विकासन्युज

श्रम कानुन उल्लंघन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का

काठमाडौं । श्रम तथा रोजगार कार्यालयले श्रम कानुनको उल्लंघन गरेका दुई उद्योग– प्रतिष्ठानको खाता रोक्का गरेको छ ।  उक्त कार्यालयले १७५ प्रतिष्ठानको अनुगमनका क्रममा ती  उद्योग– प्रतिष्ठानको खाता रोक्का गरेको हो ।  कार्यालयका प्रमुख रुद्रनारायण साहका अनुसार विभिन्न होटल तथा उद्योग प्रतिष्ठानमा कार्यरत २० जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ ।  चालु आर्थिक वर्षको प्रथम आठ महिनामा नाबालिकलाई श्रमिकको रुपमा काममा लगाउने प्रतिष्ठान तथा रोजगारदातालाई २ लाख २५ हजार जरिवाना र रु २२ हजार क्षतिपूर्ति तिराइएको हो । अधिकांश साना उद्योग प्रतिष्ठानले नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षाको व्यवस्था नगरेका पाइएको प्रमुख साहले बताए । कार्यालयले आठ महिनामा व्यक्तिगत र सामूहिक ४५ श्रमसम्बन्धी उजुरीमध्ये २९ वटा उजुरी फर्छ्याैट गरेको जनाएको छ । यसमा होटल, साना उद्योगलगायत २६८ प्रतिष्ठान सूचीकृत छन् ।

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराएका छन् ।  सिंहदरबास्थित संघीय संसद् सचिवालयमा आज बिहान ११ बजे उनले उम्मेदवारी दर्ता गराएका हुन् ।  अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् ।  सभामुखका लागि आज बिहान ११ देखि अपराह्न २ बजेसम्म सङ्घीय संसद् सचिवालयको काठघर नं १ मा उम्मेदवारी दर्ता गर्न सकिनेछ ।  निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको दर्ता क्रमानुसार आजै अपराह्न २ः३० बजे सार्वजनिक गरिने सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । अब आगामी आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ । 

भरतपुरमा बाल क्यान्सर उपचारका लागि अत्याधुनिक आरोग्य सुपर स्पेसालिटी क्लिनिक सञ्चालनमा

काठमाडौं । चितवनको भरतपुरमा बालबालिकामा बढ्दो क्यान्सर रोगलाई लक्षित गर्दै अत्याधुनिक सेवा सुविधासहितको बहुविशेषज्ञ क्लिनिक सञ्चालनमा आएको छ । आरोग्य मल्टी सुपर स्पेसालिटी क्लिनिक नामक उक्त क्लिनिकले विशेषगरी बाल क्यान्सर उपचारमा केन्द्रित सेवा प्रदान गर्ने जनाएको छ ।  क्लिनिकका सञ्चालक कृष्णराज गैरेका अनुसार पछिल्लो समय बालबालिकामा विभिन्न प्रकारका क्यान्सर रोगको जोखिम बढ्दै गएकाले बालकेन्द्रित उपचार सेवा आवश्यक देखिएको हो । यो क्लिनिक नेपालमै बाल क्यान्सर उपचारका लागि स्थापना गरिएको पहिलो सुपर स्पेसालिटी केन्द्र रहेको उनले जानकारी दिए । बालबालिकामा देखिने विभिन्न प्रकारका क्यान्सरको परीक्षण, उपचार तथा परामर्श सेवा उपलब्ध हुने उनको भनाइ छ । विदेश जान लागेका बिरामीहरूलाई नेपाली डाक्टरहरूको सहायतामा विदेशी डाक्टरसँग परामर्श गराउने र रिपोर्ट पठाएर बिरामीको रोगको बारेमा परामर्श लिने काम पनि यहाँ हुने गैरेले जानकारी दिए ।  उनका अनुसार यसले नेपाली बिरामीले विदेश गएर गर्ने खर्च रोक्ने तथा कम गर्नेछ । क्लिनिकले स्वदेशमै उपचार सम्भव नभएका जटिल केसका लागि बिरामीलाई विदेश पठाउने प्रक्रियामा पनि सहजीकरण गर्ने जनाएको छ । यसअन्तर्गत भारत, सिंगापुर र थाइल्याण्डका प्रतिष्ठित अस्पतालका विशेषज्ञ चिकित्सकहरूसँग समन्वय गरी बिरामी र उनका आफन्तलाई आवश्यक सहयोग प्रदान गरिने गैरेले जानकारी दिए । त्यसैगरी, विदेश जान असमर्थ बिरामीका लागि भने उनीहरूको स्वास्थ्य विवरण हिस्ट्रीका आधारमा विदेशी चिकित्सकसँग प्रत्यक्ष संवाद गराउने सुविधा समेत उपलब्ध गराइने क्लिनिकले जनाएको छ । बाल क्यान्सर उपचारलाई सहज, सुलभ र विशेषज्ञ सेवामार्फत प्रभावकारी बनाउने लक्ष्यसहित सुरु गरिएको यस क्लिनिकले देशभित्रै गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको गैरेले बताए ।

बादलको अभिव्यक्तिले एमालेमा खैलाबैला, संसदीय दलको नेताबाट हटाउनेसम्मको कसरत

काठमाडौं । नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले बिहीबार संसद बैठकमा राखेको अभिव्यक्ति विवादित बनेको छ । उनले संसदमा संसदीय दलको नेताका रूपमा बोल्दै सरकारी कर्मचारी, सेना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था र अन्य पार्टीप्रति दिएको अभिव्यक्ति विवादित बनेको हो ।  यो विरोध नेकपा एमालेकै नेताहरूबाट उठेको हो । बादलले भदौ २३ र २४ गतेको घटना सम्बन्धमा विभिन्न प्रश्नहरु उठाउँदै भदौ २४ को घटना राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा भएको आरोप पनि लगाएका थिए ।  उनले रास्वपाले तिलस्मी विजय हासिल गर्नुमा राष्ट्रिय/अन्तर्राष्ट्रिय दृश्य अदृश्य शक्तिको हात रहेको पनि उल्लेख गरेका थिए । उनले नेपाली सेना र कर्मचारीले समेत रास्वपालाई चुनावमा सघाएको उनको अभिव्यक्ति दिएका थिए । एमालेकै शीर्ष नेताहरूले उनको अभिव्यक्तिको विरोध र आलोचना गर्दै आज (शुक्रबार) पार्टी सचिवालय बैठकमा त्यसको जवाफ माग्ने बताएका छन् ।  पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले उनको अभिव्यक्ति पार्टीका स्थापित नीति र मान्यता विपरीत रहेको बताएका छन् । उनले भनेका छन्, ‘प्रतिनिधि सभाको बिहीबारको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्, यस सम्बन्धमा शुक्रबार आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।’ उनले यसबारे उचित निर्णय लिने बताउँदा धेरैले एमालेले उनलाई संसदीय नेताको रुपमा फिर्ता बोलाउन सक्ने रूपमा बुझेका छन् ।  त्यस्तै, पार्टीका उप-महासचिव योगेश भट्टराईले पनि उनको अभिव्यक्तिको विरोध गरेका छन् । उनले भनेका छन्, ‘जनताको बहुदलीय जनवाद नेकपा एमालेको सिद्धान्त हो । प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र शान्तिपूर्ण तथा वैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण गरी समाजवादको आधार तयार गर्ने जबजको मान्यता हो । जनताले प्रकट गरेको जनमतलाई सम्मान गर्नु र पराजयको ठोस समीक्षा गरी कमजोरीलाई सच्याएर पुनः जनविश्वास आर्जन गर्ने बाटोमा जानु जबजको मर्म हो ।’ उनले नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायालय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति पार्टीको कुनै पनि वैरभाव नभएको उल्लेख गरेका छन् । त्यसप्रति पार्टीको सम्मान र विश्वास रहिरहने उल्लेख गर्दै संसद वा सडक, सत्ता पक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत रहने बताएका छन् ।  यस्तै, नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पनि  बादलको अभिव्यक्तिको चर्को आलोचना गरेका छन् । उनले भनेका छन्, ‘बिहीबार संसदमा ‘षड्यन्त्र’ का लामा कथाहरू सुनियो, सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो- सबै दोष अरूलाई । हामी पनि दोषी छौं । यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र ? अब यो ‘घेराबन्दी’मा पर्‍यौं भन्ने ‘राष्ट्रवादी’ राजनीति निकै पुरानो भयो। अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ-आफ्ना एजेन्डा मात्र हुन् ।’ यस्तै, उनले आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम काम नगर्न पनि अनुरोध गरेका छन् । भदौ २३/२४ को घटना छानबिन हुनुपर्ने बताउँदै पार्टीको राजनीति जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्न नहुने भनाइ उनको छ ।  संसदमा यस्तो भनेका थिए बादलले  सर्वप्रथम म, राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, गणतन्त्र,संघीयता,शान्ति र समृद्धिका लागि आफ्नो अमूल्य जीवनको आहुति दिने,भाद्र २३/२४ लगायत,सम्पूर्ण ज्ञात/अज्ञात  शहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । नेपालमा मा भाद्र २३ र २४ गते अवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा ‘रग क्रान्ति’ सफलतापूर्वक सम्पन्न भयो । फागुन २१ गते आम निर्वाचन मार्फत नीलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो ।  चैत्र १३ गते भव्य धार्मिक अनुष्ठान सहित श्री बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथग्रहण गराइयो। यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाहलाई म नेकपा (एमाले को तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु । यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा क–कसको निर्णायक भूमिका रह्यो? तथ्यहरूले के स्पष्ट गर्दछन् भने मुख्यतः नेपाली सेना,ब्युरोक्रेसी,सुशीला सरकार,कार्की आयोग,बारबरा फाउन्डेसन आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो ।   त्यसैले, ती संस्था तथा पात्रहरूलाई म नेकपा (एमाले) को तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु । यो विजयका लागि बाह्य दृष्टिले ककसले निर्णायक भूमिका निर्वाह गरे ? असंख्य तथ्यहरूले के स्पष्ट गर्दछन् भने, अदृश्य शक्तिहरू (डिप स्टेट), टीओबी, एआई, एल्गोरिदम  गोयवल्सहरू) जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र संघीयता,धर्म निरपेक्षता, शान्ती र समृद्धिका नायकहरुलाई रबूखार ‘खलनायक’ र ‘हत्यारा’ को रुपमा स्थापित गरे, जसले सिंहदार जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरुलाई ‘महानायक’ बनाए ती संस्था तथा पात्रहरूले नै बाह्यरूपमा यो जादुमय विजयमा निर्णायक भूमिका निर्वाह गरे । त्यसैले, यस ऐतिहासिक क्षणमा म ती सबैलाई पनि नेकपा (एमाले) को तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु ।    यो चमत्कारिक विजयले केही असाधारण प्रश्नहरु जन्माएको छ ।  १. कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शितल निवास, बालुवाटार, सर्वोच्च अदालत, राजनीतिक नेतृत्व र निजी निवास, प्रहरी चौकी,व्यावसायिक प्रतिष्ठान आदि सुनियोजित ढंगबाट जलाइयो? २. कुन उद्देश्य प्राप्तिका लागि कसले ती अबोध विद्यार्थीहरूलाई निषेदिक क्षेत्र तोड्न उक्साइयो? ३. कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्ध त्इद्य हरु २३्२४ गते तिलस्मीरुपमा प्रकट भए? ४. कुन उद्देश्य प्राप्तिका लागि गैरकानुनीयिढंगबाट पूर्व प्रधानमन्त्री तथा गृहमन्त्रीहरूलाई गिरफ्तार गरियो? ५.कुन उद्देश्य पुर्ति गर्न राजनीतिक नेतृत्वहरूलाई गिरफ्तार गर्ने प्रपञ्च रचिँदै छ ? ६.कुन उद्देश्य पूर्तिका लागि देशव्यापी दमनचक्र र राज्य आतंक मचाउँदै छ? ७. कुन उद्देश्य प्राप्तिका लागि विद्यार्थी तथा पेशाकर्मीहरूको सङ्गठित हुने ‘मौलिक अधिकार’ बलात खोसिँदै छ?  ८.कुन उद्देश्यका लागि मिडिया ट्रायल साइबर आतंक सिर्जना गरिँदैछ ?   निश्चय पनि भविष्यले यसको सही जवाफ दिँदै जानेछ । तर, यी प्रश्नहरु र यस्तै-यस्तै प्रश्नहरु हामी सम्पूर्ण ताकत सहित राज्यलाई सोध्ने छौं,निरन्तर यो गरिमामय सदनमा हाम्रो आवाज घन्काउने छौं । यो ऐतिहासिक क्षणमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने ‘जनादेश’ बोकेर आउनु भएका नेपाली कांग्रेस, नेकपा (एमाले),नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा र स्वतन्त्र माननीय ज्यूहरूलाई पनि धेरै धेरै बधाई/शुभकामना भन्न चाहन्छु ।  अन्त्यमा, यो अभूतपूर्व विजयले पराजित पक्षलाई पनि गम्भीर शिक्षा दिएको छ । यसले आफ्नो कमजोरीहरुलाई सचाउने ‘अवसर’ दिएको छ । यो पराजय फगत अस्थायी हो । पराजित सेनाले छिट्टै सिक्दछ । उसले पराजयलाई छिट्टै विजयमा बदल्न सक्दछ । 

इरानसँगको संघर्ष अमेरिकालाई भारी : एक महिनामै अर्बौं डलर स्वाहा, यस्तो छ खर्चको हिसाब

काठमाडौं । इरानसँगको युद्ध अमेरिकाका लागि ठूलो आर्थिक बोझ बनेको छ । अमेरिकी मिडिया रिपोर्टहरूका अनुसार गत महिना युद्ध सुरु भएको छ दिनपछि पेन्टागनले अमेरिकी सांसदहरूलाई अहिलेसम्म यो युद्धमा ११.३ अर्ब डलर खर्च भइसकेको जानकारी दिएको थियो । रिपोर्टहरूमा भनिएअनुसार युद्धमा सयौं टमहक मिसाइलहरू प्रयोग गरिएका छन् र प्रत्येक टमहक मिसाइलको मूल्य करिब ३५ लाख डलर (५२ करोड रुपैयाँ) पर्छ । युद्ध लम्बिँदै जाँदा अमेरिकाको दैनिक खर्च पनि फरक–फरक हुँदै गएको छ । अमेरिकी अधिकारीहरूका अनुसार इरानको कमजोर हुँदै गएको रक्षा प्रणालीका कारण खर्चमा केही कमी आएको छ । तर विज्ञहरूको अनुमानमा यो संघर्ष अझै पनि दैनिक करिब ३८५ मिलियन डलर (५७ अर्ब २५ करोड) खर्च भइरहेको छ । अमेरिकी रक्षा विभागले इरानी ड्रोन र मिसाइल आक्रमणहरूमा करिब ९० प्रतिशतले कमी आएको पनि जनाएको छ । इरान र अमेरिकाबीचको तनाव लामो समयदेखि जारी रहँदै आएको छ । इस्लामिक क्रान्तिपछि दुई देशबीच तनाव गहिरिँदै गएको हो । त्यसयता मध्यपूर्व क्षेत्रमा प्रभाव जमाउने प्रतिस्पर्धा, आणविक कार्यक्रमलाई लिएर विवाद तथा प्रतिबन्धहरूका कारण सम्बन्ध झन् जटिल बनेका छन् । हालको संघर्ष भने क्षेत्रीय अस्थिरता, समुद्री मार्गको सुरक्षा, र सहयोगी देशहरूसँगको सैन्य समन्वयसँग जोडिएको छ । विशेषगरी खाडी क्षेत्रमा भएका आक्रमण, ड्रोन तथा मिसाइल प्रयोग र तेल आपूर्तिमा पर्ने असरले यो युद्धले विश्व अर्थतन्त्र र सुरक्षामा समेत ठूलो प्रभाव पारिरहेको छ । इरानसँगको संघर्ष अमेरिकालाई भारी : एक महिनामै अर्बौं डलर स्वाहा, यस्तो छ खर्चको हिसाब  

जनताभन्दा माथि सरकार हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जनताभन्दा माथि सरकार नहुने बताएका छन् ।  शुक्रबार सामाजिक सञ्जालमा सुतेको फोटो राख्दै उनले निर्माताभन्दा ठूलो निर्माण नहुने बताएका हुन् ।  ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन,’ उनले भनेका छन् ।

क्रेस्ट माइक्रो लाइफका अध्यक्ष मोरले दिए राजीनामा

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरले राजीनामा दिएका छन् । मोरले चैत ६ गते कम्पनी सञ्चालक समितिसमक्ष राजीनामा पेस गरेका थिए।सञ्चालक समितिले चैत १९ गते राजीनामा स्वीकृत गरेको हो ।  उनले राजीनामा दिनुपर्नेको कारण भने खुलाइएको छैन ।   

सामाजिक सञ्जाल दुरुपयोगविरुद्ध कदम चाल्ने एनआरएनए पोर्चुगलको चेतावनी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले नेपाली समुदायमा एकता, सहकार्य र पारदर्शिता प्रवर्द्धन गर्दै दीर्घकालीन रूपमा सामाजिक तथा सहयोगमूलक कार्यक्रमहरू विस्तार गर्ने निर्णय गरेको छ।  संस्थाले समुदायभित्र जिम्मेवार सहभागिता बढाउँदै नेपालीहरूको साझा हितमा केन्द्रित गतिविधिहरू अघि बढाउने जनाएको छ। संस्थाले पछिल्ला दिनहरूमा सामाजिक सञ्जालको दुरुपयोग, भ्रामक सामग्रीको प्रकाशन तथा समुदायमा नकारात्मक र निरुत्साहजनक सन्देशहरूको प्रसार बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । यस्ता गतिविधिले आपसी असमझदारी बढाउने भएकाले सम्बन्धित पक्षहरूसँग समन्वय गर्दै आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरिएको छ । एनआरएनए पोर्चुगलले प्रारम्भिक चरणमा समुदाय लक्षित केही सेवा तथा सहयोग कार्यक्रमहरू सुरु गर्ने जनाएको छ । संस्थाका अनुसार सदस्यताको आधारमा आकस्मिक निधनको अवस्थामा आर्थिक सहयोग उपलब्ध गराइनेछ, जसले अनावश्यक चन्दा संकलनको दबाब कम गर्दै समान रूपमा सहायता वितरणमा मद्दत गर्ने अपेक्षा गरिएको छ । त्यस्तै, नेपालका दुर्गम क्षेत्रका दुई जना विद्यार्थीलाई कक्षा ५ सम्म आवश्यक शैक्षिक सामग्री निःशुल्क उपलब्ध गराउने योजना अघि सारिएको छ । पोर्चुगलमा कठिन परिस्थितिमा रहेका तथा एकल रूपमा बालबच्चा हुर्काइरहेका महिलाहरूलाई अवस्था मूल्याङ्कनका आधारमा खाद्यान्न र आवश्यक सहयोग प्रदान गरिने पनि संस्थाले जनाएको छ । यसैगरी, आप्रवासनसम्बन्धी विषयमा परामर्शका लागि दक्ष कानुनी सल्लाहकारको व्यवस्था गरिने र अनधिकृत माध्यमबाट हुने ठगी तथा जालसाजीबाट समुदायलाई सचेत गराइने बताइएको छ । साथै, एआईएमए सम्बन्धी समस्यामा परेका नेपालीहरूलाई लक्षित गरी अन्तरक्रियात्मक छलफल तथा परामर्श कार्यक्रम सञ्चालन गर्ने तयारी पनि गरिएको छ । संस्थाले समुदायका सदस्यहरूलाई रचनात्मक सुझावहरू इमेलमार्फत पठाउन र इच्छुक व्यक्तिहरूलाई सदस्यता लिन आह्वान गरेको छ । अध्यक्ष तथा सचिवालय सुजन लामा मोक्तानद्वारा जारी उक्त सूचनामा सम्पूर्ण नेपाली समुदायलाई एकताबद्ध भई संस्थागत प्रयासलाई सफल बनाउन आग्रह गरिएको छ ।