विकासन्युज

एमाले ११ औं महाधिवेशनमा युवाका लागि छुट्याइएका केन्द्रीय सदस्य पदमा आंशिक निर्विरोध

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया जारी छ । यस महाधिवेशनलाई पार्टीको भावी दिशा र संगठनात्मक पुनर्संरचनाको दृष्टिले महत्त्वपूर्ण मानिएको छ । यही सन्दर्भमा यसपटक एमालेले ४० वर्षमुनिका युवालाई नेतृत्वमा स्थापित गर्ने उद्देश्यसहित केन्द्रीय सदस्य पदमा १५ सिट विशेष रूपमा छुट्याएको छ । पार्टी विधानअनुसार युवाको सहभागिता सुनिश्चित गर्न गरिएको यो व्यवस्थाअन्तर्गत खुला, महिला, मधेशी, आदिवासी जनजाति लगायत विभिन्न समूहबाट प्रतिनिधित्व गरिने व्यवस्था गरिएको छ ।  निर्वाचन समितिका अनुसार हालसम्म खुलातर्फका २ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । अखिलबाट पार्टी राजनीतिमा आएका नरेश रोकाया र सुशील थापा निर्विरोध भएका हुन् ।  त्यस्तै, मधेशीतर्फ छुट्याइएका २ पदमध्ये १ पदमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । मधेशको युवा कोटामा अमरेशकुमार यादव निर्विरोध भएका हुन् । तर, मधेशीतर्फको बाँकी एक केन्द्रीय सदस्य पदमा उम्मेदवारी नपरेपछि उक्त पद हाल रिक्त रहेको निर्वाचन समितिले जनाएको छ । सो पदका लागि थप प्रक्रिया अपनाइने वा आगामी केन्द्रीय कमिटी बैठकबाट पूर्ति गरिने विषयमा भने औपचारिक निर्णय भइसकेको छैन । एमाले नेतृत्वले युवालाई संगठन र नीति निर्माणको केन्द्रमा ल्याउने रणनीतिका रूपमा यो व्यवस्था अघि सारेको बताउँदै आएको छ । पार्टीभित्र लामो समयदेखि अनुभवी नेताहरूको वर्चस्व रहेको भन्दै युवा पुस्तालाई जिम्मेवारी दिने माग उठ्दै आएको थियो । यसपटकको महाधिवेशनमा गरिएको व्यवस्था त्यसैको निरन्तरता भएको नेताहरूको भनाइ छ । यद्यपि युवाका लागि छुट्याइएका सबै पदमा प्रतिस्पर्धा नदेखिनु भने पार्टीभित्र छलफलको विषय बनेको छ । कतिपय नेता तथा प्रतिनिधिहरूले युवालाई अवसर दिए पनि संगठनभित्र अझै प्रभावशाली समूह र प्यानल राजनीतिका कारण स्वतन्त्र प्रतिस्पर्धा कमजोर देखिएको टिप्पणी गरेका छन् । महाधिवेशनमा अध्यक्ष, पदाधिकारी तथा अन्य केन्द्रीय सदस्य पदका लागि भने प्रतिस्पर्धात्मक निर्वाचन हुने देखिएको छ । मतदान परिणामले पार्टीको आन्तरिक शक्ति सन्तुलन, आगामी रणनीति र राष्ट्रिय राजनीतिमा एमालेको भूमिकामा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ । एमालेले यस महाधिवेशनमार्फत नेतृत्वमा पुस्तान्तरण, समावेशिता र संगठनात्मक सुदृढीकरणको सन्देश दिन खोजेको भए पनि त्यसको व्यवहारिक कार्यान्वयन आगामी दिनमा कत्तिको प्रभावकारी हुन्छ भन्ने प्रश्न भने खुला नै रहेको देखिन्छ ।

लाभांश पारित गर्न तारागाउँ रिजेन्सीले डाक्यो साधारणसभा

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गर्न पुस २३ गते २९औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले बुधबार बिहान ११ बजे नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा साधारण सभा आयोजना गर्ने जनाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले नगद लाभांश (करबाहेक) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पेश गरिनेछन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ७ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

मङ्सिरसम्म राजस्व सङ्कलन लक्ष्यभन्दा कम, तर गत वर्षको तुलनामा सुधार

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनासम्मको राजस्व सङ्कलन लक्ष्यभन्दा कम भए पनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सुधार देखिएको छ । मङ्सिरसम्मको लक्ष्य ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ रहेपनि ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । चालु आवको पाँच महिनामा लक्ष्यको ७८.७४ प्रतिशत मात्रै राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।  अर्थ मन्त्रालयका अनुसार चालु आवका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ वार्षिक राजस्व संकलनको लक्ष्य तोकिएको छ ।  मङ्सिर महिनाको मात्र लक्ष्य ९५ अर्ब २० करोड रुपैयाँ निर्धारण गरिएको थियो । तर, मङ्सिर महिनाभर ८० अर्ब २७ करोड रुपैयाँ सङ्कलन भएको मन्त्रालयले जनाएको छ । उक्त राजस्व संकलन लक्ष्यको ८४.३१ प्रतिशत प्राप्त भएको हो । मङ्सिर २९ गते मात्रै ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व उठेको मन्त्रालयले जनाएको छ । यद्यपि, अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु वर्षको अवस्था केही सकारात्मक देखिन्छ । गत २०८१/८२ मा वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो भने मङ्सिरसम्मको लक्ष्य ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ थियो । गत वर्ष मङ्सिरसम्म जम्मा ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । त्यस्तै, मङ्सिर महिनामा ७६ अर्ब ७६ करोड रुपैयाँ राजस्व उठेको थियो ।

क्रिप्टो बजारमा भूकम्प : बिटकोइन ८६ हजार डलरभन्दा तल, बजार पूँजीकरण ३ ट्रिलियनमुनि

काठमाडौं । क्रिप्टोकरेन्सी बजारमा मंगलबार ठूलो हलचल मच्चिएको छ । बिटकोइनदेखि अन्य प्रमुख क्रिप्टोकरेन्सीसम्म २४ घण्टामा ४ प्रतिशतभन्दा बढी गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  यससँगै क्रिप्टोको विश्वव्यापी बजार पूँजीकरण (ग्लोबल मार्केट क्याप) पनि २४ घण्टामा ३.७५ प्रतिशतले घटेको छ । यस गिरावटपछि ग्लोबल मार्केट क्याप फेरि ३ ट्रिलियन डलरभन्दा तल झरेको छ ।  उता बिटकोइनको मूल्य पनि ४ प्रतिशतभन्दा बढी घट्दै ८६ हजार डलरभन्दा तल पुगेको छ । सोमबार बिहान ८:३० बजे क्रिप्टोकरेन्सीको ग्लोबल मार्केट क्याप ३.०५ ट्रिलियन डलर थियो । मंगलबार बिहान ८ः३० बजे यो घटेर २.९३ ट्रिलियन डलरमा सीमित भयो । यसरी ०.१२ ट्रिलियन डलर (करिब १७.६ लाख करोड रुपैयाँ) बराबरको गिरावट आएको छ । पछिल्ला दुई हप्तामा क्रिप्टोकरेन्सीमा आएको यो सबैभन्दा ठूलो गिरावट हो ।  यस गिरावटका कारण क्रिप्टोकरेन्सीको ‘फियर एन्ड ग्रिड इन्डेक्स’ २१ मा पुगेको छ । यो सूचक १०० को तुलनामा जति कम हुन्छ, मानिसहरूमा क्रिप्टोप्रति त्यति नै डर बढी हुन्छ।  पछिल्लो समय बिटकोइनसहित प्रायः सबै क्रिप्टोकरेन्सीमा गिरावट देखिँदै आएको छ । पछिल्ला २४ घण्टामा बिटकोइनको मूल्य ४.४७ प्रतिशत घटेर करिब ८५ हजार ७०० डलरमा पुगेको छ । पछिल्ला ७ दिनमा बिटकोइन ५ प्रतिशतभन्दा बढीले घटिसकेको छ । दुई महिनाअघि अक्टोबरमा बिटकोइनको मूल्य करिब १ लाख २५ हजार डलरसम्म पुगेको थियो । त्यसयता हालसम्म ठूलो गिरावट आएको छ । बिटकोइनबाहेक अन्य क्रिप्टोकरेन्सीमा पनि ठूलो गिरावट देखिएको छ । पछिल्ला २४ घण्टामा इथेरियम ४ प्रतिशतभन्दा बढी घट्दै ३ हजार डलरभन्दा तल झरेको छ । रिपलमा पनि उल्लेखनीय कमी आएको छ । २४ घण्टामा रिपलको मूल्य ६ प्रतिशतभन्दा बढी घटेर २ डलरभन्दा तल पुगेको छ । हाइपरलिक्विड क्रिप्टो पनि ८ प्रतिशतभन्दा बढी घटेर करिब १.५० डलरमा पुगेको छ । पाई नेटवर्कमा पनि करिब ५ प्रतिशतको गिरावट आएको छ । क्रिप्टोकरेन्सीमा आएको गिरावटलाई फेडरल रिजर्भसँग जोडेर हेरिएको छ । केही विज्ञहरूका अनुसार क्रिप्टोकरेन्सीमा तीव्र विक्री र लिक्विडेसन बढेकाले मूल्यमा ठूलो गिरावट आएको हो । यसबाहेक केही जानकारहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिले पनि क्रिप्टोकरेन्सी बजारमा असर पारिरहेको छ, जसका कारण मूल्य घटिरहेको छ ।

चन्द्रागिरी हिल्सले सेयर वितरणपश्चात हकप्रद जारी गर्ने, डाक्यो साधारण सभा

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गर्न पुस २३ गते १६औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले बुधबार बिहान ११ बजे चन्द्रागिरी हिल्स लिमिटेडको बटम स्टेशन परिसर, थानकोट काठमाडौंमा साधारण सभा आयोजना गर्न लागेको हो । सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर तथा सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै बोनस सेयर वितरणपछि कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, प्रभु बैंकबाट नयाँ परियोजना निर्माणका लागि लिएको कर्जा अनुमोदन गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पेश गरिनेछन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

छिमेक लघुवित्तले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस सेयर र १२.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरूलाई वितरण गरिने संस्थाले जनाएको छ ।

सानिमा रिलायन्स लाइफको १०.१७ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

गोलभेँडा किलोको ६० रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ८५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ८० रुपैयाँ, आलु रातो प्रतिकिलो ३२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २८ रुपैयाँ, आलु सेतो प्रतिकिलो ३० रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४५ रुपैयाँ रहेको छ । गाजर (लोकल) प्रतिकिलो ७० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ६० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ५० रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ४० रुपैया, बन्दा (नरिवल) प्रतिकिलो ४५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, काउली तराई प्रतिकिलो ५० रुपैयाँ, रातो मूला प्रतिकिलो ३५ रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ८० रुपैयाँ, तने बोडी प्रतिकिलो १६० रुपैयाँ र मकै बोडी प्रतिकिलो ६५ रुपैयाँ कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ५० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४५ रुपैयाँ, सलगम प्रतिकिलो ९० रुपैयाँ, भिन्डी प्रतिकिलो १२० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ६० रुपैयाँ, पिँडालु प्रतिकिलो ८० रुपैयाँ र स्कुस प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ । रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १०० रुपैयाँ, चमसुर प्रतिकिलो १०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, मेथीको साग प्रतिकिलो १०० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरिएको छ । बकूला प्रतिकिलो १२० रुपैयाँ, तरुल प्रतिकिलो ७० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो ११० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो २५० रुपैयाँ, कुरीलो प्रतिकिलो १००० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ९० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १५० रुपैयाँ, जिरीको साग प्रतिकिलो २०० रुपैयाँ, सेलरी प्रतिकिलो २८० रुपैयाँ, पार्सले प्रतिकिलो ६०० रुपैयाँ, सौफको साग प्रतिकिलो १३० रुपैयाँ, पुदिना प्रतिकिलो ४०० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ । यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २७० रुपैयाँ, केरा (दर्जन) १८० रुपैयाँ, कागती प्रतिकिलो ९० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ९० रुपैयाँ, मौसम प्रतिकिलो ८० रुपैयाँ, जुनार प्रतिकिलो ११० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, निबुवा प्रतिकिलो ६० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ र आभोकाडो प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ ।