बालेनको घरमा चोरी गर्ने ३ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता बालेन्द्र शाहका घरमा चोरी गर्ने तीन जना व्यक्ति पक्राउ परेका छन् । ४२ वर्षीय मनिष राजवाहक, ४६ वर्षीय खिमबहादुर खड्का र ४५ वर्षीय सञ्जय श्रेष्ठ पक्राउ परेका हुन् । राजवाहक भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार रहेका थिए । काठमाडौं महानगरपालिका ४ को चप्पल कारखानास्थित सीता गुरुङको घरमा डेरा बसेका बालेन्द्र शाहको कोठाबाट चोरी भएको थियो । राजवाहकले पूर्वमेयर शाहको घरमा चोरी स्वीकार गरेको जिल्ला प्रहरी परिसर, काठमाडौं प्रवक्त पवनकुमार भट्टराईले जानकारी दिए । कारागारबाट फरार रहेपछि राजवाहकले पाँच ठाउँमा चोरी गरेका थिए । यसअघि पनि विभिन्न समयमा राजवाहकविरुद्ध मुद्दा चलिसकेको छ । १० वर्षअघि कालीमाटी प्रहरीमा मुद्दा दर्ता भएको थियो । त्यसैगरी, महाराजगञ्ज प्रहरी वृत्तमा चोरी अभियोगमा मुद्दा दर्ता भएको थियो ।
एशियन फर्मास्युटिकल्सको आम्दानी सवा २ अर्ब नाघ्यो, मर्जरपछि बैंकको ऋण बढ्यो
काठमाडौं । विभिन्न प्रकारका औषधी उत्पादन गर्दै आएको एशियन फर्मास्युटिकल्स प्रालिले एक वर्षमै सवा दुई अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा २ अर्ब २६ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो, जुन अघिल्लो वर्षको तुलनामा १२.१९ प्रतिशत अर्थात् २४ करोड ६० लाख रुपैयाँले वृद्धि भएको हो । सन् २०२४ मा कम्पनीले २ अर्ब १ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् १९९७ मा स्थापना भएको एशियन फर्मास्युटिकल्सले दुई दशकभन्दा बढी समयदेखि औषधी उत्पादन तथा बिक्री गर्दै आएको छ । यस अवधिमा कम्पनीले सुदृढ आपूर्ति शृंखला, व्यापक वितरण सञ्जाल तथा अनुभवी सञ्चालक समिति र व्यवस्थापन टोली विकास गरेको जनाएको छ । कम्पनीले एन्टिबायोटिक, जठरान्त्र प्रणालीसम्बन्धी औषधि (एसिड स्राव नियन्त्रण), हाडजोर्नी तथा युरिक एसिडसम्बन्धी औषधि, पेनकिलर तथा एन्टी–इन्फ्लेमेटरी, दम, एलर्जी तथा विभिन्न प्रकारका भिटामिन उत्पादन गरी बजारमा आपूर्ति गर्दै आएको छ । विगत वर्षहरूमा कम्पनीको आम्दानी निरन्तर बढ्दो क्रममा देखिएको छ । सन् २०२३ मा १ अर्ब ८८ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ६७ करोड रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले जनाएको छ । लामो सञ्चालन अनुभव, स्थिर आम्दानी वृद्धि र सुधारिँदो वित्तीय सूचकहरूले कम्पनीको समग्र वित्तीय अवस्था सुदृढ रहेको उल्लेख गरिएको छ । साथै, कम्पनीको सञ्चालन मुनाफा मार्जिन (ओपीएम) करिब १५ देखि १६ प्रतिशतको दायरामा स्थिर रहेको जनाएको छ । उत्पादन विविधताका हिसाबले पनि कम्पनी बलियो देखिएको छ । एशियन फर्मास्युटिकल्सले जठरान्त्र प्रणालीसम्बन्धी, मानसिक रोगसम्बन्धी, एन्टिबायोटिक, अर्थोपेडिक तथा भेटेरिनरी औषधिसहित विभिन्न उपचारात्मक क्षेत्र समेट्ने उत्पादन गर्दै आएको छ । कम्पनीले सञ्चालन अवधिमा ६ वटा विभिन्न डिभिजनमार्फत औषधी उत्पादन तथा बिक्री गर्दै आएको छ । विशेषगरी जठरान्त्र र मानसिक रोगसम्बन्धी औषधीमा कम्पनीको राम्रो बजार उपस्थिति रहेको र यसले भविष्यमा पनि आम्दानीको दिगोपनालाई समर्थन गर्ने कम्पनीले दाबी गरेको छ । कम्पनीको दर्ता कार्यालय तथा उत्पादन इकाइ रूपन्देहीको खुनसा–९ मा अवस्थित छ । कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुतानन्द खनाल रहेका छन् भने कार्यकारी निर्देशकका रूपमा शंकर घिमिरे कार्यरत छन् । सेयर स्वामित्व संरचनामा खगिसरा घिमिरे कम्पनीकी सबैभन्दा ठूलो सेयरधनी हुन्, जसको करिब १०.३ प्रतिशत हिस्सा रहेको छ । बाँकी सेयर २१ जना अन्य सेयरधनीको स्वामित्वमा रहेको कम्पनीले जनाएको छ । स्थापनाकालदेखि नै गुणस्तरीय औषधि उत्पादनमा जोड दिँदै आएको एशियन फर्मास्युटिकल्सले स्वदेशी औषधि उद्योगलाई सबल बनाउँदै आयात प्रतिस्थापनमा योगदान पुर्याउँदै आएको छ । यद्यपि पछिल्ला वर्षहरूमा बढ्दो प्रतिस्पर्धा, आयात तथा नियामक जोखिमले कम्पनीको वित्तीय संवेदनशीलतालाई असर पार्न सक्ने देखिएको छ । सन् २०२४ मा कम्पनीले अत्यधिक ऋण बोकेको सहायक तथा भगिनी संस्था युनिभर्सल फर्मुलेसन्स प्रालिलाई गाभेपछि कम्पनीको बैंक ऋण उल्लेख्य रूपमा बढेको छ । हाल कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ८६ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ । जबकि मर्जरअघि कम्पनीको ऋण १ अर्ब ५० करोड ८२ लाख रुपैयाँ मात्रै थियो । कम्पनीका अनुसार हाल १ अर्ब ७ करोड रुपैयाँ दीर्घकालीन र ७९ करोड ५० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । अधिग्रहण गरिएको प्लान्टमा थप पुँजीगत खर्च योजना अघि बढाइएकाले आगामी दिनमा ऋणस्तर अझै बढ्न सक्ने सम्भावना रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार घरेलु औषधी उद्योग अत्यन्त प्रतिस्पर्धी र खण्डित रहेको छ । हाल नेपालमा ५० भन्दा बढी सक्रिय औषधी उत्पादक कम्पनीहरू सञ्चालनमा रहेका छन् । पछिल्ला वर्षहरूमा अनुसन्धान तथा विकास सुविधासहित नयाँ क्षमता विस्तारमा समेत लगानी बढ्दै गएकाले प्रतिस्पर्धा थप तीव्र हुने, मूल्यमा दबाब बढ्ने र उद्योगको समग्र मुनाफा मार्जिनमा असर पर्ने सम्भावना रहेको कम्पनीले जनाएको छ । यससँगै औषधी उत्पादनमा कम आयात अवरोध (लो ड्युटी प्रोटेक्सन) रहेकाले सस्ता आयातित औषधीसँग घरेलु उत्पादकहरूले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ, जसले दीर्घकालीन विस्तार क्षमता र नाफामा चुनौती थप्ने देखिएको छ । कच्चा पदार्थका लागि आयातमा निर्भरता पनि एशियन फर्मास्युटिकल्सका लागि अर्को चुनौतीको विषय बनेको छ । कम्पनी सक्रिय औषधी तत्व (एपीआई), एक्सिपिएन्ट, प्याकिङ सामग्रीलगायत सबै कच्चा पदार्थ आयातमा निर्भर छ, जसले आपूर्ति शृंखला अवरुद्ध हुने जोखिम र विदेशी मुद्रा उतारचढावको असर कम्पनीले वहन गर्नुपर्ने अवस्था सिर्जना गर्छ ।
प्रतिनिधिसभा निर्वाचन : आयोगले नौ प्रकारका सामग्री पठाउने
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ । आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका निर्वाचन सामग्री जिल्लामा व्यवस्थापन गर्ने गरी तयारी गरेको सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए । आयोगबाट प्रत्येक निर्वाचन क्षेत्रमा पठाइने सामग्रीमा तालिम र मतदान केन्द्रका लागि सुरक्षणशील, छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, प्याडको मसी, दुई प्रकारका स्वस्तिक छाप र मतपेटिका स्टीकर रहेका उनले उल्लेख गरे । यसैगरी जिल्लामा व्यवस्थापन गरिने निर्वाचन सामग्रीमा सिलिङ बक्स, अनुसूची फारम, पुसपिन, डायरी (पोल बुकको काम गर्ने), मार्कर पेन, स्केल, स्टापलर मेसिन, स्टाप्लर पिन, स्कीसर्स, ग्लुस्टिक, सोसर (काउन्टिङ डम्पर), पञ्चिङ मेसिन, परिचयपत्र होल्डर, भित्री र बाहिरी कार्ड, पुरुष र महिला कार्ड, मतदाता क्रमसङ्ख्या, मतदान केन्द्र कार्ड, प्लास्टिक झोला, बोरा, सुतली र प्याकिङ टेप रहेका छन् । त्यस्तै नेपाली कागजको खाम (१० बाइ १५ इन्च), नेपाली खाम कपडा भएको (निबिदा मतपत्र राख्ने), सेतो कागज (ए४) ३० पाना, रेकर्ड फाइल (फित्तासहित), धागो, सियो, खाप्सियो, फलाटिन कपडा, सलाइ, कोरा कपडा (दुई मिटरको टुक्रा), जेल पेन कालो र रातो एवं चार वटाको मैनबत्ती प्याकेट पनि जिल्लामै व्यवस्थापन गरिने निर्वाचन सामग्रीका रुपमा सूचीकृत गरिएको आयोगले जनाएको छ ।
कपिलवस्तुमा फरार रहेका चार जना पक्राउ
काठमाडौं । कपिलवस्तु प्रहरीले विभिन्न मुद्दामा फरार रहेका चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सवारी ज्यान र गर्भ संरक्षण कसुरसहितको मुद्दामा उनीहरू पक्राउ परेका हुन् । प्रहरीले फरार प्रतिवादीहरू मायादेवी ५ लुकेर बसेको अवस्थामा उनीहरूलाई प्रहरी गरेको सूचना अधिकारी रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।
नेपाल व्यवस्थापन संघको सभापतिमा हेमकुमारी अधिकारी, यस्तो बन्यो नयाँ कार्यसमिति
काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान) को ४५औँ वार्षिक साधारण सभाबाट हेमकुमारी अधिकारीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत गुणराज भट्टका अनुसार माघ २४ गते सम्पन्न साधारण सभाले संघको २२औँ प्रबन्ध समिति निर्विरोध निर्वाचित भएका हुन् । भट्टका अनुसार उपसभापतिमा कर्मचारी सञ्चय कोषका प्रशासक जितेन्द्र धिताल र कृष्णप्रसाद आचार्य निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा इन्द्रकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री निर्विरोध निर्वाचित भएका छन् । यस्तै, संघको कार्यकारी सदस्यमा मधु पौडेल, बुद्धि कुमार मल्ल, अनु जोशी, बाबुराम शर्मा, अरुण कुमार सिग्देल, धर्मानन्द अवस्थी, कृष्णप्रसाद शर्मा र कृष्णकुमार भट्टराई निर्विरोध निर्वाचित भएका छन् । संघको संस्थागत सदस्यमा साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) महेश शर्मा ढकाल, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनाल तथा नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की चयन भएका छन् । यसै अवसरमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको प्रमुख आथित्यतामा नेशनल म्यानेजमेन्ट कन्भेन्सन-२०२६ पनि सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश राउतले देशको समग्र विकास र सुशासनका लागि दक्ष तथा उत्तरदायी व्यवस्थापन अपरिहार्य रहेको बताए । कन्भेन्सनअन्तर्गत पहिलो सत्र ‘अल्टरनेटिभ फाइनान्सिङ इन नेपाल’ विषयमा केन्द्रित रहेको थियो । साथै नेपाल व्यवस्थापन संघले प्रदान गर्दै आएका प्रतिष्ठित अवार्डहरू पनि वितरण गरिएको छ । यस वर्षको म्यानेजर अफ द इयर अवार्ड नीलेश मान सिंह प्रधानले प्राप्त गरेका छन् भने लाइफटाइम कन्ट्रिब्यूसन अवार्ड डा. युवराज खतिवडालाई प्रदान गरिएको छ । यस्तै, म्यान-सिटिजन्स एस्पाइरिङ अवार्ड-२०२५ गौरव उप्रेतीलाई प्रदान गरिएको छ ।
बीमा प्राधिकरणले स्वीकृत गर्यो २२ बीमा कम्पनीको वित्तीय विवरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले २२ वटा बीमा कम्पनीहरूको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गरेको छ । प्राधिकरणले पुस मसान्तसम्मको समयावधिमा १२ जीवन बीमा कम्पनी, ७ वटा निर्जीवन बीमा कम्पनी र ३ वटा लघु बीमा कम्पनीहरूको वित्तीय विवरण स्वीकृत गरेको हो । बीमा ऐन, २०७९ मा बीमकले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात र नाफा नोक्सानको विवरण तयार गरी अर्को आर्थिक वर्षको ६ महिनाभित्र तोकिएको ढाँचामा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम बीमकहरूबाट प्राप्त वित्तीय विवरण प्राधिकरणले स्वीकृत गरेको हो । वित्तीय विवरण स्वीकृत हुने जीवन बीमा कम्पनीहरूमा सिटिजन्स लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् । त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन, मेट लाइफ र हिमालयन लाइफको वित्तीय विवरण प्राधिकरणद्वारा स्वीकृत भएको छ । वित्तीय विवण स्वीकृत भएका निर्जीवन बीमा कम्पनीहरुमा आईजिआई प्रुडुन्सियल, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी रहेको छ । त्यस्तै, गार्डियन माइक्रो लाइफ, प्रोटेक्टिभ माइक्रो र लिवर्टी माइक्रोको वित्तीय विवरण स्वीकृत भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणबाट इजाजतपत्र लिएका जीवन बीमा कम्पनी १४ वटा, निर्जीवन बीमा कम्पनी १४ वटा, लघु बीमा कम्पनी ७ वटा र पुनर्बीमा कम्पनी २ वटा गरी जम्मा ३७ वटा बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् ।
स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने कांग्रेस सभापति थापाको घोषणा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा थापाले बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने घोषणा गरेका हुन् । थापाले आफू स्वास्थ्यमन्त्री हुँदा सुरु भएको कार्यक्रम अहिले बन्द हन्छ कि भन्ने अवस्थामा पुगेको बताउँदै कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पार्टीले गहिरो छलफल अध्ययन गरिसकेको बताएका छन् । कार्यक्रम प्रभावकारी बनाउन थापाले केही एजेण्डा सार्वजनिक गरेका छन् । जसमा प्रत्येक नेपाली नागरिकलाई बीमामा आवद्ध गराउनै पर्ने उल्लेख गरेका छन् । सबै नागरिक आवद्ध नगराउँदासम्म यो कार्यक्रम चल्न नसक्ने उनको दाबी छ । उनी भन्छन्, ‘सबैलाई बीमामा यसमा आवद्ध गर्नुपर्छ र त्यसपछि एयर मार्क गरेर रक्सी चुरोट जस्ता थुप्रै कुरामा ट्याक्स लगाउनु पर्छ । जुन पैसा बीमाको लागि खर्च हुने गरी काम गर्नुपर्छ ।’ थापाका अनुसार कार्यक्रम प्रभावकारी बनाउन गर्नुपर्ने दोस्रो काममा जति पनि सामाजिक सुरक्षा, वा स्वास्थ्यसँग जोडिएका कार्यक्रम छन् ती सबै कार्यक्रमलाई एकीकृत गरेर सुदृढ बनाउनुपर्ने हुन्छ । ‘कार्यक्रम प्रभावकारी बनाउन तीन तहको सरकारलाई एकठाउँमा ल्याएर काम गराउनुपर्ने हुन्छ,’उनी भन्छन्, ‘प्राइमरी, सेकेन्डरी, ट्रसरी सेवा दिने फरक संस्थाहरूलाई कसर एक ठाउँमा ल्याउने, प्रिभेन्सन, प्रोभेन्सनका कार्यक्रमलाई पनि एकै ठाउँमा ल्याएर बाँध्नुपर्ने छ यसरी होलेस्टीक अप्रोचबाट हेर्यौं भने बल्ल बीमाको कार्यक्रम सफल हुन सक्छ ।’ थापाका अनुसार सरकारी र निजी सबै ठाउँबाट बीमाको सेवा सुविधा पाउने बनाउन सक्नुपर्नेछ । ‘बीमा कार्यक्रममा धेरै चुहावट छ यो रोक्नका लागि डिजिटल सिस्टम कसरी बनाउन सकिन्छ भनेर हामीले काम गरेका छौं,’ थापाले लेखेका छन्, ‘सेवालाई चुस्तदुरुस्त कसरी बनाउने, दाबीलाई कसरी ठिक बनाउने समयमा दाबी गरेकै समयमा भुक्तानी गर्ने, दोहोरो पन हुन नदिने यि सबै कुराको लागि बीमा बोर्डलाई बलियो कसरी बनाउने, यसको संरचनागत सुधार कसरी बनाउने भन्ने विषयमा गहिरो छलफल गरेका छौं ।’ यति काम गरिसकेपछि अबको निर्वाचन पछाडि पाँच वर्ष सरकार चल्दै गर्दा अहिलेको अस्तव्यस्त बीमा सच्चिने उनको दाबी छ । नेपाली नागरिकले आर्थिक अभावमा उपचारबाट वञ्चित हुनुपरेका, कतिपयले घर सम्पत्ति बेचेर घरवारविहीन हुनुपरेको अवस्थाबारे आफू जानकार रहेको बताउँदै थापाले अब बीमालाई सुधार गरी बीमाको कभरेज बढाउने बताए । एउटा नेपाली नागरिकले स्वास्थ्य बीमा लिसकेपछि जति खर्च लागेपनि केही बाहेक सबै रोगको उपचार बीमाले कभरेज गर्ने ठाउँसम्म पुर्याउन सकिने उनको दावी छ ।
ह्याम्स अस्पतालको शौचालयमा फेला पर्यो सुनको औँठी
काठमाडौं । मण्डिखाटारस्थित ह्याम्स अस्पतालको महिला शौचालयमा सुनको औँठी फेला परेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार अस्पतालको महिला शौचालयमा सुनको बेरुवा औँठी र एउटा थैली भेटिएपछि आवश्यक प्रक्रिया पूरा गरी प्रहरी वृत्त महाराजगञ्जमा बुझाइएको छ । परिसरले उक्त औँठी तथा थैलीका वास्तविक धनीलाई आवश्यक प्रमाणसहित प्रहरी वृत्त महाराजगञ्जमा सम्पर्क गर्न अनुरोध गरेको छ । प्रहरीका अनुसार बिरामी तथा आफन्तहरूसँग सोधपुछ गर्दा कसैले पनि ती सामानहरू आफ्नो नभएको बताएपछि सुरक्षित रूपमा प्रहरी कार्यालयमा राखिएको हो ।