बिलाउनीको झाडी फाडेर सुन्तला बगैँचा, सुन्तलाखेतीले रोक्यो विदेशिने बाध्यता
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भिरालो पाखो सुन्तला र केराको बगैँचामा परिणत गरेका हुन् । दोवाटाका मित्रलाल गौतमले कुनै समय स्याल लुक्ने झाडी अहिले हराभरा बगैँचामा परिणत भएको बताएका छन् । ‘कोदो, मकैखेती हुन छाडेपछि पाखोबारी बाँझिएर बिलाउनीको झाडीले भरेको थियो’, उनले भने, ‘केरा र सुन्तलाखेती गरेपछि आम्दानी हुन थाल्यो । घर व्यवहार चलाउने र छोराछोरीको पढाइखर्च जुटाउन खाडीमुलुक जानुपरेको छैन ।’ यस वर्ष करिब पाँच लाख मूल्य बराबरको सुन्तला बेचेका मित्रलालले केराबाट थप रु एक लाख आम्दानी हुने बताए । उनले तीन वर्ष खाडीमुलुक साउदीमा भेडा चराएर विसं २०५७ मा घर फर्किएपछि सुन्तला र केरा खेती सुरु गरेका थिए । गौतमको १६ रोपनी पाखोबारीमा सुन्तला र केराको बगैँचा छ । भित्रलालसँगै उहाँका छिमेकी चन्द्रमा पाइजा र चनदेवी पुनले पनि पाखोबारीमा सुन्तलाखेती गरेका छन् । छिमेकी टोल नरालेका समलाल जुग्जालीले २०५० को दशकमा सुन्तलाखेती भित्र्याएका थिए । हाल मालिका गाउँपालिका–७ मा पर्ने साविक बिम गाविसबाट वार्षिक एक करोडभन्दा बढी मूल्यको सुन्तला बिक्री हुने अगुवा किसान भूपेन्द्र शर्माले बताए । पोखरा र चितवनका ब्यापारीले बगैचाबाटै प्रतिकिलो ७० का दरले सुन्तला खरिद गरेर लगेका छन् । नयाँ बिरुवा थपिने र क्षेत्रफल विस्तार हुने क्रम जारी छ । अर्कला, नराले, ओखलढुङ्गा, टुनिबोट, दुुले, बनसार, नौमाने, भारवाङ, लुरवाङ, खारा र ढुनोट टोलमा ब्यवसायिक सुन्तलाखेती भएको छ । सुन्तला बेचेर एक जना कृषकले रु ६० हजारदेखि रु पाँच लाखसम्म आम्दानी गरेका छन् । साठीभन्दा बढी घरपरिवारले व्यावसायिक सुन्तलाखेती गरेका अगुवा किसान भविराज पुनले बताए । ‘सडक यातायातको सुविधा, भूगोल र हावापानी अनुकुल भएकाले सुन्तलाखेती फस्टाएको छ’, उनले भने, ‘कोदो, मकै, गहुँलगायत खाद्यान्नको विकल्पमा सुन्तलाखेती गर्ने क्रम बढेको छ ।’ पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएका कारण १५ वर्ष साउदी र कतारमा पसिना बगाएका चन्दबहादुर श्रीपालीले पछिल्लो १३ वर्षयता सुन्तलाखेतीलाई आम्दानीको माध्यम बनाएका छन् । ‘चार वर्ष साउदीमा भेडा चराउँदा पाएको दुःख सम्झिएर २०५९ सालमा छुट्टीमा आउँदा बाँझो बारीमा सुन्तलाको बगैँचा बगाएको थिए’, उनले भने, ‘त्यति बेला लगाएको सुन्तला फल्न थालेपछि विदेशको तुलनामा यही आम्दानी हुन थाल्यो । विदेश जानुपरेको छैन् । सुन्तलाखेती पेन्सनजस्तो भएको छ ।’ उनले वार्षिक रु चार लाखको सुन्तला बिक्री गर्छन् । व्यवस्थित सिँचाइ सुविधा र सुन्तला ढुवानी गर्दा राखिने क्रेट आवश्यक रहेको बिमका कृषकले बताएका छन् । रासस
सुन्तला किलोको ८० रुपैयाँ, यस्तो छ तरकारी तथा फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । बजारमा गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ८५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ८० रुपैयाँ, आलु रातो प्रतिकिलो ३२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २६ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ६० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ३० रुपैया, बन्दा (नरिवल) प्रतिकिलो २५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ४० रुपैयाँ, काउली तराई प्रतिकिलो ३५ रुपैयाँ, रातो मूला प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ, मकै बोडी प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो ८५ रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४५ रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १४० रुपैयाँ, टाटे सिमि प्रतिकिलो ६० रुपैयाँ, तितो करेला प्रतिकिलो ८० रुपैयाँ, लौका प्रतिकिलो ६० रुपैयाँ, परवर(लोकल) प्रतिकिलो ८०, घिरौला प्रतिकिलो ८०, फर्सी पाकेको प्रतिकिलो २५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३५ रुपैयाँ, सलगम प्रतिकिलो ८० रुपैयाँ, भिन्डी प्रतिकिलो १२० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ५० रुपैयाँ, पिँडालु प्रतिकिलो ८० रुपैयाँ र स्कुस प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ । यस्तै, समितिले रायोसाग प्रतिकिलो २० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १०० रुपैयाँ, चमसुर प्रतिकिलो १०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, मेथीको साग प्रतिकिलो १०० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरिएको छ । बकूला प्रतिकिलो १०० रुपैयाँ, तरुल प्रतिकिलो ६० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १०० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३०० रुपैयाँ, कुरीलो प्रतिकिलो १००० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ७० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १८० रुपैयाँ, जिरीको साग प्रतिकिलो २०० रुपैयाँ, सेलरी प्रतिकिलो २८० रुपैयाँ, पार्सले प्रतिकिलो ६०० रुपैयाँ, सौफको साग प्रतिकिलो १३० रुपैयाँ, पुदिना प्रतिकिलो ४०० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ । यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (दर्जन) १८० रुपैयाँ, कागती प्रतिकिलो ८० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ९० रुपैयाँ, मौसम प्रतिकिलो ८० रुपैयाँ, जुनार प्रतिकिलो १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ७० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, निबुवा प्रतिकिलो ५० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ, आभोकाडो प्रतिकिलो २५० रुपैयाँ र अमला प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरिएको छ ।
क्लव चौलानीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा गरिमा क्यापिटल
काठमाडौं । सुदूरपश्चिम प्रदेशकै नमूना पाँचतारे होटलको रूपमा स्थापित हुने लक्ष्य लिएको क्लव चौलानी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि गरिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । यस सम्बन्धमा क्लव चौलानी लिमिटेड र गरिमा क्यापिटल लिमिटेडबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न भएको छ । पौष ०८ गते मंगलबार बुढानिलकण्ठ, काठमाडौंस्थित होलिडे इन रिसोर्टमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौतापत्रमा क्लव चौलानी लिमिटेडका अध्यक्ष राजेन्द्र के.सी. तथा गरिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले हस्ताक्षर गरेका छन् । क्लव चौलानी लिमिटेड २०६५ साल वैशाख २५ गते प्राइभेट लिमिटेड कम्पनीका रूपमा स्थापना भई २०८१ साल पौष २२ गते पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबरको सेयर सर्वसाधारणका लागि आईपीओमार्फत निष्कासन गर्ने तयारी गरेको छ । आईपीओ निष्कासन पश्चात् कम्पनीको पूँजी संरचना थप सबल भई होटल पूर्वाधार निर्माण, सेवा विस्तार तथा दीर्घकालीन व्यावसायिक वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पुष ११ गते बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुँदै
काठमाडौं । पुष ११ गते शुक्रबार बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । बुधबार कार्की ब्यांक्वेट बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले उक्त जानकारी दिएको हो । मानुषी लघुवित्त, स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, सूर्योदय वोमी लघुवित्त र महिला सहयोगी बचत तथा ऋण सहकारीको संयुक्त आयोजनामा हुने सम्मेलनको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.प्रकाश कुमार श्रेष्ठले गर्ने आयोजकले बताएको छ । 'स्वस्थ लघुवित्त, समृद्ध सदस्य' भन्ने मुल नाराका साथ आयोजना हुने सम्मेलनमा बागमती प्रदेशमा केन्द्रीय कार्यालय रहेका लघुवित्त कार्यक्रम सञ्चालन गर्ने संस्थाहरुको सहभागिता रहने जानकारी आयोजनाको संयोजक समेत रहेकी मानुषी लघुवित्तकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले दिइन् । विगतमा यस्तो सम्मेलन राष्ट्रिय स्तरमा आयोजना हुने गरेको भए पनि प्रदेश स्तरमा पहिलो पटक हुन लागेको आयोजकले बताएको छ । लघुवित्त कार्यक्रमलाई अझ सदस्यमुखी तथा प्रभावकारी बनाउने अभिप्रायले आयोजना हुने उक्त सम्मेलनको मुख्य उद्देश्य लघुवित्तको मूल मर्म र भावना अनुरुप विपन्न वर्गको जीवनस्तरमा सुधार ल्याउने रहेको छ भने ग्रामीण अर्थतन्त्रको मेरुदण्डको रुपमा लघुवित्त कार्यक्रमलाई अझै प्रभावकारी बनाउने वातावरण सिर्जना गर्ने तथा युवा सदस्यहरुलाई उद्यमशीलताको विकासतर्फ प्रोत्साहित गर्नुका साथै सवै सरोकारवालाहरुलाई जिम्मेवार र उत्तरदायी बनाउँदै दिगो लघुवित्त अभ्यासको प्रवद्र्धन गराउने लक्ष्य आयोजकले लिएको छ । सम्मेलनले लघुवित्त सदस्यहरु बीचमा अनुभव आदान प्रदान भई आपसी समझदारी र सहकार्य बढ्ने तथा ज्ञान तथा सिकाइ अभिबृद्धि हुनुका साथै लघुवित्त क्षेत्रको दिगो विकास, उद्यमशीलता प्रवद्र्धन तथा समावेशी आर्थिक वृद्धिका लागि महत्वपूर्ण योगदान दिने आयोजकले अपेक्षा लिएको छ । सम्मेलनले पछिल्लो समय विद्यमान लघुवित्तप्रतिको नकारात्मक सोचलाई परिवर्तन गर्न पनि भुमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।
सिद्धार्थ बैंकको वार्षिकोत्सवमा बैंकका ग्राहकलाई लाइफटाइम फ्री क्रेडिट कार्ड अफर
काठमाडौं । सिद्धार्थ बैंकले २३औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि विशेष लाइफटाइम फ्री क्रेडिट कार्ड अफर सार्वजनिक गरेको छ । यो अफर डिसेम्बर २५, २०२५ देखि जनवरी २३, २०२६ सम्म ३० दिन सञ्चालन हुने बैंकले जनाएको छ । बैंकको अफरअनुसार स्ट्यान्डर्ड क्रेडिट कार्डमा लाग्ने आवेदन शुल्क र पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइने व्यवस्था गरिएको छ । सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले दोस्रो वर्षदेखि वार्षिक शुल्क छुट पाउन अघिल्लो वर्ष कम्तीमा तीन पटक क्रेडिट कार्डमार्फत कारोबार गर्नु पर्ने छ । उदाहरणका लागि, डिसेम्बर २०२५ मा जारी गरिएको कार्डका लागि जनवरी २०२६ देखि डिसेम्बर २०२६ भित्र कम्तीमा ३ वटा कारोबार गर्नु पर्नेछ । बैंकका अनुसार यस अफरको मुख्य उद्देश्य ग्राहकलाई थप सुविधा प्रदान गर्नुका साथै डिजिटल कारोबारको प्रवर्धन गर्नु हो ।
बजार पहुँच नहुँदा किसानले उत्पादन गरेको दूध घरमै
भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्याउन समस्या भइरहेको छ । बजार व्यवस्थापनको अभावमा दूध घरायसी प्रयोजनमै खपत गर्न बाध्य हुनुपरेको किसानको गुनासो छ । सदरमुकाम आसपास र राजमार्ग क्षेत्रका किसानले उत्पादन गरेको दूध बिक्री–वितरण गर्न सहज भए पनि गाउँघरमा उत्पादन हुने दूध भने बजारसम्म पुर्याउन कठिनाइ रहेको किसानको गुनासो छ । भोजपुर बजार क्षेत्रमा रहेका तीन वटा डेरी उद्योगले सदरमुकाम आसपासका क्षेत्रबाट मात्र दूध सङ्कलन तथा बिक्री गर्दै आएका छन् । बजारको क्षमता सीमित भएकाले गाउँघरका किसानसँग भएको दूध ल्याउन नसकिएको डेरी व्यवसायीको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका–५ का स्थानीय कृषक अडिबहादुर विष्टका अनुसार गाउँघरमा उत्पादन हुने दूध बिक्रीको वातावरण नहुँदा मही पारेर खानुपर्ने अवस्था छ । 'विगत लामो समयदेखि पशुपालन गर्दै आएको छु । मेरोमा दैनिक आठदेखि १० लिटर दूध उत्पादन हुन्छ, तर बजार नहुँदा मही पारेर नै खपत गर्नुपरेको छ', उनले भने, 'यहाँ उत्पादन भएको दूधलाई बाह्य बजारसम्म लैजाने व्यवस्था भएमा मजस्ता स्थानीय किसानको आम्दानीमा उल्लेख्य वृद्धि हुनेछ ।' केही किसानहरूले व्यावसायिक उद्देश्यका साथ पशुपालन गर्दै आए पनि लगानी र मेहनतअनुसारको आम्दानी लिन नसकेको गुनासो पनि छ । सदरमुकाम आसपासका बोखिम, दावा, पोखरे, खुरीला, ढुङ्गे, श्यामशिलालगायत क्षेत्रका स्थानीय बासिन्दाले मात्र दूध बिक्री गर्दै आएका छन् । रासस
बिहीबार कुन विदेशी मुद्राको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ २२ पैसा र बिक्रीदर १८२ रुपैयाँ ९८ पैसा कायम गरिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिदर १०४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०५ रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २३ पैसा, चिनियाँ युआन एकको खरिदर २० रुपैयाँ ४४ पैसा र बिक्रीदर २० रुपैयाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४९ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३९ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५ रुपैयाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४६८ रुपैयाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ६५ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ९२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।
गौतम बुद्ध मुटु अस्पताल आर्थिक सङ्कटमा, भुक्तानी रोकिँदा उपचार सेवा बन्द गर्दै
काठमाडौं । बुटवलमा सामुदायिकस्तरमा सञ्चालित गौतम बुद्ध सामुदायिक मुटु अस्पताल आर्थिक सङ्कटमा पर्दै गएपछि विपन्न नागरिक औषधि उपचार कार्यक्रम रोक्नुपर्ने अवस्था आएको जनाएको छ । सरकारबाट नियमित रूपमा प्रदान गर्नुपर्ने विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गतको रकम रोकिँदा अस्पतालमा औषधि र उपकरणको आयात रोकिएको, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको तलब भुक्तानीमा समस्या थपिएको जनाउँदै विपन्न नागरिक औषधि उपचार सेवा रोक्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको जनाएको छ । अस्पतालले बुटवलमा पत्रकार सम्मेलन गरी सरकारबाट पाउनुपर्ने रकम पुस मसान्तसम्म प्राप्त नभएमा माघ १ गतेदेखि मुटु उपचारका लागि प्रदान गर्दै आएको १ लाख रुपैयाँसम्मको उपचार सेवा र मिर्गौलाका बिरामीको निःशुल्क डायलाइसिस सेवा बन्द गर्न बाध्य हुने जनाएको छ । ‘स्वस्थ मुटु हाम्रो अभियान’ भन्ने मूल नाराका साथ वि.सं २०७० देखि सामुदायिक स्तरबाट सञ्चालनमा आएको गौतम बुद्ध सामुदायिक मुटु अस्पताल चालु आर्थिक वर्षमा आइपुग्दा अस्पतालले मुटु र मिर्गौलाका बिरामीको उपचार गरे बापत सरकारबाट १७ करोड ८१ लाख ९ हजार ३७९ रुपैयाँ भुक्तानी नपाउँदा अस्पताल आर्थिक सङ्कटमा गरी अन्य उपचार सेवासमेत प्रभावित हुने अवस्था सिर्जना भएको जनाइएको छ । चालु आर्थिक वर्षसम्ममा मुटु तथा मिर्गौलाका बिरामीको उपचारबापत नेपाल सरकारले प्रदान गर्ने रकम २० करोड ३९ लाख ३१ हजार ८७९ रुपैयाँ रहेको हालै २ करोड ५८ लाख २२ हजार ५०० रुपैयाँ मात्र प्राप्त गरेपछि अस्पतालले बिरामीको उपचार गरिरहेको तर सरकारबाट थप भुक्तानीमा चासो नदिएकाले सेवा प्रभावित हुने अवस्था आएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी गराए । सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत मुटु रोगीका लागि क्याथ ल्याबबाट सेवा लिँदा १ लाख रुपैयाँ तथा मिर्गौलाका बिरामीको डायलाइसिस निःशुल्क गर्दै आएको अध्यक्ष आलमले बताए । सरकारको विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा मात्रै १ हजार ३८४ जना मुटुका बिरामीलाई ४ करोड ६४ लाख ८९ हजार १४ रुपैयाँ बराबरको उपचार सेवा यस अस्पतालमार्फत प्रदान गरिएको छ । त्यसैगरी, मिर्गौला बिरामीको डायलाइसिसका लागि सरकारबाट प्रतिसेसन २ हजार ५०० रुपैयाँ प्राप्त हुँदै आएकोमा यस वर्ष १३ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबरको ५५१ जनाको निःशुल्क डायलाइसिस गरिएको छ । मुटु र मिर्गौलाका बिरामीको गरी चालु वर्षमा मात्रै १८ करोड ५९ लाख ५४ हजार १४ रुपैयाँ बराबरको उपचार सेवा प्रदान गरिएको अध्यक्ष आलमले बताए । मुटुको सामान्य उपचारबाट सुरु गरिएको यस अस्पतालमा २०७३ सालमा सञ्चालन गरिएको क्याथ ल्याबबाट मात्रै एन्जियोग्राफी, एन्जियोप्लाष्ट, अस्थायी पेसमेकर, स्थायी पेसमेकर, पेरिकार्डियो सेन्टिसिस, राइट हार्ट क्याथेटराजेसन र पिटिएसी गरी ६ हजार ५६९ जनाले सेवा प्राप्त गरेको अस्पतालले तथ्याङ्क सार्वजनिक गरेको छ । यस्तै, विसं २०७२ देखि सुरु गरिएको मिर्गौलाको उपचार सेवाबाट पनि बिरामीले हालसम्म ३ लाख ३३ हजार ७२१ सेसन निःशुल्क डायलाइसिस सेवा प्राप्त गरेको अस्पतालको तथ्याङ्क छ । मिर्गौलाका बिरामीहरूको चाप अत्यधिक बढ्दै जान थालेपछि सेवा विस्तार गर्दै अस्पतालले बुटवलसँगै दाङ जिल्लाको लमही, पाल्पा जिल्लाको तानसेन, स्याङ्जा जिल्लाको वालिङ र कपिलवस्तुको वाणगङ्गामा डायलाइसिस सेन्टर स्थापना गरी सेवा प्रदान गर्दै आएको भने केही समयमै नवलपरासीको सुनवलमा पनि डायलाइसिस सेन्टर शीघ्र सञ्चालनको तयारीमा रहेको छ । अस्पतालले सञ्चालन गरेका डायलाइसिस सेन्टरमध्ये बुटवलबाट ३११ जना, लमहीबाट ५७ जना, पाल्पाबाट ५९ जना, वालिङबाट ६७ र कपिलवस्तुबाट ५७ गरी ५५१ जना मिर्गौलाका बिरामीले नियमित रूपमा निःशुल्क डायलाइसिस गराउँदै सेवा लिँदै आएको अध्यक्ष आलमले बताए । रूपन्देही उद्योग सङ्घको संरक्षकत्वमा सञ्चालित यस अस्पतालमा यस क्षेत्रका उद्योगी व्यवसायी, विभिन्न रोटरी र रोट्याक्ट क्लबहरू, समाजसेवी लगायतको आर्थिक, भौतिक तथा नैतिक सहयोग रहेको छ । लुम्बिनी प्रदेशका मात्र नभई गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ४२ जिल्लाका नागरिकलाई यस अस्पतालले प्रत्यक्ष स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । स्थापनाको १२ वर्षसम्म आइपुग्दा अस्पतालबाट मुटु, मिर्गौला तथा जनरल फिजिसियनका गरी पाँच लाखभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिएको छ । अस्पतालमा हाल ३३० जनाले प्रत्यक्ष रोजगारी पाएको र मासिक १ करोड ५० लाख रुपैयाँभन्दा बढी तलब सुविधामा मात्र खर्च हुने गरेको छ । गैर नाफामुखी स्वास्थ्य संस्थाका रूपमा स्थापना भएको यो अस्पतालको जग्गा प्राप्तिको ढिलाइले आफ्नै भवनसमेत नहुँदा भाडाको भवनमा सेवा सञ्चालन गर्नुपरेको थप आर्थिक व्ययभारसँगै बिरामीको चापसमेत खेप्नुपरेको अध्यक्ष आलमले बताए । मुटु र मिर्गौलाको उपचार पद्धति आफैँमा महँगो र जटिल समेत हुने भएकाले पनि सरकारको यस्ता बिरामीलाई सुविधा दिने घोषणा कार्यान्वयनमा प्रभावकारी हुनसके सहुलियत हुने अध्यक्ष आलम बताउँछन् ।