिकतम १५ हजार रुपैयाँसम्म छुट प्रदान गरिनेछ । त्यसैगरी लुयान ब्राण्डको एमएनके३ प्रो स्कुटर खरिद गर्दा १० हजार रुपैयाँसम्म नगद छुट पाइने कम्पनीले जनाएको छ ।  नगद छुटसँगै ग्राहकले प्रिमियम हेलमेट र रेनकोट पनि उपहारस्वरूप प्राप्त गर्नेछन्। यो अफर कम्पनीको मुख्य शोरुम नागपोखरी, नक्साल लगायत देशभरका अन्य शोरुममार्फत उपलब्ध हुनेछ ।  विगत ७ वर्षदेखि नेपाली बजारमा सक्रिय लुयान नेपाल ले इलेक्ट्रिक स्कुटर बिक्रीसँगै प्रभावकारी बिक्रिपछिको सेवा पनि प्रदान गर्दै आएको छ । सुपथ मूल्यमा गुणस्तरीय स्कुटर उपलब्ध गराउने कम्पनीका रूपमा परिचित लुयान नेपालसँग नेपालमै सबैभन्दा बढी सर्भिस सेन्टर र चार्जिङ सेन्टर रहेको दाबी गरिएको छ ।  हाल १ लाख ४० हजारदेखि २ लाख ६१ हजार रुपैयाँसम्मका विभिन्न मोडेलका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको कम्पनीले आगामी नयाँ वर्षमा करिब ३०० किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने तयारी समेत गरिरहेको छ । उक्त स्कुटरको परीक्षण कार्य हाल जारी रहेको कम्पनीले जनाएको छ । 

मौद्रिक नीतिको समीक्षाले आर्थिक चलायमान बनाउने सिबिफिनको विश्वास, नीतिगत लचकताको स्वागत

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सकारात्मक प्रतिक्रिया जनाएको छ ।  राष्ट्र बैंकले अवलम्बन गरेको सावधानीपूर्ण, मापनयोग्य र स्थिरतामुखी दृष्टिकोणले वर्तमान आर्थिक सुस्ततालाई चिर्दै वित्तीय क्षेत्रलाई थप सुदृढ बनाउने विश्वास सिबिफिनले लिएको छ । विश्वका उदीयमान अर्थतन्त्रहरूमा देखिएको क्रमिक सुधारको रणनीतिसँग तादाम्यता राख्दै ल्याइएको यस समीक्षाले पछिल्लो परिवेशअनुसार लक्षित संरचनात्मक सुधारका कदमहरू अघि बढाउन खोजेको सिबिफिनको ठहर छ ।  संस्थाका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता राजेश उपाध्यायद्वारा जारी विज्ञप्तिमा मौद्रिक नीतिका मुख्य मापदण्डहरूलाई यथावत राख्दै क्षेत्रगत कर्जा विस्तार र साना उद्यमलाई दिइएको प्राथमिकताले बजारमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गरिएको छ । विशेष गरी लघु, घरेलु तथा साना उद्यम कर्जा विस्तारमा प्रोत्साहन, कार्यशील पूँजी व्यवस्थाको नगद प्रवाहमा आधारित मूल्याङ्कन र कालोसूची व्यवस्थामा देखाइएको लचकतालाई सिबिफिनले महत्वपूर्ण उपलब्धिको रूपमा लिएको छ ।  यस्ता उदार व्यवस्थाहरूले हाल संकुचित बनिरहेको कर्जा प्रवाहलाई सहज बनाउँदै उत्पादनमूलक, निर्यातमूलक र रोजगारमूलक क्षेत्रमा लगानी बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । यसका साथै, विदेशी विनिमय जोखिममा गरिएको सीमा वृद्धि र पुनर्संरचना सुविधाले व्यवसायीहरूलाई थप राहत प्रदान गर्ने सिबिफिनको भनाइ छ । वित्तीय प्रणालीको आधुनिकीकरणका लागि डिजिटल पूर्वाधार र विद्युतीय भुक्तानी प्रणालीमा जोड दिनु अर्को सकारात्मक पक्ष रहेको विज्ञप्तिमा उल्लेख छ । यसले नेपालको वित्तीय प्रणालीलाई विश्वव्यापी स्तरमा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।  अल्पकालीन तरलता व्यवस्थापन र दीर्घकालीन संरचनात्मक सुधारबीच सन्तुलन कायम गर्दै ल्याइएका यी पहलहरूले समग्र बैंकिङ क्षेत्रको दिगो विकास र अर्थतन्त्रको सबलीकरणमा रचनात्मक योगदान दिने सिबिफिनले जनाएको छ । यद्यपि बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दै गएको निष्क्रिय कर्जा (एनपीएल) र गैरबैंकिङ सम्पत्तिको चुनौतीलाई भने सिबिफिनले गम्भीरताका साथ उठाएको छ । यस्ता समस्या समाधानका लागि सरोकारवाला पक्षहरूसँगको छलफल र राय सुझावका आधारमा आगामी दिनमा राष्ट्र बैंकले अझ निर्णायक नीतिगत कदम चाल्नेमा सिबिफिनले ठूलो विश्वास व्यक्त गरेको छ ।