विकासन्युज

७ महिनामा जीवन बीमा कम्पनीहरूको व्यापार १ खर्ब ११ अर्बमाथि, कसको व्यापार कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिना (साउन–माघ) सम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब ११ अर्ब रुपैयाँ बराबरको व्यवसाय आर्जन गर्न सफल भएका छन् । मंगलबार (आज) नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ७ महिनामा १४ जीवन बीमा कम्पनीहरूले १ करोड १५ लाख १३ हजार बीमालेख जारी गरेर १ खर्ब ११ अर्ब ५ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । अघिल्लो आवको यही अवधिमा बीमा कम्पनीहरुले ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ बराबरको व्यापार भित्र्याएका थिए । अघिल्लो आवको तुलनामा चालु आवको सात महिनामा बीमा कम्पनीहरूको व्यापार १६.४३ प्रतिशतले वृद्धि भएको छ ।  माघसम्ममा सर्वाधिक व्यापार भित्र्याउने कम्पनीमा नेपाल लाइफ इन्स्योेरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले सो अवधिमा २९ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १३.८१ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा नेपाल लाइफले २६ अर्ब ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेशनल लाइफले गत आवको माघसम्ममा ११ अर्ब २३ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा चालु आवको सोही अवधिमा १३ अर्ब ३१ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १८.४६ प्रतिशतले बढेको छ । तेस्रो धेरै व्यापार लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले १२ अर्ब ३ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७.७७ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले ७ महिनामा ११ अर्ब १७ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । माघसम्ममा हिमालयन लाइफले १० अर्ब ४३ करोड ६९ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ६१ करोड १६ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ६ अर्ब ६६ करोड १७ लाख रुपैयाँ, एसियन लाइफले ५ अर्ब ५६ करोड २५ लाख रुपैयाँ ,सिटिजन लाइफले ४ अर्ब ७३ करोड ९९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४ अर्ब २७ करोड ८० लाख रुपैयाँ, आइएमई लाइफले ३ अर्ब ८६ करोड ७८ लाख रुपैयाँ, मेट लाइफले ३ अर्ब ७१ करोड ९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ४८ करोड ८८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब २५ करोड ५२ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा हिमालयन लाइफको ५.४२ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापार ९३.८९ प्रतिशत, सूर्यज्योति लाइफले ११.९२ प्रतिशत, एसियन लाइफको ९.५३ प्रतिशत, सिटिजन लाइफको १८.९५ प्रतिशत, सानिमा रिलायन्सको १२.२९ प्रशित, आईएमई लाइफको ३३ प्रतिशत, मेट लाइफको. ९.९५, रिलायबल नेपालको २४.९३ प्रतिशत, प्रभु महालक्ष्मीकोे १३.८६ प्रतिशत र सन नेपाल लाइफको ४.६२ प्रतिशतले व्यापार वृद्धि भएको छ । 

साम्बाले भनिन्– सहयोग रकम दुवै खातामा नहाल्नू, मलाई उपचारमा पुग्ने रकम उठ्यो

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी अर्थात साम्बाको खातामा २४ घण्टामै डेढ करोड रुपैयाँ उठिसकेको छ । उनले सामाजिक सञ्जालमार्फत नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको जानकारी दिएकी हुन् । ‘मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ-संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ । यसले मेरो उपचार खर्च मात्र नभएर कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ,’ उनले फेसबुकमा लेखेकी छन् ।  साम्बाले आवश्यक पर्ने रकम उठिसकेकाले अब सहयोगको आवश्यकता नपर्ने पनि उल्लेख गरेकी छन् । ‘आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु, उनले भनेकी छन् । त्यस्तै, उनले कतारमा रहेका विभिन्न व्यक्ति र संस्थाले पनि सहयोगको वाचा गरेको बताएकी छन् ।  साम्बाले पुन: नेपालको जर्सी लगाएर मैदानमा उत्रिने प्रतिबद्धता पनि जनाएकी छिन् ।

सरकारले जेनजी परिषद गठन गर्ने

काठमाडौं । सरकारले जेनजी परिषद् गठन गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।  जेनजी आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारमाथि उनीहरूको माग सम्बोधनका लागि ठोस निर्णय लिन नसकेको भन्दै आलोचना हुँदै आएको छ ।  त्यसैगरी, सरकारले बीमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धि मुद्दाको कारबाही र किनारा लगाउने जिम्मेवारी जिल्ला अदालतलाई दिने निर्णय पनि गरेको सरकार प्रवक्ता समेत रहनुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

निर्वाचनका निम्ति चीनले ४० लाख डलर बराबरको अनुदान सहयोग गर्ने

काठमाडौं । चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । अनुदानस्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।  सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार बैठकले चालु आर्थिक वर्षको  बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्यण गरेको छ ।   साथै बैठकले काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश  दीवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको कामसमेत हेर्नेगरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने निर्णय गरेको छ ।      मन्त्रिपरिषद्ले बिमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने र विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मका सार्वजनिक बिदा पनि निर्धारण गरेको छ ।      बैठकले जेनजी परिषद् गठन गर्ने निर्णय पनि गरेको प्रवक्ता अर्यालले जानकारी दिए ।

पोखरामा वाडा अटो शो २०२६ आयोजना हुने, स्टल बुकिङ खुला

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रस्तुतीमा ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ । अटो शोको दोस्रो संस्करण पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित तालबाराही चोक नजिकैको खेल मैदानमा चैत ११ देखि १५ गतेसम्म सञ्चालन हुनेछ । पहिलो संस्करणको सफलतापछि सवारीसाधन खरिद–बिक्री तथा अटोमोबाइल क्षेत्रमा विकसित आधुनिक प्रविधिप्रति सवारीधनी, सम्भावित ग्राहक र सर्वसाधारणको बढ्दो चासोलाई ध्यानमा राख्दै अटो शो आयोजना गर्न लागिएको हो । अटो शोको आयोजना पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनले गर्नेछ । अटो शोमा साना, मझौला तथा ठूला सवारीसाधन, पार्टपुर्जा, लुब्रिकेन्ट, टायर तथा अटोमोबाइलसँग सम्बन्धित विभिन्न कम्पनी तथा व्यवसायीहरूलाई सहभागी हुन आह्वान गरिएको छ । प्रदर्शनीका लागि स्टल बुकिङ फागुन १२ गतेदेखि १९ गतेसम्म खुला गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज प्रा.लि.ले गर्नेछ । स्टल बुकिङ गर्न इच्छुक कम्पनी तथा संस्थाहरूले आयोजकसँग सम्पर्क गरी आवश्यक जानकारी लिन सक्नेछन् । आयोजकका अनुसार अटो शोले अटोमोबाइल क्षेत्रका नवीनतम प्रविधि, नयाँ मोडेलका सवारीसाधन तथा सम्बन्धित सेवाहरूको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।  

२०२६ को सुरुवातमै नेक्सन र पन्चले मार्यो बाजी, २३ हजारभन्दा बढी युनिट बिक्री

काठमाडौं । अग्रेंजी नयाँ वर्ष सन् २०२६ को सुरुवातसँगै भारतीय अटो बजारमा कारको प्रतिस्पर्धाले नयाँ उचाइ छोएको छ । टाटा मोटर्सले आफ्नो लोकप्रिय एसयूभी नेक्सनमार्फत बिक्रीको दौडमा सबैलाई पछि पारेको छ । यद्यपि परम्परागत बजार लिडर मारुती सुजुकीले आफ्ना विभिन्न मोडेलमार्फत आफ्नो बलियो पकड कायमै राखेको छ ।  जनवरी महिनामा टाटा मोर्टसको नेक्सनले बिक्रीमा उत्कृष्ट प्रदर्शन गर्‍यो । नेक्सनले २३ हजारभन्दा बढी युनिट बिक्री गर्दै भारतको सबैभन्दा धेरै बिक्री हुने कार बन्न सफल भएको छ । जसमा गत वर्षको सोही अवधिको तुलनामा यो ५२ प्रतिशतले वृद्धि भएको हाे । भारतीय अटो बजारमा शीर्ष सूचीमा टाटा नेक्सन, टाटा पन्च, मारुती ब्रिजा, हुन्डाई भेन्यू र मारुती फ्रोन्क्सजस्ता एसयूभीले स्थान बनाएका छन् । टाटा पन्च (ईभी सहित) १९ हजारभन्दा बढी युनिट बिक्री गर्दै तेस्रो स्थानमा उक्लिएको छ ।  हुण्डाईले १७ हजारभन्दा बढी युनिट बिक्री गरेको छ भने  टप १५ सूचीमा पर्ने मारुती डिजायर एक मात्र सेडान रहेको छ । ट्याक्सी र फ्लीट बजारमा बलियो मागका कारण यसले दोस्रो स्थान सुरक्षित गरेको बताइएको छ ।  यस्तै,अर्टिगाले करिब १८ हजार युनिट बिक्री गर्दै भारतको नम्बर १ एमपीभी बनेको छ भने स्विफ्ट ४ प्रतिशतको सामान्य वृद्धिसहित स्थिर रहेको जनाइएको छ ।  अल्टो १२ हजारभन्दा बढी युनिट बिक्री गर्दै साना सहरहरूमा ह्याचब्याक गरिरहेको बताइएको छ ।  महिन्द्राका दुई एसयूभीले बजारमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । जसमा महिन्द्रा स्कोर्पियोसहितको बिक्री स्थिर रहँदा अफ-रोड किङ महिन्द्रा थारको बिक्री झन्डै दोब्बर भएको छ । यसैबीच, ‘इन्डियन कार अफ द इयर २०२६’ को उपाधि जितेको मारुतीको नयाँ कम्प्याक्ट एसयूभी भिक्टोरिसले १५ हजारभन्दा बढी युनिट बिक्री गर्दै १० औं स्थानमा प्रवेश गरेको छ ।

ओमेगा क्यापिटल एडभाइजर्सले पायो घरजग्गा किनबेच गर्ने कानुनी अनुमति

काठमाडौं । ओमेगा क्यापिटल एडभाइजर्स प्रालिले घरजग्गा खरिद–बिक्रीसम्बन्धी कारोबार सञ्चालन गर्न नेपाल सरकारबाट आधिकारिक इजाजतपत्र प्राप्त गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले कम्पनीलाई घरजग्गा कारोबार गर्न इजाजतपत्र (इजाजतपत्र नं. बिआरके १८३५६०१) प्रदान गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको विभागबाट प्रचलित कानून तथा नियमावलीअनुसार उक्त इजाजतपत्र प्रदान गरिएको कम्पनीले जनाएको छ । इजाजतपत्रअनुसार कम्पनीले तोकिएका महानगरपालिका तथा उप–महानगरपालिका क्षेत्रभित्र कानुनी रूपमा घरजग्गा खरिद–बिक्रीसम्बन्धी कारोबार सञ्चालन गर्न सक्नेछ । साथै, इजाजतपत्रमा तोकिएको व्यवस्थाअनुसार कम्पनीले एक पटकको कारोबारमा पाँच करोड रुपैयाँभन्दा बढी वा कम जुनसुकै रकमको घरजग्गा कारोबार गर्न पाउने अधिकार प्राप्त गरेको छ । इजाजतपत्र प्राप्तिपछि कम्पनीले प्रचलित कानून तथा नियामकीय व्यवस्था पूर्ण रूपमा पालना गर्ने, पारदर्शी, जिम्मेवार र नैतिक व्यावसायिक अभ्यास अवलम्बन गर्ने, सुरक्षित तथा विश्वसनीय घरजग्गा कारोबार सेवा प्रदान गर्ने तथा ग्राहक र सरोकारवालाको हितलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनी व्यवस्थापनका अनुसार उक्त इजाजतपत्र प्राप्ति संस्थाको व्यावसायिक विश्वसनीयता, कानुनी वैधता र दीर्घकालीन विस्तारका लागि महत्त्वपूर्ण उपलब्धि भएको जनाएको छ । कम्पनीले आगामी दिनमा थप गुणस्तरीय, पारदर्शी र कानुनसम्मत घरजग्गा परामर्श तथा कारोबार सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सरकारले निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।      सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।      निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो ।