स्याङ्जामा नौ उम्मेदवारले खोले बैंक खाता
वालिङ । आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाका नौ उम्मेदवारले मात्रै हालसम्म बैंक खाता खोलेका छन् । स्याङ्जाको दुईवटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका राजनीतिक दल तथा स्वतन्त्र २४ उम्मेदवारमध्ये हालसम्म नौ जना उम्मेदवारले मात्रै बैंक खाता खोलेका हुन् । जिल्ला निर्वाचन कार्यालयबाट २४ जनामध्ये १७ जनाले बैंक खाता खोल्ने सिफारिस लगेको भए पनि हालसम्म नौ जनाले मात्रै बैंक खाता खोलेको जानकारी निर्वाचन कार्यालयमा प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख श्रीराम थापाले जानकारी दिए । निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले लिएको आर्थिक सहायता र तोकिएको खर्चको सीमाभित्र रहेर खर्च गर्नुपर्ने नियमको कार्यान्वयन गर्नका लागि उम्मेदवारले छुट्टै बैंक खाता खोली सोही मार्फत आम्दानी खर्च बुझाउनुपर्ने भएको उनले बताए । निर्वाचनका बेला हुने खर्चलाई पारदर्शी बनाउनाका साथै घुमाउरो पाराले अनियन्त्रित रूपमा हुने खर्चलाई निर्वाचनले तोकेको सीमाभित्र ल्याउनका लागि उम्मेदवारको छुट्टै बैंक खाता खोल्न भनिएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख एवम् आर्थिक कारोबार आचारसंहिता अनुगमन अधिकृत थमनारायण अर्यालले बताए । 'यस पटकको निर्वाचनमा २४ उम्मेदवार रहेका र तीमध्ये १७ जनाले बैंक खाता खोल्नका लागि सिफारिस लिएर गइसक्नुभएको छ,' अर्यालले भने, 'उम्मेदवार तथा दलहरूलाई बैंक खाता चाँडोे खोल्न ताकेता गरिरहेका छौँ, बैंक खाता खोल्नका लागि सहजीकरण भइरहेको छ ।' उम्मेदवारहरूले नगद २५ हजारभन्दा धेरै रकमको कारोबार बैंकको चेकमार्फत गर्नुपर्ने छ । सहयोगदाताले दिएको सहयोग र उम्मेदवारले गरेको खर्च सबै बैंकमार्फत गर्नका लागि जानकारी गराएर सोही अनुसार भएनभएको गोप्य तरिकाले अनुगमन भइरहेको अर्यालले जानकारी दिए । स्याङ्जाका दुईवटै निर्वाचन क्षेत्रमा अहिलेसम्म उम्मेदवारले गरेको खर्चका विषयमा कुनै पनि उजुरी आएको छैन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा न्यूनतम रु २५ लाखदेखि अधिकतम रु ३३ लाखसम्म उम्मेदवारले खर्च गर्न पाउने प्रावधान रहेको छ । स्याङ्जाका दुईवटा निर्वाचन क्षेत्रमा रहेका उम्मेदवारहरूलाई छुट्टाछुट्टै खर्चको सीमा निर्धारण गरिएको छ । स्याङ्जा क्षेत्र नं १ का उम्मेदवारहरूले अधिकतम रु ३१ लाख र क्षेत्र नं २ का उम्मेदवारहरूले अधिकतम रु २९ लाखसम्म खर्च गर्न पाउनेगरी सीमा निर्धारण भएको अर्यालले जानकारी दिए । उम्मेदवारले तोकेको खर्चको सीमाभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐनबमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने हुन्छ । निर्वाचन सकिएपछि उक्त खाता निर्वाचन आयोगले बन्द गरिदिने छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८५ लाई आयोगले सोध्यो स्पष्टीकरण, ५४ वटाको जवाफ
काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५४ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । हालसम्म ७९ जनालाई स्पष्टीकरण र छ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए । आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको हो । दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरणलगायत कारबाहीका लागि लेखी पठाइएको छ । निर्वाचन विश्लेषणका नाममा मत सर्वेक्षण गरेर दल र उम्मेदवार विशेष निर्वाचित हुँदै भनी समाचार सामग्री प्रकाशन गर्ने सेतोपाटी अनलाइनलाई पनि प्रेस काउन्सिलमार्फत नै स्पष्टीकरण सोधिएको छ । जिल्लास्तरमा समेत निर्वाचन आचारसंहिना उल्लङ्घनविरुद्धका उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेको छ । निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीको प्रक्रिया अघि बढाइरहेको छ । प्राप्त भएका ५४ वटा जवाफको अध्ययन भइरहेको पनि आयोगले जनाएको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरू क्रियाशील रहेको उनले बताए । जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रकरकोप नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । छोटो समयमै सबै जिल्लामा सरोकारवालाहरूलाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिबद्धता गराउने कार्य प्रभावकारी रूपमा भइरहेको आयोगले जनाएको छ । जिल्लास्तरमा आएका उजुरीका सम्बन्धमा जिल्लाबाटै स्पष्टीकरण सोधी जवाफ माग गरेर दोषी देखिएकालाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको पनि जनाइएको छ ।
६.८२ प्रतिशत घटेपनि डाबर नेपालको आम्दानी १५ अर्ब बढी, निर्यातमा ३.७१ प्रतिशत योगदान
काठमाडौं । डाबर नेपालले सन् २०२५ मा १५ अर्ब ६ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ६.८२ प्रतिशत अर्थात् १ अर्ब १० करोड ३० लाख रुपैयाँ कम हो । सन् २०२४ मा कम्पनीको सञ्चालन आम्दानी १६ अर्ब १६ करोड ५० लाख रुपैयाँ रहेको थियो । कम्पनीका अनुसार जुस तथा पेय पदार्थ खण्डमा बढ्दो प्रतिस्पर्धा, वैदेशिक रोजगारीका कारण घट्दो आन्तरिक उपभोग तथा समग्र आर्थिक सुस्तताले घरेलु बिक्रीमा असर पारेको छ । अघिल्ला वर्षहरूमा कम्पनीले सन् २०२३ मा १३ अर्ब ६१ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा १३ अर्ब १ करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा १० अर्ब ६९ करोड ५० लाख रुपैयाँ, सन् २०२० मा ८ अर्ब ९ करोड ६० लाख रुपैयाँ, सन् २०१९ मा १० अर्ब २५ करोड ६० लाख रुपैयाँ, सन् २०१८ मा १० अर्ब १ करोड रुपैयाँ र सन् २०१७ मा ९ अर्ब ९३ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको पीबिआइएलडीटी मार्जिन घटेर १५.८६ प्रतिशतमा झरेको छ, जसको मुख्य कारण उच्च छुट (डिस्काउन्ट) खर्च रहेको जनाइएको छ । यद्यपि यो मार्जिन कम्पनीको ऐतिहासिक १३-१४ प्रतिशतको दायराभन्दा माथि नै रहेको छ । ब्याज खर्च पनि अघिल्लो वर्षको तुलनामा घटेको छ, जसमा कार्यशील पुँजी उपयोग कम हुनु र ब्याजदरमा आएको गिरावटले सहयोग पुगेको छ । गत वर्ष ग्रस क्यास एक्रुअल २ अर्ब २४ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्ष २ अर्ब ५४ करोड रुपैयाँ थियो । सन् १९८९ मा स्थापना भई सन् १९९२ देखि उत्पादन सुरु गरेको डाबर नेपाल देशकै अग्रणी उपभोक्ता वस्तु उत्पादक तथा निर्यातकर्तामध्ये एक हो । यो भारतको बहुराष्ट्रिय कम्पनी डाबर इण्डिया लिमिटेडको स्टेप-डाउन सहायक कम्पनी हो । डाबर इण्डियाले आफ्नो पूर्ण स्वामित्वमा रहेको डाबर इन्टरनेशनल लिमिटेडमार्फत डाबर नेपालमा ९७.५० प्रतिशत सेयर स्वामित्व कायम राखेको छ । डाबर नेपालले जुस तथा पेय पदार्थ, च्यवनप्राश, ग्लुकोज, टूथपेस्ट, कपाल तेल, हाजमोला, महलगायतका उपभोक्ता वस्तु उत्पादन गर्दै आएको छ। कम्पनीसँग देशभर ३०० भन्दा बढी वितरक छन्, जसमार्फत करिब १ लाख खुद्रा बिक्री केन्द्रसम्म उत्पादन पुग्ने गरेका छन् । कम्पनीको व्यवसाय मुख्यतः खाद्य तथा पेय पदार्थ खण्डमा केन्द्रित छ, जसले कुल आम्दानीको करिब ७० प्रतिशत हिस्सा ओगट्ने गरेको छ । गत वर्ष कुल आम्दानीमध्ये करिब ६४ प्रतिशत हिस्सा निर्यातबाट आएको कम्पनीले जनाएको छ । डाबर नेपालले नेपालको कुल निर्यातमा ३.७१ प्रतिशत योगदान गरेको दाबी गरेको छ । निर्यात व्यवसाय र उल्लेखनीय योगदानका आधारमा कम्पनीले विगतमा विभिन्न सरकारी निकायबाट ‘उत्कृष्ट निर्यातकर्ता करदाता’, ‘व्यावसायिक रूपमा महत्वपूर्ण व्यक्ति’ लगायतका सम्मान तथा पुरस्कार प्राप्त गरेको जनाएको छ । कम्पनीका डाबर, रियल, हाजमोला र वाटिका ब्रान्डहरू स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा परिचित छन् । ‘रियल’ ब्रान्डअन्तर्गत करिब ४० भेरियन्टमा जुस उत्पादन हुँदै आएको छ । सन् १८८४ मा स्थापना भएको डाबर इण्डिया भारतका अग्रणी फास्ट-मुभिङ कन्ज्युमर गुड्स उत्पादकमध्ये एक हो । कम्पनीले मार्च २०२५ सम्ममा १२५ अर्ब भारतीय रुपैयाँभन्दा बढी सञ्चालन आम्दानी गरेको थियो भने फेब्रुअरी २०२६ सम्म यसको बजार पुँजीकरण करिब ८८३ अर्ब भारतीय रुपैयाँ रहेको उल्लेख छ । डाबर इण्डियाले स्वास्थ्य, व्यक्तिगत स्याहार तथा खाद्य पदार्थ क्षेत्रमा २५० भन्दा बढी हर्बल÷आयुर्वेदिक उत्पादनको पोर्टफोलियोसहित व्यवसाय सञ्चालन गर्दै आएको छ । कम्पनीका उत्पादनहरू विश्वका १२० भन्दा बढी देशमा उपलब्ध छन्, जसले यसको अन्तर्राष्ट्रिय उपस्थिति बलियो रहेको देखाउँछ । डाबर नेपालको मजबुतीमा डाबर इण्डियाको अनुभव र विशेषज्ञताको महत्वपूर्ण भूमिका रहेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब ६ अर्ब ६० करोड रुपैयाँ ऋण लिएको जनाएको छ । साथै, कच्चा पदार्थको मूल्यमा उतारचढाव, ब्याजदरको अस्थिरता, कडा प्रतिस्पर्धा तथा नियामकीय जोखिमले व्यवसायमा असर पार्न सक्ने कम्पनीले जनाएको छ ।
नेशनल लाईफको ३९ वर्ष पूरा, सामाजिक र प्रविधिमुखी कार्यक्रमलाई प्राथमिकता
काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेडले ३९औँ वार्षिकोत्सव सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । काठमाडौंस्थित होटल ह्यात सेण्ट्रिकमा आयोजित समापन समारोहको उद्घाटन कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी गरेकी थिइन् । उक्त अवसरमा अध्यक्ष सिंहले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण योगदान गर्ने कर्मचारी, अभिकर्ता, बीमित, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गरिन् । उनले सेवाग्राहीलाई उच्चस्तरीय र सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले कर्मचारीलाई प्रविधिमा दक्ष बनाउनेतर्फ कम्पनीले विशेष ध्यान दिइरहेको बताउँदै प्रशासनिक कर्मचारीलाई आर्टिफिसियल इण्टिलिजेन्स (एआई) सम्बन्धी विस्तृत तालिम प्रदान गरिएको जानकारी दिइन्। साथै, यस्ता तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले उल्लेख गरिन् । समारोहमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्मचारी, अभिकर्ता, बीमित तथा सरोकारवालाको सहयोग र सद्भावका कारण कम्पनीले छुट्टै पहिचान बनाउन सफल भएको बताए । उनले भविष्यमा पनि यस्तै सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै नियामक निकाय तथा सम्बन्धित संस्थाहरूको मार्गदर्शनप्रति कृतज्ञता व्यक्त गरे । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगृह तारकेश्वरमा शैक्षिक सामग्री वितरण, बालबालिकालाई भोजन व्यवस्था तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ । साथै, देशभरका प्रदेश तथा शाखा कार्यालयमार्फत वृद्धाश्रम, बालकल्याण संस्था तथा मानव सेवा आश्रमहरूमा पनि विभिन्न सामाजिक कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । कर्मचारीहरूको शारीरिक तथा मानसिक सक्षमता अभिवृद्धि गर्ने उद्देश्यले अन्तरकर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेट, फुटसल, टेबल टेनिस तथा बुद्धिचाललगायत खेलहरू आयोजना गरिएको थियो । समापन समारोहमा अध्यक्ष सिंहले खेलकुदमा विजयी कर्मचारीलाई पदक तथा प्रमाणपत्र, रक्तदाता कर्मचारीलाई प्रमाणपत्र तथा सांस्कृतिक प्रस्तुति दिने कर्मचारीलाई मायाको चिनो प्रदान गरेकी थिइन् ।
निर्वाचनको वातावरण बनिसक्यो, अब आचारसंहिता पालना गरौं: उपसभापति शर्मा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनको वातावरण बन्दै गएकाले दुविधामा नपर्न आग्रह गरेका छन् । नेपाल प्रेस युनियन झापाले सोमबार (आज) मेचीनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन सफल बनाउन निर्वाचन आयोग, सरकार, राजनीतिक दल र मिडियाको महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिए । उनले भने, ‘निर्वाचन हुनका लागि वातावरण चाहिन्छ । अहिले वातावरण बनेको छ । निर्वाचनको विपक्षमा कोही दल थिए भने पनि अहिले उहाँहरू निर्वाचनमा सहभागी हुनुहुन्छ ।’ निर्वाचन हुनका लागि अहिले बनेको अनुकूल वातावरणलाई थप अनुकूलतातर्फ लैजाने कर्तव्य राज्यको भएको उल्लेख गर्दै उनले निर्वाचनको वातावरणमा असर पु¥याउने आचारसंहिता विपरीतका कुनै गतिविधि नगर्न राजनीतिक दललाई आग्रह गरे । उपसभापति शर्माले भने, ‘विचार र व्यक्तित्वको प्रतिस्पर्धाको महायज्ञ हो । तसर्थ फागुन २१ कै मितिमा निर्वाचन सम्पन्न गराउन जरुरी छ ।’ पत्रकारले राखेका विभिन्न जिज्ञासाको उत्तर दिने क्रममा उनले अहिलेको चुनावमा कुन दलले जित्ने र कुनले हार्ने भन्ने भन्दा जेनजी पुस्ताको विद्रोहपछिको विषम परिस्थितिलाई कसले देशलाई सम्हाल्ने भन्ने सवाल महत्त्वपूर्ण भएको बताए ।
धादिङमा भएको बस दुर्घटनाप्रति रास्वपाद्वारा दु:ख व्यक्त
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धादिङमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस आज बिहान १ः३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका भैंसेगौडामा दुर्घटना भएको थियो । उक्त बस त्रिशूली नदी किनारमा खस्दा १८ जनाको मृत्यु भएको छ । उक्त घटनामा ज्यान गुमाएका सबैप्रति पार्टीले श्रद्धाञ्जली अर्पण गर्दै मृतात्माको चिरशान्तिको कामना गरेको छ । रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले जारी गरेको शोक विज्ञप्तिमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?
काठमाडौं । सामाजिक सुरक्षा कोषको खातामा योगदानकर्ताले जम्मा गरेको रकम १ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ नाघेको छ । आइतबार अर्थात् (फागुन १० गतेसम्म) को तथ्यांकअनुसार कोषमा १ खर्ब २ अर्बभन्दा बढी रकम संकलन भएको हो । विसं २०७५ मंसिर ११ गते औपचारिक रूपमा सामाजिक सुरक्षा योजना सुरु गरेको कोषले २०७६ साउन १ गतेदेखि योगदान संकलन थालेको थियो । त्यसयता प्रत्येक महिना कोषमा जम्मा हुने रकम निरन्तर वृद्धि भइरहेको छ । औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको मासिक आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम कोषमा जम्मा गरिन्छ । यसमध्ये ११ प्रतिशत श्रमिक स्वयंले र २० प्रतिशत रोजगारदाताले बुझाउनुपर्ने प्रावधान छ । साथै, योगदानकर्ताले इच्छाअनुसार अतिरिक्त रकम समेत थप गर्न सक्ने व्यवस्था छ । मासिक योगदान अर्को महिनाको १५ गतेभित्र अनिवार्य रूपमा बुझाइसक्नुपर्ने हुन्छ । कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार संकलित रकम सुरक्षित ढंगले लगानी गरिएको छ । सरकारी ऋणपत्र, बन्ड, वाणिज्य बैंकहरूको निक्षेप, म्युचुअल फन्ड, डिबेन्चरलगायतका क्षेत्रमा लगानी गरिएको छ भने योगदानकर्तालाई सापटीका रूपमा पनि रकम परिचालन भइरहेको छ । हाल कोषमा आवद्ध योगदानकर्ताको संख्या २८ लाख २२ हजार ३३३ पुगेको छ भने सूचीकृत रोजगारदाता २३ हजार ८४ रहेका छन् । कुल योगदानकर्तामध्ये झन्डै ६ लाख ७९ हजार औपचारिक क्षेत्रका श्रमिक छन् भने करिब २२ लाख वैदेशिक रोजगारीमा रहेका नेपालीहरू छन् । अनौपचारिक र स्वरोजगार क्षेत्रको सहभागिता भने न्यून देखिएको कोषको भनाइ छ । कोषका अनुसार हालसम्म अनौपचारिक क्षेत्रका ८५४ र स्वरोजगारतर्फका ८०८ जना मात्र कोषमा आवद्ध भएका छन् । औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा जस्ता योजनामार्फत योगदानकर्तालाई प्रत्यक्ष लाभ प्रदान गर्दै आएको कोषले सामाजिक सुरक्षाको दायरा क्रमशः विस्तार गरिरहेको जनाएको छ ।
धादिङमा बस दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयमा आकस्मिक बैठक
काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । ग २ ख १४२१ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका-५ भैसीगौडामा अनियन्त्रित भई करिब २०० मिटर तल त्रिशुली नदी किनारमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनापछि सरकारले तत्काल उच्चस्तरीय चासो देखाएको छ । घटनाबारे छलफल गर्न सोमबार बिहान गृह मन्त्रालय मा आकस्मिक बैठक बसेको छ । बैठकले दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव, भौतिक पूर्वाधार सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको छ । छानबिन समितिको संयोजक भने अझै टुंगो लाग्न बाँकी रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा विदेशी नागरिकसमेत परेका छन् । घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।