विकासन्युज

महँगा सवारीमा हिँडेर लुटपाट, गोली प्रहारपछि पर्दाफास

काठमाडौं । बिहानै ५/६ बजे र राति १२ बजेपछि काठमाडौंका सडकहरूमा देखिने तीन/चार जनाको मोटरसाइकल टोली सामान्य यात्रु थिएनन् । न उनीहरू कुनै काम विशेषले मोटरसाइलमा हुइँकिँदै थिए नत कुनै सत्कर्मका लागि त्यति बिहान र अबेर राति सडकमा निस्किँदै थिए ।  उनीहरू त थिए—लुटपाटका लागि संगठित गिरोह । मर्निङ वाकमा निस्कने नागरिकदेखि सुनका सिक्री लगाएर हिँड्ने यात्रुसम्म उनीहरूको निशानामा पर्थे । यही गिरोहलाई काठमाडौं जिल्ला प्रहरी परिसरले गएराति मुलपानीबाट गोली हानेर पक्राउ गर्यो ।  गएराति लुटपाट गर्ने समूहलाई मूलपानीबाट गोली हानेर विनय तामाङसहितको टोलीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी परिसरका प्रहरी प्रमुख रमेश थापाले प्रहरीको गोली लागेर विनय तामाङ घाइते भएको जानकारी दिए । उनका अनुसार तीव्र गतिमा चलाएर आएको मोटरसाइकल रोक्न खोज्दा प्रहरीलाई हानेर घाइते बनाएका थिए । तामाङलाई नियन्त्रणमा लिने क्रममा उनको तिघ्रामा गोली लागेको थियो । प्रहरी परिसरका प्रहरी प्रमुख रमेश थापा । लुटेराको समूहहरू विशेष गरी मोटरसाइकलमा हिँड्ने गरेको परिसरका प्रहरी प्रमुख थापाले बताए । ‘लुटेराहरू एउटा मोटरसाइकलमा ३–३ जना गरेर हिँड्ने गरेका थिए । १२ बजेदेखि बिहान ४ बजेसम्म उनीहरू सक्रिय थिए,’ उनले भने, ‘बिहानीको समयमा मर्निङ वाकमा हिँड्नेलाई उनीहरू लक्षित गरेर लुटपाट गर्ने गरेका थिए ।’ लुटेरा समूहको नाइके विनय रहेको थापाले जानकारी दिए । गोली लागेकालाई अस्पतालमा राखेर उपचार भइरहेको उनले बताए । ‘उनीहरू दिनभर टयाक्सी चलाउने र ९ बजेपछि एक ठाउँमा भेला हुने गरेको खुलेको छ,’ थापाले घटना सुनाउँदै भने, ‘उनीहरू ट्याक्सी र निजी कारमा गएर पनि लुटपाट गर्ने गरेका थिए ।’ तामाङ जेनजी आन्दोलनको क्रममा महाराजगञ्ज प्रहरी वृत्तबाट फरार थिए । उनले लुटेरा समूहको निर्माण गरेका थिए । दैनिक जसो को–को कहाँ गएर सक्रिय हुने भनेर उनैले टिम परिचालन गर्ने गरेका थिए । लुटेराहरूको पहिलो टार्गेट बाटामा हिँड्नेहरूले लगाएका सिक्री र टप लुटपाट गर्ने हुने गरेको थापाले जानकारी दिए । लुटपाट गर्ने अधिकांशको पृष्ठभूमि आपराधिक क्रियाकलाप रहेको उनले सुनाए । तामाको समूहहरू मोटरसाइकलमा लुटपाट गर्न जाँदा नम्बर प्लेटमा हिलो छयापेर जाने गरेका थिए । लुटेरामा संलग्नहरू काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुलीका रहेका छन् । २३ वर्षीय विनय तामाङ चोरी र डाँकाको अभियोगमा मुद्दा खेपिरहेका थिए ।  २४ वर्षीय आयन माझीले लुटपाटमा चालकको रूपमा काम गर्ने गरेका थिए । उनी अन्य लुटपाट गर्नेहरूलाई ओसारपसार गर्ने कार्यमा संलग्न थिए । उनीमाथि पनि भक्तपुरमा डाँका चोरी मुद्दा चलिसकेको थियो । २३ वर्षीय मनिष रसाईली पनि लुटपाटमा मोटरसाइकलको चालक रूपमा थिए । उनले चोरेर ल्याएको सुनलाई गालेर बिक्री गर्ने गरेका थिए । २३ वर्षीय सविन माझी टयाक्सी र लुटपाट गर्दा मोटरसाइकल चालकको रूपमा थिए । २९ वर्षीय पेमा तामाङ मोटरसाइकलमा पछाडि बस्ने गरेका थिए । उनले लुटपाट गर्दा अरूको मुख थुन्ने गरेका थिए । २० वर्षीय सलोन तामाङ् र २२ वर्षीय विशाल तामाङ मोटरसाइकलमा पछाडि बसेर मुख थुनेर लुटपाट गर्न र १८ वर्षीय राजीव भण्डारी संलग्न थिए ।   २८ वर्षीय विदुर विश्वकर्मा भने लुटपाट गरेको सुन किन्ने गरेका थिए । २९ वर्षीय फुर्वा तामाङ पनि मोटरसाइकल चलाउने गर्थे । हालसम्म काठमाडौंको विभिन्न प्रहरी वृत्तमा २७ जना प्रहरीको सम्पर्कमा आएका आइसकेका छन् । बिहीबार मात्र प्रहरी परिसरमा ४ वटा उजुरी परेको परिसरका प्रहरी प्रमुख थापाले जानकारी दिए । लुटेराको समूहले बौद्ध, स्वयम्भू, गौशाला, सानो ठिमी, कोटेश्वर, कपन र बुढानीलकण्ठलगायतको स्थानमा लुटपाट गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

सरकारले प्रहरीको रासन रकम वृद्धि गर्ने

काठमाडौं । सरकारले नेपाल प्रहरीको राशन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने भएको छ ।  बिहीबार मन्त्रिपरिषदको बैठक सार्वजनिक गर्दै गृहमन्त्री तथा प्रवक्ता ओमपक्राश अर्यालले आगामी फागुन १ गतेबाट रासनबापतको रकम वृद्धि गर्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार रासनबापतको रकम आगामी फागुन १ गतेदेखि वृद्धि हुनेछ । यसैगरी, नेपाल र जापानको कुटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको  उपलक्ष्यमा २०८२ माघ १८ देखि २१ सम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको छ । त्यस्तै, नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति २०८२ ले पेश गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको छ ।

बिरामीलाई अनावश्यक रिफर नगर्न स्वास्थ्य बीमा बोर्डको आग्रह

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आफ्नो संस्थामा सेवा पर्याप्त हुँदाहुँदै बिरामीलाई अन्यत्र रिफर नगर्न आग्रह गरेको छ । सेवाग्राहीलाई दिनुपर्ने सेवा उपलब्ध हुँदाहुँदै अन्यत्र रिफर गर्ने क्रम बढेकाले यसो नगर्न आग्रह गरेको हो । बोर्डले सबै सेवा प्रदायक  स्वास्थ्य संस्थालाई परिपत्र गर्दै भनेको छ, ‘स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा प्रेषण कार्यविधि, २०८० विपरीत अनावश्यक रुपमा प्रेषण गरेको पाइएकोले आफ्नो संस्थामा भइरहेको सेवालाई नजर अन्दाज गरी प्रेषण नगर्नुहुन अनुरोध छ ।’ अस्पतालले सेवा उपलब्ध गराउन नसक्ने भएमा स्वास्थ्य बीमा नियमावली, २०७५ को अनुसूची ९ बमोजिमको रिफर पुर्जी भरी त्यस्तो सेवा सुनिश्चित हुने गरी नजिकको स्वास्थ्य संस्थामा रिफर गर्न समेत अनुरोध गरेको छ ।  बोर्डले अनावश्यक रिफर गरेको पाइएमा दाबी मूल्याङ्कन तथा रुजु गर्दा त्यस्तो रकम सोध भर्ना नगरिने र स्वास्थ्य बीमा नियमावली २०७५ अनुसूची ८ को ४ (ग) बमोजिम सम्झौता स्थगन वा रद्द हुने जानकारी गराएको छ।

भारतको आन्ध्र प्रदेशमा बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

काठमाडौं । भारतीय राज्य आन्ध्र प्रदेशमा अनलाइन लत र दुर्व्यवहारका विषयमा विश्वव्यापी रूपमा चिन्ता बढ्दै जाँदा सामाजिक सञ्जाल प्रयोग गर्ने बालबालिकामाथि प्रतिबन्ध लगाउने तगारी अधिकारीहरूले गरिरहेको जनाइएको छ ।   दक्षिणी  राज्य आन्ध्र प्रदेशका सूचना प्रविधि मन्त्री नारा लोकेशले सासाजिक सञ्जाल प्रति विश्वास 'बिग्रँदै गएको' बताउदै बालबालिकाहरूले यसको अधिक प्रयोगमा समय खर्चिरहेको चेतावनी दिएका छन् । सरकारले बालबालीकाहरुलाई सामाजिक सञ्जालमा प्रतिवन्द गर्ने निर्णय उनले सामाजिक सञ्जाल एक्समा विज्ञप्ति जारी गर्दै बताएका छन् । अधिकारीहरूले उमेर–उपयुक्त पहुँच लागू गर्न कानुनी उपकरणहरूमा अध्ययनको आदेश दिएको उनले जनाएका छन् ।  सरकारी तथ्याङ्क अनुसार विश्वको सबै भन्दा बढी जनसङ्ख्या भएको राष्ट्र भारतमा लगभग एक अर्ब इन्टरनेट प्रयोगकर्ताहरू छन् जसमा सबै सहर र ९५ प्रतिशत गाउँहरू जोडिएका छन् । आन्ध्र प्रदेशका अधिकारीहरूले मेटा, गुगल, एक्स र सेयरच्याट लगायत प्रमुख प्लेटफर्महरूलाई 'विश्वव्यापी उत्तम अभ्यासहरू' बारे छलफल गर्न र मूल्याङ्कन गर्न सुझाएको लोकेशले बताएका छन् ।  यो कदम पश्चिमी भारतीय राज्य गोवामा यस्तै छलफल पछि आएको हो, जहाँ अधिकारीहरूले बालबालिकाका लागि प्रस्तावित सामाजिक सञ्जाल प्रतिबन्धको वैधानिकता खोजिरहेका थिए । लोकेशले महिलाको अनलाइन सुरक्षाको बारेमा पनि चिन्ता व्यक्त गर्दै धेरैले 'निरन्तर अनलाइन दुर्व्यवहारको सामना गरिरहेका' बताउदै यसलाई बेवास्ता गर्न नसकिने उनले बताएका छन् । वार्षिक आर्थिक सर्वेक्षणले बालबालिकाको स्क्रिन समय बारे राष्ट्रिय दिशानिर्देशहरू सिफारिस गर्दै सङ्घीय सरकारको ध्यानाकर्षण गरेको छ । उमेरमा – आधारित पहुँच सीमाहरूमा नीतिहरू विचार गर्न सकिने बताउँदै युवा प्रयोगकर्ताहरू बाध्यकारी प्रयोग र हानिकारक सामग्रीको बढी जोखिममा रहेको सर्वेक्षणले जनाएको छ ।   पछिल्लो समयमा नाबालिगहरूद्वारा सामाजिक सञ्जालको प्रयोगमा विश्वव्यापी छानविन बढेको छ । अष्ट्रेलियाले सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउको छ भने  डिसेम्बर– १६ मा  फ्रान्सेली सांसदहरूले यस हप्ता सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरे । धेरै अन्य देशहरू साथै युरोपेली सङ्घले पनि यस्तै कदमहरूबारे विचार गरिरहेका छन् । रासस

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण

किमाथाङ्का । निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको प्रचार–प्रसार गर्ने यहाँका सरकारी कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ ।      तीन जना कर्मचारीलाई स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत उज्ज्वल न्यौपानेले जानकारी दिए । दलका उम्मेदवारको सामाजिक सञ्जालमार्फत प्रचार गर्दै भोट मागेको उजुरीका आधारमा उनीहरुमाथि स्पष्टीकरण सोधिएको जनाइएको छ ।      कर्मचारीको नाम भने खुलाइएको छैन । ती कर्मचारीलाई लिखित स्पष्टीकरण लिएको उनको भनाइ छ । आचारसंहिता विपरीत गतिविधि पुनः दोहोर्याएमा कडा कारबाही गरिने सहायक निर्वाचन अधिकृत न्यौपानले बताए । त्यस्ता कर्मचारीलाई निर्वाचनमा नखटाउने निर्णयसमेत भएको उनले बताए । प्रतिनिधिसभा सदस्य एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता छन् ।      जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र छन् । जिल्लामा तीन महिलासहित १६ जना चुनावी मैदानमा छन् । १५ दल र एक स्वतन्त्र उम्मेदवार छन् । जिल्लामा अति संवेदनशील आठ, संवेदनशील ८२ र सामान्य १९ वटा मतदानस्थल रहेका छन् ।  

स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन् : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतम शर्माले स्वास्थ्य बीमाको क्षेत्रमा सुधारको काम भइरहेको बताएकी छन् ।      सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले स्वास्थ्य बीमालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले काम गरिरहेको बताएकी हुन् । 'स्वास्थ्य मन्त्रालयमा आएको बजेटभन्दा धेरै बजेट बीमाको रकमको खर्च हुन थालेकाले समस्या परेको हो, अनावश्यक रुपमा डाक्टरले बिरामी जाँचेर औषधि लेखिदिने र बिरामीले अनावश्यक रुपमा बीमाको दाबी गर्दा अहिलेको समस्या आएको हो, यसलाई समाधान गर्न सरकारले काम गरिरहेको छ,' उनले भनिन् ।      स्वास्थ्य बीमामा सङ्घीय सरकारको एकोहोरो बोझ परेको उनको भनाइ थियो । स्वास्थ्य बीमालाई सफल बनाउन तीनै तहका सरकारबीच समन्वयको आवश्यकता रहेको मन्त्री शर्माले बताइन् । मन्त्री शर्माले विपन्न नागरिकको उपचार गरेबापत अस्पतालले पाउने रकम र सामाजिक सेवाको रकम सरकारले तत्काल उपलब्ध गराउने स्पष्ट पारिन् । उनले मुटु उपचारको क्षेत्रमा गङ्गालाल अस्पतालले पुर्याएको योगदानको प्रशंसा गरिन् ।      अस्पतालका कार्यकारी निर्देशक प्राडा रवि मल्लले मुटु रोगको रोकथाम, निदान र उपचारमा गङ्गालालले उच्चस्तरीय स्वास्थ्यसेवा प्रदान गर्दै आइरहेको बताए । विसं २०५६ सालमा नौ शय्यामार्फत मुटुको उपचार सुरु गरेको उक्त अस्पतालले हाल ३०५ शय्यामार्फत बिरामीको उपचार गरिरहेको मल्लले जानकारी दिए ।    अस्पतालका वरिष्ठ मुटु शल्य चिकित्सक डा. रामेश कोइरालाले जेनजी आन्दोलनका क्रममा गङ्गालाल अस्पताल प्राथमिकतामा नपरेको गुनासो गरे । गत वर्ष मात्र गङ्गालाल अस्पतालले एक हजार ९९० विरामीको शल्यक्रिया सम्पन्न गरेको उनको भनाइ थियो ।   

आईएमई लाइफद्वारा एजेन्सी लिडरलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेसनल एन्टिमनी लण्डरिङ डेको अवसरमा  एजेन्सी लिडरहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियारको निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी तालिम प्रदान गरेको छ । तालिममा जीवन बीमा क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमको पहिचान तथा रोकथाम, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्था, नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका तथा निर्देशनहरू लगायतका विषयमा सहभागीहरूलाई जानकारी दिइएको थियो । कम्पनीका अनुसार सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको पालना गर्नाले कम्पनीको सुशासन सुदृढ बन्ने र ग्राहकको विश्वास थप मजबुत हुने विश्वास लिइएको छ । तालिम कार्यक्रमको समापन समारोहमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सम्पूर्ण अभिकर्ता साथीहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी कानुनी व्यवस्थाहरू पूर्ण रूपमा पालना गर्दै जिम्मेवार रूपमा काम गर्न निर्देशन दिएका छन् ।   

सेयर बजारमा १४ अर्बको कारोबार, ३ कम्पनीमा नकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ अंकले घटेर २७१४ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ८५ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३२० कम्पनीको ३ करोड कित्ता सेयर किचबेच हुँदा १४ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै एसवाई प्यानलको ५२ करोड, युनाइटेड मोदीको ४६ करोड, युनियन हाइड्रोपावरको ४४ करोड र राधी विद्युतको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट, माथिल्लो लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेका छन् ।