एनभीडीयालाई उछिन्दै चाँदी बन्यो विश्वकै दोस्रो मूल्यवान सम्पत्ति
काठमाडौं । चाँदीको मूल्यमा आएको तीव्र वृद्धि रोकिने कुनै संकेत देखिएको छैन । सोमबार (आज) अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य ८ प्रतिशतले बढ्दै पहिलो पटक ८२ डलर प्रति औंस नाघेको छ । यससँगै चाँदीको कुल बजार पुँजीकरण (मार्केट क्याप) ४.८५ ट्रिलियन डलर पुगेको छ । विश्वकै सबैभन्दा मूल्यवान कम्पनी एनभीडीयाको मार्केट क्याप ४.६३८ ट्रिलियन डलर रहेको छ । यसरी चाँदीले एनभीडीयालाई पछि पार्दै विश्वको दोस्रो सबैभन्दा मूल्यवान सम्पत्ति (एसेट) को स्थान ओगट्यो । करिब ३० ट्रिलियन डलरको मार्केट क्यापसहित सुन पहिलो स्थानमा रहेको छ । यस वर्ष मात्रै चाँदीको मूल्यमा १८५ प्रतिशतको वृद्धि भइसकेको छ र यो सन् १९७९ पछिको सबैभन्दा उत्कृष्ट प्रदर्शनतर्फ अग्रसर छ । किन बढ्यो चाँदीको मूल्य ? अन्तर्राष्ट्रिय बजारदेखि स्वदेशी कारोबारसम्म चाँदीले नयाँ–नयाँ कीर्तिमान बनाइरहेका बेला जानकारहरूले यसको मुख्य कारण औद्योगिक मागको तीव्र वृद्धि रहेको बताएका छन् । ऊर्जा रूपान्तरण, सोलार प्यानल, इलेक्ट्रिक गाडी, सेमिकन्डक्टर तथा आधुनिक इलेक्ट्रोनिक्समा चाँदीको प्रयोग बढ्दै जाँदा विश्वव्यापी रूपमा यसको माग उल्लेख्य रूपमा बढेको हो । विशेषगरी हरित ऊर्जातर्फ विश्वको ध्यान केन्द्रित भएपछि सोलार उद्योगबाट चाँदीको खपत ऐतिहासिक स्तरमा पुगेको विश्लेषकहरूको भनाइ छ । अर्कोतर्फ आपूर्तिमा भने दबाब देखिएको छ । नयाँ चाँदी खानी थपिन नसक्नु, उत्पादन लागत बढ्नु तथा चाँदी प्रायः अन्य धातुसँगै सह–उत्पादनका रूपमा निकालिनुका कारण आपूर्ति सीमित बनेको छ । जसले बजारमा मूल्य बढाउने दबाब सिर्जना गरेको छ । विश्व अर्थतन्त्रमा अनिश्चितता, भूराजनीतिक तनाव र महँगीको जोखिम बढ्दै जाँदा लगानीकर्ताहरू सुरक्षित लगानी खोज्दै चाँदीतर्फ आकर्षित भएका छन् । सुनसँगै चाँदीलाई पनि सुरक्षित एसेटका रूपमा हेर्न थालिएपछि यसको माग अझै बढेको देखिन्छ । यस्तै, अमेरिकी डलर कमजोर हुनु र भविष्यमा ब्याजदर घट्न सक्ने अनुमानले पनि चाँदीजस्ता कमोडिटीमा लगानी बढाएको छ । चाँदीमा आधारित ईटीएफ र फ्युचर बजारमा कारोबार बढ्नुले पनि मूल्यमा थप उछाल आएको छ । बजार विश्लेषकहरूका अनुसार लामो समयसम्म सुनको तुलनामा सस्तो मानिएको चाँदीमा अहिले यसको रिरेटिङ भइरहेको छ। औद्योगिक माग, सीमित आपूर्ति र लगानीकर्ताको बढ्दो आकर्षणका कारण चाँदीको मूल्य केही समयसम्म उच्च स्तरमै रहन सक्ने अनुमान गरिएको छ । ५० प्रतिशत सुन नियन्त्रण गर्दै ब्रिक्स, विश्व वित्तीय संरचनामा नयाँ संकेत
माछापुच्छ्रे बैंक र स्मार्ट पेबीच रेमिट्यान्स सम्झौता, युरोपबाट सजिलै रकम पठाउन सकिने
काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल र विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले साइप्रसस्थित स्मार्ट पेसँग औपचारिक रेमिट्यान्स सम्झौता गरेको छ । बैंकले साइप्रस, ग्रीस, पोर्चुगल र अन्य युरोपेली देशबाट नेपालीहरुलाई नेपालमा सजिलै रेमिट्यान्स पठाउन सक्ने वातावरण बनाउन स्मार्ट पेसँग सहकार्य गर्दै रेमिट्यान्स सेवाको सुरुवात गरेको हो । सम्झौतापत्रमा स्मार्ट पेको तर्फबाट मुख्य सञ्चालन अधिकारी स्टेफनी इसाबेल हेराक्लिओस र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार युरोपेली देशमा रहेका नेपालीहरुले स्मार्ट पेका सबै प्रतिनिधि कार्यालय, मोबाइल एप र अनलाइन सेवाहरू मार्फत बैंकमा सजिलै रेमिट गर्न सक्नेछन् । पठाइएको रकम नेपालभित्र बैंकका १६५ शाखा, शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउण्टर र २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत भुक्तानी लिन सकिनेछ । साथै, स्मार्ट पे र माछापुच्छ्रे बैंक मार्फत पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था बैंकले मिलाएको छ ।
इलामका क्षतिग्रस्त सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत स्वीकृति
काठमाडौं । गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले २ अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेका कार्यक्रमअनुसार क्षतिग्रस्त सडक तथा पुल मर्मत तथा पुनर्निर्माणका लागि यो सहमति प्रदान गरिएको हो । उक्त रकम मेची राजमार्ग, माइखोला पुल राजदुवाली, माइखोला पुल बेलवासे, पुवाखोला पुल, जोगमाईखोला पुल र मेची करिडोरको मर्मत तथा पुनर्निर्माणमा खर्च गरिनेछ । अर्थ मन्त्रालयले चालू आवका लागि तत्काल आवश्यक पर्ने ५४ करोड रुपैयाँ निकासा पनि गरेको छ । स्रोत सहमति प्राप्त भएकाले अब सडक तथा पुल पुनर्निर्माणका लागि खरिद (टेन्डर) प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले विपद् बाट क्षतिग्रस्त सडक संरचना मर्मत तथा पुनर्निर्माणका लागि स्रोत सुनिश्चित भएकाले सडक विभागलाई टेन्डर प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिएका छन् । उक्त कार्य विभाग मातहतको सडक डिभिजन, इलामले कार्यान्वयन गर्नेछ । ३९ जनाको मृत्यु र ठूलो भौतिक क्षति हुनेगरी भएको मनसुनजन्य विपद् घटनापछि सरकारले २३ असोजमा इलामलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त’ घोषणा गरेको थियो । २५ असोजमा मन्त्री घिसिङ, सचिव केशवकुमार शर्मा, गृहसचिव रामेश्वर दंगाल, सडक विभागका महानिर्देशक विजय जैसी र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशराज भट्टको टोलीले इलाम पुगेर क्षति निरीक्षण गरेको थियो । टोलीले विपद् प्रभावित घरपरिवारका लागि तत्काल राहत उपलब्ध गराउने, क्षतिग्रस्त संरचनाको मर्मत सम्भार गरी जनजीवन सामान्य बनाउने र आवश्यक तत्कालीन तथा दीर्घकालीन योजना ल्याउने प्रतिबद्धता जनाएको थियो । सबैभन्दा बढी रकम मेची राजमार्गको पुनर्निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति प्रदान गरिएको छ । मेची राजमार्गअन्तर्गत माइखोला मोटरेवल स्थायी पुल राजदुवालीका लागि २० करोड, माइखोला मोटरेवल स्थायी पुल बेलवासेका लागि २५ करोड, पुवाखोला र जोगमाईखोला पुलमा बेली ब्रिज निर्माणका लागि ५/५ करोड र मेची करिडोरको वैकल्पिक सडकका लागि १४ करोड रुपैयाँ स्रोत सुनिश्चित गरिएको छ । यस मध्ये, मेची राजमार्गका लागि २५ करोड, माइखोला राजदुवाली तथा माइखोला पुल बेलवासेका लागि क्रमशः ५ तथा १० करोड र मेची करिडोरका लागि ४ करोड रुपैयाँ चालु आवमा तत्काल निकासा गरिएको छ । दुई वटा बेली ब्रिजका लागि आवश्यक सम्पूर्ण रकम पनि निकासा भएको छ ।
टेलिकमले विद्यार्थीका लागि एनटी फाइबर अफर सुरू गर्यो, माघ २२ सम्म आवेदन खुला
काठमाडौं । नेपाल टेलिकमले विद्यार्थीहरूलाई लक्षित गर्दै ‘एनटी फाइबर विद्यार्थी अफर’ उपलब्ध गराइरहेको छ । यो अफर आगामी माघ २२ गतेसम्म आवेदन गर्न सकिनेछ र विशेष गरी विद्यार्थीहरूका लागि मात्र मान्य छ । एनटी फाइबर विद्यार्थी अफर अन्तर्गत विद्यार्थीहरूले ३० एमबीपीएस स्पिडको इन्टरनेट सेवा एक वर्षसम्म पाउनेछन् । यसको मूल्य ४ हजार ९९९ रुपैयाँ मात्र रहेको छ । प्रतिदिन २५ जीबी डाटा उपलब्ध हुनेछ र यसको सीमाभन्दा बढी डाटा प्रयोग भएमा स्पिड ५ एमबीपीएस हुने व्यवस्था गरिएको छ । जडान शुल्क ५०० रुपैयाँ लाग्नेछ भने प्रत्येक विद्यार्थीले ड्युअल ब्यान्ड सीपीई र १०० मिटरसम्म ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन् । अफर लिनका लागि विद्यार्थीहरूले १९८ नम्बरमा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकम कार्यालयमा गएर आवेदन दिनुपर्नेछ । यसका लागि जन्म दर्ता वा नागरिकता प्रमाणपत्र, विद्यार्थी परिचय पत्र अनिवार्य पेश गर्नुपर्छ । नाबालिगका हकमा अभिभावकको नागरिकता वा पासपोर्टको प्रतिलिपि पनि आवश्यक छ । यो अफरको समयावधि सकिएपछि पुनः नवीकरण गर्न मिल्ने छैन । सेवा निरन्तरता चाहने विद्यार्थीले साविकका प्याकेजहरूबाट विकल्प छनोट गर्नु पर्नेछ वा उपलब्ध गराइएको सीपीई फिर्ता गर्नुपर्नेछ । प्रवक्ता रबिन्द्र मानन्धरका अनुसार यो अफर विद्यार्थीहरूका लागि उपयोगी रहेको छ र समयमै आवेदन दिन सबै विद्यार्थीहरूलाई आग्रह गरिएको छ ।
चार दलले बुझाए समानुपातिकतर्फको बन्द सूची
काठमाडौं । निर्वाचन आयोगमा प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने राजनीतिक दलहरूको संख्या चार पुगेको छ । आयोगका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज बन्द सूची बुझाउने अन्तिम दिन हो । हालसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले आयोगमा आफ्नो समानुपातिक बन्द सूची बुझाइसकेका छन् । आयोगले आज दिनभरि बन्द सूची दर्ता प्रक्रिया जारी रहने जनाएको छ । अन्य राजनीतिक दलहरूले पनि तोकिएको समयभित्र आफ्नो बन्द सूची बुझाउने तयारी गरिरहेका छन् ।
समानुपातिक उम्मेदवारी बन्द सूची एमालेले टुंग्यायो, अन्य दल कसरतमा
काठमाडौं । पुस १३ र १४ गते राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने समयसीमा तोकिएको छ । यससँगै दलहरू बन्द सूची तयार पार्ने चटारोमा छन् । बिघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सोमबार दिउँसो बस्ने कार्यसम्पादन समितिको बैठकबाट उम्मेदवारी टुंग्याउने जनाएको छ । दिउँसो २ बजेसम्म बन्द सूची लिएर आयोग पुग्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । दोस्रो ठूलो दल नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको अन्तिम सूची टुंग्याएको जनाएको छ । आइतबार बसेको सचिवालय बैठकले ११० जनाको नाम लगभग टुंगो लगाएको एमाले नेताहरूले जनाएका छन् । सोमबार सूचीलाई अन्तिम रूप दिएपछि बन्द सूची लिएर आयोग जाने कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । एमाले नेताहरूका अनुसार पूर्व उपाध्यक्ष गुरु बराल खस–आर्यतर्फ पहिलो नम्बरमा छन् भने खस–आर्य महिलातर्फ पद्मा अर्याल सूचीको पहिलो नम्बरमा रहेकी छन् । पिछडिएको क्षेत्रतर्फ गोरख बोगटी र अपाङ्गता महिलातर्फ यशोदा बराल सूचीको पहिलो नम्बरमा परेका छन् । मधेशी क्लस्टरतर्फ चण्डेश्वर मण्डल, जनजाति समूहमा पुरुषतर्फ रामेश्वर रानामगर र महिलातर्फ भूमिका सुब्बा पहिलो नम्बरमा परेका छन् । यसैगरी थारु पुरुषतर्फ कृपाराम राना थारु र महिलातर्फ मञ्जु चौधरी र शान्ता चौधरीमध्ये एक जना पहिलो नम्बरमा पर्ने सम्भावना रहेको एक नेताले जानकारी दिए । दलित समूहबाट मनोहर बी. पौडेल पुरुषतर्फ पहिलो नम्बरमा परेका छन् भने महिलातर्फ विष्णुमाया विक पहिलो नम्बरमा रहेकी छन् । मुस्लिम समूहबाट मोहम्मद गरुण हलुवाई र साजिदा सिद्धिकी समानुपातिक सूचीको पहिलो नम्बरमा समेटिएका छन् । एमालेका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार एमाले बन्द सूची लिएर दिउँसो ३ बजे आयोग पुग्नेछ । बिघटित प्रतिनिधिसभाको तेस्रो दल नेकपा (माओवादी केन्द्र) पनि समानुपातिक सूची निर्माणको अन्तिम चरणमा पुगेको छ । कार्यालय सचिव गणेशमान पुनका अनुसार सोमबार अपराह्नपछिको समय आयोगसँग माग गरिएको छ । चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि आयोगसँग समय मिलाउने तयारीमा रहेको छ । पार्टीका नेता लिमा अधिकारीका अनुसार मध्यान्ह १२ बजेसम्म आयोग पुग्ने तयारी रहेको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूलाई समानुपातिक उम्मेदवारको सूची आजसम्म बुझाउन समय दिएको छ । संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट ११० सदस्य निर्वाचित हुने व्यवस्था छ ।
नेपाल प्रहरीले गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याणलाई गर्यो सम्मान
काठमाडौं । जेनजी आन्दोलनपछि प्रहरी कार्यालयको पुनः संभार र पुनःस्थापनामा गरेको सहयोग स्वरुप नेपाल प्रहरीले गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणलाई सम्मान गरेको छ । आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गोल्याणलाई सम्मान गरेका हुन् । नेपाल प्रहरीले भदौ २३–२४ को ‘नवपुस्ताको आन्दोलनपश्चात’ को सन्दर्भमा समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउन ‘हाम्रो प्रहरी’ अभियान सञ्चालन गर्दै आएको छ । सोही अभियानलाई सफल बनाउन गोल्याण ग्रुपले प्रहरी कार्यालयहरुको पुनः संभार र पुनःस्थापनामा २१ लाख १ हजार ३९५ रुपैयाँ बराबरको सहयोग प्रदान गरेको छ । अध्यक्ष गोल्याणले जनताको ज्यूधनको सुरक्षा र समाजमा शान्ति सुव्यवस्था कायम गर्ने प्रमुख जिम्मेवारी बोकेको नेपाल प्रहरीलाई संकटको बेला साथ दिनका लागि सहयोग प्रदान गरिएको बताए । ‘नेपाल प्रहरी जनताको हरपलको साथी हो भन्ने मान्यतालाई थप बलियो बनाउन गोल्याण ग्रुपले उहाँहरुसँग हातेमालो गरेको हो,’ उनले भने, ‘उच्च मनोबल बोकेको सबल र सक्षम प्रहरीले मात्र आफ्नो जिम्मेवारी सही रुपमा निर्वाह गर्न सक्दछ, यसका लागि प्रहरीका भौतिक संरचना पनि सुरक्षित र स्तरीय हुनुपर्दछ ।’ आमनागरिकको सुरक्षा र समाजमा शान्ति तथा सुव्यवस्था कायम गर्ने सन्दर्भमा गोल्याण ग्रुपले आगामी दिनमा पनि नेपाल प्रहरीसँग हातेमालो गर्ने उनले बताए । काठमाडौं महानगरपालिका २३ का वडाध्यक्ष मचाराजा महर्जनको सभापतित्वमा भएको कार्यक्रममा महानगरका उपप्रमुख सुनिता डंगोल, प्रहरी अतिरिक्त महानिरीक्षक ओमप्रसाद अधिकारी, माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइराला, काठमाडौंका प्रमुख जिल्ला अधिकारी इश्वरराज अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालगायत सहभागी थिए ।
इजलासमै दुर्व्यवहार र धम्की दिएको आरोपमा अधिवक्ताविरुद्ध कानुन व्यवसायी परिषद्मा उजुरी
काठमाडौं । इजलासमै दुर्व्यवहार र धम्की दिएको आरोपमा एक अधिवक्ताविरुद्ध नेपाल कानुन व्यवसायी परिषद्मा उजुरी दर्ता भएको छ । धादिङ जिल्ला अदालतमा विचाराधीन जालसाजी मुद्दाको सुनुवाइका क्रममा इजलासभित्र तथा बाहिर धम्की, गालीगलौज र अपमानजनक व्यवहार भएको भन्दै अधिवक्ता तोला कुमारी पाठकले विपक्षी कानुन व्यवसायीविरुद्ध छानबिन र कारबाहीको माग गरेकी छन् । निवेदनअनुसार, मुद्दा पेश गर्दा विपक्षी अधिवक्ताले पेशागत मर्यादा उल्लङ्घन गर्दै अपशब्द प्रयोग, धम्की र होच्याउने व्यवहार गरेको आरोप लगाइएको छ । यसक्रममा व्यक्तिगत र पारिवारिक स्वार्थसमेत जोडिएको विषयमा दबाब दिइएको र लैङ्गिक आधारमा अपमानजनक टिप्पणी, पेशाबाट हटाउने धम्की र त्रास देखाउने व्यवहार भएको उल्लेख गरिएको छ । गत पुस ८ गतेको प्रमाण बुझ्ने क्रममा पनि इजलासभित्र र बाहिर पुनः दुर्व्यवहार भएको जनाइएको छ । घटनाका प्रत्यक्षदर्शी कानुन व्यवसायी, अदालतका कर्मचारी र सम्बन्धित व्यक्तिहरूको बयान सङ्कलन गरी निष्पक्ष छानबिन र दोषी उपर कडा कारबाहीको माग गरिएको छ । अधिवक्ता पाठकले पेशागत मर्यादा गम्भीर रूपमा क्षतविक्षत भएको भन्दै नेपाल कानुन व्यवसायी परिषद्ले आवश्यक छानबिन र कारबाही गर्नुपर्ने बताएकी छन् । निवेदनसँगै घटनाको सीसी क्यामेराको फुटेज पनि प्रमाणका रूपमा पेश गरिएको छ ।