विकासन्युज

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड, दुई हजार ५०० सुरक्षाकर्मी तैनाथ

भक्तपुर । सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा शनिबारबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ ।      विभिन्न जिल्लाबाट बस रिर्जभ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटनस्थलको गेट बाहिर भीड लागेको हो । महाधिवेशनका लागि निर्माण गरिएको विशाल मञ्च, सभास्थल तथा आवश्यक भौतिक संरचनाको काम पूर्णरूपमा सम्पन्न भइसकेको एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिए ।    उनका अनुसार मञ्च, ध्वनि प्रणाली, प्रकाश व्यवस्था, एलइडी स्क्रिन, बसाइँ व्यवस्था तथा व्यवस्थापनसम्बन्धी सबै तयारी तोकिएकै समयमै सम्पन्न गरिएको जानकारी दिँदै उनले शनिबार बिहानैदेखि आएका नेता तथा कार्यकर्तालाई गेट बाहिरै राखिएको बताए । उद्घाटनस्थलाई व्यवस्थित गर्न, सुरक्षा जाँचलाई दुरुस्त राख्नका लागि बिहान १०ः३० सम्मका लागि गेट बन्द गरिए ११ बजेबाट प्रवेश कार्यक्रमस्थलमा प्रवेश गर्नेको भीड लागेको छ ।      आज दिउँसो १२ः३० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा राखिएको विद्युतीय पालालाई  रिमोटद्वारा बालेर उद्घाटन गर्ने गरी तयारी भएको छ । पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ झण्डा राखिएकामा १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने गरी तयारी गरिएको छ । औपचारिक रूपमा उद्घाटन गर्न महाधिवेशनको शुभारम्भ गर्ने तयारी सम्पन्न भएको जानकारी दिँदै उनले महाधिवेशनस्थलमा सुरक्षाका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको जानकारी दिए ।  दुई हजार ५०० सुरक्षाकर्मी तैनाथ      महाधिवेशन उद्घाटनस्थलको सुरक्षालाई ध्यानमा राख्दै बम विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले आज बिहान जाँच गरेको जानकारी दिँदै सुरक्षा व्यवस्थालाई कडा पारिएको प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिए ।      उनले बम डिटेक्टर उपकरण प्रयोग गरी मञ्च, सभास्थल र वरपरका क्षेत्रमा सुक्ष्म जाँच गरेको जानकारी दिँदै सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका प्रहरी गरी दुई हजार ५०० सुरक्षाकर्मी उद्घाटनस्थलमा तैनाथ गरिएको जानकारी दिए । सुरक्षाको व्यवस्थामा कुनै कमी नरहने गरी व्यवस्थापन गरेको जानकारी दिँदै उनले सिसी क्यामराबाट निगरानी गर्ने टोलीसमेत खटाएर सुरक्षा निगरानी गरिरहेको बताए । सभास्थलका साथै र्याली आउने स्थल, सडक, पार्किङस्थललगायत क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका सुरक्षाकर्मी तैनाथ गरिएको जानकारी दिए । कार्यक्रमस्थलमा कहिकतै शङ्कास्पद गतिविधि भएको देखिए तत्कालै पक्राउ गर्ने गरी तयारी गरेको उनले जानकारी दिए ।  ५० भन्दा बढी सिसी क्यामरा       उद्घाटनस्थलको मञ्च, मञ्च प्रवेश गर्ने गेट, आसपासका क्षेत्र र सभास्थलको बीच तथा वरिपरिका क्षेत्रमा ५० भन्दा बढी सिसी क्यामरा जडान गरिएको छ । एमाले अध्यक्ष देउजाले कार्यक्रमस्थलमा ५० भन्दा बढी सिसि क्यामरा जडान गरिएको र त्यसको निगरानी एमालेको एक युवा टोली र सुरक्षाकर्मीले गरिरहेको जानकारी दिए । गाउँगाउँबाट र्याली सुरु      महाधिवेशनको उद्घाटनस्थलमा आउनका लागि भक्तपुरका चारवटै पालिकाले गाउँगाउँबाट र्याली सुरु गरेको छ । सूर्यविनायक नगरपालिकाअन्तर्गत वडा नं १ देखि ५ सम्मल कटुञ्जेबाट, वडा नं ७ ले गुण्डुबाट, वडा नं ६ देखि १० सम्मले जगाती एवं सूर्यविनायक चोकबाट र्याली सुरु गरेको छ ।      चाँगुनारायण नगरपालिकाअन्तर्गत वडा नं. १ देखि ४ सम्मले दुवाकोटबाट, वडा नं ५ देखि ८ सम्मले कमलविनायकबाट र वडा नं ९ ले भक्तपुर नगरपालिकाबाट सुरु हुने च्यायामासिंहस्थित र्यालीमा मिसिएर ¥याली सुरु भएको छ । भक्तपर नगरपालिकाले नगर क्षेत्र परिक्रमा गर्दै कार्यक्रमस्थलमा आउने गरी र्याली सुरु गरेको छ भने मध्यपुथिमि नगरपालिकाले शङ्खधर चोकबाट र्याली सुरु गरेको छ ।      सबै र्यालीमा विभिन्न जाति, भेषभूषा एवं कला र संस्कृति झल्कने बाजा तथा झाकी एवं नृत्य प्रदर्शन गर्दै ¥याली सुरु भएको छ । विभिन्न जिल्लाबाट आउने सहभागीहरुको र्याली भने पूर्वतर्फ जगातीबाट र पश्चिमतर्फ गठ्ठाघरबाट सुरु हुँदैछ ।  यस्तो रहनेछ उपस्थिति       महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधिको सहभागिता रहने जानकारी दिँदै  महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट तीन लाख नेता तथा कार्यकर्ताको उपस्थित रहने बताए । उनले कार्यक्रममा नेपालको एकताको प्रतिकका रुपमा २०० भन्दा बढी नेपाली विभिन्न जातजातिको कला, संस्कृति झल्काउने झाँकीको प्रदर्शन हुने बताए ।      उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस सभापति, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका १६ पार्टीका अध्यक्ष एवं नेताले शुभकामना दिने कार्यतालिका तय भएको जानकारी दिँदै उनले भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कूटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिको शुभकामना सन्देश प्राप्त भइसकेको जानकारी दिए ।      त्यसैगरी महाधिवेशन स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालले महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न पार्टीको २४ का जनसङ्गठनहरूको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ककड्रेसकोडमा खटिएको जानकारी दिए । जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिएको जानकारी दिए ।    एमालेले लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई मुख्य स्वरुपमा राखेर उपत्यकाका महत्वपूर्ण विभिन्न मन्दिर एकै ठाउँ देखाउने गरी नेपालकै इतिहासमा पहिलो पटक यति ठूलो र कलात्मक एवं ऐतिहासिकता झल्कने आकर्षक मञ्च निर्माण गरिएको छ । मञ्चलई धेरै सहभागीहरुले उत्कृष्ठताको नमूनाको संज्ञा दिएका छन् ।      टाढासम्म रहेका सहभागीले वक्ताले बोलेको प्रस्ट देखिने गरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुई वटा एलइडी स्क्रिन राखिएको, तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरुका लागि २५ हजार कुर्सी राखिएको छ ।  यस्तो छ पार्किङको व्यवस्था      महाधिवेशनको उद्घाटन सत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने सवारीसाधनका लागि निम्ति कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा आउन सकिने र गठ्ठारघमार रहेको नागरिक उड्डयन प्राधिकरणको खाली चौरमा तथा काभ्रे हुँदै आउने सवारीका लागि जगातीस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था गरिएको जानकारी दिँदै गठ्ठाघर र जगातीबाट भव्य ¥याली कार्यक्रमस्थल आउने गरि व्यवस्था गरिएको जानकारी दिएको छ । रासस

कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

तनहुँ । नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ ।  पार्टीको शुक्रबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले क्षेत्र नम्बर १ र २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार, समानुपातिक उम्मेदवार र राष्ट्रियसभा सदस्य उम्मेदवार सिफारिस गरेको हो ।  क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्य गोविन्द भट्टराईसहित १० जना सिफारिस गरिएको पार्टीका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । यस्तै क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य शङ्कर भण्डारीसहित सात जनाको नाम सिफारिस गरिएको छ । खनालका अनुसार राष्ट्रियसभाका लागि केन्द्रीय सदस्य ध्रुव वाग्लेसहित सात जनाको नाम सिफारिस गरिएको छ ।  क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ गोविन्द भट्टराई, रामचन्द्र पोख्रेल, सरिता गुरुङ, दीपक भट्टराई, डा जगदीशचन्द्र पोखरेल, रमेशबाबु भट्टराई, पुरुषोत्तम खनाल, उद्धव पौडेल र श्याम कुमारी मौराती सिफारिस भएका छन् । यस्तै समानुपातिकतर्फ दलिततर्फ डोबाटे विक र यमुना विक, महिलातर्फ चिनु पोखरेल, पवित्रा पौडेल, मीरा जोशी, चिजा श्रेष्ठ, एलिजा ढकाल, अपाङ्ग अल्पसङ्ख्यकतर्फ प्रकाश पन्थ, जब्बरदिन मिया मुन्ना, साहिदा खातुन र अन्यतर्फ समुन्द्र गोदार तथा हरिदत्त पौडेल सिफारिस भएका छन् ।  क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ शङ्कर भण्डारी, प्रदीप पौडेल, पुष्पराज पराजुली, चुडामणि खनाल, चामबहादुर थापा, डा यदुनाथ खनाल र नवीन खनालको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ मायादेवी राना, इन्दिरा खनाल र सन्तोष घिमिरेको नाम सिफारिस गरिएको छ ।  राष्ट्रियसभाका लागि कुलचन्द्र वाग्ले, धु्रव वाग्ले, रघुनाथ पौडेल, लक्ष्मी आचार्य, डा कृष्णप्रसाद गौतम, अर्जुन अधिकारी र विद्या खनालको नाम सिफारिस गरिएको छ ।  क्षेत्र नम्बर १ र २ को संसदीय समितिको सिफारिस अनुसारको नामावली नेपाली कांग्रेस तनहुँमार्फत गण्डकी प्रदेश कार्यसमिति हुँदै केन्द्रीय कार्यसमितिमा सिफारिस गरिएको खनालले बताए । 

यामाहा नेपालको ब्लु स्क्वायर शोरूम बुटवलमा शुभारम्भ

बुटवल । यामाहा नेपालले बुटवलमा नयाँ यामाहा ब्लु स्क्वायर शोरूमको भव्य शुभारम्भ गरेको छ । उक्त शोरूमको सञ्चालन बाइकर्ज बुटवल प्रालिले गर्नेछ । यामाहाको राष्ट्रव्यापी विस्तार रणनीतिअन्तर्गत यो शोरूम लुम्बिनी प्रदेशमा यामाहाको प्रिमियम रिटेल उपस्थितिलाई थप सुदृढ बनाउने महत्वपूर्ण माइलस्टोनका रूपमा लिइएको छ । उद्घाटन समारोहमा यामाहा मोटर इन्डिया सेल्स प्रालिका निर्देशक हिरोशी सेतोगवा प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल विशेष अतिथि थिए भने यामाहा मोटर इन्डिया सेल्स प्रालिका जिएम (एक्सपोर्ट मार्केटिङ) राजदीप सिंह ग्रेवाल र एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीइओ दीपक कुमार अग्रवालको पनि उपस्थिति रहेको थियो । साथै, कार्यक्रममा प्रतिष्ठित बैंकर, कर्पोरेट क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता थियो । नयाँ ब्लु स्क्वायर शोरूम यामाहाको विश्वव्यापी प्रिमियम सेल्स पहिचानलाई प्रतिबिम्बित गर्ने गरी डिजाइन गरिएको छ । शोरूममा यामाहाको थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) पूर्वाधार उपलब्ध रहेको छ, जसले ग्राहकहरूलाई एकै छानामुनि सम्पूर्ण सेवा प्रदान गर्नेछ । तालिमप्राप्त सर्भिस स्टाफ, आधुनिक उपकरण तथा जेनुइन स्पेयर पार्ट्सका लागि छुट्टै व्यवस्था गरिएको यस शोरूमले गुणस्तरीय आफ्टर सेल्स सेवा सुनिश्चित गर्ने यामाहाको दाबी छ । ‘ब्लु’ ले यामाहाको प्रतिष्ठित ब्रान्ड कलरलाई प्रतिनिधित्व गर्छ भने ‘स्क्वायर’ ले ‘वन–स्टप खरिद केन्द्र’ को अवधारणालाई जनाउँछ । ब्लु स्क्वायर शोरूममा ग्राहकहरूले मोटरसाइकल, स्कुटर, एक्सेसरीज तथा राइडिङ गियरहरू एकै स्थानबाट खरिद गर्न सक्नेछन् । आकर्षक र प्रिमियम रिटेल वातावरणले यामाहाको स्टाइल, प्रविधि र राइडर सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई झल्काउने कम्पनीको भनाइ छ । उद्घाटन कार्यक्रममा बोल्दै एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले बाइकर्ज बुटवल टिमलाई बधाई दिँदै ब्लु स्क्वायरको अवधारणाले यामाहाको युथ, पर्फर्मेन्स, फन, प्यासन र बलियो रेसिङ डीएनएलाई प्रतिनिधित्व गर्ने बताए । उनले ब्लु स्क्वायर शोरूमले बिक्री र सेवासँगै यामाहाले परिकल्पना गरेको जीवनशैलीसमेत प्रस्तुत गर्ने उल्लेख गरे । यामाहा मोटर इन्डिया सेल्सका निर्देशक हिरोशी सेतोगवाले ग्राहक सन्तुष्टिप्रति यामाहाको प्रतिबद्धता दोहोर्‍याउँदै बाइकर्ज बुटवलले यस क्षेत्रका यामाहा ग्राहकहरूलाई प्रिमियम अनुभव र उत्कृष्ट सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले ब्लु स्क्वायर शोरूमले यामाहाको विश्वस्तरीय मापदण्ड कायम राख्दै अघि बढ्ने बताए । कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूले पनि ग्राहक सन्तुष्टि अभिवृद्धि, ब्रान्ड पहिचान सुदृढीकरण तथा नेपालमा विश्वस्तरीय सेवा विस्तारका लागि यामाहाले गर्दै आएको प्रयासको प्रशंसा गरे । उनीहरूका अनुसार ब्लु स्क्वायर अवधारणा केवल रिटेल स्पेस मात्र नभई पर्फर्मेन्स, स्टाइल र विश्वास खोज्ने आधुनिक राइडरहरूको जीवनशैलीसँग मेल खाने प्लेटफर्म हो ।

एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने अलपत्र घुमाउने पुलको आज निरीक्षण गर्दै मन्त्री घिसिङले एक महिनाभित्र काम सुरु गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । मन्त्री घिसिङले लामो समयदेखि अलपत्र पुलको बारेमा राष्ट्रियस्तरमा चर्चा रहेको बताउँदै काम नगर्ने भए ठेक्का तोड्नुभन्दा अर्को विकल्प नरहेको उल्लेख गरे । उनले भने, 'घुमाउने पुल जसरी पनि निर्माण गर्नुपर्नेछ । यहाँ राष्ट्रपतिको पनि चासो छ । काम गर्नुस्, नगर्ने भए भन्नुस् ।' मन्त्री घिसिङले घुमाउने पुलको डिजाइन परिवर्तन गरी सडक विभागमा आएकोबारे तत्कालै डिजाइन स्वीकृत गर्न सडक विभागलाई निर्देशन दिएका हुन् । उनले भने, 'पुरानै डिजाइनमा पनि नौ वर्षसम्म किन काम नगर्नुभएको ? विकास निर्माणमा ढिलासुस्ती सैह्य हुँदैन ।' आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथिको घुमाउनेमा सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो । एघार वर्ष अगाडि घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलोपटक विसं २०७० असारमा उक्त पुल निर्माणका लागि सम्झौता भएको थियो । बारम्बारको म्याद थप र डिजाइन परिवर्तन पछि अन्तिम पटक विसं २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा विसं २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा करिब ५० प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ । उक्त पुल १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । सम्झौता बेला पुलको लागत रु नौ करोड ५६ लाख थियो । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंहमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्नपश्चात् पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् ।

एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार नेपाल प्रिमियर लिग (एनपिएल) को आज फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जाल (फेसबुक)मार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त गरेकी हुन् ।    उनले भनेकी छन्, 'यस उत्सवले सिङ्गो देशलाई जिताएको छ, जगाएको छ । सारा नेपालीलाई जोड्दै, सुरक्षा संशय चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्‍याएको छ ।' 

१६ करोडमा मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ । म्याग्दी र गुर्जाखोलाको दोभानमा धौलागिरि गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर घर्तीले पहुँचमार्ग निर्माण कार्यको सुरुआत गरेका हुन् । दोभानदेखि अर्चेको फेदीमा रहने बाँध निर्माणस्थलसम्म आठ किलोमिटर पहुँचमार्ग निर्माण गर्न थालिएको प्रवद्र्धक कम्पनी एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रचरले जनाएको छ । प्रवद्र्धक कम्पनीका सम्पर्क व्यक्ति राम केसीले विद्युत्गृहदेखि बाँध रहने स्थानसम्म पहुँचमार्ग पुर्याएपछि सिभिल ठेकेदारमार्फत बाँध, सुरुङ र विद्युत्गृह निर्माण थालिने जानकारी दिए । 'पहुँचमार्ग निर्माणसँगै वित्तीय व्यवस्थापन, सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदार छनोटको कामलाई पनि समानान्तर हिसाबले अघि बढेको छ', उनले भने, 'सुरुङ निर्माणमा आवश्यक पर्ने विस्फोटक पदार्थ भण्डारण र सुरक्षाका लागि आयोजनास्थलमा नेपाली सेनाको पोष्ट राख्न आवश्यक पूर्वाधार निर्माण पनि सुरु गर्ने तयारी छ ।' अर्चेको फेदीमा बाँध, गुर्जा र म्याग्दी नदीको दोभानमा विद्युत्गृह रहने आयोजनाको चार किलोमिटर सुरुङ रहनेछ । विद्युत् खरिद बिक्री सम्झौता भइसकेको आयोजनाले विद्युत् विकास विभागबाट जेनेरेशन अनुमतिपत्र पाइसकेको छ । बाँध र विद्युत्गृहको हेड ३३७ मिटर रहेको छ । यस आयोजनाको लागत प्रतिमेगावाट रु १६ करोड अनुमान गरिएको केसीले बताए । रन अफ द रिभर (नदी प्रवाह)मा आधारित यस आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतमा निर्माण गरेको १३२ केभिए क्षमताको सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा आबद्ध गराइनेछ । दोभानदेखि डाँडाखेतसम्म म्याग्दी र सहायक नदीमा निर्माणाधीन अन्य आयोजनासँग पनि साझेदारी गरेर आठ किलोमिटर लामो प्रशारण लाइन निर्माण गरिने भएको छ । धौलागिरि गाउँपालिका–४ को भूगोल भएर बग्ने नदीहरूमा मुदीखोलाबाहेक ५३ दशमलव पाँच मेगावाट क्षमतको अपर म्याग्दी–१, ४६ दशमलव २५ मेगावाटको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणाधीन छन् । पैँसठ्ठी मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले जेल्तुङदेखि दोभानमा रहने बाँध जोड्ने पहुँचमार्ग निर्माणको तयारी गरेको वडाध्यक्ष घर्तीले बताए ।  रासस

रूख टमाटर किलोको १४० रुपैयाँ, यस्तो छ सागसब्जी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७५, आलु रातो प्रतिकिलो रु ५०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिवल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ५०, सेतो मूला (लोकल) प्रतिकिलो रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु ८०, भन्टा डल्लो प्रतिकिलो रु ९०, तने बोडी प्रतिकिलो रु १८०, मकै बोडी प्रतिकिलो रु ७५ कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १४०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १३०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु १३०, तिते करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ८०, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु १२०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, सलगम प्रतिकिलो ९०, भिन्डी प्रतिकिलो १६०, सखरखण्ड प्रतिकिलो ७५, पिँडालु प्रतिकिलो रु ९० र स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु १००, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु १५०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु १५०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० र कुरिलो प्रतिकिलो रु १२०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु १२०, चुकन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु १८०, जिरीको साग प्रतिकिलो रु २००, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ४००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १४०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २००, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु १४०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ७५, स्ट्रबेरी भुइँऐँसेलु प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३००, सरिफा प्रतिकिलो रु २२० र आभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २३०, भेडे खुर्सानी प्रतिकिलो रु १२०, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १४०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० र काँक्रो (लोकल क्रस) प्रतिकिलो रु ५५ निर्धारण गरिएको छ ।

इसेवाको ३० करोड ६० लाख नगद लाभांश पारित, आईपीओ जारी गर्ने तयारी

काठमाडौं । इसेवा लिमिटेडको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मङ्‌सिर २४ गते काठमाडौं स्थित मेरियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीको अध्यक्षतामा कम्पनीका शत प्रतिशत सेयरधनीहरूको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो ।  साधारण सभाले आ.व. २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गरेको छ । त्यसैगरी, आ.व. २०८१/८२ को लेखापरीक्षक प्रतिवेदनका आधारमा कम्पनीको खुद नाफा तथा जगेडा कोषबाट हालको चुक्ता पूँजीको ८०.५३ प्रतिशतले हुन आउने ३० करोड ६० लाख रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । साथै, चुक्ता पूँजीको ३१.५८ प्रतिशत बराबरको १२ करोड रुपैयाँको बोनस सेयर जारी गर्ने निर्णयसमेत सभाले स्वीकृत गरेको छ । साधारण सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरू सुबास शर्मा र सौगात केसीलाई पुनः निर्वाचित गरेको छ । साथै, आ.व. २०८२/८३ का लागि पीकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनीलाई लेखापरीक्षकका रूपमा नियुक्त गर्ने निर्णय पनि पारित गरिएको छ । वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीले कम्पनीको वित्तीय अवस्था तथा अन्य सूचकहरू उत्साहजनक रहेको उल्लेख गर्दै आगामी दिनमा थप सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले नियामकीय अनुपालनप्रति कम्पनीले शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताउँदै प्रयोगकर्ता, आधिकारिक प्रतिनिधि, मर्चेन्ट, नियामक निकाय तथा कर्मचारीहरूप्रति धन्यवाद व्यक्त गरे । त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले लगानीकर्ताहरूको विश्वास, सञ्चालक समितिको मार्गदर्शन तथा व्यवस्थापन टोलीको निरन्तर मिहिनेतका कारण कम्पनीलाई सुदृढ अवस्थामा पुर्‍याउन सफल भएको बताए । उनले दीर्घकालीन दृष्टि र रणनीतिक रोडम्याप तयार गर्दै जोखिम न्यूनीकरणमा कम्पनी केन्द्रित रहेको जानकारी पनि दिए । साधारण सभामा कम्पनीका सेयरधनीहरूले कम्पनीको उत्कृष्ट वित्तीय अवस्था, बढ्दो ब्राण्ड मूल्य र देश तथा विदेशमा इसेवाको सेवा तथा प्रभाव विस्तारबारे खुसी व्यक्त गरेका थिए । त्यस्तै, व्यवसाय विस्तारसँगै जोखिम र नियमनसम्बन्धी चुनौतीहरू बढ्दै गएकाले नवप्रवर्तन, लगानी, नाफा वितरण योजना, जोखिम न्यूनीकरण तथा दिगोपनमा ध्यान दिन सुझाव दिए । त्यस्तै, साधारण सभामा कम्पनीले निकट भविष्यमा आईपीओ जारी गरी सर्वसाधारण जनतासम्म पुग्ने योजना रहेको जानकारी दिइएको थियो ।