७ दिनभित्र स्पष्टीकरण नदिए १५ निर्माण कम्पनी कालो सूचीमा
काठमाडौं । १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै समयमै काम नगर्ने तथा ढिलासुस्ती गर्ने कम्पनीहरूलाई किन कालो सूचीमा नराख्ने भन्दै चित्तबुझ्दो आधार र प्रमाणसहित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो । यसअघि सम्बन्धित सार्वजनिक निकायहरूले ती कम्पनीहरूलाई कालो सूचीमा राख्न सिफारिस गरेपछि कार्यालयले ३० दिनको समयसीमा दिएर स्पष्टीकरण माग गरेको थियो । तर, उक्त अवधिमा कुनै पनि लिखित जवाफ नआएपछि पुनः ७ दिनको अल्टिमेटम दिइएको कार्यालयले जनाएको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (४क) बमोजिम सूचना प्रकाशित गरिएको र तोकिएको समयभित्र स्पष्टीकरण नआएमा कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ ।
कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि, परीक्षा तालिका सार्वजनिक
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १४ गतेदेखि सुरु भई वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ। पहिलो दिन वैशाख १४ गते अनिवार्य अंग्रेजी, संस्कृत रचना, बौद्ध शिक्षा तथा उर्दू व्याकरण र साहित्य विषयको परीक्षा हुनेछ । वैशाख १५ गते अनिवार्य नेपाली र प्राविधिक धारतर्फको सोसल स्टडिज विषयको परीक्षा तोकिएको छ । उक्त परीक्षा तालिका कक्षा १२ का साधारण, प्राविधिक तथा परम्परागत धार अन्तर्गतका नियमित र आंशिक परीक्षार्थीका लागि लागू हुनेछ । परीक्षामा रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ भएका परीक्षार्थीहरू सहभागी हुन पाउने बोर्डले जनाएको छ ।
नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा कृषि विकास बैंक, आशा लघुवित्त वित्तीय संस्था र शिवम् सिमेन्टको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार कृषि विकास बैंकको ३.२५ प्रतिशत बोनस बापतको ४५ लाख २ हजार ९४७ कित्ता, आशा लघुवित्तको ९.५ प्रतिशत बोनस बापतको ६ लाख ९६ हजार ३९३ कित्ता र शिवम् सिमेन्टको २.५ प्रतिशत बोनस बापतको १३ लाख ६४ हजार २०२ कित्ता सेयर सूचीकृत भएको हो ।
१ लाख बढी मतदाताको सहभागितामा कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गर्दै
काठमाडौं । नेपाली कांग्रेसले आज जनकपुरमा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको छ । नेपाली कांग्रेस मधेश प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुन लागेको प्रतिज्ञा सभामा प्रतिज्ञा पत्र सार्वजनिक गरिने भएको हो । प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उप-सभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मधेशको पवित्र भूमिमा, ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने यो प्रतिज्ञा सभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेशको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरको रुपमा कांग्रेसले लिएको छ । मधेशको माटोले सधैं प्रजातन्त्र, समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको कांग्रेसका नेताहरूले बताउने गरेका छन् । मधेश आन्दोलनपछिको राजनीतिक यात्रामा नेपाली कांग्रेसले मधेशका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेन्डाका रूपमा आत्मसात गरेको नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवको भनाइ छ । यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति गगन कुमार थापा स्वयं मधेशको जिल्ला सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवार बनेर मधेशको जनतासँग प्रत्यक्ष जोडिनुभएको छ । यो केवल चुनावी रणनीति मात्र नभई मधेश र राष्ट्रिय राजनीतिबीचको सम्बन्धलाई सुदृढ बनाउने सन्देश हो ।’ मधेशको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग तथा व्यापारको विस्तार, सीमावर्ती क्षेत्रको व्यवस्थित विकास, युवालाई रोजगारी, महिला सशक्तीकरण र सामाजिक न्याय सुनिश्चित गर्ने स्पष्ट कार्य योजनासहित कांग्रेस अगाडि बढ्ने यादवको अठोट छ। प्रतिज्ञा सभामा मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट गरी १ लाखभन्दा बढी मतदाताको सहभागिता रहने अपेक्षा गरिएको उनले जानकारी दिए । जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञा पत्रका बारेमा काठमाडौंमा पनि पत्रकार सम्मेलन गरेर जानकारी दिइने भएको छ। आज दिउँसो ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता देवराज चालिसेले प्रतिज्ञा पत्रबारे जानकारी दिने कांग्रेसले जनाएको छ ।
काठमाडौं-तराई द्रुतमार्गको डीपीआर संशोधन, ३.३ किलोमिटर तल फर्सिडोलमा शुल्क संकलन गरिने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं-तराई/मधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छिन् । ललितपुरको खोकनामा धार्मिक-सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै स्थानीय समुदायका तर्फबाट चासो व्यक्त भइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्कीले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी हुन् । यसअघि गत माघ १३ गते प्रधानमन्त्री कार्कीले निर्माणाधीन द्रुतमार्गको निरीक्षण भ्रमण पनि गरेकी थिइन् । त्यसक्रममा उनले विकास निर्माणका काम गर्दा स्थानीयका सरोकारलाई गम्भीरता पूर्वक लिनुपर्ने बताएकी थिइन् । साथै सुरु विन्दु परिवर्तन गरेर भए पनि राष्ट्रिय गौरवको यो आयोजना चाँडो सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने उनको भनाइ थियो । मंगलबार प्रधानमन्त्री कार्कीले अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईँ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, प्रधान सेनापति अशोकराज सिग्देलसहित द्रुतमार्ग आयोजनासँग सम्बन्धित अधिकारीहरू, सम्बन्धित मन्त्रालयका सचिवहरूलाई बोलाएर छलफल गरेकी थिइन् । यसक्रममा नेपाली सेनाका तर्फबाट आयोजनामा हालसम्म भएको प्रगति, समस्याहरू र सरकारसँग अपेक्षाका विषयमा ब्रिफिङ भएको थियो । सबै सम्बन्धित निकायका अधिकारीहरूलाई राखेर उहाँले विकास निर्माणका काममा अनावश्यक ढिला सुस्ती नगर्न र विवादमा अल्झिएर पनि नबस्न निर्देशन दिइन् । ‘विकास निर्माणका काममा अनावश्यक ढिलासुस्ती गर्नु हुँदैन। सकेसम्म विवादको समाधान गर्ने हो। तर विवाद भयो भने अनिश्चितकालसम्म त्यहीँ अल्झिएर हुँदैन । विकल्प खोजेर अघि बढ्नुपर्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अब विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरौँ । सुरु विन्दु खोकना हुँदैन भने जहाँ कुरा मिल्छ, त्यहीँबाट प्रस्थानविन्दु कायम गरौँ । आयोजनाको काम जहाँसम्म सम्पन्न हुन्छ, त्यहाँसम्म भए पनि सञ्चालन गरौँ ।’ ठूलो लगानीको आयोजना अनिश्चितकालसम्म लम्बिँदै गएमा आर्थिक बोझ थेग्न गाह्रो पर्न सक्ने भएकाले पनि चाँडो सञ्चालन हुने गरी निकास खोज्नुपर्ने उनको धारणा थियो । अब उनको निर्देशन बमोजिम खोकनाभन्दा ३.३ किलोमिटर तल फर्सिडोलमा टोल प्लाजा (शुल्क संकलन गृह) निर्माण गर्ने गरी डीपीआर संशोधन हुने भएको छ ।
एआईमा भारतको लगानी २ वर्षमा २०० अर्ब डलरभन्दा बढीको सम्भावना
काठमाडौं । भारतका इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले मङ्गलबार आगामी २ वर्षमा देशमा कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा २०० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी हुने सम्भावना रहेको बताएका छन् । मन्त्री वैष्णवले उक्त जानकारी भारत ‘कृत्रिम बौद्धिकता प्रभाव सम्मेलन २०२६’ को अवसरमा प्रेस सम्मेलनमा साझा गरेका थिए । उनले सम्मेलनमा देशभरका मानिसहरूको ठूलो सहभागिता देखिएको उल्लेख गरे । यस सम्मेलनले भारतमा कृत्रिम बौद्धिकता क्षेत्रको महत्व र सम्भावनालाई व्यापक रूपमा प्रस्तुत गरेको छ । उनले भने, ‘विश्वका प्रमुख कम्पनीका कार्यकारीहरूले नयाँ प्रविधि सम्बन्धी स्टार्टअप तथा पूर्वाधार परियोजनामा उच्च रुचि देखाइरहेका छन् । यसले भारतमा प्रविधि क्षेत्रको वृद्धि र नव प्रवर्तनलाई प्रोत्साहन गर्नेछ ।’ वैष्णवले सम्मानजनक शैलीमा भारतले विश्वका नेताहरूबीच कृत्रिम बौद्धिकताको सही र जिम्मेवार प्रयोग सुनिश्चित गर्न पहल गर्ने जोड दिए । यसले कृत्रिम बौद्धिकतालाई मानव समाजको भलोमा प्रयोग गर्न मद्दत पुर्याउने उनको विश्वास रहेको छ । मन्त्रीले भने, ‘हालको अवस्थामा कृत्रिम बौद्धिकता प्रणालीमा केही चुनौती र कठिनाइहरू अवश्य छन् । ती समस्याहरू प्रविधि र कानूनी उपायहरू मार्फत समाधान गर्न आवश्यक छ । यसले मात्र एआई प्रणालीको दिगो र उत्तरदायी विकास सम्भव हुनेछ ।’ वैष्णवले सम्मेलनमा सहभागी सबैलाई आभार व्यक्त गर्दै यस्तो सम्मेलनले देशमा नयाँ सोच र नव प्रवर्तनको वातावरण सिर्जना गर्ने र कृत्रिम बौद्धिकता क्षेत्रलाई अझ समृद्ध बनाउने बताए ।
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
काठमाडौं । बेलायतमा बेरोजगारी दर पछिल्ला पाँच वर्षयताकै उच्च विन्दुमा पुगेको छ । हालै सार्वजनिक गरिएको तीन महिनाको श्रम बजारसम्बन्धी विवरण अनुसार बेरोजगारी दर ५.२ प्रतिशत पुगेको छ । यस अवधिमा करिब १८ लाख ८३ हजार मानिस रोजगारी विहीन रहेका छन् । उक्त तथ्याङ्क ‘अफिस फर नेशनल स्ट्याटिस्टिक्स’ ले सार्वजनिक गरेको हो । यसै अवधिमा रोजगार दर ७५ प्रतिशत कायम रहेको छ भने करिब २०.८ प्रतिशत जनसङ्ख्या आर्थिक रूपमा निष्क्रिय रहेको देखिएको छ, जसमा विद्यार्थी, दीर्घ रोगी तथा काम खोज्न निरुत्साहित भएका व्यक्तिहरू समावेश छन् । विज्ञहरूका अनुसार बढ्दो जीवनयापन खर्च, आर्थिक वृद्धिमा सुस्तता तथा निजी क्षेत्रको भर्ती प्रक्रियामा कमी आउनु बेरोजगारी वृद्धि हुनुका मुख्य कारण हुन् । श्रम बजारमा देखिएको सुस्तताप्रति बैंक अफ इङ्ग्ल्यान्डले पनि चिन्ता व्यक्त गरेको छ । केन्द्रीय बैंकले आगामी महिनाहरूमा रोजगार सिर्जना दर कमजोर रहन सक्ने सङ्केत गर्दै बेरोजगारी अझ बढ्न सक्ने चेतावनी दिएको छ । यस अवस्थाले देशको समग्र अर्थतन्त्र, उपभोग क्षमता र कर संकलनमा समेत प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ ।
विभिन्न कार्यक्रम गरी आज ग्याल्पो ल्होसार मनाइँदै
काठमाडौं । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात् नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ । स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ अर्थपूर्ण बनाउँछ । नयाँ वर्षका रुपमा मनाइने यो पर्वले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने पनि विश्वास छ । यो पर्वले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सृजना गर्दछ । यस अवसरमा गुम्बा दर्शन, धर्म गुरु र लामाबाट आशीर्वाद प्राप्त गर्ने परम्परा, विशेष परिकार खाप्से, डेशिल, गुथुक आदिको स्वाद लिनु र परिवारसँग मिलेर उल्लास पूर्वक समय बिताउनु नेपालीहरूको मौलिक पहिचान हो ।