विकासन्युज

एक्साइडको नयाँ ‘ई-राइड’ ब्याट्री बजारमा, ई-रिक्सा चालकलाई लागत घटाउने दाबी

काठमाडौं । सिप्रदी ट्रेडिङले नेपाली बजारमा ई–रिक्सा चालकहरूलाई लक्षित गर्दै अत्याधुनिक एक्साइड ‘ई–राइड’ लिथियम–आयन ब्याट्री सार्वजनिक गरेको छ । खर्च घटाउने र आम्दानी बढाउने उद्देश्यसहित ल्याइएको उक्त ब्याट्रीले परम्परागत लेड–एसिड ब्याट्रीको तुलनामा ई–रिक्सालाई थप आधुनिक, सुरक्षित र शक्तिशाली बनाउने कम्पनीको विश्वास छ । कम्पनीका अनुसार नयाँ ब्याट्री एआईएस–१५६ फेज–२ प्रमाणित हुनुका साथै सर्ट सर्किट तथा पानीबाट सुरक्षा प्रदान गर्ने आईपी–६७ रेटेड सुरक्षा प्रणालीले सुसज्जित छ । ब्याट्रीसँगै २५ एम्पियर क्षमताको अत्याधुनिक एसएमपीएस चार्जर पनि उपलब्ध गराइएको छ, जसमा दुई वर्षको वारेन्टी प्रदान गरिएको छ । उक्त चार्जरमार्फत ब्याट्रीलाई ३ देखि ४ घण्टाभित्र पूर्ण रूपमा चार्ज गर्न सकिने जनाइएको छ । हल्का तौल र उच्च क्षमताका कारण यस ब्याट्रीले बढी माइलेज दिनुका साथै सवारी सञ्चालनका क्रममा समान पावर कायम राख्न मद्दत गर्ने कम्पनीले जनाएको छ । सामान्य लेड–एसिड ब्याट्रीको आयु १ देखि २ वर्षसम्म मात्र हुने भए पनि यो लिथियम–आयन ब्याट्री ५ देखि ८ वर्षसम्म टिक्ने क्षमता रहेको बताइएको छ । यसमा बारम्बार पानी थप्नुपर्ने झन्झट नहुने तथा मर्मत खर्च कम लाग्ने भएकाले ई–रिक्सा चालकहरूका लागि किफायती विकल्प बन्ने अपेक्षा गरिएको छ । ग्राहकको विश्वास बढाउन कम्पनीले ब्याट्रीमा ३६ महिनाको वारेन्टी उपलब्ध गराएको छ । नेपालभरका आधिकारिक एक्साइड डिलरमार्फत उपलब्ध हुने उक्त ब्याट्री र चार्जर सेटले ई–रिक्सा व्यवसायीहरूको दीर्घकालीन बचत र उच्च कार्यक्षमता सुनिश्चित गर्ने कम्पनीको दाबी छ । आधुनिक र शक्तिशाली सवारी सञ्चालन गर्न चाहने चालकहरूका लागि यो ब्याट्री प्रभावकारी विकल्प हुने अपेक्षा गरिएको छ ।    

मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध

सुरुङ्गा । पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा सोमबार बिहान पुनः पहिरो खसेसँगै अवरुद्ध भएको छ । यसअघिको पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा आएको सडकमा बिहानै फेरि पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार सोमबार बिहान खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । उनका अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको छ ।   यसअघि साँझ सुक्खा पहिरोका कारण अवरुद्ध भएको राजमार्ग राति १०ः५० बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको थियो । तर, सोमबार बिहान फेरि पहिरो झरेपछि अवस्था जटिल बनेको हो । इलामको रोङ गाउँपालिका–४ बागखोरस्थित सडक मर्मत भइरहेको स्थानमा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेको हो । सोही क्रममा इलामबाट झापातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक पुरिएको प्रहरीले जनाएको छ ।    

वनस्पति अध्ययन मात्र होइन, अब घुमफिरको गन्तव्य पनि बन्यो वृन्दावन उद्यान

बागमती । हेटौँडा उपमहानगरपालिका–१२ स्थित वनस्पति अनुसन्धान केन्द्र मकवानपुरअन्तर्गतको वृन्दावन वनस्पति उद्यान आन्तरिक तथा बाह्य पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । वन तथा वातावरण मन्त्रालयको वनस्पति विभागअन्तर्गत लोपोन्मुख वनस्पतिको खोज, अनुसन्धान र संरक्षण गर्दै आएको वनस्पति अनुसन्धान केन्द्रद्वारा संरक्षित वृन्दावन वनस्पति उद्यानमा अध्ययन, भ्रमण र अवलोकनका लागि पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको हो ।   पर्यावरणीय सुन्दरता, चराचुरुङ्गीको धुन, आनन्ददायी वातावरणका कारण पछिल्लो समय सो उद्यानमा अध्ययन, अवलोकन र भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको हेटौँडा–१२ पदमपोखरी निवासी सुमन लामाले बताए । 'पहिलापहिला यहाँ वन विज्ञानसम्बन्धी अध्ययन गर्ने विद्यार्थीमात्र आउँथे', लामाले भने, 'तर अहिले विद्यार्थीसँगै घुम्ने र सुन्दर बगैँचाको अवलोकन गर्ने पर्यटकसमेत आउन थालेका छन् ।' वनस्पति उद्यानभित्रको वनस्पति र रङ्गीचङ्गी फूलसँगै चराचुरुङ्गीको स्वरले पर्यटकलाई लोभ्याइरहेको लामाको कथन छ ।   'अहिले दैनिक ५० देखि १०० जनासम्म पर्यटक वनस्पति उद्यानभित्र घुम्ने गरेका छन्', वनस्पति अनुसन्धान केन्द्रका कर्मचारी जयराम दाहालले भने, 'शनिबार र सार्वजनिक बिदाको दिन भने २०० देखि ३०० सम्म पर्यटक आउने गर्दछन् । अध्ययनसँगै वनस्पतिभित्र घुमफिर गर्ने, टिकटक बनाउने र फोटो खिच्नेहरूको बढी आकर्षण देखिन्छ', उनले भने ।   वनस्पतिभित्र आउने पर्यटकहरूका लागि टिकटको व्यवस्थापन गरिएको छ । वनस्पति क्षेत्रमा अध्ययन र अवलोकन गर्न आउने नेपाली विद्यार्थीका लागि रु १० र बाह्य देशका विद्यार्थीका लागि रु ५० निर्धारण गरिएको छ । प्रमुख पौडेलका अनुसार वनस्पतिभित्र घुम्न आउने आन्तरिक पर्यटकका लागि रु २५, सार्क राष्ट्रका पर्यटकका लागि रु १०० र अन्य मुलुकका पर्यटकका लागि रु २५० तोकिएको छ ।   केही समयअघिसम्म उद्यान वन विज्ञान (फरेस्टी), वनस्पति विज्ञान (बोटानी), फार्मेसी र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)मा अध्ययन गर्ने विद्यार्थी शैक्षिक भ्रमण अध्ययनका लागि आकर्षणको केन्द्र बनेको सो केन्द्र अहिले हरेक किसिमका पर्यटकको आकर्षण बढेको छ । उद्यानभित्र गत २०७८ सालदेखि सेरेमोनियल प्लान्टेसन प्लटको अवधारणा विकास गरिएको छ ।  वनस्पतिभित्र घुम्न आउनेलाई लोभ्याउन उद्यानभित्र नयाँ ढाँचाको ‘थिमेटिक गार्डेन’ बनाउन करिब एक हेक्टरभन्दा बढी जग्गामा सम्मानित वृक्षरोपण गरिएको वनस्पति अनुसन्धान केन्द्रका प्रमुख हरिराज पौडेलले बताए । 'वनस्पति उद्यानभित्र खाली रहेको जग्गामा रुद्राक्ष, सीता, अशोक, पिपल, छतिवन, चिउरी, अमला, बर, समी, कपुर, कटहर, बेल, राजवृक्ष, कमद, निम, अर्जुन, आँप, जमुना, श्रीखण्ड, चाप, तेजपात, अङ्गस्ती, दार, दर्रो, इमली, सुगन्ध कोकिलालगायत बिरुवा रोपेका छौँ', प्रमुख पौडेलले भने, 'उद्यानमा ६५० भन्दा बढी प्रजातिका वनस्पतिको वंशाणु स्रोत संरक्षित छन् ।' जिल्लाभित्रका एवं चुरे क्षेत्रका विभिन्न स्थानबाट वनस्पति सर्वेक्षण, सङ्कलन गरी पहिचान गर्ने र वनस्पतिको हर्वरियम नमूना संरक्षित गर्ने कार्य हामीले गर्दै आएका छौँ, प्रमुख पौडेलको भनाइ छ ।   वनस्पति अनुसन्धान केन्द्र हेटौँडाअन्तर्गत तीनवटा वनस्पति उद्यान छन् । जसमध्ये हेटौँडास्थित वृन्दावन वनस्पति उद्यानमा ४१५ प्रजाति, टिस्टुङ वनस्पति उद्यानमा २०५ र पर्वतीय उद्यान दामनमा २०८ प्रजातिका वनस्पति संरक्षण गरिएको प्रमुख पौडेलले बताए । वनस्पति अध्ययन केन्द्रले विभिन्न आदिवासी तथा जनजातिले प्रयोग गर्दै आइरहेको वनस्पतिको अभिलेखीकरण गर्ने, वनस्पति प्रयोग र संरक्षणबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसका साथै बिरुवा उत्पादन गरी वितरण गर्ने, विभिन्न सामग्री प्रकाशन गरी वितरण गर्ने, नयाँ वनस्पतिको खोज र अनुसन्धान गर्ने, पर्यापर्यटन अभिवृद्धि गर्नेलगायत कार्य गर्दै आएको प्रमुख पौडेलले बताए ।   उनका अनुसार वनस्पति अनुसन्धान केन्द्रले वनस्पति सम्पदाको विस्तृत सर्वेक्षण, सङ्कलन तथा पहिचान गर्ने, वनस्पतिको वंशाणु स्रोत संरक्षण गर्ने, जडीबुटीसम्बन्धी अध्ययन, अनुसन्धान गरी खेती प्रविधि विकास गर्ने, सुगन्धित तेलयुक्त वनस्पतिको तेल प्रतिशत परीक्षण गर्ने, प्राविधिक दृष्टिले फाइदाजनक जडीबुटीको सूचना प्रवाह गर्ने, परम्परागत वनस्पति उपयोगसम्बन्धी अध्ययन, अनुसन्धान गरी वनस्पति तथा जैविक स्रोतको उपयोगसम्बन्धी ज्ञानलाई अभिलेखीकरण गर्ने र जडीबुटीको बिरुवा उत्पादन तथा वितरण गर्ने दायित्व पूरा गर्दै आएको छ ।  अहिले आफूहरू जडीबुटीको गुणस्तरीय बिरुवा उत्पादन गर्ने, जडीबुटीखेती प्रविधि विकास गरी प्राविधिक सीप हस्तान्तरण गर्ने, जडीबुटी प्रजातिका बासस्थान संरक्षण तथा व्यवस्थापन गर्ने कार्यमा जुटेको प्रमुख पौडेलको कथन छ । दुर्लभ, लोपोन्मुख तथा सङ्कटापूर्ण अवस्थामा रहेका महत्त्वपूर्ण जडीबुटीसम्बन्धी समसामयिक अध्ययन, अनुसन्धान गरी स्थानीय जनसमुदायलाई जडीबुटीखेतीतर्फ आकर्षित गर्ने योजना बनाएर अघि बढ्को प्रमुख पौडेलले बताए । रासस  

बालेन सरकार आएदेखि तातोपानी नाका बन्द

काठमाडौं । नेपाल–चीन व्यापारको मुख्य बिन्दु मानिने तातोपानी नाका पछिल्लो चार दिनदेखि बन्द अवस्थामा छ । शुक्रबार नयाँ सरकार गठन भएदेखि बन्द भएको नाका आजसम्म खुल्न सकेको छैन ।  तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र चुडालका अनुसार चार दिनदेखि सो नाका अवरुद्ध छ । नयाँ सरकार आए लगत्तै बन्द प्रमुख व्यापारिक नाका बन्द हुनुलाई धेरैले संशयका रूपमा लिएका छन् । यसलाई कतिपय नेपाल र चीनबीचको कुटनीतिक चालका रूपमा बुझेका छन् ।  नजिकै कोदारी इको क्षेत्रमा गएको पहिरोका कारण विगत पहिरोले बाटो बिग्रिएपछि चीनबाट सामान लिएर आएका सयौं मालवाहक ट्रकहरू सीमा क्षेत्रमै रोकिएको प्रमुख भन्सार अधिकृत चुडालको भनाइ छ ।  नेपाल–चीन सीमाभन्दा करिब २.५ किलोमिटर तल कोदारी इको क्षेत्रमा सडक भासिएकाले यो समस्या आएको हो । ‘अघिल्लो मनसुनमा समेत लामो समय बन्द भएको सोही स्थानमा अहिले पुनः पहिरो खस्दा बाटो अवरुद्ध भएको छ,’ उनले भने ।  ‘भूकम्पका कारण त्यहाँको जमिन निकै कमजोर भएको देखिन्छ । बालुवा र गिट्टी मिसिएको माटो भएकाले वर्षा नहुँदा पनि सुक्खा पहिरो जस्तो खसिरहेको छ । करिब १०० मिटरको क्षेत्र निकै जोखिमपूर्ण छ,’ उनले थपे ।  पहिरोले सडकको केही भाग करिब २.५ मिटर तलसम्म खसेको उनले जानकारी दिए । बाटो अवरुद्ध भएपछि चीनतर्फ सामान लोड भएका गाडीहरूको लामो जाम लागेको छ । थप जाम नहोस् भन्नका लागि बाटो नखुलेसम्म गाडीहरू नपठाउन चिनियाँ पक्षलाई समेत समन्वय गरिएको चुडालले बताए ।  ‘हामीले उताबाट आउने गाडीहरूलाई अलि ढिलो गर्न भनेका छौं, किनकि यहाँ बाटो नबनी गाडी भित्र्याउन सक्ने अवस्था छैन,’ प्रमुख भन्सार अधिकृत चुडालले भने ।  अहिले डोजर प्रयोग गरेर सडक मर्मत र पहिरो पन्छाउने काम भइरहेको छ । अब छिट्टै बाटोको ट्र्याक खोलेर गाडीहरूलाई सुरक्षित स्थान (यार्ड) सम्म ल्याउने प्रयास भइरहेको उनको भनाइ छ ।  मौसमले साथ दिएमा र थप पहिरो नखसेमा आज (मंगलबार) देखि नै सवारी साधनहरू सुचारु हुन सक्ने उनको अनुमान छ । सामानहरू मान्छेलाई बोकाएर तार्ने विकल्प भए पनि त्यो निकै महँगो र झन्झटिलो हुने भएकाले व्यवसायीहरू सडक खुल्ने नै पर्खाइमा छन् । 

दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार डा. आचार्यलाई

काठमाडौं । विसं २०८२ को ‘दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार’ प्रा.डा. जयराज आचार्यलाई अर्पण गरिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्र तथा कूटनीतिलगायत नेपाली, अङ्ग्रेजी र संस्कृत वाङ्मयमा योगदान पुर्याए वापत उनलाई नगद ५० हजार रुपैयाँ सहित सो पुरस्कार प्रदान गरिएको हो ।  काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. सुरेशराज शर्माले दण्डपाणि अर्ज्याल स्मृति केन्द्रद्वारा आइतबार आयोजित कार्यक्रम प्रा. डा. आचार्यलाई पुरस्कार सहित दोसल्ला ओढाइ सम्मान गरेका थिए ।  सो अवसरमा  प्रा.डा. आचार्यले दण्डपाणि अर्ज्याल स्मृति केन्द्रबाट हालसम्म सम्मानित/पुरस्कृत व्यक्तिहरूको जीवनीलाई स्मृति केन्द्रकै मुखपत्र ‘ज्ञानविन्दु’  पत्रिकामा जीवनी विशेषाङ्कका रूपमा प्रकाशित गर्नुपर्नेमा विशेष जोड दिएका थिए ।  पूर्वउपकुलपति प्रा.डा. शर्माले दण्डपाणि अर्याल स्मृति केन्द्रले प्रतिभा सम्मानका लागि उपयुक्त पात्र छान्ने परम्परालाई निरन्तरता दिएको भनी खुसी व्यक्त गरे ।  प्राडा शर्माले पनि १५ वर्ष पहिले यो पुरस्कार प्राप्त गरिसकेका छन् ।  त्यसैबीच जयराज आचार्य विषयक परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा  केन्द्रका सल्लाहकार हरिहर अर्याल तथा साहित्यकार राजेन्द्रप्रसाद अर्याल, अनेसास, बिओटिका अध्यक्ष पदम विश्वकर्मा, अनेसास केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले, एनआरएनए अमेरिकाका उपाध्यक्ष डा. गङ्गाधर आचार्य, अन्य कवि, लेखक साहित्यकारलगायत संस्थाका पदाधिकारी उपस्थिति थियो ।  वक्ताहरूले जयराज आचार्य र दण्डपाणि अर्ज्यालको जीवनी व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्दै स्मृति केन्द्रको भूमिकाको प्रशंसा गरेका थिए । ती कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष वरिष्ठ इन्जिनियर ईश्वरचन्द्र बानियाँले गरेको थिए भने कार्यक्रम सञ्चालन महासचिव कपिलचन्द्र खनालले गरेका थिए । दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिषशास्त्र र संस्कृतिका अध्येता रहेका थिए । रासस

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले सोमबार अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । यो मन्त्रिपरिषदको दोस्रो बैठक हो । यसअघि गत शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीहरुले सपथ तथा पदभार गरेको दिन नै मन्त्रिपरिषद् बैठक बसेको थियो ।  मन्त्रिपरिषदको पहिलो बैठकले भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो भने साशकीय सुधारका १०० काम पनि स्वीकृत गरेको थियो । 

पूर्णबहादुरको सदस्यता नवीकरण नहुने भएपछि देउवा पक्षले बोलयो केन्द्रीय समिति बैठक, दुई दिनसम्म चल्ने

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।  नेपाली कांग्रेसले खड्काको क्रियाशिल सदस्यता नवीकरण नगर्ने भउपछि उनले केन्द्रीय समिति बैठक बोलाएका हुन् । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेपछि कांग्रेसले उनको सदस्यता नवीकरण नगर्ने योजना बनाएको हो । त्यसपछि उनले मंगलबार तत्कालीन केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।

काकडभिट्टा–लौकही सडक स्तरोन्नति सुस्त, पूर्वाधार व्यवस्थापनमै अवरोध

काठमाडौं । एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा स्तरोन्नति भइरहेको काकडभिट्टा–लौकही सडक निर्माण कार्य सुस्त भएको छ । सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडिबी) ले पाँच खण्डमा विभाजन गरी ९५ किलोमिटर सडकको स्तरोन्नति गरिरहेको भएपनि लक्ष्य अनुसारको प्रगति हुन सकेको छैन ।  कुल ४६ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको यो सडकलाई पूर्वी र पश्चिम खण्डमा बाँडिएको छ । पूर्वी खण्ड अन्तर्गत काकडभिट्टादेखि सितापुरीसम्म ४५ किलोमिटर र पश्चिम खण्ड अन्तर्गत झापाको सितापुरीदेखि सुनसरीको लबीपुलसम्म ५० किलोमिटर लम्बाई रहेको छ । निर्माण कम्पनी कोभेक सिआरइजिसि टुण्डी जे.भीका प्रतिनिधि अनिश रेग्मीकाअनुसार सन् २०२४ फेब्रुअरी २ बाट निर्माण टिम परिचालन गरिए पनि आयोजनाको पूर्वतयारीमा हुनुपर्ने कामहरू नहुँदा निर्माणमा अवरोध भएको छ ।  शहरी क्षेत्रमा सडक आसपास भएका विद्युतीय पोलहरू नयाँ रुटबाट सार्न कठिन भइरहेको उनको भनाइ छ । सडक खण्डमा विद्युतको पोल सार्न सबैभन्दा ठूलो समस्या भएको बताए । साथै खानेपानीको पाइपले पनि समस्या आउँदा काम गर्न ढिलाइ भएको उनको भनाइ छ ।  विद्युत प्राधिकरणले हालसम्म ३० प्रतिशत मात्रै पोल स्थानान्तरण गरेको छ । शहरी क्षेत्रमा विद्युतीय पोलसँगै खानेपानीका पाइपहरूका कारण पनि निर्माणमा अवरोध आइरहेको निर्माण कम्पनीका प्रतिनिधिहरू बताउँछन् । दमक बजारमा विद्युतीय पोलकै कारण फ्लाई ओभर निर्माण समेत रोकिएको छ । पश्चिम खण्डका आयोजना प्रमुख जगत प्रजापतीले विद्युत प्राधिकरणलाई पटक–पटक ताकेता गर्दा समेत लक्ष्य अनुसारको पोल सार्न नसकिएको बताए ।  २०२७ जनवरीभित्र सम्पन्न गर्नुपर्ने यो आयोजनामा अझै १ हजार ५ सयभन्दा बढी पोल सार्न बाँकी छ ।