सार्वजनिक नीतिमा दक्ष जनशक्ति उत्पादन गर्दै नेपाल विश्वविद्यालय, ‘मास्टर अफ पब्लिक पोलिसी’मा भर्ना खुला
काठमाडौं । नेपाल विश्वविद्यालयले पहिलो शैक्षिक कार्यक्रमका रूपमा ‘मास्टर अफ पब्लिक पोलिसी’ मा भर्ना खुला गरेको छ । राज्यका निकाय, निजी क्षेत्र, अन्तर्राष्ट्रिय संस्था तथा अन्य गैरसरकारी क्षेत्रलाई आवश्यक सार्वजनिक नीतिमा सक्षम र प्रतिस्पर्धी जनशक्ति तयार गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको विश्वविद्यालयले जनाएको छ । विषयवस्तुको गहिरो ज्ञान, विश्लेषणात्मक दक्षता र नीति निर्माणका व्यवहारिक सीपलाई समेटेर यो दुई वर्षे पूर्णकालीन शैक्षिक कार्यक्रम तयार गरिएको विश्वविद्यालयका रजिस्ट्रार सूर्यराज आचार्यले जानकारी दिए । ख्यातिप्राप्त विदेशी विश्वविद्यालयका प्राज्ञ तथा सार्वजनिक नीति क्षेत्रका विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरूको सहभागितामा यस कार्यक्रमको पाठ्यक्रम विकास गरिएको हो । आचार्यका अनुसार विद्यार्थी केन्द्रित पठनपाठन पद्धति र अन्य प्राज्ञिक तथा बौद्धिक गतिविधिहरूमार्फत सार्वजनिक नीति क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बौद्धिक नेतृत्व तयार हुने अपेक्षा गरिएको छ । यो कार्यक्रम नेपाल विश्वविद्यालयको पहिलो शैक्षिक कार्यक्रम भएकाले पहिलो ब्याचका लागि उल्लेख्य संख्यामा छात्रवृत्तिको व्यवस्था पनि गरिएको उनले जानकारी दिए । गुणस्तरीय शिक्षाको आधारमा पेशागत विकासको चाहना राख्ने विद्यार्थी तथा यस क्षेत्रमा आफ्नो दक्षता अभिवृद्धि गर्न चाहने पेशाकर्मीहरूले २०८२ माघ ८ सम्म भर्नाका लागि आवेदन दिन सक्नेछन् । गुणस्तरीय शिक्षा र व्यवहारिक सीपमार्फत आर्थिक–सामाजिक रूपान्तरणमा सक्षम तथा प्रतिबद्ध जनशक्ति तयार गर्ने उद्देश्यले नेपाल विश्वविद्यालय स्थापना भएको हो ।
नेकपा एमाले केन्द्रीय लेखा आयोगको पहिलो पूर्ण बैठक सम्पन्न
काठमाडौं । नेकपा एमालेको केन्द्रीय लेखा आयोगको पहिलो पूर्ण बैठक पार्टीको केन्द्रीय मुख्यालय च्यासलमा सम्पन्न भएको छ । बैठकले पार्टीको लेखा तथा वित्तीय व्यवस्थासँग सम्बन्धित विविध विषयमा निर्णय गरेको जानकारी लेखा आयोगका सचिव ईश्वरीप्रसाद खरेलले जानकारी दिए । उनका अनुसार बैठकले पार्टीको विधान, नीति र लोकतान्त्रिक अभ्यासअनुसार सम्पन्न महाधिवेशनले पार्टीलाई थप सुदृढ, एकताबद्ध र जिम्मेवार बनाउने विश्वास लिएको छ। लेखा आयोगमार्फत पार्टीलाई आर्थिक रूपमा पारदर्शी, अनुशासित र सुदृढ बनाउने दिशामा इमान्दारितासाथ जिम्मेवारी निर्वाह गरिने प्रतिवद्धता बैठकले गरेको खरेलले जानकारी दिए । सचिव खरेलका अनुसार ११ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरूले आफूहरूलाई निर्वाचित गर्ने महाधिवेशन प्रतिनिधिहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दै सम्मानसमेत गरेका छ ।
रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सङ्घीय नेतृत्व मञ्चमा १७ जना सदस्य मनोनित गरेको छ । शुक्रबार बिहान बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले मञ्चमा सदस्य मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । मनोनित भएकाहरूमा समीक्षा बाँस्कोटा, समुद्र केसी, प्रकाशचन्द्र परियार, सुदन श्रेष्ठ, बिमला अधिकारी, आशुतोष प्रधान, रन्जु दर्शना, धनेज थापा, अजित खड्का, पवित्रा थापा, बिमल तामाङ, दामोदर नेपाल, नवराज थापा, सुरज प्रधान, रुस्तम अन्सारी, डा सुशील शाह र शीतल भुसाल रहेका छन् ।
एमाले ११औं महाधिवेशन : यी हुन् शीर्ष मत पाउने पाँच महिला नेतृ
काठमाडौं । नेकपा एमालेको ११औं र केन्द्रीय समितिमा निर्वाचित हुनेहरूमध्ये सर्वाधिक मत प्राप्त गर्ने उत्कृष्ट १० जनामा ५ जना महिला नेतृ रहेका छन् । एमालेको केन्द्रीय कमिटी सदस्य निर्वाचनमा प्रतीक्षा तिवारी, ज्वालाकुमारी साह, भगवती चौधरी, निरु दर्लामी र प्रभा बरालले थुप्रै पुरुष सदस्यहरूलाई माथ गर्दै उत्कृष्ट पाँचौं स्थानसम्म महिलाहरूकै नाम लेखाउन सफल भएका हुन् । यो राजनीतिक चेतनामा आएको परिवर्तनको संकेत भएको एमाले सम्बद्ध महिलाहरूको धारणा रहेको छ । प्राप्त मत परिणामअनुसार प्रतीक्षा तिवारीले केन्द्रीय कमिटी सदस्य पदमा २ हजार १२० मत ल्याउँदै आफूलाई टप र्याङ्कमा उभ्याउन सफल भएकी छन् । तिवारी मात्रै होइन, टप र्याङ्कको दोस्रो तहमा पनि महिला नै छन् । पूर्वमन्त्रीसमेत रहेकी ज्वालाकुमारी साहले तिवारीलाई पछ्याएकी छन् । साहले २ हजार ४४ मत ल्याएकी छन् । गत आम निर्वाचनमा नेपाली कांग्रेसका भेट्रान उम्मेदवार विजयकुमार गच्छेदारलाई पराजित गरेकी भगवती चौधरीले पनि २ हजार ४४ मत ल्याएर टप टेनको तेस्रो र्याङ्क सुरक्षित गरेकी छन् । निरु दर्लामीले २ हजार ५ मत कटाएकी छन् । प्रभा बरालले २ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । केन्द्रीय सदस्यमा महिला नेताहरूले प्राप्त गरेको मतले एमालेको तल्लो तहदेखि महाधिवेशन प्रतिनिधिसम्म महिला नेतृहरूलाई सक्षम र भरोसायोग्य नेतृत्वका रूपमा स्वीकार गरिएको दाबी एमालेका महिला नेताहरुको छ । यसअघिका महाधिवेशनहरूमा महिला प्रतिनिधित्व मुख्यतः कोटा वा समावेशिताको विषयमा सीमित देखिन्थ्यो भने यसपटक मत परिणामले प्रतिस्पर्धात्मक लोकप्रियता प्रमाणित गरेको एमाले सम्पर्क समन्वय कमिटी सदस्य गीता बराल बताउँछिन् । अर्की नेता शारदा अर्याल मतपरिणाम केवल कोटामात्र नभई जनआधार समेत भएको बताउँछिन् । ‘शीर्ष मत पाउनेहरू महिला हुनुले एमालेभित्र महिला नेतृत्व अब कोटाका आधारमा होइन, जनाआधार र सक्रिय राजनीतिक भूमिकाका आधारमा अघि बढिरहेको संकेत गर्छ,’ उनले भनिन् । पुस्तान्तरण र राजनीतिक शैलीमा आएको बदलावको रूपमा बुझेको बताउँछिन् अर्की नेता शितल पाण्डे । ‘उहाँहरुको उदयले पार्टीभित्र नयाँ पुस्ताको राजनीतिक शैली मजबुत बन्दै गएको देखिन्छ, ’ उनी भन्छिन् । परम्परागत गुटीय राजनीतिभन्दा बाहिर रहेर संगठन विस्तार, सामाजिक मुद्दा र जनसम्पर्कमा केन्द्रित नेतृत्वले महाधिवेशन प्रतिनिधिको समर्थन पाएको बुझाइ पाण्डेको छ । यसले एमालेभित्र आगामी दिनमा नीति र नेतृत्व दुवै तहमा व्यवहारिक र जनमुखी राजनीति बलियो बन्ने संकेत गरेको बरालको दाबी छ । महाधिवेशन प्रतिनिधि तथा लुम्बिनीकी नेता ललिता गौतम नीति निर्माणमा महिलाको प्रभाव बढ्ने संकेत पाएको बताउँछिन् । केन्द्रीय समितिमा उच्च मतसहित महिला नेतृहरूको उपस्थितिले पार्टीका नीति, कार्यक्रम र निर्णय प्रक्रियामा महिलाको प्रभाव उल्लेख्य रूपमा बढ्ने अपेक्षा उनको छ । रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र समावेशी विकासका मुद्दाहरू पार्टी एजेन्डामा अझ सशक्त रूपमा उठ्ने सम्भावना रहेको उनको अनुमान छ । एमाले नेपालको प्रमुख राजनीतिक दलमध्ये एक भएकाले महाधिवेशनको यो परिणामले राष्ट्रिय राजनीतिमा पनि सकारात्मक सन्देश दिएको बरालको दाबी छ । महिला नेतृत्वलाई मतका आधारमा अघि बढाउन सकिने उदाहरणले अन्य दलहरूमा पनि आन्तरिक लोकतन्त्र र समावेशी नेतृत्व विकासमा दबाब सिर्जना गर्ने विश्लेषण बरालको छ । एमालेको ११औं महाधिवेशनबाट आएको यो मतपरिणामले पार्टीभित्र महिला नेतृहरूको भूमिका अब सहायक होइन, केन्द्रीय र निर्णायक तहमा प्रवेश गरिसकेको अर्यालको दाबी छ ।
केन्द्रीय सदस्यहरूलाई टोल सुरक्षा समिति बनाउन ओलीको आदेश
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ औं केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्यहरूलाई टोल सुरक्षा समिति बनाउन आदेश दिएका छन्। उनले आफ्नो सुरक्षा आफै गर्नुपर्ने अवस्था आएको जिकिर गरे । काठमाडौंमा आयोजित बैठकमा ओलीले ७६ वर्षको अनुभव भएको आफ्नो पार्टीमा सबै उमेर समूह अटाएको दावीसमेत गरे । ओलीले युवा, वयस्क र पाका सबै उमेर समूहको साझा पार्टी एमाले मात्रै भएको बताएका छन् । अरूले नारामा जेनजी भन्ने गरे पनि असली जेनजीको पार्टी एमाले भएको दाबी समेत उनको छ ।
नेपाल मेडिकल काउन्सिलको निर्वाचन सुरु
काठमाडौं । नेपाल मेडिकल काउन्सिलको निर्वाचन शुक्रबार (आज) बाट सुरु भएको छ । एक उपाध्यक्ष र आठ सदस्य छनौटका लागि निर्वाचन हुन लागेको हो । काठमाडौं उपत्यका र उपत्यका बाहिर गरी दुई चरण हुन लागेको काउन्सिलले जनाएको छ । निर्वाचनको पहिलो चरण अन्तर्गत आज र भोलि उपत्यका बाहिर निर्वाचन हुने जनाइएको छ । निर्वाचन समितिका अनुसार कोशी प्रदेशमा रहेका मतदान केन्द्र मेची प्रादेशिक अस्पताल, भद्रपुर, झापा, मधेश प्रदेशका मतदान केन्द्रहरूमा गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज, सप्तरी, लहान जिल्ला अस्पताल लहान, सिराहामा आज निर्वाचन भइरहेको छ । त्यसैगरी, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुर, लुम्बिनीको भीम अस्पताल, भैरहवा, रुपन्देहीमा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, दाङ, कर्णालीको सुर्खेत प्रादेशिक अस्पतालमा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पनि आज मतदान हुँदैछ । भोलि जिल्ला अस्पताल पाल्पा, भेरी अस्पताल, नेपालगञ्ज, बाँके, सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीमा भोलि शनिवार मात्र मतदान हुनेछ । यस्तै, कोशी अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी, जनकपुर प्रादेशिक अस्पताल, जनकपुरधाम, धनुषा, नारायणी अस्पताल, वीरगञ्ज, पर्सा, भरतपुर अस्पताल भरतपुर, चितवन, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कास्की, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रुपन्देहीमा शुक्रबार र शनिबार दुबै दिन मतदान गर्न सकिने छ । काठमाडौं उपत्यकामा भने पुष ११ र १२ गते हुनेछ । आज धुलिखेल अस्पताल, धुलिखेल, काभ्रे र राष्ट्रिय सभा गृह र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा हुँदैछ ।
डीभी कार्यक्रम बन्द गर्ने अमेरिकाको घोषणा
काठमाडौं । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ (डाइभर्सिटी भिसा) योजना स्थगित गरेको छ । ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गरी भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त योजना तत्कालका लागि रोक्ने निर्णय गरेका हुन् । ब्राउन युनिभर्सिटी गोलीकाण्डका संदिग्ध ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते बिहीबार मृत अवस्थामा फेला परेका थिए । उनी सन् २०१७ मा डाइभर्सिटी इमिग्रेन्ट भिसा कार्यक्रम (डीभी) मार्फत अमेरिका प्रवेश गरी ग्रीन कार्ड प्राप्त गरेका थिए । अमेरिकी होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार ग्रीन कार्ड लटरी योजना स्थगित गरिएको जानकारी दिइन् । अब कुनै पनि अमेरिकी नागरिकलाई हानि नहोस् भन्ने सुनिश्चित गर्न यस्तो निर्णय लिइएको उनको भनाइ छ । अमेरिकी अधिकारीहरूका अनुसार नेभेस भालेन्तेले यसै हप्ता पोर्चुगिज मूलका म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का प्राध्यापक नुनो लुरेइरोको समेत हत्या गरेको आशंका गरिएको छ । डाइभर्सिटी भिसा कार्यक्रमअन्तर्गत अमेरिकामा आप्रवासन दर कम भएका देशका आवेदकहरूमध्येबाट चिठ्ठा प्रणालीमार्फत प्रत्येक वर्ष अधिकतम ५० हजार भिसा प्रदान गरिँदै आएको छ । यस कार्यक्रममार्फत नेपालीहरू पनि डीभी परेर अमेरिका जाने र ग्रीन कार्ड प्राप्त गरी बसोबास गर्ने गरेका छन् ।
औद्योगिक क्षेत्र निर्माण तथा संचालन गर्न सीएनआई र निफ्राबीच समझदारी
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच औद्योगिक क्षेत्र निर्माण एवं संचालन गर्न समझदारी भएको छ । नेपाल सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र सार्वजनिक–निजी साझेदारी अवधारणमा निर्माण तथा संचालन गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक ई. पदम ओलीको उपस्थितिमा सीएनआईकोतर्फबाट महानिर्देशक डा. घनश्याम ओझा र निफ्राकोतर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सूर्यबहादुर तामाङले हस्ताक्षर गरे । दुई संस्थाबीच भएको समझदारी अनुसार नेपाल सरकारले घोषणा गरेको चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक–निजी साझेदारी अवधारणमा निर्माण तथा संचालनलाई प्राथमिकतामा राखिएको छ । यसैगरी हेटौडाको मयूरधाप र रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र निर्माण तथा संचालनका लागि सहकार्य गर्ने समझदारी सीएनआई र निफ्राबीच भएको छ । सरकारले सार्वजनिक–निजी साझेदारी अवधारणमा औद्योगिक क्षेत्र निर्माण तथा संचालन गर्न दिने घोषणा गरेअनुसार सीएनआईले औद्योगिक क्षेत्र निर्माणका लागि निफ्रासँग समझदारी गरेको हो । यो समझदारीसँगै सार्वजनिक–निजी साझेदारी अवधारणमा निजी क्षेत्रलाई औद्योगिक क्षेत्र निर्माण तथा संचालन गर्न दिन नेपाल सरकारलाई संयुक्त रूपमा प्रस्तावसँगै आग्रह गरिनेछ । सो अवसरमा सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले औद्योगिक क्षेत्र निर्माण एवं संचालनका लागि निफ्रासँग समझदारी गरी सुरुवातीको काम गर्न लागिएको बताए । सीएनआई र निफ्राबीच भएको यो समझदारी निकै महत्वपूर्ण रहेको उनले बताए । निफ्राका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले औद्योगिक क्षेत्र निर्माण सम्बन्धमा सीएनआईसँग भएको यो समझदारीलाई निफ्राले प्रस्थानविन्दुको रूपमा लिएको बताए । उनले परिसंघसँगको सहकार्यमा सार्वजनिक–निजी साझेदारी अवधारणमा अगाडि लैजान सकिने बताए । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक ई. पदम ओलीले सरकारले पीपीपी मोडलमा निजी क्षेत्रलाई पनि औद्योगिक क्षेत्र निर्माण तथा संचालन दिने भनेकाले यो समझदारीले राम्रो सन्देश दिएको बताए । सो अवसरमा सीएनआईका पूर्व अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्ष गोकुल भण्डारी, चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे, वागमती उद्योग परिसंघ एवं चितवन उद्योग संघका पूर्व अध्यक्ष भेषराज दुवाडी, सीएनआई उद्योग समिति सभापति राहुल अग्रवाल, उपसभापति गुरु अधिकारी, सीएनआई पूर्वाधार समिति सभापति रामकृष्ण खतिवडा, निफ्राका उपप्रमुख लगानी अधिकृत रबिन श्रेष्ठलगायत सहभागी थिए ।