विद्युत प्राधिकरण र काठमाडौं महानगरको समन्वयमा विद्युतीय तार भूमिगत गरिने
काठमाडौं । नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा महानगर क्षेत्रभित्रको विद्युतीय तार भूमिगत गर्न काम अगाडि बढाइने भएको छ । तारलाई भूमिगत गर्ने काममा फिल्डमा देखिएका समस्या समाधानका लागि आवश्यक अनुगमन र समन्वय गर्न प्राधिकरणका निर्देशक र महानगरपालिका सार्वजनिक निर्माण विभागका प्रमुखलाई तोकिएको छ । सडक विभाग, काठमाडौं महानगरलगायतका निकायबाट सहमति प्राप्त नहुँदा निर्माण व्यवसायीबाट काम सम्पन्न भएपछि सडकलाई मर्मत नगरेको जस्ता गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार प्राधिकरणका कार्यकारी निर्देशक, आयोजना प्रमुख, महानगरपालिका प्रतिनिधि र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । मन्त्री घिसिङले आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि काठमाडौंभित्रको तार भूमिगत काम सम्पन्न गर्न र काम सम्पन्न भएको ठाउँमा इन्टरनेट, टेलिफोन, टेलिभिजन सेवा प्रदायकसँग समन्वय गरी जमिनमाथिको ९ओभरहेड० तार हटाउन तत्काल सुरु गर्ने बताए । उनले निर्माण कार्य सम्पन्न गरेपछि फिल्डमा देखिएको सडक मर्मतलगायतका काम तत्काल गर्न निर्देशनसमेत दिए । प्राधिकरणका कार्यकारी मनोज सिलवालले सडक विभाग र स्थानीय तहसँग समन्वय गरी निर्माण कार्य अगाडि बढाइने बताए । काम सम्पन्न भएका क्षेत्रमा भूमिगत तारबाट विद्युत आपूर्ति दिन सुरु गरिसकिएको र ओभरहेटलाई क्रमश स् हटाउँदै जाने सिलवालले उल्लेख गरे । प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउन पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरेको थियो । दोस्रो चरणमा काठमाडौंको बाँकी स्थान, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरको सहरी क्षेत्र र चौथो चरणमा पोखरा तथा भरतपुर महानगरअन्तर्गतका क्षेत्रको वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित गर्ने काम सुरु गरेको थियो । काठमाडौं उपत्कायभित्रको निर्माण प्रगति करिब ८० प्रतिशत छ । यसअन्तर्गत ३३ तथा ११ हजार भोल्टेज र ४ सय भोल्टेज भूमिगत लाइन निर्माणका साथै अप्टिकल फाइबर पनि बिछ्याइनेछ । यसबाट विद्युत, टेलिफोन, इन्टरनेट सेवा प्रदायकको गुजुल्टिएको तारले कुरूप बनेको सहरको कुरूपताको अन्त्य भई सौन्दर्य थपिनेछ । हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरूप बनाइरहेको तारको जालो हटी सौन्दर्य कायम राख्न सकिने छ । भूमिगत काम गर्दा सडकमा न्यूनतम क्षति हुने प्रविधि प्रयोग गरिएको छ । सडकमा सवारीसाधनको अवागमन र पैदलयात्रीलाई असर नपर्ने गरी राति काम गर्ने व्यवस्था गरिएको छ । सडक खन्दा निक्लिएको धूलोबाट नागरिकलाई असर पर्न नदिन न्यूनीकरणका उचित व्यवस्था गरिएको छ । तार भूमिगत गर्दा क्षति पुगेको सडकको मर्मत १० दिन भित्र गरिसक्ने व्यवस्था गरिएको छ ।
सानिमा बैंकको २१ वर्ष पूरा, सातै प्रदेशमा सेवा जारी
काठमाडौं । सानिमा बैंक लिमिटेडले मंसिर २१ गते स्थापना भएको २१ वर्ष पूरा गरेको छ । दुई दशकभन्दा बढी समयदेखि निरन्तर सेवा, दायित्व र प्रतिबद्धताका साथ बैंकिङ क्षेत्रको विश्वसनीय संस्थाका रूपमा स्थापित हुँदै आएको सानिमा बैंकले यस अवसरमा २१औं वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले ग्राहक तथा सरोकारवालाले बैंकिङ यात्राभर प्रदान गरेको निरन्तर विश्वास र सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । बैंक परिसरमा आयोजित कार्यक्रमका क्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले बैंक २१ वर्षको यात्रामा सघाइरहेका सबै कर्मचारी, ग्राहक तथा सरोकारवालालाई बधाई ज्ञापन गर्दै आगामी दिनमा सामूहिक प्रयासमार्फत बैंकको लक्ष्य हासिल गर्ने प्रतिवद्धता व्यक्त गरे । हाल सानिमा बैंकका सातै प्रदेशमा १३४ वटा कार्यालय तथा १२७ वटा एटीएम सेवा संचालनमा छन् । बैंकले आगामी दिनमा ग्राहकमैत्री सेवा र प्रविधिमैत्री बैंकिङ विस्तार गर्दै आफ्नो वित्तीय सेवाको दायरा थप बिस्तार गर्ने योजना जनाएको छ ।
डिशहोमको दुईतर्फी भोइस एआई ‘खुशी’ सार्वजनिक
काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले नेपालमै पहिलो दुईतर्फी संवादमा आधारित भोइस एआई सेवा ‘खुशी’ सार्वजनिक गरेकाे छ । कम्पनीले ‘खुशी’ मार्फत ग्राहक सेवाको डिजिटल रूपान्तरणलाई नयाँ स्तरमा पुर्याउने दाबी गरेको छ । यसअघि डिशहोमले भर्चुअल प्रिभिलेज कार्डमार्फत होटल, रेस्टुरेन्ट, रिसोर्ट, स्वास्थ्य सेवा र इलेक्ट्रोनिक सामानसहित २०० भन्दा बढी साझेदार व्यवसायमा २५ प्रतिशतसम्म छुट उपलब्ध गराएको थियो । त्यस्तै, डिशहोम गो ओटीटी प्लेटफर्ममार्फत नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को प्रत्यक्ष प्रसारण गर्दै उद्घाटन खेलमा दुई लाखभन्दा बढी दर्शक एकैसाथ आकर्षित गर्न सफल भएको कम्पनीले जनाएको छ । स्थानीय सन्दर्भलाई ध्यानमा राखेर विकसित गरिएको ‘खुशी’ नेपाली भाषामा प्राकृतिक, मानव–जस्तै आवाजमा संवाद गर्न सक्षम छ । यसले सेवा निष्क्रिय भएका ग्राहकसँग निरन्तर सम्पर्क राखेर पुनःनवीकरणमा प्रेरित गर्ने, प्रतिक्रिया तथा गुनासो सङ्कलन गरी सेवा केन्द्रसम्म पुर्याउने र कुराकानीकै आधारमा भावनात्मक प्रतिक्रिया विश्लेषण गरी प्रतिवेदन तयार गर्ने क्षमता राख्छ । नेटवर्क अवरोध वा अन्य प्राविधिक समस्या देखिएमा ‘खुशी’ डिशहोमको केन्द्रीय प्रणालीसँग एकीकृत भई ग्राहकलाई कलको क्रममा अवरोधको कारण, अनुमानित समाधान समय तथा प्रगतिबारे तुरुन्त जानकारी दिन पनि सक्षम बनाइने कम्पनीको दाबी छ। आगामी चरणमा डिशहोमले ‘खुशी’ लाई ग्राहक पहिचान प्रमाणीकरण, विवरण अभिलेख अद्यावधिक र सेवा तथा प्राविधिक मर्मतको समय व्यवस्थापनमा प्रयोग गर्ने तयारी गरेको छ । फेसबुक मेसेन्जर र वेबच्याटमा प्रयोग भैरहेका सामान्य च्याटबोटमा ‘खुशी’ एकीकृत गर्ने कार्य जारी रहेको र छिट्टै यो सेवा व्हाट्सएप तथा भाइबरमा पनि विस्तार गरिने जनाएको छ । कम्पनीका अनुसार नेपाली भाषामा आधारित संवाद प्रणालीलाई अझ सक्षम बनाउन अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी दीर्घकालीन परियोजना अघि बढाउने तयारीसमेत भइरहेको छ । कम्पनीका प्रवक्ताका अनुसार ‘खुशी’ को सार्वजनिकतासँगै डिशहोम अधिक डिजिटल, छरितो र मानवीय–शैलीअनुकूल ग्राहक सेवा प्रविधितर्फ अघि बढेको छ, जुन नेपालमा भोइस एआईको व्यावसायिक प्रयोगमा नयाँ मापदण्ड बन्ने अपेक्षा गरिएको छ ।
८० वर्षको उमेरसम्म सक्रिय बैंकिङमा, अवकाशको २ वर्षपछि निधन
काठमाडौं । पूर्वबैंकर नारायणदास मानन्धरको निधन भएको छ । प्राइम बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका मानन्धरको ८२ वर्षको उमेरमा आइतबार निधन भएको हो । उनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको स्रोतले जनाएको छ । ५५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका मानन्धरले विसं २०८० साउन १६ गते अवकाश पाएका थिए । प्राइममा उनले १६ वर्ष सीईओको भूमिका निर्वाह गरेका थिए । बैंकिङ क्षेत्रमा एक हस्तीमा रूपमा चिनिएका मानन्धरले प्राइम बैंकलाई छोटो समयमै उचाइमा पुर्याएका थिए । विसं २०२५ सालमा बैंकिङ क्षेत्रमा प्रवेश गरेका मानन्धर ८० वर्षको उमेरसम्म सक्रिय रहेका थिए । केही समय युवक मावि र युथ क्याम्पसमा अध्यापनसमेत गरेका मानन्धरले धानचामल गोदाम व्यवस्थापन कम्पनीको महाप्रबन्धक समेत बनेका थिए । उनले सुरुमा भूमिसुधार तथा बचत सहकारी संस्थामा काम गरेका थिए । त्यो सहकारी संस्था कृषि विकास बैंकमा गाभिएपछि उनी पनि कृषि विकास बैंकमा आबद्ध भए । त्यसपछि उनले राष्ट्रिय वाणिज्य बैंकमा उच्च व्यवस्थापनमा रहेर लामो समय काम गरेका थिए । नेपालमा समस्याग्रस्त बैंकहरूको सुधार गर्ने व्यक्तिको छवि बनाइसकेका मानन्धरले विसं २०६१ सालमा राष्ट्रिय वाणिज्य बैंकबाट अवकाश लिएका थिए । साथै उनले तत्कालीन नेपाल बंगलादेश बैंक र लुम्बिनी बैंकको सीईओको समेत भूमिका निर्वाह गरेका थिए । मानन्धरलाई बैंकिङ क्षेत्रमा धेरैले प्रेरणाको स्रोतका रूपमा पनि लिने गर्छन् । बैंकका सञ्चालक डा. गजेन्द्र विष्टका अनुसार मानन्धर श्री १००८ ब्रम्हवित परमहंस योगी सच्चितानन्द सरस्वती खप्तड बाबाका अनुयायी समेत रहेको उनले बताए । नेपाल राष्ट्र बैंकले बैंकका सीईओले दुई कार्यकाल बढी समय काम गर्न नपाउने व्यवस्था गरेपछि उनी अदालतसमेत पुगेका थिए । पछि सर्वोच्च अदालतले उनलाई काम गर्न दिन अन्तरिम आदेश दिएको थियो । उनको शोभाभगवतीमा दाहसंस्कार हुँदैछ ।
कर र रोयल्टी नतिर्ने २० इन्टरनेट कम्पनीको लाइसेन्स धरापमा, प्राधिकरणले दियो ३५ दिनको अल्टिमेट
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारलाई बुझाउनुपर्ने रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषको रकम नबुझाउने २० वटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई कारबाहीको चेतावनी दिएको छ । प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै बक्यौता रकम बुझाउन ३५ दिने अल्टिमेटम दिएको हो । प्राधिकरणका अनुसार यी सेवा प्रदायकहरूले विगत केही वर्षदेखि लेखा परीक्षण विवरण बुझाएका छैनन् भने नियमानुसार बुझाउनुपर्ने रोयल्टी र कोषको रकम पनि दाखिला गरेका छैनन् । प्राधिकरणले बक्यौता रकम तिर्न पटक–पटक पत्राचार, इमेल र सार्वजनिक सूचनामार्फत जानकारी गराउँदा समेत यी कम्पनीहरूले कुनै वास्ता गरेका छैनन् । बाध्य भएर सार्वजनिक सूचना मार्फत कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित भएको ३५ दिनभित्र सम्पूर्ण विवरण र बक्यौता रकम बुझाउन निर्देशन दिएको छ । यदि यो अवधिभित्र पनि रकम दाखिला नगरेमा दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ । ऐनको दफा २८ मा अनुमतिपत्र खारेजीसम्मको व्यवस्था रहेको छ । प्राधिकरणले सम्बन्धित कम्पनीहरूलाई तत्काल जमलस्थित कार्यालयको अनुमतिपत्र व्यवस्थापन शाखामा सम्पर्क गर्न आग्रह गरेको छ । सूचना
सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छ : मन्त्री गौतम
चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले सरकारले एसइई परीक्षापछिको नर्सिङ पढाइ (पिसिएल) लाई निरन्तरता दिने तयारी गरेको बताएकी छिन् । भरतपुर अस्पतालको ट्रमासेन्टर तथा कम्पाउण्डिङ फार्मेसीको आइतबार उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले अस्पतालमा आवश्यक स्टाफ नर्सको सङ्ख्या कम भएकाले पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गर्नेगरी तयारी थालिएको बताइन् । मन्त्री गौतमले भनिन्, 'ठूला मेडिकल कलेज र आफ्नै अस्पताल भएका कलेजहरूलाई एसइई पछिको नर्सिङ पढाइको अनुमति दिनेगरी काम गरिरहेका छौँ ।' अध्यादेशमार्फत एउटा बुँदा थपेर भए पनि पढाइ सुरु गर्ने योजनामा सरकार र मन्त्रालय रहेको उनले उल्लेख गरिन् । अहिले मन्त्रालयले विषयगत रूपमा सात वटा विषयमा सुधार गर्नेगरी काम गरेको उनले बताइन् । मन्त्री गौतमले सेवातर्फ मानसिक स्वास्थ्य, श्रमिक स्वास्थ्य, महिला स्वास्थ्य र बालबालिका स्वास्थ्यमा केन्द्रित गरिएको जानकारी दिइन् । सुधारका क्षेत्रमा स्वास्थ्य बिमा सुधार, औषधिमा गुणस्तरीयता र खरिद प्रक्रियालाई सहजीकरण गर्दै भ्रष्टाचारमुक्त बनाउने गरी काम भइरहेको उनले बताइन् । मन्त्री गौतमले भनिन्, 'हामीले प्रतिवेदन तयार पारी कार्ययोजना बनाइरहेका छौँ । शीघ्र यसको नतिजा आउने छ ।' उनले आफ्नो सरकारी जागिरको सुरुआती अस्पताल भरतपुर अस्पतालमा भएको स्मरण गर्दै यहाँको प्रगतिले आफू सन्तुष्ट रहेकोसमेत बताइन् । सो अवसरमा बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री एवं प्रदेशसभा सदस्य उत्तम जोशीले स्वास्थ्य क्षेत्रको सुधारका लागि नीतिगत सुधार गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, 'सरकारी अस्पताल सुधार गर्नुछ भने नीतिगत रूपमा नै सुधार गर्न आवश्यक छ ।' भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले अस्पतालमा भएका सुविधा र अस्पतालको समस्याका बारेमा जानकारी दिएका थिए । ट्रमासेन्टर निर्माणका लागि ११ करोड खर्च भएको जनाउँदै समितिका अध्यक्ष पौडेलले उपकरणका लागि दुई करोड ५० लाख खर्च भएको उल्लेख गरे । उनका अनुसार सेन्टर अहिले १५ श्ययाबाट सुरु गरिएको छ भने आगामी दिनमा ५० श्यया पुर्याउने लक्ष्य राखिएको छ । रासस
एमालेको १५ सदस्यीय पदाधिकारीमा लुम्बिनी प्रदेशका ५ पुराना नेतासहित ४ नयाँको डेब्यु तयारी
काठमाडौं । नेकपा एमालेको आगामी ११ औं महाधिवेशनमा १५ सदस्यीय केन्द्रीय पदाधिकारी निर्वाचनमा लुम्बिनी प्रदेशको बाहुल्यता देखिने भएको छ । प्रारम्भिक विवरणअनुसार पदाधिकारीका उम्मेदवारमध्ये नौजना लुम्बिनी प्रदेशका नेताहरू हुने जनाइएको छ । यसले प्रदेशको राजनीतिक शक्ति मात्र नभई पार्टीभित्रको भू–राजनीतिक सन्तुलनमा पनि लुम्बिनी प्रदेशको भूमिका बढ्ने संकेत गरेको नेताहरूले बताएका छन् । हालका पदाधिकारीमध्ये उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली, सचिव गोकर्ण विष्ट र छविलाल विश्वकर्माले फेरि पदाधिकारीमा उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ । तर, उपाध्यक्ष ज्ञवालीले दोहोरिने चाहना नरहेको आफू निकटलाई बताउने गरेको बताइएको छ । त्यस्तै, सचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कारण सक्रिय उम्मेदवारी दिन असमर्थ छन् । पार्टी भित्रको वर्तमान १९ सदस्यीय पदाधिकारी संरचनामा लुम्बिनी प्रदेशका सात जना नेता रहेका छन् । तीमध्ये पाँच जना पदाधिकारी एक तह बढुवा भई फेरि उम्मेदवार बन्ने इच्छामा रहेका छन् । महासचिव पोखरेलले महासचिव पदमा दोहोरिने चाहना राखेका छन् । तर, पार्टी नेतृत्वले रणनीतिक दृष्टिकोण अपनाउँदै पोखरेललाई उपाध्यक्षमा स्थानान्तरण गर्ने र महासचिव पदमा उपमहासचिव प्रदिप ज्ञवालीलाई प्रस्तुत गर्ने तयारी गरेको बुझिएको छ । हालका सचिव गोकर्ण विष्ट र छविलाल विश्वकर्माले उपमहासचिव बन्ने इच्छा व्यक्त गरेको स्रोतले बतायो । यसले पदाधिकारीहरूको स्थानान्तरण र पद सन्तुलनमा थप बहस र छलफलको सम्भावना सिर्जना गरेको नेताहरूको भनाइ छ। यसैबीच यसपटक केही नयाँ नामहरूले पनि पदाधिकारीमा सक्रियता देखाएका छन् । खिमलाल भट्टराई, ठाकुर गैरे, रामकुमारी झाँक्री र सूर्य थापाले सचिव पदमा डेब्यु गर्ने इच्छा व्यक्त गरेका छन् । भट्टराई, गैरे र झाँक्री अनेरास्ववियुका पूर्व अध्यक्षहरू हुन् । थापा प्युठानका निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् । प्रदेशबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूले नयाँ नेताहरूको प्रवेशले पार्टीमा नयाँ ऊर्जा थप्ने र प्रतिनिधित्वको दायरा फराकिलो बनाउने अपेक्षा गरेका छन् । राजनीतिक विश्लेषकहरूले नेकपा एमालेको ११ औं महाधिवेशनले पार्टीभित्रका अनुभवी नेताहरूको दोहोरिने चाहना र नयाँ नेताहरूको प्रवेशले पुराना र नयाँ नेताबीचको सन्तुलन परीक्षण गर्ने अवसर प्रदान गर्ने सम्भावना रहेको बताएका छन् । यसले पार्टीभित्र नयाँ सोच र नेतृत्व विकासलाई बलियो बनाउने संकेत गरेको एकजना महाधिवेशन प्रतिनिधिले बताए । सचिव पदमा नयाँ उम्मेदवारहरूको प्रवेशले पार्टीभित्रको नेतृत्व संरचनामा विविधता ल्याउनेछ । भट्टराई, गैरे, झाँक्री र थापाको डेब्युको योजनाले कार्यकर्ताहरूमा उत्साह सिर्जना गरेको एक महाधिवेशन प्रतिनिधिले बताए । उनका अनुसार यो नयाँ नेतृत्व विकासको संकेत हो । नयाँ नेताको प्रवेशले पार्टीको निर्णय प्रक्रिया र रणनीतिमा पनि नयाँ दृष्टिकोण थप्ने अपेक्षा गरिएको गुल्मीका एक महाधिवेशन प्रतिनिधिले जानकारी दिए । हालका पदाधिकारीहरूको दोहोरिने चाहना र नयाँ नेताहरूको प्रवेशबीचको सन्तुलनले आगामी महाधिवेशनलाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ । पार्टीभित्रका वरिष्ठ नेताहरूले आफ्नो अनुभवका आधारमा उम्मेदवारी दिने तयारी गरेका छन् । नयाँ नेताहरूले पार्टीमा आफ्नो उपस्थिति दर्ज गराउने र भविष्यमा शीर्ष नेतृत्वको दाबीको सोंच बनाएको बताएका छन् । समग्रमा आगामी महाधिवेशनले लुम्बिनी प्रदेशको प्रभुत्व पुष्टि गर्ने मात्र होइन, पार्टीको नेतृत्व संरचनामा नयाँ र पुराना नेताबीचको सन्तुलन परीक्षण गर्ने अवसर पनि प्रदान गर्ने एक नेताले बताए ।
प्रधानमन्त्री कार्की भेट्न सिंहदरबार पुगिन् पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच शिष्टाचार भेटवार्ता भएको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्की र भण्डारीबीच भेटवार्ता भएको हो । भण्डारी र कार्कीबीच आगामी निर्वाचन, देशको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको छ । प्रधानमन्त्री कार्कीलाई भेट्नुअघि भण्डारीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको सिंहदरबारको अवलोकन एवं निरीक्षण समेत गरेकी थिइन् ।