विकासन्युज

स्वास्थ्य बीमामा तीनै तहका सरकारको लगानी आवश्यक : मन्त्री गौतम

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिएकी छन् ।      मंगलबार बिहान प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै मन्त्री गौतमले सङ्घीय सरकारको मात्र बजेटले स्वास्थ्य बिमा कार्यक्रमलाई अपुग भएकाले प्रदेश सरकार र स्थानीय तहहरुले समेत बजेट विनियोजन गर्नुपर्ने बताइन् । अहिले पनि थुुप्रै अस्पतालले स्वास्थ्य बिमाको बजेट नपाएको गुनासो आइरहेको बताउँदै सरकारसँग बजेट अभाव भएकै कारण भुक्तानी दिन नसकिएको बताइन् ।      अर्थ मन्त्रालयमा माग गर्दा बजेट नभएको भनेपछि स्वास्थ्य मन्त्रालयकै बजेटबाट झन्डै एक अर्ब रुपैयाँ बीमा बोर्डलाई भुक्तानी भएको उनको भनाइ छ ।      मन्त्री गौतमले आफूले विभिन्न प्रदेशअन्तर्गतका बैठकमा प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधिलाई आगामी बजेटमा स्वास्थ्य बिमाका लागि पनि रकम विनियोजन गर्न आग्रह गरेको बताइन् । मन्त्री गौतमले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनका लागि अहिलेको सरकारले निरन्तर पहल गरिरहेको बताइन् ।      सरकारी स्वास्थ्य संस्थाहरुमा पर्याप्त औषधि, जनशक्ति र उपकरणको व्यवस्थापन हुनुपर्नेमा जोड दिँदै मन्त्री गौतमले नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाका पुर्याउनका लागि विभिन्न नीति र योजना बनाउनुनपर्ने बताइन् । उनले निर्वाचन आचारसंहिता लागिसेककाले कतिपय कामहरु अघि बढाउन नसकिएको बताइन् ।      उनले गत भदौ २३ र २४ गतेको आन्दोलनमा घाइते भएका जेनजीहरुको उपचारका लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताइन् । उनले घाइतेको उपचारमा कुनै समस्या नभएको तर अङ्ग प्रत्यारोपण गर्नुपर्नेहरुको व्यवस्थापनमा सरकार लागिरहेको बताइन् । उनले सहिद परिवारहरुले विभिन्न सेवासुविधा माग गरिरहेकाले सरकारले आवश्यक छलफल गरिरहेको जानकारी दिइन् ।      मन्त्री गौतमले आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन् । सरकारका तर्फबाट सम्पूर्ण तयारी भइरहेको उल्लेख गर्दै उनले राजनीतिक दल, मतदाता र युवा पुस्ताले पनि सहयोग गर्न आग्रह गरिन् । आफ्नो कार्यकाल छोटो भए पनि आगामी सरकारले अघि बढाउने गरी स्वास्थ्य क्षेत्रमा केही सुधारका कामहरु गरिरहेको उनको दाबी रहेको छ ।      सो अवसरमा प्रदेश अस्पताल पर्वतका अध्यक्ष याम परियारले अस्पतालका लागि आवश्यक जनशक्ति, उपकरण, बिमा बापतको रकम उपलब्ध गराई दिनेलगायत विभिन्न माग समेटिएको मागपत्र पेस गरेका थिए । उनका अनुसार उक्त अस्पतालले बिमा बापतको रु तीन करोड भुक्तानी पाउन बाँकी छ ।   

धनुषाका १९४ मतदानस्थल अतिसंवेदनशील

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले यहाँका १९४ मतदानस्थल अतिसंवेदनशील रहेको जनाएको छ। जिल्लामा रहेका ३२२ मतदानस्थलमध्ये १९४ अति अतिसंवेदनशील,१०६ वटा संवेदनशील र २२ वटा सामान्य सूचीमा वर्गीकरण गरिएको कार्यालयको भनाइ छ ।  जिल्लामा मतदान केन्द्रको सङ्ख्या  ६४५  छ । खुल्ला सीमा नाका, बढी मतदाता, विगतका निर्वाचनमा मतदानको वर्षमा भएको विभिन्न किसिमको उत्पन्न समस्याका कारण मतदानस्थलहरूको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।  एक मतदान केन्द्रमा १० देखि १२ जना सुरक्षाकर्मी परिचालन गरिने उनले बताए । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै सुरक्षा प्रमुखको सहभागितामा अति संवेदनशील मतदानस्थलको आज पनि अनुगमन गरिएको छ । नेपाल–भारतको सीमानासँग जोडिएको मतदानस्थलको अनुगमन भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिए । मधेस प्रदेश निर्वाचन कार्यालयका अनुसार धनुषाका चार निर्वाचन क्षेत्रमा पाँच लाख १४ हजार ५७१ जना मतदाता छ । जसमा पुरुष दुई लाख ७६ हजार १२६ जना, महिला दुई लाख ३८ हजार ४३५ र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (अन्य) १० जना मतदाता छन् । सो निर्वाचनमा छ हजार ५०० कर्मचारी खटिनेछन् । खटिने कर्मचारीको विवरण सङ्कलन भइरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा चारवटा निर्वाचन क्षेत्रमा १४२, क्षेत्र नं २ मा ३४, क्षेत्र नं ३ मा ४५ र क्षेत्र नं ४ मा ३७ जना उम्मेदवार छन् ।

सन नेपाल लाइफको नेशनल एजेन्सी मिट २०८२ पोखरामा सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा दुईदिने नेशनल एजेन्सी मिट २०८२ सफलतापूर्वक सम्पन्न गरेको छ । होटल ग्रान्ड पोखरामा आयोजित उक्त कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो । देशभरिका प्रतिष्ठित एजेन्सी लिडर तथा उत्कृष्ट अभिकर्ताहरूको सहभागितामा सम्पन्न कार्यक्रममा कम्पनीले असाधारण व्यवसायिक प्रदर्शन गर्ने अभिकर्ता तथा एमडीआरटी २०२६ (MDRT 2026) हासिल गर्ने सदस्यहरूलाई विशेष सम्मान प्रदान गरेको छ । कार्यक्रमको पहिलो दिन उत्कृष्ट व्यवसाय, निरन्तर योगदान र समर्पणमार्फत कम्पनीको वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिकर्ताहरूलाई कदर गर्दै सम्मान समारोह आयोजना गरिएको थियो । एमडीआरटी हासिल गर्ने अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको उपलब्धिका रूपमा विशेष सम्मान गर्दै कम्पनीले उनीहरूको पेशागत उत्कृष्टता र नेतृत्व क्षमताको उच्च मूल्याङ्कन गरेको थियो । दोस्रो दिन अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासमा केन्द्रित प्रशिक्षण सत्र सञ्चालन गरिएको थियो । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेल्स ट्रेनर तथा लिडरसिप कोच अनिल झाले बिक्री कौशल, नेतृत्व क्षमता, सोचको रूपान्तरण तथा ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माणका विषयमा प्रेरणादायी प्रशिक्षण प्रदान गरेका थिए । उनको प्रस्तुति र व्यावहारिक अनुभवले सहभागी अभिकर्ताहरूलाई उच्च लक्ष्यसहित अघि बढ्न उत्प्रेरित गरेको कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशेष उपस्थिति रहेको थियो । साथै उत्कृष्ट नतिजा हासिल गर्ने शाखा प्रमुखहरूको पनि सहभागिता रहेको थियो । सुन्दर पर्यटकीय नगरी पोखरामा सम्पन्न नेशनल एजेन्सी मिटले विगतका उपलब्धिहरूको उत्सव मनाउनुका साथै भविष्यमा अझ सशक्त, व्यावसायिक र ग्राहककेन्द्रित सेवा प्रदान गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाएको कम्पनीको भनाइ छ । हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा रहेका छन् ।  

निर्वाचन आयोगले बालेनलाई सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले झापा ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई स्पष्टीकरण सोधेको छ । केही दिनअघि शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीको सामाजिक सञ्जालमा कमेन्ट गरेका थिए । उनले प्रतिस्पर्धी उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको पोस्टमा कमेन्ट गर्दै ‘हत्यारा’ भनेर टिप्पणी गरेका थिए । शाहले बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा संलग्न रहेको बुझिने बताएका थिए ।

जमलमा माइक्रो, मोटरसाइकल र स्कुटर ठोक्किँदा एकजना घाइते

काठमाडौं । काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि तीनवटा सवारीसाधन एक-आपसमा ठोक्किएर दुर्घटना भएको छ । मंगलबार (आज) केहीबेरअघि मोटरसाइकल, स्कुटर र एउटा माइक्रो एक-आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । दुर्घटनामा परेर एक जना घाइते भएका छन् । ‘मोटरसाइकलमा आगो लागेको छ । मोटरसाइकल चालक सामान्य घाइते भएका छन्,’ एसपी भट्टराईले भने,’ आगलागी नियन्त्रणमा आइसकेको छ ।’

करिब दुई दर्जनभन्दा बढी इन्टरनेट कम्पनी प्रतिस्पर्धामा

काठमाडौं । नेपाली बजारमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको बाढी नै देखिएको छ । हाल करिब दुई दर्जनभन्दा बढी इन्टरनेट कम्पनीहरू बजारमा प्रतिस्पर्धामा छन् । ती कम्पनीहरू सेवा गुणस्तर सुधारभन्दा पनि ग्राहक संख्या बढाउन प्रतिस्पर्धामा उत्रिएका देखिन्छन् । वर्ल्डलिंक, डिसहोम, नेपाल टेलिकमसहित करिब दुई दर्जन कम्पनीको बजारमा हालिमुहाली रहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार इन्टरनेट सेवा प्रदायकमध्ये सबैभन्दा बढी बजार हिस्सा वर्ल्डलिंकको रहेको छ । प्राधिकरणका अनुसार मंसिरसम्मको तथ्यांकमा बजार हिस्साका आधारमा वर्ल्डलिंकका सबैभन्दा धेरै ग्राहक छन् । वर्ल्डलिंकका ग्राहक संख्या १० लाख ५५ हजार पुगेको छ । इन्टरनेट कम्पनीहरूमध्ये वर्ल्डलिंकपछि दोस्रो ठूलो बजार हिस्सा डिसहोमको रहेको छ, जसका ग्राहक ३ लाख ८२ हजार पुगेका छन् । बजार हिस्साको हिसाबले तेस्रो स्थानमा सरकारी लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) रहेको छ । टेलिकमका ग्राहक ३ लाख ७४ हजार पुगेका छन् । चौथो स्थानमा भायनेट रहेको छ । बजार विस्तारमा आक्रामक देखिएको भायनेटका ग्राहक संख्या ३ लाख ४० हजार पुगेको छ । त्यसैगरी, पाँचौँ स्थानमा क्लासिक टेक रहेको छ । क्लासिक टेकले मंसिर मसान्तसम्म २ लाख ६८ हजार ग्राहक संख्या पुर्‍याएको छ । छैटौँ स्थानमा सुबिसु इन्टरनेट रहेको छ, जसका ग्राहक २ लाख ५५ हजार पुगेका छन् । सातौँ स्थानमा वेभसर्फर रहेको छ । वेभसर्फरका ग्राहक १ लाख ७६ हजार छन् । यस्तै, बजार हिस्साका आधारमा आठौँ स्थानमा टेकमाइन्स रहेको छ, जसका ग्राहक १ लाख २३ हजार छन् । नवौँ स्थानमा वाइफाइ नेपाल र दशौँ स्थानमा सिजी कम्युनिकेसन रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । इन्टरनेट कम्पनीहरू यसरी ग्राहक तानातानमा लागिरहे पनि उपभोक्ता भने इन्टरनेट सेवाप्रति सन्तुष्ट देखिँदैनन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवा प्रवाहमा देखिने समस्या समयमै समाधान नगरेको गुनासो उपभोक्ताबाट निरन्तर आइरहेको छ ।   

नेपाल पुनर्बीमाको संस्थापक समूहको २१ लाख ७१ हजार कित्ता सेयर लिलाम बिक्रीमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीको संस्थापक समूह तर्फका २१ लाख ७१ हजार ९३५ कित्ता सेयर सिलबन्दी बोलपत्र प्रक्रियामार्फत लिलाम बिक्रीमा राखेको हो । कम्पनीका अनुसार उक्त सेयरको न्यूनतम बोलकबोल मूल्य प्रतिसेयर ४०० रुपैयाँ तोकिएको छ भने न्यूनतम १ लाख कित्ता सेयरका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । लिलाम प्रक्रियामा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका संस्थापक सेयरधनीसहित प्रचलित कानुनबमोजिम योग्य रहेका व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरूले सहभागिता जनाउन सक्नेछन् । इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित तोकिएको समयसीमाभित्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौंमा सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । तोकिएका सर्त तथा प्रक्रिया पूरा नगरेका बोलपत्रहरू स्वतः अमान्य हुने कम्पनीले जनाएको छ । लिलाम प्रक्रियासम्बन्धी सम्पूर्ण अधिकार प्रचलित कानुनअनुसार बिक्री प्रबन्धकमा निहित रहने पनि कम्पनीले स्पष्ट पारेको छ ।

सर्लाहीमा मतदातासँग भेटघाट गर्दै गगन, यस्तो छ आज दिनभरको कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्रका मददातासँगको भेटघाटमा व्यस्त छन् । सोमबार मध्यान्ह सर्लाही पुगेका थापाले मंगलबार (आज) बाट स्थानीय नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरिरहेका हुन् । स्थानीय कांग्रेस नेता रघु कार्कीका अनुसार थापाले आज बलरा गाउँपालिकास्तरीय स्थानिय नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसैको तयारीस्वरूप थापा अहिले अगुवा कार्यकर्तासँग भेटघाट गरिरहेका छन्।  आज अपरान्ह १ बजे गगनले बलराका अगुवा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिए । बलराको कार्यक्रम सकिएपछि थापा अर्को दक्षिणी पालिका गोडैचा नगरपालिका पुग्नेछन् ।  थापाले गोडैचामा पनि सम्बोधन गर्ने र स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको कार्कीले जानकारी दिए । त्यसपछि समय रह्यो भने थापाले दक्षिणी पालिकामै भेटघाट गर्नेछन् ।