विकासन्युज

म्याग्दी नदीमाथि ३०३ मिटर लामो झोलङ्गे पुल बन्दै, एक घण्टाको यात्रा ५ मिनेटमा छोटिने

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं-४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । सङ्घीय सरकारको सस्पेन्सन ब्रिज डिभिजन काठमाडौंले म्याग्दी नदीमाथि ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालेको हो । डिभिजनसँग गत असारमा ठेक्का सम्झौता गरेको रामकृष्ण-सोमरस जेभीले पुलको संरचना निर्माणलाई तीव्रता दिएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए । गत असार महिनामा डिभिजन र निर्माण कम्पनीबीच १ करोड ६४ लाख १५ हजार २५४ रूपैयाँमा ठेक्का सम्झौता भएको थियो । १८ महिनाको ठेक्का अवधि रहेपनि चालु आर्थिक वर्षभित्रनै पुल निर्माण सम्पन्न गरिने निर्माण कम्पनीका प्रतिनिधि प्रविन सापकोटाले बताए । काउसीबोट तर्फको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । बाँसबोट तर्फ फाउण्डेशन खनेर जग्गा तयार पारिएको छ । संरचना तयार भएपछि लठ्ठा तान्ने र स्टिल डेग जडान गरिने निर्माण कम्पनीले जनाएको छ । पुल निर्माण भएपछि धवलागिरि गाउँपालिकाको हिलापोखरी, बाँसबोट, खोरबाङ, सोलवाङ, खारा, खाम्ला, छहरी, खिवाङ, शिवाङ, ताकम, काफलडाँडाका बासिन्दा लाभान्वित हुने भएका छन् । धवलागिरि गाउँपालिका-७ का राजकुमार कोइरालाले पुलले आवतजावतको लागि यात्रा अवधि छोटिनुका साथै पर्यटकीयस्थलको रुपमा विकास हुने अपेक्षा गरिएको बताए । एक घण्टाको यात्रा अवधि ५ मिनेटमा छोटिने उनको भनाइ छ । बाँसबोटका किसानले उत्पादन गरेको केरा बजारीकरणमा सहज हुने बताइएको छ । धवलागिरि गाउँपालिकामा यसअघि गत वर्ष २ वटा ३०० मिटर भन्दा लामा झोलुङ्गे पुल निर्माण भएको थियो । धवलागिरि गाउँपालिका-६ घाइरीबोट र खाउरीबाङ जोड्ने मराङखोलामा ३६५ मिटर र वडा नं-३ फलियागाँउ र दर जोड्ने दरखोलामाथि ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो । हाल म्याग्दीमा ३०० मिटर भन्दा लामा झोलुङ्गे पुलको सङ्ख्या छ वटा रहेको छ । रघुगङ्गा गाउँपालिका-१ बेग र बादुक जोड्ने बेगखोलामा ३६५ दशमलब ८० मिटर, मालिका गाउँपालिका-७ बिमवाङ र धवलागिरि गाउँपालिका-६ रिख जोड्ने ३५० मिटर, बेनी नगरपालिका-१ रत्नेचौर र बागलुङ नगरपालिका-४ कुडुले जोड्ने ३८८ मिटर र अन्नपूर्ण गाउँपालिका-५ शिख र किन्दु जोड्ने २४४ मिटर लामो पुल निर्माण भइसकेका छन् । 

स्थानीय र विदेशमा रहेका नेपालीलाई एपोलो हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आज फागुन ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ४७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा १४ लाख १० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ४ करोड ७० लाख रुपैयाँको ४ करोड ७० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई बिक्री खुला गरेको हो ।  स्थानीयलाई छुट्याएको सेयरमध्ये ५० प्रतिशत अर्थात् २ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्र ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका-७ र ८ का स्थानीय, ३० प्रतिशत अर्थात् १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र सोलुखुम्बुको लिखुपिके गाउँपालिका-२ र रामेछापको उमाकुण्ड गाउँपालिका-३ का स्थानीय र २० प्रतिशत अर्थात् ९४ हजार कित्ता सेयर न्यून प्रभावित क्षेत्र रामेछापको उमाकुण्ड गाउँपालिका-२ र गोकुलगंगा गाउँपालिका-१ का स्थानीयलाई बिक्री खुला गरिएको हो । यस्तै, सर्वसाधारण लगानीकर्तालाई छुट्याएको सेयरमध्ये १० प्रतिशत अर्थात् ९४ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री खुला गरिएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । स्थानीय बासिन्दाहरूले अधिकतम ४७ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेको नेपालीहरूले अधिकतम ९४ हजार कित्ता सेयर आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानीयले फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा चैत १० गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा फागुन १४ गते र ढिलोमा फागुन फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजनासँगै लक्ष्मी सनराइज बैंकको किन्जा सोलुखुम्बु, शिवालय र प्रिति रामेछाप, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खिजीदेम्वा ओखलढुङ्गा र सिटिजन्स बैंकको लिखुपिके सोलुखुम्बु शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

जबरजस्ती ट्रम्पको रिसोर्टमा प्रवेश गर्ने व्यक्तिको गोली लागी मृत्यु

काठमाडौं । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यस्थित राष्ट्रपति डोनाल्ड ट्रम्पको लगानी रहेको जमिनमा जबरजस्त प्रवेश गर्ने एक व्यक्तिको गोली लागी मृत्यु भएको अमेरिकी गुप्तचर सेवाले जनाएको छ । राष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित मार-ए-लागो रिसोर्ट परिसरमा गैरकानुनी रुपमा प्रवेश गरेका एक हतियारधारी व्यक्तिलाई गोली हानी हत्या गरेको आइतबार अमेरिकी गुप्तचर सेवाले जनाएको छ । अधिकारीहरूका अनुसार घटना वासिङ्टन समय अनुसार बिहान १:३० बजे भएको थियो । एजेन्सीका प्रवक्ता एन्थोनी गुग्लिल्मीले भने, ‘अमेरिकी गुप्तचर सेवाका कर्मचारीहरू र पिबिसी काउन्टी सेरिफद्वारा एक सशस्त्र व्यक्तिलाई गोली लाग्दा मृत्यु भएको छ ।’ एजेन्सीले एक विज्ञप्तिमा भनेको छ, ‘सन्दिग्ध २० वर्षको उमेरका एक व्यक्तिलाई मार-ए-लागो रिसोर्टको उत्तरी गेटमा बन्दुक र इन्धन क्यान बोकेको अवस्थामा सुरक्षा कारबाही गरिएको थियो ।’ एजेन्टहरूले ती व्यक्तिको सामना गर्दै गोली चलाउँदा कुनै पनि अमेरिकी अधिकारी घाइते नभएको जनाएको छ । ती व्यक्तिले ट्रम्प सहित कैयौँ व्यक्तिको हत्याको षड्यन्त्र वा प्रयासको निशाना रचेको बताइएको छ । सन् २०२४ सेप्टेम्बरमा फ्लोरिडाको ‘गल्फ कोर्स’मा राष्ट्रपतिको हत्याको षड्यन्त्र रचेका ५९ वर्षीय रायन राउथलाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।​​​​​​​ पेन्सिल्भेनियामा रिपब्लिकन नेतामाथि हत्याको प्रयास गरेको दुई महिनापछि राउथको योजनामा ट्रम्पमाथि आक्रमण भएको थियो । घटनामा २० वर्षीय म्याथ्यू क्रुक्सले एक र्यालीका क्रममा धेरै गोली चलाएका थिए, जसमध्ये एकले ट्रम्पको दाहिने कानमा हल्का लागेको थियो । त्यो आक्रमणमा एक र्यालीका सहभागी मारिएका थिए, जुन घटना ट्रम्पको सत्तामा फिर्ताको लागि पछि एक महत्वपूर्ण मोड साबित भयो। क्रुक्सलाई सुरक्षा बलले तुरुन्तै गोली हानेर मारेको थियो र उनको उद्देश्य अज्ञात छ। 

निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन जनप्रतिनिधिलाई आग्रह

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको विषय उल्लेख गर्दै आयोगले सो आचारसंहिताको पूर्ण पालना गर्नु सरोकारवाला पक्षको दायित्व भएको स्मरण गराएको छ । सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले निर्वाचन आचारसंहिताको पूर्ण पालनाको विषयमा आयोगले अनुगमन गरिरहेको जनाएको छ । स्थानीय तहका केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भनी उजुरी तथा गुनासो प्राप्त भएकामा आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । निर्वाचन आचारसंहितामा रहेको व्यवस्थाअनुसार, स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमा संलग्न हुनसक्ने भएपनि सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ । निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आयोगले सचेत गराएको छ ।

बस दुर्घटना दुर्घटनाः २ विदेशीसहित १७ जनाको निधन, उद्धार सकियो (नामसहित)

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी नजिकै यात्रु वाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग२ ख १४२१ नं को बस आज बिहान करिब १ः३० बजे त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थमै मृत्यु भएको हो । तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४४ जना सवार रहेको बताइएको छ । २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ । दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौं पठाइएको छ । जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए ।  घाइतेहरूको नाम  

बाँसबारी राइस मिललाई २ लाख जरिवाना, जयस अन्न घरलाई १० हजार

काठमाडौं । नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार २ फर्मलाई जरिवाना गरेको छ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौं बाँसबारीस्थित बाँसबारी राइस मिललाई २ लाख रुपैयाँ जरिवाना तिराएको हो ।  त्यसैगरी कागेश्वरी नगरपालिका-६ मुलपानी बाबाचोक स्थित जयस अन्न घरलाई १० हजार रुपैयाँ  जरिवाना तिराएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारवाही गरिएको विभागले जनाएको छ । विभागले मेगा मार्ट प्रालि लगायत अन्य तीन फर्मलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातहरू लिई ३ भित्र उपस्थित हुन निर्देशन दिएको छ । विभागले अन्य  सात वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै कानुन कार्यान्वयन गराएको स्पष्ट पारेको छ । 

धादिङमा बस दुर्घटना हुँदा १७ जनाको निधन, २४ जना घाइते

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु वाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु र २४ घाइते भएका छन् । आज बिहान करिब १:३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । घाइते २४ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको उनले जानकारी दिए ।  मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ ।  उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमान्डमा  बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको उनको भनाइ छ । 

फोहरजन्य वस्तु बिक्री गरी ७ महिनामा साढे १४ लाख आम्दानी, बायो ग्यास उत्पादन गर्दै

काठमाडौं । तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी चालु आर्थिक वर्षको सात महिनामा १४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्म १४ लाख ५० हजार ६११ रुपैयाँ आम्दानी गरेको हो । नगरपालिकाले फोहरमैला, सिसाजन्य वस्तु बिक्रीबाट उक्त आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी सङ्कलन गर्न थालेको छ ।  कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी सङ्कलन गर्ने र बिक्री गर्न योग्य फोहर बिक्री गरी आम्दानी गरिएको लम्सालले बताए । उनले भने, ‘एकैठाउँमा सबै फोहर सङ्कलन गर्दा समस्या हुने भएकाले कुहिनेलाई छुट्टै गाडीमा र नकुहिनेलाई छुट्टै गाडीमा सङ्कलन भइरहेको छ ।’ फोहर बिक्री गरी आम्दानी हुन थालेपछि नगरपालिकालाई आन्तरिक स्रोत वृद्धिमा सहयोग पुगेको लम्सालले बताए । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले फोहर उठाउँदादेखि नै कुहिने र नकुहिने फोहर छुट्याउने र नकुहिने फोहरभित्र पनि विभिन्न सिसा, प्लास्टिक, कागज जस्ता चिजहरू छुट्याएर त्यसलाई मेसिनले कम्प्रेस गरी आम्दानी गर्न थालिएको बताए ।  नगरपालिकाले नगरभित्रका प्रत्येक टोल, वडा, विद्यालयमा पुगेर फोहर वर्गीकरणका उपाय सिकाएको छ । नगरपालिकाले कार्यालय परिसरभित्र नकुहिने फोहरमध्येबाट कागज, सिसा, प्लास्टिकजन्य फोहरहरु छुट्याएर बिक्री गरिरहेको छ । ३२ वर्षसम्म पनि फोहरमैला व्यवस्थापनको स्थायी समाधान गर्न नसकिएको बताउँदै न्यौपानेले भने, ‘विगतको मेरो कार्यकालमा पनि प्रयत्न गर्दा गर्दै समस्या आयो । जग्गा व्यवस्थापनका लागि नगरपालिका लागिरहेको छ ।’ नगरपालिकाले कुहिने फोहरलाई भने दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायो ग्यास उत्पादन गर्ने काम गरिरहेको छ । व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक रुपमा फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ ।