सेयर बजारमा ११ अर्बको कारोबार, २ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । बुधबार सेयर बजारमा सामन्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले बढेर २७३१ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १४१ कम्पनीको सेयर मूल्य बढ्दा ११२ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३३४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै राधी विद्युतको ५४ करोड, एसवाई प्यानलको ४९ करोड, युनाइटेड मोदीको ४८ करोड र रिभर फल्सको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र आँखु खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । बुधबारको कारोबारमा ५ वटा उपसमूहको सूचक घटेका छन् भने अरु बाँकी सूचक बढेका छन् । वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै १.२४ प्रतिशत बढेको छ । कारोबारमा आएको बैंकिङ, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य घटेको हो ।
६ महिनामा एक खर्ब नजिक जीवन बीमाको व्यवसाय
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन-पुस) सम्म जीवन बीमा कम्पनीहरुले ९४ अर्ब ३७ करोड रुपैयाँ बराबरको व्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले आज (बुधबार) सार्वजनिक गरेको तथ्यांकनुसार १४ जीवन बीमा कम्पनीहरुले पुससम्मममा १ करोड १४ लाख ५५ हजार २३५ बीमालेख जारी गरी ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । जुन रकम अघिल्लो आवको तुलनामा १७ प्रतिशत बढी हो । अघिल्लो आवको यही अवधिमा बीमा कम्पनीहरूले कुल ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । ६ महिनाको अवधिमा सबैभन्दा धेरै व्यापार नेपाल लाइफले गरेको छ भने व्यापार वृद्धिको सिहाबले राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि देखिएको छ । पुस मसान्तसम्ममा नेपाल लाइफले २५ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २२ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समिक्षा अवधिमा कम्पनीको व्यापार १३.६० प्रतिशतले बढेको छ । दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनीमा नेशनलन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आवको ६ महिनामा ११ अर्ब ३७ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको यही अवधिको तुलनामा १८.३७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीहरुले ९ अर्ब ६० करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । त्यस्तै तेस्रो धेरै व्यापार गर्ने कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले १० अर्ब २२ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ९ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको व्यापार ८.०९ प्रतिशतले बढेको छ । पुस महिनासम्ममा हिमालयन लाइफले ८ अर्ब ६२ करोड २० लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ३३ करोड २७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ५ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ, एसियन लाइफले ४ अर्ब ६४ करोड २ लाख रुपैयाँ, सिटिजन लाइफले ४ अर्ब ४ करोड ११ लाख रुपैयाँ, सानिमा रियलायन्स लाइफले ३ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ, मेटलाइफले ३ अर्ब २४ करोड २१ लाख रुपैयाँ, आइएमई लाइफले ३ अर्ब १८ करोड ९८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड ४४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ७९ करोड ६८ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ११ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा हिमालयन लाइफको ३.४९ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको १२८.२५ प्रतिशत, सूर्यज्योति लाइफले ११.८६ प्रतिशत, एसियन लाइफको १० प्रतिशत, सिटिजन लाइफको १९.४३ प्रतिशत, सानिमा रिलायन्सको १२.२८, मेट लाइफको १३.०२, आईएमई लाइफको ३०.७३, रिलायबल नेपालको २५.१३, प्रभु महालक्ष्मीको १५.२२ र सन नेपालको ५.५३ प्रतिशत व्यापार बढेको छ ।
३०० भन्दा बढी ब्राण्डसहित नेपाल बिल्डकन माघ २२ देखि भृकुटीमण्डपमा
काठमाडौं । नेपाल बिल्डकनको एघारौँ संस्करण यही माघ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । राष्ट्रको पहिलो र एकमात्र निर्माण क्षेत्रमा केन्द्रित अन्तर्राष्ट्रिय प्रदर्शनी बिल्डकनको यस संस्करणमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्ड सहभागी हुने भएका छन् । २०० भन्दा धेरै स्टल राखिने यस प्रदर्शनीमा आफ्ना बस्तु तथा सेवाहरू प्रदर्शन गर्न पाउँदा व्यवसायी तथा उद्यमीहरू पनि उत्साहित रहेका छन् । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले विगत ११ वर्षदेखि निरन्तर आयोजना गर्दै आएको नेपाल बिल्डकनले नेपालको निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । प्रदर्शनीमार्फत स्वदेशमै उत्पादन भएका निर्माण सामग्री तथा प्रविधिहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने साथै विदेशबाट आएका नवीनतम प्रविधि, सेवा र वस्तुहरू नेपालमा भित्राउने अवसर पनि प्रदान गरिन्छ । प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टाइल्स, स्यानिटरी वेयर, मोड्युलर किचन, रुफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, ढोका, झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप, प्लम्बिङ, कन्स्ट्रक्सन केमिकल, पीभीसी/युपिभिसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, सिमेन्ट, स्टिल लगायत निर्माणका सम्पूर्ण सामग्री र सेवाहरू उपलब्ध हुनेछन् । निर्माण क्षेत्रमा आवद्ध व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, सेवाप्रदायक जस्ता सबै पक्षलाई समेटेको यस प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनी, व्यवसायी, डिज़ाइनर, ईन्जिनियर, आर्किटेक्ट र निर्माणसँग सम्बन्धित पेशामा आवद्ध व्यक्तिहरूको साथै निजी आवास, व्यापारिक कम्प्लेक्स र व्यवसायिक भवन निर्माण गर्न चाहने व्यक्तिहरू तथा सर्वसाधारणको पनि उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ । प्रदर्शनीको मुख्य प्रायोजक फ्लाईबर्ड इन्टेरियर रहेको छ भने पावर्ड बाई लुम्बिनी सेरामिक्स (लेमिनार टाइल्स) रहेको छ ।
तत्काल ग्रे लिष्टबाट बाहिरिने गरी काम गर्न जोड, ‘जीडीपीको ५ प्रतिशत अवैध कारोबार’
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् । ‘सम्पत्ति शुद्धीकरण निवारणः पारदर्शिता र वित्तीय सुशासन’ भन्ने मूल नारासहित बुधबार (आज) आयोजित सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस, २०८२ का अवसरमा बोल्दै अर्थमन्त्री खनालले तोकिएको समयभन्दा अघि नै आवश्यक सबै सुधारका काम सम्पन्न गरी आगामी एक वर्षभित्र नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नुपर्ने उनले बताए । अन्तर्राष्ट्रिय समुदायले नेपालमाथि कुनै दबाब दिएर वा बाध्य पारेर यी सुधार कार्य कार्यान्वयन गर्न लागिएको नभई, आफ्नै संस्थालाई भ्रष्टाचारमुक्त, पारदर्शी र सुशासनयुक्त बनाउन तथा अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यका साथ यो प्रक्रिया अघि बढाइएको उनले स्पष्ट पारे । सम्पत्ति शुद्धीकरण निवारणका लागि भइरहेका सुधार प्रयासले अतिरिक्त आर्थिक दायित्व वा अनावश्यक लागत सिर्जना नगर्ने पनि अर्थमन्त्री खनालको भनाइ छ । विदेशी लगानी अपेक्षाअनुसार नआउनुको एक कारण वित्तीय प्रणालीप्रतिको विश्वास कमजोर हुनु रहेको उल्लेख गर्दै उनले सुधारमार्फत लगानी वातावरण सुधार गर्नुपर्ने बताए। एफएटीएफ र एसिया प्यासिफिक ग्रुपले जनवरी २०२७ सम्ममा सुधार गर्नुपर्ने विभिन्न विषयहरू समेटेर सुझाव दिएको उल्लेख गर्दै अर्थमन्त्री खनालले पछिल्लो एक वर्षमा केही सुधार भएको र अबको एक वर्षभित्र बाँकी सबै सुधारका काम पूरा गर्नुपर्ने आवश्यकता औंल्याए । उनले २०२६ को अन्त्यतिर सबै सुधार कार्य सम्पन्न हुने अपेक्षा व्यक्त गरे । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मुद्दामा अनुसन्धान, अभियोजन र कारबाही प्रक्रियालाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिँदै अर्थमन्त्री खनालले प्रमाणसहित बलियो मुद्दा तयार गरी तत्काल सम्पत्ति जफत गर्ने व्यवस्था मिलाउनुपर्ने बताए । वित्तीय बजार मात्र नभई पुँजीबजारमा समेत पारदर्शितासम्बन्धी समस्या रहेको आशङ्का व्यक्त गर्दै अर्थमन्त्री खनालले यही कारण १ माघदेखि पाँच लाखभन्दा बढीको व्यावसायिक कारोबार बैंकिङ प्रणालीमार्फत मात्र गर्नुपर्ने व्यवस्था लागू गरिएको जानकारी दिए । निजी क्षेत्रबाट यस व्यवस्थाले समस्या सिर्जना गरेको भनिए पनि नगद कारोबारको सीमा नबढाइने अर्थमन्त्री खनालले स्पष्ट पारे । कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले नेपालको वित्तीय स्वच्छता र सुशासनका लागि विश्वव्यापी रूपमा देखिएका कानुनी, नीतिगत तथा संस्थागत चुनौतीहरूलाई थप प्रभावकारी ढङ्गले सम्बोधन गर्नुपर्ने बताए। हालको अवस्था चुनौती मात्र नभई आत्मसमीक्षा र थप सुधारका लागि अवसरसमेत भएको उनले बताए । कानुनी तथा संस्थागत सुधारका काम अघि बढिरहेका उल्लेख गर्दै मन्त्री सिन्हाले अब प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बेला आएको बताए । ग्रे लिस्टबाट बाहिर निस्कन २०८३ माघसम्म गर्नुपर्ने कार्ययोजना तय भइसकेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सबै निकाय र क्षेत्रले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपाल ग्रे लिस्टमा रहेको अवस्थामा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले नेपालसँगको कारोबारमा कडाई गर्नसक्ने चेतावनी दिए। यसले देशभित्र गम्भीर सामाजिक तथा आर्थिक समस्या सिर्जना गर्न सक्ने मात्र नभई अन्तरराष्ट्रियस्तरमा नेपाली नागरिकको यात्रामा कडाइ, रेमिट्यान्स तथा अन्य अन्तर्राष्ट्रिय कारोबारको लागत बढ्न सक्ने चुनौती रहेको उनले बताए । ग्रे लिस्टमा पर्नु भनेको वित्तीय अपराध नियन्त्रणमा नेपालको कमजोरीका रूपमा अन्तर्राष्ट्रिय समुदायले बुझ्ने भएकाले यसबाट बाहिर निस्कन प्रभावकारी सुधार अपरिहार्य रहेको डेपुटी गभर्नर मिश्रको भनाइ थियो । यसैगरी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले सम्पत्ति शुद्धीकरण निवारण कुनै एक निकायको मात्र जिम्मेवारी नभई अर्थतन्त्रसँग जोडिएका सबै निकायको सामूहिक प्रयास आवश्यक पर्ने बताए । उनका अनुसार यस क्षेत्रमा ५० भन्दा बढी सरकारी निकाय र ८० हजारभन्दा बढी सूचक संस्थाहरू संलग्न रहेका छन् । महानिर्देशक ठाकुरले कूल गार्हस्थ्य उत्पादनको तीनदेखि पाँच प्रतिशतसम्म आतङ्ककारी गतिविधि र अवैध कारोबारसँग सम्बन्धित हुनसक्ने जोखिम औंल्याउँदै नेपालको अर्थतन्त्र अझै नगदमा आधारित, अनौपचारिक अर्थतन्त्रको हिस्सा ठूलो, आधुनिक प्रणालीको प्रभावकारी नियमन गर्न नसकिएको, दक्ष जनशक्ति र प्रविधिको अभाव तथा कानुनको प्रभावकारी कार्यान्वयन कमजोर हुनु समस्या रहेको उनले बताए । घरजग्गा कारोबार तथा सुनचाँदी कारोबारका क्षेत्रमा सम्पत्ति शुद्धीकरणको जोखिम बढी रहेको उल्लेख गर्दै उनले जोखिममा आधारित प्रणाली कार्यान्वयन, कानुनी सुधार तथा अद्यावधिक, अनुसन्धान निकायबीच समन्वय र सहकार्य, अन्तर्राष्ट्रिय समन्वय विस्तार, आधुनिक प्रविधिबाट हुने अपराध न्यूनीकरण, एकीकृत सूचना साझेदारी प्रणाली निर्माण, डिजिटल अर्थतन्त्रको नियमन तथा साइबर अपराध नियन्त्रणमा विशेष जोड दिनुपर्ने आवश्यकता उनले औंल्याए ।
कांग्रेसले चुनावकेन्द्रित समितिहरू गठन गर्न परिपत्र गर्यो
काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि चुनावकेन्द्रित विभिन्न समितिहरू गठन गर्न प्रदेश, जिल्ला र क्षेत्रीय तहका १६५ वटै कार्यसमितिलाई परिपत्र गरेको छ । पार्टीका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्माले बुधबार (आज) विभिन्न निकायहरूलाई चुनावी समिति गठन गर्न निर्देशन दिदै परीपत्र गरिएको प्रवक्ता देवराज चालीसेले जानकारी दिए। उनले परिपत्रमार्फत निर्वाचन अभियान व्यवस्थित गर्न सबै तहमा समितिहरू र संरचनाहरू तत्काल गठन गर्न आग्रह पनि बताए । परिपत्रमा कांग्रेसले निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मूल समिति, निर्वाचन प्रचार प्रसार मूल समिति र स्थानीय तह समन्वय समिति गठन गर्न निर्देशन गरेको छ । यसैगरी, बौद्धिक क्षेत्र समन्वय समिति, सामाजिक संघसंस्था समन्वय समिति, धार्मिक संघसंस्था समन्वय समिति र निजी क्षेत्र समन्वय समिति पनि कांग्रेसले गठन गर्ने जनाइएको छ । कांग्रेसले हालै १६५ क्षेत्रमै आफ्ना उम्मेदवारको प्रचारप्रसार गर्न चुनावी तयारीलाई तीव्र पार्नसमेत निर्देशन गरेको छ ।
हाडजोर्नी दुख्ने मात्र होइन, बाथले भित्रभित्रै अंगहरू पनि नष्ट गर्छ
शरीरका कुनै पनि अङ्गको दुखाइ सामान्य नहुन पनि सक्छ । हामीले सामान्य दुखाइ भनेर बेवास्ता गर्दा भोलि शारीरिक अपाङ्गता देखी लिएर शरीरका जुनसुकै अंगमा क्षति पनि पुर्याउन सक्छ । विशेषगरी युवा उमेर समूहमा बढ्दै गएको र चिसो समयमा अझ बढी बिरामीलाई दुःख दिने बाथ रोग के हो ? बाथले नेपालीलाई कति दुःख दिइरहेको छ र यसको उपचार पद्धति नेपालमा कस्तो छ ?लगायतका विषयमा विकासन्युजकी इन्द्रसरा खड्काले बाथरोग विशेषज्ञ डा. अरुणकुमार गुप्तासँग गरेको कुराकानीको सम्पादित अंश : बाथरोग कस्तो किसिमको रोग हो ? यसका लक्षण कस्ता छन् ? बाथरोग शरीरको दुखाइ हो । यो दुखाइ सुतेर उठ्दा बिहानको समयमा अझ बढी हुन्छ । बाथ भएका भएका व्यक्तिलाई हातको आँख्ला दुख्ने, हिँड्न, बस्न र उठ्न निकै गाह्रो हुने गर्छ । बिहान सुतेर उठ्दा जीउ गाह्रो हुन्छ, पहिले सजिलै गरिरहेको काम गर्न अप्ठ्यारो लाग्दै जान्छ । घुँडा सुन्निने, जोर्नीहरू दुख्ने, कम्मरमा दुखाइ, हिँड्न सकिरहेको छैन, विस्तारै अशक्त जस्तै भइरहेको छ भने त्यो बाथरोगको लक्षण हुनसक्छ । सबै दुखाइ बाथको हुँदैन । दुखाइ लक्षण हो । अस्पताल पुग्ने बिरामीहरू यहाँ दुखेको, उता दुखेको भनेर आउँछन् यो दुखाइ कहिलेदेखि भयो भन्ने समय अवधि हेरेर उपचार सुरु गरिन्छ । डा. अरुणकुमार गुप्ता । नेपालमा बाथरोगको अवस्था कस्तो छ ? आजभन्दा करिब २० वर्ष अगाडि बाथरोगका विषयमा धेरैलाई थाहा थिएन । बाथ लाग्दा अभिशाप हो भन्ने सोच मानिसमा थियो । धेरैले भाग्यलाई सराप्दै बस्थे । बिस्तारै चिकित्सा शिक्षाको बिस्तार हुँदै गएपछि बाथरोगका विषयमा पनि थाहा हुँदै गयो । २० वर्षपछि धेरै परिवर्तन आएको छ । त्यो बेलाको यो रोगप्रतिको बुझाइ, उपचार प्रणाली पनि धेरै फरक छ। कुन उमेर समूहका व्यक्तिमा यसको समस्या बढी हुन्छ ? बाथरोग सबै उमेरसमूहका व्यक्तिलाई भइरहेको पाइन्छ । बच्चादेखि युवा र वृद्धवृद्धा पनि यो रोगको जोखिममा परिरहेका हुन्छन् । नेपालमा सबैभन्दा बढी बाथरोग देखिने समूह भएको १५ देखि ४० वर्ष हो । जाडोयाममा यो बढी हुन्छ भने गर्मीयाममा अलिक कम हुने गर्दछ । बाथ दुखाइकै रोग हो तर बाथकै कारण दुखाइ भएको हो वा अन्य कारण भन्ने विषयमा व्यक्तिको उपचार गर्ने क्रममा मात्र थाहा हुन्छ । बाथ कति प्रकारको हुन्छ ? बाथ सयौं प्रकारको हुन्छ । उमेरअनुसार बालबालिकादेखि वृद्धवृद्धालाई पनि यो समस्या भइरहेको पाइन्छ । कति बाथ हड्डी, जोर्नी, नसाबाट सुरु भएको हुन्छ यसको नाम पनि त्यही अनुसार फरक हुन्छ । लक्षणका हिसाबले कुन बाथ हो भन्ने कुरा छुट्याउन सकिन्छ । ओस्टियो अर्थाइटिस (जोर्नी खिइने बाथ), युरिक एसिडजन्य बाथ,(¥युमाटाइट अर्थाइटिस), लुपस, ढाडको बाथ, भास्कुलाईटिसलगायत सय भन्दा बढी प्रकारको हुन्छ । कुन प्रकारको बाथ हो भन्ने कुरा थाहा पाउन व्यक्तिको हिस्ट्रीबारे अध्ययन गरिन्छ । किनकि बाथरोग वंशाणुगत कारणले बढी देखिने गर्छ । बाथरोग सरुवा रोग त होइन तर यो कसरी लाग्छ ? कुनै व्यक्तिलाई जीवाणु, किटाणु र भाइरसबाट कुनै रोग लागेको छ भने त्यस्ता व्यक्तिलाई बाथ हुने सम्भावना बढी हुन्छ । ट्युबरकुलोसिस, चिकेन गुनिया, एचआईभी लगायतका रोग भएका व्यक्तिलाई हुने सम्भावना पनि हुन्छ । कुनै सरुवा रोग नभए पनि यस्ता रोगबाट आक्रान्त छन् भने त्यस्ता व्यक्तिलाई बाथरोग हुनसक्ने सम्भावना बढी हुन्छ । बाथरोग यही कारण हुन्छ भन्ने हुँदैन । बाथरोग भनेको अटोइम्युन रोग हो । हरेक मान्छेको शरीरमा रोगसँग लड्ने प्रतिरक्षा प्रणाली हुन्छ तर बाथरोगीलाई त्यो प्रणालीले आफ्नै शरीरको विरुद्धमा आक्रमण गर्छ । उक्त आक्रमणलाई रगतभित्र रहेको एन्टीबडीले नै डिफेन्स गर्छ, जसले गर्दा शरीरलाई आघात गर्नसक्छ । कुन व्यक्तिलाई कुन प्रकारको ब्याक्टेरिया वा भाइरसले असर गर्छ भन्ने कुरा रगतको परीक्षण र अध्ययन गरेर मात्रै थाहा पाउन सकिन्छ । यो रोगको कारण भनेको एउटा वंशाणुत हो । कतिपय हर्मोनका कारण पनि यो रोग हुन्छ, जो महिलालाई बढी देखिने गर्छ । तर यो यही कारणले हुन्छ भन्ने हुँदैन । के कम्मरको दुखाइ पनि बाथ हुन सक्छ ? अहिले धेरैजसो व्यक्ति कम्मर दुखाइको समस्या लिएर आउने गर्छन् । त्यसमा पनि कुन उमेर समूहको व्यक्ति हो भनेर छुट्याइन्छ । कम्मरको तल्लो भागमा दुखेको हो भने त्यसलाई ‘लोअर ब्याक पेन’ भनिन्छ । जुन समस्या हाडजोर्नी, मांशपेसी र स्नायु रोगको समस्याले हुनसक्छ । तर कम्मरको दुखाइ छ भने यो बाथ हो कि होइन भनेर अध्ययन गरिन्छ । यो दुखाइको प्रकृति कस्तो छ, एक–दुई दिनदेखि भएको हो कि, केही घण्टामा भएको हो कि, केही महिना वा वर्ष बितिसकेको हो भनेर हेरिन्छ । बाथको दुखाइ र मेकानिकल ब्याक पेन छुट्याइइन्छ । बाथको दुखाइ र अरू दुखाइमा फरक कसरी छुट्याउने ? बाथको दुखाइ तपाईं जति आराम गर्नुहुन्छ त्यति बढ्छ । जब शारीरिक व्यायाम गरिन्छ तब कम भएको अनुभव हुन्छ । बाथको दुखाइ करिब ६ हप्तासम्म हुन्छ भने अर्को दुखाइ एक महिना वा दुई महिना नाघिसकेको हुन्छ । मेकानिकल दुखाइ केही दिनदेखि हप्तासम्म रहन्छ । बाथको दुखाइ रातको समयमा बढी हुन्छ भने अन्य दुखाइ दिनचर्यामा बढी हुन्छ । बाथको दुखाइले मोविलिटीलाई नै जाम गराइदिन्छ । दुखाइ बिहान ३० मिनेटदेखि १ घण्टासम्म जारी रहन्छ । अन्य दुखाइको कुनै समय हुँदैन । बाथले बिस्तारै बिस्तारै व्यक्तिलाई अपाङ्गता समेत गराउँछ । अन्य दुखाइले भने यस्तो अवस्था ल्याउँदैन । कम्मरको बाथ बढी पुरुषमा देखिन्छ हो ? यो समस्या बढी पुरुषमा देखिने गरेको छ । यसको दुखाइ कम्मरमा मात्र समिति हुँदैन । कम्मरबाहेक बिस्तारै घुँडा, गोलिगाँड, कुइना हातको आँख्लामा समेत असर गरेको हुन्छ भने गर्दनको हड्डीमा समेत यसले असर गर्छ । यो दुखाइ एक–दुई वर्षदेखि हुँदै आएको छ भने यसले तलमाथि दायाबायाँ, अगाडि पछाडि गर्न नसकिने अवस्थामा पुर्याइदिन्छ । बाथरोगको समयमै उपचार भएन भने यसले शरीरको संरचना नै परिवर्तन गराइदिनसक्छ । अस्पताल उपचारका लागि ढिला पुगेका धेरै व्यक्ति अपांगताको अवस्थामा पुगेका छन् । कुनै किसिमको दुखाइ छ, दुखाइ बढ्दै गएको छ भने त्यस्तो दुखाइ सहेर बस्न हुँदैन, तुरुन्तै अस्पतालमा गई उपचार गराउनुपर्छ । के बाथले शरीरका अरू अंगलाई पनि असर पार्छ ? बाथ एउटा दुखाइबाट सुरु हुन्छ । तर यसको हाँगा शरीरका विभिन्न अंगतिर छरिएको हुन्छ । टाउकादेखि खुट्टा, मुटु मिर्गौला, कलेजो, फोक्सो, आँखा, छाला लगायत हरेक अंगमा यसले असर पु¥याएको हुन्छ । अस्पताल पुगेका सय जनामध्ये एकजना दुखाइ भन्दा अन्य समस्या भएर उपचारका लागि आउँछन्– जस्तै आँखा रातो हुने, बिझाउने, कतिको ज्वोतिमै समस्या आउने । कतिको आँखाको रोग बाथको कारणले पनि भएको पाइयो । यसले मुटुसम्बन्धी समस्या पनि ल्याउँछ, फोक्सोमा पनि असर पार्छ । फोक्सोमा विशेष गरी करङको हड्डीमा पनि असर पार्छ । त्यसैले बाथ दुखाइ मात्र हुँदैन, यसले शरीरका विभिन्न अंगलाई समेत असर पुर्याउँछ । बाथका बिरामीले कस्तो जीवनशैली अपनाउनुपर्छ ? बाथरोग खानपानसँग सम्बन्धित रोग होइन । युरिक एसिडको बाथरोग मात्रै खानपानसँग सम्बन्धित हुन्छ । युरिक एसिडको बाथरोग भएकाहरूले जाँडरक्सी, रातो मासु, जनावरको भित्री अंग, चिनीजन्य पेय पदार्थ नखाएको राम्रो मानिन्छ । अन्य प्रकारका बाथ रोगीहरूले भने खानपान बार्नु पर्दैन । बाथरोगको उपचार कसरी गरिन्छ ? अहिले हरेक बाथका रोगीको उपचार नेपालमा सम्भव छ । सबैभन्दा पहिले कुन बाथरोग हो भन्न कुरा पत्ता लगाउनुपर्छ । यसका लागि चिकित्सकको सल्लाह अनिवार्य चाहिन्छ । अस्पताल पुगेर बाथको प्रकार, स्टेज पत्ता लगाइसकेपछि मात्र उपचार सुरु गरिन्छ । औषधी, इन्जेक्सनसँगै बिरामीलाई फिजियो, शारीरिक व्यायाम, योगाको पनि सल्लाह दिइन्छ । कम्मरको बाथको हकमा युवा अवस्थाको व्यक्ति छ र उसको कम्मरको दुखाइ बाथकै हो भने समयमै उपचार अनिवार्य आवश्यक छ ।
राष्ट्रपतिसमक्ष राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरिएको छ । निर्वाचन आयोगका पदाधिकारीहरूले बुधबार (आज) राष्ट्रपति भवन शीतलनिवासमा पुगेर निर्वाचन प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा निर्वाचन प्रक्रिया, मतदानको अवस्था तथा अन्तिम परिणामसम्बन्धी विवरण समेटिएको छ । माघ ११ गते सम्पन्न निर्वाचनमा २ करोड ४० लाख ६६ हजार खर्च भएको आयोगले जनाएको छ । निर्वाचन आयोगले निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न भएको तथा निर्वाचनका विविध विषय प्रतिवेदनमा समेटिएको आयोगका सहप्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए ।
२० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार २० अर्ब निक्षेप तान्दैछ । निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले बुधबार फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । अहिले कुल निक्षेप ७६ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा बुधबार अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ चैत्र १८ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।