विकासन्युज

रसुवा भन्सारले उठायो १.१६ अर्ब राजस्व, बढी कर तिर्ने सिजी मोटर र सोनामलाई सम्मान

काठमाडौं । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १ अर्ब १६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । साथै चीनबाट सामान बोकी आएका करिब २०० वटा माल वाहक कन्टेनरका सामग्रीको परीक्षण कार्य भइरहेको कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।  गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण सुक्खा बन्दरगाह क्षेत्रमा थुप्रिएको ढुङ्गा, बालुवा हटाउने कार्य नेपाल इन्टरमोडल यातायात विकास समितिमार्फत भइरहेको उनको भनाइ छ । उनका अनुसार हालसम्मको सरसफाइबाट करिब २५० वटा ट्रक अट्ने वातावरण बनेको छ भने केही भागमा अझै सफाइ कार्य बाँकी छ । ७४औँ भन्सार दिवसका अवसरमा उत्कृष्ट कार्य गर्ने २ जना व्यवसायी र ४ जना कर्मचारीलाई कार्यालयले सम्मान गरेको छ । व्यवसायीतर्फ विद्युतीय सवारीसाधन आयात गरी गत आवमा राज्यलाई ३ अर्ब २१ करोड रुपैयाँ राजस्व बुझाउने सिजी मोटर सप्लायर्स तथा ७४ करोड रुपैयाँ बराबरको सामग्री निर्यात गर्ने फिन्जो सोनाम सप्लायर्स, काठमाडौंलाई सम्मान गरिएको हो । कर्मचारीतर्फ नायब सुब्बा रमेश ज्ञावली, इलेक्ट्रिसियन राजु ओली, हल्का सवारी चालक श्यामकुमार सिलवाल र कार्यालय सहयोगी नरेश दत्त जोशीलाई सम्मानपत्र प्रदान गरिएको छ । रसुवागढी नाकालाई नीतिनियमअनुसार सञ्चालन गर्दै उत्तरी नाकाको गरिमा अझ उच्च बनाउन सबैपक्ष जिम्मेवार बन्नुपर्नेमा सरोकारवालाहरुले जोड दिए  । साथै सडक सुधार कार्ययोजना सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै चीन सरकारको सहयोगमा सुधार हुन लागेको सडकको पहिलो चरणमा असहज मोडहरू सिधा बनाउन सवारी चालकले माग गरेका छन् ।

सपोर्ट लघुवित्तको नाफामा १०४.८३ प्रतिशत उछाल, ईपीएस ५१.८७ रुपैयाँ

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १०४.८३ प्रतिशत बढेर ३ करोड १७ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । लघुवित्तले गत वर्षको सोही अवधिमा १ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।  चालु आर्थिक वर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ७३.२० प्रतिशत बढेर ८ करोड ९४ लाख ४९ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड १६ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको दोस्रो त्रैमासमा लघुवित्तको खुद शुल्क तथा कमिसन आम्दानी ११.९० प्रतिशत बढेर ७ लाख ९० हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६०.२१ प्रतिशत बढेर १० करोड ३९ लाख १० हजार रुपैयाँ र सञ्चालन नाफा ७३.८३ प्रतिशत बढेर ३ करोड ८४ लाख ९९ हजार रुपैयाँ गरेको छ ।  लघुवित्तको वितरणयोग्य नाफा ४ करोड ४० लाख रुपैयाँ रहेको छ । १२ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा १० करोड ८९ लाख रुपैयाँ सञ्चित छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) २६.५५ रुपैयाँ बढेर ५१.८७ रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.३७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८९.१ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा १.४३ प्रतिशत बढेर ३.१७ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा १.७४ प्रतिशत खराब कर्जा थियो । 

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो, वीरगञ्जबाट मात्रै ९० अर्बको भित्रियो

काठमाडौं । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ९० अर्ब ६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हुँदै गत आवको ६ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा २ अर्ब ७५ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको हो ।  चालु आवको ६ महिनामा पेट्रोलियम पदार्थको आयातबाट भने ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयात र सोबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ । जबकि गत आवको छ महिनामा भने ८७ अर्ब ३१ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात हुँदा ३६ अर्ब १४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । भन्सार कार्यालयका अनुसार चालु आवको ६ महिनामा ४५ अर्ब ३८ करोड रुपैयाँ पर्ने डिजेल आयात हुँदा १९ अर्ब ८५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यसैगरी सोही अवधिमा २० अर्ब ९८ करोड रुपैयाँको पेट्रोल आयात हुँदा १३ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यस्तै १४ अर्ब ७९ करोड रुपैयाँको एलपीजी ग्यास आयात हुँदा २ अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

बागलुङको गौरवको आयोजना ‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माणमा साढे २ करोड खर्च

काठमाडौं । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका-९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार मसान्तसम्म २ करोड ५० लाख रुपैयाँ बराबरको भौतिक संरचना तयार हुने गरी तीव्र गतिमा निर्माण भइरहेको हो । यसअघि बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन, शौचालय तथा सत्तल निर्माणमा ७० लाख रुपैयाँ खर्च गरिसकेको छ । आँखै अघि देखिने दुई दर्जन हिमशृङखला र बागलुङ बजारको दृश्यले बागलुङको डोयलाई पर्यटकीय केन्द्र बनाउनका लागि नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेको थियो । ब्लु हिललाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउनका लागि पूर्वाधार निर्माण गत वर्षदेखि थालिएको हो । २५ करोड रुपैयाँको पूर्वाधार बनाउने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा उल्लेख गरिएको छ । गत वर्ष पहिलो चरण अन्तर्गत ७० लाख रुपैयाँको र चालु आवमा दोस्रो चरण अन्तर्गत २ करोड ५० लाख रुपैयाँको काम भइरहेको बागलुङ-९ तित्याङका वडाध्यक्ष राजु थापाले जानकारी दिए । उनका अनुसार अहिले ब्लु हिलमा निर्माण गर्ने २० फिट शिवको मूर्ति राख्नका लागि आवश्यक दुई तला पक्की भवन बनाउने काम भइरहेको छ । डोयको निलो पहाडलाई ब्लु हिलका रूपमा परिणत गर्न नगरपालिकाले बजेट विनियोजन गरी लगानी गरिरहेको छ । यस वर्ष २ करोड ५० लाख रुपैयाँको पूर्वाधारसहित शिवमूर्ति निर्माण गर्न निर्माण कम्पनी क्वालिसट रिन्युयबल इनर्जीले तीव्रताका साथ काम गरिरहेको छ । प्राकृतिक क्षेत्रमा धार्मिक पूर्वाधार बनाएर पर्यटक भित्र्याउने उद्देश्य राखिएको बागलुङ नगरपालिकाले जनाएको छ । पर्यटकीय गन्तव्य बनाउन बागलुङ नगरपालिकाले गत वर्षदेखि नगरकै गौरवको योजनाका रूपमा डोयको पहाडलाई ब्लु हिल नामकरण गरेर पर्यटकीय पूर्वाधार निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर काम अघि बढाएको थियो । मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेपछि नगरपालिकाले लगानी गरिरहेको बागलुङ-९ का वडाध्यक्ष थापाले जानकारी दिए ।  ‘नगरकै ठूलो लगानीमा पूर्वाधार निर्माण थालिएको छ, हामीले पहाडमाथि शिवमूर्ति बनाएर धार्मिक पर्यटक र प्रकृति प्रेमी पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ, ठूलो पूर्वाधार बने पनि स-साना पूर्वाधार पछि बन्छन्,’ उनले भने, ‘पर्यटकीय गन्तव्य बनेपछि अन्य पूर्वाधारले प्राथमिकता पाउनेछन्, त्यहाँ पुग्ने सडक भने सुधारको आवश्यक छ ।’ ब्लु हिल पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न २४ करोड ५६ लाख २२ हजार रुपैयाँको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेको थियो । गत वर्ष जग्गा सम्याउने, पर्खाल लगाउने, सत्तल निर्माण गर्ने र शौचालय बनाउने काम सम्पन्न भएको थियो । यस क्षेत्रमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकन स्थल, जिमहल, मन्दिर, पार्किङलगायत अतिरिक्त पूर्वाधार निर्माण गर्ने डीपीआरमा उल्लेख छ । दृश्यावलोकनका लागि ब्लु हिलमा आन्तरिक पर्यटक पुर्याउन नगरपालिकाको ठूलो लगानी भइरहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठले बताए । नगरपालिकाको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले आन्तरिक बजेटबाट ठूलो लगानी गरिरहेको बताउँदै ब्लु हिलमा थामि नसक्नु धार्मिक पर्यटक भित्रिने उनले विश्वास व्यक्त गरे । ‘नगरपालिकाभित्रको पर्यटकीय सम्भावना बोकेको डोय प्राकृतिक रूपमा सुन्दर र हरियाली छ । आँखै अगाडि हिमाल र बागलुङ बजार देखिन्छ । प्रकृति र धर्मलाई सँगै जोडेर पर्यटक भित्र्याउने गरी पक्की संरचना निर्माणले गति लिएको छ । अहिले एकसाथ १६ वटा खम्बा खडा गरिएको छ,’ नगर प्रमुख श्रेष्ठले भने, ‘ब्लु हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरी नामकरण गरेका छौँ । मौसम खुलेको समयमा यहाँ आउने जो-कोहीले हरियाली पहाडबाट धौलागिरि, माछापुच्छ्रे, निलगिरि अन्नपूर्णलगायत दुई दर्जन हिमालसँगै बागलुङ बजार देख्न सकिन्छ ।’ समुद्री सतहबाट करिब २ हजार २०० मिटरको उचाइमा पर्यटकीय पूर्वाधार निर्माण गर्न थालेपछि ब्लु हिलले चर्चा पाउन थालेको छ । विस्तृत परियोजना प्रतिवेदनका अनुसार योजनाले पूर्णता पाउन भने समय लाग्नेछ ।

‘एसियन हाइवे’ निर्माण २ वर्षमा ३५ प्रतिशत प्रगति, एक लेन कालोपत्रे सुरु

काठमाडौं । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडक खण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ । आइतबारदेखि झापाको पाडाजुगीबाट पश्चिम सडक पहिलो चरणको एक लेन कालोपत्रे सुरु भएको आयोजनाअन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताए । निर्माण सम्झौता भएको २ वर्षमा करिब ३५ प्रतिशत काम सकिएको उनले जानकारी दिए ।  प्रमुख प्रजापतिका अनुसार एसियन राजमार्ग नं २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५.७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ । पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको उनले उल्लेख गरे । हालसम्म दुवै खण्डमा गरी करिब २० किलोमिटर एकतर्फी सडकमा पहिलो चरणको कालोपत्रे सकिएको छ । आयोजना पूर्वी खण्ड दमक कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार पूर्वीखण्डमा पनि करिब ३५ प्रतिशत काम सम्पन्न भएको बताए ।  निर्माण सामग्री उपलब्धतामा सहजता भएमा कामले तीव्रता पाउने पन्तले बताए । पूर्वी खण्डमा बिजुलीका खम्बा सार्ने काम करिब ८० प्रतिशत सकिएको जनाउँदै उनले पश्चिम खण्डमा करिब ४० प्रतिशत मात्र काम भएको बताए । बजार क्षेत्रका खम्बा सार्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पूर्वी खण्डका ठूला पुल निर्माणमा २३ प्रतिशत प्रगति भएको छ भने पश्चिम खण्डमा २५ प्रतिशत प्रगति भएको छ । एसियन हाइवे थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मा, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व-पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एशियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ १९ गतेदेखि सडक निर्माण काम सुरू भएको हो ।  यो आयोजना निर्माणमा ३० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । ३ वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुनेछ ।

देशभरका ९ जिल्ला डढेलोको उच्च जोखिममा, यी हुन मध्यम र कम जोखिम भएका जिल्ला

काठमाडौं । देशका विभिन्न ९ जिल्ला वन डढेलोको उच्च जोखिममा रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत वन डढेलोको उच्च जोखिममा रहेका हुन् । यस्तै, अछाम, अर्घाखाँची, बारा, डडेल्धुरा, डोटी, गोरखा, जाजरकोट, कपिलवस्तु, मकवानपुर, नवलपुर, प्युठान, सिन्धुली र उदयपुर भने मध्यम जोखिममा छन् । प्राधिकरणले वन डढेलो पूर्वानुमान, निगरानी तथा चेतावनीलाई प्रभावकारी बनाउने, पूर्वतयारी र वन व्यवस्थापनका उपायलाई अवलम्बन गरी वन डढेलोको जोखिम कम गर्ने कार्ययोजना तय गरेको छ । सङ्घ, प्रदेश, तथा स्थानीय तहका जिम्मेवार निकाय तथा सरोकार भएकाहरूका बीचमा समन्वय गरी डढेलो नियन्त्रणका प्रयासलाई थप प्रभावकारी र परिणाममुखी बनाउने प्राधिकरणले कार्ययोजना तय गरेको छ । वन डढेलो नियन्त्रण गरी जनधन तथा पर्यावरणीय स्रोतको हानि नोक्सानी न्यूनीकरण गर्नु कार्ययोजना तय गरिएको छ । जनचेतना अभिवृद्धि तथा नियमनलाई प्रभावकारी बनाई वन डढेलोको जोखिम बारेको बुझाइलाई स्पष्ट पार्ने रणनीति तय गरिएको छ । वन डढेलोको आँकलन, वन क्षेत्र एवं वनजन्य इन्धन व्यवस्थापन गरी आगलागीको जोखिम न्यूनीकरण गरिनेछ । मौसम पूर्वानुमान एवं पूर्व सूचनालाई सुदृढ र सबल बनाई वन डढेलोजन्य विपद् प्रति कार्यलाई प्रभावकारी बनाउने रणनीति तय गरिएको छ । प्रविधिको प्रयोग एवं मानव संशाधन परिचालनमार्फत आगलागी जोखिम क्षेत्रको निगरानी, अनुगमन, पहिचान तथा पूर्व चेतावनीलाई प्रभावकारी प्रभावकारी बनाउने, सरोकारवाला निकायबीच समन्वय, सञ्चार कायम गर्दै सचेतना मूलक अभियान, तालिम र कृत्रिम अभ्यासमार्फत पूर्वतयारी तथा डढेलो नियन्त्रण कार्यलाई सुदृढ तुल्याउने रणनीति प्राधिकरणले तय गरेको छ । यसैगरी, वन डढेलोबाट प्रभावित वर्ग, क्षेत्र र समुदायको उद्धार, उपचार राहत तथा पुनःस्थापनासम्बन्धी कार्यलाई प्रभावकारी तुल्याउने, अनुगमन र तथ्याङ्क व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाई पृष्ठपोषण र अध्ययन तथा अनुसन्धानको आधार तयार पार्ने प्राधिकरणको रणनीति छ । 

निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी नहोस्: महानिरीक्षक अर्याल

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सोमबार सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालय प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतलाई निर्देशन दिँदै उनले आमनागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिए । महानिरीक्षक अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारबाहीलाई तीव्र रूपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नेतर्फ ध्यान दिन निर्देशन दिए । कमजोर कमान्ड र गल्ती गर्ने कमान्डर माथि तत्काल कारबाही गर्ने बताउँदै उनले उच्च मनोबलका साथ काम गर्न सबैलाई आग्रह गरे ।  उनले कमाण्डको जिम्मेवारीमा खटिन लागेका सशस्त्र प्रहरी अधिकृतलाई पदीय जिम्मेवारीमा रही कार्यक्षेत्रमा रहँदा बदमासी गरेमा तत्कालै कारबाही गरिने उल्लेख गरे । निर्वाचन सफल बनाउन मातहत कर्मचारीलाई निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गरी परिचालित हुन पनि उनले निर्देशन दिए । महानिरीक्षक अर्यालले सङ्गठनले लिएको सोच र नीतिअनुसार कार्यक्षेत्रमा खटिँदा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी आ-आफ्नो जिम्मेवारीमा थप सक्रियताका साथ परिचालित हुनुपर्नेमा जोड दिए । राजस्व चुहावट नियन्त्रणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने तर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ छ । उनले सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण इकाइहरुले आर्थिक पारदर्शिता कायम गरी भ्रष्टाचारमा शून्य सहनशिलताका साथ कार्यसम्पादन गर्नुपर्ने बताउँदै सीमामा खटिँदा अझ बढी सक्रिय भई गस्ती, पट्रोल तथा अपरेशनल काम कारबाही सञ्चालन गर्न निर्देशन दिए । 

कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा वर्षा हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागी बाँकी भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम  प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा तराई भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका पहाडी तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङको समेत सम्भावना छ ।