विकासन्युज

देउवासँग संवादमा छु, कांग्रेस एकढिक्का भएर निर्वाचनमा जान्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू पार्टीका निःवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर सम्वादमा रहेको बताएका छन् । शुक्रबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निवर्तमान सभापति देउवासहितका नेताहरुसँग निरन्तर सम्वादमा रहेको बताएका हुन् ।  सभापति थापाले मुलुक निर्वाचनमा होमिएकाले सिंगो पार्टी पंक्तिलाई एक ढिक्का भएर निर्वाचनको प्रचार अभियानमा जुट्न पनि निर्देशन दिए ।  हिजोका कुरालाई लिएर कांग्रेसका कुनैपनि नेता, कार्यकर्तालाई पार्टीभित्र फरक मत राख्ने समय नभएको सभापति थापाको भनाइ थियो ।  उनले निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई असहयोग गर्ने नेता, कार्यकर्तालाई कारबाही गर्ने चेतावनी समेत दिए । सभापति थापाले पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूले कुनै कसर बाँकी नराख्ने पनि दावी गरे ।

नेक्सजेन म्यानेजमेन्टले पायो ‘डबल बी’ रेटिङ

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउने तयारीस्वरूप केयर (एनपी ‘डबल बी’) इस्युअर रेटिङ प्राप्त गरेको छ । केयर रेटिङ नेपाल लिमिटेडले २०८२ माघ १४ गते गरेको मूल्यांकनका आधारमा कम्पनीलाई उक्त रेटिङ प्रदान गरिएको हो । लगानी कम्पनीका रूपमा सञ्चालन हुँदै आएको नेक्सजेन म्यानेजमेन्टले २०८२ पुस मसान्तसम्म संस्थापक सेयरयरधनीबाट ५० करोड रुपैयाँ पुँजी संकलन गरिसकेको छ । २०७४ सालमा स्थापना भएको कम्पनी पछिल्ला ६ वर्षदेखि निरन्तर खुद नाफामा रहँदै आएको छ । यस अवधिमा कम्पनीले शेयरधनीलाई लाभांश समेत वितरण गरिसकेको छ भने कम्पनीको नेटवर्थ हाल अंकित मूल्यभन्दा माथि रहेको जनाएको छ । यसैबीच, २०८२ माघ ५ गते सम्पन्न विशेष साधारण सभाले कम्पनीको २० प्रतिशत आईपीओ निष्काशन गर्ने निर्णय पारित गरेको छ । उक्त निर्णयसँगै कम्पनीको चुक्ता पूँजी ६२ करोड ५० लाख रुपैयाँ पुर्‍याउने प्रस्ताव पनि स्वीकृत गरिएको हो । आईपीओ निष्काशन प्रक्रिया व्यवस्थापनका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल मार्केटसँग २०८१ मंसिर ८ गते नै सम्झौता गरिसकेको छ ।

डिसहोम इन्टरनेटको ‘सर्भिस अन डुअर’ अभियान सुरुवात

काठमाडौं । डिसहोम इन्टरनेटको ‘सर्भिस अन डुअर’ अभियान सुरुवात भएको छ । आफ्ना इन्टरनेट सेवाहरूलाई अझ सहज, छरितो र ग्राहक–केन्द्रित बनाउने उद्देश्यका साथ यो अभियान औपचारिक रूपमा सार्वजनिक भएको हो । यस अभियानअन्तर्गत ग्राहकहरूले डिशहोम इन्टरनेटको सेवा जडान तथा सम्बन्धित प्राविधिक सेवा आफ्नै घरमै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । ग्राहकको समय र सुविधालाई प्राथमिकतामा राख्दै, कम्पनीका दक्ष प्राविधिक टोलीहरू घरमै पुगेर सेवा प्रदान गर्नेछन् । अभियान काठमाडौं उपत्यकाबाट सुरु भई चरणबद्ध रूपमा देशका अन्य क्षेत्रहरूमा समेत विस्तार गरिनेछ ।  साथै यस अभियानमार्फत ग्राहकहरूले वार्षिक रिचार्ज गर्दा विशेष छुट तथा अतिरिक्त सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

सिरहामा गोली चल्दा एक किसानको मृत्यु

काठमाडौं । सिरहामा गोली प्रहार गरी एक जनाको मृत्यु भएको छ । शुक्रबार मध्यान्ह सिरहा नगरपालिका ७ को मैनावती खोलामा खेतमा गोली चल्दा काम गरिरहेका प्रेमनाथ यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।  ‘मृतक व्यक्तिले खेतबाट माटो निकालेर बिक्री गर्थे,’ जिल्ला प्रहरी कार्यालय, सिरहाका सूचना अधिकारी रमेश पालले भने  ।  गोली ‍‍कसले चलायो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।

युवासंघको अध्यक्षमा महाराज मनोनित

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा महाराज गुरुङ चयन भएका छन् । शुक्रबार बसेको केन्द्रीय परिषद् बैठकले गुरुङ लाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो । युवा संघ नेपाल नेकपा एमाले सम्वद्ध युवाहरूको संगठन हो । संघका अध्यक्ष क्षितिज थेवे एमाले केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएपछि उनले संघको नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरेका थिए ।  एमालेको संगठनात्मक परम्पराअनुसार माथिलल्लो कमिटीमा वा जनवर्गीय संगठनबाट पार्टीमा निर्वाचित भएपछि तल्लो तहको वा जनवर्गीय संगठनको पद स्वतः रिक्त हुने व्यवस्था छ । संघको पछिल्लो महाधिवेशनबाट लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका थेवे ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका छन् । नवनियुक्त अध्यक्ष गुरुङ यसअघि संघको उपाध्यक्ष हुन् । उनी पनि महाधिवेशनमार्फत दोस्रो कार्यकालका लागि उपाध्यक्षमा निर्वाचित भएका थिए ।  दोलखा निवासी गुरुङले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् ।  अनेरास्ववियु हुँदै युवा आन्दोलनमा सक्रिय भएका उनले राष्ट्रिय युवा संघ नेपालको जिल्ला कमिटी सदस्यका रूपमा संगठनमा प्रवेश गरेका थिए ।

समाजवादको नयाँ सन्देश दिन रुकुम–पूर्वबाट उम्मेदवार बनें : संयोजक दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रूपमा रहेको रुकुम–पूर्वमा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेदवार बनेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित रुकुम-पूर्वका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले रुकुम–पूर्व नेपालको गणतान्त्रिक आन्दोलनको निर्णायक केन्द्र भएको उल्लेख गरे ।  पूर्वी–रुकुमको चुनवाङ बैठकबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने निष्कर्ष निकालिएको स्मरण गर्दै उनले चुनवाङ बैठकले महिला, जनजाति, मधेसी, थारुलगायत उत्पीडित समुदायलाई पहिचानसहित अधिकार दिने उद्घोष गरेको बताए । चुनवाङ बैठक नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत परिचित रहेको संयोजक दाहालको भनाइ छ । उनले रुकुम-पूर्वकै लवाङ बैठकमा पार्टीभित्र ऐतिहासिक विचारधारात्मक बहस भएको पनि स्मरण गरे ।  हाल देश जेनजी आन्दोलनपछि जटिल अवस्थामा रहेको उनको भनाइ छ ।  राष्ट्रलाई एकतावद्ध गर्ने, कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाई दिने र देशभर समाजवाद निर्माणको नयाँ सन्देश प्रवाह गर्न रुकुम-पूर्व उपयुक्त थलो भएको संयोजक दाहालले बताए ।

नेशनल लाइफ इन्स्योरेन्सको १ दिने अभिकर्ता तालिम धुलिखेलमा सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आफ्नो मासिक योजना ‘मन्थन २०८२’ अन्तर्गत बागमती र मधेश प्रदेशका चयनित अभिकर्ताहरूलाई लक्षित गरी आयोजित १ दिने अभिकर्ता तालिम सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) स्मृतिराज कँडेलको सभापतित्वमा सम्पन्न सो तालिममा धुलिखेलस्थित होटल सारथीमा २८० जना अभिकर्ताहरू सहभागी भएका थिए । प्रशिक्षक काजिम रजाले तालिममार्फत एमडिआरटीको लक्ष्य हासिल गर्ने रणनीति र व्यवहारिक उपायहरू प्रस्तुत गर्दै सहभागीहरूलाई व्यावसायिक दक्षता वृद्धि गर्ने विषयमा मार्गदर्शन गरेका थिए । डीसीईओ कँडेलले अभिकर्ता पेशालाई अझ व्यावसायिक बनाउने उद्देश्यले कम्पनीले अभिकर्ता मैत्री मासिक र वार्षिक योजना जारी गर्दै आएको र ‘प्रेरणा, प्रगति र पेशागत उत्कृष्टता’ नाराका साथ तालिम कार्यक्रम सञ्चालन गरिएको बताएका थिए । कम्पनीका अनुसार देशभरबाट ७०० भन्दा बढी अभिकर्ताहरू चयन हुनु यस योजनाको ठूलो सफलता भएको प्रमाण हो । कार्यक्रममा शाखा स्तरिय प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरियो ।  एजेन्सी विभाग प्रमुख सुशिल प्रताप राणाले पनि तालिममार्फत अभिकर्ताहरूले प्रतिस्पर्धात्मक बजारमा आफ्नो पेशागत क्षमता अभिवृद्धि गर्न सक्ने बताए ।

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः  चालु खर्च ४६ प्रतिशत पूरा, राजस्व लक्ष्य १ खर्बले कम

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धी सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन, कानुनी सुधार, वित्तीय सङ्घीयता, वित्तीय क्षेत्र सुधार, योजना–अनुगमन र प्रशासनिक व्यवस्थापनसम्बन्धी विस्तृत प्रगति विवरण सार्वजनिक गर्दै राज्यकोष व्यवस्थापन, निर्वाचन खर्च, राजस्व प्रशासन सुदृढीकरण तथा सुशासन प्रवर्द्धनमा केन्द्रित प्रयास अघि बढाएको जनाएको छ । मन्त्रालयका अनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको ४६ दशमलव ०६ प्रतिशत बजेट खर्च भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ७५ प्रतिशतले बढी हो ।  चालु आवका लागि सरकारले  १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेकामा पुस मसान्तसम्म ९ खर्ब चार अर्ब ६४ करोड ४३ लाख खर्च भएको छ । चालु शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकामा ४० दशमलव ८२ प्रतिशत अर्थात् ४ खर्ब ८२ अर्ब १० करोड ८० लाख र पुँजीगत शीर्षकमा ४ खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकामा ११ दशमलव ६६ प्रतिशत अर्थात् ४७ अर्ब ५४ करोड ४० लाख खर्च भएको जनाइएको छ ।  गत आवको तुलनामा यस अवधिको कुल चालु खर्च तीन दशमलव ३५ प्रतिशतले वृद्धि भएको छ भने पुँजीगत खर्च चार दशमलव ८६ प्रतिशतले घटेको छ । यस्तै, वित्तीय व्यवस्थातर्फको खर्च ५३ दशमलव २९ प्रतिशतले बढेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । विवरणअनुसार पुँजीगत खर्चमा कमजोर मात्र नभई राजस्व सङ्कलनमा पनि ठूलो चाप देखिएको छ । चालु आवका लागि सरकारले कुल रू १४ खर्ब ४० अर्बको राजस्व उठाउने लक्ष्य राखेको छ भने पुस मसान्तसम्ममा रू सात खर्ब ११ अर्ब २० करोड ७९ लाख राजस्व उठाउने भनिएको थियो, तर यस अवधिमा रू पाँच खर्ब ८१ अर्ब ४० करोड ७२ लाख बराबर मात्रै राजस्व उठेको छ । जुन लक्ष्यभन्दा रू एक खर्ब २९ अर्ब ८० करोड कम हो । यस्तै, बेरुजु फर्छ्यौटमा पनि अर्थ मन्त्रालय कमजोर देखिएको छ । मन्त्रालयको कुल १ खर्ब २५ अर्ब बेरुजु रहेकामा यस अवधिमा ८ आठ अर्ब मात्र फर्छ्यौट भई रू एक खर्ब १७ अर्ब कायम भएको प्रगति प्रतिवेदनमा उल्लेख छ । जुन छ दशमलव चार प्रतिशतको प्रगति हो । प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन व्यवस्थापनमा केन्द्रित स्रोत सहमति र निकासालाई मन्त्रालयले प्राथमिकता दिएको देखिन्छ । आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई गत कात्तिक १८ मा ४ अर्ब ९६ करोड ६६ लाख र गत मङ्सिर २० मा थप १ अर्ब ७७ करोड ९० हजार गरी कुल ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार बराबरको स्रोत सहमति प्रदान गरिएको छ ।  यसैगरी, राष्ट्रिय अनुसन्धान विभागलाई २ करोड ८० लाख र नेपाली सेनालाई सुरक्षा उपकरण खरिदका लागि ४ करोड ४२ लाख ५० हजार बराबर स्रोत सहमति दिइएको छ । गृह मन्त्रालय तथा अन्तर्गतका निकायलाई प्रतिनिधिसभा निर्वाचनका लागि  १० अर्ब ३९ करोड ३४ लाख ८० हजार बराबरको स्रोत सहमति प्रदान गरिएको छ भने नेपाली सेनालाई निर्वाचनकै लागि चालु खर्चतर्फ १ अर्ब ९४ करोड ६८ लाख ५५ हजारको स्रोत सहमति दिइएको छ ।  यस्तै, राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि निर्वाचन आयोगलाई ४ करोड ३१ लाख ७९ हजार स्रोत सहमति प्रदान भई उक्त रकम निकासासमेत भइसकेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगलाई गत पुस मसान्तसम्ममा कूल ६ अर्ब ३१ करोड निकासा गरिएको मन्त्रालयले जनाएको छ । राजस्व व्यवस्थापनतर्फ सबै भन्सार कार्यालयमा ‘ग्याट भ्यालुएसन’ प्रणालीको पूर्ण पालना सुनिश्चित गर्न अनलाइन मूल्याङ्कन प्रणाली प्रारम्भ गरिएको जनाइएको छ । यस अवधिमा नेपाल–मौरिसस दोहोरो करमुक्ति सम्झौतासम्बन्धी विवाद समाधान गर्दै डोल्मा इम्प्याक्ट फण्डको पुँजीगत लाभमा करकट्टीको द्विविधा सम्बोधन गरिएको छ ।  यसैगरी, नेपाल–मौरिससबीचको दोहोरो करमुक्ति सम्झौता खारेज गरिएको र आयकर ऐन, २०५८ लागू हुनुअघि सम्पन्न सम्झौताबारे कूटनीतिक माध्यमबाट जानकारी गराइएको जनाइएको छ । भन्सार ऐन, २०८२ कार्यान्वयनमा ल्याइँदै भन्सार नियमावली, २०८२ को मस्यौदा कानुन मन्त्रालयमा पठाइएको छ । भन्सार व्यवस्थापन गोष्ठी सम्पन्न गर्नुका साथै उच्चस्तरीय केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको मासिक बैठकमार्फत राजस्व चुहावट नियन्त्रणमा बहुपक्षीय समन्वय गरिएको छ । सेवा प्रवाहमा गुनासो व्यवस्थापन प्रणाली विकास गरिएको तथा हेलो सरकारलगायत माध्यमबाट प्राप्त गुनासो निरन्तर सम्बोधन गरिएको मन्त्रालयले जनाएको छ । यस्तै, गैरकर राजस्वका दर परिमार्जनमा विभिन्न निकायलाई सहमति प्रदान गरिएको छ । सार्वजनिक सेवा प्रवाहका कागजातमा आय टिकटको सट्टा हुलाक टिकट टाँस्ने व्यवस्था हटाइएको छ । सिरहाको रामकुमार शारदा उमाप्रसाद मुरारका अस्पतालको व्यक्तिका नाममा रहेको जग्गा निःशुल्क हस्तान्तरणका लागि पुँजीगत लाभकर छुट दिने निर्णय पनि यस अवधिको भएको प्रतिवेदनमा जनाइएको छ । कानुन तथा फैसला कार्यान्वयनतर्फ वैकल्पिक विकास वित्त परिचालन ऐन, २०८१ सङ्घीय संसद्मा दर्ता गराएको छ । भुक्तानी तथा फर्छ्यौट ऐन संशोधन, भन्सार नियमावली, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, बहुवर्षीय आयोजनाको स्रोत सहमति मापदण्ड र सम्पत्ति शुद्धीकरण निवारण नियमावली स्वीकृत भई नेपाल राजपत्रमा प्रकाशित गरिएका छन् ।  यसैगरी मन्त्रालय विपक्षी भएका विभिन्न ५८ वटा रिट निवेदनमा लिखित जवाफ तयारी र प्रतिरक्षा गरिएको जनाइएको छ । एमसिसी कम्प्याक्टअन्तर्गतका कम्पनीलाई आयकर छुट, विभिन्न राजस्व छुटसम्बन्धी सूचना, नगद कारोबार सीमा निर्धारण, विदेशी मुद्रा निकासी–पैठारी प्रतिबन्धलगायत सूचना नेपाल राजपत्रमार्फत सार्वजनिक गरिएको र अदालतका २६ वटा आदेश तथा फैसलाको कार्यान्वयनका लागि सम्बन्धित निकायमा पत्राचार गरिएको जनाइएको छ । वित्तीय सङ्घीयता सुदृढीकरणतर्फ तेस्रो राष्ट्रिय सार्वजनिक वित्तीय व्यवस्थापन सुधार रणनीति कार्यान्वयनका लागि सबै तहका सरकारलाई पत्राचार गरिएको छ । अनुत्पादक खर्च कटौती, मितव्ययिता र आयोजना पुनःप्राथमिकीकरणसम्बन्धी मन्त्रिपरिषद् निर्णय स्थानीय तहसम्म कार्यान्वयनका लागि पठाइएको छ भने अन्तरसरकारी वित्त परिषद्को बैठकबाट २३ वटा निर्णय कार्यान्वयनका लागि पठाइएका छन् । यसैगरी, अर्थ मन्त्रालयले पछिल्लो छ महिनामा संविधानविपरीत स्थानीय तहले ढुवानीमा कर असुल नगर्न निर्देशन दिएको छ भने प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट परिमार्जनसम्बन्धी प्रस्तावमा छलफल गरेको छ । सार्वजनिक वित्तीय व्यवस्थापन सुधार निर्देशिका संशोधन र निर्देशक समितिको बैठक सम्पन्न गरेको छ । वित्तीय क्षेत्र विकास रणनीति २०८२/८३–२०८६/८७ मन्त्रिपरिषदबाट स्वीकृत भएको छ । पाँच लाख रुपैयाँभन्दा माथिको नगद कारोबारमा प्रतिबन्ध, भारतीय मुद्रा आवतजावत सीमा परिमार्जन, नेप्से पुनःसंरचना समिति गठन, पुँजी बजार सुधार प्रतिवेदन कार्यान्वयन, सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानबापत ९ अर्ब ८० करोड निकासाजस्ता निर्णय कार्यान्वयनमा आएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, विगुल र हेलो सरकारमार्फत प्राप्त ९१ गुनासो फर्छ्यौट गरिएको, वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनको मासिक प्रगति प्रणालीमा अद्यावधिक गरिएको, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणबाट ३२३ दरबन्दी कटौती भई २२ करोड बराबर दायित्व बचत र बेरुजु फर्छ्यौटमा ६ दशमलव ४ प्रतिशत प्रगति देखिएको मन्त्रालयले जनाएको छ । रासस