विकासन्युज

बीमाको दायित्व बजेटभन्दा दोब्बर बढी, स्रोत सुनिश्चित नगरी खर्च नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमतिबिना खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको बताएकी छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गौतमले स्वास्थ्य बीमाका लागि चालु आर्थिक वर्षमा विनियोजित १० अर्ब रुपैयाँ खर्च भइसकेको जानकारी दिइन् । उनले बीमा बोर्डले स्रोतको सुनिश्चितता नगरी कार्यक्रम सञ्चालन गर्दा हाल वार्षिक २४ अर्ब रुपैयाँ बराबरको दायित्व सिर्जना भएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । सरकारले रुखबाट पैसा नल्याउने र नागरिकले दुःखले कमाएर तिरेको करबाटै स्वास्थ्य सेवाको भुक्तानी हुने भएकाले बजेटको परिधिभित्र रहेर खर्च गर्नुपर्नेमा उनले जोड दिइन् । स्रोत सुनिश्चित नगरी जति मन लाग्यो त्यति सेवा दिँदै जाँदा प्रणालीमा समस्या आएको उनको भनाइ छ । उनले भनिन्, 'बीमाको पैसा मन्त्रालयले दिएको छैन भनेर समस्या देखाउनु भयो । अब मैले नेपाल सरकारले बीमाका लागि यो आर्थिक वर्षमा १० अर्ब रुपैयाँ छुट्याएको रहेछ । वार्षिक बजेटको परिधिभित्र रहेर हामीले कार्यक्रम सञ्चालन गर्नुपर्छ । त्यसभन्दा बाहिर जान पाइँदैन । त्यसभन्दा बाहिर जानुपर्‍यो भने अर्थ मन्त्रालयसँग सहमति लिनुपर्छ । अब हाम्रो बीमा बोर्डले स्रोतको सहमति पनि नलिने, स्रोत सुनिश्चित पनि नगर्ने र रकम खर्च गर्दै जाँदा दायित्व यति बढेको छ कि वार्षिक २४ अर्ब रुपैयाँ बराबरको दायित्व सिर्जना भएको छ ।' मन्त्री गौतमले संविधानले निःशुल्क स्वास्थ्य सेवालाई नागरिकको आधारभूत अधिकारका रूपमा व्याख्या गरेको र यसको कार्यान्वयनको मुख्य जिम्मेवारी स्थानीय सरकारको भएको उल्लेख गरिन् । स्थानीय तहले स्वास्थ्य सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउनुपर्ने धारणा राखिन् । स्वास्थ्य क्षेत्रको दिगो व्यवस्थापनका लागि वित्तीय अनुशासन र स्रोतको उचित बाँडफाँड आवश्यक रहेको उल्लेख गर्दै मन्त्री गौतमले बीमा बोर्डलाई जिम्मेवार बन्न आग्रह गरिन् ।

स्वास्थ्य बीमाको भुक्तानीमा समस्या देखिए महानगरले व्यहोर्ने मेयर महर्जनको घोषणा

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरपालिकाले आफैं सो रकम तिर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बीमाबापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको भन्दै मेयर महर्जनले सरकारको ध्यानाकर्षण गराए । कुनै कारणवश भुक्तानी नभएर सेवा बन्द गर्नुपर्ने अवस्था आएमा त्यसको प्रत्यक्ष जिम्मेवारी र आलोचना आफूले व्यहोर्नुपर्ने उल्लेख गरे । महानगर प्रमुख महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा महानगरलाई भुक्तानीको जिम्मेवारी सुम्पेमा महानगरपालिकाले नै उक्त दायित्व पूरा गर्ने स्पष्ट पारे । मेयर महर्जनले पाटन अस्पतालकै प्राविधिक सल्लाह र सुझावअनुसार नयाँ स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको र सो केन्द्र निकट भविष्यमै सञ्चालनमा आउने जानकारी दिए । उनका अनुसार यो केन्द्र सञ्चालनमा आएपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानमार्फत नगरवासीले गुणस्तरीय सेवा प्राप्त गर्नेछन् र ललितपुर महानगर तथा पाटन अस्पतालबीचको यो सहकार्य मुलुकका अन्य ७५३ स्थानीय तहका लागि उदाहरणीय अभ्यास हुनेछ । उनले भने, 'पाटन अस्पतालकै सुझाव र सल्लाहबमोजिम आवश्यक सुविधाहरू जडान गरिएको अर्को स्वास्थ्य केन्द्र निर्माण गरिरहेका छौं । निकट भविष्यमै सञ्चालनमा ल्याउने तयारी छ । त्यो केन्द्र खुलेपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानअन्तर्गत हामीले अझ राम्रो सेवा प्रवाह गर्न सक्छौं । मुलुकका ७५३ स्थानीय पालिकामध्ये ललितपुर महानगरपालिकाले पाटन अस्पतालसँग सहकार्य गरेर अघि बढाएको यो काम सम्पूर्ण पालिकाका लागि असल अभ्यास बनेको छ ।' मेयर महर्जनले ७५३ पालिकामध्ये ललितपुर महानगर उदाहरणीय पालिका बन्न सफल भएको पनि बताए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड एनसीएचएलमा आबद्ध, डिजिटल भुक्तानी सेवा सुरु

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग सम्झौता गरी भुक्तानीसम्बन्धी कारोबारलाई स्वचालित बनाउँदै डिजिटल माध्यमबाट भुक्तानी संकलन तथा वितरण सेवा सुरु गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा केयूकेएलका कार्यकारी निर्देशक अशोककुमार पौडेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतापछि केयूकेएलको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिएको छ । यसमार्फत केयूकेएलले आईपीएस र आरपीएस चेक प्रणाली प्रयोग गरी तलब भुक्तानी, भेन्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषलगायत विभिन्न प्रकारका भुक्तानी कारोबार सञ्चालन गर्न सक्नेछ । उक्त भुक्तानी केयूकेएलको बैंक खाताबाट सिधै लाभग्राही तथा ग्राहकको खातामा जम्मा हुने व्यवस्था गरिएको छ । साथै, आगामी दिनमा अन्य भुक्तानी सेवाहरू पनि क्रमिक रूपमा लागू गर्ने योजना रहेको जनाएको छ । एनसीएचएलका भुक्तानी प्रणालीहरूलाई एकीकृत इन्टरफेसका रूपमा ओपन एपीआई अवधारणामा विकास गरिएको एनपीआईमा हाल ५३ वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन् । साथै, भुक्तानी सेवा प्रदायक, रेमिटेन्स कम्पनी, लघुवित्त, मर्चेन्ट बैंक तथा सरकारी तथा अर्धसरकारी संस्थासहित ११० भन्दा बढी गैर–बैंकिङ संस्था इन्डाइरेक्ट तथा प्राविधिक सदस्यका रूपमा आबद्ध छन् । यस प्रणालीमार्फत सदस्य संस्थाहरूले आईपीएस र चेक क्लियरिङ सेवाको प्रयोग गर्न सक्नेछन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उपत्यकाभित्र खानेपानी तथा ढल व्यवस्थापन सेवाको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी पाएको छ । सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यसहित संस्थाले डिजिटाइजेशन अभियानलाई तीव्रता दिँदै आफ्नो बिलिङ तथा भुक्तानी प्रक्रिया स्वचालित बनाउने पहल थालेको जनाएको छ ।

माघ २५ देखि सुजुकीको विन्टर सर्भिस क्याम्प सुरु, ८ ग्राहकले ’स्टेकेसन प्याकेज’ जित्ने मौका पाउने

काठमाडौं । सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन तथा नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आगामी माघ २५ देखि २७ गतेसम्म देशव्यापी रूपमा ‘विन्टर फ्री सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । जाडो मौसमका कारण सवारी साधनमा देखिन सक्ने समस्यालाई ध्यानमा राख्दै कम्पनीले ग्राहकहरूलाई समयमै गाडी जाँच गराउन प्रोत्साहन गरेको हो । चिसो मौसमले गाडीको कार्यक्षमतामा असर पार्न सक्ने भएकाले यस क्याम्पमार्फत ग्राहकलाई सचेत गराउने र गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ । क्याम्पअन्तर्गत सुजुकीका ग्राहकहरूले निःशुल्क सवारी जाँच, मर्मत–सम्भारमा विशेष छुट तथा चिसो मौसममा गाडी सुरक्षित राख्ने विषयमा विशेषज्ञको सल्लाह प्राप्त गर्नेछन् । सर्भिस क्याम्पका क्रममा विभिन्न छुट र अफरका साथै आकर्षक उपहारको अवसर पनि प्रदान गरिनेछ । सहभागी ग्राहकहरूमध्ये आठ भाग्यशाली जोडीले नगरकोटस्थित भङ्गेरी दरबार रिसोर्टमा ‘स्टेकेसन प्याकेज’ प्राप्त गर्नेछन् । क्याम्पमा निःशुल्क एसी र हिटर जाँच, ब्याट्री परीक्षण, एसडीटी जाँच, सम्पूर्ण गाडीको विस्तृत निरीक्षण, लेबर चार्जमा २० प्रतिशतसम्म छुट तथा स्पेयर पार्ट्स र इन्जिन आयलमा १० प्रतिशतसम्म छुट उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो ‘विन्टर फ्री सर्भिस क्याम्प’ नेपालभर रहेका सुजुकीका सबै सर्भिस सेन्टरहरूमा सञ्चालन हुनेछ । देशभर ५४ वटा सर्भिस आउटलेट रहेको सुजुकी नेपालकै सबैभन्दा ठूलो सर्भिस नेटवर्क भएको ब्रान्डका रूपमा परिचित रहेको छ ।

रुसी तेल र अमेरिकी प्रतिबन्ध : भारतको बदलिँदो व्यापार रणनीतिले रुसलाई २० अर्ब डलर घाटा

काठमाडौं । भारत अहिले निर्णायक मोडमा उभिएको छ, जहाँ विवादको केन्द्रमा रुसी तेल परेको छ । अमेरिका रुसबाट हुने तेल खरिद पूर्ण रूपमा रोक्न भारतमाथि दबाब बढाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रतिबन्ध र कडाइका उपायमार्फत रुसी तेललाई निशाना बनाइएपछि त्यसको प्रत्यक्ष असर भारतको खरिद नीतिमा देखिन थालेको हो । नचाहँदा–नचाहँदै भारतले मस्कोसँगको तेल आयात घटाउन बाध्य भएको छ । यो द्वन्द्वबीच सबैभन्दा ठूलो प्रश्न उठेको छ—यदि भारतले रुसी तेल किन्न छाड्यो भने त्यसको असर रुसमाथि कति पर्छ ? समाचार एजेन्सी रोयटर्सले विश्लेषक र व्यापारीहरूलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको छ । उनीहरूका अनुसार यदि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतलाई रुसी कच्चा तेलको खरिद घटाउन वा पूर्ण रूपमा रोक्न बाध्य पार्न सफल भए भने रुसको तेल आम्दानीमा ठूलो गिरावट आउन सक्छ । यस्तो अवस्थामा मस्कोले अन्य ग्राहक तान्नका लागि तेलको मूल्य घटाउनुपर्ने हुन सक्छ । ट्रम्पले अमेरिका–भारत व्यापार सम्झौतामा भारतले रुसी तेल आयात रोक्ने प्रावधान समावेश रहेको दाबी गरेका छन् । अर्कोतर्फ वासिङ्टन युक्रेन शान्ति वार्ताका बीच मस्कोमाथि दबाब बढाइरहेको छ । यद्यपि भारतले बिहीबार स्पष्ट पारेको छ कि १.४ अर्ब जनसंख्याका लागि ऊर्जा सुरक्षा सुनिश्चित गर्नु उसको सर्वोच्च प्राथमिकता हो । पेट्रोलियम पदार्थ खरिदसम्बन्धी दृष्टिकोण पनि यही आधारमा तय हुन्छ । भारतले ऊर्जा सुरक्षाको आवश्यकता र सस्तो कच्चा तेलमा पहुँचको महत्त्व देखाउँदै आधिकारिक रूपमा खरिद बन्द गरेको छैन । तर पछिल्ला तथ्यांकले भारतीय रिफाइनरीहरूले थप सतर्क नीति अपनाएको संकेत गर्छन् । यसको असर रूसको आम्दानीमा देखिन थालिसकेको छ । रोयटर्सको गणनाअनुसार डिसेम्बरमा भारतको रुसी तेल आयात नोभेम्बरको तुलनामा २२ प्रतिशतले घटेर प्रतिदिन १३.८ लाख ब्यारेलमा सीमित भयो । यो जनवरी २०२३ यताकै सबैभन्दा न्यून स्तर हो । भारतको कुल तेल आयातमा रुसको हिस्सा घटेर २७.४ प्रतिशतमा झरेको छ भने ओपेकको हिस्सा बढेर ५३.२ प्रतिशत पुगेको छ । यो अवस्था जुन २०२५ मा करिब प्रतिदिन २० लाख ब्यारेलको शिखरपछि देखिएको हो । वार्षिक रूपमा रुसलाई १५ देखि २० अर्ब डलरको घाटा हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।  वोर्टेक्स कन्सल्टेन्सीका डेभिड वेचले रोयटर्ससँग कुरा गर्दै भनेका छन् कि अब यदि रुसी तेलको खरिदमा थप कटौती भयो भने त्यसको प्रभाव निकै गम्भीर हुनेछ । कारण हो—रुसका लागि ठूलो मात्रामा तेल किन्ने वास्तविक वैकल्पिक देश अहिले चीन मात्रै हो। तर चीनले पनि प्रतिबन्धमा परेको कच्चा तेल कति मात्रामा लिने भन्नेमा आफ्नै सीमा र सावधानीहरू छन् । विश्लेषकहरूका अनुसार बढ्दो छुट र खरिदकर्ताको संख्यामा आएको कमीले रुसी तेलको मूल्य ऐतिहासिक न्यून स्तरतर्फ धकेलिरहेको छ । कमजोर ऊर्जा राजस्वका कारण मस्कोको बजेटसमेत दबाबमा परेको छ । युक्रेन युद्धसँग सम्बन्धित करिब ३० हजार पश्चिमी प्रतिबन्ध रुसले सन् २०२४ यता सामना गरिरहेको छ । यद्यपि उसले युरोपबाट चीन, भारत र टर्कीतर्फ तेल प्रवाह मोड्न सफलता पाएको छ । तर पछिल्ला महिनाहरूमा टर्कीले पनि खरिद घटाएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार डिसेम्बरमा रुसको कुल तेल निर्यात प्रतिदिन ४९.१ लाख ब्यारेल थियो । यसमध्ये चीनको हिस्सा करिब २३ लाख ब्यारेल प्रतिदिन रहेको छ । रुसको सरकारी फाइनान्सियल युनिभर्सिटीका इगोर युशकोभले भने, ‘यदि भारतले आयातमा ठूलो कटौती गर्‍यो भने रुसले सम्भवतः अझ बढी छुट दिएर आपूर्ति चीनतर्फ मोड्नुपर्नेछ वा उत्पादन घटाउनुपर्नेछ ।’ उनका अनुसार उत्पादन र निर्यात घट्दा तेलको अभाव सिर्जना हुन सक्छ । ‘त्यसैले रुसी तेल आयातमाथि अमेरिकाले पूर्ण प्रतिबन्ध लगाउने अवस्था हामी देख्दैनौं । त्यसो गर्दा अमेरिकालाई नै उच्च तेल मूल्यको नोक्सानी बेहोर्नुपर्नेछ,’ युशकोभले भने । सूत्रहरूले रोयटर्सलाई बताएअनुसार भारतीय रिफाइनरीहरूलाई रुसी तेल खरिद बन्द गर्न कुनै औपचारिक निर्देशन दिइएको छैन । तर विद्यमान सम्झौता अन्त्य गर्न समय लाग्नेछ । व्यापारीहरूका अनुसार अप्रिलमा आयात अझ घट्न सक्छ । किनभने रुसी समर्थन प्राप्त नायरा इनर्जीले एक महिनाका लागि मर्मत–सम्भार गर्नेछ । यसको क्षमता प्रतिदिन ४ लाख ब्यारेल रहेको छ । अप्रिलपछि व्यापार प्रवाह रुस–युक्रेन शान्ति वार्ताको दिशातर्फ र भारतको समग्र रणनीतिक दृष्टिकोणमा निर्भर रहने अनुमान गरिएको छ । ट्रम्पले भारतले रूसी कच्चा तेलको सट्टा अमेरिका वा भेनेजुएलाबाट खरिद बढाउन सक्ने सुझाव दिएका छन् । तर अक्सफोर्ड इकोनोमिक्सकी एलेक्जेन्ड्रा हरमनका अनुसार अमेरिकी कच्चा तेलको गुणस्तर फरक भएकाले यसले सीधै रुसी ग्रेडको विकल्प दिन सक्दैन । भेनेजुएलाको निर्यात क्षमता पनि सीमित छ । यसको सट्टा साउदी अरब, यूएई र इराकबाट कच्चा तेल आयात बढी व्यवहारिक विकल्प हुन सक्ने विश्लेषकहरूको भनाइ छ । यद्यपि भू–राजनीतिक दबाबका बाबजुद भारी छुटका कारण रुसी तेल अझै पनि भारतीय खरिदकर्ताका लागि आकर्षक रहन सक्ने उनीहरूको निष्कर्ष छ ।

फोनलोन र कुमारी बैंकद्वारा ‘मल्टि डिस्बर्सल’ सुविधा सार्वजनिक

काठमाडौं । फोनलोन र कुमारी बैंक लिमिटेडको सहकार्यमा ‘कुमारी फोनलोन’ अन्तर्गत नयाँ ‘मल्टि डिस्बर्सल’ सुविधा सार्वजनिक गरिएको छ । डिजिटल बैंकिङलाई अझ लचिलो, सहज तथा ग्राहक–केन्द्रित बनाउने उद्देश्यसहित उक्त सेवा सञ्चालनमा ल्याइएको हो । यसअघि एक पटकमा एउटा मात्र कर्जा लिन मिल्ने व्यवस्थाका कारण ग्राहकले स्वीकृत सम्पूर्ण रकम एकैचोटि लिनुपर्ने बाध्यता थियो । थोरै रकम मात्र प्रयोग गर्दा पनि बाँकी सीमा उपयोग गर्न पुरानो कर्जा पूर्ण रूपमा राफसाफ गर्नुपर्ने अवस्था थियो । यही असुविधालाई मध्यनजर गर्दै ‘मल्टि डिस्बर्सल’ सुविधा सुरु गरिएको कम्पनीले जनाएको छ । नयाँ सुविधाअन्तर्गत ग्राहकले आफूलाई स्वीकृत कुल कर्जा सीमाभित्र आवश्यकताअनुसार रकम पटक–पटक निकाल्न सक्नेछन् । बाँकी रकम भविष्यका लागि सुरक्षित रहनेछ भने वास्तविक रूपमा प्रयोग गरिएको रकममा मात्र ब्याज लाग्नेछ । यसले ग्राहकलाई अनावश्यक ब्याजको भारबाट जोगाउने विश्वास गरिएको छ । साथै, कुनै पनि कागजी प्रक्रिया वा बैंक भ्रमण नगरी मोबाइल बैंकिङमार्फत तत्कालै कर्जा लिन सकिने व्यवस्था गरिएको छ । यसमार्फत ग्राहकले घरमै बसेर सहज रूपमा सेवा उपयोग गर्न सक्नेछन् । सेवा सार्वजनिक गर्दै फोनलोनका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले ग्राहकको जीवनशैली र वित्तीय आवश्यकतालाई केन्द्रमा राखेर सेवा विस्तार गर्दै आएको बताए । उनले ‘मल्टि डिस्बर्सल’ सुविधाले प्रयोगकर्तालाई कर्जामाथि नियन्त्रण, पारदर्शिता र सही सदुपयोगको अवसर प्रदान गर्ने उल्लेख गरे । कुमारी बैंकका योग्य ग्राहकहरूले कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत बिना धितो तथा बिना कागजी प्रक्रिया तत्कालै कर्जा प्राप्त गर्न सक्नेछन् । फोनलोनले यस सुविधामार्फत नेपालको डिजिटल कर्जा प्रणालीमा नयाँ आयाम थप्दै ग्राहकको वित्तीय सहजतालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

सामान्य बढ्यो एशियन लाइफको नाफा, यस्ता छन् अन्य वित्तीय सूचक

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो त्रैमासमा खुद नाफा सामान्य बढेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले ६ महिनामा २६ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवमा २५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा ५.३० प्रतिशतले बढेको छ । दोस्रो त्रैमाससम्मममा कम्पनीले ४ अर्ब ७४ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १२.४९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क कमाएको थियो । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क ११.४० प्रतिशतले बढेको छ । कम्पनीले अघिल्लो आवमा ४ अर्ब १७ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा चालु आवको सोही अवधिमा ४ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । ६ महिनामा कम्पनीको महाविपत्ति कोषमा ३१ करोड ३८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा महाविपत्ति कोषमा २८ करोड ७४ लाख रुपैयाँ थियो । ६ महिनामा कम्पनीको रिटेन्ड अर्निङमा ९१ करोड ९० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा रिटेन्ड अर्निङमा ८६ करोड ७० लाख रुपैयाँ थियो । त्यस्तै अन्य इक्विटीमा ९ करोड ४० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा ९ करोड ८० लाख रुपैयाँ थियो । ६ महिनामा कम्पनीको जीवन बीमा कोषमा ५० अर्ब ८५ लाख रुपैयाँ रहेको रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ४४ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ थियो । सेयरपुँजी ५ अर्ब ११ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १०.५४ रुपैयाँ पुगेको छ । कम्पनीको पीई रेसियो ४४.९४ गुणा रहेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ १२८.७३ रुपैयाँ रहेको छ ।  

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ४ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक तोला सुनको मूल्य २ लाख ९१ हजार रुपैयाँ पुगेको छ । बिहीबार भने सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँ कायम थियो । बिहीबार सुनको मूल्य ९ हजार ५ सयले घटेको थियो । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य २ सय ७० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ८ सय २८ र त्यति नै परिमाणको सेतो धातु ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।