विकास सहायता प्रतिबद्धतासँगै प्राप्ति पनि बढ्यो
काठमाडौं । पछिल्लो समय विकास सहायता प्रतिबद्धतासँगै दातृ निकायले दिने त्यस्तो सहायता पनि बढ्दै गएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको समीक्षा अवधिमा ६५ अर्ब ३९ करोडको विकास सहायताको प्रतिबद्धता प्राप्त भएको छ । सोमध्ये अनुदान सहायता १९ अर्ब २५ करोड र सहुलियतपूर्ण ऋण सहायता ४६ अर्ब १४ करोड रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ५ अर्ब ८४ करोडको विकास सहायताको प्रतिबद्धता प्राप्त भएको थियो, जसमध्ये अनुदान सहायता ५४ अर्ब ७६ करोड र सहुलियतपूर्ण ऋण सहायता १ खर्ब ५१ अर्ब ४० करोड रहेको थियो । चालु आर्थिक वर्षमा विश्व बैंकतर्फ तीनवटा आयोजनाको वार्ता सम्पन्न भइसकेको र एशियाली विकास बैंकतर्फ एउटा आयोजनाको वार्ता हुने क्रममा रहेकोले तेस्रो त्रैमासिक अवधिमा प्रतिबद्धता रकममा उल्लेख्य वृद्धि हुने अवस्था रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । विकास सहायता प्राप्तिको स्थिति चालु आर्थिक वर्षमा २ खर्ब ८७ अर्ब विकास सहायता परिचालन गर्ने अनुमान गरिएकोमा समीक्षा अवधिसम्म ६१ अर्ब ७ करोड प्राप्त भएको छ । जुन प्राप्ति शुरुवाती अनुमानको २१.२७ प्रतिशत हो । सरकारले गत आर्थिक वर्षमा विकास सहायता परिचालनको अनुमान २ खर्ब ७० अर्ब रहेकोमा समीक्षा अवधिमा ४९ अर्ब ९ करोड ३५ लाख प्राप्ति गरेको थियो। जुन अनुमानको १८.१८ प्रतिशत थियो । हाल कार्यान्वयनमा रहेका वैदेशिक सहायताबाट सञ्चालित आयोजनाहरूको उपलब्ध स्रोत हेर्दा आयोजना कार्यान्वयन प्रभावकारी हुन सकेमा वैदेशिक सहायता प्राप्तिमा उल्लेख्य बढोत्तरी हुने अवस्था रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल एशियाली विकास बैंकतर्फ अमेरिकी डलर २१८६ मिलियन र विश्व बैंकतर्फ अमेरिकी डलर १६०० मिलियन प्राप्ति हुन बाँकी उपलब्ध स्रोतका रूपमा रहेको छ । अर्थ मन्त्रालयका अनुसार विकास सहायता परिचालनमा समस्या समेत देखिएको छ । वैदेशिक सहायताको वित्तीय सम्झौता भएपश्चात कार्यान्वयनका क्रममा समयमा नै पूर्वतयारी र ठेक्का व्यवस्थापन हुन नसक्दा प्रतिबद्धता रकम हुँदाहुँदै पनि वास्तविक प्राप्ति रकम अपेक्षाकृत कम हुने समस्या कायम रहेको छ। वैदेशिक सहायताका आयोजना/कार्यक्रममा अन्तर निकाय समन्वय कमजोर हुने गरेको छ । आयोजना/कार्यक्रम कार्यान्वयन गर्न गठन हुने उच्चस्तरीय संयन्त्रका बैठकहरू नियमित नहुने र कतिपय कार्यक्रममा बैठक नै नहुने भएकाले कार्यान्वयनमा देखिएका समस्या लामो समयसम्म बल्झिने समस्या रहेको समीक्षा प्रतिवेदनमा उल्लेख छ । शोधभर्ना लिन बाँकी रकम १४ अर्ब बढी अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को शुरूवातमा विकास सहायतातर्फ नेपाल सरकारको स्रोतबाट खर्च भई शोधभर्ना प्राप्त गर्नुपर्ने रकम १८ अर्ब २४ करोड २८ लाख रहेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म १९ अर्ब १५ करोड खर्च भई शोधभर्ना लिन बाँकी भएकोमा २३ अर्ब २२ करोड शोधभर्ना प्राप्त भएको छ । समीक्षा अवधिसम्म शोधभर्ना लिन बाँकी रकम १४ अर्ब १७ करोड रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधभर्ना लिन बाँकी १३ अर्ब १७ करोड रहेको थियो ।
वित्तीय अपराधले अर्थतन्त्र मात्र होइन समाजलाई पनि क्षति पुर्याउँदैछ : गभर्नर पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक संरचनामा गम्भीर असर पारेको बताएका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्यक्रममा बुधबार काठमाडौंमा सम्बोधन गर्दै उनले विश्वव्यापी रूपमा वार्षिक ३.६ बिलियन डलर बराबरको राजस्व नोक्सानी गराउने वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक संरचनामा गम्भीर असर पारेको उल्लेख गरे । गभर्नरका अनुसार वित्तीय अपराधको आर्थिक प्रभावभन्दा मानवीय मूल्य अझ बढी भयावह छ । यसले सामाजिक–आर्थिक खाडललाई गहिरो बनाउने मात्र नभई युवा र बालबालिकालाई आपराधिक सञ्जालमा प्रयोग गर्ने जोखिम बढाएको छ । नवीन सोच र सिर्जनशीलतामा लाग्नुपर्ने युवा पुस्तालाई अपराधको माध्यम बनाइनु सबैभन्दा खतरनाक परिणाम भएको उनको तर्क छ । सीमानाविहीन वित्तीय अपराधले कानुनी छिद्र र प्रविधिगत कमजोरीको फाइदा उठाउँदै तीव्र गतिमा रकम ओसारपसार गर्ने गरेको उनले बताए । यसलाई रोक्न प्रतिक्रियात्मकभन्दा पनि निरोधात्मक सुपरिवेक्षण आवश्यक रहेको र वित्तीय समावेशीकरणलाई असर नपर्ने गरी जोखिममा आधारित सुपरिवेक्षण प्रणाली लागू गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘वित्तीय अपराधले सामाजिक–आर्थिक खाडललाई अझ फराकिलो बनाउँछ, मानव पूँजीको अवमूल्यन गर्छ र हाम्रा बालबालिका तथा युवाहरूको भविष्यलाई संकटमा पार्छ । कलिला मस्तिष्कहरूलाई सम्पत्ति शुद्धीकरणको माध्यमका रूपमा प्रयोग गर्न शोषण गर्ने, अवैध सञ्जालहरूमा भर्ती गर्ने र अपराधलाई अवसरका रूपमा प्रस्तुत गरिने वातावरणमा पुर्याउने क्रम बढ्दो छ ।’ गभर्नर पौडेलले बैंकिङ, बीमा, धितोपत्र र सहकारीजस्ता सबै क्षेत्रका नियामक निकायहरूले सामूहिक रक्षा–पंक्तिका रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याए । उनले आजको जोखिम टार्ने मात्र नभई भोलिको अनिश्चितता सामना गर्न सक्ने प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिए ।
एनएलजीले पनि एनएफआरएस–१७ बमोजिम सार्वजकि गर्यो वित्तीय विवरण
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदन मानक–१७ (एनएफआरएस १७– इन्स्योरेन्स कन्ट्रयाक्ट्स) अनुरूप वित्तीय विवरण सार्वजनिक गरेको छ । यसअघि एनएफआरएस–१७ बमोजिम वित्तीय विवरण सार्वजनिक गर्ने शिखर इन्स्योरेन्स पहिलो कम्पनी बनेको थियो । एनएफआरएस १७ को व्यावहारिक कार्यान्वयन क्रमिक रूपमा विकसित हुँदै जाने प्रकृतिको भएकाले एनएलजीले उपलब्ध अन्तर्राष्ट्रिय अभ्यास, प्राविधिक व्याख्या र व्यवस्थापनको सर्वोत्तम अनुमानलाई आधार मानी वित्तीय विवरण तयार गरेको कम्पनीले जनाएको छ । यस पहललाई बीमा क्षेत्रमा नयाँ मानकअनुसार रिपोर्टिङ अभ्यास सुरु गर्न महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ । सरोकारवालाहरूले यस्ता प्रयासहरूले भविष्यमा थप स्पष्टता, परिष्करण र एकरुप अभ्यासतर्फ मार्ग प्रशस्त गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
आइसीएफसी फाइनान्सले ल्यायो ‘एक्सप्रेसन डेबिट कार्ड’, आफ्नै फोटो राखेर कार्ड बनाउन सकिने
काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले ग्राहकलाई अझ व्यक्तिगत, आधुनिक र फरक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यसहित नयाँ ‘एक्सप्रेसन डेबिट कार्ड’ सार्वजनिक गरेको छ । एससीटी युनियनपे नेटवर्कमा आधारित यस कार्डमार्फत ग्राहकहरूले आफ्नो मनपर्ने तथा यादगार फोटो कार्डमा प्रिन्ट गराएर प्रयोग गर्न सक्ने सुविधा पाउनेछन् । ग्राहकको व्यक्तित्व, रुचि र आत्मअभिव्यक्तिलाई झल्काउने गरी डिजाइन गरिएको यस कार्डले सुरक्षित, सहज तथा आकर्षक डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । यस डेबिट कार्डको प्रयोगमार्फत एटीएम सेवा, किनमेल तथा विभिन्न डिजिटल भुक्तानी सेवा सजिलै उपयोग गर्न सकिनेछ । डिजिटल बैंकिङ सेवामा नवीनता ल्याउने र ग्राहक–केन्द्रित समाधान विस्तार गर्ने उद्देश्यअनुसार यो सेवा सुरु गरिएको आइसीएफसी फाइनान्सले जनाएको छ । प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्दै ग्राहक सन्तुष्टि अभिवृद्धि गर्नु संस्थाको प्रमुख लक्ष्य रहेको पनि कम्पनीले स्पष्ट पारेको छ । ‘एक्सप्रेसन डेबिट कार्ड’ आइसीएफसी फाइनान्सका ग्राहकहरूले आफ्नै इच्छाअनुसार अनुरोध गरी प्राप्त गर्न सक्नेछन् । कार्ड प्राप्त गर्ने प्रक्रिया तथा थप जानकारीका लागि नजिकको शाखा कार्यालय, आधिकारिक वेबसाइट वा सामाजिक सञ्जालमार्फत जानकारी लिन सकिनेछ ।
आइसिएफसि फाइनान्स फागुन ११ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने
काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले फागुन ११ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ बिक्री गर्ने भएको हो । फाइनान्सले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये ३० करोड रुपैयाँको ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत र २० करोड रुपैयाँको २ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बिक्री गरिने जनाएको छ । कम्पनीको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको ऋणपत्रमा लगानीकर्ताहरुले छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । फाइनान्सको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।
बोटलर्स नेपालका दुइटै कम्पनी नाफामा, १३.४७ प्रतिशतसम्म बढ्यो आम्दानी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा बोटलर्स नेपाल समूहका दुवै कम्पनी– बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) नाफामा फर्किएका छन् । अघिल्लो वर्षको यही अवधिमा दुवै कम्पनी घाटामा रहे पनि यस वर्ष पुस मसान्तसम्म आइपुग्दा नाफा धनात्मक भएको हो । बोटलर्स नेपाल (तराई) को चालु आवको दोस्रो त्रैमासमा खुद नाफा १३ करोड ५४ लाख ९४ हजार रुपैयाँ रहेको छ । जबकि गत वर्षको पुसमा यो कम्पनीको नाफा ११ करोड ८९ लाख ४१ हजार रुपैयाँ ऋणात्मक थियो । ६ महिनाको अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ३६ करोड ८६ लाख ४१ हजार रुपैयाँ रहेको छ । जबकी गत वर्षको पुसमा कम्पनीले २ अर्ब ९६ करोड ८६ लाख ९५ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको आम्दानी १३.४७ प्रतिशत अर्थात् ३९ करोड ९९ लाख ४६ हजार रुपैयाँ बढी गरेको हो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा ९५ करोड ३४ लाख ७७ हजार रुपैयाँ, अन्य सञ्चालन आम्दानी ५ करोड ६९ लाख ३७ हजार रुपैयाँ, सञ्चालन नाफा २१ करोड ८६ लाख ६८ हजार रुपैयाँ रहेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ६२ करोड ३५ लाख ३० हजार रुपैयाँ कुल नाफा, ३ करोड ५६ लाख ८७ हजार रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको थियो भने सञ्चालन नाफा २४ लाख ४५ हजार रुपैयाँ ऋणात्मक थियो । चालु आवको पुसमा कम्पनीको बिक्री तथा वितरण खर्च ५९ करोड ४ लाख १९ हजार रुपैयाँ, प्रशासनिक तथा सञ्चालन खर्च २० करोड १३ लाख २७ हजार रुपैयाँ र वित्त लागत ६ करोड ९८ लाख १३ हजार रुपैयाँ रहेको छ । १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ३ अर्ब ५३ करोड ५० लाख ७२ हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी २२४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३ हजार २२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५२ गुणा रहेको छ । बोटलर्स नेपाल (बालाजु) को चालु आवको दोस्रो त्रैमासमा खुद नाफा ३ करोड १२ लाख ६८ हजार रुपैयाँ रहेको छ । जबकि गत वर्षको पुसमा यो कम्पनीको नाफा २४ करोड ५० लाख ४२ हजार रुपैयाँ ऋणात्मक थियो । ६ महिनाको अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४ अर्ब ७५ करोड २३ लाख ३ हजार रुपैयाँ रहेको छ । जबकी गत वर्षको पुसमा कम्पनीले ४ अर्ब ३६ करोड ४३ लाख ५२ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले ८.८८ प्रतिशत अर्थात् ३८ करोड ७९ लाख ५१ हजार रुपैयाँ बढी आम्दानी गरेको हो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा १ अर्ब २२ करोड ६० लाख १९ हजार रुपैयाँ, अन्य सञ्चालन आम्दानी ५ करोड ७६ लाख ७० हजार रुपैयाँ, सञ्चालन नाफा १३ करोड ३८ लाख ७७ हजार रुपैयाँ रहेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ९३ करोड ६८ लाख २५ हजार रुपैयाँ कुल नाफा, १ करोड ६४ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको थियो भने सञ्चालन नाफा १२ करोड ६६ लाख ८८ हजार रुपैयाँ ऋणात्मक थियो । चालु आवको पुसमा कम्पनीको बिक्री तथा वितरण खर्च ७७ करोड १० लाख ३२ हजार रुपैयाँ, प्रशासनिक तथा सञ्चालन खर्च ३७ करोड ८७ लाख ८० हजार रुपैयाँ र वित्त लागत ७ करोड ९६ लाख ६० हजार रुपैयाँ रहेको छ । १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ५ अर्ब ७० करोड २६ लाख ६६ हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी १९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३ हजार २०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७९७ गुणा रहेको छ ।
सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । मंगलबारको तुलनामा दुवै धातुको मूल्य बुधबार पनि बढेको हो । बुधबार सुनकाे मूल्य ताेलामा ११ सय रूपैयाँले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार ६०० रुपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार २९० रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला सुन तीन लाख पाँच हजार ५०० रुपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार २४० रुपैयाँ कायम भएको थियो । गत सोमबार एक तोला सुन तीन लाख चार हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा बुधबार एक औँस सुन पाँच हजार ६० र त्यति नै चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
मस्कको एक्सएआई नेतृत्वमा संकट, दुई दिनमै दोस्रो संस्थापकको बहिर्गमन
काठमाडौं । एलन मस्कको कृत्रिम बौद्धिकता (एआई) कम्पनी एक्सएआईले दुई दिनभित्रै आफ्नो दोस्रो सह–संस्थापक गुमाएको छ । प्रभावशाली अनुसन्धानकर्ता जिमी बाले मंगलबार एक्स (पूर्व ट्वीटर) मा पोस्ट गर्दै आफ्नो प्रस्थानको घोषणा गरेका छन् । उनले मस्कलाई धन्यवाद दिँदै लेखेका छन्, ‘सुरुआतमा सह–संस्थापकका रूपमा सहयोग गर्न पाएकोमा कृतज्ञ छु ।’ बाको प्रस्थान एक दिनअघि मात्र अर्का सह–संस्थापक टोनी वूले पनि एक्सएआईबाट बाहिरिने घोषणा गरेपछि भएको हो । यसै महिनाको सुरुवातमा एक्सएआई मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्ससँग मर्ज भएको थियो । एक्सएआईका सह–संस्थापकहरूको यो बहिर्गमन त्यतिबेला आएको हो, जब स्पेसएक्स यस वर्षभित्रै आईपीओको तयारीमा छ । टोरन्टो विश्वविद्यालयका प्राध्यापक रहेका बालाई कम्पनीको ग्रोक संस्करण ४ एआई मोडेल विकासमा प्रभाव पार्ने महत्त्वपूर्ण अनुसन्धानका लागि श्रेय दिइएको थियो । बा र वू बाहेक इगोर बाबुस्किन, काइल कोसिक र क्रिस्टियन सेगेडी लगायत अन्य सह–संस्थापकहरू पनि मस्कको एआई परियोजनाबाट अलग भइसकेका छन् । गत महिना ग्रेग याङले लाइम रोगसँगको संघर्षमा ध्यान केन्द्रित गर्न आफ्नो भूमिकाबाट पछि हट्ने घोषणा गरेका थिए । सीएनबीसीले अवलोकन गरेको कागजातअनुसार सबै सेयर साटासाटमा आधारित उक्त कीर्तिमानी सम्झौताले स्पेसएक्सको मूल्यांकन १ ट्रिलियन डलर र एक्सएआईको २५० अर्ब डलर निर्धारण गरेको थियो । यसअघि मस्कले मार्च २०२५ मा घोषणा गरिएको अर्को सेयर–आधारित कारोबारमार्फत आफ्नो सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) लाई एक्सएआईमार्फत अधिग्रहण गरेका थिए । यी बहिर्गमनहरू त्यतिबेला आएका हुन्, जब एक्सएआई युरोप, एसिया र अमेरिकाका विभिन्न क्षेत्रमा नियामक निकायहरूको छानबिनको सामना गरिरहेको छ। छानबिन त्यसपछि सुरु गरिएको थियो, जब कम्पनीको ग्रोक एआई च्याटबट र तस्बिर निर्माण उपकरणले सहमति विना बनाइएका अश्लील प्रकृतिका तस्बिरहरू व्यापक रूपमा सिर्जना र प्रसारण गर्न अनुमति दिएको आरोप लागेको थियो । ती तस्बिरहरू वास्तविक व्यक्ति र बालबालिकासमेतका फोटोमा आधारित थिए । मस्कले २०२३ मा ओपनएआई र गुगलसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले ११ अन्य व्यक्तिसँग मिलेर एक्सएआई स्थापना गरेका थिए । कम्पनीले त्यसबेला आफ्नो वेबसाइटमार्फत ‘ब्रह्माण्डको वास्तविक स्वरूप बुझ्ने’ लक्ष्य राखेको जनाएको थियो ।