टेलिकमको वार्षिकोत्सवमा विभिन्न विधामा उत्कृष्ट संस्था र कार्यालय सम्मानित
काठमाडौं । नेपाल टेलिकमले २२औँ वार्षिकोत्सवको अवसरमा आयोजित वार्षिक कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था, कार्यालय तथा सेवाग्राहीलाई सम्मान गरेको छ । कार्यक्रममा प्रादेशिक निर्देशनालय, ठूला कारोबार गर्ने संस्था, रिचार्ज तथा लिज लाइन सेवाका प्रमुख प्रयोगकर्ता तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयहरूलाई चारवटा मुख्य विधामा सम्मान प्रदान गरिएको हो । बढी रकमको रिचार्ज कारोबार गर्ने डिलरअन्तर्गत विराटनगरबाट युवा ट्रेड इन्टरनेसनल, वीरगञ्जबाट ग्यालेक्सी इन्टरनेसनल ट्रेड सेन्टर, काठमाडौं र पोखराबाट क्यास पे ट्राली, भैरहवाबाट आरसी मार्केटिङ (रूपन्देही), सुर्खेत र नेपालगञ्जबाट ग्यालेक्सी इन्टरनेसनल ट्रेड सेन्टर तथा अत्तरिया (धनगढी) बाट केदार मोबाइल हाउस सम्मानित भएका छन् । त्यसैगरी, लिज लाइन सेवा प्रयोग गर्ने उत्कृष्ट ग्राहकतर्फ सरकारी संस्थामध्ये सर्वोच्च अदालत, रामशाहपथ, काठमाडौं तथा निजी संस्थातर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, दरबारमार्गलाई सम्मान प्रदान गरिएको छ । एफटीटीएच मर्मत सेवाअन्तर्गत पहिलो दिनमै उजुरी समाधान गर्ने उत्कृष्ट कार्यालयतर्फ विराटनगर कार्यालयले ९८.०८५ प्रतिशतसहित उत्कृष्ट प्रदर्शन गरेको छ । त्यसपछि नक्साल, काठमाडौंले ९७.४६ प्रतिशत, घनाकोट, पोखराले ९४.४२ प्रतिशत, मंगलापुर, भैरहवाले ९२.५४ प्रतिशत, महेन्द्रनगरले ८६.३३ प्रतिशत, दैलेखले ७९.६६ प्रतिशत तथा सिमराले ७३.८३ प्रतिशत सफलता दर हासिल गरेका छन् । नेपाल टेलिकमले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, साझेदार संस्था तथा सेवाग्राहीलाई प्रोत्साहन गर्दै सेवा गुणस्तर अभिवृद्धि र ग्राहक सन्तुष्टि बढाउने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
सिटिजन लाइफको मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स सम्पन्न, ४८ शाखा व्यवस्थापक सम्मानित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चार दिने ‘मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ उत्साहजनक तथा उपलब्धिमूलक रूपमा सम्पन्न भएको छ । माघ १७ गतेदेखि २० गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रमअन्तर्गत औपचारिक सत्र सुकुटेमा आयोजना गरिएको थियो भने सहभागीलाई दोलखा जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक र शैलुङ भ्रमण गराई ताजगी, प्रेरणा र टोलीभाव अभिवृद्धि गर्ने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीको मध्यावधि व्यवसायिक प्रगति समीक्षा, आगामी रणनीति निर्माण तथा कर्मचारीको मनोबल उच्च बनाउने उद्देश्यले आयोजित सम्मेलनमा व्यवस्थापन टिम, विभाग प्रमुख तथा देशभरका शाखा व्यवस्थापकसहित ७७ जना सहभागी थिए । कार्यक्रममा चालु आर्थिक वर्षको मध्यावधिसम्मको व्यवसायिक उपलब्धिको समीक्षा गर्दै आगामी लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीतिबारे विस्तृत छलफल गरिएको थियो । सम्मेलनको मुख्य आकर्षणका रूपमा चालु आर्थिक वर्षको मध्यावधिसम्म १०० प्रतिशत व्यवसायिक लक्ष्य हासिल गर्न सफल भएका ४८ जना शाखा व्यवस्थापकलाई व्यवस्थापन टिमद्वारा सम्मान गरिएको थियो । यसले शाखा नेतृत्वलाई थप उत्साहित र जिम्मेवार बनाएको कम्पनीको विश्वास छ । साथै, कम्पनीका सेवाहरूलाई थप ग्राहक–केन्द्रित, प्रविधिमैत्री तथा सरल बनाउन आवश्यक प्रशासनिक सुधारका विषयमा पनि छलफल गरिएको थियो । सेवा प्रक्रिया छिटो, पारदर्शी र सहज बनाउन व्यवस्थापन र शाखा स्तरबीच समन्वय बढाउने विषयमा समेत जोड दिइएको थियो । कम्पनीले आगामी दिनमा नवीनतम डिजिटल सेवा विस्तार, नियामकीय निर्देशनको पूर्ण पालना तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै व्यवसायिक लक्ष्य हासिल गर्न प्रतिबद्ध रहने जनाएको छ ।
बालेनले उदयपुरमा पुगेर भने- उद्योगहरू देशका मेरुदण्ड हुन्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले उद्योगहरू राष्ट्रको मेरूदण्ड रहेको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उदयपुर सिमेन्ट उद्योगलाई राज्यले संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने बताएका हुन् । ‘उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने । उदयपुर सिमेन्ट जस्तो उद्योगलाई राज्यले संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ ।
‘हामी अन्यायमा छौं, न्याय गरियोस्’ भन्दै वार्षिकोत्सवमा नेपाल टेलिकमका कर्मचारीको धर्ना
काठमाडौं । नेपाल टेलिकमको २२औं वार्षिकोत्सव कार्यक्रमकै क्रममा कर्मचारीहरूले धर्ना दिएका छन् । ट्रेड युनियन आबद्ध कर्मचारीहरूले कार्यक्रम स्थलभित्रै प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् । कर्मचारीहरू हातमा विभिन्न सन्देश लेखिएका प्लेकार्ड बोकेर उभिएका थिए । प्लेकार्डमा ‘नेपाल टेलिकमको मुटु नयाँ बिलिङ प्रणाली बिग्रिँदै गएको’, ‘हामी अन्यायमा छौं, न्याय गरियोस्’ तथा ‘प्रमुख आयोजनाका प्राविधिक अडिट गरियोस्’ जस्ता माग उल्लेख गरिएको थियो । उनीहरूले कम्पनीमा लागू गरिएको नयाँ बिलिङ प्रणालीका कारण समस्या सिर्जना भएको तथा व्यवस्थापन पक्षले त्यसप्रति गम्भीर ध्यान नदिएको आरोप लगाएका छन् । साथै विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कमजोरीको निष्पक्ष अडिट गर्नुपर्ने माग पनि कर्मचारीहरूले उठाएका छन् । वार्षिकोत्सवजस्तो महत्त्वपूर्ण कार्यक्रममा समेत धर्ना दिनुपरेको अवस्थाले व्यवस्थापन र कर्मचारीबीच असन्तुष्टि बढ्दै गएको संकेत गरेको छ । यस विषयमा नेपाल टेलिकम व्यवस्थापन पक्षको औपचारिक प्रतिक्रिया आउन बाँकी छ । २०८२ पुस १६ र माघ २ गते संयुक्त रूपमा पेश गरिएको ध्यानाकर्षणपत्रमार्फत उठाइएका विषयहरू सार्वजनिक भइसकेका भए पनि ती विषयहरूमा सम्बन्धित निकायबाट हालसम्म ठोस समाधानका लागि कुनै प्रभावकारी पहल नभएको युनियनको धारणा रहेको छ। लामो समयदेखि सम्बन्धित निकायहरूको उदासीनता महसुस हुँदै आएकोले आज कम्पनीको २२औँ वार्षिकोत्सव समारोह कार्यक्रममा शान्तिपूर्ण र सांकेतिक रूपमा आफ्ना माग तथा सरोकारहरू प्रस्तुत गर्न बाध्य भएको युनियनले जनाएको छ। पूर्व जानकारी गराइएअनुसार नै कार्यक्रमस्थलमा उपस्थित भई सरोकारवाला निकायसमक्ष आफ्ना विषयहरू उठाइएको बताइएको छ। कर्मचारीहरूले उठाएका प्रमुख विषयहरू १. नयाँ बिलिङ प्रणाली तथा प्रमुख परियोजनासम्बन्धी टेलिकम क्षेत्र विश्वव्यापी रूपमा तीव्र प्रतिस्पर्धा तथा द्रुत प्रविधिगत परिवर्तनको चरणमा रहेको छ । कम्पनीमा हाल सञ्चालनमा रहेको बिलिङ प्रणाली पुरानो भई समयानुकूल स्तरोन्नति गर्नुपर्ने अवस्थामा पुगेको छ । नयाँ बिलिङ प्रणाली भित्र्याउन पटक–पटक बोलपत्र आह्वान भए तापनि कार्यान्वयनमा देखिएको जवाफदेहिताको अभावका कारण प्रक्रिया अनिश्चित बनेको छ । बिलिङ प्रणाली दूरसञ्चार सेवाको मूल आधार हो, जसमा आर्थिक कारोबारका साथै सेवाग्राहीका संवेदनशील व्यक्तिगत विवरणहरू पनि समावेश हुन्छन् । यस्तो महत्वपूर्ण प्रणाली लागत, समयसीमा र दीर्घकालीन हितलाई ध्यानमा राखी पारदर्शी र व्यावहारिक रूपमा शीघ्र निष्कर्षमा पुर्याइनु आवश्यक छ । त्यसैगरी, कम्पनीद्वारा सञ्चालित डीसीएन, एफटीटीएच लगायत प्रमुख परियोजनाहरू समयमै सम्पन्न गरी तिनको प्राविधिक तथा तेस्रोपक्षीय मूल्याङ्कन गरिनु आवश्यक रहेको युनियनको माग छ । २. प्रतिस्पर्धात्मक वातावरण, अनुमति शुल्क संरचना तथा नियामकीय सरोकार वर्तमान अवस्थामा कम्पनी बहुराष्ट्रिय कम्पनीहरूसँग प्रत्यक्ष प्रतिस्पर्धामा रहेको छ । तर दूरसञ्चार सेवामा लागू अनुमति शुल्क संरचना वैज्ञानिक आधारमा पुनरावलोकन नहुनु चिन्ताको विषय बनेको छ । साथै, केही इन्टरनेट सेवा प्रदायकहरूले आवश्यक अनुमति वा नियामकीय स्पष्टताबिनै मोबाइल प्रकृतिका सेवा प्रदान गर्दै व्यवसाय विस्तार गरिरहेको विषय गम्भीर अध्ययन तथा छानबिनको दायरामा ल्याइनुपर्ने युनियनको धारणा छ । प्रतिस्पर्धालाई समान, पारदर्शी र नियमनसम्मत बनाउन आवश्यक रहेको उल्लेख गरिएको छ । ३. कर्मचारी वृत्तिविकास तथा विनियमावलीसम्बन्धी कर्मचारी विनियमावली २०७८ जारी भएपछि कर्मचारीहरूको वृत्तिविकास, अधिकार तथा सुविधामा सङ्कुचन आएको यथार्थ रहेको युनियनको भनाइ छ । आंशिक संशोधन भए तापनि वृत्तिविकाससम्बन्धी विषयहरू लामो समयदेखि विचाराधीन अवस्थामा छन् । बढुवा प्रक्रिया अत्यन्त सीमित बनेको छ। दरबन्दी पुनर्संरचनापछि ४,३३४ कर्मचारी कार्यरत अवस्थामा ३,००९ दरबन्दी कायम गरिनु तथा अतिरिक्त कर्मचारी व्यवस्थापनसम्बन्धी पूर्व स्वीकृत योजनाहरू कार्यान्वयनमा नआउनुले संरचनागत असन्तुलन सिर्जना गरेको युनियनको दाबी छ । यसका कारण एउटै तहमा ८ देखि १० वर्षसम्म कार्यरत कर्मचारीहरूको संख्या बढ्दै गएको र बढुवाको अनिश्चितताले असन्तुष्टि तथा दक्ष जनशक्ति पलायन बढिरहेको उल्लेख गरिएको छ । त्यसैले आवधिक विशेष बढुवा प्रणाली लागू गर्न माग गरिएको छ । ४. कर्मचारी सेवा–सुविधासम्बन्धी कुनै अतिरिक्त सुविधा वा वृद्धिको माग नगरी साधारणसभाबाट स्वीकृत बोनस, इन्सेन्टिभ तथा नेपाल सरकारको निर्णयअनुसार लागू गरिएको महँगी भत्ता वितरण नगरी रोकिएकोप्रति युनियनले गम्भीर आपत्ति जनाएको छ । राज्यलाई उच्च कर योगदान गर्ने अग्रणी संस्थाका कर्मचारीहरूले निरन्तर योगदान गरिरहे पनि वैधानिक सुविधा कार्यान्वयन नहुनु अन्यायपूर्ण भएको युनियनको ठहर छ। कर्मचारी मनोबल र उत्पादकत्व वृद्धिका लागि यस्ता सुविधा तत्काल कार्यान्वयन गर्न माग गरिएको छ । ५. सेवाग्राही अधिकार तथा सेवा गुणस्तरसम्बन्धी सेवाग्राहीलाई सुलभ, सस्तो, भरपर्दो तथा गुणस्तरीय सेवा उपलब्ध गराउनु कम्पनीको प्राथमिक दायित्व भएको युनियनले जनाएको छ । सेवा विस्तार, मर्मत तथा सञ्चालन प्रणालीलाई अझ प्रभावकारी बनाउँदै २४ घण्टा, सातै दिन निरन्तर सेवा उपलब्ध गराउनुपर्ने माग गरिएको छ । आधुनिक प्रविधिमा आधारित सेवा अनुभव प्राप्त गर्नु नेपाली नागरिकको अधिकार भएको उल्लेख गर्दै सेवा गुणस्तर अभिवृद्धि, पहुँच विस्तार तथा ग्राहक–केन्द्रित सुधारका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
नेपाल टेलिकमको ७७ वटै जिल्लामा फोर-जी विस्तार, फाइभ-जी तयारी अन्तिम चरणमा
काठमाडौं । नेपाल टेलिकमले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा सेवा विस्तार, प्रविधि विकास तथा वित्तीय प्रगतिबारे जानकारी सार्वजनिक गरेको छ । कम्पनीले हालसम्म सातै प्रदेशका ७७ वटै जिल्लाका ७४९ स्थानीय तहमा फोर-जी एलटीई सेवा विस्तार गरिसकेको जनाएको छ । साथै २२ लाख ६५ हजार क्षमताको एफटीटीएच (फाइबर टु द होम) नेटवर्क विस्तार भइसकेको छ, जसबाट करिब ८ लाख ४९ हजार ग्राहकलाई डाटा, भ्वाइस तथा एनटीभी सेवा प्रदान भइरहेको छ । फाइभ-जी सेवा सुरु गर्नका लागि आपूर्तिकर्ताबाट प्राप्त प्रस्तावको अध्ययन सम्पन्न भई हाल समीक्षा (रिभ्यु) को चरणमा रहेको कम्पनीले जनाएको छ । डिजिटल नेपाल अभियानलाई कार्यान्वयन गर्ने उद्देश्यले नेपाल टेलिकमले दुर्गम तथा ग्रामीण क्षेत्रहरूमा पनि सेवा विस्तारलाई प्राथमिकता दिएको छ । दोलखाको जिरीमाडी, सोलुखुम्बुको चिलिङखर्क, बाजुरा लगायतका स्थानहरूमा सेवा विस्तार गरिएको छ । यसैगरी, कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा आरडीएफ कोषमार्फत २६७ किलोमिटर अप्टिकल फाइबर विस्तार कार्य सम्पन्न भइसकेको छ । वित्तीय दृष्टिले कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । साथै, कर तथा शुल्कमार्फत नेपाल सरकारको कोषमा १८ अर्ब ४६ करोड रुपैयाँ योगदान गरेको जनाएको छ । २०८२ मंसिर मसान्तसम्म कम्पनीको ग्राहक आधार २ करोड १९ लाख ७९ हजारभन्दा बढी पुगेको छ भने भ्वाइस सेवातर्फ ५४ प्रतिशत बजार हिस्सा कायम रहेको छ ।
झापामा बालेनको सम्पर्क कार्यालय तोडफोड
काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालय भएको घरमा ढुंगा प्रहार भएको छ । कमल गाउँपालिका–२ स्थित जयराम अधिकारीको घरमा रास्वपाको कार्यालय रहेको छ । रास्वपाका उम्मेदवार शाहले स्थानीयसँग भेटघाट गर्न सम्पर्क कार्यालय स्थापना गरेका थिए । झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार गएराति अज्ञात समूहले अचानक ढुङ्गामुढा गरेको हो । ढुङ्गाले लागेर घरको एउटा झ्यालको सिसा फुटेको छ । ‘रास्वपाले एउटा कोठा भाडामा लिएको भए पनि तोडफोडबाट घरबेटी बस्ने तर्फका सिसाहरू समेत फुटेका छन्’ डीएसपी खड्काले भने,’ करिब सबा १२ बजे उक्त घटना घटेको हो ।’ झापा ५ बाट यस पटक रास्वपाका वरिष्ठ नेता बालेन शाहको उम्मेदवारी दिएका छन् । घटनास्थलको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एक वर्षमै कर्जाको ब्याज २०.६३ प्रतिशत घट्यो, आधार दर ५.३३ प्रतिशतमा झर्यो
काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा बैंकिङ प्रणालीमा कर्जाको ब्याजदर उल्लेखनीय रूपमा घटेको छ । सार्वजनिक तथ्याङ्कअनुसार बैंकहरूको औसत आधार दर २०.६३ प्रतिशत अर्थात् १.३८ प्रतिशत बिन्दुले घटेपछि कर्जाको ब्याजदर पनि सोही अनुपातमा कम भएको हो । चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनामा बैंकहरूको औसत आधार दर ५.३३ प्रतिशत बिन्दुमा झरेको छ । जबकि गत वर्षको सोही अवधिमा बैंकहरूको औसत आधार दर ६.७१ प्रतिशत बिन्दुमा रहेको थियो । निक्षेपतर्फको ब्याजदर निरन्तर घट्दै जाँदा त्यसको प्रत्यक्ष प्रभाव आधार दरमा परेको बैंकरहरू बताउँछन् । समीक्षा अवधिमा सबैभन्दा धेरै आधार दर घटाउने बैंकको रूपमा ग्लोबल आइएमई बैंक देखिएको छ । बैंकको आधार दर २५.७५ प्रतिशत घटेर ५.१६ प्रतिशत बिन्दुमा कायम भएको छ । अघिल्लो वर्ष पुस मसान्तसम्म बैंकको आधार दर ६.९५ प्रतिशत बिन्दुमा थियो । आधार दर घटेसँगै बैंकको कर्जाको ब्याजदर पनि स्वतः कम भएको छ । यसैगरी, पुस मसान्तसम्म सबैभन्दा कम आधार दर राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । बैंकको आधार दर १९.८५ प्रतिशत घटेर ४.३६ प्रतिशत बिन्दुमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा राष्ट्रिय वाणिज्य बैंकको आधार दर ५.४४ प्रतिशत बिन्दुमा थियो । आधार दर कम भएकाले यस बैंकको कर्जाको ब्याजदर पनि तुलनात्मक रूपमा सस्तो रहेको छ । अन्य बैंकहरूको आधार दरमा पनि उल्लेखनीय गिरावट देखिएको छ । प्रभु बैंकको आधार दर २४.०७ प्रतिशत घटेर ५.३६ प्रतिशत, कृषि विकास बैंकको २३.९३ प्रतिशत घटेर ५.०२ प्रतिशत, लक्ष्मी सनराइज बैंकको २३.७० प्रतिशत घटेर ५.४७ प्रतिशत, माछापुच्छ्रे बैंकको २३.२४ प्रतिशत घटेर ५.४८ प्रतिशत र सिटिजन्स बैंकको २३.०१ प्रतिशत घटेर ५.६२ प्रतिशत बिन्दुमा कायम रहेको छ । यस्तै, सानिमा बैंकको आधार दर २२.६८ प्रतिशत घटेर ५.२५ प्रतिशत, हिमालयन बैंकको २२.४६ प्रतिशत घटेर ५.६६ प्रतिशत, कुमारी बैंकको २१.५६ प्रतिशत घटेर ५.६० प्रतिशत, एनएमबि बैंकको २०.८० प्रतिशत घटेर ५.४८ प्रतिशत, नेपाल एसबीआई बैंकको २०.४४ प्रतिशत घटेर ५.६८ प्रतिशत र नबिल बैंकको २०.१२ प्रतिशत घटेर ५.०४ प्रतिशत बिन्दुमा रहेको छ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को आधार दर १९.७५ प्रतिशत घटेर ५.१६ प्रतिशत, प्राइम बैंकको १९.६६ प्रतिशत घटेर ५.७२ प्रतिशत, नेपाल बैंकको १९.४८ प्रतिशत घटेर ४.९६ प्रतिशत, सिद्धार्थ बैंकको १९.१९ प्रतिशत घटेर ५.६० प्रतिशत र एभरेष्ट बैंकको १६.४३ प्रतिशत घटेर ४.७३ प्रतिशत बिन्दुमा झरेको छ । एनआईसी एशिया बैंकको आधार दर १४.७६ प्रतिशत घटेर ६.४१ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकको ७.२१ प्रतिशत घटेर ४.७६ प्रतिशत बिन्दुमा कायम रहेको छ । बैंकहरूको आधार दर घट्दै जाँदा कर्जाको ब्याजदर पनि थप सस्तो बनेको भए पनि कर्जाको माग भने अपेक्षाअनुसार बढ्न नसकेको बैंकरहरु बताउँछन् । बैंकरहरूका अनुसार बजारमा लगानीयोग्य परियोजना, उपभोग माग र निजी क्षेत्रको आत्मविश्वास कमजोर रहँदा सस्तो ब्याजको पूर्ण लाभ अर्थतन्त्रले लिन सकिरहेका छैनन् ।
एआई, डिजिटल र दीगो रणनीतिमा एनआईसी एसिया बैंकको फोकस, ४० लाख ग्राहक नै ठूलो सम्पत्ति
काठमाडौं । पछिल्लो दुई–तीन वर्षयता बैंकिङ क्षेत्रले भोग्दै आएका चुनौतीबीच एनआईसी एसिया बैंकले दीर्घकालीन रणनीतिसहित बैंकलाई सबल र सक्षम बनाउने योजना अघि बढाएको छ । बैंक परिवार एकताबद्ध भएर चुनौती स्वीकार्दै रिटेल, एसएमईसँगै कर्पोरेट र ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्दै कर्जा विविधिकरण र जोखिम व्यवस्थापनमा केन्द्रित भएको बैंकले जनाएको छ । बैंकले आक्रामक व्यवसायभन्दा पनि दिगो र जिम्मेवार बैंकिङलाई प्राथमिकता दिएको उल्लेख गर्दै दीर्घकालीन योजना अनुसार काम गर्दा आगामी वर्षहरूमा सुधार देखिने विश्वास व्यक्त गरेको छ । कोभिड–१९ पछिको अवस्थामा बैंकिङ कारोबार डिजिटलतर्फ सरेसँगै सञ्चालन खर्च घट्ने र सेवा छिटोछरितो हुने बैंकको ठहर छ । डिजिटल र एआईमा आधारित बैंकिङलाई भविष्यको आधार मान्दै बैंकले सेवा प्रवाह र आन्तरिक प्रणाली पूर्ण रूपमा डिजिटल र एआईमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । झन्डै ४० लाख ग्राहकलाई ठूलो सम्पत्ति मान्दै निक्षेप सुरक्षालाई प्रमुख दायित्वका रूपमा लिएको बैंकले जनाएको छ । यसैगरी, बैंकले आन्तरिक वातावरण स्वच्छ, पारदर्शी र उल्लासमय बनाउने लक्ष्यसहित नयाँ पहल सुरु गरेको र ३ हजार २ सय कर्मचारीको सामूहिक प्रयासबाट बैंकलाई थप सबल बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । पुँजी व्यवस्थापन मजबुत बनाउन बैंकले राइट सेयर र नन–क्युमुलेटिभ प्रिफरेन्स सेयर जारी गर्ने रणनीति लिएको छ । यसबाट इक्विटी आधार बलियो बनाउँदै कर्जा लगानी विस्तार र व्यवसायलाई सहज बनाउने बैंकको उद्देश्य रहेको छ ।