विकासन्युज

कांग्रेस विवादले निर्वाचन के होला ? यस्तो भन्छन् वरिष्ठ अधिवक्ता भट्टराई

काठमाडौं । नेपाली कांग्रेसभित्रको जारी विवादले आसन्न निर्वाचन प्रभावित हुने कि नहुने भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ । यही सन्दर्भमा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराइले सार्वजनिक गरेको विश्लेषणले सम्भावित संवैधानिक र कानुनी बाटाहरू औंल्याएको छ । भट्टराईका अनुसार दलभित्रको विवाद समाधान नभए पनि निर्वाचन प्रक्रिया पूर्ण रूपमा अवरुद्ध नहुने स्पष्ट कानुनी आधारहरू छन् । निर्वाचन आयोगले दलसम्बन्धी विवादमा एउटा पक्षलाई आधिकारिक ठहर गर्दै निर्णय गर्ने संवैधानिक जिम्मेवारी राख्छ ।  तर आयोगको निर्णयसँगै अल्पमतमा परेको पक्षलाई पनि फरक निर्वाचन चिह्न र फरक दलको नामबाट निर्वाचनमा भाग लिन दिने कानुनी व्यवस्था विद्यमान छ । यद्यपि व्यवहारिक रूपमा भने दुवै पक्षका लागि समय अभाव गम्भीर चुनौती बनेको विश्लेषण भट्टराईको छ । अल्पमत पक्षले नयाँ दलको नाम, चिन्ह टुंग्याएर देशभर उम्मेदवार छनोट गर्दै टिकट वितरण गर्नु अत्यन्तै कठिन देखिने भट्टराईले दाबी गरेका छन् ।  त्यस्तै, बहुमत पक्षका लागि पनि बाँकी सीमित दिनमा उमेदवार चयन र व्यवस्थापन सहज नहुने अवस्था रहेको भट्टराईले उल्लेख गरेका छन् ।

भौतिक पूर्वाधार पुन:निर्माण कोषमा नागरिक लगानी कोषले गर्‍यो५१ लाख सहयोग

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुन:निर्माण कोष’मा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको हो ।  सो रकम बराबरको चेक नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले शुक्रबार (आज) अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिए । साथै आजसम्म उक्त कोषमा १४ करोड सात लाख रुपैयाँ रकम जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ ।

एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न शनिबार (भोलि)  अपरान्ह १ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिए। उनका अनुसार बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।  एमालेले जिल्ला हुँदै प्रदेश कमिटीले सिफारिस गरी पठाएका नाममध्ये प्रत्येक निर्वाचन क्षेत्रमा एक जनालाई उम्मेदवार बनाउने छ ।  एमालेले एक महिलासहित कम्तिमा दुई जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । 

निर्वाचन आयोगले वैधानिकता नदिए देशभर आन्दोलन गर्ने संस्थापन कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आफूहरूलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।  पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो चेतावनी दिएका हुन् । उनले षड्यन्त्र र दबाबमा परेर निर्वाचन आयोगले पार्टी विधान र संविधानविपरीत निर्णय गरेर वडा तहदेखि केन्द्रसम्म आन्दोलन चर्काउने चेतावनी दिएका हुन् । खड्काले पार्टीको केन्द्रीय कार्यसमिति बाहेक कुनै पनि पदाधिकारीलाई विशेष महाधिवेशन बोलाउने अधिकार नभएको जिकिर गर्दै आफूहरू नै आधिकारिक भएको जिकिर गरे । उनले भने, ‘पार्टीको विधान, संविधान र निर्वाचनसम्बन्धी ऐन र दलसम्बन्धी ऐनको आधारमा भन्दा तलमाथि भएर यदि निर्वाचन आयोगले षड्यन्त्र र दबाबमा परेर संविधान र लोकतन्त्रमाथि बडारिएको कालो बादललाई साथ दिँदै आयोगले नेपाली कांग्रेसको विधानविपरीत अन्यथा निर्णय गर्यो भने देशभर आन्दोलन गर्नेबाहेक हामीसँग विकल्प हुनेछैन ।’ ‘प्रत्येक ठाउँमा नेपाली कांग्रेस चारतारे झण्डा र रुख लिएर हामी अगाडि बढ्छौं । हामीलाई निर्वाचन आयोगले त्यस्तो गर्छ भन्न लागेको छैन । आशंका, अविश्वास र बाहिर आएका भ्रमहरूका आधारमा भनेका हौं,’उनले थपे । पुस अन्तिममा काठमाडौंमा सम्पन्न पार्टीको विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेस विभाजित भएको छ । पार्टीको संस्थापन पक्ष र विशेष पक्ष वैधानिकताको लडाइँमा छन् । 

कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति निर्वाचन आयोगमा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरू निर्वाचन आयोग पुगेका छन् ।  विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापासहितका नेताहरू आयोग पुगेको जानकारी कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेहीले दिए । पार्टीको वैधानिकताबारे बहस चर्किएको अवस्थामा कांग्रेसका नवनिर्वाचित नेताहरू निर्वाचन आयोग पुगेका हुन् । सहमहामन्त्री स्नेहीका अनुसार मंसिर २१ गते हुने आम निर्वाचनका लागि उम्मेदवारी मनोनयन माघ ५ गते तय भएकाले दलको आधिकारिकता सुनिश्चित गर्न आयोगमा उपस्थित भएको हो । पुस २६ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गरेपछि नेपाली कांग्रेसभित्र आधिकारिकता सम्बन्धी विवाद चुलिएको छ । सोही विवादका बीच नवनिर्वाचित नेतृत्वले निर्वाचन आयोगमार्फत आफ्नो दाबी औपचारिक रूपमा प्रस्तुत गरेको हो ।

महामन्त्री थापाले आफ्नो दायित्व अनुरुप काम गरेनन् : कार्यवाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादर खड्काले पार्टीविरुद्ध कुप्रचार गरिएको बताएका छन् ।  उनले पार्टी विधानले चल्ने भन्दै विधानविरुद्ध गएका केही मान्छेहरूले पार्टीविरुद्ध कुप्रचार गरेको दाबी गरेका हुन् । महामन्त्रीहरूले अधिकारको दुरुपयोग गरेको खड्काको आरोप छ । पार्टीको केन्द्रीय कार्य समितीले सर्वसम्मतिले पुष २७ मा महाधिवेशन गर्ने निर्णय गरेको स्मरण समेत खड्काले गराए । निवर्तमान महामन्त्री गगन थापाले आफ्नो काम नगरेको आरोप खड्काले लगाएका छन् ।  दुई वर्ष पहिले सभापति शेरबहादर देउवाले सदस्यता व्यवस्थापन समितिको संयोजक बनाएपनि थापाले समयमा सदस्यता नटुङ्गाएको आरोपसमेत खड्काले थापालाई लगाए । पुष १८ गते केन्द्रीय कार्यसम्पादन समितिमा उक्त विषयमा छलफल हुँदै गर्दा महामन्त्री छलफलबाट भागेको खड्काको दाबी रहेको छ । उनले नियमित महाधिवेशनको मिति तोकिएपछि विशेष महाधिवेशनको औचित्य सकिएको पनि बताए । पुष १८ गतेको कार्य सम्पादन समितिको बैठकले बैशाख २६ गते नियमित महाधिवेशनको मिति तोकेको थियो ।

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं । नेपाल चिकित्सक संघको निर्वाचन स्थगित भएको छ । पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई मध्यनजर गर्दै निर्वाचन स्थगित गरिएको संघले जनाएको छ ।  निर्वाचनका लागि उम्मेदवारी दिएका डा. अरुण शाहीको उम्मेदवारी खारेजी गरेपछि विवाद सुरु भएको थियो ।  पूर्वनिर्धारित निर्वाचन तालिका अनुसार काठमाडौं उपत्यका बाहिर माघ २ र ३ गते तथा काठमाडौं उपत्यका भित्र माघ १५, १६ र १७ गते मतदान हुने मिति तोकिएको थियो । संघका प्रमुख निर्वाचन अधिकृत डा। प्रणय रत्न शाक्यद्वारा जारी सूचनामा अदालतको आदेशका कारण निर्वाचन प्रक्रिया हालका लागि रोकिएको उल्लेख गरिएको छ ।  निर्वाचन समितिबाट यथाशीघ्र अर्को सूचना जारी गरी नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरिने जानकारी पनि दिइएको छ ।

आसन्न निर्वाचनमा सामाजिक सञ्जाल अनुगमनका लागि नेपाली सेनाको सहयोग लिइने

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सामाजिक सञ्जालको अनुगमन नेपाली सेनाको सहयोगमा गर्ने जानकारी दिएको छ ।  निर्वाचन आयुक्त सगुन शमशेर राणाले निर्वाचन अवधिभर सामाजिक सञ्जालमार्फत हुने गलत सूचना, घृणात्मक अभिव्यक्ति, आचारसंहिता विपरीतका प्रचार तथा भ्रामक सामग्रीको निगरानीलाई प्रभावकारी बनाउने उद्देश्यले सेनासँग समन्वय गरिएको जानकारी दिए । राणाका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल निर्वाचन प्रभावित गर्ने प्रमुख माध्यम बन्दै गएको छ । त्यसैले फेसबुक, एक्स, टिकटक, युट्युबलगायत डिजिटल प्लेटफर्ममा हुने गतिविधिको निगरानी बढाइनेछ ।  अनुगमनका क्रममा आचारसंहिता उल्लङ्घन हुने सामग्री पहिचान गरी हटाउन सम्बन्धित निकायसँग समन्वय गरिने र आवश्यक परे कानुनी कारबाहीका प्रक्रिया अघि बढाइने राणाले बताए । नेपाली सेनाको सहयोग प्राविधिक तथा सुरक्षा समन्वयको दायरामा सीमित रहने बताउँदै आयोगले अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप नहुने गरी कानुन र मापदण्डभित्रै रहेर काम गरिने जनाएको छ । लोकतान्त्रिक मान्यतालाई सम्मान गर्दै निर्वाचनलाई असर पार्ने गलत सूचना र दुष्प्रचार रोक्न यो व्यवस्था गरिएको राणाको भनाइ छ । आयोगले राजनीतिक दल, उम्मेदवार र समर्थकहरूलाई सामाजिक सञ्जाल प्रयोग गर्दा निर्वाचन आचारसंहिता पालना गर्न पुनः आग्रह गरेको छ । साथै सर्वसाधारणलाई पनि भ्रामक सूचना सेयर नगर्न र शंकास्पद सामग्री देखिएमा आयोग वा सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध पनि गरिएको छ । आसन्न निर्वाचनका क्रममा डिजिटल माध्यमको बढ्दो प्रभावलाई ध्यानमा राख्दै गरिएको यो पहलले निर्वाचन प्रक्रियाको विश्वसनीयता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।