मौसमी खेतीमै भविष्य खोज्दै विद्यार्थी
काठमाडौं । पढाइसँगै घरखर्च चलाउने उद्देश्यले धादिङका युवा सुन्तला टिप्ने मौसमी रोजगारीका लागि म्याग्दी पुगेका छन्। विद्यालय तथा क्याम्पस तहमा अध्ययनरत उनीहरू वर्षेनी म्याग्दीका सुन्तला बगैँचामा र मुस्ताङका स्याउ बगैँचामा काम गर्दै आयआर्जन गरिरहेका छन्। मङ्सिर, पुस र माघ महिनामा म्याग्दीका बगैंचामा सुन्तला टिप्ने उनीहरू भदौ, असोज र कात्तिकमा भने मुस्ताङ पुगेर स्याउ टिप्छन्। यसरी वर्षभरि मौसमी खेतीमा संलग्न हुँदै उनीहरूले पढाइ र परिवारको खर्च जुटाउने गरेका छन्। झण्डै २० जनाको समूहमा गाउँकै ठेकेदारमार्फत बेनी नगरपालिका-४ बास्कुना पुगेका धादिङको रुबीभ्याली गाउँपालिका-५ रिका दिलीप घलेले सुन्तला टिप्ने कामले आफूहरूलाई मौसमी रोजगारी दिएको बताए। ‘पढाइ र घरखर्च चलाउने पैसा जुटाउन सुन्तला टिप्न आएको हुँ,’ उनले भने, ‘तीन महिना काम गरेपछि घर फर्किएर ११ कक्षाको पढाइलाई निरन्तरता दिने योजना छ।’ म्याग्दीका सुन्तला बगैंचामा काम गर्ने मजदुरमध्ये अधिकांश धादिङ र गोरखाका युवा रहेको बताइएको छ। जिल्लाभर हाल २०० भन्दा बढीले सुन्तला टिप्ने रोजगारी पाएका छन्। बगैँचामा पाकेका सुन्तला टिप्ने, ग्रेडिङ गर्ने र बजार पठाउने चटारोका कारण किसान र मजदुर दुवैलाई यतिबेला भ्याइनभ्याइ छ। सुन्तला टिप्ने काममा संलग्न मजदुरले खानासहित मासिक १५ देखि २० हजार रुपैयाँ वा दैनिक ७०० देखि ८०० रुपैयाँ ज्याला पाउने गरेका छन्। बोटबाट फल टिप्ने, ग्रेडिङ, गाडीमा लोड–अनलोड गर्न ठूलो संख्यामा मजदुर आवश्यक पर्ने भएकाले स्थानीयसँगै अन्य जिल्लाका युवालाई पनि रोजगारी सिर्जना भएको बेनी–३ राखुकी भवीकला रानाले बताए। कृषि विकास कार्यालयका अनुसार गत वर्ष म्याग्दीबाट ३३ करोड रुपैयाँ मूल्य बराबरको ४ हजार ७८१ मेट्रिक टन सुन्तला बिक्री भएको थियो। जिल्लाभर ८१० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ, जसमध्ये ४२५ हेक्टरमा फल लाग्ने अवस्था रहेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख सञ्जिव बास्तोलाले यस वर्ष पनि गत वर्षकै हाराहारीमा उत्पादन हुने अनुमान गरिएको जानकारी दिए। म्याग्दीका राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङ लगायत क्षेत्रमा २०० भन्दा बढी सुन्तला बगैंचा रहेका छन्। यहाँ उत्पादन भएका सुन्तला बेनीसहित काठमाडौं, पोखरा, मुग्लिनलगायतका बजारमा बिक्री हुने गरेका छन्। यातायात सुविधा सहज भएकाले व्यापारीहरू सुन्तला किन्न गाडी लिएर सिधै बगैँचामा पुग्ने गरेका छन्।
फागुन २१ भित्र जसरी भएपनि निर्वाचन गरिन्छ : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार सुशासन र निर्वाचनलाई दुई मुख्य प्राथमिकतामा राखेर केन्द्रित रूपमा काम गरिरहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७औं स्थापना दिवसको अवसरमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गते सम्पन्न जेन-जी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको उल्लेख गरिन् । सोही सन्दर्भमा उनले आगामी फागुन २१ गतेभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अहोरात्र तयारीमा जुटिरहेको जानकारी दिए । ‘निर्वाचनमार्फत अभिव्यक्त हुने नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौं,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘त्यसैले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ।’ उहाँले संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा देशलाई सुरक्षित रूपमा अघि बढाउने एकमात्र विकल्प निर्वाचन नै भएको स्पष्ट पारिन् । प्रधानमन्त्री कार्कीले समाजमा कुनै पनि प्रकारको अराजकता स्वीकार्य नहुने भन्दै शान्ति भंग गर्ने, कानुन हातमा लिने तथा आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको बताइन् । ‘खराब तत्वको प्रतिरोधमा समुदायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ,” उहाँले जोड दिँदै भनिन्, ‘आउनुहोस्, समाजमा शान्ति कायम गर्दै सुशासनयुक्त राष्ट्र निर्माणमा हातेमालो गरौं । ’ सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल बनाउन जेन-जी समूहको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गरिन् । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विभिन्न कालखण्डमा योगदान पुर्याउने व्यक्तित्वहरूको सामूहिक प्रयासकै कारण ललितपुर महानगरपालिका आजको अवस्थामा आइपुगेको बताइन् । कार्यक्रममा ललितपुर महानगरपालिकालाई सबैभन्दा बढी कर तिर्ने संस्थाका रूपमा रातो बङ्गला स्कुललाई सम्मान गरिएको थियो । जसले ७६ लाख रुपैयाँ योगदान गरेको छ । साथै समाजसेवामा योगदान पुर्याउँदै आएकी निराराज्य लक्ष्मी राणासहित विभिन्न व्यक्तित्वलाई पनि सम्मान गरिएको छ ।
मन्त्री घिसिङ र महानिर्देशक बरालले गरे महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आज महेन्द्रनगरस्थित महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको र महाकाली चार लेन पुलको स्थलगत निरीक्षण गरेका छन् । सो अवसरमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले आयोजनाको पछिल्लो प्रगतिका बारेमा जानकारी दिएका थिए । लामो समयदेखि प्रक्रियागत अल्झनले पुल र सिचाँइको काम प्रभावित भएपछि बनेको जनाइएको छ । राष्ट्रिय गौरवको आयोजनामा महाकाली सिँचाइ तेस्रो चरणको २८ किलोमिटर मूल नहर निर्माण भएर पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइका लागि संरचना तयार भए पनि टनकपुरबाट भारतीय पक्षले नहरमा पानी नछोड्दा यहाँका किसानले सिँचाइ सुविधा पाउन सकेका छैनन् । सो अवसरमा उनले सिँचाइ आयोजनाको समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिए । ‘महाकाली सिँचाइ तेस्रो चरण नहरमा पानी सञ्चालनका लागि माथिल्लो तहबाट नै भारतसँग पहल भइरहेको छ’, उनले भने, यहाँको समस्याका बारेमा जानकारी भएको छ समस्या समाधानमा लाग्छौं।’ त्यसैगरि भीमदत्त नगरपालिका-११ स्थित महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलको छेउमा निर्माण हुने कृतिम ताल र तटबन्ध निर्माणका लागि मन्त्रिपरिषद् स्तरीय निर्णय नहुँदा डेढ वर्षदेखि निर्माण कार्य बन्द छ । यसअघि निर्माण भएको तटबन्ध महाकाली नदीको बाढीले भत्काएपछि डिजाइनमा परिवर्तन गरिएको थियो । उक्त डिजाइन हालसम्म पनि स्वीकृत नहुँदा काम हुन सकेको छैन । उनले ‘तटबन्ध निर्माण नहुँदा यहाँ बाढीको जोखिम रहेछ बर्सात अघि नै यहाँको समस्या समाधान हुनेगरी काम गर्छौं ।’
युके पठाउने नाममा ५२ लाख ठगी, एक जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कास्की पोखरा महानगरपालिका-१५ घर भई हाल काठमाडौँ महानगरपालिका-१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ परेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार बराइलीले एक जना पीडितलाई रोजगारीका लागि युके लैजाने भन्दै ५२ लाख रुपैयाँ रकम लिई लामो समयसम्म झुक्याएर राखी युके नपठाई सम्पर्कविहीन भएका उजुरीका आधारमा निजलाई पक्राउ गरिएको हो । पक्राउ परेका बराइलीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताए। रोजगारीका लागि विदेश पठाउने नाममा ठगी गर्ने क्रम बढेकाले त्यसतर्फ सचेत रहन प्रहरीले सबैमा आग्रह गरेको छ ।
इस्लिङ्टनको १६ औं दीक्षान्त समारोह : टपर ८ जना सम्मानित, चार जनाले पाए छात्रवृत्ति
काठमाडौं । इस्लिङ्टन कलेजको १६ औं दीक्षान्त समारोह सकिएको छ । स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई दीक्षित गर्दै दुईदिने दीक्षान्त समारोह सकिएको कलेजले जनाएको छ । दीक्षान्त समारोहमा स्नातक तह अन्तर्गत बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी, बीएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजी, बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन, बीए (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट, बीए (अनर्स) डिजिटल बिजनेस म्यानेजमेन्ट, बीए (अनर्स) एड्भर्टाइजिङ एण्ड मार्केटिङ तथा बीए (अनर्स) इभेन्ट्स एण्ड टुरिजम म्यानेजमेन्ट कार्यक्रमका विद्यार्थीहरू सहभागी थिए । स्नातकोत्तर तहअन्तर्गत एमएससी आईटी, एमबीए तथा एप्लाइड सेक्युरिटी कार्यक्रमका विद्यार्थीहरू दीक्षित भएका थिए । दीक्षान्त समारोहमा सर्वोत्कृष्ट र उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई सम्मानसमेत गरिएको छ । सम्मानित हुनेमा एमबीए कार्यक्रमबाट आशुतोष राजभण्डारी, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ तथा आईटी सेक्युरिटीमा अम्स घिमिरे, बीएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजीमा साहस शाक्य, बीएससी (अनर्स) कम्प्युटिङमा क्षितिज श्रेष्ठ रहेका छन् । यस्तै, आईटी विषयको अन्तिम वर्ष परियोजनामा टपर प्रशिदिका तिवारी, बीएससी (अनर्स) कम्प्युटिङ विथ आर्टिफिसियल इन्टेलिजेन्समा टपर प्रशिदिका तिवारी, बीएससी (अनर्स) कम्प्युटिङ विथ मोबाइल एप्लिकेशन डेभलपमेन्टमा टपर प्रयत्न राजकर्णिकार, बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशनमा टपर अनुश नेपाल, तथा बीए (अनर्स) अकाउन्टिङ एण्ड फाइनान्समा टपर सुश्री प्रतीक्षा गुरुङ रहेका छन् । चार जना विद्यार्थीले पाए अन्तर्राष्ट्रिय छात्रवृत्ति इस्लिङ्टनले विद्यार्थीलाई दीक्षित गर्नुका साथै छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ । कलेजले प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति तथा इन्टरनेशनल स्टुडेन्ट हाउस र लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति प्रदान गरेको छ । यस वर्षको प्रतिष्ठित इन्टरनेशनल स्टुडेन्ट हाउस तथा लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति अनुष नेपाल र अंगना भट्टराईलाई प्रदान गरिएको छ । करिब १.५ करोड रुपैयाँभन्दा बढी बराबरको यस छात्रवृत्तिले ट्युशन शुल्क, आवास खर्च तथा दुईतर्फी हवाई भाडासमेत समेट्ने गर्दछ । त्यस्तै, इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति अम्स घिमिरे र आयेशा नकर्मीलाई प्रदान गरिएको छ । यी विद्यार्थीहरूले इनोभेट नेपाल ग्रुप अन्तर्गतका कलेजहरूमा स्नातकोत्तर अध्ययन निरन्तरता दिनेछन् भने समूह अन्तर्गतकै संस्थामा कार्य गर्ने अवसरसमेत प्राप्त गर्नेछन् । २५ वर्षदेखि सूचना प्रविधि, व्यवसाय प्रशासन तथा सम्बन्धित क्षेत्रमा स्नातक तथा स्नातकोत्तर कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको सहकार्य, उच्चस्तरीय शैक्षिक अभ्यास तथा विश्वव्यापी प्रतिस्पर्धामा सफल हुने दक्ष जनशक्ति उत्पादनप्रति कलेज निरन्तर प्रतिबद्ध रहँदै आएको छ ।
प्रतिनिधिसभा पुन: स्थापनासम्बन्धी कांग्रेसको रिटमाथि आज पूर्ण इजलासमा सुनुवाइ हुँदै
काठमाडौं । प्रतिनिधिसभा पुन: स्थापनाको माग गर्दै नेपाली कांग्रेसले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा गठित पूर्ण इजलासमा उक्त रिट पेशीका लागि तोकिएको हो । कांग्रेसले संविधानको मर्म र संसदीय व्यवस्थाको आधारभूत सिद्धान्तविपरीत प्रतिनिधिसभा विघटन गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । रिटमा प्रधानमन्त्रीको सिफारिसमा गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको उल्लेख गर्दै तत्काल संसद् पुन: स्थापना गर्न माग गरिएको छ । कांग्रेसका तर्फबाट दायर रिटमा प्रतिनिधिसभा विघटनले जनताको सार्वभौम अधिकार कुण्ठित भएको, लोकतान्त्रिक अभ्यास कमजोर पारिएको तथा संविधानले सुनिश्चित गरेको शक्ति सन्तुलनमा गम्भीर असर परेको जिकिर गरिएको छ । साथै कार्यपालिका निरंकुश बन्ने खतरा बढेकाले अदालतले संवैधानिक अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने माग पनि रिटमा उल्लेख छ । यसअघि यस्तै प्रकृतिका मुद्दामा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन: स्थापनाको फैसला गरिसकेको सन्दर्भ उल्लेख गर्दै कांग्रेसले अदालतबाट सकारात्मक निर्णयको अपेक्षा गरेको छ । सुनुवाइपछि अदालतले अन्तरिम आदेश दिने वा थप सुनुवाइका लागि मिति तोक्ने सम्भावना रहेको छ ।
५ महिनामै वीरगञ्ज भन्सारले उठायो ९६ अर्बभन्दा बढी राजस्व
काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ५ महिनामा ९६ अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको ५ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १२ अर्ब १ करोड रुपैयाँ अर्थात् १४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो । जबकी कार्यालयले गत आवको ५ महिनामा भने ८४ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको ५ महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको बताए । ‘कार्यालयले मङ्सिर महिनामा २१ अर्ब ३३ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, कार्यालयले सो महिनामा मात्रै लक्ष्यको ९८ प्रतिशत अर्थात् २० अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।’ प्रमुख भन्सार प्रशासक ज्ञवालीले चालु आवको ५ महिनामध्ये सबैभन्दा धेरै राजस्व पनि मङ्सिर महिनामा सङ्कलन भएको बताए । साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड रुपैयाँ, असोज महिनामा १९ अर्ब ९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । त्यस्तै कात्तिक महिनामा १७ अर्ब ३३ करोड रुपैयाँ तथा मङ्सिर महिनामा भने २० अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयालाई वर्षभरिमा २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ । हालसम्मको ५ महिनामा वार्षिक लक्ष्यको ८७ प्रतिशत राजस्व सङ्कलन भएको छ ।
एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरूबापत २ हजार ४ सय शैक्षिक सामग्री वितरण गर्ने
काठमाडौं । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा जनाएको प्रतिबद्धता बमोजिम देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई दुई हजार चार सय २८ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ । प्रत्येक चौकामा चार वटा शैक्षिक सामग्री वितरण गर्ने सामाजिक पहललाई निरन्तरता दिँदै एनसेलले एनपीएल दोस्रो संस्करणमा पनि हरेक चौकाको प्रहारमा चार वटा शैक्षिक सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो । यो वर्षको एनपीएलका क्रममा ९९ जना खेलाडीहरूले कुल ६०७ वटा चौका प्रहार गरेका थिए जसका आधारमा दुई हजार चार सय २८ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित भएको छ । पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले सबैभन्दा धेरै ३१ वटा चौका प्रहार गर्दै १२४ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरे । त्यस्तै, २६ वटा चौकासहित लुम्बिनी लायन्सका डार्सी सर्ट दोस्रो स्थानमा रहँदै १०४ वटा शैक्षिक सामग्री सुनिश्चित गरे भने सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारीले २३ वटा चौका प्रहार गर्दै ९२ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका छन् । यसरी प्रदान गरिने प्रत्येक किटमा स्कुल ब्याग, कापी, पेन्सिल, शार्पनर, इरेजर तथा अध्ययनका लागि आवश्यक अन्य आधारभूत स्टेसनरी सामग्रीहरू समावेश हुन्छ । यस वर्ष पनि एनसेल एनपीएलको ‘पावर्ड बाइ’ साझेदार रहेको थियो । कम्पनीले दोस्रो संस्करणका प्रत्येक खेलमा सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडीलाई २५ हजार नगद पुरस्कार प्रदान गरेको थियो । साथै पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले दोस्रो संस्करणमा सबैभन्दा धेरै चौका प्रहार गरेकाले एनसेलबाट २ लाख नगद पुरस्कार प्राप्त गरेका थिए । गत वर्ष एनपीएलको पहिलो संस्करणमा प्रहार भएका ६५३ चौकाबाट फाउन्डेसनले २,६१२ भन्दा बढी शैक्षिक सामग्री प्रदान गर्ने प्रतिवद्धता जनाएको थियो । प्रतिवद्धता बमोजिम २,६१२ सामग्रीसहित, फाउन्डेसनले देशभर ९,००० भन्दा बढी शैक्षिक सामग्री वितरण गरेको थियो, जसले हजारौ विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्रीमार्फत सशक्त बनाएको छ। यो वर्ष पनि शैक्षिक सामग्रीहरूको वितरण नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकायहरू र साझेदार संस्था कर्मयोग फाउन्डेसनसँगको समन्वयमा गरिनेछ ।